Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हाम्रा लाजमर्दा उखानटुक्का र चलन

महिला, दलित, गरीब, एकल नारी, अपाङ्ग, बुढाबुढी, बालबालिका तथा विविध कारणले पछाडि पारिएका समुदाय, जो सामाजिक, आर्थिक तथा प्राकृतिक कारणले कमजोर अवस्थामा पुग्न बाध्य छन्, उनीहरूको मनोविज्ञानलाई झनै कमजोर बनाउन उद्वेलित छन् हाम्रा संस्कारहरू ।

nepal_readers nepal_readers
फाल्गुन १८, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
  • रणेन्द्र बराली

महिला, दलित, गरीब, एकल नारी, अपाङ्ग, बुढाबुढी, बालबालिका तथा विविध कारणले पछाडि पारिएका समुदाय, जो सामाजिक, आर्थिक तथा प्राकृतिक कारणले कमजोर अवस्थामा पुग्न बाध्य छन्, उनीहरूको मनोविज्ञानलाई झनै कमजोर बनाउन उद्वेलित छन् हाम्रा संस्कारहरू । उन्नतिशील समाज र सम्वृद्ध राष्ट्र निर्माणका लागि सबै तहका जाति, वर्ग, लिङ्ग, क्षेत्र एवं विभिन्न कारणले कमजोर अवस्थामा रहेका मान्छेलाई क्षमताअनुसार ससम्मान अवसर प्रदान गरेर सक्षम बनाउनुपर्नेमा उल्टै हाम्रो समाजले अपमान गर्न सिकाएको छ । खिसीटिउरी गर्न सिकाएको छ । हीनताबोध र आत्मग्लानिको शिकार बनाएको छ ।

विभिन्न कथा, सिलोक, चुट्किला, उखान–टुक्का, थेगो, आदि बनाएर निर्माणको हुर्मत लिनमा आनन्दित हुन्छन् समाजका अगुवा भनिनेहरू । सुसंस्कार निर्माणका लागि यस्ता कुसंस्कारविरुद्ध पनि डटेर मुकाविला गर्नु आजको आवश्यकता हो । हाम्रो समाजको सांस्कृतिक धरातल, चेतनाको स्तर एवम् अन्धविश्वासको सीमा कति हदसम्म लाजमर्दो स्तरमा झरेको छ भन्ने कुरा प्रचलित केही प्रसंगले आफैँ बोलिरहेका छन् :

पानी नपर्दा

लामो समय खडेरी पर्यो भने इन्द्रले पानी वर्षाउन नचाहेको मानेर उनलाई उत्तेजित पारेपछि पानी पर्छ भन्दै महिलाहरूले सर्वांग नांगिएर मध्यरातमा हलो जोत्ने चलन हाम्रो समाजमा अहिलेसम्म व्याप्त छ । यस्तै लामो समय खडेरी परेको बेला ‘पानी देऊदेऊ, महादेव पानी देऊदेऊ’, भन्दै घर–घरमा स्याउलाले पानी छ्याप्दै हिँड्ने चलन पनि छ । अझै बाजा बजाएर भ्यागुता–भ्यागुतीको विवाह गरिदिएपछि पानी पर्छ भन्ने विश्वासका साथ विवाह गरिदिने चलनसमेत पाइन्छ । यस्ता कार्यहरूलाई समाजले प्रोत्साहन मात्र हैन, कतिपय गाविसले बजेटै छुट्याएर आर्थिक सहयोग दिने कामसमेत गरेका पाइन्छन् ।

के साँच्चै पानी नपर्नुको कारण इन्द्र बेखुस भएर वा उत्तेजित नभएर हो ? भ्यागुताको विवाह नभएर हो ? त्यसो हो भने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमानको लागि विज्ञान र प्रविधिको प्रयोग गर्नै परेन । पानी पर्नुको वैज्ञानिक कारण तीन कक्षाको पाठ्यपुस्तकमा पढाइन्छ भने, कतिपय क्याम्पसमा पढाउने प्राध्यापकसमेत इन्द्रको भर पर्छन् र पछि लाग्छन्, घरघरै पानी माग्दै स्याउला हल्लाउँदै हिँड्छन्, भ्यागुताको विवाहमा ताली बजाउँदै जन्ती जान्छन् । यस्ता कामको निम्ति कतिपय ठाउँमा राज्यको कोषबाट बजेट छुट्याइन्छ । योभन्दा लाजमर्दो काम के होला ?

