अब भारतीय पार्टीको विजयवाडा कँग्रेसका सम्बन्धमा विचार गरौँ। यो भारतीय कम्युनिष्ट पार्टीको छैठौँ कँग्रेस थियो। यो कँग्रेसको आयोजना पनि १९६१ अप्रिल ७–१२ ता. मा भएको थियो। चीनी कम्युनिष्ट पार्टीको नेतृत्वद्वारा भारतमाथि आक्रमण र भारतीय कम्युनिष्ट पार्टीको केन्द्रिय नेतृत्वको विरोधमा पार्टी भित्रका वामपन्थी संकीर्णतावादी–रुढीवादीहरूद्वारा गरिने आक्रमणको पृष्ठभूमिमा यस अधिवेशनको आयोजना गरिएको थियो। तपाईहरूले विचार गर्नुस् – हामी कहाँको दरभङ्गा प्लेनमको अवधि र विजयवाडा कँग्रेसको अवधि एउटै छ।
दरभङ्गा प्लेनम पनि १९६१ को अप्रिलको महिनामा नै भएको थियो। पृष्ठभूमिमा हाम्रा देशमा राजाले नवनिर्वाचित प्रजातान्त्रिक सरकारलाई अपदस्त गरेका थिए । त्यसको विरुद्ध प्रजातन्त्रको पुनःस्थापना गर्न पार्टीलाई एकजुट गरेर देशका प्रजातान्त्रिक शक्तिहरूसँग मोर्चा बन्दी गरी व्यापक जनआन्दोलन उठाउने बेला पार्टी भित्र केन्द्रिय नेतृत्वको विरुद्ध मोर्चाबन्दी गरेर पार्टी फुटाउने दिशातिर संकीर्णतावादी रुढीवादीहरू लागेका थिए भने चीनी आक्रमण विरुद्ध देशमा व्यापक एकता सिर्जना गर्ने तर्फ लाग्ने बेला केन्द्रिय नेतृत्वको खिलाफ भारतीय वामपन्थी संकीर्णतावादीहरू केन्द्रिय नेतृत्वको विरुद्ध विद्रोह आयोजना गर्न लागेका थिए।
तर यो वास्तविकता तुलसीलालजीलाई थाहा नभएर यसलाई अनुकरणीय मानेर उदाहरण रुपमा प्रस्तुत गर्नु भएको हो वा का. अजय घोषले फुट्न लागिसकेको पार्टीलाई मध्य मार्गको बाटो समातेर तत्कालको लागि पार्टी फुट्नबाट बचाएको कुरालाई अनुकरणीय रुपमा प्रस्तुत गर्नु भएको हो, थाहा भएन। तर हामी कहाँ पनि डा. रायमाझीले त्यही भूमिका खेलेको थिए, जुन अजय घोषले भारतीय पार्टीमा खेलेका थिए। का. डाँगेको नेतृत्व ग्रुपको विरोधमा वामपन्थी संकीर्णतावादी ग्रुपले विद्रोह गरी नयाँ पार्टी नै खडा गर्ने धम्की दिन थालेपछि अधिवेशनकै क्रममा हृदयघात भई आराम गरिरहेका का. अजेय घोषले मध्यमार्गको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो जसमा देशको तत्कालिन स्थितिमा भारतीय कँग्रेसको दुधारे चरित्रका कारण संघर्ष र एकताको सिद्धान्तको आधारमा मात्र कँग्रेससँग एकता गर्ने र पार्टीको नेशनल एसेम्वली तथा कार्यकारिणी समितिहरूमा वामपन्थीहरूको पनि राम्रो प्रतिनिधित्व गराउने प्रस्ताव प्रस्तुत गरेपछि तत्कालको लागि पार्टीको फुट रोकिएको थियो।
नयाँ पार्टी
त्यस्तै पुष्पलालजीहरूको पार्टीको नेतृत्वबाट का. रायमाझी ग्रुपलाई फाल्ने योजना प्लेनममा असफल भएपछि महासचिव पदबाट भए पनि हटाउनै पर्ने र सक्दो छिटो तेस्रो महाधिवशन गर्नु पर्ने उनीहरूले प्रस्ताव राखेका थिए । कमसेकम त्यति नहुने हो भने तुरुन्त अर्को पार्टी बनाउने योजनाको आधारमा विद्रोह गर्न थालेपछि डा. रायमाझी महासचिव पद छोड्न तैयार भए र ९ महिनाभित्र अधिवेशन गर्ने कुरालाई सिद्धान्तत स्वीकार गर्न पुगेका थिए। तर भारतीय पार्टी पनि अन्तमा १९६४ सालसम्ममा फुटेर दुई पार्टी बन्न पुग्यो भने नेपाल कम्युनिष्ट पार्टी पनि एक वर्ष पछि २०१९ बैशाख ४ गते अलग रुपमा उनीहरूले बनारसमा तथाकथित तेस्रो अधिवेशन गरी उनले चाहेका मानिसहरूलाई नेतृत्वबाट हटाएर का. तुलसीलालको नेतृत्व नयाँ पार्टी खडा गर्न पुगेका थिए।
