नारीवादी आन्दोलनको दोस्रो लहरको समय(१९६०–७०) लाई महिला आन्दोलनको महत्वपूर्ण चरणका रुपमा लिइन्छ। दोस्रो विश्वयुद्ध ताका घरबाहिर निस्केर काम गरेका महिला शान्तिकालको अवस्थामा फेरि घरभित्रै धकेलिएका थिए। अर्कोतर्फ बजारले सौन्दर्यलाई पूँजीमा बदलेर महिलाको शरीर र स्वतन्त्रतालाई आफ्नो अनुकूल बनाउन प्रयास गर्न थालेको थियो। एउटा लामो समयसम्म महिलावादीहरूमा मौनता छाएको थियो। यस्तो अवस्थामा दोस्रो लहरको नारीवादी आन्दोलन एउटा महत्वपूर्ण टर्निङ् प्वाइन्ट सावित भयो। महिलाहरू आवेगमा थिए, उनीहरू सडक उत्रिएका थिए, उनीहरू पितृसत्ताको पूर्णरुपमा अन्त्य भएको हेर्न चाहन्थे।
नारीवादको दोस्रो लहर
महिलाहरू एकातर्फ आन्दोलनका लागि सडकमा थिए, अर्कोतर्फ प्राज्ञिक महिलावादी यस आन्दोलनको वैचारिक आधार तयार गरिरहेका थिए। केट मिलेटको ‘सेक्सुअल पोलिटिक्स्’ एउटा यस्तै किताब थियो, जसले त्यस समयको महिलावादी आन्दोलनका लागि वैचारिक आधार तयार पार्यो।
आज हामी नारीवादी आन्दोलनको चौथो लहरमा छौं। महिला आन्दोलन अझै बाँकी छ। यद्धपि अहिले महिलाहरूको अवस्था जुन ठाउँमा छ, त्यसमा अघिल्ला पुस्ताका महिलाहरूले गरेको योगदान अतुलनीय छ।
दोस्रो लहरसम्म महिलाहरू आफ्नो अधिकार प्राप्तिका लागि जागरुक हुँदै घरको चार घेराबाट बाहिर आउन थाले। पितृसत्तात्मक सोच भएका पुरुषहरू महिलाको यस बदलिँदो रुपलाई सहन सकिरहेका थिएनन्। महिलाको यो कदम र यी बदलावहरूलाई पुरुषहरूले आफ्नो सत्ता, शक्ति, र सम्पतिविरुद्धको युद्धको रुपमा लिइरहका थिए। परिमाणतः सम्बन्धविच्छेदको श्रृंखलाले गति लिन थाल्यो। महिलाहरूले विवाहलाई पुरुषहरूको सहुलियत अनुसार बनाइएको एउटा व्यवस्थाको रुपमा बुझ्न थाले। उनीहरू विवाह संस्थामा पुरुषहरूको सत्ता हुन्छ महिला यस सत्तालाई पुरुषको वंशमा निरन्तरता दिनका लागि प्रयोग गरिने माध्यम मात्र हुन् भन्ने कुरामा प्रष्ट हुन थाले।
केट मिलेट, एक अमेरिकी लेखक, शिक्षक र कलाकार हुन्, उनको किताब ‘सेक्सुअल पोलिटिक्स’ ले १९७० को दौरान भएको नारीवादी आन्दोलनलाई दृढता र मजबुती दियो। मिलेटका अनुसार पोलिटिक्स् भनेको राजनीतिक दलहरूबीच सत्ता प्राप्तिका लागि हुने संघर्ष मात्रै होइन, यसको दायरा यो भन्दा फराकिलो छ। मिलेट पुरुषले अर्को कुनै दोस्रो लिंगलाई कम आँक्नु र आफूलाई केन्द्रमा राखेर नियम बनाउनुलाई पनि राजनीति भन्छिन्। सत्ता केवल पुरुषको हातमा छ र महिलालाई एउटा निश्चित घेराभित्र राखिनु राजनीति हो। एक व्यक्तिले दोस्रो व्यक्तिमाथि आधिकार स्थापित गर्नु राजनीति हो। पुरुषले आफ्नो शक्ति र सत्तालाई स्थापित गर्न र निरन्तरता दिनका लागि कसरी महिलामाथि अधिकार जमाउँछ भन्ने कुरा यस किताबमा व्याख्या गरिएको छ।
शक्ति संरचनाभित्रको प्रेम
मिलेटले लैंगिक परिप्रेक्ष्यमा मात्रै होइन, जाति नश्ल, वर्गको आधारमा हुने दमन पनि राजनीति अर्थात् शक्ति संरचना भित्र रहेर हुने उल्लेख गरेकी छिन्। एक श्वेत मालिक र उसका अश्वेत नोकरकाबीचको सम्बन्ध निजी विषय मात्रै नभएर एक नश्लबाट दोस्रो नश्लमाथिको नियन्त्रणको रुपमा हेर्न सकिने तर्क उनको छ। यस्तै श्रीमान श्रीमतिबीचको झगडा, एकले अर्कोमाथि गर्ने हिंसालाई कतिले व्यक्तिगत वा निजी विषय मानिरहेका हुन्छन्, उनले यसको कडा विरोध गरेकी छिन्। यदि कसैले आफ्नी श्रीमतिमाथि हिंसा गर्छ भने त्यो उसको निजी सवाल हुन सक्दैन।