पैताला पखालेको पानी खानु

अपरिचित योगीको, ब्राह्मणको, पतिको र ज्वाईंको पैताला पखालेको पानी सुरुप–सुरुप खाएर मुक्ति हुने कुरामा विश्वास गर्नु – हाम्रो संस्कृति र संस्कार भित्रको एक कुप्रथा हो यो।

ऋषी, योगी, पति, पुजारी, ब्राह्मण, ज्वाइँ जोसुकैको किन नहोस्, खुट्टा त मान्छेको खुट्टै हो नि । काँधमा खुट्टा राखेर हिँड्ने कोही हुँदैनन् । दुनियाँ चहार्ने खुट्टा पखालेको पानी ख्वाएर साधु आफूलाई विशिष्ट र अरुलाई कनिष्ठ ठहर्याएर विभाजनको रेखा कोर्न, अरुलाई दलन गर्न, आफ्नो काबुमा राख्न रचिएको यो निकृष्ट कुप्रथा हो । यो प्रचलन हाम्रो समाजमा अझै सहज रुपमा चलिरहेको छ । पैताला पखालेको पानी खान र ख्वाउन तँछाडमछाड गर्नेको कमी छैन यहाँ । अझै नै ठूला घरघरानाका टाठाबाठा भनिनेहरूका बीचमा यस्तो कुप्रथा बढी नै प्रचलनमा रहेको भेटिन्छ । मान्यवरको पैतला पखालेको पानी खाएर मुक्त हुने कुरा पनि घोर अन्धविश्वासभित्र पर्दछ ।

बाँझोपनको निकास

पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गर्ने क्रममा भैरवको मूर्तिसँग संसर्ग गरेपछि बाँझोपनको निकास भई सन्तान प्राप्ति हुन्छ भन्ने अन्धविश्वासका कारण त्यहाँ रहेको भैरव मूर्तिको शिरमा फूल चढाउने बहाना गर्दै निःसन्तान महिलाहरूले मूर्तिको लिङ्गमा आफ्नो यौनाङ्ग छुवाएर घर्षण गर्नु जस्तो निर्लज्ज अन्धविश्वास अरु के होला ? सन्तान प्राप्ति र सुख शान्तिका लागि भन्दै भारतको गयामा गएर नांगा बाबाले आफ्नो लिंगमा दलेर दिएको विभूति (खरानीको टीका) खोसाखोस गरेर शिरमा लगाउनु र त्यसबाट सन्तान प्राप्ती हुन्छ भन्ने विश्वास गर्नेहरू पनि हाम्रो समाजमा छन् । यो पनि कति ठूलो भ्रम हो सहजै अनुमान गर्न सकिन्छ ।

सन्तान कसरी प्राप्ति हुन्छ ? मानव समाजको श्रृष्टि कसरी हुन्छ ? भन्ने सम्बन्धमा विज्ञानले तथ्यसंगत विश्लेषण गरेको छ । जो मानिस आज विज्ञानका सिद्धान्त र सिपको प्रयोगबाट आविष्कार गरिएका वस्तुहरू मोवाइल, आइफोन, ल्यापटप, ट्याब्लेट आदिको प्रयोग गरेर र युट्युब, ट्वीटर चलाएर भरपुर आनन्द लिन्छन्, त्यस्तै गरी आधुनिक विमान चढी पच्चीस घण्टामा पूरै पृथ्वी चक्कर लगाएर जहाँकोतहीँ आइपुग्न सक्दछन्, त्यही मानिस सन्तान खोज्न कुनै जोगीको वा ढुङ्गाको लिङ्ग ढोग्न पुग्छन् । यो रुढीवादको पराकाष्ठा र अचेतन मानसिकताको उपज नै हो ।

