Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कमरेड छविचन्द्र ढकालको सम्झनामा

रामराज रेग्मी रामराज रेग्मी
माघ २७, २०८०
- पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    छविचन्द्र ढकाल आजसम्म सङ्गतमा आएका व्यक्तिहरूमध्ये मेरो मन जित्न सफल एक कमरेड हुन्। उनलाई संझँदा मनमा एक प्रकारको नरमाइलो अनुभूति पैदा हुन्छ। साँच्चै भन्ने हो भने तनहूँ जिल्लाको उनको सिम्पानी गाउँमा मैले आजसम्म पाइला टेकेकै छैन। नाताले उनी मेरा कोही पर्दैनन्। उनका परिवारलाई उनीसँगकै सम्पर्कका कारण पछि चिन्दै र भेट्दै गएको हूँ। तर पनि मेरो मनको एक कुनामा उनले ठाउँ लिएका छन्। उनी बरोबर मेरो संझनामा आइरहन्छन्। आखिर त्यो कुन भावना हो र त्यो कुन साइनो सम्बन्ध हो जस्ले उनलाई मेरो यति नजिक बनायो ? त्यो अरू केही नभएर वर्गीय सम्बन्ध हो र विचारको साइनो हो। नेपाली जनतालाई सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सञ्चालन गरी सामन्तवाद र पुँजीवादको सिक्रीबाट मुक्त गरी समाजवादको स्थापना गर्ने सपना हामीले सँगै देख्यौँ। मार्क्स र एङ्गेल्सलाई हामीले वैचारिक गुरु मान्यौँ। लेनिन, स्टालिन र माओलाई हामीले राजनीतिमा मार्ग दर्शन गर्ने महान् अन्तराष्ट्रिय नेता ठान्यौँ। दुई दशकसम्म ‘नेपालका कम्युनिष्टहरूको सङ्गठन-माओवादी’ को झण्डामनि श्यामप्रसादको नेतृत्वमा भूमिगत रूपमा हामी कार्यरत रह्यौँ।

    गरिब किसान र भूमिहीन मोही किसानका झुप्राहरूमा टूकीको उज्यालोमा हामीले कैयौँ रात बैठक गर्‍यौँ, कामको समीक्षा गर्‍यौँ, गल्तीहरू एवं कमीकमजोरी केलायौँ र भावी दिनका कार्यकमहरू तय गर्दै छुट्टियौँ। त्यतिखेर किसानहरूका वास्तविक समस्या के थिए भन्ने कुरा हामीले सँगै बसेर अध्ययन गर्‍यौँ, घरभित्रका श्रम कार्यमा किसान परिवारसँग सहकार्य गर्‍यौँ, उनीहरूका सिँगाने केटाकेटीलाई काखमा लियौँ माया दियौँ र सँगै खेल्यौँ। हामीले किसानहरूसँग तिनीहरूका सिलौटे थालमा सँगैसहभोजन गर्‍यौँ, तिनका गुन्द्रीमा बोरा र थाङ्नाथरा ओडी कतिपय हिउँदका रात सँगै काट्यौँ। हाम्रो अवस्था र रहनसहन प्राय एउटै थियो। हामी रातमा किसानका घरमा सँगै हुन्थ्यौँ र विहानपख झिसमिसेमा अरू मानिस नउठ्दै छुट्टिएर आ–आफ्ना बाटा लाग्थ्यौँ। वास्तवमा त्यही वर्गीय मित्रता थियो जस्ले मलाई र कमरेड छविलाई जीवनको एक कालखण्डमा एक सूत्रमा बाँधेको थियो। मैले पछिसम्म उनलाई संझने र संझनुपर्ने आधार त्यही थियोे। साँच्चै नै वर्गीय सम्बन्ध अन्य खालको सम्बन्धभन्दा उच्च र प्यारो हुने रहेछ।