सन् १९६२ भन्दा पूर्व नै चिनिया कम्युनिष्ट पार्टीले ‘‘अन्तर्राष्ट्रिय नव–संशोधनवाद’’ भन्ने शब्दको आविस्कार गरिसकेको थियो र कम्युनिष्ट सत्ता भएका सबै देशहरूलाई ‘‘सामाजिक–साम्राज्यवादी’’ राज्यको दर्जा दिएका थिए । १९६२ पछि उनीहरूले ससारका उपनिवेशिक, अर्ध उपनिवेशिक देशहरूमा भएका पार्टीहरूलाई संशोधनवादीहरूबाट फुटेर जनताको जनवाद कायम गर्न सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउनु होस् र विकसित पुँजीवादी देशहरूमा सर्वहारा वर्गको तानाशाही कायम गर्नुहोस् र सोभियत संघ र अरु सामाजिक साम्राज्यवादी सत्तालाई फालेर सर्वहारा वर्गको तनाशाही कायम गर्नु होस् भनेर यसबेला चिनियाँ कम्युनिष्ट पार्टीले संसार भरका पार्टीहरूमा फुट ल्याउने व्यापक आह्वान नै गरेका थिए । जसका परिणामहरू कम्युनिष्ट आन्दोलनले विश्वभर नै देखेको र भोगेका हुन्।
अन्तमा दरभङ्गा प्लेनमबाट का. पुष्पलाल नेतृत्वमा सुरु भएको अभियानको प्राप्ति स्वरुप नेपालको कम्युनिष्ट आन्दोलनले के पायो भन्ने कुराको निक्र्यौलका लागि एक पटक बनारसमा भएको बहुचर्चित तेस्रो अधिवेशनको छोटो विवेचना गरौँ । दोस्रो अधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वलाई राजावादी संशोधनवादी (अझ पुष्पलालजीले धेरै विशेषण जोड्नु भएको छ) नेतृत्वलाई फालेर क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउने आकांक्षाका आधारमा नेतृत्वको विरुद्ध विद्रोह गरेका थिए । उनी पार्टीको पहिले पनि महासचिव भएको र उनको नेतृत्वकालमा पार्टी क्रान्तिकारी रहेकोले पार्टीलाई क्रान्तिकारी बनाउनुको अर्थ उनको नेतृत्व कायम गर्नु नै थियो। साथै यस अभियानमा तुलसीलालले जतिकै सहयोग गरेपनि तुलसीलालजीको राजनीतिसँग उनी सहमत हुन सक्दैन थिए।
त्यसकारण उनको चाहना पार्टीको नेतृत्व मात्र होइन कि पार्टीको आउँदो राजनीति पनि आफ्नै बनाउने थियो। तर पार्टी भित्र नेतृत्वको विरुद्ध कार्यकर्तालाई भ्रमित पारी अधिवेशनको पक्षमा ल्याउने क्षमताको लागि तुलसीलालमाथि उनी विश्वास गर्न सक्दैन थिए । त्यो सम्पूर्ण दायित्व उनले आफै बोकेका थिए । शायद त्यसैले दस्तावेजको दायित्व उनले तुलसीलाल माथि छोडेका थिए। परिणाम स्वरुप राजनीतिक प्रस्तावमा पार्टीको केन्द्रिय नेतृत्वलाई गाली गर्ने शब्दहरू पुष्पलालकै भए पनि १९६० को मास्को सम्मेलनको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम नै आफ्नो तेस्रो कँग्रेसको लक्ष्यको रुपमा तुलसीलालले प्रस्तुत गरेका थिए।
