Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मैले चिनेका प्रदिप गिरी

उनको विचार मूलतः मार्क्सवाद प्रेरित समाजवादमा आधारित थियो। उनी मार्क्सवादी दर्शन बुझेका र जीवन दृष्टिमा मार्क्सवादसँग तादात्म्य राख्दै हिँडेका तर कहिल्यै मार्क्सवादी नभएका व्यक्ति लाग्थे। युवा उमेरमैं उनले लेनिन र लोहियाबारे लेखेका निबन्धहरु पढ्दा उनमा सुदूर समयका लागि साम्यवादप्रति विश्वास र आकर्षण थियो जस्तो देखिन्छ।

झलक सुवेदी झलक सुवेदी
भदौ ९, २०८०
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पहिल्यै भन्नु उपयुक्त होला म प्रदिप गिरीका विषयमा लेख्ने सामर्थ्य राख्दिनँ, न संगतले न त अध्ययनले। तर, मलाई उनका सम्मानमा केही नलेख्नु उनीप्रति सम्मान नगरेको ठहर्ला र लेखक हुनुको धर्म विपरित होला भन्ने लागिरहेको थियो। गतवर्ष देखि यो प्रयास पनि गर्दै थिएँ। तर म आफूलाई उनका विषयमा लेख्न अपूर्ण हुँ भन्ने संकोचले लखेटिरहेको थियो। अहिले यता आदरणीय प्रदिप गिरीको अस्तु विसर्जनको विषयलाई लिएर परिवार र अनुयायीका बिच विवाद र बहस जारी छ। उनको मृत्युको वार्षिकीमा अनेक कार्यक्रमहरु आयोजना भए। विभिन्न माध्यमबाट उनलाई सम्झने र श्रद्धा व्यक्त गर्ने काम भए। यसै मेसोमा म उनीप्रति श्रद्धा व्यक्त गर्ने उद्देश्यले लेख्ने जमर्कोमा छु।

    क्यान्सरले शिथिल बनाएर र चुँड्नु अघिसम्म हामी धेरैका दाई प्रिय प्रदिप गिरी नेपाली समाजलाई खासगरी युवाहरुलाई भविष्य देखाउने एउटा दियालो जस्ता थिए। र, सबैभन्दा चिन्ताको विषय यो छ कि उनको बौद्धिक उचाइको क्षतिपूर्ति गर्ने चिन्तक समकालिन राजनीतिमा दुर्लभ छन, न हाम्रा प्राज्ञहरुले नै उनको अभाव पूर्ति गर्न सक्छन्। एकप्रकारको शुन्यता र अभाव यो वर्षभरी खट्किरहेको छ। झन् हालसालै हाम्रो राजनीतिका खेलाडीहरुले संसद, सरकार र संविधानलाई जसरी अश्लिल ढंगले गिजोलेका छन्, त्यस्तो बेला हाम्रो भविष्य सकिएको हैन है भनिदिने र सत्ता सञ्चालकहरुलाई उच्च नैतिक बलसहित प्रश्न गर्ने मान्छेको अभाव भयानक लाग्दोरहेछ।

    २०३६ सालको विद्यार्थी आन्दोलनभन्दा पहिले नै पञ्चायती जगजगी भएको बेला स्कुले विद्यार्थी छँदा बनारसबाट निस्कने कुनै काँग्रेसी पत्रिका, तरुण हुनुपर्छ, मार्फत्  मैले उनको नामसम्म थाहा पाएको थिएँ। पछि जनमतसंग्रहकालीन खुला परिवेशमा छापिने पत्रपत्रिकामा उनका विचार लगातार पढ्न र सुन्न पाइन्थ्यो। उनका बारेमा काँग्रेसवृत्तमा मात्र हैन, वामपन्थी वृत्तका कार्यकर्तामा पनि चासो रहन्थ्यो। त्यतिबेलाका हामी उग्रकाँग्रेस विरोधीहरू पनि उनका लेख अन्तवार्ता खोजीखोजी पढ्ने गर्थ्यौं।

