Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जचौरी कुलो : कर्णाली सभ्यताको महत्वपूर्ण धरोहर

बिहारी कृष्ण श्रेष्ठ बिहारी कृष्ण श्रेष्ठ
भदौ २०, २०७६
- कृषि, यो हप्ता, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बिहारी कृष्ण श्रेष्ठ । वि.सं. २०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आयोजनामा र त्यति बेला सो प्रतिष्ठानका सह–प्राज्ञ रहनु भएका शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको वरद् नेतृत्वमा कर्णाली अञ्चल जुम्ला जिल्लाको हाट्सिंजा गाउँमा बहुआयामिक समाज वैज्ञानिक अन्वेषणका लागि खटिएको टोलीमा मानवशास्त्रीय अध्ययनको अभिभारा लिएर त्यस टोलीमा सम्मिलित हुने सु–अवसर मलाई प्राप्त भएको थियो । सो सिलसिलामा हाम्रो टोलीको अध्ययनको मुकामका रूपमा छानिएको स्थान जुम्ला जिल्लाको हाट्सिंजा गाउँमा मैले त्यहाँ अवस्थित विभिन्न जातका एक्काइस घरधुरीको एउटा समूहलाई केन्द्रित गरी त्यस समुदायको र त्यस वरिपरिका क्षेत्रहरूको झण्डै ३ महिना लामो मानवशास्त्रीय अध्ययन गरेको थिएँ।

    त्यतिबेला म तत्कालीन श्री ५ को सरकारमा गृह पञ्चायत मन्त्रालयमा स्थानीय विकाससम्बन्धी काम हेर्ने एउटा शाखा अधिकृत थिएँ । सोभन्दा पहिले वि.सं. २०२० देखि २०२२ सालसम्म तत्कालीन कास्की जिल्ला पञ्चायतको सचिवका रूपमा पनि काम गरिसकेको थिएँ भने सोभन्दा पहिले एउटा अमेरिकी मानवशास्त्रका प्राध्यापकसँग स्याङ्जा जिल्ला र बाग्लुङ जिल्लाको दुर्गम क्षेत्रमा झण्डै एक वर्ष लामो मनावशास्त्रीय अध्ययनमा सङ्लग्न भएको अनुभव थियो तर ती अनुभवका बावजुद जुम्ला जिल्लामा हवाईजहाजबाट पदार्पण गरेदेखि नै मलाई नेपालको एउटा सर्वथा भिन्दै सामाजिक आर्थिक सांस्कृतिक परिवेशमा प्रवेश गरेको अनुभव भएको थियो –त्यो थियो कर्णाली सभ्यता।

    इस्ट प्रथा

    अहिले पनि दुर्गममा नै गनिने कर्णाली क्षेत्र त्यतिवेला वास्तवमै एकदम दुर्गम थियो । जुम्लासम्म हवाई सुविधा भइसकेको भए तापनि कर्णाली क्षेत्रका सबैजसो जनताको लागि पैदल यात्रा नै एक मात्र उपाय थियो । जुम्लाबाट सबभन्दा नजिकको बजार भनेको तराइमा बाँके जिल्लाको नेपालगञ्ज बजार थियो जहाँ पुग्नका लागि सामान्यतया ११ दिन लाग्थ्यो र भारीसहित फर्किन १४ दिन लाग्थ्यो । जिल्लाको सदरमुकाम खलङ्गा बजारमा जहाजबाट ल्याएर सामान बेच्ने एकाध पसलबाहेक बजार भनेकै थिएन । सबैजसो लोग्ने मानिस हिउँदमा “हाट” जाने भनी तराइ झर्थे । हाटबाट धेरैले आफूलाई चाहिने सीमित लुगाफाटा आदि ल्याउँथे भने केही व्यापारीले मुगु, हुम्ला तिर समेत गई व्यापार गर्न मुख्य गरेर केही कपडा खरिद गरेर ल्याउँथे तर त्यो कठोर वातावरणमा जीवनयापन सम्भव तुल्याउन स्थानीय रूपले विनिमय गर्न आवश्यक थियो र त्यसको निम्ति त्यो क्षेत्रमा इष्ट प्रथाको व्यापक जालो नै थियो।