मिलेट भन्छिन्, “प्रेम यस्तो होस्, जसमा दमनको राजनीति नहोस्, जहाँ असुरक्षाहरू नहुन्, दुई व्यक्ति समान हुन् र जहाँ सम्बन्धहरूको निर्धारण नियन्त्रणबाट तय नहोस्।” मिलेटले यस पुस्तकमा डीएच लरेन्सको आलोचना गरेकी छिन्। उनले भनेकी छिन्, “महिलालाई प्रताडित गरेर नै पुरुषत्वको प्रदर्शन लरेन्सको लेखको संवेदना हो।” केटले प्रेमको प्रसंगमा लरेन्ससँगै नर्मन मेलर र हेनरी मिलरको आलोचना गर्दै कसरी प्रेममा लैंगिक विभेदको नियमले काम गर्छ भन्ने कुरा उल्लेख गरेकी छिन्। महिला–पुरुषबीचको प्रेमलाई कतिले रोमान्टिक प्रेम भन्छन्, तर उनले यहाँ पनि एक राजनीतिले काम गर्ने बताउँछिन्, एउटा यस्तो राजनीति जुन हाम्रो नसा–नसामा कुदेको छ।
महिलावादी प्रेममा पर्दैनन् भन्ने एक आम धारणा छ। तर यो एउटा भ्रम हो। महिलावादी प्रेमले भरिएका हुन्छन्। तर जब प्रेममा सामाजिक संरचना हाबी हुन्छ, जब प्रेमले महिलाको त्याग चाहन्छ र उनलाई एउटा आदर्शको मूर्तिका रुपमा मात्र स्वीकार गर्न खोजिन्छ, तब त्यो प्रेम नभएर राजनीति हुन्छ। मिलेट आफ्नो पुस्तक ‘सेक्सुअल पोलिटिकस्’को माध्यमबाट प्रेममा समानताको कुरा गर्छिन् र प्रेममा दमनको राजनीतिको विरोध गर्छिन्। मिलेटले आफ्नो पूरा जीवन समान प्रेम र दमनको राजनीतिको अन्त्यको लागि वकालत गरिरहिन्। उनको जीवन कुनै एक व्यक्तिका लागि होइन, बरु सम्पूर्ण मानिसको लागि समर्पित छ।
विवाह संस्थामाथि प्रश्न
विवाह संस्थालाई महिलामाथि शोषणको माध्यमका रुपमा पहिचान गर्नु केट मिलेटको मात्रै होइन, दोस्रो लहरको नारीवादी आन्दोलनको विशेषता थियो। जर्मेन ग्रिअर र शुलमिथ फारस्टोन पनि यस मान्यताको समर्थन गर्थे। ग्रिअरले भनेकी छिन् कि यदि महिलाले विवाह नगर्ने र आफ्नो सारा श्रम फिर्ता लिने हो भने सम्पूर्ण अर्थव्यवस्था नै ढल्नेछ। शुलमिथ फायरस्टोन पनि यस लैंगिक अन्तरद्वन्द्वमा महिला – पुरुषको सम्बन्धमा ‘प्रेम’ लाई अराजनीतिक र पवित्र श्रेणीमा राख्नुको विरुद्धमा थिइन्। विवाह संस्थामाथि सवाल उठाउनु नै द्वितीय चरणको आन्दोलनमाथि आलोचनाको सबैभन्दा ठूलो कारण बन्यो। मतदानको अधकिार दिइनुले मात्रै पनि महिलाहरूको आवेग शान्त भएको थिएन। महिला आन्दोलनका कारण महिलालाई तुलनात्मक स्वतन्त्रता, शिक्षाको अधिकार लगायतका उपलब्धि त प्राप्त भयो। तर संरचनाबाटै बाहिर निस्कनु चाहिँ पितृसत्ताका लागि खतरनाक थियो।
आलोचित थिइन केट
मिलेटले आफ्नो प्रेम सम्बन्धी विचारलाई लिएर सधैं आलोचनाको सामना गर्नुपर्यो। उनी एक महिला भएर महिलासँगै प्रेममा रहेका कारण उनको आलोचना भइरहन्थ्यो। मिलेटको किताब पढेर एक मानिसको मानसिकता सकरात्मक रुपमा विकसित हुन्छ। उनको पुस्तक पढेको पुरुष होस् वा महिला, उसले समानताको कुरा गर्छ। प्रेममा सम्झौता र असमानताको कुरा गर्दैन। मिलेट आफैं पनि प्रेमले भरीपूर्ण थिइन्।
(एजेन्सीको सहयोगमा)