म मेरा भावनाको बादशाह हुँ। कथा – सिर्जनामा मैले त्यसमाथि शासनको लगाम तानेको छु। कथामा म आफूलाई व्यक्त गर्दछु र आफू जस्तै अर्को मानिसलाई व्यक्त गर्दछु। त्यो मानिस जसले आफ्नो बौद्धिक क्यानभासमा इलेक्ट्रोनिक युगको रंग र सज्जालाई वरण गर्छ तर मध्ययुगीन पछौटे जीवनमा घस्रेर आफ्नो अस्तित्वको रथलाई हाँक्छ। दुई परस्पर विरोधी यथार्थको प्रतिबिम्ब त्यो मानिस हो। एकातिर भौतिक सम्पन्नताको उत्कर्ष छ भने अर्कातिर दरिद्रताबाट सिर्जित विकराल विसंगति छ। दुवै सँस्कारले पीडित वर्णशंकर चापबाट आक्रान्त मानिस मेरो कथाको नायक हो। वर्तमान सभ्यताले आर्जन गरेको साँस्कृतिक संकटमा पिसिएको छ– त्यो नायक र उसको नायकत्व।
म रचनाकर्ममा आफुलाई ढाँट्न सक्दिन। आफुलाई ढाटेर कुनैपनि स्रष्टा वास्तविक स्रष्टा बन्न सक्दैन भन्ने मेरो मान्यता छ। त्यसैले मेरो लेखनमा मानिसका सबलता वा दुर्बलताको अंशियार म आफै पनि हुँ। म भगवान हुन चाहन्न । यस्तो दुस्साहस गरेर अलौकिक बन्ने महत्वकांक्षा मसित छैन। त्यसैले मेरो कथा म जस्तै सामान्य मानिसको सरल जीवनको दस्तावेज पनि हो।
झण्डै दुई दशक अघि मैले कथा लेखनको आरम्भ गरेको हुँ। त्यसबेला म आफुलाई प्रकाशित गर्न चाहन्थें। म त्यस्तो ठाउँमा जन्मेर हुर्केको थिए– जहाँको सामाजिक मनोविज्ञान दासताको पर्याय बनेको थियो। प्रजातन्त्र, मानव अधिकार वा मानव गरिमासति कसैको रुची थिएन। त्यहाँका मानिसहरु यातना शिविरमा राखिएका बन्दी जस्तै थिए तर कसैलाई दुःखको अनुभव थिएन। यही कुरा मेरो निम्ति सह्य भएन। अनि मैले सोचेँ– म मेरा आफन्तहरुको त्यही अनुभूतिहीन पीडालाई कथाद्वारा बोल्छु। त्यसपछि यता दुई दशकको यात्रा अझै जारी छ र सम्भवतः मैले यो यात्रामा कहिल्यै पूर्णता पाउन सक्दिन।
कथा लेख्दै जाने दौरानमा म आन्दोलनमा होमिएँ। २०३१ सालमा बूटपालिस आन्दोलनमा सहभागी हुँदा आफू धेरै शक्तिशाली भएको अनुभव गरेको थिएँ। त्यो युवा सृजनशील स्रष्टाहरुको विरोध अभियानको एउटा सानो अंश थियो। जब लेखन र लेखन–आन्दोलनले मेरो अन्तरआत्माको विरोधी चेतनालाई सन्तुष्ट पार्न सकेन तब मैले विद्यार्थी आन्दोलनमा खुलेआम हामफाल्नु नै त्यस समयको जिम्मेवारी सम्झेँ। त्यसै क्रममा २०३१, २०३२ र २०३६ को विद्यार्थी आन्दोलनमा म सामेल भएँ। २०३६ मा प्रगतिशील लेखक संघतिर आउनु पनि यही कडीको सहउत्पादन थियो।
म मेरा भावनाको बादशाह हुँ। कथा – सिर्जनामा मैले त्यसमाथि शासनको लगाम तानेको छु।
मेरो राजनीतितिर आकर्षणको एउटा अर्को कारण पनि थियो– सम्प्रेषणको सबभन्दा छिटो र प्रभावकारी माध्यमको खोजी। मानिसहरुलाई जागृत गर्न यो सबभन्दा प्रभावकारी माध्यम हुन्छ भन्ने कुरा आन्दोलन, जेल र पुलिस हिरासतमा मैले भोगेको जिन्दगीको शिक्षा थियो। कतिपय कलाकारहरु जस्तो म राजनीतिसित विमुख हुने प्रवृत्तिमा पुगिन। राजनीति जीवनको अनिवार्य अंग हो भन्ने मेरो मान्यता सदैव अविचलित छ। तर साहित्य र राजनीति एउटै होइनन् भन्ने मान्यता बारे पनि मभित्र कुनै भ्रम छैन। दुवैका आ–आफनै सार्वभौमिक विशेषताहरु छन्। राजनीतिमा मेरो संलग्नताले मेरो कथा लेखनलाई अन्य समकालीन कथा लेखकहरु भन्दा भिन्नै ठाउँमा राखेको छ। म जे लेख्छु त्यो डा. ध्रुवचन्द्र गौतम, राजव वा खगेन्द्र संग्रौला भन्दा फरक छ। र, म जे लेख्न सक्छु त्यो सञ्जय थापा, शैलेन्द्र साकार वा कविताराम भन्दा पनि फरक छ।