माथि उल्लेख गरेको संसदिय प्रजातन्त्रको पुनस्र्थापना सही नारा हो र ‘उही संसदको स्थापना’ सही नारा होइन र त्यसको सम्भावना पनि छैन भन्ने माथि उल्लेख गरिएका दुवै लेख लेख्ने पुष्पलालले नै तेस्रो अधिवेशनमा उही संसदको स्थापनाको आफ्ना नारालाई तेस्रो अधिवेशनमा पनि उठाउन पुगेका थिए। तर अधिवेशनमा उपस्थित ८८ प्रतिनिधिहरूमध्येबाट केवल १२ जनाको भोट मात्र उनको प्रस्तावले पायो। मोहनविक्रम सिंह जेलमा हुनु भएकोले उनको संविधान सभाको प्रस्ताव बलराम उपाध्यायले राखेका थिए, त्यसले कुनै महत्व नै पाएन। तर तुलसीलालजीको प्रस्ताव ‘सर्वशक्ति सम्पन्न सार्वभौम संसद’ ले प्रतिनिधिहरूको ८२ प्रतिशत मत प्राप्त गरेर स्वीकृत भएको थियो।
जसको अर्थ उक्त अधिवेशनबाट पारित भई अधिवेशनकै आयोगबाट संशोधित राजनीतिक प्रस्तावमा स्पष्ट रुपमा भनिएको छ– ‘सार्वभौम संसदको माग गणतन्त्रको माग होइन । आजको संघर्ष राजतन्त्र र गणतन्त्रको होइन। आजको संघर्ष राजाबाट शक्ति हस्तान्तरण गरी जनतामा निहित गराउन देशमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना गराउनु हो (तृतिय महाधिवेशनबाट पारित राजनीतिक प्रस्ताव– पाना ५१)’।
अन्त्यमा का. तुलसीलाल अमात्यलाई तेस्रो अधिवेशनले महासचिव निर्वाचित गर्यो। का. पुष्पलालको नाम कसैले उठाएनन् । केन्द्रिय परिषदमा ७ जना मध्ये तुलसीलाल, पुष्पलाल, हिक्मत सिंहबाहेक ४५ जनामा मनमोहन अधिकारी, कृष्णराज वर्मा, कमलराज रेग्मी र मोहनविक्रम सिंहलाई निर्वाचित गरेको थियो । तर यी सबै जेलमा थिए। त्यसकारण ४ जना बैकल्पिक सदस्यमा भरतमोहन अधिकारी, भरतराज जोशी, पुण्यप्रताप राणा र जयगोविन्द शाह चुनिएका थिए। जेलमा रहेका साथीहरूसँग सहमति आदि केही नलिएको बैकल्पिक सदस्य नै पूर्ण सदस्य थिए। यस आधारमा ७ जनाको केन्द्रिय मन्त्रिपरिषदमा पुष्पलाल र हिक्मत सिंह २ जना मात्र थिए।
अल्पमतमा पुष्पलाल
५१ जनाको राष्ट्रिय परिषदमा पनि ५ जना मात्र पुष्पलाल पक्षका थिए। यसरी के देखिन्छ भने दरभङ्गा प्लेनम पछिको १६ महिनाको अनवरत प्रयासबाट का. पुष्पलालले आयोजना गर्नु भएको तेस्रो अधिवेशनमा राजनीतिक रुपमा र संगठनात्मक दुवै रुपमा उनी पूर्णत पराजित हुन पुगे । दरभङ्गा प्लेनममा नै आफुले पार्टी नेतृत्व कब्जा गर्ने उनको योजना असफल भएपछि संसदीय प्रजातन्त्रको पुनस्र्थापनाको राजनीतिलाई एकातिर पन्छयाई केन्द्रिय नेतृत्वको परिवर्तनका लागि अविलम्ब पार्टी अधिवेशनलाई प्रमुख राजनीतिक प्रश्न बनाई तत्कालिन राजनीतिक संकटको फाइदा उठाई चाहिने नचाहिने भ्रम फैलाएर यसले मुलुकको राजनीतिलाई के फाइदा पु¥यायो र पुष्पलालजी आफैलाई के लाभ भयो ? न उनिले नेतृत्व प्राप्त गर्न सके न उनको राजनीति स्वीकृत हुन सक्यो।
दोस्रो अधिवेशनले निर्वाचित गरेको नेतृत्वलाई पूर्णरुपमा फाल्ने काम बाहेक के नै भयो ? उही पार्टी नेतृत्वले मास्कोको अन्तर्राष्ट्रिय सम्मेलनमा सही गरेर आएको मास्को वक्तव्यको राजनीतिलाई हुबहु तेस्रो अधिवेशनमा पास गरेर उनीहरूलाई नेतृत्वबाट मात्र फालेर नेतृत्व प्रतिको व्यक्तिगत रिस–ईबी मात्र साँधेको हो कि । जे होस् नेपालको कम्युनिष्ट आन्दोलनमा यो सदाको लागि एउटा प्रश्न चिन्ह बनेर रहने छ । हामीले एउटा के कुरा विर्सनु हुँदैन भने १५ सेप्टेम्बर १९४९ मा गरेको गल्तीलाई १४ वर्षपछि फेरि उही रुपमा दोहोराउन पुगेका छौँ।
