Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फाइदा हुन्छ भने नेताहरू पार्टीको आइडोलोजी नै साट्न तयार छन्

गणतन्त्र ल्याउने कुरा बयलगाडा चढेर अमेरिका जानु जस्तै हो’ भन्ने केपी ओली र दक्षिणपन्थी कमल थापाबीच त्यतिखेर देखि नै त साँठगाँठ थिएन? हालको ती दुईबीचको सहकार्यको कारणले यो प्रश्नको उत्तर खोज्छ। संविधान जारी गर्दाताकाका उपप्रधानमन्त्री कमल थापाले बोलेका थिए 'हामी लामै यात्रा गर्न सक्छौँ’' … ‘म खाली उपप्रधानमन्त्री मात्रै हुन आएको होइन।’ उनले बोलेको सो रेकर्ड अहिले पनि पाउन सकिन्छ।

nepal_readers nepal_readers
बैशाख ७, २०७९
- अन्तर्वार्ता, राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्थानीय चुना नजिकिँदै गर्दा नेपालमा दक्षिणपन्थी शक्तिहरू सक्रिय भएको जस्तो देखिन्छ। तर यो सत्ताको दौडमात्रै हो। यस्तो खास अवशरमा सत्ता प्राप्तिका लागि सबै शक्ति र व्यक्तिहरू सक्रिय हुने भए नै। सत्तामा पुगेकाहरू के गर्दा आफ्नो सत्ता सुरक्षित हुन्छ भनेर र सत्तामा नपुगेकाहरूचाहिँ कसरी सत्तामा पुग्न सकिन्छ भनेर प्रयत्न गर्ने बेला हो यो।

    त्यसै कारण कहिलेकाहीँ ‘चुनाव नै पनि किन आवश्यक छ’ झैँ लाग्छ मलाई। घुमिफिरी तिनै मान्छेहरू शक्तिमा आएका छन्। त्यसले गर्दा आम मान्छेभित्र निराशा छाएको छ। उसो त एउटै चुनाव या एउटा घटनाबाट इतिहास बन्दैन। इतिहास त आफैँमा एउटा लामो प्रक्रिया हो। इतिहास निर्माण र ठोस उपलब्धिहरू हासिल गर्न समय चाहिन्छ। अहिलेको अवस्थामा हामीले कत्तिको ठिक गरिरहेका छौँ वा बेठिक भन्ने कुरा जान्नका लागि अर्को ५० वर्षपछि आजको इतिहास कसरी लेखिन्छ भन्ने कुरा महत्वपूर्ण होला। तर हामीले आज राम्रोसँग ट्रयाक समाउन नसकिरहेको कुरा भने सत्य हो।

    लोसे हिँडाइ

    गएको ७०–७५ वर्ष नेपालको राजनीतिलाई हेर्दा, हामीले कतिपय सैद्धान्तिक द्वन्द्वहरूलाई छिचोलेर अघि बढ्न सकेका छौँजस्तो भने लाग्दैन। २००७ सालपछि हामी पार्टी राजनीति या आधुनिक राजनीतिमा प्रवेश गर्‍यौँ। र, त्यसमा अनेकौँ विचारहरू आए। विचारको चुरोमा दुईवटा विचारको प्रमुख रूपमा द्वन्द्व रहयो। कांग्रेस र कम्युनिष्टको सैद्धान्तिक द्वन्द्व रह्यो। र, ख्याल गर्नुपर्ने कुरा छ कि दुवै शक्ति प्रगतिशील र अग्रगामी दृष्टिकोण बोक्ने राजनीतिक शक्ति नै हुन्। तर यिनीहरूका बीचमा एउटा प्रतिस्पर्धा भन्दा पनि द्वन्द्वात्मक स्थिति रह्यो।

    सिद्धान्तमा कहिलेकाहीँ आधारभूत भिन्नता देखा परे पनि कतिपय परिस्थितिमा यी दुई शक्तिहरूबीच सहयात्रा भएको देखिन्छ। सात सालको राणा शासनविरुद्धको क्रान्तिमा त्यतिखेर भर्खरै बनेको नेपाल कम्युनिष्ट पार्टी सहभागी भएको थियो। आन्दोलनको नेतृत्व कांग्रेसको थियो तर कतिपय कम्युनिष्ट कार्यकर्ता त्यस आन्दोलनमा थिए। कतिपय कम्युनिष्टहरू व्यक्तिगत रुपमा समेत त्यस विद्रोहमा संलग्न थिए। विभिन्न घटनाले त्यसको पुष्टि गर्छ।