कुनै जमानामा तिब्बतका दलाई लामाको दिसालाई बिष्टामृत मान्दै सेवन गरेपछि मुक्ति प्राप्त हुने विश्वासमा उनका अनुयायीहरूले तँछाडमछाड गरेर खानु, जताततै शिवको लिंग पार्वतीको योनीमा टाँसिएको ढुंङ्गाको आकार बनाएर राखिनु, त्यसमा चढाएको दूधलाई शिवपार्वती मिलनको पवित्र रस मानेर ग्रहण गर्नु तथा लिंगमा ढोग्नु सबै हद दर्जाका अन्धबिश्वास नै हुन् । दलाई लामाको विष्टा होस वा शिवपार्वतीको मिलन रसरूपी पदार्थ वा गाईको पिसाप (गहुँत) किन नहोस्, मलमूत्र भनेको मलमूत्रै हो । कुनै पनि धर्मको नाममा मानव विकार, अखाद्य, फोहरमैला खाद्यपदार्थ हुन सक्दैनन् । यो त मान्छेले मान्छेलाई कतिसम्म र कहिलेसम्म पटमूर्ख बनाउन सकिन्छ भनेर गरिएको एउटा परीक्षण मात्र हो । राजा रणबहादुर शाहले काठमाण्डौको त्रिपुरेश्वर मन्दिरको आफ्नो सालिकमा टाँसेको सुनको चरा ‘जबसम्म उडेर जाँदैन तबसम्म म मरेको हुन्न’ भनेर जनतालाई मूर्ख बनाए जस्तै हो यो ।

प्रकृतिजन्य पदार्थको पूजा

धर्ममा विश्वास गर्नेले नै पनि ढुंगाको मूर्ति, पीपलको वृक्ष, कुस, तुलसीजस्ता बनस्पतिलाई पुजिरहँदा यो बुझ्न जरुरी छ कि (प्रकृतिजन्य पदार्थ मानवहितका लागि) उपयोगी गुणलाई सापेक्षित महत्व दिएर ग्रहण गर्ने कुरा छुट्टै हो । धार्मिक ग्रन्थहरूले ती वस्तुको गुणलाई प्राकृतिक गुणको रूपमा स्थापित गर्नुभन्दा कुनै देवदेवीका काल्पनिक नामले पुकारेर प्रस्तुत गरेका छन् भन्ने कुरा बुझ्नु जरुरी छ । विष्णु पुराणलगायत अन्य धार्मिक ग्रन्थहरूमा लेखिएअनुसार जालन्धरकी पत्नी वृन्दालाई झुक्याएर विष्णुले सतित्व हरेपछि विष्णुलाई उनले श्राप दिएकी थिइन्– ‘तिमीलाई घाँस, झार, वृक्ष र पत्थर हुनु परोस्’ । त्यही श्रापका कारण विष्णु यी चार चीज हुनुपर्यो रे । एक असल महिलाको सतित्व लुट्ने बलात्कारीलाई दिएको श्रापको प्रतिफल विभिन्न रूपको पदार्थ वा वनस्पतिलाई त्यही विष्णुको प्रतीक मानेर पूजा गर्नु कसरी स्वाभाविक मान्न सकिन्छ ? के आज कुनै बलात्कारी पुरुषलाई बलात्कृत महिलाले न्यायको लागि दिएको मुद्दामा अदालतको फैसलाले बलात्कारी ठहर गरी सजाय खान ऊ बसेको जेललाई उसैको स्मारक, स्थल बनाउनुपर्दछ भन्ने प्रस्ताव राख्यो भने त्यस्तो प्रस्ताव कुनै महिलालाई स्वीकार्य होला ? स्वीकारियो र त्यही स्मारकमा फूल चढाएर ढोग्न लगाइयो भने न्याय खोज्नेलाई त्योभन्दा महाअन्याय के होला ?

