कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले पहिलेको राजदरवार र अहिलेको नारायणहिटी दरबार संग्रहालयअगाडिको सडकमा यही माघ २३ गते आफ्ना पक्षमा प्रदर्शन र सभा गराउँदैछन् । कतिपय समिक्षक र विश्लेषकहरू यस्तो भेलालाई अर्थहिन र अनुचित ठान्छन् किनभने खड्गप्रसाद ओली झण्डै दुई तिहाई समर्थनसहितको सरकारको प्रधानमन्त्री हुन्। राज्यकोष, सेना, प्रहरी र कर्मचारीलगायतका सबै शक्ति आफैंसँग भएको अवस्थामा एउटा सरकार प्रमुखले आफ्ना समर्थकहरूलाई राजधानीमा उतारेर गफ चुट्नुको के अर्थ?
पत्रकार र मिडियाले आफूलाई राजामहाराजहरूलाई जस्तै ‘हजुर, बक्सियो र गैसियो, खाइसियो’ नलेखेकोमा चित्त दुखाउने गरेका ओलीले आफूले सम्बोधन गर्ने ठाउँ पनि पूर्व राजदरबारअघि अघि छानेका छन् । ओलीले ठाउँ छानेको विषयलाई प्राविधिक विषय मान्न पनि सकिएला तर उनका ओलीका पछिल्ला ‘महावाणी’ र तमासाहरूले ओलीले आफूलाई दक्षिणपन्थी र पुनरुत्थानवादी कमल थापाहरूको विकल्पका रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको प्रतित हुन्छ ।
भौतिकवादी पार्टीको नेताले पशुपतिनाथमा गएर ‘भाकल पुजा’ गरेको विषयमात्रै होइन, बारम्बार चितवनको ठोरीको ‘राम मन्दिर’को विषय उठाएबाट ओली आफ्नो ‘भौतिकवादी र माक्र्सवादी’ वैचारिक धरातलबाट च्युत हुँदै गएको देखिन्छ । हुँदाखाँदाको संसद विघटन गरेका ओलीलाई यो ‘कामचलाउ’को हैसियत जनताले दिएका होइनन् । इतिहासकै चटके र गफाडी प्रधानमन्त्री ठहरिएका यी मनुवाले जनताको सबैभन्दा शक्तिसाली संस्थालाई आफैं ‘विघटन’ को घोषणा गरेर आफ्नो लाचारी र असक्षमता त प्रदर्शन गरेकै छन्।
उल्लेख्य छ, गत माघ ९ गते नेकपाको बहुमत पक्षले संसद विघटनको विरुद्धमा काठमाडौंमा आफ्नो जनशक्ति प्रदर्शन गरेको थियो । त्यस विरोध कार्यक्रमतर्फ संकेत गर्दै सोही दिन काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित आफू पक्षीय भेलामा ओलीले भनेका थिए, ‘रत्नपार्कमा केही मानिस जम्मा भए। हौसिएर भाषण गर्दै थिए । ८–१० हजार मानिस अगाडि देखेर भुँइमा खुट्टै थिएनन्। जनप्रदर्शन कस्तो हुन्छ हामी माघ २३ गते देखाउँछौँ।’
खड्ग ओलीको त्यो अभिव्यक्ति आफैंमा विरोधाभाषपूर्ण छ किनभने जनताले कम्युनिष्ट विचारप्रतिको जनमत चुनावमै देखाएको हो। चुनावमार्फत नै ओली नेतृत्वको सरकारलाई करिब दुई तिहाई जनमत प्राप्त भएको थियो । चुनावले नै कम्युनिष्ट पार्टीको लोकप्रियता देखिएको थियो। त्यो जति महत्वपूर्ण जनशक्ति र जनप्रदर्शन अरु के हुनसक्थ्यो? पार्टीभित्र सहमती र सहकार्य गर्न नसक्ने अनि आफैं जनमतको घाँटी रेट्ने ओलीले जनप्रदर्शन, जनशक्ति र जनमत शव्द रटेको कति नसुहाएको ?