    १५ सालको चुनावमा कम्युनिष्टहरूले भाग लिए। पछि संसदीय प्रणाली खारेज गरिएपछि त्यसमा कम्युनिष्ट पार्टीको पनि असहमति रह्यो। बीचमा कम्युनिष्ट पार्टीभित्रै वैचारिक द्वन्द्वहरू निर्माण भए। त्यसपछि जनमत संग्रहमा जाने या नजाने विषयमा कम्युनिष्टहरूबीच द्वन्द्व बढ्यो। फेरि २०४६ सालको जनआन्दोलनमा कांग्रेस र कम्युनिष्ट सँगै रहे। चुनावमार्फत सरकारमै पुगे। विगतमा ‘संसदीय प्रणाली सही होइन’ भन्नेहरू पनि संसदमै आइपुगे।

    २०४८ सालको चुनावमा संयुक्त जनमोर्चाले भाग लियो। पछि यही संयुक्त जनमोर्चाको एक धारले माओवादी जनयुद्ध चलायो। राष्ट्रिय जनमोर्चाका मोहनविक्रम सिंहहरू त्यस युद्धको विषयमा असहमत भए। पछि त जनमोर्चामै विभाजन आयो। एकतिरका बन्दुक बोकेर हिँडे, अर्को थरी जो खुला राजनीति गरिरहे, तिनको खासै अस्तित्व रहेन। त्यसो हुँदा कम्युनिष्ट आन्दोलनभित्रै पनि अनेक द्वन्द्व देखिन्छ। सत्ता प्राप्तिपछि अन्य पार्टीमा मात्रै होइन, सबैमा विचलनहरू आए।

    दक्षिणपन्थ र धार्मिक सेन्टिमेन्ट
    यतिखेर दक्षिणपन्थी पार्टीहरूको त कुरा गरेरै अर्थ छैन। जस्तैः राप्रपाको कुरा गर्ने हो भने पञ्चायत त ढलिसक्यो। हिजो पञ्चायतमा राजनीति गरेकाहरूलाई कहीँ न कहीँ त राजनीति गर्ने बाटो चाहिएर राप्रपा बनेको हो। ४८ सालपछिका चुनाव हेर्नुभयो भने राप्रपाले झण्डै पपुलर भोटको २० प्रतिशत भोटको प्रतिनिधित्व गरेको छ। तर उ आफैँ पनि विभाजित भइरहन्छ। तर एकत्रित भएर आउँदा झण्डैझण्डै तेस्रो शक्तिका रूपमा पनि देखिएको हो उ।

    तर आजका दिनमा कुनै धार्मिक चिह्‍न  नै देखेर हिन्दु आस्थाका मान्छेहरूले खुरुक्क भोट हाल्छन् भन्ने कुरा म पत्याउँदिन। यो त गैरराजनीतिक सोच हो। दोस्रो संविधान सभामा गाई चिह्न को प्रयोग गरेर राप्रपा नेपालले भोट ल्यायो भनिन्छ तर उसले सिट बढी ल्याउनुका अरु पनि कारण छन्। जस्तोकि: पहिलो संविधानसभाको असफलता तथा कांग्रेस, एमाले र माओवादीका नेतृत्वको कमजोरीले मान्छेहरू निराश भएर आएको भोट हो त्यो।

    अर्को कुरा, जे भएपनि हिजोका पञ्चायत समर्थकहरूको मत अझै पनि बाँकी छ। र, उतिखेर गाई चिह्नमा कमल थापाले समानुपातिकमा मत पाएका हुन्। त्यसले देशभरीको पपुलर बेस देखाउँछ। तर कमल थापा र लिङ्देनमध्ये कसले भोट तान्ने भन्नेबारे पनि त्यहाँ द्वन्द्व छ। यसबाट के कुरा पनि बुझिन्छ भने आज हरेकजसो पार्टीमा संगठन र विचार होइन, व्यक्तिको व्यवस्थापनको कुरा छ।

