Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

रामराज रेग्मी रामराज रेग्मी
असार १२, २०८१
- विचार, विमर्शका लागि, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको ज्यान गयो, केही घाइते भए र केही बन्धक बनाइए। त्यस घटनाबाट एक थरी नेपाली जनमानसमा प्यालेष्टाइनीहरूप्रति नकारात्मक धारणा उत्पन्न भएको छ। हमासमाथि आतङ्कारीको बिल्ला लगाउँदै बिरोधका आवाजहरू घन्किएका छन्। वास्तविकता नबुझी कतिपय वामपन्थीहरू समेत हाँमाहाँ मिलाउन पुगेकाछन्। अवश्य नै जनताहरू बसोबास गरेका क्षेत्रमा क्षेप्यास्त्र प्रहार राम्रो घटना होइन। त्यसमा नेपाली पर्नु झन दुःखको कुरा हो। तर इजरायलप्–यालेष्टाइनबीच छेडिने युद्धको अन्तरकथा के हो ? इजरायलले के कस्तो भूमिका खेलिरहेछ र प्यालेष्टाइनी जनताको हालत के कस्तो छ ? मध्यपूर्व युद्धको समाधान के हो ? के इजरायलमा क्षेप्यास्त्र प्रहार गर्ने प्यालेष्टाइनी समुह हमास आतङ्कवादी नै हो त ? यिनै प्रश्नहरूको उत्तर खोज्नु नै यस लेखको उद्देश्य हो।

    संसारका जातिहरूमध्येमा यहुदी एक चर्चित जाति हो। इजरायलमा यहुदीहरूको देश स्थापति हुनुभन्दा पहिले तिनीहरू युरोप र अरबका विभिन्न मुलुकमा छरिएर बसेका थिए र ती देशहरूमा अल्पसङ्ख्यक जातिमा पर्दथे। तर तिनीहरू चलाक र निकै मिहेनती थिए। कतिपय नाम चलेका विद्वान्हरूमा यहुदी नै भएको पाइन्छ। कार्ल माक्र्सको जन्म यहुदी परिवारमै भएको थियो। प्रशिद्ध वैज्ञानिक आइनस्टाइन यहुदी जातिकै हुन्। तर युरोपमा अन्य जाति विशेषगरी क्रिश्चियनहरूले तिनीहरूलाई घृणाको दृष्टिले हेर्ने मात्र होइन, अनेक निहूँ खोजेर सताउने गर्दथे। त्यसको मूल कारण के थियो भने तिनीहरूका पुर्खाले इशाइका धर्मगुरु क्राइष्टलाई सूलीमा चढाएर मारेका थिए।

    युरोपका विभिन्न देशका बहुसङ्ख्यक क्रिश्चियनहरूले अल्पसङ्ख्यक यहुदीहरूलाई सताउन थालेपछि तिनीहरू प्यालेष्टाइनमा आउन थाले। यो क्रम बीसौँ शताब्दीको सुरुदेखि नै सुरु हुन थाल्यो। त्यहाँ आउनुको आधार के थियो भने यहुदीहरूको धर्म ग्रन्थअनुसार तिनीहरूका पहिला वंशज अब्राहमका सन्ततिलाई ईश्वरले प्यालेष्टाइनको जेरुसलेम क्षेत्र दिने बचन दिएकाले आपत परेको समयमा ईश्वरले तिनीहरूको उक्त अभिलाषा पुरा गरिदिन्छन् भन्ने विश्वास थियो। ईश्वरको यही वचनलाई आत्मसात गरी विभिन्न देशहरूबाट थालिएको यहुदीहरूको आप्रवासन अभियानले प्यालेष्टाइनमा तिनीहरूको सङ्ख्यामा बृद्धि हुँदै गयो।

