म सानो छँदा मेरा बुबाले घरमा विभिन्न किसिमका वैज्ञानिक प्रयोगहरु गर्नुहुन्थ्यो। जस्तै मदिराको सिसिको मुखमा फुक्दा के कस्ता तरङ्गहरु उठ्छन्? कसरी फुक्दा सबैभन्दा ठूलो आवाज आउँछ?
यसैगरी बालुवा झार्दै समय नापिने घडिबाट बालुवा खस्दा कति डिग्रीमा बालुवाको थुप्रो बन्छ भनेर अनुसन्धान गर्नु हुन्थ्यो। थुप्रोको डिग्री बालुवाको कणको आकारले बन्छ कि? या कणका बनावटले बन्छ ? के यस्तै कारणहरुले बालुवाको घडि भित्रको बालुवा रित्तिने गति (समय) निर्धारण गर्छन्?
मलाई सबैभन्दा मनपर्ने प्रयोग जगमा भरिएको पानी सबैभन्दा छिटो रित्याउने विधि थियो। के हामीले जगको पानी रित्याउन त्यसलाई घोप्ट्याएर त्यसभित्र हावा छिर्न दिनुपर्छ? के यसैगर्दामात्र पानी भुकलुक भुकलुक गर्दै रोकिदै तल खस्नेछ, वा जगलाई हल्का ढल्काएर पानीको धारो नटुटाई रित्याउन सकिन्छ? उत्तर: जगलाई घोप्टो पार्ने र त्यसलाई बेस्सरी घुमाउने जसले गर्दा पानीमा भुमरी उठोस्। यसो गर्दा पानीको माझ भागमा खालि स्थान बन्दछ जहाँ हावा राम्ररी छिर्छ र जग चाँडो रित्तिन्छ।
सन् १९६८ मा मेरो बुबाको ‘भान्साघर वरिपरिको भौतिकशास्त्र’ सम्बन्धी एक पुस्तक “छालहरु” (बर्कले भौतिकशास्त्र पाठ्यक्रम भाग ३) प्रकासित भयो। यसमा घरभित्र गर्नसकिने पुस्तौंदेखि मनपराइएका विभिन्न वैज्ञानिक प्रयोगहरु समावेश गरिएका थिए। यो पुस्तकले मेरो बुवालाई प्रख्यात बनायो। उक्त पुस्तकमा २ वर्षकी मेरी बहिनी र ५ बर्षको मलाई त्यस्ता प्रयोगहरुमा भुलेर अन्य प्रकारका लुकामारी जस्ता खेलहरु त्यागेकोमा कृतज्ञता ब्यक्त गरिएको छ।
वहाँले यस्ता अनुसन्धानहरु केवल शैक्षिक अभ्यासका निम्तिमात्र गर्नु हुन्थेन, आफ्ना खुलदुली मेटाउन पनि गरिरहनु हुन्थ्यो। वहाँ कण भौतिकशास्त्रका (particle physics) क्षेत्रमा लरेन्स बर्कले प्रयोगशालाको लुई एलभारेज ल्यावमा काम गर्नु हुन्थ्यो। तथापी घरभित्र गरिने अनुसन्धानहरुलाई समेत निरन्तरता दिनु हुन्थ्यो। यो अवधि “बृहत विज्ञान” तर्फ संक्रमणकालको सुरुवाती थियो।
लुई एलभारेजले आफ्नो आविस्कार र बबल च्याम्बरको (bubble chamber) प्रयोग गरेका कारण १९६८ को नोबल पुरस्कार प्राप्त गरे। उनले आविष्कार गरेको बबल च्याम्बर उपकरणलाई कणको सडाई (particle decays) पत्ता लगाउन प्रयोग गरिन्छ। यो उपकरण सजिलै टेबलमाथि राख्न सकिन्थ्यो। आफै बनाउन पनि सकिन्छ। तर केही दशक यता पार्टिकल एक्सेलेटरहरु (particle accelerators) भिमकाय संरचनामा (CERN, SLAC) रुपान्तरण भए। जसको निर्माणका लागि फराकिलो जमिनको आवश्यकता पर्दछ। त्यतिका जमिन सरकार र ठूलठूला संस्थानहरु, वा संस्थानहरुको समूहले मात्र लिन सक्छन्। विज्ञान लेखहरु आजकाल एक दुईजनाको होइन, सयौंका आउन थालेका छन्। आजकाल वैज्ञानिकहरु वैज्ञानिक–नोकरशाहमा परिणत भएका छन्। यी नोकरशाहहरु सरकारी अनुदान प्राप्त गर्न सिपालु, उपरखुट्टी लगाएर जनशक्ति खटाउने र अनुसन्धान साम्राज्य खडा गर्नसक्ने सुसुचित र चतुर संस्थागत खेलाडी भएका छन्।
विज्ञान क्षेत्रतिर आकर्षित कुनै ब्यक्तिलाई आधारभूत विज्ञानतर्फ चाख जगाउन चाहनु भएको छ भने त्यसको सम्भाब्यतालाई अतिनै राम्ररी बुझेको हुनुपर्छ। भान्सा वरिपरिको भौतिकशास्त्र भनेको कुनै उपकरणको मद्दत विनै संसारमा देखिएका बस्तु/घटनाहरुको बारेमा चिन्तन गर्ने र तिनको अनुसन्धान गर्ने विशुद्ध बौद्धिक कार्य हो। यो नै हामीमा रहेको विज्ञान बारेको आधारभूत बुझाई हो। यस्तो बुझाईलाई ग्यालिलियोले इटालीको पिजा टावरको टुप्पाबाट विभिन्न बस्तुहरु कति चाँडो पृथ्वीमा खस्छन् भनेर थाहा पाउन प्रयोग गरेका थिए। यो विज्ञानको अमर कथा हो।
शासकको शक्तिका रुपमा विज्ञान
सन् १६३३ मा, ग्यालिलियोले पृथ्वी स्थिर छैन, यो सुर्यको वरिपरि घुमिरहन्छ भने। तर चर्चहरुको मान्यता त्यस्तो थिएन। यसकारण ग्यालिलियोलाई सोधपुछका लागि बोलाइयो। ती चर्चहरुले यथार्थमाथि आफ्नो पर्याप्त पकड छ भन्ने दावी गर्थे। यस्तो अवस्थामा ग्यालिलियोलाई सहिद बन्न चाहेनन् र उनले आफ्नो छाला जोगाउन आफ्नो अडानबाट पछि हटे। तथापी उनले मनमनै भने होलान् – “जे होस्, पृथ्वी चलायमान छ”। यो ज्ञान–प्राप्तिको लोकगाथामा उल्लेख छ।
आधुनिक हुनु भनेको के हो भनी हामीले सुनाइने कथामा ग्यालिलियोको कहावतको महत्वपूर्ण स्थान छ। एकातर्फ सत्य प्रतिको समर्पण सहितको विज्ञान छ भने अर्कोतर्फ दिव्यशक्ति भएको चर्च वा राजनीतिक–सत्ता छ। यस कथामा “विज्ञान” को अर्थ मस्तिष्कको स्वतन्त्रता हो। यसको सत्ता र शक्तिसँग जन्मजात शत्रुता हुन्छ।
हालको महामारीले हामीले सोचे अनुसारको विज्ञान र “विज्ञान”ले समाजमा गर्नुपर्ने काम बीचको असंगतिलाई स्पष्ट गरेको छ। मेरो विचारमा यो असंगतिको जरा एकल मस्तिष्कका क्रियाकलापका रुपमा विज्ञान र त्यसको संस्थागत वास्तविकता बीचको बेमेलमा गाडिएका छन्। बृहत विज्ञान आफ्नो अभ्यासमा आधारभूत रुपले नै सामाजिक हुन्छ। त्यसैले यससँग केहि निश्चित कुराहरु जोडिएर आउछन्।