ग्रहण लाग्दा

सूर्य वा चन्द्र ग्रहण लाग्दा सार्कीले सूर्य वा चन्द्रलाई कष्ट दिएको भनेर ‘छोड चमार’ भन्दै एउटा जाति वा समुदायलाई गाली गर्नुजस्ता परम्पराहरू विद्यमान छन् हाम्रो समाजमा । सूर्य, चन्द्र र पृथ्वी एउटै सरल रेखामा पुग्दा एउटा पिण्डको छायाँ अर्को पिण्डमा पर्दछ । त्यही छायाँ परेर छोपिएको भागलाई ग्रहण लागेको भनिन्छ । ग्रहका गतिका कारण ग्रहण लाग्ने हो भन्नेबारे विज्ञानले सप्रमाण सावित गरेको सयौँ वर्ष भइसकेको छ । आजको युगमा आएर पनि काल्पनिक कथाको आधारमा एक जातिसमुदायका श्रमजीवी मानिसहरूलाई आैँल्याएर ‘चन्द्र वा सूर्यलाई कष्ट किन दिइस् ?’ भन्दै गालीगलौज गर्नु, कुटपिटसम्मको ज्यादती गर्नु कति घृणित मानसिकताको उपज हो ?

भूकम्प रोक्न पूजा

अझै पनि ‘भूकम्प र पराकम्पन ल्याउने र रोक्ने कैलाशपति, पशुपति, अग्निदेव, वायुदेव, बारादेव हुन् अर्थात उनै महादेव हुन्’ भन्दै शिवको पूजा गर्ने चलन छ । भूकम्प आउनुको कारण दैत्य जागेर हो भन्दै परालका पुतला दहन गरेपछि दैत्य मरेको अभिनय गरिन्छ, त्यसपछि भूकम्प नआउने विश्वास गरिन्छ । कस्तो भ्रम छ समाजमा ?

२०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि आएका पराकम्पन रोक्न भन्दै नेपाल ज्योतिष परिषद जस्ता संस्थाहरूले ठूलो धनराशी खर्चेर शान्ति यज्ञ लगाएको घटना पनि यसै सन्दर्भमा उल्लेखनीय छ । यदि हिन्दू आराध्यदेवले भुँइचालो ल्याइदिएको हुन्थ्यो भने यी देवहरू नमान्ने वा नभएका देशमा त भूकम्प नजानु पर्ने नि ! सबैभन्दा बढी भूकम्प आउने इण्डोनेसिया, जापान, टर्की, मेक्सिको लगायतका मुलुकहरूमा त हाम्रा महादेव छैनन् । कसले ल्याइदियो होला त्यहाँ भुइँचालो? भूकम्प आउनु भनेका भूगर्भीय गतिको कारणले पैदा हुने अस्वभाविक हलचल हो । यो वैज्ञानिक तथ्य जान्दाजान्दै त्यसलाई रोक्न गरिने मिथ्या कर्ममा व्यक्ति, संस्था र राज्य समेतले अथाह खर्च गर्छ भने त्यस भ्रमलाई चिर्ने को?

