Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विज्ञान र आविस्कारमा हामी किन पछाडि पर्यौँ?–मोहन वैद्य ‘किरण’

सुश्रुतका अनुसार शल्यचिकित्साका छात्रछात्राका लागि मृत शरीरहरूको विच्छेदन (शरीर काट्ने र चिर्ने काम) एक अनिवार्य सर्त थियो। र, यी श्रेष्ठ महर्षि आफ्ना विद्यार्थीलाई प्रयोग तथा पर्यवेक्षणद्वारा अर्जित ज्ञानमा विशेष जोड दिन भन्थे। तर परन्तु मनुलाई यो कुरा सैह्य थिएन। मनु ठान्दथे कि मृत शरीर छुनु पाप हो। मनुका अनुसार मृत शरीरको स्पर्ष नै ब्राह्मणको पवित्रतालाई दूषित गरिदिनका लागि पर्याप्त थियो।

मोहन वैद्य 'किरण' मोहन वैद्य 'किरण'
जेष्ठ ६, २०७८
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आफ्नो प्रसिद्ध कृति ‘प्रकृतिको द्वन्द्वात्मकतामा’ एङ्गेल्स भन्दछन्, ‘प्रारम्भदेखि नै विज्ञानहरूको उत्पत्ति र विकाश उत्पादनमूलक गतिविधिद्वारा निर्धारित रहिआएको छ।’ समाजविकासको ऐतिहासिक प्रक्रिया उत्पादन पद्धतिको विकाससित सम्बन्धित हुन्छ र ठीक यही कुरा प्रकृति विज्ञानको उत्पत्ति तथा विकाशसँग पनि जोडिएको छ। यस कुरालाई हामीले ‘हिमाली दर्शन’का क्षेत्रमा पनि राम्रोसँग देख्न र बुझ्न सक्छौँ।

    हिमाली उपमहाद्वीपमा प्रकृति विज्ञानका कतिपय शास्त्रहरूको विकास प्राचिनकालदेखि नै हुँदै आएको पाइन्छ। यस सन्दर्भमा आयुर्वेद, ज्योतिष र गणितजस्ता विषय ध्यानयोग्य रहेका छन्। यी विषयबारे विभिन्न विचारकहरूले विभिन्न कालखण्डमा यथेष्ट योगदान दिँदै आएको पाइन्छ। प्रकृति विज्ञानमा हुँदै आएको प्रगतिले दर्शनको फाँटमा द्वन्द्ववाद तथा भौतिकवादको पक्ष र आदर्शवाद तथा अध्यात्मवादको विपक्षमा राम्रो आधार खडा गर्दै आएको देखिन्छ। परन्तु, प्रकृति विज्ञान र दर्शनको स्वतन्त्र विकासमा त्यो बेला धर्म निकै बाधक बनेको थियो।

    प्रकृति विज्ञानमा योगदान

    आरभिजि मेनन भन्दछन्, ‘आर्यहरूको जटिल धार्मिक कर्मकाण्डले भारतमा रेखागणितका साथै ज्योतिषको विकासका लागि प्रोत्साहित गर्यो। उनीहरूका लागि यज्ञहरूका विविधताको परिपुर्ति गर्नु प्रमुख धार्मिक दायित्व थियो। तिनलाई तोकिएको समयमा पूरा गर्नुपर्थ्यो र विशिष्ट नाम तथा आकृतिका वेदीहरू बनाउनुपर्थ्यो। यसरी समयको गणनाको लागि ज्योतिष र वेदीहरूका आकार, क्षेत्र तथा लम्बाई चौडाइको मापन गर्नका लागि रेखागणित विकसित भयो’

    अर्कोतर्फ वेदमा औषधीमुलाको चर्चा भएको पाइन्छ। यस क्षेत्रमा विकसित भएको आयुर्वेदबारे डा. जयकिशन लेख्दछन्, ‘आयुर्वेदको उद्भव वैदिक कालमा भयो र यसको विकाश हुँदै आएको छ। यसका प्राचिन ग्रन्थ संस्कृत भाषामा रचिएका छन्। यो चिकित्सा पद्धति अत्यन्तै विकसित र वैज्ञानिक छ।’