    हिजो माओवादी र एमाले मिलेर पार्टी एकिकरण हुँदा पनि व्यक्तिकै एड्जस्टमेन्टको संकट भयो। किनकि आज पनि एमाले र माओवादीबीच कुनै सैद्धान्तिक असहमति छैन। कसको ठाउँ कति भन्नेमा मात्रै विवाद हो त्यहाँ। त्यहाँ संगठनको माध्यमबाट कुनै समस्याको समाधान हुने गरेको पनि छैन। संगठन पनि भागबण्डामै बनेको छ।

    एमाले र माओवादीबीच पहिला ६०/४० को भागबण्डा भयो। एमालेभित्रको ६० को भागबण्डाभित्र पनि माधव नेपाल र वामदेव गौतमलाई भाग दिनुपर्ने भयो। अहिले राप्रपामा पनि त्यही समस्या छ। बरु कांग्रेस त्यस हिसाबबाट तुलनात्मक रुपमा अरुभन्दा अलि सुरक्षित ठाउँमा देखिन्छ। तर त्यसको पनि नेतृत्वका विषयलाई लिएर समस्या छन्। अहिले भने अलि मत्थर भएको छ। यसरी नेपालका दलहरूमा धेरै डरलाग्दो रोग बसेको छ। चुनावमात्रै लाभका पदहरूमा समेत ‘मेरो भागमा यति हुनुपर्छ’ भनेर भागबण्डा गरिन्छ। हिजो एमालेमा पनि त्यही भएको हो।

    अस्तित्व जोगाउने कुरा
    राप्रपा त आफैँमा पार्टी नै बन्न सकिरहेको छैन। ७० वर्षभन्दा लामो इतिहास बोकेका कांग्रेस र कम्युनिष्ट पार्टीहरू त आफैँमा युनिभर्सल आइडोलोजी बोकेका पार्टी हुन्। राप्रपाको त के नै आइडोलोजी छ र? केही व्यक्तिहरूले अहिलेको परिवर्तित सन्दर्भमा राप्रपाका नाममा आफ्नो ठाउँ खोजेका मात्र हुन्। त्यहाँ सिद्धान्तका कुराभन्दा पनि कसरी टिकिरहने भन्ने विषय मुख्य हो। कमल थापालाई राजनीति जारी राख्नुपरेको छ। किनकि राजेन्द्र लिङदेन पार्टी अध्यक्षमा चुनिएपछि थापाको ठाउँ त्यस पार्टीमा रहेन। फेरि पुरानो राप्रपा नेपाललाई व्यूँताएर अस्तित्व खोज्न सुरु गरे। अब उनी एमालेको सूर्य चिह्नमा भोट मागेर आफ्नो अस्तित्व जोगाउन लागि परेका छन्।

    राप्रपाजस्ता पार्टीले चुनावमा धर्मको सेन्टिमेन्टलाई प्रयोग गर्ने कुरालाई म गम्भीर रूपमा लिन्नँ। उसले गाई चिह्न  राखोस् वा गाईको पूजा नै गरेर भोट मागोस्, त्यसको ठूलो प्रभाव रहँदैन। तर धार्मिक सेन्टिमेन्ट बेच्ने कुरामा अहिले कुनचाहिँ नेता चोखा छन् र? उनीहरू पूरै दिन माला र टिका लगाएर हिँडेकै छन्। हिन्दू संस्कृतिमा टिका र मालाको विशेष अर्थ छ। र, माला केवल स्वागतको कुरा मात्रै होइन। फेरि घाँटीभरी नै माला किन लगाउनुपर्छ? जोगीका वरपर हिँड्ने र जोगीको आश्रम उद्घाटनमा नदौडने नेता को छन् र आज?