भूगर्भ वैज्ञानिकहरूले पृथ्वीको भित्री भागलाई तीन भागमा बाँडेका छन् । केन्द्रभाग तथा सबैभन्दा भित्र अत्यन्त तापमानयुक्त तरल पदार्थ छ; त्यसमाथि बीचमा लेदो रुपी अत्यन्त तातो म्यान्टलको तह; त्यसमाथि पनि पृथ्वीको बाहिरी तहको रुपमा ठोस र कडा प्रकारको क्रष्टको तह । पृथ्वीको क्रष्ट तहमै जमिन र समुद्री पिँध रहेको छ । त्यही क्रष्ट भागमा मुख्य १५ वटा टेक्टोनिक प्लेटहरू छन् । यिनै प्लेटमाथि जमिन र समुद्री पिँध रहेका छन् । टेक्टोनिक प्लेटहरू चलायमान छन् । कुनै एक अर्कामा टकराइरहेछन् भने कुनै एक अर्काबाट टाढिँदै छन् । कुनैकुनै टेक्टोनिक प्लेटहरू एकअर्कामा छेउछेउबाट घिस्रिँदै विपरित दिशामा सरिरहेछन् । यसरी हुने टेक्टोनिक प्लेटहरूको चालको कारणले तिनीहरुबीचका सिमानाहरुमा पैदा हुने अत्यधिक दबावलाई थेग्न नसक्दा जमिनमुनि चट्टानमा धाँजाहरु फाट्ने र त्यही क्रममा उत्पन्न हुने तरङ्गले नै भूकम्प पैदा गर्ने हो । टेक्टोनिक प्लेटहरूको चालले पृथ्वीमा सुनामी आउने र ज्वालामुखी फाट्नेसम्मका हलचल पैदा हुन्छन् ।

जिब्रो छेदन

दसैँको नवमीको दिनमा जिब्रो छेदन गरेमा मुक्ति पाइन्छ भन्ने अन्धविश्वास छ हाम्रो समाजमा । २०७१ सालको दुर्गापूजाको दिन नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा ५० जनाले जिब्रो छेडे (अनलाइन खबर, २०७१, असोज १५ गते ।) जजसले जिब्रो छेदन गरे, के तिनले मुक्ति पाए ? त्यसबाट सुख, शान्ति, सम्बृद्धि केही भयो ? अहँ, बरु उनीहरूले कष्ट पाए, यातना भोगे, उपचारमा पैसा खर्च भयो, बेकारको क्षति भयो ।

छोराछोरीलाई दलितको नाम

जन्मेका छोराछोरी बाँचेनन् भने अछुत वा बिटुलो मानेर कालले लैजाँदैन भन्दै सार्की, कामी, दमै, गाइने, पोडे, मेत्तर, बादी आदि नामाकरण गर्ने चलन जो छ, त्यो पनि अन्धविश्वासको हद हो । के सार्की, दमाई, कामी, पोडे आदि कथित निम्न जातका बच्चाहरू अजम्बरी हुन्छन् ? दलित समुदायका बालकहरू स्वयम् मर्दछन् भने शुद्र प्रतीक नक्कली नाम राखेर कालको नजर पर्दैन भन्ने कस्तो भ्रम बोकेको छ हाम्रो समाजले ?

अपमानको शृङ्खला

घरबाट निस्कँदा दलित देखिएमा साइत बिग्रियो भनेर थुक्ने, गालीगलौज तथा हातपातसम्म गर्ने चलन पनि समाजमा अझै चालु छ । यो चलन अर्को अति अपमानजन्य चलन हो । जसले बनाएको जुत्ता पाउमा छ, जसले निर्माण गरेको औजारले उब्जाएको अन्न पेटमा छ, जसले सिलाएको कपडा ज्यानमा छ, जसले बनाएको गहना शीरमा छ, साँच्चै साइत मान्ने भए ती सिर्जनशील श्रमजीविलाई देख्दा शुभ साइत पो हुनुपर्ने हो । उल्टो, साइत बिग्रने रे ?! कस्तो उल्टो संस्कार ? “ढोल, गवार, पशु, शुद्र, नारी, यी हुन् सबै ताडनका अधिकारी ।” यो भनाइ तुलसीकृत रामायणको भनाइ हो । “उखु, तिल, शुद्र, त्रीपान, चन्दन, दही, सुवर्ण र पृथ्वी यी वस्तुलाई जति मर्दन गर्न (पीडा दिन, सताउन) सकियो, उति गुणवान हुन्छन् ।” यो भनाइ चाणक्य नीतिमा छ (पृ. ५४) ।

