Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आदिवासीलाई क्रिश्चियन बनाउन गएका ड्यानियल कसरी आफैँ नास्तिक बने?

पिराहाहरूले मलाई यो कुरा बुझाएका छन् कि स्वर्गको आशा र नर्कको त्रासबिनै जीवन र मृत्युलाई आत्मसाथ गर्नुमा ठूलो आत्मसम्मान र गहिरो आनन्द छ। गहिरो रसातलमा जाकिनुपूर्व हाँस्दै जीवनको डुंगा हाँक्नुमा परम आनन्द छ।

नेपाल रिडर्स नेपाल रिडर्स
पुस ९, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेरो नाम ड्यानियल लियोनार्ड एभरेट हो। म अमेरिकाको क्यालिफोनिर्यामा जन्मेको हुँ। अहिले ७० वर्षको भएँ। सन् १९६८ मा जिमि हेन्ड्रिक्सको कन्सर्ट हेर्न अमेरिकाकै अर्को राज्य सियाटल गएको थिएँ। हेन्ड्रिक्स आफैँ पनि सियाटलकै थिए। र, मैले त्यहाँ एउटी सुन्दरी केटीलाई भेटेँ। हामीबीच कुरा भयो। मैले थाहा पाएँ कि तिनी क्रिश्चियन धर्मप्रचारमा लागेको परिवारकी छोरी थिइन्। त्यसपछि म पनि चर्च जान थालेँ र उनीसँग बिहे गरेँ। उनी सँगसँगै क्रिश्चियन धर्म प्रचारमा लागेँ। र, त्यसले मेरो जीवनमा ठूलो छाप परेको छ। धर्म प्रचारकै क्रममा म सन् १९७७ मा पहिलो पटक ब्राजिल गएँ।

    बन्जर भूमिमा जोत्न गएको हलीझैँ म त्यसतर्फ लागेको थिएँ। अहिलेसम्म त्यहाँको कोही पनि मान्छेले ‘प्रभुको सुसमाचार सुनेको छैन होला’ भन्ने ठान्दै म ब्राजिलको एउटा आदिवासीको गाउँमा पुगेँ। मेरो काम थियो, त्यस गाउँका पियारा नामक समुदायका लागि बाइबल अनुवाद गर्नु, उनीहरूलाई मेरा परमेश्वर प्रभु र उनका छोरा जिसस क्राइस्टका बारे बताउनु।

    पिराहा : नझुक्ने मान्छेहरू

    पिराहाहरुसँग ड्यानियल

    त्यस गाउँमा जानूपूर्व मैले त्यो समुदायको पृष्ठभूमिका बारेमा अध्ययन गरेको थिइनँ। धर्मप्रचारकका रूपमा मैले ठानेको थिएँ कि भगवान र मबीचको यो कथा बिल्कुलै नयाँ हुने भयो। त्यसो हुँदा के फरक पर्छ र मैले पिराहाहरूका बारेमा पूर्वअध्ययन नगरेर? किनकि उनीहरू आफैँमा पूर्ण रूपमा एकभाषी थिए। एकभाषीको भन्नुको मतलव उनीहरूको भाषामा अरु कुनै भाषाको मिसावट थिएन। अहिलेसम्म भेटिएका मानव समुदायको समूहमध्ये यो जातिमात्रै एकभाषी हुन्। जब म धर्मप्रचारका लागि लगिएको हाम्रो सानो हवाइजहाजबाट गाउँमा ओर्लेँ, मैले उनीहरूसँग कुरा गर्न खोजेँ, तब उनीहरूले आफ्नै भाषामा मलाई भने,‘मसँग झुकेर कुरा नगर, ठाडो भएर कुरा गर।’

    पिराहाहरूले आफूलाई पिराहा भन्दैनन्। खासमा यो त अन्य ब्राजिलियनहरूले राखेको उनीहरूको पहिचान हो। ‘पिराहा’ भनेको के हो भनेर उनीहरू आफैँलाई थाहा छैन। उनीहरू आफ्नो समुदायलाई ‘हिआतिही’ भन्छन्, जसको अर्थ हो ‘ठाडो भएर उभिनेहरू।’ र, हामीहरूचाहिँ ‘साओइ’ अर्थात् झुक्नेहरू। उनीहरू आफ्नो संस्कृतिका आधारमा अरुको मूल्यांकन गर्ने जाति हुन्। उनीहरू सर्वगुणी हुन् भनेर त म भन्दिनँ। कतिपयले मलाई यो आरोप पनि लगाउने गरेका छन् कि मैले उनीहरूलाई ‘सर्वगुण सम्पन्न जातिको समुह’ भन्ने गरेको छु। तर उनीहरू स्वयं त्यस्तो कुरा मान्दैनन्। र, म पनि त्यसो भन्दिनँ। उनीहरूका अनेकन चासोहरू छन् तर भगवान चाहिँ उनीहरूको चासोमा पर्दैन।