    कतिपय विचारकहरू के भन्दछन् भने आयुर्वेदका प्रवर्तक आत्रेउ पुनर्वसु थिए। उनको जन्म गौतम बुद्धभन्दा पहिले भएको थियो र उनी तक्षशिला (हाल पाकिस्तानमा पर्ने क्षेत्र) का निवासी थिए। उनका चेला अग्निवेश र अग्निवेशका चेलाचाहिँ चरक थिए। चरकलाई राजा कनिष्क प्रथम (शदी इ. का) राजवैद्य मान्ने गरिन्छ। चरकद्वारा रचित ‘चरकसंहिता’ आयुर्वेदको क्षेत्रमा सबैभन्दा पुरानो कृति मानिन्छ। यसमा चिकित्साशास्त्रसम्बन्धी महत्वपूर्ण विषयहरूमा राम्रो प्रकाश पारिएको छ।

    आयुर्वेदको क्षेत्रमा चरकपछि सुश्रुतको नाम आउँछ। सुश्रुतको कृतिलाई ‘सुश्रुत सहिंता’ भनिन्छ। शल्य चिकित्साको क्षेत्रमा मुख्यतः सुश्रुतको विशिष्ट स्थान रहेको छ। चरक र सुश्रुतपछि वाग्भटको नाम आउँछ। वाग्भटको कृतिको नाम ‘अष्टांग हृदय’ हो। यसै प्रक्रियामा भारतलगायत क्षेत्रमा रसायनशास्त्र विकसित हुँदै आएको पाइन्छ। मेननका अनुसार कणादद्वारा सुत्रित वैशेषिक न्याय दर्शनद्वारा विकसित परमाणुवादको सिद्धान्तले विज्ञानको विकाशमा मद्धत पुर्याएको छ। तिनका अनुसार मानिसको ज्ञानभन्दा स्वतन्त्र रूपमा बाह्य जगत अस्तित्वशील छ। ती सबै हाम्रा लागि द्रव्य, गुण र कर्मका रूपमा ज्ञात छन्। संसार पृथ्वी, जल, आगो र वायूका परमाणुद्वारा निर्मित गरिएको छ।

    चिकित्साशास्त्रका क्षेत्रमा भारत र आसपास क्षेत्रमा निरन्तर प्रगति हुँदै आएको छ। कैयौँ चिकित्सकहरू चिकित्साशास्त्रीय दृष्टिले मात्र होइन, दार्शनिक दृष्टिले पनि महत्वपूर्ण रहेका छन्। भारतीय चिन्तन परम्परामा वादविवादको कला विकसित गर्ने काममा अथात् द्वन्द्ववादी पद्धतिको विकासमा समेत चरकको महत्वपूर्ण भूमिका रहेको छ। आयुर्वेद विज्ञान एकातिर द्वन्द्ववाद तथा भौतिकवादसित जोडिएको छ भने यस विज्ञानले धर्मशास्त्रीहरूद्वारा हुँदै आएका अनेकौँ विरोधको पनि सामना गर्नुपरेको छ।

