Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भूमिगत जीवन : बच्चा च्यापेर आन्दोलनमा, ‘सौता’को समेत आरोप

अष्टलक्ष्मी शाक्य अष्टलक्ष्मी शाक्य
बैशाख १५, २०७८
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म सिन्धुपाल्चोकको पिस्करमै काम गरिरहेकी थिएँ। स्थानीय कमरेडहरूले भन्नुभयो, “दुई जिउ भएको बेलामा गाह्रो हुन्छ कमरेड, पहाडको बाटो हिँडडुल गर्न सजिलो हुन्न। खानेकुरा पनि छैन, पछि बच्चाको स्वास्थ्य कमजोर होला, सजिलो ठाउँमा बसेर काम गर्नुपर्छ।” मलाई भने पिस्कर पटक्कै छोड्न मन थिएन।

    उहाँहरूले मलाई हिँडडुलमा गाह्रो होला भनेर म हिँड्ने खास खास बाटोमा खुड्किला बनाइदिनुभयो। खाने कुरा केही हुँदैनथ्यो। मलाई भोक लाग्ला भनेर उहाँहरूले मेलामा दिएको खाजा आफैले नखाई पटुकामा पोको पारेर ल्याइदिनु हुन्थ्यो। उहाँहरू मलाई गाह्रो अप्ठ्यारो केही नहोस् भनेर विशेष ध्यान पुर्‍याउनु हुन्थ्यो। थोरै कोदो र मकैको पिठो सिस्नामा हालेर खोले बनाइ खुवाउनु हुन्थ्यो। आमाहरूले दुई जिउको बेलामा तातो खानुपर्छ भनेर सम्झाइ रहनु हुन्थ्यो। खाने कुरा केही नभएको बेलामा तातो खानुपर्छ भनेर तताएर दिनुहुन्थ्यो। उहाँहरूले गर्न सक्ने सहयोग र माया मलाई दिइरहनु भएको थियो।

    पिस्कर छोडेर पत्र लेख्ने काम
    गर्भावस्थाको सात महिना पुगेर आठ महिना भएको थियो, मेरो शरीरमा रगतको अभाव देखिन थाल्यो। शरीर पनि कमजोर हुँदै गयो। यसरी गाउँमा राखेर हुँदैन, सहरमा लानुपर्छ, खानपिनमा राम्रो ध्यान दिनुपर्छ, आराम पनि चाहिन्छ, पछि बच्चा जन्मिन गाह्रो हुन्छ भनेर चिन्ता लिनुभयो। सबैको सल्लाहबाट पार्टीले पिस्करको कामबाट मलाई बिदा दिई काठमाडौँमा ल्यायो। “पार्टी कामबिना म यत्तिकै बस्दिनँ, केही भए पनि काम दिनुस्,” भनेँ। पछि पार्टीले मलाई दस्तावेज सार्ने काम दियो। पार्टीका दस्तावेजहरू प्रायः कार्बन पेपरमा राखेर लेख्नुपथ्र्यो।

    पञ्चायती शासकहरूले जेलमा धेरै कमरेडहरूलाई त्यसबेला राजकाज लगायत विभिन्न मुद्दामा राखेका थिए। जेलमा पार्टीको निर्देशन पठाउने काम हुन्थ्यो। मैले साना अक्षरबाट लेख्न सक्ने भएकाले तपाईंले जेलमा पठाउने पत्रहरू लेख्नुहोला भनेर मलाई काम दिइयो। बसेर लेख्न सानो टेबुल पनि दिइयो। म त्यो बेला कमरेड जमुना स्थापितकी आमा राममाया श्रेष्ठ बस्ने डेरा जैसीदेवलमा सँगै बस्थेँ। आमा पनि साह्रै निःस्वार्थी हुनुहुन्थ्यो, पार्टीलाई भनेपछि आफू भोकै बसेर भएपनि दिनुहुन्थ्यो। मलाई त झन् धेरै माया गर्नुहुन्थ्यो।

    जमुनाका बाहिनीहरू विद्या, दया, पूर्ण र भाइ प्रकाश पनि साह्रै सहयोगी, सबैले मेरो स्वास्थ्यमा ख्याल गर्नुहुन्थ्यो। मलाइ लेख्न पूरै समय छुट दिनुहुन्थ्यो। मैले पार्टीको अपानि लगायत गोप्य पत्रहरू बुझिनेगरी साना अक्षरमा लेख्थेँ। त्यसलाई कमरेड श्याम (अमृत बोहोरा) ले कहिले थर्मसमा, कहिले पकाएको मासुभित्र राखेर थाहा नपाउनेगरी जेलमा पठाउनुहुन्थ्यो। यसरी पठाएका सबै पत्रहरू सजिलै जेलभित्र कमरेडहरूले पाउनुहुन्थ्यो। यसरी कडा भूमिगत अवस्थामा पनि जेलभित्र पार्टी सम्पर्क कायम रहेको थियो।