    म त्यहाँ गएपछि मेरो पहिलो काम त उनीहरूको भाषा सिक्नु भयो। कसैको भाषा सिक्नलाई त्यस समुदायको मूल्य, मान्यता, विश्वास र उनीहरूलाई अर्थपूर्ण लाग्ने कुरा के हुन् भनेर थाहा पाउनु आवश्यक हुन्छ। र, मभन्दा पहिले, सन् १९५९ मा नै यस समुदायमा प्रोटेस्टेन्ट क्रिश्चियनहरू आएर धर्म रूपान्तरका लागि अथक प्रयास गरेका थिए। म पनि तिनीहरूकै तेस्रो समूहमा पर्थेँ। त्यसबारे पनि मैले थोरै अध्ययन गरेँ। १९५९ देखि १९६७ र १९६७ देखि १९७६ सम्म धेरै क्रिश्च्यिन मिसनरीहरू आएर यहाँ काम गरे पनि धर्म रुपान्तरणमा खासै उपलब्धि भएको थिएन। धर्म रूपान्तरणमा सफलता मिलेको थिएन।

    सरल जीवन

    मलाई लाग्थ्यो कि म धेरै टाठो छु र त्यसो हुँदा भगवानले अरुलाई भन्दा मलाई नै सहयोग गर्नेछन्। त्यसो हुँदा धर्म रुपान्तरणमा मैले प्रभावशाली नतिजा ल्याउनेछु भन्ने विश्वास मलाई थियो। त्यो जटिल गाँठो मैले नै फुकाउनेछु र परमेश्वरले यिनीहरूको समुदायलाई अल्झाएको त्यो समस्या म पहिल्याउनेछु भन्नेमा म विश्वस्त थिएँ। सन् १७८४ मा आएको एउटा क्रिश्चियन धर्मप्रचारकहरूको समुह कायल भएर यो समुदायमा काम गर्न नसकिने भन्दै काम छाडेर हिँडेको भन्ने कुरा पनि मैले पढेँ। अमेजन क्षेत्रमै सबैभन्दा हठी मान्छेहरू रहेछन् यिनीहरू भन्ने ठहर गर्दै तिनीहरूले धर्म प्रचारको काम छाडेर हिँडेछन्।

    पिराहा युवती र बालबच्चाहरु।

    जतिखेर हामी पिराहाको समुदायमा पुग्छौँ, यिनीहरूको संस्कृति उति भव्य लाग्दैन। अनुहारमा रङ दल्ने, चित्र बनाउने र चराका प्वाँख भिर्नेजस्ता केही पनि संस्कृति छैन यिनीहरूको । सतही रूपमा हेर्दा यिनीहरु हिप्पीजस्ता देखिन्थे। फरक यत्ति थियो कि यिनीहरू मैले देखेका अन्य समुदायभन्दा एकदमै कम मेहेनत गर्थे। यिनीहरू माछा मार्ने कलामा भने एकदमै पोख्त छन्। मलाई लाग्छ, यिनीहरू हातमुख जोर्नका लागि औसतमा हप्ताको १५ घण्टाजति काम गर्छन्। यति गर्दा यिनीहरूलाई पर्याप्त खान पुग्छ। सामान्यतः कृषिकर्म गर्नेहरूभन्दा धेरै प्रकारका खानेकुरा यिनीहरू खान्छन्।

