Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

देवकोटाको क्रान्तिकारी कथा : गने यसरी गणबहादुर बन्यो

लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीप्रसाद देवकोटा
पुस ११, २०७७
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यस बर्ष खडेरी परेको थियो ।

    आकाश दाता छ । धार्मिक जनता स्वर्गको भरमा अडेको छ । माथि देवताको महफिलमा कुन्नि के खित्रिक्क पर्न गयो । शायद कुनै क्रान्तिकारी दानवले खरो वचन बोल्यो होला । देवताहरूले नागहरूलाई इशारा गरे । नागहरु एकातिर लागे । सगर शीशा भया । दयाले बाफिलो सास त्यस नीलो ऐनामा फेरेन । देशमा सुख्खा लाग्यो ।

    यसै ता लडाईं गडबडले अनिकाल पर्ने कुरा चलिरहेको थियो । मानिसको मूर्खताउपर देउताको डाहाडसमेत थपिन जाँदा त, महतारी महीका स्तन सुके । वैशाख बल्यो, ज्येष्ठ जठराग्नि भयो, आषाढ बिलकुल असार भयो । नदी किनारका मसिना रेशमी फिता ठूलठूला फिर्ता दिए तर पहाडमा अब हाडमा मासी नभएजस्तो समय आयो । विज्ञानको जादूगरले आफ्नो विचित्र लाभकारी तर्जुमा गर्न पाएको थिएन । ठूलाठूला पानीबाँध, बिजुली र पटनीका निम्ति थिएनन्, यहाँ, जस्तो मालावर वा पश्चिमी घाटतिर होलान् ।

    शहरमा अन्नको भाउ आकाशउँचा भयो । धैलीवाला मसिनोबाट मासी, मासीबाट थापाचिनियाँतरि ओर्ले । घीउ तीन चौथाइ कटनी, तेल एक तिहाई कटनी । सबभन्दा ठूलो असर गरीबमाथि पर्‍यो । भटमास मोहोर माना भयो । मासको दाल, नामको कालो, कलेजा थाम्ने त्यो लेस्याइलो छाक्रे झोल अब दुर्लभ भयो । दिनको एकछाक बल्लबल्ल खान पायो भने कलेजाको भुटुन बिर्सेर भोलिको दिनको भुटुन विचार गर्दथे । गरीब बूढाहरू जिभ्रो काढेर कुरा गर्दथे । उनका पालामा मोहोर पाथी चामल थियो रे, मोहोर पाथी मास, एउटा ढ्वाङ्गे काउलीको एक पैसा, घीउ चाराना मानो, तेल छ आना, ल हेर, हेर अब घीउको मानाको दुई रुपियाँ रे अब, तेल एक मनाको तीन मोहर ! तब न अनिकाल ! ….कलि, कलि…! मान्छेमा धर्म भए पो सह हुन्छ ।

    गनेको झोपडी थियो धोबीधारामाथि ।
    बाङ्गो खुट्टामा उभिएको पानी प्रलयलाई आलटाल छोप्ने पराले जर्जर झोपडी । यसका थाम थिए हाँगा तछारेका साना रुखहरू । अलि अग्लो जग्गा छानेर बनाइएको थियो तर भीरबाट खस्न लागेको उरन्ठयाइलो भैँसीजस्तो, तल्लो पिँढी छानोउपर काला कलकत्रा दलेका दुई झ्याल थिए । दुई पाश्र्वमा उत्तर–दक्षिण बाटुला प्वाल थिए – जो आधा वातायन, आधा प्रकाशायनका काम दिन्थे । पराले डोरी बाँक बाबियोको मदतले पानी छेका छानो जनेतेन भिरालिएको थियो । यो काँचो ईट र काठको बाङ्गो धराप रचना गर्न गनेले त्यत्तिकै मेहनत ग-यो होला, जत्तिको श्यावजी साहुले सहदेवको देवल बनाउन । यो उसको जीवनको एकमात्र उद्देश्य हो ।

    उसले एक पैसा, दुई पैसा, चार पैसा सँगाल्दासँगाल्दा आखिर १५/२० को पोको जमाएको थियो । दिनभरी काम गरिसकेपछि रातिसमेत काम खोजेर, भाँडा माझेर एउटा सानो घर बनाउनको मूल उद्देश्यको पूर्तितरफ दगुरीरहेको थियो । पछि रोई, कराई, कमाई, बटुली उसले २०/३० रुपियाँ जम्मा गरेर, २० रुपियाँ ऋण काढेपछि मात्र यो निर्धनको मकै–महल खडा हुन गएको थियो । उसले आफ्नै हातले रुख काट्यो, काठ ताछ्यो, राँभो, बसिला कर्मीदाइकहाँबाट सापटी ल्याएर चलायो, टाकनटुकन झोपडी तयार भयो । गरीबहरू जान्छन् एक घर बनाउनु कत्रो मुश्किलको कुरो छ । घर भनेजस्तो चीज खडा भयो कि निराधार जिन्दगीले दुनियाँमा कमसेकम खुट्टो त टेक्यो ।