    मलाई उनको तार्किक क्षमता र बहुविधागत ज्ञान र त्यसलाई समय सापेक्ष प्रयोग गर्ने क्षमताले आकर्षित गर्थ्यो। उनको बोली र लेखाइ दुवैमा एकप्रकारको लय उत्पन्न हुन्थ्यो जसले हामीलाई लोभ्याउँथ्यो। धेरैपछि भने उनका केही दोहोरिइरहने शब्द र भाषाले कहिले कहिले झर्को पनि लाग्थ्यो। केही शब्दहरु निरन्तर पुनरोक्त्ति ‘क्लिशे’जस्ता पनि भएका थिए।

    गिरीसँगको पहिलो भेटको संयोग भने निकैपछि २०५७ सालतिर मार्टिन चौतारीमा भएको थियो। भारतीय समाजवादी आन्दोलनका एकजना चिन्तक विजयप्रताप पनि सहभागी रहेको चौतारी बहसमा नेपाल भारत सम्बन्धका विषयमा कुरा भएको थियो। काठमाडौंबाट उडेको भारतीय वायुसेवाको जहाज अपहरण काण्डको धेरै समय भएको थिएन र दिल्ली काठमाडौं सम्बन्धमा केही आशंकाहरु देखिएको समय थियो। प्रदिप गिरी पनि उपस्थित थिए। त्यतिबेलासम्म नेपाली काँग्रेसप्रति मेरो दृष्टिकोणमा केही तटस्थभाव आइसकेको थियो। कार्यक्रममा मैले विपीको जेल जर्नल र आत्मवृत्तान्तबाट आफू प्रभावित भएको र उनीप्रतिको धारणा बदलिएको बताएको थिएँ, यो प्रसंग पनि नेपाल भारत सम्बन्धका विषयमा नै लक्षित थियो।

    कार्यक्रम सकेर निस्कँदै गर्दा ढोकैमा भेट भएकाबेला उनले भनेका थिए, ‘झलक जी, कसैको पनि आत्मवृत्तान्तमा भनिएका सबै कुरा सही हुन्छन् भन्ने भ्रममा नपर्नुहोला।” कतिपय निजी सवालमा पनि खुलेर कुरा गरेको पाइएका विपीको आत्मवृत्तान्तमा उनले इतिहास र आफैप्रति न्याय गरे होलान् भन्ने मेरो धारणा गिरीको भनाइले खण्डित गरेको थियो। मनमा जिज्ञासाहरु भरिएका थिए।

    त्यसदेखि यता ‘प्रदिप दाइ’ सँग सम्वाद हुने अनेक अवसर जुरे। थोरैमात्र अन्तरंग भेट भए धेरै त सार्वजनिक भेला गोष्ठीहरुमा नै भेटिएका हुन्। आफ्नो ज्ञान बाँड्न सँधै तत्पर उनको व्यक्तित्व जहिले पनि हाम्रा लागि आकर्षणको विषय बनिरह्यो। उनको व्यक्तित्व समग्रमा उनको बौद्धिकता र निस्पृह झैं लाग्ने आलोचनात्मक अभिव्यक्तिबाट बनेको थियो। मैले उनलाई जसरी बुझें त्यसरी अरुले पनि बुझ्नुपर्छ भन्ने मलाई लाग्दैन। तैपनि २०५० यता उनले हाम्रो समाजमा खेलेका केही अर्थपूर्ण भूमिकाका पाटाबारे मलाई लागेका कुरा यहाँ चर्चा गर्नेछु।

