पुग–नपुग चौध वर्षको उमेरमा मैले पैलो पटक होस पुर्याएर पढ्न जानेँ । म त्यतिखेर किताबमा भएको कथानकबाट मात्र होइन, त्यसमा चित्रण गरिएका घटनाहरुको चाखलाग्दा विकासबाट समेत कमबेसी आकर्षित भएको थिएँ, त्यतिखेर नै मैले किताबमा भएका वर्णनहरुको सौन्दर्यको कदर गर्न थालेको थिएँ, धुमिल रुपमा लेखकका उद्देश्यका बारेमा अनुमान लगाउन थालेको थिएँ र किताबमा भनिएको र जीवनले अनुप्राणित गरेको भिन्नताका बारेमा विस्मयका साथ अनुभव गर्न थालेको थिएँ।
त्यो समय मेरा लागि कठिन समय थियो, किनभने म त्यतिखेर अशिक्षित मानिसहरुले चलाएको एउटा कारखानामा ऊन रङ्गाउने काम गर्दै थिएँ । ती मानिसहरुको लागि प्रचुर खाना नै आनन्दको उत्कर्ष थियो र तिनीहरुको एकमात्र सोख नाचघरमा जाँदा वा बाहिर घुमफिर गर्न निस्कदाँ मानिसहरुले सजिसजाउका साथ लुगा लगाए जसरी नै सजधज भएर चर्च जानु थियो । मेरो काम अति गाह्रो थियो, यही कारणले गर्दा मेरो मन लगभग लाटिएको हुन्थ्यो, मैले आइतबार वा बिदाका दिनहरुमा पनि उत्तिकै क्षुद्र, अर्थहीन र निस्सार कष्टसाध्य काममा अस्तव्यस्त हुनुपर्दथ्यो।
मेरा मालिकहरु बसेको घर क्लाज्मा नदीतिरको सडक बनाउने एक जना ठेकदारको थियो। ऊ पुड्को, मोटो, चुस्स दाह्री र खैरो रङको आँखा भएको, सधैँ रिसाइरहने, अशिष्ट, क्रुर र निष्ठुर प्रकृतिको मानिस थियो। उसका तीसजना जति कामदारहरु थिए, ती सबै भ्लादिमिर गुबेर्निआबाट आएका किसानहरु थिए । तिनीहरु भुइँमा सिमेन्ट लगाएको र स–साना झ्यालहरु भएको जमिनमुनिको अँध्यारो छिँडीमा बस्तथे। कामले थकित भएका उनीहरु साँझपख नमिठो गन्ध भएको भित्र्याँस वा सोडाले दुर्गन्धित नुनिलो मासु मिसाएको बन्दागोबीको झोल खाइसकेपछि आफ्नो कोठाबाट बाहिर देखा पर्दथे र फोहोर आगनमा हातखुट्टा पसारेर पल्टिन्थे, किनभने उनीहरुको चिसो कोठाको हावा त्यहाँ बाल्ने गरिएको ठुलो चुल्हो को धुवाँले गर्दा विषाक्त र निस्सासिँदो थियो।
ठेकेदार आफ्नो कोठाको झ्यालमा यसो देखापर्थ्यो र आफ्ना कामदारहरुलाई हप्काउन थाल्दथ्यो, “राडीँका छोराहरु फेरि निस्कियौ तिमीहरु आँगनमा ! हेर न सुगुँरजस्तै जथाभावी पल्टिएको ! मेरा घरमा सम्मानित मानिसहरु बसेका छन्, तिमीहरुजस्तालाई यहाँ बाहिर देखेर तिनले आनन्द लिन्छन् भन्ने ठानेका छौ तिमीहरुले!”
कामदारहरु कुनै बचन नलाई आज्ञा पालाना गर्दै आफ्नो कोठामा फर्कन्थे। ती मानिसहरु सबै नै दुःखी र शोकाकुल थिए, तिनीहरु कहिलेकाहीँ मात्र बोल्दथे, हाँस्तथे र विरलै मात्र गीत गाउँथे। तिनका लुगा धुलो र हिलोले लत्पतिएका हुन्थे र ती मलाई आफ्ना इच्छाविरुद्ध जीवनको अर्को अवधिका निम्ति यातना भोग्न फेरि ब्युँझाइएका लासहरुजस्ता लाग्दथे।
ठेकेदारले भनेका “ती सम्मानित मानिसहरु ” चाहिँ सैनिक अफिसरहरु थिए। ती रक्सी धोक्थे, जुवातास खेल्थे, आफ्ना नोकरचाकरहरुलाई निलडाम बस्ने गरी पिट्थे र आफ्ना श्रीमतीहरुमाथि पनि हातपात गर्दथे। तिनका श्रीमतीहरु पनि भडकिला लुगा लगाउँथे, रक्सी बेस्सरी धोक्थे र अफिसरका नोकरचाकरहरुलाई निर्ममतापुर्वक कुट्तथे। यी नोकरहरु पनि असाधारण रुपले रक्सी खान्थे र आफुलाई मद्यपानमा उडाउँथे। आइतबारका दिन ठेकेदार एउटा हातमा हिसाबको लामो बहिखाता र अर्को हातमा पेन्सिलको सानो ठुटो समातेर दलानको सिँढीमा बस्तथ्यो। कामदारहरु, मगन्ते हुन् कि जस्तो गरेर एक–एक गर्दै उसका अघि खुट्टा घसार्दै आइपुग्थे। उनीहरु झिनो स्वरमा झुकेर र टाउको कन्याउदै बोल्दथे भने ठेकेदार चाहिँ संसार नै थर्काउने गरी चिच्याउँथ्यो – “बेसी नकरा ! एक रुबल भए जत्ति पुग्छ, के रे ! सुनिनस् ! तैँले पाउनुपर्ने भन्दा बढी पाइसकिस्! यहाँबाट निस्किहाल! चाँडो गर त!”