    यस सन्दर्भमा देवीप्रसाद चटोपाध्यायद्वारा उद्धृत एसएन दास गुप्ताका निम्न भनाइ विशेष ध्यान दिन योग्य रहेका छन्, ‘हामीलाई चरक संहिताभन्दा धेरै पहिले नै साहित्यमा वादविवाद, परिचर्चा अर्थात् विचार विनिमयका कुरा प्राप्त भएका छन्। तर यस कलालाई व्यावहारिक दृष्टिकोणले जीविकोपार्जन गर्नका लागि जानकार मानिसहरूले जति आवश्यक रूपमा स्वीकार गरेका छन्, त्यति अरु कसैले गरेका छैनन्। र, कुनै अन्य पूवर्ववर्ती साहित्यमा यसको विकाशको उल्लेख पाइँदैन। अतः के कुरा मान्नु तर्कसंगत हुनेछ भने वादविवादको कला र यस कलाका सहायक विधाहरूका परम्परागत चिकित्सा प्रणाली प्रारम्भिक कालदेखि नै विकसित भएका छन्, त्यसैबेलादेखि यी चरकका कृतिमा सङ्कलित रूपमा पाइन्छन्।’ यहाँ द्वन्द्ववाद र भौतिकवादका दृष्टिले चरक संहिताको महत्वमाथि राम्रो प्रकाश पारिएको छ ।
    यस क्षेत्रमा वैदिककालदेखि नै ज्योतिषका विजाणुहरू विकसित हुन थालेको पाइन्छ। ज्योतिष वेदाङ्गभित्र पर्दछ। वेदमा चन्द्र, सुर्य र विभिन्न नक्षत्रहरूको उल्लेख गरिएको छ। वेदमा सौरमास, चान्द्रमास, मलमास र शुभमुहुर्तबारे चर्चा गरिएको पाइन्छ। भारतीय ज्योतिर्विदहरूमा आर्यभट्ट इ. ४५० को विशेष स्थान छ। उनले अनेकौँ तर्कद्वारा कुन कुरा प्रमाणित गरे भने पृथ्वी सूर्यको वरिपरि घुम्ने गर्दछ। ज्योतिषशास्त्रको इतिहासमा यो विशेष योगदान थियो। ज्योर्तिविज्ञानका गणित र फलित दुवै क्षेत्रमा वराहमिहिर (करीब छैटौँ शताब्दी इ.) ब्रम्हगुप्त (करिब सातौं शताब्दी इ.) र भास्कराचार्य (बार्हौँ शताब्दी) विशेष प्रसिद्ध रहेका छन्।

    डी. एन झा भन्दछन्, ‘आर्यभटीयमका लेखक आर्यभट्टले पाँचौ शताब्दीमा आफ्नो प्रतिभाको प्रकाश फैलाइरहेका थिए। उनले प्रचलित भारतीय मान्यताका विपरित ‘पृथ्वी आफ्नो धुरीमा घुम्दै सूर्यको चारैतिर चक्कर लगाउँछ’ भने तर उनको यस विचारको परवर्ती भारतीय खगोलवेत्ताहरूमा कुनै प्रभाव परेन। उनकै प्रयासद्वारा गणितभन्दा पृथक् एक शाखाका रूपमा खगोल विज्ञानको अध्ययन गरिन थालियो।

    उनले सबैभन्दा पहिले दशमलव गणना पद्धति प्रयोग गरे, तर उनी यसका आविस्कारक भने थिएनन्। पाँचौ शताब्दीको अन्तिम चरणका वराहमिहिरले खगोल विज्ञान र पञ्चाङ्ग विज्ञानसित सम्बन्धित कैयौँ महत्वपूर्ण सिद्धान्तहरूको प्रतिपादन गरे। उनको पञ्चसिद्धान्तिकामा खगोलविज्ञानका सिद्धान्तहरूमाथि प्रकाश पारिएको छ।’

    उनका दुई सिद्धान्तहरूबाट के थाहा पाइन्छ भने युनानी खगोल विज्ञानसित उनी राम्रोसित परिचित थिए। उनले पञ्चाङ्ग विज्ञानमा लघु र वृहज्जातक नाउँका दुई ग्रन्थ लेखे।’ यी ग्रन्थमा आर्यभट्ट र वराहमिहिरद्वारा गणित र खगोल विज्ञानका क्षेत्रमा खेलिएको भूमिकाबारे उल्लेख गरिएको छ।

    त्यसैगरी, भगवतशरण उपाध्यायको भनाइ छ, ‘गणितको त्यो आश्चर्य मानिने ग्रहण सम्भवतः बाबुली उपज हो।’ उनको विचारमा त्यस्तो देशलाई गणित ज्योतिषको पनि केही प्रारम्भिक श्रेय दिनु अयुक्तियुक्त होइन, जब ग्रहणको व्यवस्था त्यहाँ पनि पुरानो थियो। गणित विद्याको स्रोतबारे बाबुलको उल्लेख गर्दै यहाँ सत्यतथ्य पत्ता लगाउन खोजिएको छ ।