    जुन बेला जेरुसलेम क्षेत्रमा यहुदीहरू आउने क्रमको थालनी भयो, त्यतिखेर प्यालेष्टाइन अटोमन (तुर्की) साम्राज्यको अधीनको एउटा जिल्ला थियो र त्यो प्यालेष्टाइनी मुसलमानहरूको भूगोल थियो। त्यस ठाउँमा तिनीहरू फलामे युगदेखि नै बसोबास गर्दै आएका थिए। जेरुसलेमलाई अन्य मुसलमानहरू पनि मक्का मदिनापछिको तेस्रो तीर्थस्थल ‘हरम–इस–सरिफ’ मान्दछन्। साथै क्राइष्ट जन्मिएको र उनलाई सूली चढाइएको स्थानका कारण क्रिश्चियनहरू त्यसलाई आफ्नो पवित्र स्थल मान्दछन्।

    पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको पराजय भएपछि प्यालेष्टाइनी क्षेत्र युद्धको विजेता शक्ति बेलायती साम्राज्यको नियन्त्रणमा आयो। सन् १९१७ मा बेलायती प्रधामन्त्री आर्थर बाल्फोरले प्यालेष्टाइनमा रहेको यहुदी बसोबास क्षेत्रमा यहुदी राज्य बनाउन दिने घोषणा गरिदिए। त्यस घोषणाले तिनीहरूलाई टेवा मिल्यो र यहुदी धार्मिक नीति नियमका आधारमा देश बनाउने महत्वाकांक्षा जागृत भयो। दोस्रो विश्वयुद्धका अवधिमा हिटलरले यहुदीमाथि नरसंहारको दुस्चक्र चलाएपछि, बाँकि रहेका यहुदीहरू पनि सुरक्षाका लागि प्यालेष्टाइनमा थपिँदा पुर्खौँदेखि बसोबास गर्दै आएका प्यालेष्टाइनीसँग बसोबासको सवाललाई लिएर तनाव सृजना भयो।

    विवादको सवाल संयुक्त राष्ट्रसङ्मा पुग्दा त्यसको महासभाले प्यालेष्टाइन र यहुदीका निम्ति छुट्टाछुट्टै राज्य बनाउने निर्णय गर्‍यो। त्यसले विभाजित भूगोलको नक्सा तयार गर्दै गोलनहाइटबाट वेष्ट बैङ्क र गाजा क्षेत्रको ४८ प्रतिशत भूभाग प्यालेष्टाइनका निम्ति र यहुदीहरू बसेको ४४ प्रतिशत भूभाग इजरालका निम्ति छुट्यायो र धार्मिक विवादको थलो जेरुसलेम वरपरको ८ प्रतिशत क्षेत्रलाई अन्तराष्ट्रियकरण गर्‍यो। यहुदीहरूका निम्ति छुटयाइएको इजरायल झण्डै २० हजार किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो उत्तरमा लेबनान, पूर्वमा सिरिया र जोर्डन, दक्षिण पश्चिममा मिश्र र दक्षिण पूर्वभूमध्यसागरको कुनोसँग जोडिएको छ।

    संयुक्त राष्ट्रसङ्घको निर्णयपछि बेलायतले सन् १९४८ को १४ मईमा प्यालेष्टाइनमाथिको दावी छाड्नेवित्तिकै त्यसै दिन यहुदी एजेन्सीका अध्यक्ष डेभिड बेन–गुरिअनले मध्यपूर्वमा धार्मिक यहुदी राज्य इजरायल स्थापित भएको घोषणा गरे। पहिलेदेखि बसोबास गर्दै आएका यहुदीका साथै नयाँ आप्रवासी यहुदीहरू पनि चाहेमा त्यहाँ आई बसोबास गर्न पाउने भए। प्यालेष्टाइनमा बसोबास गर्ने मुसलमानले मात्र होइन, जोर्डन, इजिप्ट, सिरिया लगायतका मुश्लिम देशहरूले उक्त नयाँ धार्मिक राज्यको घोषणाप्रति विरोध जनाए। तिनीहरूले इजरायलमाथि चारैतिरबाट आक्रमण समेत गरे। झण्डै दश महिना लामो युद्ध मच्चियो। एक त इजरायलका निम्ति उक्त युद्ध अस्तित्व रक्षाको युद्ध थियो र सम्पूर्ण यहुदीहरू ज्यूज्यान दिएर लडे, दोस्रो, अमेरिकी साम्राज्यवादले टेवा दिएका कारण इजरायलको तागतमा बृद्धि भयो। युद्धमा अरब देशहरू पराजित हुँदै पछि हटे र उल्टै प्यालेष्टाइनीका लागि छुट्याएको भूभागको झण्डै ६० प्रतिशत भूभाग पनि इजरायलले कब्जा गर्‍यो। प्यालेष्टाइनीहरू आफ्नै भूमिबाट निर्वासित भई अरबका विभिन्न छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भए।