म के जान्दथेँ भने कामदारमध्येका केही ठेकेदारकै गाउँका थिए र कतिपय त ठेकेदारका नातेदार समेत थिए। तर ऊ सबैलाई उही निष्ठुर, रुखो व्यवहार गर्दथ्यो। कामदारहरु पनि एकअर्काप्रति निष्ठुर र रुखा थिए, खासगरेर अफिसरहरुका नोकरचाकरहरुप्रति। हरेक आइतबारको भोलिपल्ट आँगनमा रक्तपातपूर्ण र खुला भिडन्त सुरु हुन्थ्यो। भिडन्तमा प्रयोग गरिएका अश्लील बोलीहरुले वातावरण नै विषाक्त बन्दथ्यो। ज्यामीहरु कुनै कष्टप्रद कर्तव्य निर्वाह गरेजस्तो गरी बिना विद्वेश झगडा गर्दथे, पटक–पटक कुटाइ खाएर, जिउमा घाउका खाटा बसाएर उनीहरु झगडाबाट फुत्कन्थे र फोहोर लागेका औँलाहरुले हल्लिएका दाँतहरु यसो जाँच्दै एकान्तमा आफ्ना निलडाम र घाउहरु नियाल्थे। झैझगडा र भिडन्तका कारण छियाछिया परेको अनुहार वा नीलडाम बसेको आँखाले कुनै किसिमको सहानुभूति पाउँदैनथ्यो । तर कमीज फाटेर छियाछिया भएको खण्डमा भने कुरा अर्कै हुन्थ्यो।
त्यतिखेर दुःख व्यक्त गर्नु सामान्य विषय हुन्थ्यो र नोक्सानी भोगेको कमिज धनी उद्धिग्नतापूर्वक आफ्नो क्षतिमा झोक्राउँथ्यो र कहिलेकाहीँ त आँसुसमेत झार्दथ्यो।
यस्ता दृश्यहरुले ममा वर्णनसम्म गर्न नसकिने गह्रुङ्गा भावानाहरु उमार्थे। म यी मानिसहरुप्रति दुःखी थिए, तर म उत्साहिन र पृथक थिए। ममा कहिल्यै यस्तो कुनै मानिसप्रति सहानुभूतिका शब्द प्रकट गर्ने चाहना भएन। कम्तिमा पनि उसको धुलो र हिलो मिसिएर बाक्लो भएर घाउ र काटिएको ठाउँबाट बगिरहेको रगत पानीले पखालेर सहयोग गर्ने इच्छा म मा आएन। वास्तवमा, म यी मानिसहरुलाई मन पराउदैन थिँए, केही हदसम्म उनीहरुसँग डराउँथे र म पनि मेरा मालिकहरु वा अफिसरहरु, सेनाका पुरेतहरु, छिमेकको भान्से वा अफिसरका नोकरहरुले जसरी नै उनीहरुलाई ज्यापु भन्दथेँ। यी सबै मानिसहरु ज्यापुको बारेमा घृणा गरेर बोल्दछन्।
मानिसहरुको लागि दुःखको अनुभूति गर्नु क्लेशकर कार्य हो। कसैले पनि कोही प्रति माया गरेर सधैँ नै आनन्द लिन मन पराउँछ। तर मैले माया गर्न सक्ने कोही पनि थिएन। यही कारण मैले बढी नै उत्साहका साथ किताबहरुलाई मन पराएँ।
म रहेको वातावरणमा धेरै नै दुष्टतापूर्ण र असभ्य कुराहरु थिए र तिनले तीव्र विरक्तिको भावना जगाउँथे। म तिनका बारेमा यहाँ विरक्तमा केही नभनौँ, तपाई आफैँ मानिसले मानिसमाथि थोपारेको अपमानजनक नारकीय जीवन र दासहरु आनन्दित हुने पीडायुक्त रुग्ण प्रेरणाका बारेमा सचेत हुनुहुन्छ। मैले यही निन्दनीय परिस्थितिमा विदेशी लेखकहरुले लेखेका राम्रा र गम्भीर प्रकृतिका किताबहरु पहिलो पटक पढ्न पाँए।
किताबको पढाइबाट मलाई के पनि बोध भयो भने मेरो वरिपरिको जीवन त्यो सबै, मेरा वरिपरि घट्ने कठोर, भ्रष्ट र क्रुर घटनाहरु ती सबै वास्तविक र आवश्यक कुराहरु थिएनन्। वास्तविक र आवश्यक कुराहरु त किताबमा मात्र पाइन्थ्यो, जहाँ हरेक कुरा बढी विवेकपूर्ण, सुन्दर र मानवोचित थियो।
झन्डैजसो हरेक पुस्तकले मेरा सामू एउटा नयाँ र अपरिचित संसारको झ्याल खोलिदिएको र मैले यसअघि कहिलै थाहा नपाएका र नदेखेका मानिस, भावना, विचार र सम्बन्धहरुको बारेमा जानकारी दिएको कुराले ममा परेको आश्चर्यको मात्रालाई सायद म पर्याप्त सुस्पष्टता र विश्वसनीयताका साथ अभिव्यक्त गर्न असमर्थ प्रमाणित हुनेछु। यस्ता किताबको पढाइबाट मलाई के पनि बोध भयो भने मेरो वरिपरिको जीवन त्यो सबै, मेरा वरिपरि घट्ने कठोर, भ्रष्ट र क्रुर घटनाहरु ती सबै वास्तविक र आवश्यक कुराहरु थिएनन्। वास्तविक र आवश्यक कुराहरु त किताबमा मात्र पाइन्थ्यो, जहाँ हरेक कुरा बढी विवेकपूर्ण, सुन्दर र मानवोचित थियो। के साँचो हो भने किताबहरुले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निःकृष्ट र दुष्ट मानिसहरुको चित्रण पनि गर्दछन्। तर अर्कातिर अरु त्यस खालका मानिसहरु समेत हुन्छन्, जो निर्मल, सत्यनिष्ठ, दरिलो आत्मा भएका हुन्छन् र जो सत्यको विजय र सौन्दर्यको सिद्धिका निम्ति आफ्नो अमूल्य जीवन समर्पित गर्न तम्तयार हुन्छन्।