    यिनीहरूको जीवन त्यस्तो आदर्शमय त छैन तर आदर्शमय निकट छ। यसरी बाँच्नका लागि छाला खस्रो हुनु आवश्यक छ किनकि किराहरूले टोक्दा पनि छालामा खासै असर नगरोस्। यिनीहरूको छाला स्वतः बाक्लो भएकाले किराले टोक्ने समस्या छैन। मैले त्यहाँ गएर भगवानका बारेमा यिनीहरूलाई बुझाउनु पर्ने थियो। जब मैले यिनीहरूको भाषा सिक्दै गएँ, म उत्साहि हुँदै गएँ। मैले पिराहाहरूलाई आफ्नो देउताको महानताबारे प्रवचन दिनुथियो, ‘देउतामाथि विश्वास गरेपछि म कत्राकत्रा दुःखबाट उत्रेँ, रोगबाट निको भएँ, असफलबाट सफल भएँ’ भनेर मेरा ‘टेस्टिमोनी’हरू सुनाउनुथियो। टेस्टीमोनी सुनाउने कुरा धर्म प्रचारकहरूलाई महत्वपूर्ण कुरा हो। किनकि यस्तै कुराहरू भनेपछि मान्छेहरू प्रभावित हुन्छन् र धर्म परिवर्तनका लागि तयार हुन्छन्।

    उनीहरू आत्महत्या गर्दैनन्

    यही क्रममा मैले आफ्ना दुःखका कुरा बताउने क्रममा उनीहरूलाई भनेँ, ‘मेरा जीवनमा धेरै दुखका दिनहरू थिए। मेरी सौतेनी आमाले आत्महत्या गरिन्।’ यसो भन्दा उनीहरू उल्टै खित्का छाडेर हाँसे। दुःखको कुरा सुनाउँदा उनीहरूले उल्टै उडाएको देख्दा मेरो चित्त दुख्यो र भनेँ, ‘किन हाँस्नुभएको? हाँस्नुपर्ने के कारण छ?’ उनीहरूले भने, ‘हामी त आफ्नै ज्यान आफैँ लिँदैनौँ। तिमीहरू त आफ्नो ज्यान आफैँ लिँदारहेछौ, कस्तो चलन हो त्यो?’

    नवजात शिसुसँग पिराहा आमा।

    मैले पछि थाहा पाएँ कि उनीहरूको समाजमा ‘चिन्ता’ भन्ने शब्द नै छैन। डिप्रेसन (अवसाद) को अवधारणा नै छैन। उनीहरूकोमा धेरै मानसिक समस्या छैन र उनीहरू मान्छेलाई एकदमै सम्मानका साथ व्यवहार गर्छन्। शारिरीक समस्या भएका र बृद्धहरूलाई राम्रो स्याहारसम्भार गर्छन्। एउटा बुढो मान्छेलाई अहिले पनि म सम्झन्छु। तिनी खाना खोज्न जान सक्दैनथे, दाउरा बटुल्न पनि सक्दैनथे। तर तिनका लागि प्रत्येक बेलुकी खाना आइपुग्थ्यो। कतिसम्म भने बुढा मान्छेका लागि खाना चपाइदिएरै सहयोग गर्थे उनीहरू। मैले उनीहरूलाई सोधेँ, ‘केही काम नगर्ने बुढो मान्छेलाई खाना ल्याउनेमात्रै होइन, चपाइदिन दिक्क लाग्दैन?’, एउटाले उत्तर दियो, ‘जब म सानो थिएँ, उनले मलाई यसैगरी खाना खुवाउँथे।’

    यिनीहरूको समुदायमा खाना संकलन गरेर राख्ने चलन छैन। मैले एक जनालाई यसबारे सोधेँ पनि। उनको उत्तर थियो, ‘हामी भुँडीमै खाना संकलन गरेर राख्छौँ।’ यिनीहरूका अनेकौँ मूल्यमान्यता थिए, जसलाई आत्मसाथ गर्न म तयार थिइनँ तर ती मान्यताहरू प्रायजसो धार्मिक मान्छेले चर्चा गर्ने या आदर्श मान्ने खालकै थिए। तर यिनीहरू पटक्कै धार्मिक थिएनन्। मैले यिनीहरूको विश्वास प्रणालीबारे बुझ्नु थियो। संसार र प्राणी धर्तीमा कसरी सिर्जना भयो भन्नेबारे संसारभर अनेकौँ धार्मिक र ईश्वरीय कथा(क्रिएसन मिथ)हरू छन्। यो समुदायको चाहिँ ‘क्रिएसन मिथ’ के रहेछ भनेर जान्न म उत्सुक थिएँ। र, समाजशास्त्रीहरू मान्दछन् कि संसारका सबै समुदायमा क्रिएसन मिथ हुनेगर्छ।