म जीवनमा अत्यधिक सरल हुन चाहन्छु। राम्रा काम गर्ने र कहिलेकाँही अन्जान विवशतामा गल्ती पनि गर्ने। घर, परिवार, छिमेक, गाउँ, समाज र पार्टीहरु प्रति मेरो आफ्नै खाले सम्बन्धका कडीहरु छन्। प्रेम, घृणा, सद्भावना र तिरस्कारको आफनै निजात्मक संसार छ मसित। यौनबारे, म कुनै पनि शास्त्रीय पण्डितहरु जस्तो कट्टर स्वाँगे विचार राख्दिन र तथाकथित आधुनिकतावादीहरु जस्तो अतिरिक्त उदात्त पनि छैन। यौन जीववैज्ञानिक आवश्यकता हो। यो सित सम्बन्धित आचार संहिता समाज सापेक्ष रुपमा निर्माण हुनुपर्छ भन्ने मेरो ठम्याई छ। म कुनै पनि अस्वस्थ, विकृत मानवविरोधी यौन जीवनको विपक्षमा छु।
म पेशाले पत्रकार हुँ। राजनीतिक उद्देश्यसित गाँसिएको छ यो मेरो पेशा। मेरो कथाकार व्यक्तित्वलाई मेरो यो पेशाबाट अलग्याउन मिल्दैन। मलाई मानिसहरु कथाकार भन्दा बढी पत्रकार र राजनीतिक कार्यकर्ताको रुपमा चिन्छन्। तर म ती दुवैभन्दा बढी कलाकार हुँ। किनकि, मैले ती दुवै क्षेत्रमा भन्दा कथा लेखनमा आफ्नो परिश्रम, लगन र निष्ठालाई बढी लगानी गरेको छु। जब जब म राजनीति वा पत्रकारिता क्षेत्रबाट निराश भएको छु तब तब मलाई कथालेखन आफ्नै घर जस्तो लाग्छ। राजनीतिक जीवनमा आरोह–अवरोहका क्षणहरुमा म कथा लेखनद्वारा आफूलाई बचाउने काम गर्छु। समय समयमा पार्टीसित दूरी बढ्दा मैले आफूलाई राख्ने ठाउँ यहीँ विधालाई देखेको छु। यसरी जहिले पनि आत्मसंकटमा पर्दा मेरो आशाको क्षितिज कथा लेखनद्वारा मात्र फराकिलो भएको छ।
मार्क्सवादी सौन्दर्यशास्त्र मेरो रचनाकर्मको वैचारिक आदर्श हो। तर म यान्त्रिक रुपमा यसलाई अंगीकार गर्न चाहन्न। मानिसलाई सिमित र निर्देशित लक्ष्मणरेखाभित्र परिभाषित गर्न हुँदैन। उसलाई कुनै एकमात्र आयाममा उभ्याउनु पनि हुँदैन। त्यसैले मैले सकभर आफ्ना पात्रहरुलाई यान्त्रिक र शास्त्रीय आदर्शको भारीले किच्न दिएको छैन। तिनीहरु आफ्नो सम्पूर्णतामा उभिउन् भन्ने मेरो श्रष्टाको आग्रह छ। त्यसैले तिनीहरु कतै सकारात्मक र कतै नकारात्मक रुपमा आएका छन्। मैले जीवनको गत्यात्मकतालाई कृत्रिम पात्रहरुको स्थापनाद्वारा होइन सहज र यथार्थ मानिसहरु र तिनको समाजसितको सम्बन्धका अनेक आयामद्वारा व्याख्या गर्ने प्रयत्न गरेको छु।
कतिपय सवालमा म अराजक छु। तर मेरो यो अराजकता समाजको गतिशील प्रवाहसित पलायन हुने क्रममा जन्मेको होइन। मेरो अराजकता त्यसबेला जागृत हुन्छ जब प्राकृतिक नियमहरु उल्लंघन हुन्छन्। राज्यले, प्रतिपक्षले वा त्यो भन्दा तल्लो हैसियतका संगठित वा असंगठित निकायहरुले जब अवैधानिक काम गर्छन् तब म ती सबैको प्रतिपक्षमा हुन्छु। रुढीहरुसित सम्झौता गर्न नसकेपछि म त्यस्तो मनस्थितिमा पुग्छु। यसरी कहिलेकाहीँ म आफू एक्लो भएको अनुभव गर्छु। तर मैले जतिसुकै निसंकट अवस्थामा पनि आफूलाई पराजित हुन दिएको छैन। त्यस्तो अवस्थामा एकलव्य मेरो आदर्श हुन्छ। मेरो आफ्नो निष्ठालाई बचाउन म उसको कठिन तपस्यालाई अनुशरण गर्दछु।
अहिलेसम्म यस्तै–यस्तै धेरै विशेषताहरुको लगाम समाएर मेरो कथा–यात्रा जारी छ। –नारायण ढकाल (विपुल, फागुन २०५०)