    भोटको आस
    चुनावमा पार्टीहरू कमजोर मानसिकतामा रहेका हुन्छन्। धर्मको कार्ड देखाउँदा भोट बढ्छ कि पार्टीको कार्ड देखाउँदा बढ्छ या कहिलेकाहीँ हिंसाको त्रास देखाउँदा पो बढ्छ कि भन्दै पार्टीहरू जस्तोसुकै हथकण्डा प्रयोग गर्न खोज्छन्। पार्टीहरू आफ्नो मूल मिसनमा विचलित भएका छैनन् भने हामीले धेरै चिन्ता गर्नुपर्ने देखिँदैन। तर आज पार्टीहरूसँग कुनै मिसन नै भएन। मिसन केवल सत्ता भयो। सत्ता त एउटा माध्यम पो हो। यो त लक्ष्य होइन।

    नेपालमा चिन्तनको पनि कमजोरी भइरहेको छ। यहाँ कम्युनिष्ट पार्टी छन्, समाजवादीहरू छन्, मार्क्सको प्रभाव पनि छ। भारतमा जयप्रकाश नारायण मार्क्सवादी नै थिए। तर उनले पछि गएर मार्क्सवादलाई भारतको समाजको सन्दर्भमा विश्लेषण गर्न खोजे। भारतमा थुप्रै खालका विभेदहरू छन्। त्यसैले मार्क्सको विचारमा भारतको प्रतिनिधित्व हुन सक्छ कि सक्दैन भनेर विश्लेषण गरियो। मार्क्सवादी चिन्तनसँग उनीहरू असहमत हुनुपर्ने कारण छैन। तर मार्क्सवादको नाममा एउटा पार्टीको सत्ता, एउटा गिरोह र समूहको सत्तासँग असहमत हुन सकिन्छ।

    नेपालको सन्दर्भमा मलाई अहिले मार्क्सवादी चिन्तन र कम्युनिष्ट पार्टीको सम्बन्ध कहीँ कतै छन् जस्तो लाग्दैन। कम्युनिष्ट पार्टी त सत्ता प्राप्तिको साधन मात्रै भयो। सत्ताका लागि पोलिटव्युरोको एउटा सानो ग्रुपले कब्जा गरेको छ। अहिले त त्यसमा ४/५ जना छन्। र, त्यहाँ जसले सक्छ, तिनैले पार्टी कब्जा गर्छन्। मार्क्सवादी चिन्तन अहिले पनि विश्वव्यापी रुपमा चलिरहेको छ। तर अहिलेको शक्तिको राजनीति र मार्क्सवादबीच कुनै सम्बन्ध देखिँदैन। यहाँ त कम्युनिष्ट पार्टीले मार्क्सवादलाई उपयोग मात्रै गरिरहेका छन्। तर यिनीहरू मार्क्सवादी होइनन्। कम्युनिष्ट पार्टीले मार्क्सवादलाई उहिल्यै छोडिसक्यो। लेनिनले सत्ता लिनेबित्तिकै कम्युनिष्ट पार्टी शक्तिको राजनीतिमा गयो। त्यहीबाट गडबड सुरु भएको ठान्छु म।

    भारतमा कतिपयले आफ्नो पृष्ठभूमिमा पार्टी समेत चाहिँदैन भन्ने खालको विचार राख्छन्। कतिले त मार्क्स र गान्धीको संयोजनको कुरा पनि गर्छन्। जय प्रकाशले त्यही गरे। तर हामीकहाँ केवल सत्तामात्र केन्द्रमा रह्यो। हाम्रोमा पनि त्यत्रो ठूलो इतिहास बोकेका नेताहरू छन्। एउटै नेताले तीन वा चारवटासम्म संघर्ष गरेको इतिहास छ। उनीहरूले एकछिन समाजमा गएर सोच्नु पर्दैन? सधैँभरी कुर्सीका लागि मात्रै संघर्ष गर्ने हो त? सत्ताबाट केही समय विदा लिएर भएपनि उनीहरूले समाजको विषयमा सोच्नुपर्ने हो नि। सत्ता छाडेर हिजोका दिनमा आफू प्रधानमन्त्री हुँदा वा नेतृत्वमा बस्दा समाजले केही पायो कि पाएन भनेर समीक्षा गर्नुहुँदैन उहाँहरूले? वा, समानान्तर रुपमा अभियानहरू चलाउँदा हुँदैन?