    आज पनि म कम्युनिष्ट पार्टीमा आवद्ध नै छु। आज पनि पार्टीका बैठकहरू, सभाहरू, प्रशिक्षणहरू र भेटघाटहरूमा भाग लिइरहेको छु। तर वातावरण फेरिएको छ। आफ्नै पार्टी पद्धति र जीवन पद्धतिले मलाई गिज्याइरहे जस्तो लागि रहेछ। छविजी जस्तो आत्मीय कमरेड आज मेरो साथमा छैनन्। उनी जस्ता त्यागी मित्र मेरो आसपासमा छैनन्। आज म बेग्लै परिवेसमा कैद छु। म किसानका झुपडीहरूमा बैठक गरिरहेको छैन, अक्सर पार्टी प्यालेसहरूमा स्वादिष्ट भोजनको रसस्वादन गर्दै बैठक गरिरहेको छु। गरिब तथा भूमिहीन किसानको पसिनाको गन्ध यहाँ आउँदैन, बरु आउँछ कमरेडहरूका शरीरबाट सुगन्धी परफ्यूमहरूको मिठो बास्ना। गाउँमा पाइला टेक्न परेको पनि छैन, कमीकमजोरीको लेखाजोखा पनि छैन र कता जाने हो ? के गर्ने हो ? त्यसको कुनै योजना पनि छैन। हामी एउटा निर्णय गर्दछौँ भोलि अर्कै योजना कार्यान्वयन गर्दछौँ। हाम्रो कथनी र करणीमा सामञ्जस्यता छैन। नेताजीहरू आउनुहुन्छ, उहाँहरूका भाषण सुनिन्छ र घरतिर लागिन्छ। हिजो हरेक मिनेट, हरेक घण्टा, हरेक हप्ता र र हरेक महिना धेरै महत्वपूर्ण लाग्थे। आज निकै निरसिला दिनहरू बितिरहेछन्। वर्तमानको लगानी खेर गइरहेको अनुभूति गरिरहेछु। शहरको बसाइ र रहनसहनलाई जनताको पक्षमा लगाउन सकिन्थ्यो, नसकिने होइन। बनाउन सके यहाँको जीवन पनि क्रान्तिकारी हुन्थ्यो होला। तर लाग्छ हामी सबै यतिखेर आफ्नो स्वार्थका पछि कुदिरहेछौँ र तल भ्रमपूर्ण सपनाहरू बाँडिरहेछौँ। यही कारण हो जस्ले मलाई बारम्बार हिजोकोे संसारमा तान्छ र कमरेड छवी लगायतका अन्य कमरेडहरूसँगको आत्मीयतालाई अझ मजबूत बनाउँछ। जति म ती दिनहरू सँझन्छु उती नै उनी लगायतका कमरेडहरूलाई संझेर भावविह्वल हुन्छु।