१५ सेप्टेम्बर १९४९ पहिलो घोषणापत्र प्रकाशन गर्दा भारतीय पार्टीका महासचिव का. बी.टी. रणदिवे थिए । उनले २८ फरवरी १९४८ मा पार्टीको दोस्रो कँग्रेसमा एउटा सर्वथा नयाँ प्रस्ताव ल्याएका थिए। भारतको १९४७ को स्वतन्त्रतालाई ‘झुठो स्वतन्त्रता’ भन्दै राष्ट्रिय पूँजीपति वर्गको दोहोरो चरित्रलाई ध्यान नदिएर भारतीय कँग्रेसको नेतृत्वलाई ‘प्रतिक्रान्तिका मूर्धन्य अगुवा’ भन्न पुगेका थिए र ‘पूँजीवादी–सामन्ती–साम्राज्यवादी गठजोड’ कायम भएको छ र भारतीय पूँजीपतिवर्ग ‘सर्वाधिक सक्रिय लडाकु साझेदार’ हुन पुगेका छन् भनेर भारतीय कँग्रेसलाई गाली गर्न पुगेका थिए । यसकारण ‘‘आज क्रान्तिको लागि संघर्षको अर्थ कँग्रेसी सत्तालाई फाल्नु हो।
आज जनतान्त्रिक क्रान्तिको संघर्ष, समाजवादको संघर्षसँग अन्तरग्रथित भइसकेकोले हाम्रो क्रान्ति दुवै क्रान्तिको अन्तरग्रन्थित रुप हो’’। त्यसकारण ‘‘हाम्रो जनतान्त्रिक राज्यको रुप सर्वहारा वर्गको अधिनायकवाद हो र हामी समाजवादी क्रान्तिको मञ्जिलमा छौँ’’ भन्न पुगेका थियो। यसै आधारमा ‘जनताके जनतन्त्र और समाजवाद के लिए संघर्ष–रणनीति और दाँवपेचसम्बन्धी कुछ प्रश्न’ भन्ने रणदिवेको सुप्रसिद्ध दस्तावेज जून–जुलाई १९४९ मा प्रकाशित भएको थियो । त्यसको दुई महिनापछि नेपाल कम्युनिष्ट पार्टीको स्थापना र पहिलो घोषणापत्रका प्रकाशन ‘कम्युनिष्ट पाक्षिक’ को पहिलो अंक १५ सेप्टेम्बर १९४९ मा प्रकाशित भएको थियो।
सोही दिन पार्टीको केन्द्रिय संगठन समिति पनि गठन भएको थियो, जसमा पुष्पलाल, मनमोहन अधिकारी, शैलेन्द्रकुमार, तुलसीलाल अमात्य, डी.पी. अधिकारी र भाई साहेव भन्ने अयोध्या सिंह (भा.क.पा. का प्रतिनिधि) समेत ६ जनाको समिति बनेको थियो। पहिलो घोषणापत्रमा हाम्रो क्रान्तिको चरित्र पनि जनतान्त्रिक क्रान्तिको संघर्ष र समाजवादी क्रान्तिको संघर्षसँग अन्तरग्रथित भएर समाजवादी क्रान्तिमा रुपान्तरित भइसकेको छ र अब आउँदो जनतान्त्रिक राज्यको रुप सर्वहारा वर्गको अधिनायकवाद नै हुने छ भन्न पार्टी पुगेको थियो। किन कि ती ६ जना नै त्यसै राजनीतिका उत्पादन थिए।
त्यसकारण यसबाट के स्पष्ट हुन्छ भने त्यस पछिको हाम्रो राजनीतिमा भारतीय कम्युनिष्ट राजनीतिको वामपन्थी संकीर्णतावादी तथा वामपन्थी दुस्साहशतावादी भटकावापूर्ण राजनीतिको प्रभावमा नै रहेको हो । भारतीय कम्युनिष्ट पार्टी पनि त्यसपछिका आफ्ना वामपन्थी दुस्साहसिकतापूर्ण काम–कारवाहीका कारण प्रतिवन्धित हुन पुगेको थियो । नेपालमा ४ महिनामा नै भारतको रेखदेखमा राणा, राजा र कँग्रेसबीच सम्झौता भई २००७ साल फागुन ७ गते अर्थात् १९५१ फेब्रुअरी १८ को दिन राजाबाट संयुक्त सरकारको पनि घोषणा भयो।
त्यसपछि पार्टीले प्रथम घोषणा पत्रको राजनीतिक समझदारीको आधारमा १९४७ का भारतीय स्वतन्त्रता, भारत सरकारको वर्ग चरित्र र भारतीय सरकारप्रति भारतीय कम्युनिष्ट पार्टीका जे जस्तो मूल्याङ्कन थियो सोही आधारका शब्द र व्याख्याहरूका साथ नेपाली क्रान्तिको त्यस्तो व्यख्या संयुक्त मन्त्रिमण्डलको चरित्र–चित्रण र नेपाली काँग्रेस पार्टी र उनका नेताहरूको चरित्र–चित्रण तथा त्यस सरकारलाई अविलम्ब विघटन गराउने नीतिहरू उही प्रकारको प्रस्तुत गर्न थालियो। ‘दिल्ली सम्झौता धोका हो, ‘क्रान्ति अधुरो छ’ ‘राजा, सुवर्ण, कोइराला गठबन्धन मुर्दावाद’ निरन्तर क्रान्ति बढाउनु छ’ आदि नारा लगाउन र हरेक विवादलाई उग्र नारामा बदलिने हरेक सम्भव प्रयास पार्टीको तर्फबाट हुन थाल्यो।