    २/४ वर्ष रमाइला दिन बिते । आफ्नो भन्ने केही चीज उसले आफ्नो परिश्रमले संसारमा खडा गरेको थियो । बराबर पराल फेर्नुपर्दथ्यो – नत्र पानी छिरेर हैरान । आफू, जहान, चारोटा बच्चा, एउटा दूधमुखे । बास खडा गरेर मात्र कहाँ ? खुवाउनको टन्टा रहेछ, सबभन्दा ठूलो । आज के खुवाउने, भोलि के पिलाउने इत्यादि । आफू बिरामी प-यो अनि पर्‍यो चिल्लीबिल्ली, ऋण काढ्यो तिर्दैको फजिती । त्यही पनि पाउन कति मुश्किल, सयकडा पच्चीस ब्याज र घीउखानी नभई साहूले थैलो फुकाओस् – उहुँ ! सुनचाँदी, गहना पटक्कै ! आफ्नो भन्नु क्यै छैन , फलामे चुहिने ताप्के र फुट्या कसौँडीसिवाय अल्मुनिका थाल, बटुका, राङका कचौरा, तामाको एउटा झारी ।

    गनेका विचार–तरङ्ग यसरी चलिरहेका थिए । जब ऊ जरोले १ महिना थलिएर बल्लतल्ल बाँचेको थियो । हड्डी – चमडा ! गनेनीले रोई कराई सरसापटी गरेर औषधिमूलो गरेर बचाएकी थिई, बिचरी ! बच्चा बोकीबोकी घरी वैद्यकहाँ, घरी सानोबाजेकहाँ भाँडा माझ्न, यहीसिवाय लेखिएको रहेनछ । १५ वर्षमा गुन्द्रुक पहेँलिएजस्ती छ । आफैँ बाथले करकरी आँग खायो भन्छे । रीपमा बसेर भाँडा माझ्नुपर्छ । राति कहिले आँग तात्तैन । मीनपचास आइसक्यो । आजकल एक पैसा हातमा छैन । भाउ बढेर उधुम छ । खाने क्या हो, लगाउने क्या हो ? ऋण तिर्ने कसरी हो ?

    गने एक दिन यसै गरी विचारमा झोक्रिरहेको थियो । उसलाई बल्लतल्ल तलमाथि गर्ने बल खुट्टीमा आइसकेको थिएन ।
    सुवासिनीले पीरो धूवाँले आँशु–आँशु भएको आँखा लिएर झर्किदै भनी, “म त सक्तिनँ, यी पाँसुला बाल्न पनि । पटक्कै बल्दैन यो चिसो हाँगो । पकाउनु पो के छ र ? यही कोदाको दुई वटा रोटी त हो नी ! नखाएको कति दिन भइसक्यो, बच्चाले एकातिर टोकी–टोकी छातीको रगत चुस्नुछ, अर्कोतिर खान नपाएर आन्द्रो सुक्नुछ । यस्तै रीतले घर कति चल्ने हो कुन्नि ? ”

    चुल्होबाट नीलो चुरिएको धूवाँको अश्मेल मुस्लो ज्वालासँग विरोध गरेर प्रकाशविमुख गरीबको जीवनको खेरझैँ चौतर्फी हावालाई दूषणले आक्रमण गरिरहेको थियो ।

    गनेको हृदयमा ठूलो आघात पर्‍यो, यस दृश्यले तथा सुवासिनीको करुण वेदना र क्रन्दनले । उसको लाचारीले घुटुघुटु आँशुको घुट्को पिएर चूपचाप गौड गर्दै थियो । कुनै नजीकको उपायको जसले वर्तमान स्थितिमा थोरविशेष सुधार हुन जाओस् । उसले च्वाट्ट सम्झ्यो सिस्नोको झाङ । कमसेकम सिस्नोका मन्टा पनि त केही काम देलान् । चिम्टा टिपेर ऊ चूपचाप चल्यो । केही मन्टा टिपेर पोल्टामा हालेर उसले ल्यायो र पिँढीमा थुपा-यो ।
    “हेर ! पहेँली – इत्ति भा पनि त भएन अहिले ? ….उसिन्यो, नून हाल्यो, तिउनतरकारी ता भो ।”
    “नून खै नि नून ?”
    “म मागेर ल्याउँछु ।”
    “त्यस्तो सिस्नो पनि खान सकिन्छ ? राकसको बङ्गारा कोर्ने । त्यस्ता दाताहरु भए जानु नि बरु दुई–चार पात रायोको साग मागेर ल्याउनु कतैबाट ।”
    “ओहो ! आजकलको रायो अब । पातको एक पैसा । कल्ले देला र ?” गने बाहिर निस्क्यो ।
    पौषको महिना – ठन्डाइ नपुगेर, ठाँटोले नपुगेर, बिहानीपख १० बज्दा मर्दो आशाजस्तो घामसमेत कन्जुस राकस्नी छुच्ची प्रकृतिले अनावश्यक उप-याएर ठम्म बादलको पर्दा लगाइदिएकी थिइन् । दाउरा नबलेको रिसले र बच्चु सिँगाने (चतुर्थपत्र) अति च्याँट्ठी– च्याँट्ठी पिरलिरहेको कारण, पहेँलीले त्यल्लाई झर्केर पिँढीको एक कुनातिर थाङ्नामा बेरेको पोको झैँ फ्याँकिदिइन् !
    ठीक यसबेला गने फर्केर आयो, हातमा सालको पातमा अलिकति उधारो नून र एउटा कीपको डल्लो ।
    “हेर पहेँली यी नून ।” अलि मुख मिठ्याएर, जिभ्रो चट्कार्दै, “यी यो सानो कीप पनि । अचार हुन्छ खासा – टुक्रा–टुक्रा नूनमा, खुर्सानीमा चोभ्यो, खायो ।”