    यस प्रथा अन्तर्गत आत्मीयताको विभिन्न गहिराइयुक्त धार्मिक वाचा र पवित्रतामा आधारित विभिन्न किसिमको मितेरी सम्बन्धहरूको एउटा विशाल जालो नै विद्यमान थियो । मीत, सँगी, भनाभनको सँगी, आदि। यी सम्बन्धको विशेषता के थियो भने, त्यतिवेलाको कर्णालीमा जातभातको ठूलो विभेद भएता पनि, यो इस्ट सम्बन्ध यो जातजातिको घेरा नाघेर विभिन्न ठूला र साना जातका व्यक्तिहरूबीच पनि कायम थियो । यो सञ्जालको मुख्य काम भनेको यो इष्ट सम्बन्धमा सङ्लग्न परिवारहरूको बीच सहयोग आदानप्रदान हुन्थ्यो । जस्तो कि बोइतान गाउँका इस्टले हाट्सिंजा ज्युला (धान खेत भएको ठाउँ) का इस्ट छेउ हलो जोत्न काममा आउने काठका सियोको मुठ्था उपहार स्वरूप ल्याउथे भने ज्युलाको त्यो इस्टले बोटामा नपाइने धान उपहार स्वरूप दिन्थे।

    यसै अनुरूप केही घरबाट टाढा काम परेर बासै बस्नु पर्ने गरेर जानु पर्‍यो भने बास बस्ने त्यहाँको आफ्नो इस्ट कहाँ नै हो । त्यति बेला खान बस्नको सम्पूर्ण व्यवस्था सोही इस्टले गर्दछ तर कालान्तरमा त्यो इस्ट को आफ्नो ठाउँतिर आउने काम पर्दा त्यो आतिथ्य फर्काउने अवसर आउँछ । त्यसो गर्दा पहिले आफूले जस्तो किसिमको आथित्य प्राप्त गरेको थियो, ठीक त्यही तरिकाले सो आगन्तुक इस्टलाई पनि आथित्य प्रदान गर्नु परम्परादेखि चली आएको बाध्यता नै हो । यो सन्तुलित सम्बन्ध एउटा उखानका रूपमा त्यहाँको जनबोलीमा रहिआएको थियो । त्यो हो इस्टले दिएको ‘दही सिन्काले नापेर खानु’ किनभने सो इस्ट आफू कहाँ आउँदा पनि दही त्यत्तिकै परिणाममा पस्केर आथित्य प्रदान गर्दा मात्र यो सन्तुलन कायम भई रहन्थ्यो । सामान्यतः बजारको काम पैसाको लेनदेनबाट आपसमा विनिमय सम्भव तुल्याउनु हो भने त्यति बेलाको पसल र बजारविहीन।

    जचौरी कुलो र यसको महत्व

    कर्णालीमा यो इस्ट सम्बन्धको विशाल जालोले सो विनिमय सम्भव तुल्याएर कर्णाली जस्तो कठोर प्राकृतिक परिवेशमा जीवनयापन सम्भव तुल्याइ दिएको छ । उपरोक्त इस्ट सम्बन्ध त कर्णालीको जीवन प्रथालाई सम्भव तुल्याउने विशाल संस्थागत व्यवस्थाको एउटा सानो पक्ष मात्र हो । कर्णालीको सम्पूर्ण जीवन नै यसै प्रकारको व्यापक संस्थागत सम्बन्धहरूको विशाल जालोको अभिव्यक्ति हो । अर्को शब्दमा भन्दा कर्णालीको गरिबीको बावजुद कर्णालीको जीवनशैली भन्नु नै यस प्रकारको संस्थागत सम्बन्धको समष्टिगत रूप हो।