सम्झौतामा टुंगेको क्रान्ति
किन कि ‘नेपाल कम्युनिष्ट पार्टी सम्झौतामा टुँगेको क्रान्तिलाई दीर्घकालिन सशस्त्रकृषि क्रान्तिमा बदल्न चाहन्थ्यो। स्वयम् ००७ सालको क्रान्तिमा सहभागी हुन जाने कम्युनिष्टहरू पनि एक साथ गएको देखिन्न। बीरगन्जलाई राणाहरूले पुनः कव्जामा लिएपछि क्रान्तिको सम्बन्धमा आएका पुष्पलालका अभिव्यक्तिपत्र पनि आपत्तिजनक थियो, जसको सुधार पछि गर्नु परेको थियो । तर यसै बीच २००८ साल आषाढ ८ गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल प्रजापरिषद्का बीच जातीय जनतान्त्रिक संयुक्त मोर्चाको नामबाट राष्ट्रिय आधारमा संयुक्त मोर्चा हुन गएको थियो । यस संयुक्त मोर्चामा नेपाल कम्युनिष्ट पार्टीका सबै भाइचारा संगठनहरूलाई समेटेर यो मोर्चा गठन भएको थियो। यस्तो मोर्चा गठन हुनमा पनि शायद प्रजा परिषदका आफ्नै बाध्यताहरू थिए। उग्रनीतिबाट निर्देशित कम्युनिष्ट पार्टीसँग उदारवादी प्रजापरिषदको मोर्चा कति दिन चल्ने हो हेर्नै पर्ने कुरा थियो।
आश्चर्यको कुरा के छ भने १९५१ को जून/जुलाईमा पनि हामी १९४९ सेप्टेम्बर १५ मा प्रकाशित वी.टी. रणदिवेको राजनीतिबाट प्रभावित पहिलो घोषणापत्रबाट निर्देशित भइरहेका थियौँ। तर भारतीय कम्युनिष्ट पार्टीमा १९५० मईको केन्द्रिय समिति बैठकबाट नै पार्टीको महासचिव रणदिवेको ठाउँमा सी. राजेश्वर राव महासचिव भए र उनको रसियन मार्काको नीति परिवर्तन गरी चिनियाँ मार्काको नयाँ जनवादी क्रान्तिको नीति भारतीय कम्युनिष्ट पार्टीले स्वीकार गरिसकेको रहेछ। १९५० जनवरीमा प्रकाशित ‘फर अ. लास्टिङ्ग पीस, फर अ पिपुल्स डेमोक्रेसी’ पत्रिकामा भारतलाई नै इगिंत गरेर प्रकाशित सम्पादकियमा भनिएको रहेछः–
‘‘उपनिवेश तथा अर्ध उपनिवेशहरूमा विश्वयुद्ध पछि विकसित भएका जनआन्दोलन या अझ अगाडि बढेर सशस्त्र संघर्षको रुपधारण गरिसकेका देशहरूमा ब्रिटिस साम्राज्यवादीहरू पछि हट्न मजबुर भएका छन्। भारतमा एउटा नक्कली स्वतन्त्रता दिएर उनीहरूले आफ्ना साम्राज्यी हितहरूलाई सुरक्षित गरेका छन् । माउण्टवैटनहरू गए तर ब्रिटिस साम्राज्यवाद कायम छ। यस्तो परिस्थितिमा भारतीय कम्युनिष्टहरूको कर्तव्य हुन्छ कि चीन तथा अन्य देशहरूका राष्ट्रिय मुक्ति आन्दोलनहरूको अनुभवबाट सिक्दै मजदुर वर्ग सिंगो किसान समुदायसँग मैत्रीसम्बन्धलाई सशक्त बनाउन र अत्यधिक आवश्यक कृषि सुधारहरूलाई लागु गराउने संघर्ष गर्नु र आफ्नो देशको स्वतन्त्र र राष्ट्रिय स्वाधीनताको संघर्षमा यसका विरोधी साम्राज्यी शक्तिसँग चोली दामनको सम्बन्ध राख्ने प्रतिक्रियावादी शक्तिहरूको विरुद्ध लड्ने र त्यस्ता सबै वर्गहरू जसले भारतको स्वतन्त्रता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न तैयार सबैसँग एकता कायम गर्नुपर्दछ।’’ (यो सम्पादकीय ब्रिटिस कम्युनिष्ट नेता रजनी पाम दत्तले लेखेका हुन् र यसलाई स्टालिनले अनुमोदन गरी रुसी कम्युनिष्ट नेता सुस्लोभले प्रकाशन अनुमति दिएका थिए– मोहित सेन) यो पत्रिका कम्युन फर्मको मुखपत्र थियो।