    यी चीज पहेँलीको हातमा हलेर, गने सिँगाने पिलन्धरालाई बोकेर हल्लाउँदै गीत गाउन लाग्यो ।
    “सानोमा सानो चिँगाने, तुरीतुरी गर्ने सिँगाने
    भगेँरीलाई पक्रुँला, नरोऊ बाबु ! थुमराजा,
    मकै मुलाको खाजा, बालुँला ढोड के कक्रुँला ?” इत्यादि।

    तल डण्डीमा नाङ्गा–नाङ्गै दुग्गुरिएका तीनौटा केटाकेटी खुशीले नाच्दै, उफँदै घर आए ।
    जेठो घनेले एउटा फुटेको मकलमा पानीपोखरी, कुलेसो, खाल्डोबाट जमेको पानीको काँचमा पाताजस्ता बरफका टुक्राटुक्री जम्मा गरेर बोकेर ल्याइरहेको थियो । छोरी घ्याम्पी सबभन्दा ठूलो पाता उसको भन्ने दाबा उच्चारण गर्थी । काले छोरी उसँग वादविवादग्रस्त थियो । गनेले यी तीनजनालाई हप्काएर बरफका टुक्रा जाँच्यो । उसको आत्मा जलिरहेको थियो । घनघोर । ती बरफका चीनीजस्ता, काँचजस्ता सेता रसिला टुक्रा देखेर उसलाई पनि खाऊँ–खाऊँजस्तो लाग्यो । उसले चट्ट मिठाई बरफ सम्झ्यो ।

    “ए पहेँली ! यो बरफ पिनेर कीपको अचार बनाऊ न, नून छर्किदेऊ – मिठाई बरफ नभए नून बरफ त होला ।”
    “छिः छिः छिः छिः के मान्छे होला ? के विचार ग-या होला ?”
    गने अनि हच्कियो तर उसले सुवासिनीको आँखा छलेर आफ्नो नून बरफको अचार तयार गर्‍यो । तर खाने समयमा खानेकुरो केही थिएन ।

    दुईवटा ढसरा कोदाको काला रोटा तयार भएका थिए । त्यसलाई च्यातेर पाँच टुक्रा बनाएर पहेँलीले बाँडी । केटाकेटीलाई सिस्नोको नूनिलो झोलचौटा । सबउपर ट्वाक थियो कीपको अचार । सबैले खाए ।
    दरिद्रदेवका भोका आत्मा अन्न नामको बलि लिन छटपटाएर बुभुक्षा अग्निको रातो जिभ्रो लपलपाउँदै स्वाहास्वाहाको दैनिक क्रियामा दन्केर उठे ।

    उनीहरू जान्दैनथे उनीहरूलाई कसले यस्तो निन्दनीय अवहेलनको बलि चढाएको थियो । उनीहरूको सन्तोष सस्तो थियो तर त्यति सस्तो सन्तोष सदा दुर्लभ । त्यसको अभावको ज्वालाले दरिद्र देवहरू आफूआफू जल्थे, झगडिन्थे, लड्थे र भिड्थे तर उनीहरूमा दिव्य अज्ञानको बाल्य विद्यमान थियो, जो अक्सर हाम्रो धार्मिक, राजनैतिक आदर्शको राष्ट्रिय उद्देश्य छ ।

    एकदिन त हाहु यसरी पनि बित्यो । तर, महिनाका मुहारका तीन कुना र हरेक कोषमा चौबीस मात्रा छन्।
    दिन प्रतिदिन अन्न – समस्याले पीडित परिवार परिस्थितिको घेरामा परेको सेनाजस्तो भयो । मक्खी खाऊँ कि मूसो खाऊँ ?