ब्यवहारिक रुपमा, यहाँ “राजनीतिकृत विज्ञान” मात्र विद्यमान छ (अझ भनौं तपाईंले सुन्नु भइरहेको विज्ञानको प्रकारमात्र)। यो भनेको वास्तवमा विज्ञानको अराजनीतिक तस्बिर नै हो। यस्तो विज्ञानले यथार्थप्रति सरोकार नराख्ने मध्यस्थकर्ताका रुपमा, विज्ञानलाई राजनीतिको शक्तिशाली औजार बनाउँछ। यो अन्तरविरोध अहिले छताछुल्ल भएर बाहिर आएको छ। लोकरिझ्याईंका “विज्ञान विरोधि” प्रवृत्ति धेरै हदसम्म विज्ञानको अभ्यास र यसको आदर्शप्रतिको बचनबद्धता बीचको खाडलको परिणाम हो। ज्ञान उत्पादनको विधिका रुपमा, विज्ञानको सुन्दर पक्ष नै नयाँ अनुसन्धानबाट प्राप्त गलत– निष्कर्ष बदल्न सक्नु हो (जुन धर्म जस्तो अडिग भइरहनु होइन)।
तर सत्तालाई यथार्थ बारेको आफ्नो बुझाइ केवल अस्थायी हो भनेर मान्न कठिन हुन्छ। किन यस्तो हुन्छ? स्वाभाविक रुपमा सत्ताको जिम्मेवारी भनेको कुनै कुराको यथार्थको ब्याख्या गर्नु र आमरुपमा भएपनि सामाजिक संयोजनका लागि यो अनिश्चयले भरिएको संसारमा सुनिश्चितता प्रदान गर्नु हो। उसलाई तोकिएको यस्तो जिम्मेवारी पूरा गर्न विज्ञानले पनि झण्डै–झण्डै धर्म जस्तै बनिदिनु पर्छ भन्ने सत्ताको आग्रह रहेको हुन्छ।
आजका समस्याहरुलाई “विज्ञान माथिको विश्वास” घट्दै गइरहेको छ भन्ने गुनासाहरुले लगभग स्पष्ट पारेका छन्। हामीमध्ये सबैभन्दा बढि असम्मति राख्नेहरु भनेका विज्ञानको अवज्ञा गरेको आरोप लागेका कोभिडलाई अस्विकार गर्नेहरु होइनन् भने ती जलवायु परिवर्तन प्रति शंका गर्ने व्यक्तिहरु हुन्। यदि यी कुराहरु सबैले मध्ययुगिन झल्को दिन्छ भने हामीले केही मात्रामा भएपनि सन्तोष मान्नुपर्छ।
हामी मिश्रित शासन प्रणालिबाट शासित छौं। यो भनेको लोकतान्त्रिक र प्राविधिकतन्त्रको वर्णशङ्कर शासन हो। यस्तो भन्ने गरिन्छ कि विज्ञान र प्रचलित जनमतले संभव भएसम्म एकै स्वरमा बोल्नुपर्छ, अन्यथा हाम्रो समाजमा द्वन्द्व छ भन्ने अर्थ लाग्छ। सत्ताको भाषाअनुसार; वैज्ञानिक ज्ञान र जनमतलाई ‘एकै स्वर’ बनाउन शिक्षाको माध्यमबाट प्रयत्न गरिन्छ। तर यथार्थमा, विज्ञान त्यति लचिलो हुँदैन र त्यसमा अनेकन नियमहरु छन्। ती नियमहरुलाई हामीले विश्वासका आधारमा ग्रहण गर्नुपर्छ। यो धेरैजसो पत्रकार, प्राध्यापकहरुका लागि मात्र होइन साथै प्लम्वरलाई समेत लागू हुन्छ। विज्ञान र जनमतलाई ‘एकै स्वर’ शिक्षाका माध्यमबाट बनाइदैन बरु भाषणबाज वा विज्ञानवादबाट बनाउने गरिन्छ। (विज्ञानवाद भनेको भौतिक शास्त्रका नियमहरु अन्य सबै विधामा समानरुपले लागू हुन्छन् भन्ने मत हो)। हामीले बुझिरहेका छौं– समाजमा पटक–पटक देखापर्ने समस्याको कुनै स्थायी समाधान नहुने रहेछ। तथापी यस्ता समस्या सत्तासिनले हरेक पटक समाधान गर्नैपर्ने हुन्छ।
“विज्ञानको अनुसरण गर” भन्ने वाक्याङ्स झुठो लाग्न सक्छ। त्यस्तो किन लाग्न सक्छ भने विज्ञानले कसैलाई कहिं पुर्याउने होइन। विज्ञानले जोखिमहरुको गणना गरेर फाइदाहरु प्रष्ट देखाएर समाधानका विभिन्न मार्गहरुमात्र देखाउन सक्छ।
तर, त्यसले तपाईंहाम्रो लागि यही मार्ग हो भनेर छनोट गरिदिन सक्दैन। त्यसमाथि विभिन्न बहानाबाजी गरेर नीतिनिर्माताहरुले हाम्रा लागि उपयुक्त हुने छनोटहरु रोज्ने जिम्मेवारीबाट पञ्छिन सक्छन्।
क्रमशः विज्ञान माथि शक्तिका रुपमा कर्तव्य निर्वाह गर्न दवाव बढ्दो छ। यसलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक अङ्गबाट प्राविधिक अङ्गमा स्थानान्तरण गर्ने काममा वैधानिकता प्रदान गरिदैंछ। यसरी सरकारको दायित्वलाई राजनैतिक सन्दर्भको क्षेत्रबाट टाढा राख्ने यन्त्रका रुपमा विज्ञानको प्रयोग गरिदैंछ।
वितेका वर्षमा, त्रसित जनमानसले जीवनका हरेक क्षेत्रमा विज्ञ–पैरवीकर्ताको रुपमा आफुलाई शिक्षित गरेका छन्। यसैगरी हाल कैयन सरकारहरुले “आपतकालको सरकार” को ढाँचा प्रचलनमा ल्याएका छन्। यस्ता जनविरोधी सरकारका कामका विरुद्ध प्रतिरोध पनि भएको छ तर यस्तो प्रतिरोधलाई “विज्ञान विरोधी” भनी आरोप लगाइन्छ।
तर विज्ञहरुद्वारा शासनमाथि उठाइएको राजनीतिक वैधताको प्रश्न सजिलै रोकिने अवस्था छैन। केही नभए पनि आउदा वर्षहरुमा यस विषयमा भीषण लडाइँ हुनेछ। यस्तो लडाई त्यसबेला प्रकट हुनेछ, खासगरी जब सत्ताका नायकहरुले जलवायु आपतकाल आह्वान गर्नेछन् र समाजलाई सम्पुर्णरुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता भयो भन्नेछन्, । हामी यो अवस्थामा कसरी आइपुग्यौं भनी हामीले जान्न आवश्यक छ।
एक पुर्व सुरक्षा–मामलाका विश्लेषक मार्टिन गुरीले “द रिभोल्ट अफ द पब्लिक” नामक एक पुस्तक लेखेका छन्। त्यसमा उनले पश्चिमा समाजहरुलाई घेरेको “राजनीतिक निषेध” बारे उजागर गरेका छन्। यस्तो निषेधले शासकीय सत्तालाई राजनीतिक, पत्रकारिता, वित्त, धर्म विज्ञान जस्ता सबै क्षेत्रमा पूर्णतः निकम्मा बनाएको छ। उनले यसको दोष इन्टरनेटलाई लगाएका छन्। शासकीय सत्ता जहिले पनि विज्ञताको तहगत संरचनामा अडिएको हुन्छ। यसलाई अधिकार प्रत्यायोजन र नियमित तालिमद्वारा रक्षा गरिएको हुन्छ। यसका सदस्यहरुमा आफ्ना अधिकार–क्षेत्रमा प्रवेश गर्ने जो कोहीप्रति स्वतस्फूर्त घृणा विकास हुन्छ।