यसरी भारतीय कम्युनिष्ट पार्टीले रुसी मार्गको वामपन्थी दुस्साहसवादी गल्तीको ठाउँमा चीनी मार्काको अर्को वामपन्थी दुस्साहसवादी गल्ती का. सी. राजेश्वर रावको नेतृत्वमा गृहयुद्ध छोडेर गर्न पुगेको थियो। हामीले के देख्छौँ भने नेपाल कम्युनिष्ट पार्टीलाई भारतमा भइरहेको यी सब स्थितिका विकासप्रति उसलाई कुनै चासो थिएन। एकैचोटी पार्टीको दस्तावेजबाट के देखिन्छ भने पार्टीका प्रथम सम्मेलनको राजनीतिक रिपोर्टमा उक्त पत्रिकामा प्रकाशित भई भारतीय क. पा.मा त्यत्रो परिवर्तत भएको एक वर्ष नौ महिना पछि हाम्रो दस्तावेजमा उक्त पत्रिकाको चर्चा प्रकाशित हुन पुग्दछ। पार्टीले आफ्नो प्रथम सम्मेलनको दस्तावेजमा त्यस ‘‘…खबरले हामीलाई आफ्नो गल्ती सुधार्ने अवसर दियो’’ भन्न पुगेको छ।
नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिलाई एकै सूत्रमा उनीदिँदा हामीबाट के के गल्ती भयो भन्ने भनाउन पुग्दछौँ। नेपाली क्रान्तिपछिको अवधिमा क्रान्तिप्रतिको गलत धारणा, पूँजीपतिवर्गको दोहोरो चरित्र प्रतिको वेवास्ताले पूँजीपतिवर्ग र पूँजीवादी पार्टीप्रति लिएको गलत नीति, व्यापक किसान समुदायलाई समेट्ने नीतिको अभाव तथा साहित्य र संस्कृतिबारेमा एकहोरो मार्क्सवादी दृष्टिकोणले गर्दा अरु साहित्य संस्कृतिप्रति वेवास्ता आदि कामजोरी हुन गए भन्ने प्रथम सम्मेलनको दस्तावेजमा उल्लेख गरेर पुनः राजेश्वर रावकै जस्तै चीनी मोडेलको नयाँ जनवादी क्रान्तिको बाटो नै एकमात्र बाटो हो भन्न का. पुष्पलाल पुग्नु भएको थियो र त्यसैलाई आफ्नो नीतिको रुपमा २७ सेप्टेम्बर देखि २ अक्टुवर १९५१ को प्रथम सम्मेलनमा सर्वसम्मत रुपमा पास गर्न पुग्दछौँ।
त्यो सम्मेलन भूमिगत रुपमा भारतीय पार्टीको सहयोगमा कलकत्तामै भएको थियो। तर हाम्रो पार्टी फेरि पनि पछि नै परेछ । किन कि सोही १९५१ अक्टुवर महिना मै भारतीय पार्टीको सम्मेलन उही कलकत्तामा भूमिगत रुपमा भयो। १९५० देखि भारतीय कम्युनिष्ट पार्टीमा अजयघोष, एस.ए. डाँगे र गंगाधर घाटे तीनैजना नेताहरूको एक्ला एक्लै दस्तावेज र संयुक्त दस्तावेजको आधारमा पार्टीमा अन्तरसंघर्ष गरी रहेका थिए। तर सुरुमा प्रभावशाली रुपमा उनीहरूले कुरा राख्न नपाए पनि १९४८ देखि १९५१ सम्म नै निरन्तर दमनका कारण पार्टीलाई भएको क्षति, किसान–मजदुर आन्दोलनमा पुगेको क्षति आदि भए पनि बाहिरका मैत्रीपूर्ण सहयोगको आधारमा पुनः पार्टीमा एउटा नयाँ वातावरण निर्माण गर्न सहज भयो।
भारतीय पार्टीका राजेश्वर राव समूह र अजय घोष समूहको समान प्रतिनिधि राखेर भाइचारा पार्टीहरूको मध्यस्थतामा समाधान खोज्ने सल्लाह भयो र दुवै पक्षका दुई–दुई जना प्रतिनिधि मास्को गई सोभियत पार्टीको मध्यस्थतामा कुरा गर्ने निर्णय भयो। सोही अनुसार कुरा भएपछि अन्त्यमा स्टालिनसँग कुरा भयो। ‘‘के निर्णय भयो भने अहिले गृहयुद्ध बन्द गर्ने र राजेश्वर रावले सबै हतियारहरू वापस लिने काम गर्नु पर्छ। भारतमा कुनै दिन हतियार उठाउनै पर्छ, तर चीनी मोडेलको हतियारवन्दी क्रान्ति चाहीं होइन।