    म सम्झन्छु अद्र्धपोषित मनुष्यभन्दा दयनीय चित्र दुनियाँमा कहीँ पाइन्न । अपोषित मृत्युका मुखमा पर्छन्। तिनलाई शून्यले निल्छ।

    अतिपोषित उपहासका भयङ्कर स्वरुप हुन्छन् । जस्तो तामदानमा भर्‍याङ तलमाथि गर्ने स्त्री तथा बसेको ढोकामा नछिर्ने मनुष्य देख्दा हामीलाई अति करुणा लाग्छ । वनस्पतिको बीज भएर बाँझको राकस स्वरुप धारण गर्ने सम्भावना छँदाछँदै सानो बिरुवामै पहेँलिएर मरेको पौधा त्यस्तै छ जस्तो मानवसदृश अलिसिंहजातिको प्रबल सदस्य बनेर ।

    चराले खोज्नु नपर्ने, पशुले सहजै पाउनेजस्तो चुत्थो वस्तु (जसको नाम खाद्य या अन्न छ) त्यसका निमित्त मुर्झाएर आफ्नो मानवसाम्राज्यधिकारको अन्धो अचेत धारण गर्ने या सामाजिक या कानूनी या धार्मिक प्रबन्धले बिलकुल लाचार अर्धपशु पहेँलमुखे टिङ्गरो किङ्कड मानवसंसारका क्षेत्रमा देखिन्छ । तर, यस्ताउपर हामी करुणासिवाय घृणा गर्नको अधिकार राख्दैनौँ यद्यपि करुण प्राथमिक भाव भए प्रकृतया बराबर निस्कन्छ तर व्यवहारिक क्षेत्रका आत्मनिर्णयमा घृणाकै क्रिया आखिर उत्पत्त नभई छाड्दैन।

    यीनीहरू दौडबाजीहरुवा जस्ता देखिन्छन् । यी किङ्कडहरु लाचार बज्र हुन् । यी रोग पनि हुन् नातिखारिएका अचेत अस्त्र पनि । मानवले मानवअधिकारको चेत पाउन अरु एक सिँढी सभ्यताको उत्थान बाँकी छ । कर्मको सिद्धान्तले यिनको घाउलाई मलम लगाइदिएको छः मृत्युपछिको झूटो आशाले यिनीहरू बद्ध छन्ः धर्मको नाममा यी स्वतः आहुति बन्दछन् र यीनीहरू क्रमशः खियौटे जीवनका ताँतीमा मिसिएर बिलाउन जान्छन् । तर, जीवन संरक्षिणी शक्ति नामकी एक विचित्र अन्तचेत छ जो यिनीहरूमध्ये कसैकसैलाई सच्चा बुद्धि प्रकृत तवरले विकास गरिदिन्छे । त्यसबेला यिनीहरू आफूउपर उड्छन् । आदतका जन्जीर फ्याँक्छन्, परम्पराका छेकबार तोड्छन् र व्यक्तित्व हासिल गर्दछन् – याने यिनीहरू कि चोर, कि डाँकू हुन्छन् ।

    चिंगाने छोरोलाई जरो आइरहेको थियो । आमाको दूध सुकेकोले केही पिलाउन नपाएर आमाचाहिँले बराबर दूध मागीमागी घाँटी रसाइदिन्थी । उसलाई पिलाएको देखेर काले छोरो जो तीन वर्षको थियो, ‘दूध दे’ भनेर अघोर झगडा गर्दथ्यो । यसकारण पहेँलीले एउटा अक्किलबाट काम लिन लागेकी थिई । राङको कचौरामा पीठो रयालेर ‘ल, खा बुबु’ भनेर बिहानबेलुका उसलाई दिन्थी, बिचरो अनजान बालक त्यस नक्कली दूधलाई सच्चा दूध सम्झेर पिउँदथ्यो, एक पैसाको सक्करसमेत हालेको बेलामा ऊ मुख मिठ्याएर आनन्दित हुन्थ्यो। तर चिंगाने ही ही गर्न लाग्यो, कन्न लाग्यो ठसठस, आमाका सुकेका लाम्टासमेत तान्न छाड्यो । जरो भुङग्रिएर आयो ।

    पहेँलीले नागपूजा गरी । रछानमा बराबर रैथाने सेतो सर्प निस्कन्थ्यो । सिन्कामा रुओ उनेर अबीरअक्षता छरेर विधिपूर्वक उसले त्यस विषालु देवताको पूजा गरी । धर्म र पूजाआजा अक्सर दुःखी गरीब दिलका घाउका मलम रुपहरू हुन्छन्, फाट्दा कलेजाका धाँजाहरूको चहरावट शमन गराउने अरु औषधि देखिनाले र त्यस्ता मावन–कलेजा अतिसङ्ख्य भएकोले मेरो हृदयले बहुदेव पूजा तथा अलिविधिलाई हमेशी पन्छाउन चाहँदैन । गरीबी रछान, नालसँग सम्बन्धित रहन्छ, यसकारण गरीबका क्रूर देवताहरू (विषालु, ईष्र्यालु, क्रोधी, वक्रगामी) अक्रूर सर्पका रुपमा ( आवश्यकीय तवरले ) रहेका हुन्छन् ।