सत्तालाई वास्तव मै सत्ताधारी बन्नका लागि उसले कुनै न कुनै प्रकारको दृष्टिकोण माथि एकाधिकारको दावी गर्नुपर्छ चाहे धार्मिक होस् वा वैज्ञानिक ज्ञानको सिद्धान्त माथि। बिसौं शताब्दीमा, दोस्रो विश्व युद्धताका आणविक हतियार निर्माण गर्ने अमेरिकी आयोजना विशेषगरि म्यानहाटन आयोजनाको अभूतपूर्व सफलता भयो। एपोलो यान चन्द्रमामा अवतरण गर्यो। यसपछि एउटा यस्तो आँधीबेहरी चल्यो कि जसभित्र आम जनमानसले प्राविधिक विज्ञतामा चमत्कारको अपेक्षा गर्न थाले। जनमानसले उड्ने मोटरकार र चन्द्रमामा बस्ति बसाउने काम तुरन्तै साकार हुनेवाला छन् भन्ने सपना देख्न थाले। जब जनताले यस्तो सपना देख्न थाल्छन्, तब सरकारले सामाजिक हितका अपेक्षाहरुका सपनालाई मत्थर पार्नुपर्ने अवस्था आउँछ। यसका लागि अनुदानको खोजी र संस्थागत प्रतिस्पर्धाको प्रकृयाबाट जनताको सपनामा चिसो पानी हालिन्छ। अहिले यी कुराहरु वैज्ञानिक अभ्यासका अभिन्न अङ्ग बनिसकेका छन्।
प्रणाली (ब्यवस्था) दिगो थियो, अफ्ठ्यारो गरि भए पनि, अवस्यम्भावी असफलताहरुलाई पर्दा पछाडि राख्न सकिएका कारण। यसको लागि बलियो पहरेदारी आवश्यक हुन्थ्यो जसले गर्दा संस्थागत कार्यसम्पादनको मूल्यांकन सम्भ्रान्तहरु बिचको मामला बन्थ्यो। ब्ल्यु रिवन कमिसन, पियर रिभ्युको मामला बन्थ्यो। र यसले ” एकआपसमा सुरक्षाको अनौपचारिक सम्झौता” विकास हुनसक्थ्यो, गुरी भन्दछन्। इन्टरनेट र सोसल मिडियाले यस्ता असफलताका घटनाहरु स्वाद मानेर तुरन्तै फैलाउने हुनाले बलियो पहरेदारी अब असम्भव बनेको छ। यही नै प्रशंसनीय र ज्ञानबर्द्धक तर्कको मूल पक्षको आधारमा गुरीले “द रिभोल्ट अफ द पब्लिक” लाई प्रस्तुत गरेका छन्।
हालसालैका वर्षहरुमा विज्ञानमा दोहोरी रहने संकटहरुले कुनै समयमा अति नै महत्व ठानिएका विभिन्न क्षेत्रका असङ्ख्य तथा बृहत अनुसन्धानहरु र तिनका निष्कर्षहरु (findings) लाई ओझेलमा पारेका छन्। यसभित्र सिङ्गो अनुसन्धान कार्यक्रम र वैज्ञानिक साम्राज्यको जगमा रहेका निष्कर्षहरुसमेत अहिले धारासायी भएका छन्। यी असफलताहरुका कारणहरु उदेकलाग्दा छन् र वैज्ञानिक अभ्यासको मानवीय पक्षको झलक देखाएका छन्।
हेनरी एच बाउर केमिस्ट्रीका प्राध्यापक तथा भर्जिनिया टेकको कला तथा विज्ञान संस्थानका पूर्व डिन हुन्। उनले सन २००४ मा एउटा अनुसन्धान लेख प्रकाशित गरेका थिए। जसमा उनले २१ औं शताब्दीमा विज्ञान कसरी संचालन गरिन्छ भनी ब्याख्या गरेका छन्: उनका अनुसार त्यो (सामुहिक हुने अर्थमा) आधारभूतरुपमा कर्पोरेट हुनेछ। “२१ औं शताब्दीको विज्ञान १७ देखि २० औं शताब्दीको `आधुनिक´ विज्ञानभन्दा फरक विज्ञान हो होइन, यो बुझिन बाँकी नै छ …।”
अहिले विज्ञान प्राथमिकरुपले “ज्ञानका एकाधिकारहरु” वरिपरि संगठित छ, जसले सबै विमतिका दृष्टिकोणहरुलाई अस्विकार गर्छन्। यस्तो काम उनीहरूले संकिर्ण दिमाग र सोचाइका कारण होइन कि प्रणालीका उपकरण भएका कारण गर्नैपर्ने हुन्छ।
समवयी पुनरावलोकन (Peer review) को सबै–महत्वपूर्ण प्रक्रिया पुनरावलोकन–कर्ताको निस्वार्थताका साथसाथै दक्षतामाथि भर पर्छ। “यद्यपि २० औं शताब्दीको मध्यदेखि, अनुसन्धानको लागत र सहयोगी विशेषज्ञरुको टोलि पाउन कठिनाई भएकाले ज्ञानी र निस्वार्थी पुनरावलोकनकर्ताहरु पाउन कठिन भएको छ; सच्चा सूचित मानिसहरु प्रभावकारी हुन्छन्– कि ती सहकर्मीहरु हुन्छन् कि प्रतिस्पर्धीहरु”।
बाउर लेख्छन्, ” दक्ष समवयी पुनरावलोकनकर्ताहरु नविनतालाई प्रोत्साहित गर्नुको साटो खुट्टा तान्नमा उद्दत रहन्छन्। केन्द्रीकृत लगानी र केन्द्रीकृत निर्णय–निरुपणले विज्ञानलाई बढी नोकरशाही र कम स्वतन्त्र, स्व-उत्प्रेरित नभई सत्यको खोजीमा लागेकाहरुको क्रियाकलापहरुमा बढी संलग्न गराउँछ”। विश्वविद्यालयहरुले “वैज्ञानिक उपलब्धिहरुको मापन कति उपयोगी ज्ञानको उत्पादन भयो भनेर होइन कति `अनुसन्धान सहयोग´ भित्र्याइयो भनेर गर्छन्”। यतिमात्र होइन, यिनीहरुले अनुसन्धानलाई सहयोग गर्न “अप्रत्यक्ष लागत” गरेको दावी गर्दै प्राप्त अनुदानको ५०% राशी तर मार्छन्।
विज्ञानका बृहत अनुसन्धानहरु संचालन गर्न स्रोतहरु उपलब्ध भएपछि, कुनै न कुनै प्रकारको संस्थागत मालिकको सेवा गर्नुपर्ने हुन्छ चाहे त्यो ब्यापारिक होस् वा सरकारी। वितेका १२ महिनामा हामीले औषधि उद्योगहरु र त्यसका वैज्ञानिक आधारभूत क्षमतामा अति नै उल्लेखनीय रुपमा उपलब्धिहरु भएको देखेका छौं। उदाहरण कोभिड–१९ विरुद्धको एमआरएनए (mRNA) खोपको विकास नै एक हो। यो खोपको विकास नाफामूलक प्रयोगशालामा भएको थियो जसले सरकारको ठूलो राशि सहयोग प्राप्त गरेको थियो। यसकारण त्यस प्रयोगशालालाई अस्थायी रुपमा नै सही कुनै वित्तीय बजारलाई प्रभावित गर्नुपर्ने वा उपभोक्ताको माग बढाउने जिम्मेवारी लिनै परेन। यसो हुँदा औषधि उत्पादक–कम्पनीहरुलाई राक्षसका रुपमा चित्रित गर्ने राजनीतिक प्रचार भएन, जब कि वाम वा दक्षिणपन्थ दुवैले औषधि उत्पादक–कम्पनीहरुलाई दानवीकृत गर्ने गरेकाछन्।