    माओवादी जनयुद्ध
    प्रदिप गिरी साँच्चै के हुन् भन्ने अलमल जहिले पनि उत्पन्न भइरहन्थ्यो। व्यक्तिगत सम्बन्धमा उनी उदारवादी थिए। पारिवारिक जीवन जे जस्तो बिताए, त्यसबाट उनी रागविरागको मिश्रण देखिन्थ्यो। कुनै अनुशासनबद्ध जीवन नदेखिने र बेलाबखत खोजी गर्दा पनि भेट्न नसकिने उनी सन्यासी जस्ता पनि लाग्थे। उनको जीवन दर्शनमा तीनवटा गजबको मिश्रण थियो। उनी समाजवादी पनि थिए र सँगै व्यक्तिगत स्वतन्त्रताका हिमायती पनि। ‘एक्काइसौं शताब्दीको कुनैपनि समाजवादले नागरिक स्वतन्त्रतालाई नवनिर्माणको अनिवार्य सर्तका रुपमा राख्नुपर्नेछ। तर अर्को हेक्का राख्नैपर्छ यो अनिवार्य सर्त हो, पर्याप्त सर्त होइन’ (कान्तिपुर, मंसिर ७, २०७७) । यसरी उनले व्यक्तिगत स्वतन्त्रता समाजवादको अनिवार्य हिस्सा हो भन्दै आफूलाई व्यक्तिगत स्वतन्त्रतासहितको समाजवादी पक्षधर भनेर वकालत गरेका छन्।

    उनी पार्टीमा बसिरहे तर कहिल्यै पार्टीको अनुशासनमा बसेनन्। उनले आफ्ना कुनै नेताको आलोचना गर्न पनि छाडेनन् सम्मान पनि गरिरहे। कहिल्यै मन्त्री पनि बनेनन्। बहसका क्रममा विपी र उनको विचार तथा निर्णयहरुमा प्रश्न उठाइरहे। संसदको निर्वाचन लड्न र संसदमा पुग्ने अवसर पनि गुमाएनन्। संविधान जारी हुने बखत त्यसमा हस्ताक्षर पनि गरेनन्।

    उनको विचार मूलतः मार्क्सवाद प्रेरित समाजवादमा आधारित थियो। उनी मार्क्सवादी दर्शन बुझेका र जीवन दृष्टिमा मार्क्सवादसँग तादात्म्य राख्दै हिँडेका तर कहिल्यै मार्क्सवादी नभएका व्यक्ति लाग्थे। युवा उमेरमैं उनले लेनिन र लोहियाबारे लेखेका निबन्धहरु पढ्दा उनमा सुदूर समयका लागि साम्यवादप्रति विश्वास र आकर्षण थियो जस्तो देखिन्छ।

    उनको विश्लेषण पद्धति ऐतिहासिक भौतिकवादको नजिक थियो भने पूर्वीय दर्शनप्रति मोह पनि देखिन्थ्यो। गान्धीका आदर्शलाई जीवन शैलीका रुपमा पच्छ्याउने प्रयास गरेका थिए उनले। यसबाट उनलाई बुझ्न चाहनेहरूका लागि समेत एउटा गोलमाल उत्पन्न हुन्थ्यो। उनी गान्धीका प्रशंसक त थिए तर माओको ऐतिहासिक भूमिकालाई कहिल्यै अवमूल्यन पनि गरेनन्। एकप्रकारको विरोधाभाष देखा परिरहन्थ्यो। कतै न कतै गान्धी र माओले पूर्वीया ज्ञान दर्शन र सभ्यताका आधारमा पश्चिमा आधुनिक विचारलाई टक्कर दिएको खुशी उनमा थियो कि जस्तो पनि लाग्थ्यो। वैश्विक विचार र अनुभवलाई स्थानीय चिन्तन र दर्शन परम्परासहित अँगाल्न खोजेजस्ता लाग्थे।