    धर्मान्धहरूको अवरोध

    आयुर्विज्ञानको क्षेत्रमा मनुसहितका ब्राह्मणवादीहरूले गम्भीर आघात पुर्याए। यसबारे प्रफुल्लचन्द्र रायद्वारा लिखित ‘हिन्दू रसायशास्त्रको इतिहास’मा व्यक्त देवीप्रसाद चटोपाध्यायदवारा निम्न भनाई उद्धृत गरिएको छ, ‘मनु र परवर्ती पुराणहरूको प्रवृत्ति त्यस पुरोहित वर्गको प्रशंसाका गीत गाउनु नै रह्यो जसले नित्तान्त दम्भपूर्ण र अन्यायपूर्ण दाबी प्रस्तुत गरेका थिए।’

    सुश्रुतका अनुसार शल्यचिकित्साका छात्रछात्राका लागि मृत शरीरहरूको विच्छेदन (शरीर काट्ने र चिर्ने काम) एक अनिवार्य सर्त थियो। र, यी श्रेष्ठ महर्षि आफ्ना विद्यार्थीलाई प्रयोग तथा पर्यवेक्षणद्वारा अर्जित ज्ञानमा विशेष जोड दिन भन्थे। तर परन्तु मनुलाई यो कुरा सैह्य थिएन। मनु ठान्दथे कि मृत शरीर छुनु पाप हो। मनुका अनुसार मृत शरीरको स्पर्ष नै ब्राह्मणको पवित्रतालाई दूषित गरिदिनका लागि पर्याप्त थियो। त्यसकारण हामी के देख्दछौँ भने केही समयपश्चात् छुरी छुनुलाई समेत निन्दनीय मानिन लाग्यो र शरीर क्रियाविज्ञान तथा शल्य चिकित्साविज्ञानको उपयोग बन्द भयो। साँचो भनौँ भने यी विज्ञान हिन्दूहरूका हातबाट गायव पारिए।

    वराहमिहिर खगोल विद्यामा काम गरिरहेका थिए तर उनका सामु वैदिक धर्मशास्त्री र ब्राह्मणवादीहरूको कठोर दण्डबाट बच्नका लागि निकै ठूला समस्या आइपरे। उनलाई स्पष्टतः के कुरा थाहा थियो भने र उनले आफ्नो कृतिमा पनि के उल्लेख गरेका थिए भने चन्द्रमामा पृथ्वीको छायाँ पर्नाले चन्द्रग्रहण र सूर्यमा चन्द्रमाको छायाँ पर्नाले सूर्य ग्रहण लाग्दछन्। परन्तु वेद र ब्राह्मणवादको कठोर आतंकका कारण वाद्य भएर वराहमिहिरले ग्रहणका सन्र्दभमा राहुको प्रभाव रहने झुटसमेत उल्लेख गर्नुपर्यो। ठीक यही कुरा खगोलविद् ब्रह्मगुप्तका हकमा पनि लागू भएको पाइन्छ।

    अलबरुनी (९७३–१०४८ई.) ले आफ्नो यात्रा वृत्तान्तमा के कुरा लेखेका थिए भने भारतका वराहमिहिरजस्ता खगोलशास्त्रीहरूले ग्रहणसम्बन्धी यथार्थ कुराको ज्ञान हुँदाहुँदै पनि सत्ताधारी धर्मशास्त्रीहरूद्वारा भयभीत भएर धार्मिक मिथक कथाको शरण लिन पुगे। त्यसैकारण उनीहरूले राहुद्वारा ग्रसित भएपछि सूर्यग्रहण लाग्छ भन्ने कुरा बताएका छन्। बलबरुनी भन्दछन्, ‘हिन्दू खगोलशास्त्रीहरू के कुरा राम्रोसित जान्दछन् भने चन्द्रमामाथि पृथ्वीको छायाँ परेपछि चन्द्रग्रहण र सूर्यमाथि चन्द्रमाको छायाँ परेपछि सूर्यग्रहण लाग्दछन्। उनीहरूले आफ्ना यी परिकल्पनाहरूलाई ज्योतिष ग्रन्थहरू र अन्य कृतिहरूमा लिपिवद्ध गरेका छन्।’ अबलरुनीका यी भनाइ वराहमिहिर, ब्रम्हगुप्तजस्ता ज्योतिषशास्त्रीहरूका विचारप्रति परिलक्षित रहेका छन्।