    युद्धमा इजरायलको जीत भए पनि मुश्लिम देशहरूले त्यसको अस्तित्व नस्वीकार्नाका कारण मध्यपूर्व कहिल्यै समाधान नहुने युद्धको भूमरीमा परेको छ। अरब देशहरूसँगको इजरायलको युद्ध सन १९६७ मा पनि भयो। ५ दिन सम्म चलेको उक्त युद्धमा पनि इजरायलकै जीत भयो र त्यसले ती देशका सीमान्त भूभागहरूमा समेत कब्जा जमायो। सन् १९६७ को युद्धपछि त इजरायलले झन् गोलन हाइट, इजिप्टको सिनाई प्रायद्वीप, गाजा पट्टिको ठूलो हिस्सा, पूर्व जेरुसलेम र वेष्ट बैङ्कका क्षेत्रमा कब्जा जमायो। संयुक्त राष्ट्रसङ्घले अन्तराष्ट्रिय क्षेत्र भनी राखेको जेरुसलेमक्षेत्रलाई समेत त्यसले छोडेन।

    इजरायल सानो देश हो र त्यस्को जनसङख्या झण्डै ९४ लाख छ। अरब देशहरू विशाल आकारका छन् र तिनीहरूको जनसङ्ख्या विशाल छ। तर सानो भएर पनि इजरायल शक्तिशाली बनेको छ। हुन त इजरायली सरकारले प्रत्येक नागरिकलाई सैन्य तालिम अनिवार्य गराउनुका साथै देशले माग गरेको अवस्थामा नागरिकहरूले सैन्य सेवा उपलब्ध गराउनु पर्ने नियम लागु गरेको छ। त्यसले सुरक्षाका लागि देशलाई बङ्करमय बनाएको पनि छ। तर पनि सानो जनसङ्ख्याले विशाल अरब देशको आक्रमणलाई थेग्न सक्दैनथ्यो। त्यसकारण इजरायल बलवान् हुनुमा साम्राज्यवादी शक्तिको आड भरोसा नै प्रमुख कारण हो। अमेरिकाले इजरायललाई अत्याधुनिक हातहतियार उपलब्ध गराइरहेछ।

    अरब देशहरू विशाल भएर पनि किन कमजोर भए ? किनभने, एक त तिनीहरूले युद्धहरू आफ्नै देशको रक्षाका लागि लडेका थिएनन्। तिनीहरू प्यालेष्टाइनीको हकअधिकारका लागि पनि लडेका थिएनन्। तिनीहरू इजरायलले धार्मिक राज्य खडा गरेको विपक्षमा थिए र जेरुसलेम क्षेत्र केवल मुश्लिमको तीर्थस्थल भएकाले त्यसको अन्तर्राष्ट्रियकरण हुनुहुँदैन भन्ने तिनीहरूको भनाइ थियो। तिनीहरूको शक्ति पनि विकेन्द्रित थियो। सिया र सुन्नी गुटमा बाँडिएका कारण तिनीहरूमा दरिलो एकताको अभाव थियो। सन् १९४८ मा जुनबेला प्यालेष्टाइनी जनताको समर्थनमा इजरायलविरुद्ध अरब देशहरूले जेहाद छेडेका थिए, त्यतिखेर इरानमा रेजा पहल्वीको राजतन्त्रात्मक शासन पद्धति थियो। इरानको जनसङ्ख्या सुन्निहरूको भएकाले इरानले युद्धमा सहभागिता नजनाएको मात्र होइन, इजरायललाई मान्यता दिने राष्ट्रमा अमेरिकापछिको दोस्रो राष्ट्र बनेको थियो।