    तत्कालीन समयमा कमरेड छवीको जन्मथलो राजनीतिक हिसाबले नेपालका चेतनशील थलाहरूमध्येमा एउटा थलो थियो। ब्राह्मणहरू भनेका अरू जातिलाई कजाएर खाने उच्च जातका मानिस हुन्, अरू जातिले तिनको सेवा गर्नुपर्छ, तिनले हलो जोत्न हुँदैन, हलो जोत्ने काम त शूद्र र जनजातिका मानिसको हो भन्ने भेदभावपूर्ण कथन र सामन्ती प्रचलनविरुद्ध लमजुङ दूराडाँडामा चेतनशील ब्राह्मण युवाहरूले सञ्चालन गरेको हलो क्रान्तिको प्रभाव त्यस ठाउँमा परेको थियो र २००६ साल पौष ६ गते टुहुरे पसल नजिकै ‘बिर्तावगर’ नामको खेतमा कविराज रामप्रसाद खनालको अगुवाइमा उमाभद्र खनाल, विष्णुहरि खनाल र भुवनेश्वर ढकाल लगायतले हलो जोतेका थिए। यो कार्य त्यस बखतको समाजमा निकै ठूलो साहसिक कार्य थियो र हलो जोतेवापत राणा शासकहरूले अगुवाहरूमाथि कारवाहीको डण्डा वर्षाएका थिए। साथै २००७ सालको क्रान्तिमा पनि त्यहाँ श्रीभद्र खनाल, उमाभद्र खनाल, विष्णुहरी खनाल, भुवनेश्वर ढकाल आदिको अगुवाईमा राणाविरोधी आन्दोलनको सूत्रपात भएको थियो। श्रीभद्र खनाल त जिल्ला स्तर र पछि राष्ट्रिय स्तरका नेता समेत हुन पुगेका थिए। निश्चय नै त्यस राजनीतिक परिस्थितिले छविचन्द्र ढकालको चेतना अभिबृद्धि भएको थियो होला। तर उनी श्रीभद्रहरूको नेपाली काङग्रेस पार्टीमा नलागेर त्यसको विपरित दिशाको क्रान्तिकारी धारमा मिसिए। जन्मथलोको परम्परागत सामाजिक राजनीतिक वातावरणविरुद्ध त्यसरी कावा खेल्नु साहसिक कार्य थियो। त्यतिखेरका काङग्रेसी कार्यकर्ताहरू फरक विचार लिनेप्रति निकै असहिष्णु थिए। हामीले भूमिगत राजनीति गर्दाखेरि लमजुङ र तनहूँ नेपाली काङ्ग्रेसका गढका रूपमा चिनिन्थे र फरक विचार लिनेलाई धम्क्याउने, पिट्ने, गाउँबाट लखेट्ने त सामान्य कुरा थिए। त्यस्तो वातावरणका छविचन्द्र ढकाल फरक धार पक्डँदै कसरी कम्युनिष्ट विचारप्रति आकर्षित भए ?

    उनको बारेमा कलम चलाउने केही साथीहरूले काठमाडौँमा अध्ययन गरेको अवस्थामा उनको सङ्गत वामपन्थी विद्यार्थी तब्कासँग भएकाले उनमा कम्युनिष्ट क्रान्तिकारी विचार अङ्कुरण भएको हो भनी भनेका छन्। निश्चयनै कुनै पनि क्रान्तिकारी वातावरणले मानिसलाई छुन्छ र परिवर्तन गराउँछ पनि। एउटा वत्तीले हजारौँ बत्ती बाल्छ। तर सल्किने बत्तीमा बल्ने आधार भने हुनुपर्छ। त्यो आधार भनेको मट्टितेल, तोरी तेल, महिन जस्तै ज्वलनशील पदार्थ हो। जति प्रयत्न गरे पनि ज्वलनशील पदार्थविनाको बत्ती सल्किँदैन। जङ्गलमा सुकेका पात पतिङ्गरको रास विस्तार नहुने हो भने डढेलो फैलने कुरा हुँदैन। छविचन्द्रमा भएको त्यस्तो आधार के थियो जस्ले गर्दा उनमा कम्युनिष्ट ज्वाला दन्कियो। त्यो उनको वर्गीय आधार थियो। त्यो क्रान्तिलाई साथ दिने उनको मध्यम वर्गीय पृष्ठभूमि थियो।

