जीवन ढकाल : आज सुने कि दुई पार्टीका अनेरास्ववियूका एक भए रे र ३३५ सदस्यीय कमिटि बनाउने भए रे । यसबेला मैले सम्झें कुनै बेला म पनि अखिल थिँए । जब फणिन्द्र तिम्सिना मारिए उनको स्थानमा म कार्यबाहक जिल्ला सचिव भएँ । यसतो संगीन कालमा पनि हामीले विराटनगरमा आन्दोलनलाई जोगाएर राख्यौं । त्यस दौरानमा के के गरिए के के गर्न सकिएन त्यसको फेहरिस्त दिन पनि सकिन्छ तर कतिपयलाई अर्थहिन ‘‘आत्मगौरव’’ लाग्न सक्छ । तथापी यस बेला म एउटा घटनाबारे स्मरण गरिरहेको छु, आशा छ, यो हालका विद्यार्थी नेताहरुले उपयोगी ठान्लान्, यदि नठहराए पनि अर्थहिन नभन्लान्।
०३८ जेठ तिरको कुरा हो, एसएलसीको नतिजा आउने समय थियो । महेन्द्र मोरङ कलेजमा पनि नयाँ विद्यार्थी प्रवेशको अपेक्षासँगै अनेरास्ववियुले सहप्रारम्भिक कमिटी निर्माणको अभियान नै चलाएको थियो । अघिल्लो दिन बनेको छात्रावास सहप्रारम्भिक कमिटीको मिटिङ साँझमा बस्ने भएकाले एजेण्डाबारे छलफल गर्दै केही साथीहरु छात्रावासको बरण्डामा बसेका थियौं । अचानक साइकल चढेर नहर पार गर्दै एक अधबैँसे व्यक्ति छात्रावास तिर आउँदै गरेको देख्यौं । अरु साथीहरुले खासै ध्यान नै दिएनन् । तर म चाहीँ भूमिगत मानिस दिउँसै एक्लै आएको देखेर झस्किएँ । उहाँलाई म ‘सागर’ नामले चिन्थेँ । उहाँसँग मेरो २०३७ सालमा भोजपुरको झ्याउपोखरीको आफ्नै घरमा र ०३८ मंसिरमा बिराटनगरमा मीरा अर्यालको कामत–घरमा भेटेको थिएँ । वहाँ हामीलाई नै भेट्न आउनु भएको रहेछ, र उहाँ सिधै पदम पौडेलको कोठामा पस्नु भयो । हामी पनि त्यतै लाग्यौं । वहाँ आउनु अघि हामीहरु नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने र तिनीहरुलाई अनेरास्ववियूतर्फ आकृष्ट गर्ने तौरतरिकाबारे छलफल गरिरेहेका थियौं तर सागर कमरेडको प्रवेशपछि हाम्रो छलफल रोकियो । हामीहरु सबै सागरको मुख ताक्न थाल्यौं।
एक क्षणको शान्तपछि सागरले वातावरणलाई सहज बनाउनु भयो । वहाँले कुरा शुरु गर्नु भयो । उहाँले अब विद्यार्थी आन्दोलनलाई एक रचनात्मक दिशा तर्फ फैलाउनु पर्ने बेला भएको छ भन्दै भरखरै अनेरास्ववियू केन्द्रीय कमिटीले गरेका केही निर्णयहरुबारे व्याख्या गर्नु भयो । हुन त त्यसबेला अनेरास्ववियूलाई पार्टी निरपेक्ष भनिइन्थ्यो तर यसले नेकपा मालेका निर्णयहरुलाई वैधानिकरुपमा कार्यान्वयन गर्न र मुख्यत कार्यकर्ताहरुको प्रवेशद्वारका रुपमा कार्य गर्थ्यो । यसका हरेक इकाइहरुमा संगठित कार्यकर्ताहरुलाई मालेका नेताले सिद्धान्त र विचारबाट प्रशिक्षित गर्ने गर्दथे । पार्टीका निर्णयहरुलाई व्याख्या गरी कार्यान्वयन गराउन प्रयत्न गर्दथे । आज सागर त्यस्तै निर्णय कार्यान्वयन गराउन आउनु भएको रहेछ । तर त्यो अनेरास्ववियूको इतिहासमा बेग्लै खालको थियो । त्यो थियो – अनेरास्ववियूको रचनात्मक कार्यको देशव्यापी अभियान ।
सागरले सो रचनात्मक अभियानका बारेमा नबताई केही प्रश्नहरु हाम्रा माझ राख्नु भयो।
१. के तपाइहरु यहीं होस्टलमा बस्नु हुन्छ ?
२. ट्युवेल वरपर गजगज फोहोर रहेछ, त्यसले कसलाई हानी गर्छ ?
३. ट्युवेल वरपर पानी जम्दा लामखुट्टे हुर्कन्छन् र वरपर यसमा लामखुट्टेले आराम गर्छ भन्ने तपाईंहरुले पढ्नु भएको छैन र?