    आफ्नो भूमिबाट विस्थापित भएका प्यालेष्टाइनीहरू आज लामो समयदेखि शरणार्थी जीवन बिताइहेछन्। तिनीहरू १९४८ र १९६७ का दुवै युद्धका अवधिमा आफ्नो बासस्थानबाट विस्थापित भएका थिए। यो विस्थापन युद्धका कारणले मात्र नभएर तिनीहरूलाई धपाउने यहुदीवादको योजनाअनुसार नै भएको बुझिन्छ। जुन बेला इजरायल राज्यको घोषणा भयो, त्यतिखेर यहुदी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घसमक्ष यदि संविधानको पालना गर्दछन् र शान्तिपूर्ण तवरले बस्दछन् भने अरबहरूलाई पनि इजरायलमा बस्न दिइनेछ भनी बाचा गरेका थिए। तर इजरायली सत्ताधारीहरू व्यवहारमा अरब नागरिक र प्यालेष्टाइनीहरूप्रति असहिष्णु बनेका छन्। इजरायलको सीमाभित्र पुखौँदेखि बसोबास गर्दै आएका प्यालेष्टाइनीहरू जो युद्धताक समेत शरणार्थी नभईकन इजरायलमै बसिरहेका छन्, तिनीहरू समेत नागरिकताबाट बञ्चित छन्।

    इजरायलबाट धपाइएका प्यालेष्टाइनीहरू अहिले गाजापट्टि, वेष्ट बैङक र छिमेकी मुलुकहरू जोर्डन, लेवनान, कुवेत र सिरियाका शरणार्थी शिविरहरूमा बसेका छन्। कतिपय अरब देशले तिनीहरूलाई केही सहुलियत प्रदान गरे पनि गाजा पट्टि, वेष्ट बैङ्क र लेवनानमा बस्नेहरूको अवस्था निकै नाजुक छ। कति वर्षसम्म त तिनीहरू पालमा गुजारा गर्न बाध्य भए। आजभोलि अन्तर्राष्ट्रिय सहयोगमा कङ्क्रिटका आवास बनाइए पनि पानी, बिजुली र चर्पीको उचित व्यवस्थापन नभएका कारण दयनीय हालतमा दिन बिताइरहेका छन्। तिनीहरूले सन्तुलित आहारा, सफा पिउने पानी, उचित ओखती उपचार आदि केही पाउन सकेका छैनन्। तिनीहरूका केटाकेटी पढ्नेलेख्ने अधिकारबाट बन्चित छन्। गाजापट्टिमा रहेका शरणार्थी इजरायल फर्कन चाहन्छन्, तर इजरायलले ती फर्किएमा एक छत्र यहुदी राजमा आघात पर्छ भनी आउन दिदैन।

    मध्यपूर्वको समस्या उत्पन्न गराउने एउटा कारण यूरोपेलीहरूको धर्म र जातिका आधारमा गरिने भेदभावजन्य व्यवहार हो। बर्बर साँढेको रूपमा उदाएको तानाशाह हिटलरको नाजीवादी नीतीले दोस्रो विश्व युद्धका अवधिमा ६० लाख यहुदीमाथि नरसंहार मच्चाएर परिस्थितिलाई अरू चर्कायो। यदि यहुदीहरूलाई विभिन्न देशमा जात र धर्मका कारण नसताइएको भए अथवा जर्मनीमा तिनीहरूको आमहत्या नगरिएको भए, यहुदीहरू जहाँ थिए, त्यहाँ नै रमाएर बस्दथे। तिनीहरूलाई आफ्नो छुट्टै देश बनाउने खाँचो पर्दैनथ्यो र प्यालेष्टाइन र इजरायलबीच द्वन्द्व सृजना हुने वातावरण उत्पन्न हुने थिएन।