    समाजका कतिपय खराबीलाई कानुन बनाएर, राज्यले निर्णय गरेर पुलिसको डण्डा चलाएर मात्रै परिवर्तन हुँदैन। समाज परिवर्तनका लागि समाजमै बसेर पनि काम गर्नुपर्दछ। तर सामाजिक रुपान्तरणका लागि समाजमै बसेर काम गर्ने मान्छे नेपालमा कोही भएनन्। त्यसैले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादी लगायतका दलको गठबन्धन नै किन आवश्यक छ भन्ने प्रश्न छ मेरो। म त पार्टी नै चाहिँदैन भन्छु स्थानीय चुनावमा त।

    त्रुटी
    स्मरण रहोस्, हामीले केही संरचनागत त्रुटि गरिसकेका छौँ। हाम्रो दृष्टिकोण गलत भइरहेको छ। स्थानीय संरचनालाई हामीले ७ सयमा झरेर ठूलो बहादुरी गर्‍यौं भन्ठानेका छौं। तर समुदायस्तरमा सम्बन्ध भएको स्थानीय सरकार कहाँ छ ? त्यस्तो सरकार त काहीँ छैन। स्थानीय तहमा हिजो पनि पार्टीले नै चुनाव लडेको थियो। बरु हिजोका दिनमा गाउँकै मान्छे अध्यक्ष, वडाध्यक्ष भएको थियो होला। वा, एउटै समुदाय भित्रको अध्यक्ष हुन्थ्यो। आज स्थानीय तह जितेर आउने मान्छे पार्टीको हाइ प्रोफाइलमा हुन्छ। अनि स्थानीय सरकार सञ्चालन गर्छ प्रशासन अधिकृतले। उ सिंहदरबारको मुख्य सचिवजस्तो भएर त्यहाँ बस्छ। स्थानीय तहमा लोकल गभर्मेन्टको ‘एल’ नै हराएको छ।

    यस्तो खालको संरचना कुन दिमागले बनायो, थाहा छैन। म पनि जीवनभर राज्य र समाजको सम्बन्धका बारेमा अध्ययन गरेर बसिरहेको मान्छे हुँ। तर कसैसँग सरोकार नराखी यस्तो संरचना बनाइयो। यस बारेमा मैले सरोकारवालाहरूसँग जिज्ञासा राख्दा ‘आधारभूत संरचना धेरैमा पुर्‍याउनका लागि धेरैमा बाँडेर कहाँ हुन्छ त?’ भनियो। उनीहरूले अहिलेको सात सय ५३ पालिका नै धेरै भयो भनेर उत्तर दिए। यदि त्यसो हो भने एउटै सिंहदरबारबाट शासन चलाएको भए भइहाल्थ्यो नि ! किन चाहियो यस्तो स्थानीय तह? केका आधारमा स्थानीय जनतालाई शसक्त बनाउने भन्नेबारे हामीसँग सोच नै भएन। स्थानीय संरचनामा राजनीतिक सोच चाहिन्छ कि चाहिँदैन? कर्मचारीको सोचले मात्रै हुन्छ? आफ्नो अनुकुल भयो भन्दैमा कर्मचारीतन्त्रको मान्छेलाई मात्रै जिम्मा दिएर हुन्छ?

    तर प्रणाली आवश्यक छ
    तर यस संवैधानिक प्रणालीमा धेरै असहमति राख्ने शक्तिहरू फेरि यसैमा आउन वाध्य छन्। यो संविधान हुँदै हुँदैन भनेर कालो दिवस मनाउनेहरू समेत अहिले यही प्रक्रियाभित्र छन्। विभिन्न सिद्धान्त तथा विचार बोक्ने पार्टीहरूका लागि यसै प्रणालीभित्र आफ्नो बाटो लिएर अगाडि बढ्ने ठाउँ छ। यति भइसकेपछि म यसलाई स्थायित्व मान्छु। यो स्थायित्वमा तपाईंले अब समाजमा समानान्तर रूपमा गतिविधि चलाउन सक्नुपर्छ। राज्यको पदमात्रै खोजेर चाहिँ हुँदैन। राज्यको सत्तामात्रै खोजेर हुँदैन।