    क्रिएसन मिथ : केरा र बाँदर

    म उनीहरूको क्रिएसन मिथ सुन्न आतुर थिएँ। र, सोही कारण मैले उनीहरूलाई सोधेँ, ‘ संसारमा पिराहा जाति आउनुअघि यो संसार कस्तो थियो? कसले रुख बनायो र कसले पानी?’ एउटा व्यक्तिले मलाई क्वार्क्वार्ती हेर्दै भन्यो, ‘के?’, मैले उही प्रश्न दोहोर्याएँ। उसले भन्यो, ‘रुख कसैले बनाएको होइन, पानी पनि कसैले होइन। यी केबल पानी र रुख हुन्।’

    एक पिराहासँग ड्यानियल।

    मैले उसलाई भनेँ, ‘तर धेरै समयअघि यहाँ रुखहरू थिएनन् नि?’ प्रतिउत्तरमा उसले भन्यो, ‘तिमीले रुखै नभएको समय पनि देख्यौ?’ मैले भनेँ, ‘होइन, तिम्रो बाउ, आमा, हजुरबा र हजुरआमाको पालामा….?’ उसले भन्यो, ‘हामी त्यस्तो कुरा गर्दैनौँ। रुख र पानी सधैँ यहाँ थिए। यहाँ पहिले पानी र रुख थिएन भन्ने कुरा पुष्टि नभएसम्म हामी पानी र रुख थिएन भन्ने ग्यारेन्टी गर्दैनौँ। यसको अर्थ हो यहाँ सधैँ पानी र रुख थिए।’

    मलाई लाग्यो, यो मान्छे मेरा लागि सही मान्छे होइन। म अर्कै खालको मान्छे खोज्छु, जो मेरा उद्देश्य पूर्तिका लागि सहायक हुनसक्छ। र, अनेक व्यिक्तिहरूलाई मैले क्रिएसन मिथका बारे सोधैँ। तर कसैले पनि धर्ति र संसारको उत्पत्ति कथा भन्न सकेन। अन्त्यमा मैले एउटा व्यक्ति भेट्टाइछाडेँ, जसले पृथ्वीको सिर्जनाका बारे भन्न सक्थ्यो। उसले क्रिश्चियनहरूले बताउने कथाझैँ मलाई ठूलो आत्माका कुरा बताउन थाल्यो।

    म दंग परेँ र मैले ठानेँ, ‘गजब भयो। अब भने मैले सही मान्छे भेट्टाएँ।’ तर पछि के थाहा लाग्यो भने यो मान्छे त पहिले नै कुनै धर्म प्रचारकले अनुवादका लागि प्रयोग गरेको मान्छे रहेछ। उसलाई क्रिश्चियनहरूले पहिले नै आफ्नो क्रिएसन मिथबारे बताइसकेका रहेछन् र उसले मेरो भित्री इच्छा बुझेर मात्रै यस्तो कुरा गरेको रहेछ। अन्य समाजशास्त्रीहरूले पनि पिराहाबारे अध्ययन गर्ने प्रयास गरे। फेडेरल युनिभर्सिटी अफ रियो दे जेनेरियोका एक जना समाजशास्त्रीले पनि त्यहाँ गएर क्रिएसन मिथबारे जान्न खोजेछन्। उनले त्यहाँ गएर सोधेछन्, ‘सबैभन्दा पहिले के आयो संसारमा?’ पिराहाहरूले भनेछन्, ‘केरा’। त्यसपछि उसले सोधेछ, ‘त्यसपछि? अर्को चिच्याएछ, ‘बाँदर।

    भगवानको अवधारणा नै छैन

    भगवान, परमात्मा या परमेश्वर भनेर हामी जुन अवधारणालाई बुझछौँ, उनीहरू यो अवधारणा नै बुझ्दैनन्। अनुवाद गर्न खोज्दा पनि कुरा बुझ्दैनन्। म नभएको बेलामा अर्कै एउटा मिसनरी त्यहाँ पुगेछ र आफ्नो प्रभुका बारे प्रवचन दिएछ। म त्यहाँ फर्केपछि एउटा पिराहा समुदयाको मान्छेलाई मलाई भन्यो, ‘मलाई शहरमा जान मन थियो तर अब जान्न। मैले सोधेँ किन? ‘एउटा मान्छे यहाँ आएको थियो र उसले भगवान नामको व्यक्तिको कुरा गर्यो। र, उसले यो पनि भन्यो कि जिससले हामीलाई शहरमा बोलाएका छन् रे। शहरमा पुगेपछि तिनीहरूले मलाई एउटा घरमा राख्छन् रे, जहाँबाट म कहिल्यै निस्कन मिल्दैन रे। यति भइसकेपछि उनीहरूलाई मलाई मारेर उनीहरूको स्वर्गमा लैजाने रे। भो म त जान्न।’