    मध्यपूर्व समस्याको दोस्रो कारण यहुदीवाद हो। धर्मकै कारण सताइएका यहुदीहरू धार्मिक राज्य खडा गर्नतर्फ नलागी धार्मिक विभेदको अन्त्यको अभियानमा लाग्नुपर्दथ्यो। धर्मकै कारण विभेदमा पर्नेले अरूमाथि धर्म र जातियताको डण्डा प्रहार गर्न हुँदैनथ्यो। तर तिनीहरूले आफ्ना दुःख पीडा भुल्दै धार्मिक राज्यकै महत्वाकांक्षा बोके। प्राचीन समयमा प्यालेष्टाइनमा तिनीहरूका पुर्खाको बसोबास थियो होला। निश्चय नै प्राचीन आप्रवासनका चरणमा मानिसहरूको जीवन पद्धति फिरन्ते थियो। खाना र आश्रयको खोजीमा तिनीहरू एक ठाउँबाट अर्को ठाउँ चहार्ने गर्दथे। त्यही क्रममा प्यालेष्टाइनमा यहुदीहरूका पुर्खा कुनै समयमा बसेका होलान्। तर बसेका भए पनि राज्य भएको आधार कहीँ कतै भेटिँदैन।

    समस्या चर्काउने तेस्रो कारण बेलायती साम्राज्यवाद हो। बेलायती साम्राज्यले यहुदी आप्रवासनलाई सुगम मात्र बनाएन, आफ्नो साम्राज्यअन्तर्गतको क्षेत्रमा धार्मिक राज्य खडा गर्नका लागि अनुमती दिने घोषणा गर्‍यो। अन्य जातिहरू बसोबास गरेको क्षेत्रमा धर्मको आडमा राज्य बनाउन दिने सवाल सभ्य मानव समाजका लागि उपयुक्त होइन। तर शक्तिशाली हुनेहरूले सामाजिक मर्यादा मिचेकाले नै समस्याहरू उत्पन्न भएका छन्। यो इतिहासमा गरिएको एक अक्ष्यम्य अपराध हो। मध्यपूर्व विवादको जननी बेलायत नै हो।

    प्यालेष्टाइन र इजरायलबीचको समस्यालाई पछिल्लो समयमा बल्झाएर जटील बनाएने चौँथो कारण अमेरिकी साम्राज्यवाद हो। बेलायती साम्राज्यको पतन भएपछि, त्यसको स्थान अमेरिकाले लिएर इजरायललाई धाप मार्ने काम गरिरहेछ। साम्राज्यवादीहरूले विश्वका जनतालाई एक आपसमा जुधाएर आफ्ना अभिष्ट चाहनाहरू पुरा गर्ने गरेका कारण आज विभिन्न देश र तिनका जनताहरूबीच अन्तर्विरोधहरू चर्किरहेका छन्।

    दोषको भागी संयुक्त राष्ट्रसङ्घ पनि हो। मध्यपूर्वको समस्या चर्काउनमा पाचौँ कारणमा यसलाई लिइन्छ। राष्ट्रसङ्घको स्थापना एक देशलाई अर्को देशमा हस्तक्षेप गर्नबाट रोक्ने, देशहरूबीच उत्पन्न कलह सुल्झाइ शान्ति कायम गराउने, अकाल, भोकमरी, प्राकृतिक विपत्ति आदिमा परेका देशलाई राहत उपलब्ध गराउने जस्ता मानव हितका कार्य हुन्। तर राष्ट्रसङ्घमा पनि साम्राज्यवादी शक्तिको हैकम हुनाले त्यसले उद्देश्यअनुसारका कार्यहरू गर्न नसकेको मात्र होइन, कतिपय अवस्थामा विवादलाई झन् बढी तन्काउने काम गरेको छ। इतिहासको लामो समयसम्म अविछिन्न रूपमा एउटा निश्चित जाति बसोबास गर्दै आएको थलोमा दुईटा देशको निर्माण गर्दा हुने अस्थिरता धान्न कठिन हुन्छ भन्ने कुरा त्यस संस्थाले बुझ्न पर्ने थियो। तर उक्त संस्था शक्ति राष्ट्रहरूका अत्याचारलाई बैधानिकता दिने मन्च बन्यो।