    अहिलेका गठबन्धनमा दशतिर फर्केका अनुहार होलान्। एमालेकै उदाहरण लिउँ न, कमल थापाहरुले सूर्य चिह्नमा चुनाव लड्ने भइसकेपछि कमल थापा एमाले भएको हो कि उनको छुट्टै पार्टी छ भन्नेमा अलमल हुने भयो। सूर्य चिह्नमै लड्ने भएपछि कानूनी भाषामा कमल थापा एमाले नै हुन्। यस विषयमा निर्वाचन आयोगले केही दिन पहिले भनिसक्यो, ‘हामी सूर्य चिह्नलाई मात्रै चिन्छौँ।’

    त्यसो हुँदा जनताले त हिजो ‘गणतन्त्र ल्याउने कुरा बयलगाडा चढेर अमेरिका जान्छु भनेजस्तै हो’ भन्ने केपी ओली र दक्षिणपन्थी कमल थापाको त्यतिखेर देखिकै साँठगाँठ त होइन भनेर पनि सोच्ने भए। एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाको पार्टीमात्रको सहकार्यको कारण यसो पनि हुनसक्छ। आफ्नो पार्टीको चुनाव चिहनबाट लड्दा आफ्ना भोटरहरूहरूले भोट हाल्दैन र सुर्य चिह्न नै लिएपछि त ढुक्कै भयो भनेर थापा आएका हुनसक्छन्।

    अघिल्लो पटक पनि ‘पार्टी एकिकरणको समेत सम्भावनाका कुरा भएका हुन्। हामी लामै यात्रा गर्न सक्छौँ’ भनेर अघिल्लो पटक संविधान जारी गर्दाताका कमल थापा उपप्रधानमन्त्री भएका बेला स्वयं कमल थापाले बोलेको सो रेकर्ड अहिले पनि उपलब्ध छ। कमल थापाले उतिखेर यसो पनि भनेका थिए, ‘म खाली उपप्रधानमन्त्री मात्रै हुन आएको होइन।’

    यहाँ मैले भन्न खोजेको कुरा, हाम्रो प्रणालिमा ज्यादा पार्टीकरण भयो। पार्टीभन्दा बाहिर स्पेस नै नराख्ने अभ्यास भयो। संसद र संसदीय चुनावको विषयमा त कुरा बेग्लै हुन्थ्यो होला। पार्टीभन्दा बािहरको स्पेस पनि चाहिन्छ। प्रक्रियाको निरन्तरताका हिसाबबाट मेरो कुनै गुनासो छैन। चुनाव हुनु अनिवार्य छ। तर अहिलेका पात्रहरूबाट चाहिँ म कुनै आश गर्दिनँ।

    निरपेक्षता
    जहाँसम्म नेपालमा दक्षिणपन्थी र धार्मिकहरूको प्रभावको कुरो छ, भारतीय राजनीतिबाटै त्यो नेपालमा भित्रिएको हो। यस मामलामा हामी मुक्त सकेका छैनौँ। कहिले बढी त कहिले कम देखिने गरी यहाँ भारतीय प्रभाव परिरहेकै छ। भारत एक प्रकारले हाम्रो आन्तरिक राजनीतिको एउटा ‘प्लेयर’ नै भएर बसेको छ। पछिल्लो समयमा भाजपाको दृष्टिकोण र मान्यताको प्रभाव बढेकोमा शंका गर्ने ठाउँहरू छन्। पहिलेको राजनीतिमा पनि धर्म निरपेक्ष आदर्शको प्रभाव थियो। नेपाली कांग्रेसको भारतीय समाजवादीहरूसँग सम्बन्ध थियो, भारतीय राष्ट्रिय कांग्रेससँग पनि सम्बन्ध थियो भने भारतीय कम्युनिष्ट पार्टीहरूसँग पनि सम्बन्ध थियो।