    हुन त छविजीको कति हलको खेतबारी थियो र उनको परिवारको गाउँमा के कस्तो हैसियत थियो भन्नेबारे मलाइ केही जानकारी थिएन। गाउँमै गएर मैले उनीबारे गहिरो अध्ययन कहिल्यै गरिन। उनको वर्गसम्बन्धी अध्ययन उनको जीवनका गतिविधि र घटनाक्रमकै आधारमा गरेको हूँ। काठमाडौँको युवक माध्यमिक विद्यालयबाट जेनतेन एस.एल.सि पास गरेपछि घरको खर्चवर्चले लगातार उच्च शिक्षा हासिल गर्ने हैसियत नभएकाले उनी लमजुङ खुदीको माध्यमिक विद्यालयमा अध्यापन गर्न गए। त्यहाँ कमाएको पैसा उनका निम्ति उच्च शिक्षा आर्जन गर्ने पुँजी बन्यो र फेरि काठमाडौँ आई सरस्वती कलेजमा भर्ना भएर त्यहाँबाट आइ.ए.उतीर्ण गरे। त्यही एउटा घटनाको आधारमा मैले छविजीको वर्ग आफ्नो मिहेनत र पसिनाले जेनतेन खानपुग्ने र प्रशस्त वचत सङलन गर्न नसक्ने मध्यम वर्गको भएको अनुमान गरेको हूँ। सामन्ती शोषण र उत्पीडनको मार ग्रामीण क्षेत्रमा मध्यम वर्गमाथि पनि पर्ने भएकाले यो वर्ग सर्वहारा क्रान्तिप्रति आशावादी हुन्छ। यस वर्गमा सम्पत्ति आर्जन गरी माथि उक्लने चाहना त हुन्छ, तर सिसिफसलेझै प्रत्येक पटक असफलता भोग्न परेपछि क्रान्तिमा होमिनु बाहेक अर्को विकल्प देख्दैैन । सामन्त जमिन्दार र धनी किसान वर्गको पृष्ठभूमि भएका नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ताहरूभन्दा निम्न तहका भएकाले नै छवीजीमा क्रान्तिदीप प्रज्वलित हुन सक्ने आधार थियो। पक्कै पनि खनालजीहरूका वर्गका मानिसहरूले गाउँमा गरेको उत्पीडनका कारण तीप्रति छविीजीमा विकर्षण पैदा भएको हुन सक्छ। एक पटक चूँदी खोला तर्ने क्रममा पञ्चायत कालका माननीय उमाभद्र खनालजी अर्काको बुई चढेर खोलो तरेको विषयलाई लिएर त्यतिखेर चूँदी टूहुरे पसलको चन्द्रावती माविमा अध्यापन कार्य गर्ने खगेन्द्र सङ्ग्रौलाजीले गाउँघरको सामन्ती संस्कारप्रति व्यङ्ग हान्दै लेख लेखेको संझन्छु।

    जुनबेला छविजी काठमाडौँमा अध्ययनरत थिए, म पनि त्यतिखेरै उच्च शिक्षा आर्जन गर्ने क्रममा काठमाडौँमा थिएँ। गण्डकी विद्यार्थी परिषद्ले हामीलाई एउटै धागोमा उनेको थियो। उक्त परिषद् काठमाडौँ गएर अध्ययन गर्ने गण्डकी क्षेत्रका प्रगतिवादी विद्यार्थीहरूको सङ्गठन थियो। हामीले पञ्चायती दमन र नेपालमाथि भएको साम्राज्यवादी एवं विस्तारवादी अतिक्रमण विरुद्धमा सभा, जुलुस, गोष्ठी आदिको आयोजना गर्दथ्यौँ र विचारप्रधान पत्रिका ‘लालुपाते’ प्रकाशन गर्दथ्यौँ। त्यखिेर कम्युनिष्ट आन्दोलन तहसनहसको अवस्थामा थियो। पुष्पलालले पार्टी पुनर्गठनका निम्ति प्रयास गरे पनि नेपाली काङ्ग्रेससँग संयुक्त मोर्चा निर्माण गरी बिघटित संसद्को पुनस्र्थापना गर्ने उनको कार्यक्रम भारतमा चलेको नक्सालवादी आन्दोलनको प्रभावका कारण आलोचनाको विषय बनेको थियो। चीनसँगको नेपालको सम्बन्ध र चिनिया पुस्तकहरू काठमाडौँका बजारमा प्रसारण हुने वातावरणले चीनमा सञ्चालित सांस्कृतिक क्रान्तिको प्रभावले राजधानीको युवाजमात तातेको अवस्था थियो। त्यही भट्टिमा परेर छवीलगायतका हामीहरू केही चर्का नाराका पछि लाग्यौँ र बुर्जुवा डिग्री बहिस्कार गरी गाउँ पस्यौँ। यो काम सङ्ठित रूपमा नगरिएपनि एक अभियन्ताको हैसियतले छविीजीसँग मेरो आत्मीयता अझ घनिभूत भयो। पछि संयोगबस हामी एउटै पार्टीको झण्डामनि आवद्ध भएर जीवन मरणका घडीहरू झण्डै वीसवर्षसम्म सँगै बितायौँ। त्यतिमात्र होइन, त्यतिखेरको शिक्षक आन्दोलनमा हामीबीच सहकार्य पनि भयो। हामीले छवीलाई जिल्लाको शिक्षक आन्दोलनको नेतृत्व गर्न अघि सार्‍यौँ। जिल्लामा शिक्षक आन्दोलनलाई अघि बढाउन ज्यूज्यान फालेर उनी लागे र गिरफ्तारमा परी केही महिना कठोर जेल बिताउन बाध्य भए।