    आफ्नै पुख्र्यौली थलोबाट विस्थापित गरिएका प्यालेष्टाइनीहरू आज अस्तित्वको लडाइँ लडिरहेछन्। यस सङ्घर्षको नेतृत्व लामो समयसम्म ‘अल फताह’ नामको राजनीतिक पार्टीले गर्दै आयो। यो राष्ट्रिय चरित्रको समाजवादी पार्टी थियो र धार्मिक कट्टरतालाई अँगालेको थिएन। यसको नेतृत्व यासेर अराफतले गरेका थिए। उनी निकै चर्चित लोकप्रिय नेता थिए। उनको पार्टीले ‘प्यालेष्टाइनी मुक्ति संगठन’ (Palestine Liberation Organition-PLO) नामको अद्र्धसैनिक लडाकू दस्ता तयार गरी अरबका विभिन्न भूभागहरूबाट इजरायलविरुद्ध सशस्त्र सङ्घर्ष जारी राख्यो। पहिला त जोर्डानमा रहेर यसले सङ्घर्ष सञ्चालन गरेको थियो। पछि त्यहाँको सरकारसँग खटपट भएपछि लेबनानलाई आफ्नो आधार बनायो। सन् १९८३ देखि १९९३ सम्म यासेर अराफतले ट्यूनिसियामा पार्टीको मुख्यालय स्थापना गरी सशस्त्र सङ्घर्षलाई जारी राख्दै संयुक्त राष्ट्रसङ्घ र विभिन्न शान्ति संस्थाका माध्यमबाट इजरायलसँगको वार्तालाई अघि बढाए। त्यही क्रममा संयुक्त राष्ट्रसङघको महासभामा उनले “हामी एउटा हातमा शान्तिको प्रस्ताव र अर्को हातमा बन्दुक लिएर उभिएका छौँ” भनी सारगर्भित तथा जोशिलो भाषण दिएका थिए।

    वास्तवमा अराफत एक व्यवहारिक नेता थिए। जीवनको पछिल्लो अवधिमा उनले इजरायलसँग जीवनमरणको युद्ध गर्नु प्रत्युत्पादक हो भन्ने कुरा बुझे। हुनपनि वर्तमान परिस्थितिमा इजरायलको अस्तित्व नामेट पार्ने कार्य असम्भव नै छ। त्यसको स्थापना गलत बाटोबाट भएको भए पनि यहुदी मूलका सामान्य जनतालाई प्रतिशोधका कारण विस्थापित गरी घर न घाटको बनाउनु उचित हुँदैन। अराफतले दुई देशको प्रस्ताव अघि सार्दै इजरायलसँगको वार्तालाई जुन अघि बढाए, त्यो उनको विवेकपूर्ण कदम नै थियो।