    प्रकृति विज्ञानमात्र होइन, दर्शनको क्षेत्रमा पनि स्थिति त्यस्तै थियो। खासगरी भारत र यस आसपासका क्षेत्रमा वेद र ब्राह्मणवादी मान्यताका विरुद्ध खडा हुनु निकै ठूलो चुनौती थियो। वैशेषिक दर्शनका प्रणेता कणाद र न्याय दर्शनका प्रणेता गौतमले वैदिक धर्म र ब्राह्मणवादप्रति निष्ठाको आवरण खडा गरी आफ्ना परमाणुवाद र तर्कशास्त्रीय सिद्धान्तलाई स्थापित तथा विकसित तुल्याउन बाध्य हुनुपर्यो।

    जस्तो कि देवीप्रसाद चटोपाध्याय भन्छन्, ‘कमसेकमत कणाद र गौतमका लागि वेदप्रति तथाकथित निष्ठा धर्मशास्त्रका प्रणेताहरूका प्रताडनाबाट बच्ने केवल एउटा जुक्ति थियो। उनीहरूले वैदिक रुढीवादको प्रबल विज्ञानविरोधी वातावरणमा जीवन यापन गर्नुपर्दथ्यो। त्यसैले भारतीय परमाणुवाद र तर्कविद्याका प्रवर्तकहरूले आफ्ना लागि अपेक्षाकृत रूपमा के श्रेयस्कर ठाने भने भने तिनले वेद तथा ब्राह्मणवादी परम्पराप्रति प्रकट निष्ठाको आडमा नै आफ्ना विचारहरूलाई अगाडि बढाउने प्रयास गरुन्।’ यहाँ तर्कशास्त्र र भौतिकवादी चिन्तनमाथि प्रहार गरिने धार्मिक डन्डाबारे निकै मार्मिक रूपमा चर्चा गरिएको छ।

    विज्ञानको विकाशमा अवरोध

    हिमाली उपमहाद्वीपमा प्रकृति विज्ञानको क्षेत्रमा अपेक्षित प्रगति हुन सकेन। यसका पछाडि विभिन्न कारणहरूले काम गरेका छन्। यस सन्दर्भमा एउटा त अति प्राचिनकालदेखि चल्दै आएको अपरिवर्तनीय तथा स्थिर ग्रामिण समुदाय हो। दोस्रो कारण धार्मिक रुढीवाद तथा जातीय भेदभाव हो। र, तेस्रो कारण उत्पादक शक्तिको विकाशमा अवरोध पैदा हुनु हो। यी कुराबारे कार्ल मार्क्सले पनि भारतमा ब्रिटिस राजसम्बन्धी आफ्ना लेखहरूमा उल्लेख गरेका छन्।

    मार्क्स भन्दछन्, ‘हामीले कुन कुरा एकदमै भुल्नुहुँदैन भने यी साना समुदायहरूलाई जातपातको भेदभाव र दासताले दूषित गरिदिएको थियो। तिनले मानिसलाई परिस्थितिको मालिक बनाउनुको सट्टा बाह्य परिस्थितिको दास बनाइदिएका थिए, स्वतः विकासमान सामाजिक अवस्थालाई कहिल्यै नबदलिने प्राकृतिक नियतिमा परिणत गरिदिएका थिए, जसको पतित स्वरूप यति कुराबाट नै स्पष्ट हुन्छ कि प्रकृतिको स्वामि मानिसले घुँडा टेकेर बाँदर हनुमान र गाईको पूजा गर्न पुग्यो।’ मार्क्सद्वारा प्रस्तुत यी कुराहरू मननीय रहिआएका छन्।

