गत फागुन ८ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा हजारौं दर्शकहरूका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले चतरा घाटदेखी भोजपुरसम्मको जलयात्रा मात्र ११ मिनटमै सम्पन्न गर्न सकिने तर त्यसका लागि सम्पूर्ण किराँतीहरूको धार्मिक र साँस्कृतिक महत्वका धरोहर ‘खुवालुङ’ ढुँगालाई क्रेन लगाई फुटाउने र त्यो जलमार्गलाई सुगम र छोटो बनाउनेतर्फ प्रक्रिया अगाडी बढाई सकेको कुरा सार्वजनिक रुपमा उद्घोष गरेलगत्तै ‘खुवालुङ’ प्रसंग नेपाली समाजमा र विशेषगरी किराँती राई समुदायमा हृवात्तै तात्तिएर आएको छ ।
‘खुवालुङ’ प्रसंग किन यसरी चर्चामा आयो त? यो कहाँ अबस्थित छ? यस ‘खुवालुङ’ का धार्मिक र साँस्कृतिक महत्व के हुन्? अहिलेसम्म यो स्थान किन ओझलमा रह्यो? अब यसलाई संरक्षण गर्न के गर्नु पर्छ? आदीइत्यादि प्रश्नहरूलाई संक्षिप्तमा खोतल्ने प्रयास गर्नु नै यस लेखको मु़ख्य उदेश्य रहेको छ ।
यद्यपि, ‘खुवालुङ’ संरक्षणका लागी विगत केही वर्षदेखि किराँत समुदायका सचेत वर्ग र अग्रजहरू लागि परेको कुरा सार्वजनिक भएकै कुरा हो । यसैगरी, प्रधानमन्त्रीको ‘खुवालुङ’ फुटाउने अभिव्यक्तिपछि फागुन १२ गतेको दिन किराँत राई विद्यार्थी र किराँत राई लेखक संघको संयुक्त अगुवाईमा झापामा विरोध र्याली निकाल्ने लगायत सामाजिक संजाल मार्फत संसारभरीका किराँत राईहरूले आफ्नो सांस्कृतिक र धार्मिक आस्थाप्रति प्रहार भएको ठहर गर्दै घोर भर्त्सना गरेका छन् । समग्र किरात राईहरूको साझा संगठन ‘किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाण्डौ’ को पहलमा ‘खुवालुङ’ लाई क्षतिग्रस्त बनाउनबाट जोगाउन ‘खुवालुङ संरक्षण समिति’ गठन भई सकेको छ ।
परिचय
किराँत राई जातिको मौलिकता भनेको नै आफ्नो खास बसोबास गर्ने भूगोल, उनीहरूले प्रयोगमा ल्याउने भाषाहरू, दैनिक क्रियाकलाप, प्रकृति पुजक, साकेला ९ उभौली र उधौली ० मान्ने, पुजाआजा गर्ने पवित्र स्थल तिन चुल्हालाई मान्ने, शारीरिक बनौट र मुखाकृतिमा एक ख़ास विशेषता बोकेको यस समुदायले आफुलाई यस देशको आदिम पुर्खाको सन्तान मान्नुमा गर्व गर्दछन् ।
यिनै प्रकृति पुजक आदिम जाति किराँत राईहरूले आफ्नो जाति, वंश र समुदायको अस्तित्वको आरम्भ बिन्दु यही ‘खुवालुङ’ लाई मान्ने विश्वास रही आएको छ। यो ‘खुवालुङ’ ढुंगा सुनसरीको बराह क्षेत्र खासगरी सुनसरी, उदयपुर एवम् भोजपुर जिल्लाको सिमानालाई छोई बग्ने अरूण नदिको संगम, त्रिवेणीको मध्य भागमा छ। वर्षायाममा नदिको पानीको सतह उच्च रहने भएकोले खुवालुङ देखिन गाह्रो हुन्छ तर हिँउदमा यसलाई प्रष्ट अवलोकन गर्न सकिन्छ ।
किराँत राई एक बहुभाषिक समुदाय भएकोले यसलाई विभिन्न भाषामा क्रमशः खुवालुङ, वालुँग, सायालुँग, माँगलुँग इत्यादि सम्बोधन गर्ने गरिन्छ। ‘खुवा’ ‘वा’ को शाब्दिक अर्थ ‘पानी’ जनाउछ भने ‘लुङ’ शब्दले ‘ढुंगा’ जनाउछ। यसैगरी ‘साया’, ‘माँग’ शब्दहरूले ‘पवित्र’, ‘देवता’ आदि जनाउने हुनाले यस पवित्र ढुँगालाई उपरोक्त नामले पुकारिन्छ । यसैगरी अन्य भाषिक राईले पनि आफ्नो भाषागत शब्दहरू प्रयोग गरेको पाईन्छ ।
धार्मिक र सांस्कृतिक महत्व
मानव विकासको क्रममा चार किराँती भाईहरूमध्ये तीन भाईहरू यही ‘खुवालुङ’ लाई साक्षी राखी कोशी नदीको तिरैतिर उँभो लागेका हुनाले सुनकोशी, तामाकोशी, दुधकोशी, अरूण, तम्मोर नदीको तिरैतिर किराँत राई, किरात सुनुवार, किरात लिम्बुहरूले बसोबास गर्न थाले र किराँत सभ्यताको विकासमा लागेको तथ्य पाईन्छ । तर, कान्छा भाईले त्यो ‘खुवालुङ’ तर्न नसक्दा उसको बसोबास मधेस तिर रहन गयो र कालान्तरमा थारू, दनुवार आदिको रूपमा वहाँहरूको विकास हुँदै गएको पाईन्छ।
आजको मितिसम्म पनी यस प्रकारको धेरै किंवदन्ती र किराँती लोककथाहरूमा ‘खुवालुङ’ को महिमा जीवित रहेको पाईन्छ। अर्को तर ज्यादै महत्वपूर्ण दृष्टान्त, किराती मुन्धुमभित्र प्रयोग गरिने रिसियाहरूमा यस ‘खुवालुङ’ उच्चारणमा आई रहन्छ। किराँती राई जातिका पुजारीहरू – नाक्छों, धामी, माँगपाहरूले मृत आत्मालाई बाटो लगाउँदा यस ‘खुवालुङ’ को विशेषगरी उल्लेख गरेको पाईन्छ। अर्थात्, नाक्छों, धामीले – तिमी यही खुवालुङलाई प्रवेशद्वार मानी उभो लाग्नु र पितृ पुर्खाहरूले बास बस्ने ठाँउमा गएर बास बस्नु भन्दै मुन्धुमबाट फलाक्दै बाटो लगाउँछन । यही प्रक्रिया विभिन्न भाषिक राईहरूले आ-आफ्नो भाषामा फलाक्ने गर्दछन्। यस अर्थमा ‘खुवालुङ’ त्यो पवित्र स्थल हो जहाँबाट किरात राईहरूको पित्री पुर्खाहरूले आफ्नो बास स्थानलाई पछ्याउदै जान्छन्।
यसथै, हामी सबै यस अभियानमा लागी परौं र खुवालुङ संरक्षणलाई परियोजनाको रूप दिँदै यसको भौतिक संरचनालाई सम्पन्न गर्ने कार्यमा सहभागी बनौं। समय आउँछ, पर्खँदैन भन्ने कुराको हेक्का राख्दै अगाडी बढ़नुको विकल्प छैन – सोची बसे केही हुन्न, लागि परे सफलता अवश्य प्राप्त हुनेछ ।