    छवीजीले मेरो हृदयमा असीम माया र श्रद्धा पाउनमा उनका अन्य केही असल गुणहरू पनि कारक तत्वका रूपमा रहेका छन्। उनी जिम्मा लिएको कामलाई इमान्दारीपूर्वक बहन गर्दथे र त्यसलाई पूरा गर्न सतत प्रयत्नशील रहन्थे। पार्टी जिम्मेवारीबाट अलग भएको अवस्थामा उनले एकदेव आले प्रतिष्ठानको एक कार्यकाल नेतृत्व गरे। राष्ट्रिय स्तरका शहिद एकदेव आलेलाई अझ चिनाउने काममा उनले अग्रणी भूमिका खेले। प्रतिष्ठानको निम्ति जग्गा प्राप्त गर्ने कार्यमा प्रतिक्रियावादीहरूसँगको उनको जुधाइ प्रशंशनीय छ। त्यस्तै प्रतिष्ठानको कोष जुटाउने कार्यमा उनी खटेर लागे। उनकै प्रयासबाट एकदेव आलेको नाममा तनहूँ जिल्लाको सदरमुकाममा स्मृति भवन बन्न सकेको छ। त्यतिखेर छवीजीका गतिविधि अन्य पार्टीका नेता एवं कार्यकर्ताका निम्ति खरा र उग्र लागे जस्तो बुझिन्थ्यो। तर दमौली जस्तो नेपाली काङ्ग्रेसको विगविगी भएको वातावरणमा दह्रो हस्तक्षेपको खाँचो थियो। यदि उनले शहरको केन्द्रमा प्रतिष्ठानको कार्यालय स्थापना नगरेको भए एकदेव आले प्रतिष्ठानले जग्गा प्राप्त गथ्र्यो, गर्दैनथ्यो अथवा स्मृतिभवन निर्माणका लागि सरकारको तर्फबाट रकम निकाशा हुन्थ्यो, हुदैनथ्यो भन्न सकिन्न। उखानै छ – ‘सोझो औँलाले घिउ तानिँदैन’।