    यसैगरी भारतमा उत्पादक शक्तिको विकाशमा अवरोध पैदा भएको अवस्थामाथि प्रकाश पार्दै मार्क्स भन्दछन्, ‘भारतमा उत्पादक शक्तिहरू के कारणले अवरुद्ध छन् भने त्यहाँका विभिन्न उपजहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान र तिनको अदलाबदली गर्नका लागि यातायातको साधनहरूको पूर्ण रूपले अभाव छ। विनिमयका साधनहरूको अभावको कारण प्रकृतिको अपार देन हुँदाहुँदै जति सामाजिक दरिद्रता छ, त्यति कहीँ पनि छैन।’ मार्क्सका यी भनाइ पनि मननीय रहेका छन्।

    यद्यपि पश्चिमी युरोपमा पनि सामन्तवादी राज्यसत्ता र क्रिश्चियन पादरीहरूको धार्मिक सत्ता दुबैको मिलोमतोमा विज्ञानको विकाशमा गम्भीर अवरोध खडा गरिएको थियो। त्यस क्षेत्रमा कतिपय वैज्ञानिकहरूलाई जिउँदै जलाइएको पनि थियो। परन्तु, त्यहाँ पूँजीवादी उत्पादक शक्तिको विकाश र पूँजीवादी पक्षधर प्रगतिशील वुद्धिजीवीहरूका कारण पनि सामन्तवादका विरुद्ध संघर्षको प्रक्रिया अगाडि बढ्यो र प्रकृति विज्ञानको क्षेत्रमा पनि प्रगति हुँदै गयो। यसै क्रममा त्यहाँ भौतिकवाद पनि विकसित भयो। परन्तु हिमाली उपमहाद्वीपमा भने त्यसप्रकारको स्थिति रहेन।

    हिमाली उपमहाद्वीपमा दर्शनको राम्रो विकाश हुँदै गएको थियो। त्यो विकाशलाई मद्दत पुर्याउने काममा प्रकृति विज्ञान महत्वपूर्ण साधन बन्न सक्दथ्यो र त्यसका निम्ति सम्भावना पनि प्रचुर थिए। परन्तु, सामन्ती राज्यसत्ता ब्राह्मणवादी धर्मको ढण्डाले त्यसो हुन दिएन। त्यसका पछाडि आवश्यक मात्रामा उत्पादक शक्तिहरूको विकाशको अभाव, स्थिर ग्राम समुदाय र धार्मिक रूढीवाद मूल कारण रहे।

    उत्पादनमूलक गतिविधि, प्रकृति विज्ञान र दर्शन एक अर्कासित घनिष्ठ रूपमा सम्बन्धित छन्। उत्पादनमूलक गतिविधिको विकाशले विज्ञान र दर्शनको विकाशमा आवश्यक मद्दत पुर्याउँछ। साथै, प्रकृति विज्ञानले द्वन्द्ववाद तथा भौतिकवादको विकाशमा पनि मद्दत पुर्याउँदै आएका छन्। यहाँ आधार र उपरिसंरचनाका बीचको द्वन्द्वात्मक सम्बन्धले महत्वपूर्ण भूमिका खेल्दछ। द्वन्द्वात्मक भौतिकवादको विकाशमा एकातिर प्रकृति विज्ञानले प्रचुर मद्धत पुर्याएको छ भने अर्कोतिर द्वन्द्वात्मक भौतिकवादले पनि प्रकृति विज्ञानको विकाशमा आवश्यक पथप्रदर्शन गर्दै आएको छ।

    (मोहन वैद्य किरणद्वारा लेखिएको ‘हिमाली दर्शन’ नामक पुस्तकबाट साभार गरिएको।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मोहन वैद्य 'किरण'

      मोहन वैद्य 'किरण'

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.