    चर्च जाने र स्वर्ग जानेबारे उसले त्यसरी कुरा बुझेछ। भनेपछि यिनीहरूमा भगवान र ईश्वरको अवधारणा नै छैन। यिनीहरू भुईँ र आकाशलाई एउटै शब्द प्रयोग गर्छन्। भुईँ भिज्यो भन्नुपर्यो र आकाश बादलियो भन्नुपरे एउटै शब्द प्रयोग गर्छन्। उनीहरू रङ चिन्दछन् तर यिनीहरूसँग रङका अनेक नामहरू छैनन्। त्यसो हुँदा उनीहरू त्यो चीज रगतजस्तै देखिन्छ या पातजस्तै देखिन्छ भन्छन्। अर्थ बुझिन्छ तर रङको नाम छैन। यिनीहरू धेरै लामो समयअघिका कुरा पनि गर्दैनन् र सुदुर भविष्यका कुरा पनि गर्दैनन्। यिनीहरू वर्तमानमा जिउँछन्। यिनीहरूसँग किन क्रिएसन मिथ छैन? किनभने यो कसैले अनुभव गरेको कुरा होइन। अनुभव नै गर्न नसकिने कुरा किन गर्नु? यो समुदायमा प्रमाण सबैभन्दा ठुलो कुरा हो। प्रमाण नै नभएको कुरा के गर्नु?

    म जसरी होस्, मेरा प्रभुका बारेमा यिनीहरूलाई बताउनेवाला थिएँ। जसैगरी होस्, यिनीहरूलाई ‘जिसस क्राइस्टबिना हामी र हाम्रो मुक्ति सम्भव छैन’ भनेर बताउनेवाला थिएँ। तर एक बिहान, यिनीहरूकै गाउँमा सबैसँग बसेर हामी कफी खाँदै थियौँ। उनीहरूलाई चिनी एकदमै मन पर्छ। उनीहरू पनि चिनी थपिथपि कफी पिउँदै थिए। यिनीहरूमध्ये एउटाले गफ थाल्यो र भन्यो, ‘ड्यान, तिमीलाई यो गाउँ मन परेर यहाँ आएका हौ। हुनपनि यो गाउँ सार्है रमाइलो छ। तर जिससका बारेमा भन्नका लागि तिमीभन्दा पहिले पनि मान्छेहरू आएका थिए, अरु पनि आए, फेरि आए। र, अहिले तिमी आएर जिससका बारे भनिरहेका छौ। हामी तिमीलाई मन पराउँछौ। तर सुन, हामी अमेरिकन होइनौँ। र, हामी जिससका बारेमा सुन्न चाहँदैनौँ। हामीलाई पिउन मन पर्छ, रमाइलो गर्न मन पर्छ र धेरै जनासँग शारिरीक सम्पर्क…’(उ फिस्स हाँस्यो।)

    तिम्रा जिसस कस्ता छन्?

    र, अघि सरेर भन्यो, ‘तर हामीलाई यस्ता कुरा सुन्न मन पर्दैन। तिमी यो गाउँमा बस्न सक्छौ। हामीलाई तिमी र तिम्रा बच्चाहरू मन पर्छन्। तर जिसस या प्रभुका बारेमा सुनेर हामी थाक्यौँ।’ उसले त्यसो भनेपछि मलाई लाग्यो, उनीहरूलाई सुन्न नै मन छैन भने मैले पनि भन्नु आवश्यक छैन। त्यसपछि म अर्को गाउँमा गएर बस्न थालेँ। अर्को गाउँका मान्छेहरूले फेरि मलाई सोध्न थाले, ‘ड्यान, तिम्रो जिससबारे हामीलाई केही केही कुरा भन न। जिसस हामीजस्तै रङका छन् कि तिमीजस्तै गोरा छन्? उनी हामीजस्तै शिकार गर्ने र माछा मार्ने गर्छन् कि अरु नै केही?’