    त्यसैले यसलाई आफैमा विशिष्ट सभ्यताका रूपमा लिइएको छ । जचौरी कुलो र यसले समस्त नेपाललाई दिएको योगदान कर्णाली सभ्यतालाई अभिव्यक्ति दिने यो वृहत् संस्थागत व्यवस्थाबाट मुलुकले धेरै कुरा सिक्न सकिने र बाँकी नै भए पनि यहाँको धान खेतीको निम्ति गरिएको सिँचाई व्यवस्थाको उपमाबाट सम्पूर्ण नेपालनै ऐतिहासिक रूपले नै लाभान्वित भएको छ । कुरा हो जुम्ला जिल्लाको हाल कनकासुन्दरी गाउँपालिकाअन्तर्गत पर्ने हाट्सिँजा गाउँको जचौरी कुलो नामक सिँचाइ व्यवस्थाको हो । माथि उल्लेख गरिएझैँ २०२७ सालको जेठ महिनातिर उक्त हाट्सिँजा गाउँको ज्युला फाँटमा जौँ काटी सकेर धान रोप्नका निम्ति त्यहाँ पहिलेदेखि नै भइरहेको कुलो, जसको नाम जचौरी कुलो थियो । त्यो कुलो सुरुमा त्यहाँ जचौरी बाडो (टोल) निवासी ठकुरीहरूले बनाएको र उनीहरूको स्वमित्व रहेकाले त्यसको नाम जचौरी कुलो रहन गएको हो। एक दिन बिहानै सबै खेत धनी घरहरूबाट एक–एक जना पुरुष मान्छे गाउँको माझमा जम्मा भई अन्दाजी दुई किलोमिटर टाढा नदी तिर लगे। झिस्मिसे साँझ पर्दासम्ममा त्यहाँ भइरहेको कुलो अगि अगि पानी र पछि पछि ती बिहान हिँडेका गाउँलेहरू थिए । त्यतिबेला म मानवशास्त्रीय शोधकर्ता भए तापनि म श्री ५ को सरकारको स्थानीय विकाससम्बन्धी संस्था गृह पञ्चायत मन्त्रालयको शाखा अधिकृत थिएँ। त्यसैले मलाई मनमा लाग्यो कि कही कतै सो कुलो मेरै मन्त्रालयको अनुदानबाट बनेको त हैन ? त्यसैले मैले सोधिन, कहिले बनाउनु भएको ? त्यसको प्रतिउत्तरमा जवाफ आयो, मल्लेरू राजाका पालामा बनेको हो तर त्यहाँ कसैलाई पनि मल्लेरू शासन कहिले थियो थाहा थिएन । तब म त्यहाँको सबभन्दा जेष्ठ ७५ वर्षको ठालु कहाँ गएर सोध्दा पनि त्यही मल्लेरू राजाको कुरा आयो। केही न केही तिथिमिति तय गर्ने उद्देश्यले मैले अनायासमा उहाँसित सोधेँ ‘तपाईं १० वर्ष जतिको हुँदा त्यो कुलो थियो, त्यसको प्रतिउत्तरमा उहाँले केही झर्केर, म होइन, मेरो बाजे १० वर्षको छँदा नै यो कुलो थियो’ भन्नासाथ मेरो हिसाबमा त्यो कुलो कम्तीमा पनि २०० वर्ष पुरानो थियो । म छक्क परे, किनभने, त्यतिबेला मेरो मन्त्रालयको अनुदानमा बन्ने कुलाहरू मन्त्रीले उद्घाटन गर्न पाएको हुँदैन, बिग्रिन थालिहाल्ने हुन्थे । तर यो जचौरी कुलो न सरकारी अनुदान, न इञ्जिनियरिङ न ओभरसियर, तर सयौँ वर्ष निर्वाध र प्रभावकारी रूपले चलिरहेको थियो।

    जचौरी कुलोको व्यवस्थापन र संचालन

    सरकारी कर्मचारीको रूपमा मैले त्यति बेलासम्म भोगेको निराशाजनक व्यावसायिक अनुभवभन्दा नितान्त फरक यो कुलोको गहिरो अध्ययन गर्न मन लाग्यो र अर्को झण्डै २ हप्ता जति त्यसमा लागें। सो अध्ययनबाट थाहा भयो कि त्यो कुलोको नियमित सञ्चालनको निम्ति एउटा छुट्टै संस्थागत व्यवस्था गरिएको रहेछ। कुलाको पानी गाउँमा प्रवेश गरिसकेपछि त्यसको जिम्मा त्यो वर्ष सो कुलोको दैनिक व्यवस्थापन गर्न गठित एउटा समितिमा जाँदो रहेछ जसलाई स्थानीय जनताले कुम्थी भन्दा रहेछन् र यसको सदस्यलाई कुम्थेल। कुम्थेलको छनौट जग्गाधनी सबै मिलेर छान्ने प्रचलन रहेछ। कुम्थेल बन्न तीनवटा योग्यता आवश्यक रहेछः ती व्यक्ति गरीब हुनु पर्ने, जसले गर्दा सो कुलामा काम गरेबापत धान काटेपछि एक मुरी माटो खेतको एक काठे पाथीका दरले प्रत्येक जग्गा धनीबाट प्राप्त हुने ज्याला त्यो कुम्थेलको निम्ति उल्लेख्य आम्दानी हुने भएकाले पानी वितरणको काममा दत्तचित्त भएर लगोस् । दोस्रो र तेस्रो योग्यता भनेको, ती कुम्थेलहरू शरीरिक रूपले बलियो र पानी वितरणमा कसैको मुलाहिजामा नलागी निष्पक्ष रूपले काम गर्न सक्ने मानिसको रूपमा देखिएको हुनुपर्ने रहेछ। हुन पनि, सो दुई हप्ताको दौरानमा एक दिन एकजना स्थानीय ठालुले आफ्नो पालोभन्दा दुई दिन पहिले नै मध्य रातमा सो कुलोबाट पानी चोरेर आफ्नो खेत सिँचाइ गरेको फेला पर्‍यो। सो व्यक्ति ठालु नै भए तापनि सो कुम्थेलले उसलाई लगेर स्थानीय गाउँलेको भेलामा पेश गर्‍यो। उसलाई केही खासै सजाय नभए पनि उसलाई सो भेलाले धेरै बेर केरकार गर्‍यो र ठालु नै भए तापनि उसले त्यो अपमान सहनु परेको थियो। ती कुम्थेलहरूलाई सबै गाउँलेको रोपाइँको दिन थाहा थियो र सो रोपाइँको दुई दिन अघि सो खेत सिँचाइ गर्न पानी उपलब्ध गराइन्थ्यो । धनी वा गरीब, ठुलो जात वा सानो जात, सबै स्थानीय खेत धनीहरूप्रति प्रत्यक्ष रूपले जवाफदेही भएको सो जचौरी कुलोको व्यवस्थापन विधिले गर्दा नै यो कुलो सयौं वर्षदेखि निर्वाध रूपले चल्न सकेको थियो।