    युद्धको पछिल्लो अवधिमा अराफतले गाजापट्टिलाई आधार बनाए र त्यहाँबाट वार्ताको थालनी गरे। केही वर्षका वार्ताहरूपछि सन् १९९३ मा ओस्लोमा दुई युद्धरत पक्षहरूबीच शान्ति संझौता भयोे। त्यस संझौतामा प्यालेष्टाइनले इजरायललाई देशको मान्यता दिने, प्यालेष्टाइनी मुक्ति संङ्गठनलाई इजरायलले प्यालेष्टाइनी जनताको प्रतिनिधि मान्ने र प्यालेष्टाइनी सरकारले वेष्ट बैङ्क र गाजा पट्टिमा लोकतान्त्रिक सरकार चलाउने संझौता भयो।  शान्तिवार्तापछि अराफत ‘प्यालेष्टाइनी राष्ट्रिय सरकार’ (Palestian National Authority) का प्रमुख भए। संयुक्त राष्ट्रसङ्घले उनको सरकारलाई मान्यता दियो। तर इजरायल शान्तिवार्ताप्रति इमान्दार भएन। दुई देशको स्वतन्त्र अस्तित्व कायम गर्नका लागि इजरायलले सन् १९६७ मा आफूले कब्जा गरेको भूभागबाट हट्नु पर्दथ्यो। तर त्यहाँ आधिपत्य जमाइराख्यो। त्यसमाथि इजरायलका कट्टरपन्थी यहुदीहरूले प्यालेष्टाइनसँग शान्तिावार्ताको विरोध गरे र शान्तिवार्ता गर्ने प्रधानमन्त्री रविनको सार्वजनिक रूपमा हत्या गरे। त्यसपछि इजरायलको तर्फबाट शान्तिका निम्ति अघि बढ्ने अरू कोही भएनन्। यता मुश्लिम कट्टरपन्थी धार्मिक सङ्गठन हमासले पनि शान्तिवार्तालाई स्वीकार गरेन र सरकारमा सहभागिता जनाएन। तर प्यालेष्टाइनी जनतामाझ यस संगठनको प्रभाव कमजोर भएकाले हमासको बिरोध खासै कामयावी हुन सकेन।

    यतिखेर हमासले आफूलाई प्यालेष्टाइनी जनताको मनोभावनाअनुसार बदल्दै केही उदार दृष्टिकोण अपनाएकोे छ। शान्ति वार्तालाई इजरायलले इमान्दारीपूर्वक पालन नगर्दा प्यालेष्टाइनीहरूमाझ अराफतको दल अल फताहप्रति अविश्वास पैदा हुँदै गएको परिस्थितिको फाइदा यसले लिएको छ। प्यालेष्टाइनी राष्ट्रिय सरकारमा भाग लिनु उपयुक्त ठानी अराफतको निधनपछि सन् २००६ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा भाग लिएर यसले बिजय पनि प्राप्त गर्‍यो। तर अल फताहले परिणामलाई अस्वीकार गरिदिँदा दुई समुहबीच तनाव भयो र प्यालेष्टाइनी सत्ता दुई पक्षमा विभाजित भयो। इजरायलसँग एक भएर जुध्नुपर्ने प्यालेष्टाइनीहरू यसरी विभाजित हुनु राम्रो होइन। यस विभाजनमा पनि साम्राज्यवादी शक्तिकै अप्रत्यक्ष हात रहेको देखिन्छ। यतिखेर हमासले गाजा पट्टिमा आधिपत्य जमाएको छ भने फताहले वेष्ट बैङ्कमा आफ्नो शासन सन्चालन गरिरहेछ।

    वर्तमान सन्दर्भमा गाजापट्टिमा हमासले सत्ता सञ्चालन गरेको मात्र छैन कि इजरायली अतिक्रमणविरुद्धको सङ्घर्षलाई जारी राखेको छ। हमासलाई उग्रपन्थी समुहको आरोप लगाएपनि त्यसले प्यालेष्टाइनीको हकअधिकारका निम्ति उठाएका माग उचित छन्। शान्तिवार्ताअनुसार प्यालेष्टाइनका अतिक्रमित भूभागबाट हटेर इजरायलले राष्ट्रङ्घले निर्धारण गरेका सीमालाई मान्यता दिनु पर्दथ्यो। त्यो नगर्दा हमासको आवाज सही ठहरिएको छ र शान्तिवार्ता अस्वीकार गर्ने उसको अडान सही सावित हुन गएको छ। अहिले प्यालेष्टाइनी सङ्घर्षको नेतृत्व गर्नेमा पनि हमास नै अग्रमोर्चामा देखिएको छ र प्यालेष्टाइनीहरूबीच त्यसको लोकप्रियता बढेर गएको छ। निश्चय नै यो सङ्गठन विगतमा उग्रजातिवादी सङ्गठन थियो र यसको लक्ष्य यहुदीवादलाई विस्थापित गरी इश्लाम राज्य स्थापना गर्ने थियो। तर पछिल्लो अवधिमा यसले आफ्ना नीतिमा परिवर्तन गर्दै दुई देशको अस्तित्व स्वीकार्ने विन्दुमा आइपुगेको देखिन्छ।