    जहाँसम्म हिन्दुत्वको कुरा छ, यो त कुनै ‘आइडोलोजी’ नै होइन। यो त एउटा विश्वास मात्र हो। वि. सं. २०१५ सालमा र ४८ सालमा पनि यहाँको राजनीतिमा भारतीय जनता पार्टीको प्रत्यक्ष प्रभाव देखिँदैन। उतिखेर उसको सोझै राजासँग सम्बन्ध हुन्थ्यो। हिन्दु मठवालाहरू सोझै दरबारसँग सम्बन्ध राख्थे। हिन्दु कार्यक्रम भन्दै यहाँका राजालाई भारत बोलाएर लैजान्थे। ०१७ सालको घटनापछि पनि राजा महेन्द्र हिन्दु महासभाको कार्यक्रममा पुगेका थिए।

    पछि विरेन्द्र राजा भइसकेपछि दुई देशबीचमा केही समस्या थिए। बिपि कोइराला मेलमिलापको नीति लिएर नेपाल आउँदा उता इन्दिरा गान्धीको शासन हट्दै थियो। विस्तारै पार्टी पावरमा आउँदै थियो, उता जनता पार्टीले बिपिहरूको रिहाईको लागि अभियान चलाउन थाले। विरेन्द्र दौडेर उता हिन्दुहरूको कार्यक्रममा पनि पुगे। राजासँग त्यो खालको सम्पर्क थियो भने राजनीतिक पार्टीहरूसँग त्यति सम्पर्क थिएन।

    भाजपाले वा हिन्दु संघवालाले नेपालको पार्टी राजनीतिमा खासै प्रभाव जमाउन सकेका थिएनन्। तर गएको ५/७ वर्षदेखि भारतमा भाजपा सत्तामा छ। त्यसैले यहाँको राजनीतिमा पनि उसको प्रभाव स्वभाविक रुपमा देखिने नै भयो। अहिले यसको प्रभाव नेपाली कांग्रेस र एमालेमा पनि देखिन्छ। केपी ओली स्वयं त्यस्ता एजेण्डा बोकिरहेका छन्। राम र अयोध्याको कथा के हो? उनले माडीलाई मिनी अयोध्या बनाउन लागेको होइनन्?

    ओली प्रधानमन्त्री हुँदा उनले जी न्युजलाई दिएको अन्तरवार्ता मैले धेरै धैर्यताका साथ हेरेँ। एक घन्टासम्म धैर्य गरेर हेरेको त्यस अन्तर्वार्तामा कुनै तर्क भेटिनँ। नेपालमा रामको जन्म लगायतका कुरा त कल्पनाका खेती हुन्। एकप्रकारले हिन्दुत्वको अभ्यास केपी ओलीको समयमा भइसकेको थियो। तर यो सबै कृत्य भोटका लागि हो। कांग्रेसमा शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा पार्टीमा प्रस्ताव नै लगे। यस विषयमा माओवादीले खुलेरै त बोल्दैन, तर उसका व्यवहार हेर्दा उसँग पनि सकारात्मक अपेक्षा गर्ने ठाउँ छैन।

    धर्म निरपेक्षता भनेको ‘स्टारफिट माइन्ड’ हो। धर्म निरपेक्षताको विचार नै विश्वासविरुद्ध विज्ञानलाई प्रवेश गराउनका लागि आएको हो। आस्थाले त प्रश्न गर्न दिँदैन। विज्ञानले त प्रश्न गर्छ। प्रश्न नगरी विज्ञान नै बन्दैन। त्यसकारण धर्म निरपेक्षता भन्ने शब्द मात्रै महत्वपूर्ण होइन। यो शब्द विज्ञानसँगको गन्धबाट आएको हो। त्यसैले राज्य चलाउन र राजनीति चलाउनका लागि आस्थालाई प्रयोग नगरौँ भन्ने सन्दर्भमा नै धर्म निरपेक्षताको उपयोग भएको हो। यो धर्म विरोधी कुरा पनि होइन। धर्म एउटा निजी विषय हो। तपाइँ व्यक्तिगत रुपमा भित्र कोठामा पूजा गर्नुहुन्छ भने गर्नुस्। तर त्यसलाई सार्वजनिक रूपमा लिएर त्यसको आधारमा जनपरिचालन गर्न भएन। त्यो गलत अभ्यास हो।किनभने सबैको विश्वास फरक–फरक छ। विश्वास फरक भएको अर्को मानिसलाई तपाईँको विचार लाद्न मिल्दैन। तर नेपालमा प्रश्न गरिन्छ, ‘हिन्दु वर्चश्व भएको देशलाई किन हिन्दू राज्य घोषणा नगर्ने?’ गलत कुरामा बहुमत छ भन्दैमा त्यसको पक्षमा लाग्ने कुरा हुन्छ? यदि बहुमतले सूर्यले नै पृथ्वी घुम्छ भन्यो भने तपाईं त्यो कुरा मान्नुहुन्छ? यो त अवैज्ञानिक कुरा हो। त्यसकारण सत्यको पक्षमा यदि कोही एक्लै छ भने पनि उसले सत्यकै अडान लिन सक्नुपर्छ। सत्यलाई विश्वासका कारण नकार्नु हुँदैन।