    मानिस कुक्कुरपूजा गर्छ – हृदयका त्रासनिवारणका लागि, हात्तीपूजा गर्छ – शक्तिका कदरको लागि, बाघपूजा गर्छ–भयङ्कर र क्रूरबाट बचावटका लागि, बाँदरपूजा गर्छ– आत्मरूपको बीज समादर गर्न मूसापूजा गर्छ– शीघ्रता र पटुताको प्रशंसाका लागि । वास्तवमा दुःखी मानव केलाई पूजा गर्दैन ? हावा, सूर्य, चन्द्र, नक्षत्र, रुख, पृथ्वी, आकाश, बादल, काग ? तर, जेलाई पूजा गरेपनि ऊ चाहन्छ एक चीज– उसको टुक्रिँदो कलेजोको मलम, उसको धाँजादार हृदयको दिलासा, उसका त्रासको निवारण, आशाको पूर्ति– जो सब एक चीजमा नामाकरण लिन सकुन्– आत्मरक्षण– त्यो आत्म यहाँ छोरो थियो चिंगाने ।

    फूकफाक गराइन्, झारझूर गराइन् । उल्टा दिइन् । प्रकृति तर हाँसिनन्, झन्झन् निधाउरी भइन् । छोरो गल्दै गयो । आखिर एक साँझ एउटा गुभाजूले फुक्तै थियो अजिमाको नाममा । बस चिंगाने नीरको ठून्को शीताम्मे भयो ।
    धामीले डग्डगाउँदै भनेको थियो,

    “अँ हेर् अँ हेर् ! भोलि बेलुकी दिनले पहेँलो अक्षता खाँदा बिउँत्यो भने, पाउलिस् है डाग्री तेरो छोरो मनुवा पाठोलाई ।”
    नभन्दै साँझमा शीताङ्ग ।
    सबले भने “गयो, गयो– ए छैन । न छौ ।”
    आमा मूर्छा परेर ड्वाङ्ग्रयाङ्ग लोटी ।

    “न्यूमोकोकसको देश पुराणमा बाजेले बयान गरेका थिएनन् । तिनको पूर्वप्रतीक्षा या संकेत रावण र कुम्भकर्ण, कंस र बकासुरका रुपमा मात्र गरिएथे । कुन ऋषिले योगबलले लूतो प्रान्तमा प्रवेश गरेर त्यस बहुमुखे बहुटाउके राक्षसका सेना र बस्तीका प्रबन्धविषयमा प्रकाश हालेथे ? न्यूमोकोकसको संसारमा यस्तायस्ता हूल हुन्छन्, यस्ता शस्त्र प्रयोग गर्छन्, यसरी छेदन गर्छन्, गठ बाँध्दछन्, भन्ने राम्ररी जानेकी भए पहेँली तिनसँग जरुर घनघोर लडाइँ गर्दी हुन् । तर उनी थिइन् अशिक्षिता नारी, त्यस्ती लड्की जो केवल यौनभेदका निमित्त विभिन्न आकृतिसँग् जोडिन जान्छे त्यस प्रकृत क्रियाका लागि जो अनिर्वाचित स्पष्ट छ – जातिविस्तार ।”

    यो शीताङ्ग निमुनिया क्राइसिस थियो । को जान्ने ? हटब्याग कहाँ थिए, कहाँ थिए भाइनस गेलेसिया इन्जेक्सन ? इत्यादि । विज्ञान यस नेपाली कुनाबाट अमेरिकाभन्दा टाढा थियो ।
    चिंगाने गयो ।

    रातको अँध्यारोले उसलाई छोप्यो । अनन्त बच्चा ताराहरू उसको चिहानउपर रोइरहे । उ तिनका साथ कहीँ बस्यो ।
    निर्धनवर्गमा शिशुनिधनको क्रम बार नभएको खेतमा धानका बालाका बीउको भन्दा बढ्दा हुन्छ ।

    भोलिपल्ट आए काहिँला बाजे । उनी भर्खरका होमियो अभ्यासक थिए ।
    “के भो हँ ?”
    “गयो ।”
    “हँ ? – मैले दिएको औषधिका गोली पारेनौँ एउटा पनि ?”
    “गुभाजू फुक्तै थिए– अरुको औषधि नपार्नु भन्या थियो । तर किन्न खोज्यो पैसा पनि पाइएन ।” काहिँला बाजेले रिसले आँखा देखेनन्– “कस्ता अन्धा पशुहरु ? छ बिमारी निमुनियाको, लगाउने झारफुक ?”