तर त्यस्तो वैज्ञानिक अनुसन्धानले सत्यप्राप्तिको उद्देस्यप्रति स्वतः अनुसासित हुनुपर्छ भन्ने “महत्वपूर्ण मान्यता” अगाडि बढाउँछ भन्ने कल्पना गर्न सकिदैन। औषधि उत्पादक कम्पनीहरुले प्रसस्त पैसा ख्वाएर चिकित्सकहरुलाई आफ्ना उत्पादनहरुको प्रसंशा, सिफारिस र विरामीलाई किनाउन बाध्य बनाउँछन्। सँगसँगै तिनीहरु आफ्ना उत्पादनबारे सकारात्मक कुराबारे अनुसन्धाताहरुको कुनै फर्म खडा गरेर त्यसबाट रचिएका लेखहरुमा वैज्ञानिक र ब्यवसायिक जर्नलहरुमा छपाउने काममा कुख्यात छन्। अझ खराब त के छ भने क्लिनिकल ट्रायलपछि कुनै औषधि सुरक्षित र प्रभावकारी छ भनी निर्णय लिनुपर्ने सरकारी निकायहरुको काम पनि प्रायशः औषधि कम्पनीहरु स्वयंले वा उनीहरुले प्रत्यायोजन गरिएका संस्थाहरुले गर्छन्।
बृहत विज्ञानको विशालता (क्रियाकलापको कर्पोरेट रुप र विज्ञानको क्षेत्रभन्दा अन्यबाट आर्जन गर्नुपर्ने विशाल स्रोतको आवश्यकता जस्ता दुवै कारण) ले विज्ञानलाई गैह्र–वैज्ञानिक चासोहरुको दुनियाँमा धकेली दिन्छन्। यी चासोहरु भित्र राजनीतिक लबिहरुले उठाएका चासोहरु पनि समावेश हुन्छन्। यदि त्यस्तो चासो उच्च तहको छ भने सासनसत्ताको आधिकारिक सम्मतिमा असहमती जनाउनु कुनै पनि अन्वेषकको क्यारियरमा खतरा आइलाग्न सक्छ।
जनमत सर्वेक्षणले सामान्यतया कुनै वैज्ञानिक विषय र जनताको चाहनाका सम्बन्धमा “प्रत्येकले के जान्दछन्” भन्ने औंल्याउछ, जुन सु–संस्थागत दृष्टिकोणसँग मिल्दोजुल्दो हुन्छ। यस्तो हुनुमा आश्चर्य मान्नुपर्दैन किनकि मतलाई मिल्दोजुल्दो बनाउन मिडियालाई भूमिका दिइसकिएको हुन्छ। पत्रकारहरु जो वैज्ञानिक विषयहरुको मिहिनरुपमा मूल्यांकन गर्न विरलै सक्षम हुन्छन्, तर तिनीहरुले नै “अनुसन्धान गिरोहहरु” ले बचाउ गरिरहेका घोषणाहरुलाई ‘ यही नै विज्ञान हो’ भन्दै प्रचार गर्न सहयोग गर्छन्।
“क्लाइमेट गेट” काण्ड बाउरको अनुसन्धान गिरोहसम्बन्धी अवधारणाबारेको लेख प्रकाशमा आएको पाँच बर्षपछि उद्घाटित भयो। सन् २००९ कसैले बेलायतको इस्ट एन्जिलिया विश्वविद्यालयको अनुसन्धान इकाईका ईमेल ह्याक गर्यो, त्यो नै “क्लाइमेट गेट” काण्ड हो। जसले जलवायु नोकरशाहीतन्त्रको उच्च तहका वैज्ञानिकहरुले अन्य अध्ययनकर्ताबाट माग गरिएका तथ्याङ्क र सूचनाहरु लुकाएर राखेको तथ्य खुलायो। धेरै क्षेत्रहरु आफ्नै सूचना पुनरुत्पादन गर्न नसक्ने संकटमा भएकाबेला सूचना लुकाउनु वैज्ञानिक अपराध नै हो। जब कि अन्य कैयन संस्थाहरु भने यस्तो संकटलाई सम्बोधन गर्न एउटा मान्यताका रुपमा आफ्ना तथ्याङ्कहरु अनुसन्धानरत समुदाय माझ आदान-प्रदान गर्नुका साथै अन्य अभ्यासहरु अपनाइरहेका थिए। यस्ता अभ्यासहरुमा अनुसन्धानका अनपेक्षित नतिजा (null findings) को रिपोर्ट गर्ने र अनुसन्धानका परिकल्पना (hypotheses) साझा मञ्चहरुमा पहिले नै दर्ता गर्ने जस्ता मान्यताहरुसमेत थिए।
जलवायु अनुसन्धान गिरोहले वैधानिक ठानिएका जर्नलहरुको समवयी पुनरावलोकन (peer review) प्रकृयामा आफ्नो प्रभुत्व स्थापित गरेको छ। यस्तो प्रभुत्व गर्ने काम चुनौति दिने प्रतिस्पर्धीहरुले गर्न सकेका छैनन्। तर, जस्तो कि गुरीले क्लाइमेटगेट काण्डको वर्णन गरे अनुसार ” समूहले आफ्नो क्षेत्रहरुका लागि बहुसङ्ख्यक समवयी पुनरावलोकनकर्ताहरु आफ्नो नियन्त्रणमा लिएको हुनाले र असहमतिका स्वरहरुलाई कसरी जर्नलहरु र मिडियाबाट बाहिर राख्ने भन्ने ईमेलहरु हावी हुनेहुनाले, तो गिरोहका दावी ‘क’ प्रस्तावना सत्य हो भने ‘ ख’ निष्कर्ष सही हो (circular logic) भन्ने तर्कमा टिकाइएका छन्”।
म यस्तो आसा गर्छु– जो कोहि पनि ब्यक्ति जलवायु परिवर्तनको वास्तविकता र त्यसका विषम परिणाामहरुबारे पूर्ण विश्वस्त हुनसक्छ र विज्ञान माथि परेको राजनीतिक दवावहरुका बारेमा कौतुहलता राख्न पनि सक्छ। अझ बृहत सेटिङ्को कल्पना गर्नुहोस्– जब आईपिपिसीको बैठक बस्नेछ। शक्तिशाली संगठनहरुमा कर्मचारीहरु थपिनेछन्, साथसाथै प्रस्तावहरु तयार गरिनेछन्, संचार रणनीति तयार पारिनेछ, कर्पोरेट “ग्लोबल पार्टनरहरु” सुनिश्चित गरिनेछ, अन्तरनिगम निकायहरु तम्तयार रहनेछन् तथा कुटनैतिक सम्पर्कहरु खुला बनाइनेछन् र त्यस्ता शक्तिशाली संगठनहरु वैज्ञानिकहरुको कार्य समितिमा रहेका प्यानलका समूहबाट स्वागत–वक्तव्य कतिखेर आउनेछ भनेर पर्खेर बसेका हुनेछन्।
यस्तो सेटिङ आरक्षणहरु, योग्यताहरु वा वैकल्पिक सोचका लागि सहयोगी हुँदैन। उक्त अङ्गको काम कुनै वस्तु उत्पादन गर्नु हो : त्यो भनेको राजनैतिक वैधानिकता हो।
तेस्रो खुट्टो: नैतिकवाद