पुस्तकहरुले मेरो सामु उद्घाटित गरेको विश्वको नवीनतम र आत्मिक सम्पदाबाट सम्मोहित भएर सुरुमा मैले पुस्तकहरुलाई अझ राम्रा, बढी नै चाखलाग्दा र मानिसहरुभन्दा पनि निकटतम मानेँ। र, मलाई के लाग्छ भने म त्यतिखेर जीवनका यथार्थहरुलाई पुस्तकहरुको काँचबाट हेर्दथेँ र यसरी केही हदसम्म अन्धो बनेको थिएँ। तथापि, शिक्षकमध्येको सबैभन्दा बढी बुद्धिमान र कठोरतम शिक्षक जीवनले चाँडै नै मलाई त्यो आनन्ददायी अन्धताबाट निको पार्यो।
आइतबारका दिनहरुमा, जतिखेर मेरा मालिकहरु अरुलाई भेट गर्न वा घुमफिर गर्न निस्कन्थे, त्यतिखेर म निस्सासिँदो र हवास्स तेल–गन्ध आउने भान्छाकोठाको झ्यालबाट निस्किएर घरको छानामा चढ्दथेँ र त्यहा मजासँग बसेर पढ्ने गर्दथें। तल आँगनमा उँघिरहेका वा रक्सीको मातमा ढुनमुनिरहेका कामदारहरु देख्तथेँ वा अफिसरका नोकरहरुको भद्दा व्यवहारका कारण नोकर्नीहरु, लुगाधुने र भात पकाउने महिलाहरु चिच्याइरहेको सुन्दथेँ । म बसेको ठाउँबाट तल आँगनमा हेर्दथेँ र मेरो वरपर रहेको तुच्छ, रक्स्याहा र छाडा जीवनलाई अतिशय घृणा गर्दथेँ।
कामदारमध्येको एकजना उनीहरुको नाइके थिए पाको र पुड्को, स्तेपान ल्योशिन उनको नाम थियो। उनको कद नमिलेको र बाङ्गो थियो, दुब्लो तर बलवान् उनका आँखाहरु ढाडे बिरालाका जस्ता थिए र पातला र खैरा दाह्रीहरु उनको अनुहारमा हाँसउठ्दो गरी कतै कतै मात्र टुक्राटाक्रीमा झुस्स बढेका थिए, छिन्न लागेको हाडमात्रको उनको घाटीँ थियो र त्यस्तै थिए कानहरु पनि। उनका लुगाहरु अरुहरुको भन्दा बढी फाटेका थिए र अरुभन्दा बढी फोहोरी, ऊ उनीहरुमध्येको सबैभन्दा मिलनसार मानिस थिए। उनीसँग सबै डराउँथे र उनको सम्मानमा उभिन्थे। कतिसम्म भने उनको मालिक पनि उनीसँग कुराकानी गर्दा आफ्नो कर्कश र क्रुद्ध स्वरलाई मसिनो पार्दथ्यो। म प्रायः मानिसहरुलाई ल्योशिनको अनुपस्थितिमा “मख्खीचुस, ठिम्मर, भतुवा” भनेर उनको कुरा काटेको सुन्दथें।
पाका ल्योशिन एकजना फुर्तिला मानिस थिए, तर हल्लाबाज भने थिएनन्। उनी आँगनको कुनै पनि कुनामा दुई–तीनजना मानिस भेला भएका ठाउँमा थाहै नपाउने गरी टुप्लुक्क आइपुग्दथे, उनको अनुहारमा कर्के हेराई हुन्थ्यो र उनी आफ्नो ठूलो नाकले सुँघ्दै सोध्दथे:
“के छ हालखबर ?”
मलाई कस्तो लाग्दथ्यो भने उनी सधैँ नै केही कुराको खोजीमा छन्, अरुहरुले केही शब्द भनुन् भन्ने प्रतीक्षामा छन्।
एकपटक म कटेराको छानामा बसिरहेको बेलामा उनी हान्निदै आए, भरेङ चढे र मेरो छेउमा बस्दै वातावरण बुझिसकेपछि भने:
“परालको गन्ध पो आउँछ त !… तिमीले यो राम्रो ठाउँ भेट्टाएछौ, सफा र मानिसहरुबाट अलग्ग… तिमीले त्यो के पढेको हँ?”
मित्रतापूर्ण भावले उनले मलाई हेरे र मैले उनलाई मनैदेखि पढ्दै गरेको विषयका बारेमा जानकारी गराएँ।
“ए ! कुरो त्यसो हो ” उनले टाउको हल्लाउँदै भने।
उनी एकछिनसम्म मौन रहे, देब्रे खुट्टाको बुढी औँलाको भाँचिएको नङ् आफ्नो फोहोर औँलाले तान्दै उनले अकस्मात् मसिनो एकोहोरो स्वरमा कुनै कथा हालेजसरी मलाई आँखा तर्दै भने:
“भ्लादिमिर भन्ने ठाउँमा सबानेयेभ नाम भएका एकजना निकै सज्जन, विद्वान मानिस थिए र उनको एउटा छोरो थियो, पेत्रुशा वा यस्तै केही नाम थियो उसको। मैले अहिले उसको नाम ठ्याक्कै सम्झिन सकिनँ। अँ त, पेत्रुशा जहिले पनि किताबहरु पढेको पढ्यै गर्दथ्यो र अरुहरुमा पनि पढाइप्रति चाख उमार्ने काम गर्दथ्यो। तर अन्त्यमा ऊ समातियो ।”
“किन समातिएको नि ?” मैले उनलाई सोधें।
“त्यस्तै कुराका कारणले ! तिमी पनि पढेको पढ्यै मात्र नगर नि ! पढ्ने नै हो भने पनि यसबारेमा मौन बस्नु है !”
उनी मुसुक्क हाँसे, मलाई हेरेर आँखा झिम्कायाए र आफ्नो भनाइलाई जारी राखे: “तिमी कस्तो खालका मानिस हौ मलाइ थाहा छ, तिमी गम्भीर र उपद्रो नगर्ने प्रकृतिका मानिस हौ। उस्तो हुनुमा नोक्सानी केही पनि छैन…”
उनी केहीबेर मसँग बसे र तल झरे। त्यो बेलादेखि ल्योशिनले मेरो निगरानी गरिरहेको मैले पाँए। उनी सधैं मेरो छेउमा आउँथे र एउटै प्रश्न राख्तथे – के छ हालखबर ?