    उनले रिसले बेस्सरी झपारे “अन्धाहरु, यस्तो, यस्तो, यस्तो भन्ने बुझ्नु पर्दैनथ्यो ? जाँदै नजाने ल त्यो लड्यो । बालक हत्याराहरू कहीँका ।”

    चित्त दुखेर दुःखी वियोगी बाबुआमाले उजुर गरे उनीहरु अज्ञानी थिए । रिसको झोँकमा काहिँला बाजेले कीटाणुको नक्सा लिन घर पठाए । देखाए, बुझाए । “यसरी शीताङ्ग हुँदा बताउनू भनेको होइन ?” तब दैवगतिले लाचार भएर उनको क्रोध समाजको खरानीउपर दगुर्न लाग्यो, “यस्तो समाज ! कत्रो अन्धविश्वास, कत्रो अन्धता ! अपराधी मान्छे होइन तर समाज हो । थितिको दोष” सामूहिक उत्तदायित्व र पारस्पारिक जवाफदेहीको तत्वउपर एक घण्टा व्याख्यान छाँटे – “भुस्याहा कुकुर राख्ने मालिक भुस्याहा, गधा बनाउने समाज गधा, चोर बनाउने समाज डाँकू । म बरु जजलाई फाँसी दिने थिएँ । तिमीहरू किन बिगर्‍यौ ? व्यक्तित्व विकास नपाएर । छेकिएर, बारिएर, पिँधिएर गुम्सिएर ।”

    “लौ त मेरी सुवासिनीको आँगमा चोली हुनै पर्ने, कटीमा एक सारी भन्न जाऊ त यस समाजमा ? के तिमीहरु लाज मान्दछौँ ? मेरी तरुनी स्वास्नीको गालामा बाटुलो राख्ने मेरो अधिकार खै भन्न जाऊ यस संसारमा ? तिमीहरूको लज्जा लाग्छ । तिमी आफ्नो बेइज्जती सम्झन्छौ, यो तिम्रो हकको निमित्त तिमी आवाज उठाउन जान्दैनौ । धनपतिले पहाड बनायो ईटको, मखमलको गद्दा बस्यो । तिमी यो बन्दर झोपडीमा, के यो तिम्रो कर्मको फल हो ? थिति बेईमान हो, कानून बदमाश हो । यसैलाई मान्नु तिमी धर्म सम्झन्छौ ।

    तिम्रो घनको हाड किन बाङ्गेको यसरी, शुकेनास लाग्यो होइन बालककालमा ? तिमीले गोबरको मूर्ति पन्सायौ होला तर शुकेनासलाई तिमीहरूले राम्ररी सच्चा रुपमा चिनेनौ । त्यो शुकेनास समाजमा विषम थिति हो । धर्मले खाऊ भन्छ तर अर्कालाई मारेर होइन । आफूलाई चाहिनेभन्दा बढ्ता राखेर या अर्कालाई मार्नु, काट्नु, दण्ड दिनु धर्म होइन, अत्याचार हो।

    ए जाँतोमनिका गरीब गहुँ हो । लौ टाउको उठाऊ ! सक्तैनौ । तिम्रो के मजाल !

    यहाँ एक जाँतो छ जसको मुख बाहुन हो । जसमा चार तह छन् छत्तीस दाँती । यी मुनितिर तिमीहरू छौ । नकराऊ पिसिऔला । चूप रहू । पहेँलिओ । मुरझाओ– माटामा गिर !

    औषधि किन्न पैसा पुगेन गने तँलाई ? ए लाटो आत्मा ! तँ छोरालाई १ लाखको सम्झँदैनथिस् ? नजीकको पसलमा यसो ढुकेर, नजीकको धनीघरमा मौका छोपेर चोरी गर्न सकिनस् नाथे ? ”

    “चोरी ता हजूर ! कसरी गर्नु र नि ? गरेर आइएन ! पाप लाग्छ भन्छन् ।”

    “छ्या मूर्ख ! त्यो भन्दा ठूलो त धर्मै छैन आफू बच्न जानेदेखि यो समाजको पिसाइबाट, बुझिस् ?” गने जिल्ल पर्‍यो । केहीकेही बुझ्यो, धेरै कुरा बुझ्दैनथ्यो ।
    “आर्थिक विकास नबुझ्नु आजकल बाँदर हुनु हो । तँ के गीता पाठ गर्दैछस् ?”
    “हजूर !”
    “बिलकुल रामराम छौ तिमीहरू । अरुलाई हृदयमा घाउ लगाउन दिएर अनि रामराम फुकेर मर्दै बिसेक हुन खोज्ने किसिमका छौ । गीताध्वंसक चुनावको विकास सिद्धान्त हो । गरीबलाई सन्तोष सिकाउँछ, धनीलाई ऋण ज्यादा ।”