क्लाईमेटगेट काण्ड सन् २००९ मा इस्ट एङ्लिया विश्वविद्यालयको क्लामेटिक रिसर्च युनिटको इमेल कुनै बाह्य ह्याकरले ह्याक गरी जलवायु परिवर्तनको कोपेनहेगन शिखर सम्मेलन हुनु अघि हजारौं मेल प्रकाशमा ल्याएपछि उद्घाटित भयो। यसले आइ पि पि सी (IPPC) लाई धक्का लाग्यो र यसको कम्पन विज्ञान-समाधानकर्ता (science-settler) को रुपमा सेवागर्ने शक्तिकेन्द्रहरुसम्म पुग्यो। यस घटनाले सम्भवत यी केन्द्रहरुका निम्ति ग्रेटा थनवर्ग जस्ता ब्यक्तिहरु पनि स्विकार्य बने। ग्रेटा थनवर्गले जलवायुका मुद्दालाई प्रभावकारी मानवीय अनुहार दिदैं जनता जुरुक्कै जाग्ने गरी मुद्दाको आपतकालिन समाधान हुनुपर्ने आवाज उठाइन् (तिमीले कसरी यति साहस गर्यौ !)। उनी ज्ञानयुक्त र त्यसमाथि उमेरभन्दा कलिली र अति नै सुन्दरी वालिका भएका कारणले प्रख्यात् भइन् र यसकारण उपयुक्त पिडिता–प्रतिमूर्ति देखिन्छिन्।
यहाँनेर एउटा निश्चित क्रम वा ढाचा देखा पर्दछ, जुन जलवायू मामला विज्ञान-राजनीतिभित्रमा मात्र सिमित छैन। जसमा सेलिब्रेटीहरुद्लाई (जो सधैं अन्तिम सत्यको घोषणा गरे झैं बोल्छन्) जनसामर्थ्यका लागि परिचालन गरिन्छ। र, त्यस सामर्थ्यले अभियान्ताहरुलाई “भ्रामकसूचना” को स्रोत भनी आरोपित भिन्न–मत राख्ने अन्वेषकलाई ‘अनुशासित’ राख्न असफल अन्वेषण–संस्थाहरुका विरुद्धमा अभियान चलाउन मद्दत गर्दछ। त्यस्ता संस्थाहरुलाई नैतिक मूल्य मान्यताहरुको लक्ष्मणरेखाभित्र घेरावन्दी गरिन्छ र त्यो घेराबन्दी त्यतिबेला मेटाइन्छ जब त्यस्ता संस्थाका प्रमुखहरु भिन्न–मत राख्ने अन्वेषकको निन्दा गर्दछन् र ती भिन्न–मत राख्ने अन्वेषकका निष्कर्षबाट आफू विमूख भएको घोषणा गर्दछन्। त्यसपछि उनीहरु आफ्नो भएको नोक्सानीको भरपाई गर्न आफ्ना प्रतिद्वन्द्वी संस्थाहरुको सहमतिलाई समेत उछिन्ने गरी अभियान्ताहरुको निष्कर्षमा ‘हो मा हो’ मिलाउन पुग्दछन्।
यो संस्थापनको सोचाइका विभिन्न क्षेत्रमा दोहोरिनसक्छ। यसो भएमा, विशेषगरि विचारधारात्मक रुपमा बर्जीत क्षेत्रमा, अनुसन्धानलाई सहयोग पुर्याउने संस्थाहरुका लागि स्वीकार्य हुने प्रकारका सोधखोज रोक्छ र राजनीतिक समूहहरुले सिफारिस गरेकाहरु सोधखोज तर्फ मोडिनुपर्ने तर्कहरुको अनुसरण गर्छ।
भन्नू परेन कि यी सबै कामहरु वैज्ञानिक बहसको क्षेत्र भन्दा टाढा हुन्छ, तर यो नाटकलाई वैज्ञानिक इमानको पुनर्स्थापनाका निम्ति गरिएको रुपमा प्रस्तुत गरिन्छ। तुलनात्मक रुपमा सूचनाको खुला प्रवाह हुने इन्टरनेटको युगमा. विशेज्ञताको गिरोह त्यस समयसम्ममात्र कायम राख्न सकिन्छ जबसम्म त्यो गिरोह एउटा अझ ठूलो संगठित मत र स्वार्थहरु अनुकूलको एकै हिस्सा बनेर रहेका हुन्छन्। जोसँग मिलेर उनीहरु एक प्रकारको आदर्श-ज्ञानको रक्षात्मक र्याकेट चलाउन सक्षम हुन्छन्। ठिक यसरी नै जबसम्म ती निकायहरु आफ्ना खेलमा भूमिका निर्वाह गर्न सकिरहेका हुन्छन्, तबसम्म राजनैतिक समूहहरु (political lobbies) वैज्ञानिक निकायहरु माथि आस्रित हुनु परिरहन्छ।
यसलाई शंका निवारणको संस्कृति (culture of persuasion) बाट संस्थाहरुभित्र बृहत फड्को मारेको रुपमा हेरिनु पर्छ। तर त्यस संस्कारभित्र बलपूर्वकको नैतिक आदेश माथि कहाँबाट आउँछ, त्यो ठ्याक्कै पत्ता लगाउन कठिन हुन्छ तर त्यस्तो आदेश कार्यरत अन्वेषक वा कर्मचारीको नैतिक दायित्वका रुपमा प्रसारित गरिएको हुन्छ। स्मरणीय छ कि विश्वमा के भइरहेछ भनेर कुनै खास तस्विर पेस गर्ने तर अनियन्त्रित सूचना प्रवाह र आधिकारिकता गुमाउँदै गएका सहयोगीद्वारा कमजोर बनेका संस्थाहरुले केवल ज्ञानको एकाधिकारलाई कव्जामा राख्न जोड दिनु हुँदैन बरु उसले प्रश्न सोध्ने र ढाँचाहरु पहिल्याउने कामलाई समेत स्थगन गर्नु पर्छ।
अनुसन्धान गिरोहहरुले आफुले हस्तक्षेप गर्नुपर्ने कार्यक्रम अघि बढाउन राजनीतिक कार्यकर्ताहरुमा भएको भण्डाफोर गर्ने उर्जालाई परिचालन गर्छन् र ठिक त्यसरी नै सक्रिय गैसस र प्रतिष्ठानहरुका प्राथमिकताहरुले अनुसन्धान निकायहरुबीच आपसी सहयोगको चक्रमा हुनेगरी लगानी र राजनीतिक समर्थन जुटाउछन्।
राजनीति–सचेत कुनै ब्यक्तिका लागि वर्तमानको टड्कारो देखिने अवस्था भनेको हामी दिनप्रतिदिन सञ्त्रास उव्जाउने उपायबाट शासित भइरहेकाछौं। त्यस्तो उपाय विशेज्ञताको दावी गर्दै खडा गरिएका संस्थाहरुलाई शंकाको नजरबाट हेर्ने जनताबाट स्वीकारिएको आभास दिनेगरि निर्माण गरिएको हुन्छ। र यस्तो धेरै क्षेत्रहरुमा भइरहेकोछ। विश्वमा के भइरहेको छ भन्ने तस्वीर पेस गर्दै तथ्य र तर्कहरुको आधारमा हाल संचालित अवस्थालाई नीतिगत चुनौति दिने बाहिरियाहरु पनि छन्। तर उनीहरुका चुनौतिलाई आदरपुर्वक जवाफ नदिई भर्त्सना गरिन्छ। यस प्रकारले संस्थागत सत्तामाथि आइलागेको बौद्धिक चुनौतिलाई असल मानिसहरु र खराब मानिसहरु बीचको द्वन्द्वको रुपमा चित्रित गरी समाधान गरिन्छ। बढाइचढाइ गरिएको दावीभित्रको असल विषयवस्तुलाई स्पष्टरूपबाट बुझ्न विशेषज्ञता- प्राविधिकता आवश्यकता पर्छ, त्यसलाई व्याख्या गरिनुपर्दछ।