४. ती लामखुट्टेहरुले होस्टल बनाउने गोल्छालाई किन टोक्दैन ? कि क्याम्पस चिफलाई टोक्नु पर्ने हो ?
५. विद्यार्थीहरुलाई फोहोर मन परेको हो कि ? सफा गर्न नसक्ने भएर हो ?
६. के यस्तै वातावरणमा आफ्नो अध्ययनलाई एकाग्र गर्न सक्नु हुन्छ ? के आफू बस्ने र पढ्ने स्थानलाई सफा राख्न सफाइ अभियान चलाउन सक्नु हुन्न ?
हामी यी प्रश्नहरु सुनेर अवाक भयौं । हामीसँग यस्ता प्रश्नहरु किन गर्नु भयो ? सोच्न नपाउँदै उहाँले भन्नु भो– यी प्रश्नहरु मैले कापीमा लेखेर बुझाउनु होस् भनेर दिएको होइन, तपाईहरुको रचनात्मकता जाँच गर्न दिएको हो’ । करीव यसतै प्रश्नहरुका साथ उहाँसँगको कुराकानी सकियो ।
साँझ खानापछि अर्को मिटिङ थियो । त्यस मिटिङमा हामीले नयाँ प्रवेश हुने विद्यार्थीलाई कोठा खोज्न, फाराम भर्ने, विषय रोेज्न सहजीकरण गर्ने जस्ता कार्य गरेर नजिक हुने निर्णय गर्यौं । म यहाँनेर जोड दिएर भन्छु कि तत्कालिन अनेरास्ववियूका सबै इकाइहरुले हरेक सदस्यहरुलाई विद्यार्थीको मुख्य कर्तव्य पढ्नु हो भन्ने कुरालाई आत्मसात गराएका थिए । त्यसबेला जिम्मेवारीको हानथाप दुर्गम र संगठन नभएका क्षेत्रका लागि हुन्थ्यो, चन्दा उठाउने क्षेत्रका लागि होइन । तर, सागरले आजको भेटघाटमा छर्नु भएका प्रश्नहरुले हाम्रो माथिंगल नै घुमायो । यसबारे हामीले निकैबेर छलफल गर्यौं ।
सागरका प्रश्नहरुले विद्यार्थीलाई पाठनपाठनमा मुख्य ध्यान दिएर राजनीतिमा सक्रिय भएपनि रचनात्मक कार्य र क्याम्पसमा भएका आफ्नै समस्या उठाउन तथा समाधान गर्न सक्रिय हुनुपर्ने, पुस्तकालय व्यवस्थापन, छात्रावास व्यवस्थापन, वृक्षारोपण, सरसफाइ, जस्ता कुरामा सक्रियता देखाउनुपर्ने जोड दिएको निष्कर्ष हामीले निकाल्यौं । यस्तो निष्कर्षपछि हाम्रो छलफल रचनात्मक कार्य गर्नका लागि विषय खोज्नेतर्फ मोडियो । यसपछि छात्रावास परिसर सफा गर्ने, वृक्षारोपण गर्ने, क्यान्टीन माग गर्ने, भित्ते लेखन हटाउने, पुस्तकालयमा पुस्तक थप्ने, जस्ता निर्णय गरिए ।
भोलिपल्ट सफाइ अभियान चल्यो । मन लगाएर सफाइ गरियो, बाटो बनाइयो, घाँसले छोपिएको छात्रावास परिसर आकर्षक बन्यो । क्याम्पस चिफ र केही प्राध्यापकहरु हामीले उत्साहका साथ काम गरेको हेर्न आउनु भयो।
दोस्रो दिन बाटोको पोल र छात्रावासका प्रांगणमा बत्तिहरु राखिए । क्याम्पसबाट छात्रावास जाने बाटो रातमा उज्यालो देखिन थाल्यो । त्यस उज्यालोले गर्दा र घाँस काटिएका कारणले सर्पहरुको आक्रमण हुन नसक्ने अवस्था बन्यो ।
क्याम्पस चिफ ध्रुव नारायण लाल दासको सल्लाह वमोजिम तेश्रो दिन हामी गोल्छा निवास पुग्याैँ । त्यहाँ उहाँहरुले निर्माण गरिदिएको छात्रावासको बेहाल अवस्थाको वारेमा कुरा भयो । सायद पहिलो पटक मैले टेलिभिजन त्यही देखेँ र हेरे १४ इन्चको एन्टिनाबाट चलेको व्ल्याक एण्ड वाइट टि.भी. । हाम्रो वार्तापछि रामलाल गोल्छाले आफ्नो छोरालाई छात्रावास पठाउनु भयो ।
केही दिन पछि छात्रावासको टुटेका झ्यालहरु ढोका मर्मत गरिए, रंगरोगन भयो र क्यान्टीनमा फर्निचरहरु थपिए । दुईजना कुक क्याम्पसबाट प्राप्त भयो । क्यान्टीन चल्यो, हामी कति उत्साहित र खुसी भयौँ भन्नै सकिन्न ।