    नेपालमा माओवादीहरुले जनयुद्ध सुरु गरेर एकस्तरमा पुगेपछि त्यसले समाजमा तरङ्ग सिर्जना गर्न थाल्यो। समाजमा भय पनि थियो। तल्लोस्तरमा काँग्रेस कार्यकर्ताहरू माओवादीको तारो बनिरहेका थिए। प्रदिपले माओवादी हिंसाप्रति निरन्तर असहमति जनाइरहे तर जनयुद्धको भर्त्सना कहिल्यै गरेनन्, बरू दमन गरेर माओवादी सकिन्नन् भन्ने भाष्य निर्माण गर्न प्रयास गरिरहे, सत्तालाई चेतावनी दिइरहे। उनको एउटा भनाइ चर्चित थियो: नालीमा हिलो राखिरहने र लामखुट्टे मात्र मार्ने उपायले लामखुट्टेबाट मुक्त हुन सकिन्न। अर्थात् समाजमा विद्यमान गरिबी र विभेदका कहालिलाग्दो अवस्था रहुञ्जेल विद्रोह यो वा त्यो रुपमा भइरहन्छ भन्ने उनको मान्यता थियो।

    उनले माओवादीहरुले अघि सारेका धेरै कार्यसूचिलाई समर्थन गरिरहे र निष्कर्षमा पुर्‍याउन सहयोग पनि गरिरहे। प्रचण्डले खेलेको भूमिकाको प्रशंसा पनि गरे र पछिल्ला प्रचण्डको प्रखर आलोचना पनि गरे। उनले लेखेका छन्- ‘सत्तामुखी राजनीतिमा आकंठ डुबेका दल र नेताहरु यथास्थितिवादी राजनीतिभन्दा अगाडि हत्तपत्त कहिल्यै सोच्दैनन्। यसैकारण आज माओवादीहरु पराभूत र पराजित मासिकताबाट ग्रस्त छन्। होइन भने एउटा कुरा भन्नैपर्छ, ऐतिहासिक निर्णयको त्यस घडीमा आज जनताको तिब्र र व्यापक असन्तोषलाई प्रतिनिधित्व गर्ने श्रेय त्यस समय भूमिगत अवस्थामा रहेको माओवादीलाई नै जान्छ।’ (कान्तिपुर, २४ मंसीर २०७८) यहाँ उनले माओवादी आन्दोलनले उठाएका कार्यसूचिको समर्थन गरेका छन्। तर, त्यस यताका वर्षमा माओवादीहरुले गुमाएको नैतिक बललाई पनि छेड हानेका छन्।

    यहाँनिर उनले प्रयोग गरेको पराभूत शब्दको अर्थ बडो महत्वको छ। यो शब्दले पराजित मात्र बताउँदैन, नष्ट भ्रष्ट भएको भन्ने पनि अर्थ दिन्छ। यसरी कुनै विद्रोही शक्तिप्रति, संस्थापनले आतंककारी भनेकै समयमा पनि उच्च नैतिक समर्थन गर्ने र उसैलाई कमजोरी देखेपछि भद्र तर कडा बिरोध गर्ने नैतिक बल थोरैमा मात्र हुन्छ। समाजमा विद्यमान संकटहरुको समाधान एउटा क्रान्तिकारी परिवर्तनबाट मात्र सम्भव छ भन्ने हेक्का उनले राखिरहे। तर, यसको साधनका रुपमा भने उनी जहिल्यै शान्तिपूर्ण बाटोको पक्षमा उभिए। गान्धी, लोहिया र जयप्रकाश नारायणप्रति अगाध श्रद्धा राख्ने गिरीका तर्फबाट माओवादीको हिंसात्मक विद्रोहको बारेमा व्यक्त विचार क्रान्तिप्रति उनको आकर्षण र समय चेतको गजब अभिव्यक्ति थियो। माओवादीले कसरी गति छाडे भन्ने विषय चैं उनको नियन्त्रण बाहिरको कुरा थियो।

    उनको व्यक्तित्वको अरु राजनीतिज्ञको भन्दा फरक पाटो थियो यो।

    उत्पीडित समुदायका साथी
    प्रदिप गिरी काँग्रेसको केन्द्रीय समितिमा थिए। धेरै समय साँसद पनि भए तर कहिल्यै कार्यकारी पदमा बसेनन्। एउटा काँग्रेसका रुपमा दलका आधिकारीक धारणामा बाँधिएर पनि बसेनन्। जस्तो काँग्रेसका महामन्त्री विमलेन्द्र निधी, काँग्रेस नेतृ लिला कोइरालाहरू मधेश आन्दोलनको तारो भइरहँदा पनि प्रदिप गिरी चैं मधेश आन्दोलनको समर्थनमा लागिरहे। बोलिरहे। आन्दोलनलाई धाप दिइरहे। उनी दलित, महिला, जनजाती या उत्पीडितहरुका पक्षमा बोलिरहन्थे। उनीहरूका अधिकारका कुरा गरिरहन्थे।