म यहाँ राजनैतिक वैधानिकताका परस्परविरोधी स्रोतहरु विज्ञान र जनमत हुन् भनेर प्रस्ताव गर्दछु। जसलाई जनउत्तेजक चालवाजीबाट अव्यवस्थितरुपमा मेलमिलाप गराइएका हुन्छन्, जसलाई हामी विज्ञानवाद भन्न सक्छौं। यो जनउत्तेजक चालवाजी प्रायोजित हो किनकि एकआपसमा जोडिएका शक्तिकेन्द्रहरु एक अर्कालाई माथि उठाउन यही चालवाजीमाथि भर पर्छन्।
तर प्राधिकार विशेषज्ञबाट अनुसन्धान गिरोहको सेटिङविरुद्ध लोकप्रिय मत र नयाँ विरोधका दृढ स्वर बेरोकटोक आइरहेका छन्। यसकारण यो ब्यवस्था धर्मराउन थालेको छ। यसर्थ यसको संरचनालाई सुदृढ बनाउन यसमा तेस्रो खुट्टो थपिएको छ: पीडितको नैतिक महानता (moral splendor of the victim) । अर्थात् पिडितको पक्षमा उभिनू। यो काम अहिले आफूप्रतिको आलोचना निस्तेज बनाउन हरेक संस्थाहरुले गरिरहेछन्। जे भए पनि आसा यस्तै गरिन्छ।
सन् २०२० को अविस्मरणीय गर्मीयाममा, जातिवाद–विरोधीको नैतिक ऊर्जालाई जन–स्वास्थ्य विज्ञानको प्रभुत्वका लागि प्रयोग गरिएको थियो। अतः “श्वेत श्रेष्ठता” स्वास्थ्य आपतकाल बन्यो – यस्तो आपतकाल जसले विरोध सभाहरु संचालन गर्न सामाजिक दुरीको नियमलाई स्थगित गरिदियो। यसरी अमेरिकाको श्वेत श्रेष्ठतावादी व्याख्या कसरी विज्ञानसम्मत देखिने गरी दावीमा परिणत हुन्छ? स्पष्ट गर्यो।
माइकल लिन्ड तर्क गर्छन् – कोभिडले वर्ग–संघर्षलाई खुला रुपमा बाहिर ल्याइदियो। तर श्रम र पुँजी बीचमा नभएर “सम्भ्रान्त” भन्न सकिने दुई समूहहरु बीच। एक पक्षमा साना ब्यवसायका मालिकहरु जसले लकडाउनको विरोध गर्छन् र अर्को पक्षमा पेशेवरहरु (professionals) जो घरमै बसेर काम गर्न सक्छन्, जसको रोजगारी सुरक्षित छ र सरसफाइको राजनीतिमा अधिकतम अडान लिन्छन्। हामी के पनि थप्न सक्छौं भने प्रोफेशनल “ज्ञानको अर्थतन्त्र (Knowledge Economy)” मा आबद्ध हुन्छन्। यसकारण प्रोफेशनलहरुले स्वभाविक रुपमा विशेषज्ञहरु प्रति बढी आदरभाव प्रदर्शन गर्छन् किनभने ज्ञान अर्थतन्त्रको आधारभूत प्रचलन भनेको प्राज्ञिक प्रतिष्ठा हो।
यस्तो वर्ग–विभाजनलाई राष्ट्रपति ट्रम्प वरिपरि संगठित पहिले देखिका विद्यमान सम्प्रदायले झन् चर्काए। त्यही सम्प्रदायले आम जनसंख्यालाई असल मानिसहरु र खराब मानिसहरू भनी विभाजन गरेको थियो। प्रोफेशनलहरुका लागि, उनीहरुको अन्तःस्करणबाट मात्र होइन, संस्थागत अर्थतन्त्रमा आफ्नो हैसियत र जिउने–क्षमताले विभाजनको सहि पक्षमा सुस्पष्टताका साथ उभिनसक्ने आधार बन्छ। सन् २०१६ मा स्थापित म्यानिचियन बाइनरी (manichaean binary) अनुसार कुनै व्यक्तिको दिमागमा उव्जिएको आधारभूत प्रश्न भनेको कुनै व्यक्तिको रङ्गभेद–विरोधी अडानको सामर्थ्य र इमानदारी हो।
जनस्वास्थ्यसँग जोडिएका प्राविधिक निकायमा काम गर्ने श्वेतहरुका लागि, एकै समयको जर्ज फ्लोयड हत्या विरोधी प्रदर्शनहरु र विश्व महामारीले वर्णसम्बन्धी मुद्दामा आफ्नो नैतिक संग्धिततालाई यसको विपरिततिर बदल्ने अवसर दिए जस्तै भयो। त्यो विपरित भनेको नैतिक सत्ताको (moral authority) बदलाव थियो।
स्वास्थ्य विशेषज्ञ भनिइने १२०० भन्दा बढि स्वास्थ्य विशेषज्ञहरुले एउटा खुला पत्रमा हस्ताक्षर गरे। यस पत्रको आशय “श्वेत प्रभुत्वको व्यापक प्राणघातक शक्ति” को सम्वोधन गर्नुपर्ने आवश्यकता ठानेर विरोध प्रदर्शनलाई प्रोत्साहित गर्नु थियो। यसले आफ्नो वैज्ञानिक ज्ञानको बलमा यो व्यापक शक्तिको पहिचान गर्न उनीहरु विशेष गरि दक्ष छन् भन्ने प्रष्ट भयो। दि ल्यानसेट, द न्यू इङ्लेन्ड जर्नल अफ मेडिसिन, साइन्टिफिक अमेरिकन, यहाँसम्म कि नेचर जस्ता जर्नलका सम्पादकीयहरु हाल आएर वर्णसम्बन्धी आलोचनात्मक सिद्धान्तको भाषा बोल्न थाले। तिनीहरुका बोलीले व्याख्यात्मक विधिको रुपमा, “गोरोपन” को अदृष्य विषालु हावालाई स्मरण गराउँदै, आफुलाई फाइदा हुने महामारी नीतिको पक्षमा चर र औचित्य (variable and justification) लाई नियन्त्रण गरे।
विज्ञान अति नै प्रष्ट छ। यो विस्तारित लक्ष्यहरु सामू झुकेको पनि छ। फेब्रुअरी २०२१ मा, मेडिकल जर्नल ल्यानसेटले राष्ट्रपतिद्वारा विज्ञानको राजनीतिकरण गरेकोमा विलाप गर्न ट्रम्प युगका सार्वजनिक नीति र स्वास्थ्य सम्बन्धीआयोग गठन गर्यो – साथै जनस्वास्थ्यका सम्बोधन गर्ने अन्य उपायहरुका साथै दासहरुका सन्तानका साथै ऐतिहासिक उत्पीडनका अन्य पीडितहरुलाई मुआवजा दिने, सकारात्मक कार्यलाई बढावा दिने र ग्रीन न्यू डिल (green new deal) लागू गर्ने” विज्ञान निर्देशित प्रस्तावहरु” को आग्रह गर्यो। कसैले पनि इमान्दारीपूर्वक, स्वतन्त्र रुपमा उचित ध्यान दिएर यस्ता नीतिहरुलाई मुद्दा बनाउन सक्छ। धेरै मानिसहरुले त्यसो गरेका छन्। तर सम्भवत नैतिक छनोट र परिणामस्वरुप प्राविधिक प्रोफेशनलहरुमा विकसित असुरक्षाले उनीहरुले तुरुन्तै अभियन्ताहरु हुन र रुपान्तरित समाजको विशाल दुरदृष्टिमा हस्ताक्षर गर्नबाट अलग भएका छन्।