तर अहिले आफ्ना संगठन जनसंगठनहरूलाई ठीक गरी चुनावमा जाने तैयारी गर्नुस् र सबैलाई मिलाएर लाने काम गर्नुपर्छ। का. स्टालिनको यही सल्लाहलाई सबैले स्वीकार गरे।’’ त्यसै आधारमा १९५१ अक्टुवरमा कलकत्तामा नै नेपाल कम्युनिष्ट पार्टीको सम्मेलनपछि लगत्तै भा.क.पा. को राष्ट्रिय सम्मेलन भएको थियो र उसले पहिलेका दुवै प्रकारका वामपन्थी उग्रवादी र दुस्साहसवादी भट्काउबाट आफुलाई मुक्त गरेको थियो। उक्त सम्मेलनले स्पष्ट रुपमा स्वीकार गरेको थियो :
(१) भारतीय क्रान्तिको मिलिजुलेको कुनै मञ्जील छैन र नै समाजवादी मञ्जील हो। हाम्रो मञ्जील अर्थात् क्रान्तिको चरण जनतान्त्रिक नै हो।
(२) रणदिवेका रणनीतिक विषयका सबै सूत्र खारेज गरियो र देशका सबै जनतान्त्रिक, सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिहरूको संयुक्त मोर्चा माथि नै जोड दिइयो।
(३) ‘चीनी मार्ग’ को सिद्धान्तलाई अस्वीकार गर्दै र चीन तथा हाम्रा क्रान्तिका चरित्र केही समानता भए पनि वस्तुगत अवस्थामा धेरै भिन्नता छन् भन्ने पनि निर्धारित गर्यो।
यसरी भारतीय कम्युनिष्ट पार्टीमा आएको परिवर्तनलाई त्यसबेला नेपाल कम्युनिष्ट पार्टीले किन महत्व दिएन भन्ने कुरा विभिन्न दृष्टिले निकै महत्व राख्दछ। किन कि त्यसपछि ने.क.पा.ले आफ्नो केन्द्रिय कार्यालय मात्र भारतबाट हटाएका थिएन कि भारतीय पार्टीसँग हिजोसम्म रहेका सम्बन्ध–सूत्र पनि तोडेको देखिन्छ। का. पुष्पलालसँगको सम्बन्धमा आएका अलगावको कारण यही थिए। यस घटनालाई त्यसबेला भारतीय कम्युनिष्ट पार्टी र महासचिव अजय घोषले गम्भीर रुपमा लिएको हुन सक्नु स्वाभाविक थियो। किन कि भारतीय पार्टीको निर्देशनमा रहेको नेपाल कम्युनिष्ट पार्टीले राजनीतिक रुपमा नै आफ्नो मतभिन्नता देखाएर सम्बन्ध विच्छेद गर्ने प्रयास गरेको थियो।
पार्टीको प्रथम सम्मेलन पछि नेपालका राजनीतिमा चीनीक्रान्तिको अनुसरणको आधारमा अधुरो क्रान्तिलाई पूरा गर्ने दृष्टिले चालिने क्रममा पार्टीले लिएको नीतिहरूमा दैनिक रुपमा सञ्चालन गरिने आन्दोलन बाहेक २००८ साल माघको १० गतेको के.आई. सिंह काण्डको समर्थनमा पार्टीको प्रदर्शन, गौरीभक्त प्रधानको भूमिगत चीन यात्रा, २००९ साल जेठ १० गते नेपाली काँग्रेसको जनकपुर अधिवेशन विरुद्ध जातीय जनतान्त्रिक संयुक्त मोर्चाको ने.क.पा.बाट मनपर्दो उपयोग र २००९ साल भाद्रमा संयुक्त मोर्चाबाट प्रजा परिषदको सम्बन्ध–विच्छद, आदि घटनाहरूले नै नीतिगतरुपमा पार्टी भित्र चर्किदै गएको विरोध हो।
राजनीतिक निकास