    काहिँला बाजेले हृदयमा गीताका अतिश्रद्धा–भक्त हुँदाहुँदै झोँकको क्षणमा गरीबको दुर्दशा देखेर श्रीकृष्णसँग पनि आँखा देखेनन्, “हेर् गने ! घनेको छाती, परेवा हड्डी बाङ्गो छ । घ्याम्पी टाउको र भुँडी मात्रको राकसमूर्ति छ, सुकुटी खुट्टो छ । यी शुकेनासका छोराछोरीहरू हुन् । तेरा होइनन् । यिनीहरू आधा मरिसके । पढाइमा यिनको अवकास छैन । यिनीहरूको मष्तिस्क क्षीण छ । कालेलाई मैले जाँच्दा फोक्सो छियाछिया छ । यो टी.बी.को शिकार छ । ८/१० वर्षमा यिनीहरू जरुर मर्ने छन् । यदि गने ! तैँले आफ्नो आर्थिक बन्दोबस्त विकास बढाइनस् भने । तैँले पढिनस् । सर्टिफिकेट तँसँग छैन । काम गरेर बाँच्नु ५० प्रतिशत जनताको कर्म हुन्छ । थला परे मरिन्छ, अचानक परे मरिन्छ ।

    अब तेरो उपाय के छ त?
    उ : हेर् ! त्यो अगाडिको सेतो घर । रङ्गीन कमराहरू झिलमिल बत्ती, के त्यहाँ बस्ने तेरो देउता हो ? लाटा ! त्यस रानुलाई किन सप्पै मह ?
    जो चाहानाको जोड नसहँदो हुँदा अँध्यारो रातमा अथवा झन् अँध्यारो दिनमा– आँखा छल, चोर ! यो समाजले तेरो छोरो चो-यो, स्त्रीको रुप चो-यो, स्तनको दूध चो-यो, आँखाको तेज चो-यो, तेरो तेज र पुरुषार्थ चो-यो, तेरो हक चो-यो ।
    जी लाटा ! नमर !
    समाजसँग बदला ले !”
    “चोरीमा परेँ भने पापदण्ड कसले सकार्ने नि हजूर ?”
    काहिँला बाजेले भने जोशसँग, “जनै छोएर किरिया हाल्छु– म”
    यसपछि जोशी जवान समाजवादतरफ प्रबलप्रवृत्ति नछाटिएका काहिँला बाजे रवाना भए ।

    यसपछि गनले घर निकै ठूलो र राम्रो बनायो, टिपकारी गरायो । बारी बढायो । सुवासिनी मैयाँसाहेब बनी । कुक्कुरले पनि अलिकति दूधभात पायो । बराबर हप्ताहप्ता खसी ढाल्न लागे । गनेलाई पुलिसले सत्तरीबाट सलाम गर्न लाग्यो ।
    परम्परा र आदतको बादलबाट एकबार बलबा गर्नासाथ त मनुष्यको सामाजिक व्यक्तित्वको प्रतिभा एकदम झल्कन थालिहाल्छ । सोझाले नेपालमा सतीको शराप पाए । सती मूर्ख थिइनन् । सोझा मूर्ख थिए । लटमुखा विश्वास आभ्यतरिक अविश्वासमा परिणत हुनासाथ मनुष्यले व्यक्तित्व हासिल गर्छ ।

    सुधो बुझ्दैन कि यो दाउपेचको दुनियाँ हो जसमा नीति ठेली केवल देखाउन र ठूलालाई राख्न लेखिएका थिए । चाणक्यजस्तो नीतिकार जहाँ छ– उल्लू, तत्वहीन, विरोधको गठरी, राजाको भोटेकुक्कुर– जसमा धर्म र नीतिको नामनिसानै छैन– त्यहाँ राजनीतिदेखि समाजनीतिसम्म पिल्सेर, हतौडी लगाएर मात्र रहेका छन् भन्ने मूर्ख सज्जनले सम्झन सक्तैन । उ सम्झन्छ, दुनियाँ असल छ र सत्को पथ भन्ने ठोस एक गोरेटो छ जहाँ विशाल स्वार्थको धक्काद्धारा नामेटी या आनका तानै छैन । यी बुद्धहरु जरुर बिग्रन्छन् तर दाउपेच ! सोध राजालाई, सोध साधुलाई, सोध वैज्ञानिकलाई केले– काम गर्छ दुनियाँमा ?

    …तर दाउपेचलाई गुठरीको जोड अलिकति चाहिन्छ । गनेसँग थिएन । उसले अर्कै नदेख्ने दाउपेचले हासिल गरेको थियो ।

    “अब आ जहरसिङ लप्टन, बुता भए ‘सलाम गर्दैन बलाई बजिया’ भनेर गाला चड्काउन ।”

    गनेले सारा रहस्य, काहिँला बाजेलाई सुनाउने गर्दथ्यो । उनी चाखसाथ सुन्दथे, बराबर धाप दिन्थे । उनको प्रतिभाको सिफारिश गर्दथे । कसरी जर्साबको बैठके हुन गा थियो । कसरी बैठकबाट हीरा चेर्ने अवकाश मिल्यो । शङ्का गरेर दरबारबाट निकालेका थिए । तर उ त्यति चाहन्थ्यो । हीरा त कतै न जा ।