एकपटक मैले मेरो मनलाई अति नै मोहित पारेको, खराब कुरामाथि असल कुराले विजय पाएको सम्बन्धमा एउटा कथा सुनाएँ, एकदमै राम्रो कथा, एकदमै वास्तविक जिउँदाजाग्दा मानिसहरुको कथा, किताबका मानिसहरुको कथा होइन । र, निष्कर्षमा उनले प्रभावकारी ढ्ङ्गले भनेः
“देख्यौ, तिमी यी कुराहरुलाई पूर्णरुपमा बुझ्न सक्तैनौ। तर तिमीले मुख्य कुरो के बुझनुपर्छ भने स–साना कुराहरुकाे अन्त्य छैन, ती घटिनै रहन्छन् र मानिसहरु यस्तै स-साना कुराहरुमा अलमलिइरहेका हुन्छन्। उनीहरु कुन बाटो अनुसरण गर्नुपर्ने हो थाहा पाउँदैनन्। त्यसैले उनीहरु ईश्वरसम्म पुग्ने बाटो जान्दैनन्। मैले भनेको कुरो तिमीले बुझ्यौ होइन? मानिसहरु तुच्छ कुरामा नै अल्झिएका हुन्छन्।”
पुस्तकले मानिसमाथि विश्वास राख्न सिकाइनै सकेका थिए। सबै कुरामाथि विचार गर्दा वास्तविक जीवनमा जे छ, किताबहरुले चित्रण गर्दछन्।
यी शब्दहरुले मेरो हृदयमा केही कुरा सजीव बनाउदै जगाउन खोजेको मलाई लाग्यो र एक्कासी प्रकाश पाएजस्तो अनुभव मैले गरें। वास्तवमा, मेरो वरिपरिको जीवन तुच्छता, झैझगडा, कुकर्म, निम्न चोरीचकारी र पवित्र एवम् मीठा शब्द बिनाको अश्लील भाषासहितको सस्याना कुराहरुले भरिभराउ थियो। स्तेपान ल्योशिन म जति उमेरको थिएँ, त्योभन्दा पाँच गुना बढी बुढा थिए र उनी धेरै कुराहरु जान्दथे। त्यसकारण उनले जीवनमा वास्तविक रुपमै असल कुराहरु घट्तछन् भन्दा त्यसमाथि विश्वास राख्न मसँग पर्याप्त कारणहरु थिए। म उनलाई विश्वास गर्न उत्सुक थिएँ, पुस्तकले मानिसमाथि विश्वास राख्न सिकाइनै सकेका थिए। सबै कुरामाथि विचार गर्दा वास्तविक जीवनमा जे छ, किताबहरुले चित्रण गर्दछन् अर्थात पुस्तकहरु वस्तुगत यथार्थका अनुकरण हुन् र यसकारण निष्ठुर ठेकेदार वा मेरो मालिक, रक्स्याहा अफिसरहरु वा मैले चिनेजानेका अरु मानिसहरुभन्दा एकदमै फरक असल मानिसहरुको अस्तित्व जीवनमा हुनैपर्दछ भन्ने अनुभव मैले गरें ।
यो आविस्कार मेरा लागि महान आनन्दको विषय थियो। यसपछि मैले जीवनलाई सकारात्मक दृष्टिबाट हेर्न थालें, मानिसहरुलाई बढी मित्रवत रुपमा सोच्न थालेँ र उनीहरु मेरालागि बढी नै मित्रवत बने । अनि म जे जति असल कुरा पढ्दथे र जेले जोशलाई माथि उठाउँथ्यो, त्यो सबै मैले ज्यामीहरु र अफिसरका नोकरहरुलाई सुनाउने प्रयास गरें। उनीहरु असल श्रोता थिएनन् र मलाई के लाग्दछ भने उनीहरु मलाई त्यति धेरै विश्वास पनि गर्दैनथे। तथापि स्तेपान ल्योशिनले भने मलाई निरन्तर भनी नै रहे, “यस्ता कुराहरु घट्तछन्। मेरा बाबु ! सबै किसिमका कुराहरु हुन्छन।”
यो छोटो र बुज्रुक भनाइ मेरा निम्ति विस्मयकारी रुपले अति नै महत्वको थियो। जति बढी मैले यो भनाइलाई सुनेँ, त्यति नै बढी यसले ममा साहस एवम् दृढताको भावना र मेरो उद्देश्य हासिल गर्ने दरिलो इच्छा जगायो। वास्तवमा, “सबै किसिमका कुराहरु घट्तछन् ” भने मैले जे चाहेको हो, त्यो पनि त भएरै छाड्ने छ। मैले के ख्याल गरेको छु भने जतिखेर जीवनले मलाई कठोरतम प्रहारहरु चखाएको छ, त्यो बेलामा मेरो जीवनमा आएको असङ्ख्य ती कष्टकर दिनहरुमा नै ममा सधैँ साहस र धैर्यको भावना उर्लेको थियो र युवकहरुको र हर्कुलसको जस्तो प्रचण्ड आकाङक्षा, जीवनमा अजङ्गका फोहोरमैला सफा गर्ने तीब्र उद्वेगले मलाई ओतप्रोत बनाउँथ्यो। यो तीव्र उद्वेग अहिले पचास वर्षको उमेरमा पुग्दासमेत ममा रहिरहेकै छ र म नमरुन्जेलसम्म पनि यथावत रहिरहने छ। म यस गुणका लागि पुस्तकहरुको ऋणी छु। पुस्तकहरु मानवजोशका शुभ सन्देशहरु हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहनीय वेदना र सन्तापलाइ प्रतिबिम्बित गर्दछन्। मष्तिस्कको कविता विज्ञान र हृदयको कविता कलाप्रति म ऋणी छु। पुस्तकहरुले निरन्तर मेरा अघि नयाँ नयाँ मनोरम दृश्यहरु देखाइरहे। दुईवटा सचित्र पत्रिका विश्वचित्र (भ्सेमिर्नाया इल्ल्युस्ट्रेसिया) र सचित्र रिभ्यु (ज्झिभोपिस्नोये ओबोज्रेनिए)को मेरो जीवन विशेष मूल्य रहेको छ। देश–विदेशका सहरहरु, मानिसहरु र घटनाहरु तिनको वर्णनले संसारलाई मेरो सामु बढीभन्दा बढी बिस्तार गरे र यो विश्व विकसित भइरहेको, विशाल, मनमोहक र महान् कार्यहरुले भरिपुर्ण भएको मैले अनुभव गरेँ।
हामीकहाँ भएका गिर्जाघरहरु र घरहरुभन्दा एकदमै भिन्न मन्दिर र दरबारहरु, भिन्दै साजसज्जामा ठाँटिएका मानिसहरु, फरक ढ्ङ्गले मानिसले सजाएका जमिनहरु, उदेकलाग्दा मेरिनहरु, तिनले उत्पादन गरेका अदभुत कुराहरु, यी सबले ममा उल्लासका असङ्ख्य भावनाहरु र त्यस्तै केही बनाउने र निर्माण गर्ने आकाङ्क्षा जगाए।
हरेक कुरा भिन्न र नौला थियो। तर अस्पस्ट रुपमा मैले के जाने भने यो सबैको पछि एउटै र उही शक्तिले काम गरेको थियो र त्यो थियो मानिसको सृजनशिलता। र, मानिसहरुप्रतिको चिन्तन र सम्मानको भावना ममा एकदमै बढ्यो।
प्रख्यात बैज्ञानिक फराडेको एउटा रेखाचित्र पत्रिकामा देखेपछि र त्यसमा भएको उनीबारेको एउटा लेख पढिसकेपछि म एकदमै सम्मोहित भए। लेखको धेरै अंश मैले बुझ्न सकिन, तापनि यसबाट मैले के थाहा पाँए भने फराडे साधारण मजदुर थिए। यो तथ्य मलाई परीकथाजस्तो लाग्यो र मेरो मनमा नमेटिने गरी अङ्कित भएर बस्यो।
सन्देहका साथ मैले आफैसगँ सोधे, यो कसरी सम्भव छ? यसको अर्थ के पनि हो भने यी ज्यामीहरुमध्येको कोही पनि बैज्ञानिक हुन सम्भव छ। सायद, म पनि एक बैज्ञानिक बन्न सक्छु?