    मैले उनीहरूलाई भनेँ, ‘हेर, जिससको रङ कस्तो छ मलाई थाहा छैन। मैले उनलाई कहिल्यै पनि देखेको छैन।’ उनीहरूमध्ये एउटाले भन्यो,‘साँच्चै, कहिल्यै देखेको पनि छैन?’ त्यसमध्ये अर्कोले भन्यो,‘उसो भए, तिम्रो बाउले त देखेका थिए होला नि। नभए जिससलाई देख्ने कसैले तिमीलाई उनीबारे भनेका होलान् नि त। त्यही अनुसार बताउ न, जिसस कस्ता छन्?

    मैले भनेँ, ‘मेरा बाउले पनि जिससलाई देखेका छैनन्।’ उनीहरूले मलाई कायल बनाउनेगरी सोधे, ‘त्यसो भए कसले देख्यो त जिससलाई?’ मैले भने, ‘तिनीहरू सबै मरिसकेँ। जिससलाई देख्ने कसैलाई पनि मैले भेट्न पाइनँ। यो धेरै अघिको कुरा हो।’ उनीहरूले कुराको बिट मार्ने गरी मलाई जर्वजस्त उत्तर दिए, ‘तिमी आफैँले कहिल्यै नदेखेको व्यक्तिबारे किन कुरा गरेको त? अरुले देखेको भन्ने कुरा समेत तिमीलाई थाहा रहेनछ।’ उनीहरूका यस्ता तर्कपूर्ण कुराले मेरो जरो नै हल्लायो।

    बिहे र सम्बन्ध विच्छेद

    पिराहाहरूको जीवनमा विहे भन्ने पनि छैन, सम्बन्ध विच्छेद भन्ने पनि छैन। तिमीले कसैसँग लामो जीवन बिताउन चाहेको छ भने उ÷उनीसँग केही दिन बिताउ, त्यही विवाह भयो। र, यसअघि नै कसैसँग लामो सम्बन्धमा तिमी थियौ भने यही नै तिम्रो सम्बन्ध विच्छेद हुनगयो। कुरो सामान्य छ। हाम्रोजस्तो जटिल विवाह र सम्बन्ध संरचना छैन यहाँ। यहाँ विवाहमा कसैलाई पैसा तिर्नुपदैन। कागज बनाउनुपर्दैन। र, यिनीहरूको समुदायमा सामुहिकता पनि छ। कमजोर र बच्चाको समुदायले मिलेर रक्षा गरिदिन्छ। बलियो हुँदा आफैँ काम गर्छन्। यिनीहरूको बलियो सिद्धान्त हो, अहस्तक्षेप। अरुलाई यसो गर भनेर दवाब नदिने। यिनीहरूकोमा सामाजिक मर्यादाक्रम (हाइराकी) नै छैन। यिनीहरूको घोषित कुनै मुखिया र नेता छैनन्।

    कतिपय मान्छेहरू क्रिश्चियन धर्मलाई सामान्यीकरण गर्दै भन्छन् कि यसले जीवनका अनेक क्षेत्रमा सकारात्मक प्रभाव पार्छ। तर मेरो बुझाई के छ भने हामीले अरुका पनि अनेकौँ संस्कृति र परम्पराको मिहिन अध्ययन गर्नुपर्छ तबमात्रै जीवनका जटिलताहरू पहिल्याउन सक्छौँ। धर्म आवश्यक छ या छैन भनेर जान्न सक्छौँ। र, हामी अमेरिकनहरू धर्मकै कारण जीवनका बारेमा अपराध बोध गर्छौँ र ठान्छौँ कि त्यही धर्मले फेरि हाम्रो अपराधबोधलाई हटाउन सक्छ। सत्य के हो भने धर्मकै कारण हामीले जीवनको आनन्द लिन सकेका छैनौँ। भड्किरहेका छौँ। तर ब्राजिलका विद्वत् वर्ग, अन्य धार्मिक समुदाय र पिराहाहरूजस्तै धर्म नै नभएका मान्छेहरूबाट मैलेचाहिँ जीवनमा ठूलो शिक्षा पाएँ।