    छविजीमा आफ्नो व्यक्तिगत स्वार्थलाईभन्दा सामुहिक स्वार्थलाई महत्व दिने संस्कार थियो। यो संस्कार उनले ‘नेपालका कम्युनिष्टहरूको सङगठन (माओवादी)’ मा कार्यरत भएकै कारण प्राप्त गरेका हुन् भन्ने मलाई लागेको छ। त्यस पार्टीले हामीलाई असल कम्युनिष्टमा हुनुपर्ने गुण हासिल गर्न जोड दिन्थ्यो। लोभ नगर्ने, मान प्रतिष्ठाको अभिलाषा नगर्ने, जनतामा भिज्ने, जनतालाई माया गर्ने, आफ्नोभन्दा बढी अरुको वास्ता गर्ने जस्ता असल आचरण सम्बन्धी प्रशिक्षणहरू बारम्बार हामीलाई दिइन्थ्यो। छवीजीमा पछिसम्म पनि आफ्नो श्रममा भर पर्ने र अरूलाई बोझ नदिने बानीको विकास भएको पाउँदा खुशि लागेको छ। उनी सदैव साथीभाइलाई सहयोग गर्ने कार्यमा अघि सर्दथे। उनी शिक्षक आन्दोलनका क्रममा जेल पर्दा बाहिर हुने साथीहरूबाट रकम सङ्कलन गरी उनलाई दिन म एकदिन कास्की जेलमा गएको थिएँ। त्यतिखेर बाचस्पति देवकोटा र अन्य शिक्षक आन्दोलनका क्रममा थुनिएका साथीहरूसहित मलाई भेट्न उनी बाहिर गेटमा आए। मैले उनको हातमा साथीहरूबाट सङ्कलित रकम थमाइदिएँ। तर मैले केही बोल्नुभन्दा पहिले नै उनले फ्याट्ट मुख फोरेँ, “रेग्मीजी, सहयोग गर्नु भएकोमा तपाईहरूलाई धन्यवाद। तर योे पैसा हामी जेल बस्ने सबै राजनीतिक बन्दीहरूको साझा सम्पत्तिमा बदली सोही अनुसार उपभोग गर्दछौँ।” यसरी जेलमा छँदा साथीहरूले आपसमा साम्यवादी जीवनपद्धति अनुसरण गर्दथे। सायद माओवादीको जनयुद्धकालमा पनि यही नीति लागु गरिएको थियो होला। यो राम्रो पक्ष हो। निश्चय नै बाहिरी समाजमा रहँदा बस्दा हामीले साम्यवादी आचरण अवलम्बन गर्न सक्दैनौँ। तर कमसेकम जनवादी आचरण अवलम्बन गर्न त सकिन्छ र गर्ने पनि त्यही हो। तर हामी र अन्य बुर्जुवाविचार भएका मानिसहरूबीच आचरणमा भिन्नताको रेखा कोर्न सकिने अवस्था आज देख्दिन। साथीहरूले सर्वहाराको नामको पार्टीलाई आयआर्जनको अखडामा परिणत गरेका छन्। जनताको मतबाट कम्युनिष्ट पार्टीको नाममा निर्वाचन जितेर सत्तासीन हुनेहरूले अकूत सम्पत्ति जोडेको अवस्था छ। आजभोलि मूलधारका कम्युनिष्ट कार्यकर्ता भन्ने गर्दछन्, “जोगी हुन कम्युनिष्ट हुने होइन।”

    छवीजीले प्रदर्शन गरेको त्याग र समर्पण सम्बन्धी आचरणको अर्को घटना पनि उल्लेख गर्नु बान्छनीय होला। जीवनको अन्तिम घडीतिर क्यान्सर रोगले ग्रस्त रहेका बेला मसँगकोे भेटमा उनले भनेका थिए, “रेग्मीजी मेरो व्यथाबाट चिन्तित भएका केही साथीहरूले मेरो उपचारका निम्ति सरकारसँग आर्थिक सहयोग माग गर्नुपर्छ कि भनी कुरा राखेका छन्। कृपया यस्तो काम तपाईँहरूले नगर्नु होला। म आफ्नो लागि जनताको साझा धन मास्न चाहन्न। मेरो उपचारका निम्ति मेरै आफ्नै स्रोतहरू उपलब्ध छन्। तिनबाट काम लिन सक्छु। हालसालै मैले एउटा कृति प्रकाशनमा ल्याएको छु। बरु सक्नुहुन्छ भने त्यसैको विक्रिको व्यवस्था मिलाई रकम सङ्कलन गरिदिए पुग्छ।”