यो एउटा त्यस्तो कुरो थियो, जसमाथि म विश्वास नै गर्न सक्दिनथें। यसपछि मैले पहिले मजदुरको जीवन बिताएको कुुनै अर्को मानिस प्रसिद्ध भएको थियो कि भनेर सोधखोज गर्न थाले। पत्रिकाबाट त मैले केही फेला पारिनँ, तर मैले चिनेको एकजना माध्यमिक पाठशालाको विद्यार्थीले मलाई के जानकारी दिए भने धेरै धरै ख्यातिप्राप्त गरेका मानिसहरु पहिले मजदुर थिए। र, उनले केहीको नाम समेत बताए, तिनमा स्टेफेन्सको नाउँ पनि थियो, तर मैले उनलाई पत्याइनँ।
जति बढी मैले पढे, त्यति नै बढी पुस्तकहरुले संसारप्रति मलाई आबद्ध बनाए र मेरा निम्ति जीवन बढी नै चहकिलो र महत्वको बन्न थाल्यो। मैले संसारमा मेराभन्दा निकृष्ट र कठीनतर जिन्दगी बाँचिरहेका मानिसहरु फेला पारेँ। यसबाट मैले केही सान्त्वना प्राप्त गरें पनि मेरो जीवनका कष्टकर तथ्यहरुप्रति म सन्तुष्ट हुन सकिनँ। मैले त्यस्ता मानिसहरु पनि भेट्टाएँ, जो आफ्नो चाखअनुसार र सुखमय तरिकाले जीवन बिताउन समर्थ थिए र कसरी गर्ने मेरा वरपरका कोही पनि जान्दैनथे। हरेक पुस्तकका झन्डैजसो पानाहरुमा वशीभूत पार्ने दरिला सन्देश हुन्थे र तिनले मलाई व्यग्र बनाउथे, अज्ञात संसारतिर मलाई पुर्याउँथे र मेरो हृदय नै लुछ्थे । सम्पूर्ण मानिसहरु कुनै न कुनै किसिमले दु:खमय जीवन बाँचिरहेका थिए, आफ्नो जीवनप्रति असन्तुष्ट थिए र भइरहेको भन्दा राम्रोको खोजीमा थिए । र, यही त्यो कुरो थियो, जसले मलाई तिनको निकटतर पुर्यायो र मेरा निम्ति तिनलाई बढी बुझ्न सकिने बनायो। पुस्तकहरुले उन्नत कुरा प्राप्त गर्ने शोकपूर्ण उच्च आकाङक्षाको कात्रोले सारा संसारलाई ढाकेका थिए ती सबै आकाङक्षाहरुको आत्मा अक्षर र शब्दका रुपमा कागजमा टाँसिएका थिए र जुन क्षण मेरा आँखाहरु र मन तिनको सम्पर्कमा आउँथे, ती जीवन्त हुन पुग्दथे।
म प्रायः पढ्दापढ्दै रुन्थें, किनभने ती मानिसहरुका बारेमा अति नै प्रेरक कथाहरु हुन्थे र मेरा लागि ती अति नै प्रिय र घनिष्ट थिए । विवेकशुन्य श्रमले दिक्क बनेको र चेतनाहीन तिरस्कारबाट अपमानित ठिटो थिएँ म, ठुलो भएपछि मानिसहरुलाई सहयोग गर्ने र इमानदारीका साथ तिनको सेवा गर्ने गम्भीर प्रतिज्ञा मैले गरें।
परीकथाका केही अचम्मलाग्दा चराहरुसरह पुस्तकहरुले मेरालागि तिनको गीत गाए र जेलमा परेको निर्धो कैदीसँग कुराकानी गरेजस्तै तिनले मसँग कुरा गरे, पुस्तकले जीवनका विविधता र सम्पन्नताको गीत गाए, असलपन र सौन्दर्यको प्राप्तिका प्रयत्नहरुमा मानिसहरुले गरेका ठुलाठुला र अथक साहसको गाथा गुनगुनाए। जति धेरै मैले पढें, त्यति नै बढी मेरो हृदयमा हितकारी र मायाको भावना भरिए र म अझ धेरै शान्त भएँ। मेरो आत्मविश्वास बढ्यो, मेरा काममा सुधार आयो र जीवनले मलाई दिएका असङख्य अवहेलनाप्रति मैले ध्यान दिन छाडें।
पशुताबाट मानवतामा जान, सम्मुन्नत जीवनको समझदारीमा पुग्न र त्यो उन्नत जीवन पाउनको लागि तिर्खा मेट्न प्रत्येक पुस्तक मेरो तलबाट माथितिरको चढाईमा एक एक खुट्किला सावित भए। आफुले जे जति पढेको हो, त्यो सबैबाट भरिभराउ भएर र सारा संसारका निम्ति अमृतले भरिएको भाँडासरह अनुभव गर्दै म अफिसरहरुका नोकरहरु र ज्यामीहरुकहाँ पुग्थे, दृश्यअनुसारको अभिनय गरेर देखाँउदै उनीहरुलाई कथा सुनाउथें।
यस कार्यले मेरा श्रोताहरुलाई प्रफुल्ल बनायो।
‘ओ हो ! कस्तो ठ्याक्कै नक्कल उतार्न सक्ने ठिटो!’ मानिसहरु आश्चर्य प्रकट गर्थे। ‘साँच्चैको हास्य कलाकार ! तिमी त घुमन्ते प्रदर्शन टोलीमा वा जात्रामा देखाइने नाटकमा पो सामेल हुनपर्ने !’