महामारीको बीचमा “जन स्वास्थ्य” को अभूतपुर्व सफलताले जनताको त्रासपुर्ण सहमति आर्जन गर्यो। यही सफलताले गर्दा हरेक प्राविधिक-अग्रगामी आयोजना प्राप्त गर्न तँछाडमछाड भएको छ। यदि प्रजातान्त्रिक तरिकाले प्रयास गरिएको र विद्यमान खतराको सम्बोधनको रुपमा पेस गरिए त्यस्तो तँछाडमछाड हुने सम्भावना न्यून हुनेछ। बाइडेन सरकार बनेको पहिलो हप्तामा, सिनेटको बहुमतका नेताले राष्ट्रपति समक्ष “जलवायु आपतकाल” घोषणा गर्न र कङ्ग्रेसलाई छलेर ठाडो कार्यकारी आदेशबाट शासन गर्ने अधिकार शक्ति–ग्रहण गर्न आग्रह गरेका छन्। यस कुरालाई हलुकारुपमा लिनु हुँदैन किनकि यसरी “शकुनी” चालबाट हामीलाई “जलवायु लकडाउन” का लागि तयार पारिदैछ।
पूर्वीय ज्ञान
पश्चिमा राष्ट्रहरुसँग धेरै अघि देखि महामारी विरुद्धका आपदकालिन योजनाहरु थिए। तर क्वारेन्टिनका उपायहरुलाई उदार प्रजातान्त्रिक सिद्धान्तहरुले स्वीकार गर्दैनथ्यो। तिनीहरुले ब्यक्तिगत स्वतन्त्रताको सम्मान र सकेसम्म बल प्रयोग नगर्ने भन्ने गरेका थिए। अत: पश्चिमाहरुले स्वस्थ मानिसहरुलाई घरभित्र थुन्नुको साटो संक्रमित भइसकेकाहरु विशेषगरि जोखिममा रहेकाहरुलाई आइसोलेट गरिनुपर्छ भन्ने मान्यता राख्दै आयो। अर्कोतर्फ गोलार्द्धमा पूर्वमा रहेको चिनले सामुहिक समस्याहरु जनताहरुलाई कडा नियन्त्रण र व्यापक निगरानी (surveillance) गरेर समाधान गर्छ। त्यसै अनुरुप जब कोभिड महामारी वास्तव मै सुरु भयो, चिनले वुहान र अन्य सबै संक्रमित क्षेत्रमा सबै प्रकारका गतिविधिहरु माथि लकडाउन लगायो। पश्चिममा यस प्रकारको समाधानको उपायलाई उचित विकल्पको रुपमा मानिएन।
जस्तो बेलायती महामारी विशेषज्ञ निल फर्गुसनले गत दिसम्वरमा टाइम पत्रिकामा भनेका थिए: “त्यो एक दलीय कम्युनिष्ट राष्ट्र हो– हामीले भन्यौं। हामी लकडाउन गरेर उम्कन सक्दैनौं –हामीले सोच्यौं … तर इटलीले लकडाउन गर्यो। तब हामीलाई लाग्यो हामी पनि लकडाउन गर्न सक्छौं”। ” अचेल लकडाउन अपरिहार्य झैं लाग्छ”, उनले थपे ।
अत: पश्चिमी समाजका आदर्शका आधार स्तम्भका कारण जे कुरा असम्भव लाग्थ्यो अहिले आएर सम्भव मात्र होइन अपरिहार्य लाग्छ। र यो पुर्ण विल्कुल विपरित कार्य केवल केहि महिनाभित्र भयो।
यस्तो अनुचित भनिएको उपाय वा मार्ग स्वीकार्ने अवस्था पुर्णरुपमा संकटको गम्भीरता माथि निर्भर गर्छ। निश्चय नै केही यस्तो खतराको बिन्दु हुन्छ, यस्तो अवस्थामा उदारवादी आदर्शहरु धान्नै नसकिनेगरी गलगाँड बन्दछन्। निश्चय नै कोभिड एउटा गम्भीर विमार हो, जसको घातक दर फ्लुको भन्दा दस गुणा बढी हुन्छ: संक्रमित संख्याको करीव एक प्रतिशतको मृत्यु हुन्छ। र फ्लु विपरित यसको मृत्यु दर उमेर र अन्य जोखिमपुर्ण स्वास्थ्य अवस्थाहरुका कारण आकासिएको छ। उमेरको हकमा कलिला बालक र बयोबृद्धमा हजार गुणा बढि हुनसक्ने हुनाले त्यो एक प्रतिशत मृत्यु दर त्यति विश्वसनीय लाग्न सक्दैन। नभेम्बर, २०२० सम्ममा, बेलायतमा कोभिडका कारण मृत्यु हुनेहरुको औषत उमेर ८२.४ वर्ष थियो।
जुलाई २०२० मा, २९% बेलायती नागरिकले कोभिडका कारण “६-१०% वा त्यो भन्दा बढि” जनसंख्या मृत्यु भइसकेको विश्वास गर्थे। सर्वेक्षण गरिएकामा करीव ५०% जनताले धेरै यथार्थ अनुमान १% हो भनेर विश्वास गर्थे। वास्तविक अङ्क चाँही एक प्रतिशतको दस भागमा एक भाग थियो। अतः कोभिडद्वारा हुने मृत्युका सम्बन्धमा जनताको अनुमान कैयौं गुणा बढि थियो। यो ज्यादै अर्थपुर्ण छ।
जनमत सर्वेक्षणले चिनमा भन्दा पश्चिममा धेरै अर्थ राख्छ। मानिसहरु यथेष्ट त्रसित भएको अवस्थामा मात्र उनीहरुले आफ्नो सुरक्षाको लागि ब्यक्तिगत स्वतन्त्रता त्याग्छन्- यो नै हब्सको लेभियाथान (थोमस होब्बस लिखित पुस्तक) को आधारभूत सिद्धान्त हो। त्रासलाई बढावा दिनु आम संचार जगतको व्यापार–ढाँचाको महत्वपूर्ण तत्व बनेको धेरै भएको छ। र, यो संचार–जगत पश्चिमी दुनियामा राज्यसत्तासँग घनिष्टतापूर्वक एकअर्कामा सहयोगी हुने मार्गमा छ जस्तो देखिन्छ। जबकी चिनियाँ सरकार बाह्य बल प्रयोग गर्छ, पश्चिममा बल प्रयोग भित्रबाट आउनु पर्छ; ब्यक्तिको मानसिक अवस्थाको भित्रबाट। राज्य नामको लागि जनताका प्रतिनिधिको रुपमा काम गर्ने गरि निर्वाचित मानिसहरुका हातमा हुन्छ, अत: त्यो त्रासको वस्तु बन्न सक्दैन। यस बाहेक अन्य कुनै वस्तु त्रासको स्रोत हुनुपर्छ, जसले गर्दा राज्यले हामीलाई बचाउने भूमिका निर्वाह गर्न सक्छ। तर यो भूमिका निभाउनका लागि राज्य शक्ति विशेषज्ञहरुद्वारा निर्देशित हुनुपर्छ।
२०२० को सुरुमा, आपतकाल हटेपछि पुन चिन जस्तो नदेखिने अवस्थामा फर्किन सकि हालिन्छ नि भन्ने ठानियो। यसैकारण छोटो समयका लागि आधारभूत स्वतन्त्रताहरु माथि बन्देज लगाउन आवश्यक छ भन्ने जनमतबाट स्वीकार भयो। तर यसको अर्थ उदार राजनीतिक संस्कृति ज्यादै सुदृढ छ र यसलाई हल्लाउन सकिन्न भन्ने रह्यो। न्यायमूर्ति र बेलायतको सर्वोच्च अदालतका अवकाश प्राप्त सदस्य लर्ड सम्पटियन पश्चिममा लकडाउन लगाउनु तोड्न नसकिने जस्तो लाग्ने सीमा तोड्नु हो। अनहर्डमा फ्रेडी सेयर्सले दिएको अन्तरवार्तामा उनले आपतकालमा सरकारका हातमा कानुनी रुपमा अथाह शक्ति हुन्छ। “सरकारले गर्नसक्ने धेरै कामहरु छन्, जुन कामहरु सामान्यत: गरिनु हुँदैन भनेर स्वीकारिएको छ। र अघिल्लो मार्चसम्म, ती कामहरु मध्ये एउटा काम स्वस्थ मानिसहरुलाई घर भित्र थुन्नु थियो”।