    इतिहास र भोट
    यहाँ जनमत संग्रहको कुरा आइरहन्छ, विश्वासमाथि पनि जनमत संग्रह हुन्छ? विश्वासमाथि कहीँ पनि जनमत संग्रह गरिँदैन। कुनै पनि विषय वा नीतिमा जनमत संग्रह गर्न सकिन्छ। तर विश्वासमा गरिँदैन। धर्म र विश्वासका नाममा संसारमा दंगा किन हुन्छ? हामीकहाँ धर्मको मुद्दा विश्वासमा परिणत भइसकेको छैन। यो त केही निश्चित पार्टीहरूका लागि भोट बटुल्ने हतियार बन्न थालेको छ।

    नेपालको राजनीतिमा भाजपाको आफ्नो चाहना वा केही स्वार्थ होला। तर अब राजतन्त्र फालेर गणतन्त्र स्थापना भइसकेको मुलुकमा हामीले ज्ञानेन्द्र शाहहरूको हामीले चिन्ता लिइरहनुपर्दैन। त्यो कुनै शक्ति नै होइन। अब जति कराएपनि नेपालमा राजतन्त्र फर्किने होइन। एकदिन मैले कमल थापासँग सोधेको पनि थिएँ, ‘अब पनि राजतन्त्रको मुद्दा बोकेर के गर्न खोजेको?’ उनले आफूहरूसँग अरु कुनै मुद्दा नभएको कुरा गरे। अब अहिले आएर उनले स्वार्थ नमिलेपछि राजतन्त्रको मुद्दा नै छाडिदिए।

    त्यसो हुँदा आजको दिनमा कांग्रेस या कम्युनिष्ट पार्टीमा भाजपाले प्रभाव जमाउन सक्यो भने मात्रै उसको स्वार्थ सिद्ध हुन सक्ला। तर भाजपाले अब राप्रपालाई बोकेर आफ्नो काम गर्न सम्भव छैन। तर के ‘रामनाम’ जप्दै हिँड्ने कम्युनिष्ट पार्टी बनाउने हो नेपालका कम्युनिष्टहरूले आजको युगमा? यो त कम्युनिष्ट मिसन होइन नि ! यता, कांग्रेसको त्यत्रो ठूलो इतिहास छ। पञ्चायतकालमै बिपि कोइराला एक्लैले ‘हिन्दु राज्य भनेको फ्रड हो’ भनेका छन्। विक्ली मिरर भन्ने पत्रिकामा उनले अन्तरवार्ता दिँदै त्यसो भनेका हुन्। अहिले पनि त्यो रेकर्ड खोज्ने हो भने भेटिन्छ।

    त्यो इतिहास बोकेको हो, कांग्रेस। त्यसैले अहिले कांग्रेसमा समेत धर्मको एजेण्डा देखिनु भनेको भोटको राजनीति मात्रै हो। यसबाट ‘नेताहरू अवसरवादी हुन्छन्’ भन्ने कुरा थप प्रष्ट पारिदियो। ‘नेताहरू फाइदा हुन्छ भने पार्टीको आइडोलोजी नै साट्न तयार छन् भने तिनले के बाँकी राख्लान्’ भन्ने कुरा स्थापित हुँदै गयो। यो कुरा गलत छ।

    यो पनि-

    चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    भिडियो –

    नेपाल रिडर्सका लागि प्रकाश अजातले प्राध्यापक खनालसँग गरेको कुराकानीको पहिलो भाग।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.