वास्तवमा, त्यो मैले अपेक्षा गरेको कुरो थिएन, तर पनि म यसबाट खुसी नै भएँ।
जे होस्, निश्चय नै, सधैं नभएर कहिलेकाहीँ नै किन नहोस्, भ्लादिमिरका किसानहरुलाई एकपटक पनि सासै नफेरी मैले भनेका कुराहरु वाल्ल परेर सुन्न लगाउन निकै पटक तिनलाई खुसीले उफार्न र आँसुसमेत खसाउन लगाउन म सक्षम भएँ। यस्ता कुराहरुले मलाई पुस्तकमा जिउँदोजाग्दो उद्धीपन सामर्थ्य छ भन्ने कुरामा बढीभन्दा बढी विश्वस्त बनाए।
भासिली रैबाकोभ भन्ने एकजना युवक थिए, उदास र कम बोल्ने प्रकृतिका, तर शारीरीक बल भने उसमा धेरै थियो। अरु मानिसहरुलाई धम्काउनु र तिनीहरुलाई उचालेर फुत्त फ्याक्नु उनको मनपर्ने सोख थियो। उनले मलाई एक पटक तबेलाको पछिल्तिरको एउटा कुनातिर लगेर भने:
‘अलेक्सी मैले भनेको सुन, मलाई पुस्तक पढ्न सिकाऊ, म तिमीलाई पचास कोपेक दिउँला, होइन भने धरोधर्म म तिम्रो टाउको फोर्नेछु, बुझ्यौ !’ अनि उनले आफैलाई मुक्का हानेको जस्तो अभिनय गरेर देखाए।
म उनको निरासाजनक शारीरिक सक्रियताको व्यवहारबाट डराउदै स्तब्ध भएँ र भयभीत हुँदै उनलाई पढ्न सिकाउन थालें। तर पढाइ सुरुको अवस्थादेखि नै राम्रोसँग अघि बढ्यो। रैबाकोभ अपरिचित काममा मेहनती र साह्रै चाँडो बोध गर्न सक्षम मानिस सावित भए। एकपटक पाँच हप्ता वा त्यस्तै पछि कामबाट बाटामा फर्कदै गर्दा उसले मलाई रहस्यमय तरिकाले इशारा गर्दै बोलाए, आफ्नो गोजीबाट कच्याककुचुक परेको एउटा सानो कागतको टुक्रा झिकेर उत्तेजित हुँदै भट्याउन थाले:
“यता हेर त ! मैले यो एउटा भित्ताबाट च्यातेर ल्याएको हुँ। यसमा के लेखेको छ हँ? एकछिन पर्ख है त – ‘घर बिक्रीमा छ’ होइन त? अँ ‘बिक्रीका लागि हगि ?’
‘यसमा लेखिएकाे त त्यही नै छ’
त्रस्त भएर रैबाकोभका आँखाहरु फननन घुमे र उनको निधार पसिनाले निथ्रुक्क भयो। केहीबेर माैन बसेपछि उनले मेरो काँध अँठ्याए र मेरो शरीरलाइ अलि अलि हल्लाए अनि मसिनो स्वरमा भने:
‘मैले बार बारेको एउटा भित्तामा हेरेको मात्र के थिएँ, ‘घर बिक्रीमा छ भनेझैं गरी कसैले साउती मार्न थाल्यो .. धरोधर्म … एकदमै मसँग कानेखुसी गरेजस्तो ! मलाई विश्वास गर ! साँच्चै भन त के मैले पढ्न जानेकै हो जस्तो लाग्छ तिमीलाई ?’
‘अगाडि अरु के छ कोसिस गरेर केही पढ त ?’
कागतको टुक्रामा उनले घोरिएर हेरे र विस्तारै भने, ‘दुई – ठीक छ होइन ?
तला….ईट…’
उनको कुरुप अनुहारभरि ठूलो हाँसो फैलियो। उनले शिर ठाडो पार्दै किरिया खाए र मुस्कानसहित कागतलाई पट्याउन थाले।
‘आजको दिन सम्झना गर्न म यो कागतको टुक्रा आफैसँग राख्तछु। मैले यसरी पढेको पहिलो दिन हो..भगवान … तिमीले देखेनौ ? ठ्याक्कै कानेखुसी गरेजस्तो। अचम्मका घटनाहरु घट्तछन्, मेरा नानी ! हैन त?’
उनको अपरिष्कृत खुसी, आफ्नासामु रहस्य उद्घाटित भएकोमा बालकको जस्तो व्यग्रता, उनका अघि अर्कै विचारहरु, चिन्तनहरु र आत्मासमेत अनावरण गर्न सक्षम भएकोमा स–साना काला अक्षरहरुको जादु देखेर म निर्धक्कसँग हाँसे।
म किताब–अध्ययनका तरिकाको सम्बन्धमा थुप्रै कुराहरु गर्न सक्थें। पुस्तक अध्ययन परिचित, दिनैपिच्छे गरिने तर सबै युगका महान् मनहरु र जनतासँगको मानवको घुलन(सम्मिश्रण)को रहस्यमय प्रक्रिया हो। यसले समय–समयमा मानिसका सामू जीवनको अर्थ र जीवनमा मानिसको स्थान के हो आकस्मात् उद्घाटन गर्दछ। झन्डै जादुमय सौन्दर्यले रङ्गिएका थुप्रै यस्ता विस्मयकारी उदाहरणहरु म जान्दछु।
एउटा यस्तै उदाहरण म यहाँ उल्लेख गर्न चाहान्छु। यो पुलिसको निगरानीमा अर्जामासमा म बसेको समयको कुरो हो। मेरो छिमेकी स्थानीय कृषि बोर्डको हाकिम थियो (रुसी भाषामा जेम्स्की नचाल्निक भनेको क्रान्तिअघि किसान समुदायमाथि शासन गर्ने न्यायलय र प्रशासन दुवैको अधिकार भएको अधिकारीहरुको प्रमुख)। ऊ व्यक्तिगत रुममा मलाई कतिसम्म मन पराउँदैनथ्यो भने उसले आफ्नो घरमा काम गर्ने नोकर्नीलाई साँझ काम गर्ने समय सकिएपछि मेरो भान्सेसँग कुराकानीसम्म नगर्नु भन्ने निर्देशन दिएको थियो र मेरो निगरानी गर्न एकजना पुलिसलाई मेरो झ्यालैमुनी रहनेगरी खटाएको थियो। स्वाभाविक एवम् अपरोक्ष रुपमा त्यो पुलिसले आफुलाई उचित लागेका जुनसुकै समयमा पनि मेरो कोठामा चियाइरहन्थ्यो। यस कामले बजारका मानिसहरु संत्रस्त थिए र धेरै लामो समयसम्म तीमध्ये कसैले पनि मलाई भेटघाट र कुराकानी गर्ने आटँ गरेन।
एकदिन गिर्जाघर जाने बिदाको दिन– एकजना दृष्टिविहीन मान्छे मलाई भेट्न आए। उनको एकातिरको काखीमुनी एउटा पोको थियो र त्यो ‘बेच्नकालागि बोकेको एक जोर जुत्ता हो’ उनले भने। मैले जुत्ता चाहिँदैन भनेपछि अर्को कोठातिर शङ्कालु भएर हेर्दै अति सानो स्वरमा उनले मलाई सम्बोधन गरे।
‘जुत्ता त तपाइँलाई भेटन आउन बनाएको एउटा निहुँ मात्र हो। मैले तपाईलाई वास्तवमा भन्न चाहेको कुरो चाहिँ के हो भने के तपाई मलाई एउटा राम्रो किताब पढ्न दिन सक्नुहुन्छ?’