जसको परिणामस्वरुप पुष्पलालजीको नेतृत्वको खिलाप होइन कि तत्काल देशमा राजनीतिक निकास निकाल्ने दृष्टिले नयाँ कदम चालिएका हुन्। त्यसमा का. पुष्पलाल सम्मेलनको राजनीतिमा कुनै परिवर्तन गर्न मन्जुर नहुनु भएकोले भारतीय कम्युनिष्ट पार्टीसँग सल्लाह गरी उनलाई नेतृत्वबाट हटाई राजनीतिक रुपमा जनतान्त्रिक चरण सुहाउँदो नीति लिन प्रथम महाधिवेशनमा पार्टी पुगेको हो। यस क्रममा पुष्पलालजीलाई नेतृत्वबाट हटाउनु जरुरी भएको थियो। तर महासचिव पदबाट हटाए पनि पोलिटव्यूरो स्तरमा उनी नेतृत्वमै कायम रहेका हुन्। त्यसकारण यो पुष्पलाल विरोधी राजनीति थिएन। यो नेपालको आफ्नो वस्तुगत अवस्थामा जनतान्त्रिक चरण पूरा गरी समाजवादी रुपान्तरण तिर समाजलाई लैजाने क्रममा कम्युनिष्ट पार्टीले लिनु पर्ने लचकदार नीतिको एक मात्र बाटो थियो र आज पनि नेपालका प्रमुख कम्युनिष्ट पार्टीहरूले लिएको बाटोको आधार पनि यही रहेको छ।
त्यसै कारण मैले हमेसा के कुरामा सधै जोड दिदै आएको छु भने भोलिको कम्युनिष्ट पार्टीको नीति निर्धारण गर्ने नेताहरू हुन् वा नेपालको कम्युनिष्ट आन्दोलनको वैज्ञानिक अन्वेषण गर्ने हुन् तिनीहरूले विश्लेषण गर्दा – मार्क्सएगेंल्सको कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादको पुष्पलालले लेखेको भूमिकामा –उनले गरेको नेपाली समाजको विवेचना, १९४९ सेप्टेम्बर १५ मा छापिएको ने.क.पा. पहिलो घोषणापत्र र १९५१ को प्रथम सम्मेलनको राजनीतिक प्रतिवेदन तथा कार्यक्रम, १९५४ को प्रथम पार्टी अधिवेशनको कार्यक्रम, १९५७ मईको पार्टीको दोस्रो महाधिवेशनमा प्रस्तुत गरिएको ‘पार्टी कार्यक्रममा पविर्तन किन’ भन्ने दस्तावेज तथा १९६० फेब्रुअरीमा भएको दरभङ्गा प्लेनमका निर्णयहरूको तुलनात्मक अध्ययन जरुरी छ।
जनतान्त्रिक चरण अर्थात् नेपाली पूँजीवादी जनवादी क्रान्तिको नेपाली सामाजिक अवस्थामा कम्युनिष्ट आन्दोलनमा देखिएका क्रमिक वैचारिक विकासको अध्ययन नगरी त्यसको विवेचना गर्न सकिन्न। तर आज यस पाटोलाई पन्छयाउने प्रयास भइरहेको देखिन्छ। मार्क्सवादी दृष्टिकोणबाट सामाजिक विकासको क्रमिक अध्ययनको पूर्ति यस्तो विवेचनाको अभावमा हुन सक्दैन। यसको अध्ययनको क्रममा त्यस बेलाको भारतीय कम्युनिष्ट आन्दोलन तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग त्यसलाई जोडेर नहेरीकन त्यसको पूर्ति पनि हुन सक्दैन भन्ने मेरो धारणा रहेको छ। अनिमात्र दरभङ्गा प्लेनमले उब्जाएको प्रश्नको जवाफ हामीले पाउन सक्ने छौँ।
हामीले के बुझ्नु परेको छ भने दरभङ्गा प्लेनमको गर्भमा कम्युनिष्ट आन्दोलनसँग जोडिएका धेरै गम्भीर प्रश्नहरूको तिनीहरूका ऐतिहासिक पृष्ठभूमिका घटनाहरूसँग जोडिएका छन्, जसको समुचित विवेचनापछि हाम्रा भावि मार्ग प्रशस्त हुन सक्नेछन्। यो इतिहास हो, कसैका इज्जतप्रतिष्ठाको प्रश्न होइन। इतिहास निर्मम हुन्छ, उसले वैज्ञानिक विवेचना चाहन्छ। भावातिरेकमा इतिहास बग्याँइनु हुदैन, लुकाउनु हुँदैन। कुनै न कुनै दिन सत्य धुरीबाट कराउँछ।
यो पनि –
नेकपाले आफूलाई जिम्मेवार पार्टीका रुपमा यसरी स्थापित गरेको थियो via @nepalreaders https://t.co/7wsitOkBkV
— Nepal Readers (@NepalReaders) July 5, 2021
यो पनि –
नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक क्षण : दरभंगा प्लेनम via @nepalreaders https://t.co/DL4V6PNw5a
— Nepal Readers (@NepalReaders) June 30, 2021
समाप्त ।