जात, वर्ण र वर्गरूपी विभेद रचेर एकै घर–घरानाका मानिसले मानिसलाई धार्मिक नियम नै बनाएर पशुलाई जसरी पिट्ने, बाजालाई जसरी ठोक्ने, उखुसरी पेल्ने, तिलसरी पिस्ने, पानसरी चपाउने, चन्दनसरी घोट्ने, दहिसरी मथ्ने आदि प्रचलन बनाएर प्रताडित गरे । फलस्वररूप एकै घरकी महिला, एकै समाजका दलित तथा श्रमिक वर्गलाई लगातार यातना र प्रताडना भोग्न वाध्य पारियो । यो धर्म र संस्कृतिले सिर्जना गरेको अन्धविश्वासको ज्वलन्त पक्ष हो । ती उत्पीडित समुदाय के अझै पनि यसलाई स्वीकारेर अचानो बनिरहने त ? यदि त्यो सह्य छैन भने अथवा त्यस्ता ताडना र बञ्चनाबाट बच्ने हो भने अब सधैँ अचानो बन्ने र बनाउने होइन । बरु अचानोलाई खुकुरीको बिँड बनाउनु जरुरी छ । बलियो बिँड भएको खुकुरी बनेर अन्धविश्वास र परंपराका आडमा टिकेका कुसंस्कारलाई चिर्नु ।

जसले धनको खातिर पढ्छ र शुद्रको अन्न (भान्सा) खान्छ, ऊ विनाकामको विषहीन सर्प समान हुन्छ (उही, पृ. ५३) । पढेर धन नकमाउने कुन चाहिँ पण्डित भए ? नारी, शुद्र र श्रमजीवी वर्गले अन्न नउब्जाए कसले उब्जाएको अन्न खान्छन् ? यो सब श्रमजीवी मनिसलाई घृणा, दमन, र सदाकाल शोषण गर्न सामन्ती समाजले रचेको प्रपञ्च हो भन्ने भेद आफै खुलेन र ? ब्राह्मणको बल विद्यामा, राजाको बल सेनामा, वैश्यको बल धेरै भएजस्तै शुद्रको बल द्विजाति (माथिल्ला वर्णका जाति)को सेवामा हुन्छ । (उही, पृ. १२) यदि माथिल्ला भनिने जातिको सेवा गरेर शुद्र बलिया हुनेभए पुस्तौँपुस्ता सेवामा लीन दलितहरू आजसम्म को बलिया भए ? कसले के पाए ? उही बहिष्कार, उही तिरस्कार होइन ? उनैका उदाहरण भन्नुपर्दा के चन्दन जति घोट्यो उति ठूलो हुन्छ ?

केही प्रचलित उखान टुक्का

आफ्ना जुँगामा ताउ लगाउने, उत्पीडित समुदायलाई होच्याउने केही प्रचलित उखान टुक्का यस्ता छन् :

‘फरियाको नाता’ : के नारी नभै नाता हुन्छ ?

‘गाइनेको घोडा’ : के दलितले घोडा चढ्न नहुने ?

‘धोबीको कुकुर जसरी पछिलाग्ने’ : के अरुको कुकुर मालिकको पछि हिँड्दैन ?

‘पौउनीको बोली’ : के यो समाजका गैरपौउनी भनिनेहरू सबै वचनका पक्का छन् ? त्यसो भए यो देशका नेता, मन्त्री तथा शासक सबैले कति वाचा पूरा गरेका छन् ?

‘पाए अन्त, कहीँ नपाए कामीको जन्त’ : जोसुकैको किन नहोस् विवाहको दिन भनेको महत्व दिनुपर्ने एउटा अवसर हो । यो अवसर समेतमा दलितले अपमान खेप्नु पर्ने किन ?

‘मरेपछि डुमै राजा’ : दलित समुदायको मानिस समाजको प्रमुख हुनु भनेको के समाज खत्तम हुनु हो ? कुनै गैरदलित मान्छे बाँचिरहँदा अर्को जातिको मान्छे राजा रहेर समाज असल भैरहेकोमा ऊ आफू मर्दा भने दलित जातिको मान्छे राजा भएर समाज पतीत बन्छ भने बनोस् भन्ने आसयका साथ यो उखान बनाइएको छ । के प्रमुख हुने, राजा हुने, राष्ट्रप्रमुख हुने जिम्मेवारी कुनै खास एक जाति र धर्मका मानिसको मात्र ठेकेदारी हो ?