    आज संसारका लुटेराहरूले हमासलाई आतङ्कवादी सावित गर्ने प्रयत्न गरेका छन्। इजरायलले हमासलेभन्दा गाजापट्टिमा झन चर्को नरसंहार गर्दै विध्वंश मच्चाइरहेको कुरालाई भने तिनीहरूले सिरकले ढाक्ने गरेका छन्। वास्तवमा भन्ने हो भने इजरायलका सामुन्ने हमासका हतियार त्यति शक्तिशाली छैनन्। त्यसलाई साथ दिनेमा इरान देखिएको छ, जवकि इजरायली दादागिरीलाई अमेरिका र त्यसको खेमाका मुलुकहरू बेलायत, फ्रान्स र जर्मनीले साथ दिएका छन्। हमासले गरेको एक प्रहारका विरुद्ध इजरायले धेरै प्रहारहरू गरिरहेको अवस्था छ।

    मध्यपूर्वमा प्यालेष्टाइनी समस्याको गाँठो फुस्कँदै जानुको साटो झन् कस्सिँदै गएको छ। यसको जड कारण साम्राज्यवादी स्वार्थ हो। अमेरिकाको वर्तमान उद्योग हतियार उत्पादन हो। युद्ध नभएमा हतियार विक्रि नहुने भएकाले त्यसले विश्वमा कलहको बीउ रोपी आफ्नो कलुषित व्यापारलाई बढावा दिइरहेछ। त्यसकारण अमेरिकी साम्राज्यवादको अन्त्य नभएसम्म प्यालेष्टाइनी जनताले शान्तिको शास फेर्न पाउने छैनन्। माक्र्सवादले प्रत्येक समस्यालाई वर्ग अन्तर्विरोध र वर्ग सङ्घर्षका दृष्टिले हेर्दछ। आफ्नो देशबाट विस्थापित भएर गरीबी र अभावको जीवन बाँचिरहेका प्यालेष्टाइनीहरूले आततायीमाथि प्रहार गर्नु र आफ्नो अस्तित्वको युद्धमा सरिक हुनुमा तिनीहरूको दोष छैन। इजरायलमाथि खनिएको भरमा तिनीहरूलाई आतङ्कवादी बिल्ला भिराउनु सरासर अन्याय हो। आतङ्वादी त बरु अमेरिकी साम्राज्यवादी र यहुदीवादी लुटेरा हुन् जस्ले जनतालाई चैनसाथ बाँच्न दिएका छैनन्। संसारका प्रत्येक उत्पीडित जनताले प्यालेष्टाइनी लडाकुहरूकोे सङ्घर्षलाई दरिलो साथ दिनु आवश्यक छ। तर साथै के बुझ्नु आवश्यक छ भने हमासले लिएको नीतिबाट मध्यपूर्वमा वर्गीय समस्या समाधान हुँदैन। उठाउनु पर्ने सवाल प्यालेष्टाइनी राष्ट्रिय स्वार्थको मात्र होइन, उत्पीडित प्यालेष्टाइनी मजदुर किसान र निम्न वर्गीय जनताको शोषण दमनबाट मुक्तिको सवाल पनि हो। यो कार्य केवल समाजवादी ध्येय बोक्ने सर्वहारा पार्टीको अभ्युदयबाट मात्र संभव छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रामराज रेग्मी

      रामराज रेग्मी

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.