जिद्दू कृष्णमूर्तिको जन्म तमिलनाडु राज्यको एक गरीब परिवारमा भएको थियो । बाउआमाको आठौं सन्तान भएका कारण ‘पुराण पात्र’ कृष्ण नै सम्झेर यिनका धार्मिक बाआमाले छोराको नाममा कृष्ण जोडे । उनका बा जिद्दू नारायणिया थियोसफिकल सोसाइटी नामक संस्थासँग जोडिएका थिए। यो संगठनको उतिखेरको मान्यता थियो कि ‘संसारमा छिटै नै एउटा विश्वगुरू आउनेवाला छ ।’ थियोसोफिकल नामको सो धार्मिक–आध्यात्मिक संगठनको शीर्ष अधिकारी चार्ल्स वेब्सटर लीडबीटरले कृष्णमूर्तिमा नै विश्वगुरुको त्यो छवि देख्नथाले ।
यो सन् १९०९ तिरको कुरा हो, जतिखेर लीडबीटर समुद्री तटमा हिँडिरहेका थिए । उतिखेर मैलो र अति सामान्य कपडा लगाएका सानो र पातलो कृष्णमूर्तिलाई उनले गहिरोसँग नियाले । लीडबीटरलाई कृष्णमूर्तिएकदमै अनौठो र भव्य लाग्यो । यही कुरो उनी धेरै पहिलेदेखि खोजिरहेका थिए । उनले ठाने, ‘अब हाम्रो संस्थाको खोज पूरा भयो ।’ त्यसपछि लीडबीटरले आफ्नो थियोसफिकल सोसाइटीमा कृष्णमूर्तिलाई सामेल गरे। अब विस्तारै कृष्णमूर्तिनै त्यो संस्थाको केन्द्रका रूपमा स्थापित हुन थाले । पछि यस संस्थाको प्रमुख मिस एनी बेसेन्टले कृष्णमूर्तिलाई शिक्षादिक्षाका लागि बेलायत पठाइन् । कृष्णमूर्तिसन् १९२१ मा जब भारत फर्केर आए, तब बेसेन्टले उनलाई ‘विश्वगुरु’ घोषणा गरिदिइन् ।
‘गुरु–शिष्य’ परम्पराको विरुद्ध कृष्णमूर्ति
जिद्दू कृष्णमूर्तिले दार्शनिकका रूपमा, पहिलो निचोडकै क्रममा ‘गुरुवाद’विरुद्ध प्रहार गरे । सन् १९२९ मा उनले थियोसपिÞmकल सोसाइटीले दिएको ‘अर्डर अफ द ईस्ट’ को सम्मान संस्थालाई नै फिर्ता गरे र यो संस्थासँगको सम्बन्ध तोडे । सँगसँगै उनले भने, ‘ न म कुनै विश्वगुरु हुँ, न कोही मेरा शिष्य । गुरुवादको बारेमा उनको भनाई थियो कि गुरु आफैंमा एक सत्ता हो र जुनसुकै प्रकारका सत्ताका अनुयायीहरू कहिलेकाहीँ चेतन–अवचेतनको विषयलाई सही तरिकाले ठम्याउन सक्दैनन् । जिद्दूको मत थियो कि ‘कुनै पनि धर्म, दर्शन–विचार या सम्प्रदायको मार्गमा हिँड्दैमा सत्य बुझिने होइन।’ उनले सत्यलाई ‘मार्गरहित भूमि’ का रूपमा बुझे । उनी भन्थे ‘सत्यको खोजका लागि मान्छे सबै बन्धनबाट मुक्ति हुनपर्छ । आफूलाई सबै खालका विचारबाट मुक्त पार्नुपर्छ।’
अज्ञानताको निशाना: राष्ट्रीयता र राष्ट्रवाद
जिद्दूले प्रायः सबैजसो विषयमा आफ्ना धारणा व्यक्त गरेका छन् । उनले आफ्नो प्रवचन सुन्न आएका मान्छेहरूसँग सोधे: ‘राष्ट्रियता गएपछि अर्को के आउँछ?’ प्रायजसो जिद्दू आफ्नो सवालको उत्तर आफैं दिन्थे । त्यस कार्यक्रममा पनि जिद्दूले भने, ‘राष्ट्रियता हटाएपछि बुद्धिमत्ता आउँछ । मान्छेहरू एउटा धर्म त्यागेर अर्को धर्म अपनाउँछन्, एउटा राजनैतिक पार्टी छाडेर दोस्रोमा जान्छन्। यो निरन्तर परिवर्तन त्यस अवस्थाालाई बुझाउँछ, जहाँ बुद्धिमता छैन ।’
जिद्दूको मत थियो कि राष्ट्रीयता–राष्ट्रवादको निहितार्थ बुझेपछि, यसको बाह्य र आन्तरिक महत्वको बोध भएपछि मात्रै यसबाट छुट्कारा पाउन सकिन्छ । राष्ट्रवादको बाहिरी रूपले समाजलाई विभाजनतर्फ धकेल्छ भने भित्री रूपले राष्ट्रवादले व्यक्ति स्वयंम्मा अहंकार बढाउँछ । जिद्दूले उदाहरण दिँदै भने, ‘कोही मान्छे सानो गाउँ या ठूलो शहरमा बस्छ भने उसको कुनै पहिचान हुँदैन । तर यदि व्यक्ति स्वयं आफूलाई कुनै ठूलो समूह, देश या हिन्दू/मुसलमान, क्रिश्चियनको ठान्दछ भने उसको अह्म सन्तुष्ट हुनजान्छ । र, त्यसमा उसले एक प्रकारको सुरक्षाको बोध गर्दछ । तर सुरक्षाको यो बोध आखिर भ्रम हो । त्यसको अर्थ, राष्ट्रवादले कलह र झगडालाई जन्म दिन्छ । राष्ट्रवादले मान्छेमा भ्रम पैदा गर्छ । तर जब कोही मान्छे राष्ट्रवादको पूरा अर्थ बुझ्दछ, राष्ट्रवादको भ्रमबाट उ मुक्त हुन्छ ।’
ईश्वरबारे जिद्दू
जिद्दू कृष्णमूर्ति भन्थे, ‘ईश्वरले मान्छेलाई बनाएका होइनन् बरु ईश्वरको जन्मदाता स्वयं मान्छे हो । मान्छेले ईश्वरको आविष्कार आफ्नो फाइदाको लागि गरेको हो ।’ जिद्दू इश्वरलाई केवल मान्छेको विचारभन्दा अरु केही होइन भन्ने ठान्दथे । उनी भन्दथे, ‘इश्वरको अर्थ देश, काल र समयसँगै बदलिन्छ । अर्थात् मान्छेको जस्तो अवधारणा हुन्छ, उसको भगवान पनि उस्तै हुन्छ । यसकारण सबै धर्मका इश्वर फरक हुने गरेका छन् ।’ कृष्णमूर्ति भन्थे, ‘मानौं, भगवान छन् रे, त्यसो हो नै भनेपनि भगवानबाट कुनै समस्याको समाधान हुन सक्दैन।’
(सत्याग्रहडटकममा प्रकाशित सामग्री, नेपाल रिडर्सका लागि प्रकाश अजातद्वारा अनुदित।)