‘जाँड खाएको कामीजस्तो’ : के अरुले खाएको जाँडले चाहिँ पेटमा पुगेपछि दहीको काम गर्छ ?

‘काले कामी र कामी काले भन्नु एउटै कुरा हो’ : के एउटा सज्जनले यस्ता कुरा वकिरहँदा कसैको जातीय स्वाभिमानमा चोट पर्ला भनेर सोचेका हुन्छन् ? भाषाको बनौट नै तयार गर्ने हो भने ‘काले बाहुन र बाहुन काले भन्नु एउटै कुरा हो’ अथवा ‘काले क्षेत्री र क्षेत्री काले भन्नु एउटै कुरा हो’ भन्न पनि सकिन्थ्यो नि ?

‘६ रूपियाँकी क्षेत्रिनी, सय पैसाकी सार्किनी, दुई पैसाकी दमिनी, विनाकामकी कमिनी’ : के नारीलाई यसरी नगद मूल्यमा नाप्न मिल्छ ? त्यसमाथि पनि जातीय आधारमा होची अर्घेली गर्न मिल्छ ?

‘अर्ति लिनु बूढाको, आगो ताप्नु मुढाको’ : पुरुषकेन्द्रित हाम्रो समाजमा श्रेष्ठकामको भागीदार पुरुषलाई नै बढी बनाइन्छ । मातृसत्तात्मक समाजको युगदेखि शासन चलाउने र आजसम्म घर चलाउने आमा वा हजुरआमा, नाम आउने चाहिँ बाउको वा हजुरबाउको ! भनिन्छ । मान्छेको ‘पहिलो कुल घर, पहिलो गुरु आमा’: आमा र हजुरआमाको नाम किन नआउने ? ‘अर्ति लिने बुढीको, बार लाउने सिउँढीको’ भने पनि हुन्थ्यो होला । बरु नारीलाई त नकारात्मक उखानमा उभ्याइन्छ ।

‘आफैं बोक्सी, आफै सुँडिनी’ : अस्पतालको सुविधा नभएको अवस्थामा आफ्नो अनुभवको आधारले सेवा गरेर ज्यानै बचाउनेसम्मको काममा समर्पित हुँदासमेत अब्जसको पुन्तरो झुण्ड्याइन्छ महिलाको स्वाभिमानमा ।त्यसमाथि महिलालाई हुँदै नभएको बोक्सीको बिल्ला पनि छँदैछ।

‘हेलाकी बुहारी पाहुनासित सुत’ : यस्ता उखान टुक्काले नारीको अस्मितामा कति ठूलो प्रहार गरेको छ ? त्यस्तै हो भने ‘मेरो छोरीलाई हेला गर्ने ज्वाइँ कुकुर्नीसित सुत’ भन्दिए पनि हुन्थ्यो होला । त्यस्तो उखान चाहिँ नबन्ने ।

गाउँखाने कथामासमेत नारीलाई नकारात्मक जोकमा उभ्याइएको छ ।

जस्तै ‘काली बुढी ठाडठाडै मुत्छे, ठाडी बुढी छलछली मुत्छे’ = (कोल) (नेपाली उखान र गाउँखाने कथा, पृ. २२२)

यस्ता कतिपय स्थानमा पुरुषलाई राखे पनि के फरक पर्थ्यो र ? महिलाकै हुर्मत लिनुपर्ने किन ? पुरुषलाई भने सकारात्मक उखानमा उभ्याइन्छ ।

‘आयुको छोरालाई बायुले खाँदैन, आँटी छोरालाई बाघले लाँदैन’ (उही, पृ.६२/६८)

रुढिगत सामन्ती संस्कारले भरिएको मानसिकताबाट वर्गभेद, लिङ्गभेद, जातिभेद पलायो भन्दैमा के रोगले, बाघले पनि त्यस्तै विभेद सिकेका होलान् ?