    मधेशमा आगो बलिरहेकै बेला संविधान जारी भए यसको स्वामित्व विभाजित हुन्छ र समग्र राष्ट्रिय एकतामा खलल पर्छ भन्ने उनको दृष्टिकोण थियो। उनले संविधान सभा सदस्य भएर पनि र नेपाली काँग्रेसले ह्विप लगाउँदा पनि संविधानमा हस्ताक्षर नगरेर आफ्नो अडान पुष्टि गरेका थिए। यसले राजनीतिमा उदारवादी सिद्धान्तहरू र परम्परागत मार्क्सवादीभन्दा भिन्न उनको समय चेत निर्माण हुँदै गएको सङ्केत गर्छ। नेपाली समाजको विविधताको प्रतिनिधित्व संविधानले गरोस् भन्ने उनको यो मत महिला, जनजाती र दलित सिमान्तकृतहरुका पक्षमा पनि देखा पर्थ्यो।

    एउटा अचम्म के थियो भने पार्टीको केन्द्रीय सदस्य र संसदको सदस्यका रुपमा आफ्ना मतहरू पारित गराउन उनी धेरै बल गर्दैनथे। आफ्ना मत राख्ने, वक्तव्यहरुबाट ‘कन्भिन्स’ गराउन खोजेको देखिने, मत दर्ज गर्ने तर सबैलाई विश्वासमा लिएर आफ्ना मतका पक्षमा निर्णय गराउन बल नगर्ने एकप्रकारको तटस्थभाव उनको व्यक्तित्वको अर्को विरोधाभाष थियो।

    मार्क्सका प्रचारक
    यसैपनि उनी आफ्ना लेखहरुमा मार्क्सका विचारहरुको सन्दर्भ ल्याइरहन्थे। सन् २०१८ मा मार्क्सको जन्मको दोस्रो शतवार्षिकीका सन्दर्भमा उनले लेखहरू लेखेर र प्रवचन दिएर मार्क्सको जीवन र उनका कार्यहरुको विषद व्याख्या गरेका थिए। मार्क्सको जन्मको दोस्रो शतवार्षिकी कार्यक्रम आयोजना गर्न घनश्याम भूसाल, राम कार्की र सुनिल मानन्धर समेतको एउटा समिति सक्रिय थियो। उनी त्यसको सल्लाहकार समितिमा बस्न राजी भएका थिए। एकजना समाजवादी उदारवादी नेता थिए तर मार्क्सका विचारबाट प्रभावित थिए। उक्त समिति मार्फत र कतिपय बेला नेपाल अध्ययन केन्द्र मार्फत हुने प्रशिक्षण कार्यक्रममा उनी मार्क्सका बारेमा प्रवचन दिन पुग्थे।

    एकजना काँग्रेसी नेताले मार्क्स र उनका विचारका बारेमा दिने व्याख्यानले यता कम्युनिष्ट पार्टीमा धेरै भोटो फटालेका नेता या कार्यकर्ताहरू पनि ट्वाँ…पर्थे। मार्क्सबारे आधिकारीक व्याख्या गर्नसक्ने एकजना कुशल वक्ता थिए गिरी, जसले नेपालमा मार्क्सवादी ज्ञान परम्परालाई अघि बढाउन सहयोग पुर्‍याएका थिए। सायद मार्क्सकै बारेमा यति विस्तारमा विशद व्याख्या र आधिकारीक प्रवचनहरु नेपालका कम्युनिष्ट नेताहरुले गरेका छैनन्। मार्क्सलाई उनीजत्तिको कुनैपनि कम्युनिष्ट नेताले पढेको नहुन पनि सक्छ। एकपटक उनले मलाई मार्क्सका बारेमा लेख भनेर आह्वान गरेका थिए, सायद आफ्नो कुनै लेखमा। तर मैले उक्त वर्षभरी मार्क्सतिर फर्केर उनीबारे लेख लेख्ने मनस्थिति नै बनाउन सकिनँ। आफ्ना अनुज पुस्तालाई प्रेरित गर्ने उनको आफ्नै शैली थियो।