    जचौरी कुलोको प्रतिलिपी नै उपभोक्ता समिति

    जचौरी कुलोको व्यवस्थापनको नमुना उपभोक्ता समिति अर्थात् उपभोक्ता समूहका रूपमा सरकारी नीति क्षेत्रमा प्रवेश गराएको हाटसिँजाको मेरो उपरोक्त अध्ययनको केही वर्षपछि वि.सं. २०३२ सालमा उप–सचिवको पदमा पदोन्नति भएँ । त्यतिबेला विश्व बैंकको सहयोगमा रसुवा र नुवाकोट जिल्लामा सञ्चालित एउटा बृहत् ग्रामीण विकास परियोजनाको जिम्मेवारी प्राप्त गरेँ तर त्यतीबेलाका स्थानीय नेता, पञ्च र सरकारी कर्मचारी पनि अहिलेका दलीय नेता र कर्मचारीजस्तै भ्रष्ट थिए । त्यसैले उक्त पारियोजनाको लगानी गाउँलेसम्म पुग्न सकेको थिएन । एक पटक वि.सं. २०३३ सालको सुरूमा म नुवाकोट जिल्लाको भ्रमणमा रहँदा त्यस नैराश्यताकै बीच मलाई जचौंरी कुलोको सम्झना आयो र मैले प्रभावकारी ग्रामीण विकासका लागि हुनुपर्ने विकेन्द्रीकरणको मनमनैमा परिभाषित गरेको थिएँ । त्यो थियोः जुन जनता जुन विकास प्रयासबाट प्रभावित हुने हो, त्यो विकास प्रयास माथिको सम्पूर्ण अधिकार त्यही नै जनताको हातमा हुनु पर्दछ । एउटा विकासको विद्यार्थीको हैसियतले मेरो लागि जचौंरी कुलोको सबभन्दा महत्वपूर्ण सिकाइ थियो त्यो।