उनको एउटा आँखाको अभिव्यक्ति यति इमानदार र सुबोध थियो कि यसले मेरो सबै शङ्का निवारण गर्यो। कुन खालको किताब चाहेको हो भन्ने मेरो सवालमा उनले दिएको उत्तरले मलाई विषय ठम्याउन सजिलो बनायो। चारैतिर हेर्दै काँतर स्वरमा होशियारीपूर्वक उनले भने:
‘लेखक महोदय, म त्यस्तो किताब चाहान्छु, जसले मलाई जीवनको नियमका बारेमा जानकारी देओस् अर्थात संसारको नियमको बारेमा। मैले तिनबारे अनुमान लगाउन सकिनँ। मैले जान्न चाहेको कुरो के भने व्यक्तिले जिउने तरिका कुन हो र यस्तै कुराहरु। कजानका एकजना गणितका प्राध्यापक मेरो नजिकै बस्तछन् र मलाई अलिअलि गणित सिकाउँछन्। उनी किन मलाई पढाँउछन् भने म उनका जुत्ता मर्मत गरिदिन्छु र उनको बगैँचा पनि स्याहार्छु, म माली पनि हुँ। अँ त, गणितले मैले जान्न चाहेको प्रश्नहरुको उत्तर दिंदैन र प्राध्यापक अति नै कम बोल्दछन्…’
मैले “विश्व र सामाजिक विकास” शीर्षकको ड्राइफसले लेखेको र त्यतिखेर मसँग त्यस विषयमा भएको एउटै मात्र पुस्तक उनलाई दिएँ।
आफ्नो बुटको माथिलो भागमा होशियारपूर्वक किताब लुकाउदै एकआँखे मानिसले भने, ‘धन्यवाद! किताब पढिसकेपछि म तपाईसँग कुराकानी गर्न आउन सक्छु, हैन त ?… तपाईंको बगैँचाका जामुनका झाडीहरु छाँट्ने बहानामा आउँला, तपाईंलाई थाहै छ, पुलिसले तपाईंको निगरानी गर्दैछ, र सामान्यतया तपाईंकहाँ म आउनु उपयुक्त हुँदैन।’
पाँच दिनपछि उनी म कहाँ फेरि आए। त्यतिखेर उनीसँग चित्रा र ठूलो खालको कैँची पनि थियो। उनको फुर्तिलो हाउभाउ देखेर म एकदमै चकित भएँ। उनका आँखामा रमाइलो चहक थियो र उनको आवाज दरो र ठूलो थियो। सबभन्दा पहिले उनले खुला हत्केला सशक्तरुपले मैले दिएको पुस्तकमुनि राखे र हतार–हतारमा भने :
‘यस पुस्तकको सार कुरो यस संसारमा कुनै ईश्वर छैन भन्ने होइन त?’
म हतारमा निकालिएका ‘निष्कर्ष’हरु माथि विश्वास गर्दिनँ। त्यसैले मैले उनी त्यो निष्कर्षमा कसरी पुगेका हुन् भन्ने जान्न उनलाई सावधानीपुर्वक प्रश्नहरु राखें।
उनले उत्साहपूर्वक तर शान्त रुपमा भने, ‘मेरा लागि त यही नै मुख्य कुरो हो। धेरै मानिसहरुले मसँग तर्क गरेजस्तै मैले तर्क गरें: यदि सर्वशक्तिमान ईश्वरको अस्तित्व छ र सबै कुरो उसको इच्छाअनुसार हुन्छ भने त मैले उनकै आदेशबमोजिम नम्रतासाथ उनी सामू समर्पण गर्नुपर्छ। मैले धेरै देवताको बारेमा लेखिएका पुस्तकहरु पढेको छु– बाइबल र त्यस्ता थुप्रै धार्मिक कृतिहरु। तर म मेरो जीवनप्रति म आफै जिम्मेवार छु कि छैन यो कुरो जान्न चाहन्छु। धर्मशास्त्रहरु भन्दछन्- तिमी आफै जिम्मेवार छैनौ, तिमीले ईश्वरको इच्छाअनुसार नै बाँच्नुपर्छ, किनभने विज्ञानले कहीँ कतै पुर्याउँदैन। यसको अर्थ खगोलशास्त्र पाखण्ड र नक्कली कुरो मात्र भयो, गणित र अरु सबै विषय पनि यस्तै हुने भयो। वास्तवमा, अन्धभक्तिका पक्षमा कोही पनि हुँदैन, के तपाई अन्धभक्तिका पक्षमा हुनुहुन्छ?’