उनले पनि केनेथ बर्कले भने जस्तै स्वतन्त्र समाजको रुपमा हाम्रो स्थीति कानुनमा होइन परम्परामा अडिएको हुन्छ। त्यो परम्परा भनेको हामीले के गर्नुपर्छ भन्ने र दशकौं अझ शताब्दीऔंमा क्रमिकरुपमा विकसित भएको सोच्ने र अनुभव गर्ने आदतबारे “सामुहिक आन्तरिक प्रेरणा” हो। तर यी सबै नाजुक हुन्छन्। कुनै पनि परम्परा स्थापित गर्नुभन्दा तोड्न धेरै सजिलो हुन्छ। यसको अर्थ चिन जस्तो भएर रहन–नपर्ने पूर्व–अवस्थामा फर्किन धेरै कठिन हुनसक्छ।
लर्ड सम्पटियनले भने झैं, ” जब तपाईं कानूनको साटो आफ्ना आधारभूत स्वतन्त्रताका लागि परम्परामाथि निर्भर हुनुहुन्छ, तर परम्परा टुट्नासाथ कानून टुटिसक्नेछ। जब तपाईं कुनै ब्यक्तिले राम्रो ठानेको अवस्था बाहेक राष्ट्रियरुपमा मानिसहरुलाई थुनेर राख्न सकिँदैन भन्ने अवस्थामा पुग्नुहुन्छ तब त्यहाँ रोकथाम गर्न कुनै बाधाअड्चन रहने छैन। हामीले त्यो सीमा पार गरिसकेका छौं। र, सरकारहरुले यी कुराहरुलाई बिर्सनु हुँदैन। मेरो विचारमा यदि हामी होसियार भएनौं भने यस मोडललाई सबै प्रकारका सामुहिक समस्याहरुको समाधानका रुपमा स्वीकारिने छ”। बेलायतमा जस्तै अमेरिकामा पनि सरकारका हातमा अथाह शक्ति छ। “त्यो शक्तिको जथाभावी प्रयोग हुनबाट एउटै कुराले रोक्नसक्छ, त्यो भनेको परम्परा हो, जसलाई हामीले तिरष्कार गर्ने निर्णय गरिसकेकाछौं”।
स्पष्ट छ, चिनको जस्तो शासन प्रणाली प्रतिको आकर्षण मध्यमार्गी मतबीच विस्तार भइरहेकोछ। यसो हुनुमा मुख्यतः ट्रम्प र ब्रेक्जिट युगका असफलताले नै हो। यो पनि स्पष्ट भएको छ कि “विज्ञान” ले (वास्तविक विज्ञानको विपरित) यसमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ। अन्य रुपका बक्तब्यवाजी जस्तै विज्ञानवादले पनि वास्तविकताको अस्वाभाविक तथ्य र सम्पादित तस्विर प्रस्तुत गर्दछ। यसो गर्दा, लोकतान्त्रिक सिद्धान्तहरुलाई विवादास्पद बनाउने यथेष्ट डर पैदा गर्नसक्छ।
अहिले महामारी कम हुने अवस्थामा छ र अमेरिकाभरि चाहना राख्नेहरुलाई खोप उपलब्ध छ। तर धेरै मानिसहरु मास्क लगाउन छोड्न मानिरहेका छैनन्, मानौ उनीहरु कुनै नयाँ धार्मिक सम्प्रदायमा भर्ति भएका छन्। त्रासको व्यापक फैलाव राज्यको प्रोपोगान्डाको औजारका रुपमा छ। यसले यस्तो भ्रामक प्रभाव (असर) परेको छ कि हाम्रो जोखिम बारेको बुझाई यथार्थबाट अलग्गिएको छ।
हामीले नसोचिकनै जीवनमा आइलाग्ने हरेक प्रकारका जोखिमहरु स्विकारी रहेका हुन्छौं। जोखिमहरुमध्ये एउटा छानेर त्यसै माथि केन्द्रित हुनु भनेको बङ्ग्याइएको दृष्टिकोण अपनाउनु हो जसको वास्तविक मूल्य आफ्नो एकोहोरो दृष्टिभन्दा अन्यत्र कतै चुकाइएको हुन्छ। हामी यसबाट उम्कनु भनेको- जोखिमहरुलाई उपयुक्त सन्दर्भमा राख्नु वा उपयुक्त परिप्रेक्ष्यमा बुझ्नु हो- जसको लागि जीवन प्रति सकारात्मक दृष्टि राख्दै जीवनलाई पशु जीवनभन्दा माथि उठाउने तमाम गतिविधिहरुमा पुन ध्यान केन्दित गर्नुपर्छ।
अनुहार वा आत्मसम्मान लुकाउँदै
सम्भवतः यस महामारीले हामीलाई यान्त्रिकीकरणतिर लामो यात्रातर्फ धकेलिनमात्र होइन आधिकारिक सूचनासमेत गरेको छ। हामीले मास्करहित अनुहार लिएर अर्को मानिसलाई भेट्दा ब्यक्ति-ब्यक्तिको भेट हुन्छ र यसरी भेट्दा हामीमा क्षणिक आनन्द र विश्वासको अनुभूति हुन्छ। हाम्रो अनुहारलाई मास्कले छोप्दा हामी त्यो अवसर गुमाउछौं। यो राजनीतिकरुपले अर्थपुर्ण हुनुपर्छ।
सम्भवतः यस्तै सूक्ष्म अवसरहरुले गर्दा हामी आफुलाई साझा भाग्य भएका मानिस भएको अनुभव गर्छौं। ऐक्यवद्धता भनेकै यहि हो। ऐक्यवद्धता नै निरङ्कुशता विरुद्धको बलियो औजार हो, जस्तो हान्ह् एरेन्डट्ले “अन दि अरिजिन अफ टोटालिटेरियनिज्म” मा उल्लेख गरेकी छन्। हाल त्यस्ता अवसरहरुबाट विमुख हुनु भनेको असल नागरिक हुनु अर्थात् असल सरसफाइको प्रमाणपत्र पाएको ठानिन्छ। तर हामी कस्तो सत्ताको नागरिक बनिरहेका छौं?
केही जोखिमहरु न्यूनिकरण गर्न अरुलाई उपेक्षा गरेका बखत, “विज्ञानको अनुसरण” गर्दा केही हदसम्म जीवन सार्थक बनाउने हाम्रो स्वविवेक प्रयोग गर्न हामीलाई बञ्चित गराउँछ। यसले हामीलाई आसा र आत्मविश्वासका साथ अनिश्चित संसारमा धकेल्ने जीविकाका चुनौतिहरुबाट पनि मुक्त गर्छ। जीवन र मरणलाई स्वीकार्न नसक्ने समाज जिउँदो मूर्दाले भरिने छ। त्यहाँका निवासीहरु अर्ध-जीवन अङ्गिकार गर्ने सम्प्रदायमा परिणत हुनेछन् जसले विज्ञहरुबाट थप मार्गदर्शनको अपेक्षा गरेर जिन्दगी धान्नेछन्।
कथन नै छ– जनता जस्ता छन्, उनीहरुले त्यस्तै सरकार पाउनेछन्।
लेखकः मैथ्यू बी क्रउफोर्ड भौतिक तथा राजनीतिक दर्शन विषयका अध्येता हुन्। उनी भर्जिनिया विश्वविद्यालयका एक अनुसन्धान फेलो हुन्।
मे ३, २०२१ को Unherd.com बाट दामोदर उपाध्यायद्वारा सरलीकृत अनुवाद।