    उसले आफ्नो चोरीको चरित्र शूरु गरेको थियो सुब्बा बाजेकहाँ । हरहमेशा खेत खन्न, गाईलाई घाँस खुवाउन ऊ तत्पर रहेको थियो । कूचो आफैँ बढाथ्र्यो । बस एकदिन नोटका क्याँट लम्पटमनिबाट हात लागे । के खोज्छस् कानो आँखो । अब त्यो चारसय एक मुठमा कमाउन समाजले गरीबलाई एक शताब्दीको रगतपसीना साथ अवकाश दिएको थियो । उसले सुनौलो मौका हात लगाएको थियो । जमेको थियो त्यसैपछि । सुब्बाबाजेले दश जुत्ता खाँदी छिँडीमा दश दिन कुहाए । तर उसको उद्देश्य सफल भएको थियो ।

    “आ बसे गरिस् डाङग्रा । घूसको धन चोरेको हात, के भो त ?”

    त्यसपछि उ जमेको थियो । घ्याम्पी मर्न आँटेकी थिई । त्यसैले गरेर उत्री । अहिले कस्ती राम्री कलकलाउँदी भएर आएकी छ । कालेलाई क्षय भएजस्तो लक्षण देखिँदा त्यसैले काम दिएको थियो । नत्र स्टेप्टोमाइसिन् त्यत्तिको कहाँबाट किन्न पाउनु, गरिपर्वतर ? त्यसपछि उसलाई मनमा लागेको थियो कि जाली, घुस्याहाहरूसँग नाता बाँधे कमसेकम क्याँट नदेख्नेगरी फल्दो रहेछ । एउटा पहाडी मुखिया थियो । उसको सङ्गतमा उसको घुसखोरीको सारा रहस्य बुझेको थियो । अनि आफू आधा, चौथाइ मुखिया अरु पारेर उसले प्रशस्त झगडियाहरूको आन्द्रो दुहेको थियो ।

    अब घने छ किलासमा पब्लिक स्कुल पढ्दथ्यो । घ्याम्पी ४ किलासमा लड्की–स्कुलमा, काले भने पढ्न मन पटक्क गर्दैनथ्यो । को खाइदेओस् दूध, घिउ, मही ? पहेँलीलाई रेशमी सारी नलाई बाहिर निस्कन मन लाग्दैनथ्यो ।
    “तँ पनि बडो, मोटो, घाटो, खाइलाग्दो, रातोपिरो फस्टकिलास भलाद्मी देखिइस् त । याह ! हारल्ड ल्वायड डिजाइनको क्रूक चश्मा, निखरा कालो कश्मीरा कोट, बाटुल कल्ली भेला, बराट सू– अब के चाहियो र ?”
    “सब कुरा पुगेका छ गुरु, गुरुको कृपाले । मेरो छोराहरूलाई हजूरबाटै सपारिदिबक्सनुपर्दछ । मन्त्रदान गुरुबाटै बक्नुपर्दछ ।”

    “हुन्छ, हुन्छ, तँलाई पनि अब थोरै शिक्षा, अर्ती दिन बाँकी छ । सुन्, तँ एक प्रतिष्ठित भलाद्मी भइसकिस् । समाजले तँलाई अब हमेसी हेप्न सक्तैन । भलाद्मी भनेको के रहेछ, अब बुझिस् कि ! सबभन्दा बाठो चोर, छिपेको डाँकूजस्तो तँ आफूलाई जरुर सम्झन्छन्स् । काम गरेर, परिश्रमद्धारा, सच्चाइद्धारा, दुःख तपस्याद्धारा, भलाद्मी हुन सक्ने भए, तैँले अघि कत्ति कोशिश गरिस् ? के तँ सफल भइस् ? यस समाजमा, यस थितिमा सोझो परिश्रमलाई जिउने अवकाश जरुर छैन । यस हालतमा जति मलका मूलाजस्ता फस्टाइरहेछन् ती के हुन् ? यदि तिनीहरु छिपेका चोरडाँकू होइनन् भने त अन्तःकरणलाई शान्त बना । तैँेले प्रायश्चित गर्नु पर्दैन ।

    अब बोक्रे गीता पढ्न तयार भइस् । चण्डी पाठ गर् । अब चोरी प्रकृत भइसक्यो तैँले सानोतिनो चोरी गर्नको जरुरत छैन । छोराछोरी जापान, बिलायत पठाउलास् । थितिमा राम्ररी मिलेर मसिना दाउपेचले फस्टी । बाबु ! अब तँ प्रतिष्ठित भलाद्मी बनिस् ।”

    गणबहादुरले आफ्नो देवताको पाउ छोएर कृतज्ञतासाथ बिदाइ लियो ।

    (यो कथा लक्ष्मी कथासंग्रहमा ‘उपकारको बाटोमा’  शीर्षकमा प्रकाशित छ ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      लक्ष्मीप्रसाद देवकोटा

      लक्ष्मीप्रसाद देवकोटा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.