    लामो समयको उद्विकासका कारण यिनीहरूको पहिचान निर्माण भएको छ। मलाई लाग्छ, यिनीहरू अहिलेसम्म थाहा भएका कुनै पनि भाषिक समुदायभित्र पर्दैनन्। यिनीहरू कहाँबाट आए र यिनीहरूको भाषा कहाँबाट आयो भन्ने कुरा पनि थाहा छैन। हामीलाई यत्ति कुरा थाहा छ, यिनीहरू हामीभन्दा धेरै फरक छन्। र, त्यही फरकपनामा यिनीहरूले हामीलाई पनि केही कुरा सिकाएका छन्। यिनीहरू हुन्थेनन् भने हामीले यति महत्वपूर्ण कुरा बुझ्ने थिएनौँ।

    पिराहाहरूको कुनै उत्पत्ति कथा नभएपनि, आफ्नै ‘भगवान’ नभएपनि यी मान्छेहरू भगवानबिना नै खुसी छन्। र, यो तथ्य थाहा पाउँदा धेरै धार्मिक मान्छेहरूमात्रै होइन, समाजशास्त्रीहरू समेत चकित पर्नेछन्। किनभने समाजशास्त्रीहरूसमेत मान्दछन् कि प्रत्येक समाजमा ईश्वर वा भगवानका कथा वा विश्वासका कुरा हुनेगर्छन्। तर पिराहाले यो प्रमाणित गरे कि इश्वर र ईश्वरको कथाबिनै पनि समाज र समुदाय सम्भव छ। खुसीयुक्त जीवन सम्भव छ।

    यिनीहरूबाट हामी के बुझ्न सक्छौँ भने हामाले विश्वव्यापी र सार्वभौम भनेर जे कुरा मान्छौँ, त्यो सत्य होइन रहेछ। जुन कुराले मान्छे खुसी हुन्छ भनेर हामी ठान्छौँ, त्यो पनि होइन रहेछ। र, २ हजार वर्षअघि क्रसमा झुण्ड्याएर कुनै मान्छे मर्यो या मारियो भन्ने जुन कथा/अवधारणा छ, र, जसलाई कसैले पनि देखेको छैन, त्यो कुराले मेरो जीवनको खुसी निर्धारण गर्न सक्दैन भन्ने पाठ पिराहाबाट हामी सिक्न सक्छौँ।

    पिराहा समुदायका बालबच्चाहरु।

    पिराहाहरूले मलाई यो कुरा बुझाएका छन् कि स्वर्गको आशा र नर्कको त्रासबिनै जीवन र मृत्युलाई आत्मसाथ गर्नुमा ठूलो आत्मसम्मान र गहिरो आनन्द छ। गहिरो रसातलमा जाकिनुपूर्व हाँस्दै जीवनको डुंगा हाँक्नुमा परम आनन्द छ। र, यिनीहरूले मलाई यो सत्य पनि देखाइदिएका छन् कि वर्षौँसम्म मलाई बताइएका अनेकौँ भ्रमबारे म जानकार नै थिइनँ। पिराहाहरूबाट मैले जीवनको सत्यवोध गरेको छु र बाचुन्जेलसम्म यिनीहरूप्रति ऋणी छु।

    [ड्यानियल लियोनार्ड एभरेट भाषाशास्त्री तथा मानवशास्त्री हुन्। अमेजन घाँटीमा बसोबास गर्ने पिराहा जाति र तिनको भाषाका बारेमा यिनले कमसेकम ३० वर्षसम्म त्यहीँ रहेर अध्ययन गरे। सन २०१८ को तथ्यांकअनुसार पिराहाको जनशंख्या ८ सय हाराहारी छ। सन् २००८ मा प्रकाशित ड्यानियलको चर्चित पुस्तकको नाम हो, ‘डन्ट स्लिप, देयर आर स्नेक्स’ यिनको चर्चित पुस्तक हो। उनले सो पुस्तकमा पिराहा समुदायको जीवनबाट प्रभावित भएर आफू कसरी कट्टर धार्मिक क्रिश्चियनबाट नास्तिक बनेको विषयलगायत थुप्रै भाषिक र सांस्कृतिक कुरा उल्लेख गरेका छन्। धर्म छाडेपछि यिनकी श्रीमती र बालबच्चाले यिनलाई पनि छाडेका थिए।]

    ‘फ्रिडम फ्रम रिलिजन फाउण्डेसन’को वेबसाइटबाट नेपाल रिडर्सका लागि प्रकाश अजातद्वारा अनुदित।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.