‘चुरा पोते उपहार’ : कसैले कसैलाई नामर्द वा लाछी सावित गर्न पर्दा चुरापोते उपहार पठाएर व्यङ्ग्य साँध्ने चलन राजनीतिक वृत्तमा समेत छ । के नारी साँच्चिकै कमजोर हुन्छन् त ? त्यसो भए पौराणिक कालका बाघ चढेर लडाइँ लड्ने दुर्गा, युद्धा‚ त्रिसूलधारी चण्डी, आधुनिककालका संसारको सर्वशक्तिमान् मानिएका अंग्रेज कम्पनी सरकारको सेनाप्रमुख स्टिर गार्डनलाई ढालेर युद्ध लड्दै राष्ट्ररक्षाको इतिहास कायम गर्ने भारतकी देशभक्त लक्ष्मी बाई, विश्वप्रसिद्ध नोबेल पुरस्कारले दुईपटक सम्मानित हुने पोलेण्डकी महिला वैज्ञानिक म्याडम क्युरी, अमेरिकाको युनिभर्सिटीसमेतमा पाठ्यपुस्तक बन्ने कृति रचयिता नेपालकी साहित्यिक धरोहर मदन पुरस्कार विजेता पारिजात, हररर आकाशमा जहाज उडाउने नेपालकी प्रथम महिला विमान चालक रक्षा राणा, सगरमाथाको चुचुरो चुम्ने नेपालकी प्रथम महिला आरोही पासाङ ल्हामु सेर्पा, सशस्त्र शाही सेनासँग घरेलु हतियार लिएर लड्दै बन्दुक र बम कब्जा गरी जनमुक्ति सेनालाई बुझाउने कालिकोटका दलित महिलाजस्ता विरङ्गनालाई बिर्सेर उनका श्रृङ्गारलाई कमजोरीको प्रतीक बनाउन मिल्छ ? (विश्वप्रशिद्ध ३५ महिला : पृ. २६,३६,११३)

यस्ता उखानटुक्का वा कथनहरू जोडेर श्रमजीवि जनता, महिला, दलितलाई होच्याउने, आक्षेपित गर्ने, उपेक्षित गर्ने समाजमा व्याप्त प्रचलन छ । आजकाल नै पनि यी बोली कतिपय सभ्य, शिक्षित भन्नेहरूबाट समेत जानेर वा झुक्किएर प्रसंगवश फुत्किन्छ । उनीहरूलाई यसले सम्बन्धित समुदायको मुटुमा बाण लाग्छ भन्ने हेक्कै हुँदैन । गरिब उत्पीडित समुदायका मानिस संगठित हुन र समानताको हक खोज्न लागे भने वा शोषक वर्गविरुद्ध विद्रोह गर्न लागे भने तिनलाई दबाउन र मनोबल खस्काउन यस्नता उखान बनाइए :

‘आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो’

‘सुँगुरले ‚वर्ग देख्न सक्तैन’

‘कस्ता–कस्ता कहाँ गए मुसाका छोरा दरबार’

‘पाँच औँला पनि बराबर हुन्नन्, जातमा बराबरी हुन्छु भनेर हुन्छ ?’

‘लेखेको मात्रै पाइन्छ, देखेको पाइन्न’

‘कुहिनाले हानेर पहरो भत्कन्न’

(दर्शन र दृष्टिकोण : पृ. ७१/७२)-इमूल्यांकन

nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

nepal_readers
जेष्ठ ५, २०८३

कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

तीर्थ कोइराला
साउन ४, २०८२

विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

रामबहादुर भण्डारी 'आर. बी'
पुस १, २०८१

संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

घुस नखाने पार्टी समाजवादको सर्त

घुस नखाने पार्टी समाजवादको सर्त

घनश्याम भूसाल
साउन ८, २०८१

डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

जेकोब ड्रेयर
असार २७, २०८१

१६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

रामराज रेग्मी
असार १२, २०८१

यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.