    त्यति बेलासम्ममा मेरो हाट्सिँजाकै अध्ययनले गर्दा मैले राजदरबारमा प्रवेश पाएर राजा वीरेन्द्रको निकट रहेर झण्डै तीन वर्ष काम गर्ने अवसर पाएको हुनाले मलाई आफ्नै जिम्मेवारीमा निर्णय लिने भरोसा झन बढेको थियो । त्यसैले नुवाकोटबाट काठमाडौं फर्के लगत्तै जचौंरी कुलोकै संगठनको अनुसरण गरेर उपयोगकर्ताको समूह र त्यसको कार्यकारिणी स्वरूप, उपयोगकर्ताको समितिको व्यवस्था गरी नयाँ नीति तर्जुमा गरी सो अनुसार गर्न ती जिल्लाका तत्कालीन स्थानीय निकाय, जिल्ला पञ्चायतलाई निर्देशन दिएको थिएँ । जिल्लामा त्यो नौलो व्यवस्था राम्रै मानिएको थियो । पछि गएर स्थानीय जनताको सशक्तिकरण गर्ने उपायको रूपमा जचौंरी कुलोबाट निश्चित उक्त संगठनात्मक स्वरूपलाई पछ्याउँदै गरे । कालान्तरमा केही वर्षपछि जचौंरी कुलोको अनुभवबाट प्राप्त शिक्षालाई आधार मानेर वि.सं.२०३९ सालमा तर्जुमा गरिएको विकेन्द्रीकरण ऐनमा उपभोक्ता समूह र उपभोक्ता समितिको व्यवस्था मुलुकभरि गरी कानुनी वाध्यताको रूपमा लागू भएको थियो । नेपाललाई व्यापक फाइदा र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको इज्जत राख्न यस्ता योजना आवश्यक थिए, तर पञ्चायत व्यवस्थाको त्यस समयमा गाउँघरमा ठालुहरूको ठुलो बिगबिगी हुनाले ती ठालु नै पञ्च बन्थे । त्यसले गर्दा गाउँ पञ्चायतहरूमा उपभोक्ता समूहहरू बने पनि जचौरी कुलोजस्तो प्रभावकारी भएको थिएन । वि.सं. २०४६ सालमा बहुदलिय व्यवस्था फर्के पनि त्यो स्थितिमा कुनै परिवर्तन हुन सकेन । त्यति बेलाका ठालु पञ्चको ठाउँमा आज स्थानीय सरकार, प्रदेश सरकार र पार्टीका नेता छन् । त्यसकारण अहिले पनि उपभोक्ता समूह र उपभोक्ता समिति ठालु वा पार्टी नेताको खटनमा चल्ने मूलतः कागजी समूह वा समिति मात्र बन्ने गरेको छ।

    नेपाली जनता जचौरी कुलोप्रति अनुग्रहीत रहनु आवश्यक

    पञ्चायत व्यवस्थामै उपरोक्त विकेन्द्रीकरण ऐनको व्यवस्थाका आधारमा वि.सं. २०४४ सालमा नेपालको बन नियमावलीमा संसोधन गरी वन उपभोक्ता समूह र बन उपभोक्ता समिति तथा स्वास्थ्यका क्षेत्रमा आमा समूह र त्यसअन्तर्गत महिला स्वास्थ्य स्वयम्सेविकाको व्यवस्था गरिएको थियो । त्यसको फलस्वरूप आज मुलुकमा १९ हजार वन उपभोक्ता समूह र ५२ हजार आमा समूहहरू कार्यरत छन् । वन उपभोक्ता समूहका कारण हामीले वि.सं. २०१३ सालमा बन राष्ट्रियकरण भएदेखि विनाश गर्दै मरुभूमिकरण हुन लागेको मुलुकमा झण्डै एकै दशकभित्र मुलुक भर हाम्रो जङ्गलको हैसियत फर्काइ सकेका थियौं । वनका क्षेत्रमा यो हाम्रो सफलता संसारभर प्रसिद्ध छ । त्यसै गरी स्वास्थ्यका क्षेत्रमा पनि आमा समूह र तीनका महिला स्वयम्सेविकाका कारण घर घरमा प्राथमिक स्वास्थ्य सेवा पुगेर संयुक्त राष्ट्र संघको सन् २०१५ को सहस्राब्दी विकास लक्ष्यहरूमा बाल स्वास्थ्य र मातृ मृत्यु दर घटाउनेसम्बन्धी यी दुई लक्ष्यमा नेपालले संसारको विकासोन्मुख मुलुक सबैलाई नै उछिनेको थियो । आमा र शिशुको स्वास्थ्यका क्षेत्रमा नेपालले हासिल गरेको यो उपलब्धि पनि संसारभरि नै प्रसिद्ध छ। अन्ततोगत्वा मेरा यी सफलता पछिका मूलमन्त्र प्रदायक कर्णालीको जुम्ला जिल्लाको हाट्सिँजा गाउँको जचौरी कुलो नै हो। सदाका लागि सम्पूर्ण नेपाली जनता यो उपलब्धिका लागि कर्णाली सभ्यताप्रति अनुग्रहीत रहनु आवश्यक छ ।

    यो लेख रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क “मान्नमी” बाट साभार गरिएको हो ।

    यो पनि –

    कर्णालीको सिञ्जा सभ्यताको अध्ययनः जीवनकै महत्वपूर्ण क्षण 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बिहारी कृष्ण श्रेष्ठ

      बिहारी कृष्ण श्रेष्ठ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.