चौथो दिन क्याम्पसको भित्ते लेखन मेटाउने योजना बन्यो, त्यसबेला म जिल्ला कमिटीमा भएपनि अध्यक्ष चन्द्र खतिवडा र उपाध्यक्ष प्रेम सागर सापकोटालाई सोधियो । सुरुमा बहस भएपनि अन्तमा मेटाउने निर्णय भयो र चुनले मेटाइयो ।
पाचौँ दिन वार्डेनको सल्लाहमा हामी कोशी प्रोजेक्ट गयाैँ र नहरको काठे पुल मर्मत गर्न माग गर्यौं, त्यहाँबाट कल्भर्ट बनाइदिने आश्वासन पायौँ।
त्यसपछिका सफाइ अभियानका कार्यहरुमा क्याम्पसको प्रारम्भिक कमिटि लाग्यो । त्यसले क्याम्पसमा बन्द भएको क्यान्टिन सञ्चालन गर्न, स्व.वि.यु.को चुनाव गराउन, पुस्तकालयमा पुस्तक थप्न, कोर्स स्टडी वितरण गर्न माग गर्यो ।
यी मागहरु के कसरी पुरा हुँदै गए, यसको यसबेला मलाई सम्झना छैन । तथापी अनेरास्ववियूको विद्यार्थी आन्दोलनमा यो ऐतिहासिक मोड थियो भन्ने मलाई लाग्छ । हाल अनेरास्ववियू र नेकपाका कैयन इकाइहरुले यस्ता रचनात्मक तथा सफाइ अभियान संचालन गरेको तस्वीरहरु विभिन्न व्यक्तिका फेसबुकका भित्तामा देख्ने गर्छु । यसले मलाई अतिततर्फ डोर्याउँछ । तर कताकता हालका अभियानहरु भौतिकरुपमा संचालन त भएका छन् तर तिनीहरुमा मन र लगन संलग्न नभएको जस्तो लाग्छ।
यो अभियान स्मरण गरिरहँदा सागर उर्फ मदन भण्डारीको कार्यकताहरुलाई निर्देशन विधिबारे सम्झन्छु । उहाँले यस अभियानका बारे ‘यसो गर उसो गर’ नभनी हामीलाई केही प्रश्नहरु गरेर जानु भयो । ती प्रश्नहरुले हाम्रो माथिंगल नै चकराई दियो तर निष्कर्षमा पुग्न सजिलो गराइदियो ।
हाल नेपालको युवाविद्यार्थी आन्दोलन कसरी चलिरहेको छ मलाई जानकारी छैन तथापी म जान्दछु कि यसले म जस्ता शैक्षिक पेशामा संलग्न रहेका व्यक्तिहरुलाई आकर्षण भन्दा विकर्षण गरिरहे जस्तो लाग्छ । विद्यार्थीका संगठनहरु त छन् तर तिनीहरुले विद्यार्थीलाई अध्ययनमा अब्बल हुनु पर्छ भन्ने प्रेरणा दिएका छैनन् जस्तो लाग्छ, तिनीहरुले कहिल्यै पनि विद्यालय तथा क्याम्पसमा पुस्तकालय अद्यावधिक राखिनु पर्छ र प्राध्यापकहरुले मेहनत र उपयुक्त शिक्षण विधि अपनाएर पढाउनु पर्छ भनेर माग राखेको देखिदैंन । तिनीहरु सरकारसँग माग गर्दैनन्, प्राइवेट कलेज र स्कूलसँग मात्र “माग” गर्छन् र भाग लगाउँछन्। तिनीहरुलाई शैक्षिक क्षेत्रको गरीवमैत्री मागहरुबारे कुनै चिन्ता छैन। पार्टीमा मेरो हैसियत र मेरा थकाइहरुले मेरा चिन्ता र मागहरु उनीहरुकहाँ पुग्ने छैनन्, तथापी कसैले सोधे भने म भन्छु– विद्यार्थी आन्दोलनको मार्ग सुबाटोतर्फ छैन।
म यहीं महेन्द्र मोरङ्ग कलेजको छात्रावास नियाल्दै हरेक दिन हिड्ने गर्छु, हामी पढ्दा यहाँको गुलजार सम्झदाँ मन विरक्त्याउँदै हिड्ने गर्छु । प्रश्न गर्छु, यस क्याम्पसमा पढ्ने दुरदराजबाट आएका गरीव विद्यार्थीहरु कुन छिँडीमा बसेका होलान् तर यहाँका भवनहरु दिनप्रतिदिन मक्किदैछन्। के अब म आश गर्न सक्छु – विद्यार्थी आन्दोलन विद्यार्थीको हितार्थ पुन बौरिन्छ ? के यो छात्रावासले पुनः दुरदराजबाट आएका गरीव विद्यार्थीलाई आश्रय दिन सक्ला, र यस क्षेत्रको गुलजार गर्ला ? म सोच्छु – मदन भण्डारी व्यूँतेर साइकल चड्दै आएर विद्यार्थी नेतालाई सोधुन् – लामखुट्टेले होस्टल बनाउने गोल्छालाई किन टोक्दैन?