मैले उत्तर दिएँ– अँ हँ, म त छैन।
‘त्यसो हो भने मैले चाहिँ किन यस कुरालाई मान्ने नि? तपाई धर्मविरोधी भएको कारणले तपाईलाई पुलिसले निगरानीमा यहाँ पठाएको छ। यसको अर्थ के हो भने तपाई धार्मिक उपदेशका विरुद्ध उठ्नुभएको छ। मैले जानेअनुुसार कारण के हो भने सम्पूर्ण विपक्षी मतहरु पवित्र धर्मग्रन्थका विरुद्ध निर्देशित हुनैपर्दछ। आत्मसमर्पणका सम्पूर्ण नियमहरुको स्रोत धर्मशास्त्र नै हो। यसका विपरीत स्वतन्त्रताका नियमहरु सबै विज्ञानबाट निस्कन्छन् अर्थात मानिसको मस्तिस्कबाट। म यहाँ अरु बढी तर्क गर्छु : यदि ईश्वर छ भने यसबारेमा मेरो भन्नु केही छैन। तर यदि ईश्वर छैन भने म आफैं हरेक कुराका लागि, अरु सबै मानिसका लागि, उत्तरदायी हुन्छु। म जिम्मेवार हुन चाहन्छु गिर्जाघरका पवित्र धर्मगुरुहरुले देखाएको उदाहरणअनुसार, तर फरक तरिकाले जीवनका खराब पक्षहरुप्रति समर्पण गरेर होइन, तिनकै विरोधमा उभिएर।’
उनले आफ्नो हत्केला फेरि किताबमुनि राखे र झुक्तै नझुक्ने विश्वाससहित भनेः
‘सबै समर्पण वा सहिष्णुता खराब हो, किनभने यसले खराबीलाई बलियो बनाउँछ। मलाई क्षमा गर्नुहुनेछ, तर यो त्यस्तो किताब हो, जसमाथि म विश्वास गर्दछु। मेरा निम्ति यो अनकन्टार जङ्गलमा बाटो देखाउने सरह छ। मैले निश्चित गरिसकेको छु – हरेक कुराका लागि म आफै व्यक्तिगत रुपले जिम्मेवार छु।’
राती अवेरसम्म हाम्रो मित्रतापूर्ण कुराकानी भई नै रह्यो । एउटा साधारण सानो पुस्तकले सन्तुलनलाई उल्टाइदिएको मैले चाल पाँए, यसले ती दृष्टिविहीन मानिसको विद्रोहपूर्ण खोजीलाई तीव्र विश्वासमा, सौन्दर्य एवम् विश्वविवेेकको शक्तिको उल्लासपूर्ण उपासनामा परिवर्तन गरिदियो।
वास्तवमा, यी सुन्दर, बुद्धिमान मानिसले जीवनका खराबीहरुका विरुद्ध सङ्घर्ष गरे र सन् १९०७ मा साहसपूर्वक आफ्नो ज्यान गुमाए।
रुखो रैबाकोभलाई जस्तो गरेका थिए किताबहरुले, ठीक त्यस्तै मेरो कानैमा आएर अर्को जीवनको अस्तित्वका बारेमा साउती मारेका थिए। त्यो अर्को संसार अहिले म बाँचिरहेको संसारभन्दा मानिसका लागि बढी मूल्यवान् थियो। किताबले कानो जुत्तानिर्मातालाई जे गरेका थिए, ठीक त्यस्तै मलाई जीवनमा मेरा स्थान कहाँनिर छ भन्ने देखाए। मन र हृदय दुवैलाई उत्प्रेरित गरेर किताबहरुले अज्ञानता र असभ्यताको दलदलमा फँसाउन घिनलाग्दो भासबाट मुक्त हुन मलाई मद्दत गरे। मेरो संसारका सीमाहरुलाई फैलाएर पूस्तकहरुले उन्नत जीवन प्राप्त गर्न मानिसले गरेका प्रयत्नहरुको महत्त्व र सौन्दर्यका बारेमा, संसारमा मानिसले कति बढी उपलब्धिहरु गरिसक्यो र त्यो प्राप्त गर्न उसले कति डरलाग्दा कष्टहरु भोग्नुपर्यो र कति ठूलो मूल्य तिर्नुपर्यो भन्ने बारेमा जानकारी गराए।
मेरो आत्मामा मानिसप्रति, आफ्नो कोही नै किन नहोस्, हरेक मानिसप्रति सम्मानको भावना उर्लियो। मेरो भित्री हृदयमा मानिसको श्रमप्रति आदर र उसको अशान्त आत्मप्रति एक्कासी माया उम्रियो। जीवन अझ सहज तथा बढी नै आनन्ददायी र नयाँ एवम् गहन अर्थले भरिपूर्ण भयो।
एक आँखा भएको जुत्तानिर्मातालाई जस्तै किताबहरुले ममा जीवनका हरेक खराबीका लागि व्यक्तिगत जिम्मेवारीबोधको भावना उत्पन्न गरे र मानवमनको सिर्जनशीलताका लागि आदरभाव जगाए।
सत्यमाथिको गहन विश्वासको मेरो दृढ धारणासहित म सबैलाई भन्दछुः पुस्तकहरुलाई माया गर्नुहोस्, तिनले तपाईंको जीवनलाई अरु सहज बनाउने छन्, तिनले विचार, आवेग र घटनाहरुको रङगीचङ्गी र प्रचण्ड अन्यौलमा बाटो पहिल्याउन मित्रतापूर्ण सेवा प्रदान गर्नेछन्, आफु र अरु मानिसहरुलाई सम्मान गर्न सिकाउने छन् र संसार र मानिसप्रति मन र हृदयभरी माया भरिदिने छन्।
इमानदारीकासाथ लेखिएको, मानिसहरुलाई माया गर्ने, असल आशय भएको कुनै पनि पुस्तक तपाईंको विश्वासकै प्रतिकूल छ भने पनि प्रसंशालायक हुन्छ। कुनै पनि किसिमको ज्ञान उपयोगी हुन्छ, मनका भ्रमहरु भ्रमपूर्ण आवेग–संवेगहरुको ज्ञान समेत उपयोगी हुन्छ।
पुस्तकलाई माया गर्नुहोस्। पुस्तकहरु ज्ञानका स्रोतहरु हुन्, ज्ञान लाभदायी मात्र हुन्छ र ज्ञानले मात्र तपाईंको आत्मिक रुपले शक्तिशाली बनाउन इमानदार र बुद्धिमान बनाउन मानिसलाई सही रुममा माया गर्ने सक्षम व्यक्ति बनाउन सक्तछ। ज्ञानले नै मानवको श्रमप्रति आदरभाव जगाउँछ र अति राम्रा उपलब्धिहरुकालागि मानिसका अनवरत र उच्च प्रयत्नहरुलाई हार्दिक रुपले प्रशंसा गर्न सिकाउँछ।
मानिसले कार्य गरेको हरेक कुरामा, अस्तित्वमा भएको कुनै पनि एक्लो वस्तुमा मानिसको आत्माको केही न केही अंश सामेल भएकै हुन्छ। यो निर्मल र उत्कृष्ट आत्मा अरु कुरामा भन्दा विज्ञान र कलामा बृहत्तर मात्रामा समावेश हुन्छ र यसले पुस्तकको माध्यम र कार्यबाट महानतम वाकपटुता र स्पष्टताका साथ आफुलाई व्यक्त गर्दछ। -सन् १९१८
स्रोत: निनु चापागाईंले अनुवाद गरी प्रकाशित गरिएको ‘म्याक्सिम गोर्कीका छानिएका रचना’बाट साभार गरिएको हो ।