    यो भावना साच्चिनै प्रशंशनीय छ। उनको चाहना आफ्नै कमाइ र सम्पत्तिमा जिउने र उपचार गर्ने देखियो। हुन पनि व्यक्तिगत रूपमा आर्थिक सहयोग त केही पनि नभएका मानिसलाई गर्ने कुरा हो। हुनेलाई सहयोग नै किन गर्नुपर्छ र ? तर आज सत्तामा गएका कम्युनिष्ट नामधारी नेताहरूले सामान्य उपचारका निम्ति राष्ट्रिय सम्पत्तिको दोहन गरिरहेछन्। यहाँ स्वदेशमा हुने उपचारमा पनि विदेशका महँगा अस्पतालमा गएर लाखौँ करोडौँ रुपिया फुकिरहेछन्। सत्तामा जाँँदा पुराना काममा आउने गाडी नचढेर नयाँनयाँ खरिद गरेर सयर गर्ने गरेका छन्। संसदमा तिनको ध्याउन्न खाली आफ्नै भत्ता बढाउनमा केन्द्रित हुन्छ। कहीँ जाँदा राष्ट्रको धन उडाउँदै तामझामकासाथ अघिपछि आउरे बाउरे लगाएर राजामहाराजाहरूको शैलीमा यात्रा गर्ने गर्दछन्। यस विकृतजन्य अवस्थामा छवीजीको अभाव झन् बढी खड्किरहेको छ।

    छवीजीको बारेमा केही लेख्न अनुरोध गर्दा केही वामपन्थी नेता र बुद्धिजीवीहरूले उनी बडो ठाडठाडै कुरा गर्ने खरो मिजासका मान्छे थिए, खोइ त्यस्ताको बारेमा के लेख्ने भनी प्रतिक्रिया व्यक्त गरे। यो सुन्दा मलाई नरमाइलो लाग्यो। हो, उनलाई भित्री रूपमा नचिन्नेका अगाडि उनी खरो मिजासका व्यक्ति थिए। देखेका कुरा घुमाएर नभनी सोझै भनिदिने उनको शैलीका कारण उनी बाहिरफेर आलोचनाका पात्र बन्थे पनि। तर उनका आचरण र क्रियाकलापलाई नजिकबाट नियाल्नेका लागि उनी बेग्लै थिए। अन्तर्वस्तु फेला पार्न गहिराईमा डुबुल्की मार्नै पर्छ। सतही ज्ञानले छवीलाई बुझ्न नसक्ने सवाल यथार्थ हो।

    आजको वर्तमान राजनीतिले सच्चा जनताका सेवकमाथि अन्याय गरेको छ। यो देशमा बाहिर तामझाम गर्ने र प्रदर्शनको राजनीति गर्नेले भाउ पाएको छ। त्यस्ता व्यक्तिको भित्री जीवन जति दूषित भए पनि तिनका तारिफमा पुस्तक लेखिएका छन् र तिनका सालिक ठडिएका छन्। तर मैले देखिरहेछु जनताको पक्षमा नित्य कवितामा आगो ओकल्ने कवि युद्धप्रसाद मिश्र ओझेलमा पारिएका छन्। श्यामप्रसाद शर्मा जस्ता अग्रणी प्रगतिवादी साहित्यकारलाई सरकारले राष्ट्रिय सम्मान दिन कन्जुस्याइँ गरेको छ। छवी कमरेडको सम्बन्धमा उनले एकदेव आले प्रतिष्ठानलाई स्थापित गराउन ठूलो योगदान पुर्‍याएकै हुन्। तर आज त्यस प्रतिष्ठानका सञ्चालकहरूले समेत उनलाई विर्से जस्तो लागिरहेछ। यदि यो वास्तविकता हो भने हामी राम्रो संस्कार स्थापित गर्न गइरहेका छैनौँ। हामी बदलिन जरुरी छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रामराज रेग्मी

      रामराज रेग्मी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.