    युवाहरूसँग गिरी
    उनको अर्को विशेषता युवासँगको सङ्गत थियो। उनका लागि भर्खरको उमेरका तर समाजप्रति चासोभाव राख्ने जागरुक युवासँगको सम्वाद निकै महत्वको थियो। उनी सबैलाई आदरभावका साथ सम्बोधन गर्थे। कसैलाई हेय दृष्टिले हेर्ने, आफ्नो ज्ञान र प्रौढतालाई घमण्डको स्रोत बनाउने ढस्सा उनमा कहिल्यै देखिन्नथ्यो। निरन्तरको अध्ययन र परिस्कार, नयाँ कुराहरू सिकिरहने जानिरहने, चाहे त्यो साहित्य र दर्शन होस् चाहे सिनेमा र राजनीति जे विषयमा पनि उनी आफुलाई अपडेट गरिरहन्थे। सिनेमा, पछिल्ला पश्चिमा दर्शन, गीत र संगीतप्रति लगाव पनि उत्तिकै थियो। महाभारतका पात्रहरुका विषयमा व्याखान दिनसक्थे। मार्क्सदेखि गीतासम्म, गुल्जारदेखि कविरसम्मका उद्धरणहरु प्रयोग गरिरहन्थे। यी यस्ता विषय थिए, जसले युवाहरुलाई उनीतिर आकर्षित गरिरहन्थ्यो।

    पछिल्ला वर्षहरुमा समयबोधले कुत्कुत्याएका जागरुक युवाहरुले आयोजना गर्ने भेला र साहित्यीक गोष्ठीमा उनी प्रवचन दिन झापादेखि पोखरासम्म पुगिरहन्थे। दलित, जनजाति, मधेसी, पहिचानवादी अभियन्ताले पनि उनलाई आफ्नो अभिभावक जस्तो मानेका थिए। उनी युवाहरूलाई अर्ति दिने र आफ्ना कुरा सुनाउने मात्र हैन, उनीहरुका कुरा पनि धैर्यतापूर्वक सुन्थे। पढ्न र चिन्तन गर्न प्रेरित गर्थे। यो उनले समाज रुपान्तरणमा लाग्न युवाहरुमाथि गरेको भरोसा पनि थियो।

    उनले यस बिचमा अर्को राम्रो काम गरेका छन्। विपीका छरिएका रचना र वार्ताहरु संकलन गर्ने काममा पनि योगदान गरे र सँगै काँग्रेसको युवापुस्ताका चिन्तनमा विचारधारात्मक तेल हालेर छाडे। उनीसँग सङ्गत र सम्वादका केही निजी प्रसंगहरु र सम्झनाहरु पनि छन्। जहिले पनि पढ्न र लेख्न प्रेरणा दिइरहने, हौस्याउने र उक्साउने गरिरहन्थे। उनको उपस्थिति र सामिप्यताले हामीलाई एउटा भरोसाको आभास हुन्थ्यो।

    उनको व्यक्तित्वमा विरोधाभाष थियो, आफ्नै मतहरुपनि उनी अरुलाई परिक्षण गर्न छाडेर बस्थे। तर कुनै कार्यकारी पदमा नबसेरै नेपाली राजनीतिक तथा बौद्धिक क्षेत्रमा उनको उपस्थिति टड्कारै अनुभूत हुन्थ्यो। उनको अनुपस्थितिले उत्पन्न अभाव शायद पुरा हुनेछैन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: प्रदिप गिरी
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.