मिडिया र सार्वजनिक सम्वोधनहरूमा ‘संसद पुर्नस्थार्पना हुनै सक्दैन’ भन्दै राज्यकोषको दुरुपयोग गर्दै देश दौडाहामा हिँडेका ओलीले सरकारकै पक्षमा आफ्ना समर्थक उतार्नुका प्रमुख दुई कारण हुनसक्छन् :
एउटा, बाहिर संसद पुर्नस्र्थापना हुनै सक्दैन भनेर जति नै रटान लगाएपनि ओलीलाई आफ्नो असंवैधानिक कदमलाई सर्वोच्चले ढाकछोप गर्छ÷सकार्छ भन्ने कुरामा शंका छ । किनकि उनी आफैंले अदालतमा बुझाएको जवाफ चित्तुबझ्दो छैन । आफ्नो कदमलाई उनले ‘राजनैतिक’ बताएबाटै ओलीको कदम असंवैधानिक भएको प्रष्ट छ । ओलीले गरेको विघटनलाई यो संविधानले कतैबाट पनि जायज देख्दैन। यसकारण, जसरी नेकपाको बहुमत पक्ष अदालतप्रति आश्वस्त हुन नसकेर जनता सडकमा उतारेर अदालतलाई खबरदारी गर्दैछ, उसैगरी, खड्ग ओली पनि मेरा पक्षमा पनि जनता छन् भनेर अदालतलाई देखाउन चाहन्छन्। मसँग पनि केही मान्छे छन् भनेर उनी अदालतलाई देखाउन चाहन्छन्।
दोस्रो, संसद पुर्नस्र्थापना भयो भने वैधानिक रूपमा नेकपा फुटेको ठहरिन्नँ। तर संसद पुर्नस्थापना हुँदा खड्गप्रसाद ओलीलाई त्यही पार्टीमा रहेर राजनीति गर्न सम्भव हुनेछैन। उनीसँग मूल नेकपामा रहने नैतिक बल रहनेछैन र नेकपाले त उनलाई सकार्ने छैन। प्रष्ट छ, संसद पुर्नस्थापना भयो भने अहिले ओली पक्षमा रहेका कैयौं नेता कार्यकर्ताहरू आफ्नो राजनीतिक भविष्य जोगाउनकै लागि पनि मूल नेकपामा फर्कनेछन् ।
तर खड्गप्रसाद ओलीका लागि त्यो विकल्प नहुने भएका कारण उनी संसद पुर्नस्थार्पना नै भएपनि, पार्टी एकिकृत भएनै पनि उनले नेकपालाई फुटाउने प्रयास गर्नेछन् । त्यस्तो अवस्थामा राजनीतिक रूपमा बाँच्नका लागि अन्तिम प्रयास गर्नेछन्। त्यसका लागि, अहिले सत्तामै रहँदा आफूले केही मान्छे काठमाडौं उतार्न सके, त्यसको भोलि केही अर्थ रहन सक्ने ठानेर ओलीले यो भेला आयोजना गर्न लागेका हुनसक्छन्।
खड्ग ओलीले प्रधानमन्त्री हुनुपूर्व र भएपछि पनि नेपाली जनतालाई धेरै उडन्ते सपना देखाए । तर एउटै पनि सपना र वाचा पूरा भएनन् । यस्तो अवस्थामा दरबारमार्गको सभा कुनै ठूलै आविस्कार या उद्घाटनका लागि गरिएको भए पनि त्यसलाई उचितै मान्नुपथ्र्यो । तर अदालतसँग याचना गरेर बसेका ओलीसँग उद्घाटन र शिलान्यासका लागि यतिखेर पशुपति र ठोरीका राम मन्दिरमात्र बाँकी छन् । जनताका सपना त पुष पाँचमै हत्या भइसकेका छन्। कम्युनिष्ट सरकारले गजबै गर्ला, मुलुकमा स्थायित्व छाउला र हामीले मुलुकमै केही गर्न सकिएला भन्ने आम जनसपना र आकांक्षाको ज्यान लिईसकिएको छ। सपना बौराउन सहज हुन्न। यसर्थ, यस्तो अवस्थामा ओलीले गर्ने सभा र जुलुस केवल ‘सपनाको शवयात्रा’ भन्दा बढी ठहरिने छैन।
Twitter: @prakashaasthaa