    छोरी र छोराको जन्म
    मेरो सुत्केरी हुने समय आयो। पाटनको शान्त भवन अस्पतालमा म केशरी श्रेष्ठको नामबाट भर्ना भएँ। समयमा सुत्केरी नभएर अलि गाह्रो भयो। तर त्यो बेला अप्रेसन गर्ने चलन थिएन। कमरेड श्यामलाई आउन पनि धेरै गाह्रो थियो। तर उहाँ सुत्केरी हुने बेलासम्म पनि सतर्कताका साथ रहनुभयो। पहिलो बच्चा, अनुभव थिएन, म आत्तिएकी थिएँ। उहाँको माया र साथले मलाई केही हलुको बनाएको थियो। पार्टीका अरु कमरेडहरूले पनि सुत्केरी हुँदा धेरै सहयोग गर्नुभयो।

    छोरी जन्मेकामा हामी सबै खुसी भयौँ । यो छोरी अष्ट जस्तै हुने होला नि भनेर कमरेडहरूले ठट्टापनि गर्नुभयो। मेरो सुत्केरी स्याहार्ने काम जमुनाकी आमा, बहिनी विद्या, दया, पूर्ण र पद्माले गरेका थिए। भाइ प्रकाशले पनि बच्चा खेलाई मलाई सहयोग गथ्र्यो। त्यो बेला पार्टीका महासचिव सी.पी मैनाली हुनुहुन्थ्यो। अचानक उहाँ म बसेको ठाउँमा आउनुभयो। दुई दर्जन जति कुखुराका अन्डा पनि ल्याउनुभयो। “कस्तो छ, तपाईं र बच्चाको स्वास्थ्य?” भनेर सोध्नुभयो। म साह्रै खुसी भएँ। भूमिगत अवस्थामा पार्टी महासचिव, त्यो पनि अन्डा बोकेर आउँदा कमरेडहरूलाई कति माया गर्नु हुने रहेछ भन्ने लाग्यो।

    भूमिगत कामकै दौरानमा छोरा विश्वास जन्मिए। सुत्केरी स्याहार्ने काममा साथीहरू नै लाग्नुभयो। उनीपनि शान्त भवन अस्पतालमै जन्मिएका हुन्। सुत्केरीपछि केही समय आस्था र विश्वासलाई साथमा राखेर काठमाडौँको पार्टी काममा लागेँ। म उपत्यका कमिटीकी सदस्य पनि थिएँ, कमरेड प्रदिप नेपाल इन्चार्ज हुनुहुन्थ्यो। बच्चाहरूको रेखदेख हुने र आफूलाई पनि काम गर्न सजिलो हुने भएकाले काठमाडौँ १९ वडाको ढोका टोलमा बस्थ्यौँ।

    त्यहाँ हामीमात्र होइन, माधव नेपाल, गायत्री नेपाल, ईश्वर पोखरेल, मीरा ध्वजु, जीवराज आश्रित र माया ज्ञवाली मिलेर बसेका थियौँ। घरधनी दाजु लोकेन शाही र दिदी कमलकुमारी शाही हुनुहुन्थ्यो। दिदी पनि साह्रै सोझी र सरल भएकाले हामीलाई आउन जान सजिलो थियो। दिदी कमल कुमारीले बेला बेलामा मलाई “नानी, बच्चा कस्तो छ? राम्रो स्याहार्नु है, केही समस्या परे मलाई भन्नुहोला,” भन्नुहुन्थ्यो। दिदीले त्यति कुरा भन्दा पनि मेरो मन हलुङ्गो भएको महशुस हुन्थ्यो।

    घरधनी दाजु भाउजू मासु बेच्नु हुन्थ्यो। टोलका मान्छेहरूले कमरेड अमृतलाई श्याम भनेर चिन्दा रहेछन्। सबैसँग बोलीचाली गर्ने भएकाले उहाँलाई राम्रो मान्दा रहेछन्। टोलमा शंका नहोस् भनेर विराटनगरमा क्याम्पस पढाउनहुन्छ भनेका थियौँ। अरु कमरेडहरूलाई सरकारी जागिर हो भनेर परिचय गराएका थियौँ।

    हामी कसैलाई पनि टोलवासीले व्यक्तिगत रुपमा चिन्दैनथे तर राम्रा र असल मान्छे भनेर बुझ्दथे। २०४६ सालको आन्दोल सफल भएपछि पार्टीका नेताहरू टि.भी. पत्रिकाहरूमा देखिन थाल्नुभयो। पार्टीका महत्वपूर्ण नेताहरू आफ्नोमा बस्नुभएको रहेछ भनेर उहाँहरू खुसी हुनुभयो। पछि भेटेर उहाँहरूलाई सहयोग गरेकोमा धन्यवाद दियौँ।

    विश्वासलाई पिठ्युँमा बोकेर पाँगा गाउँमा
    भूमिगत अवस्था भएकाले छोराछोरी साथमा राखेर काम गर्न सजिलो अवस्था थिएन। पार्टीको निर्णय अनुसार आस्थालाई भक्तपुरमा सत्यनारायण फैजुको घरमा राख्ने र विश्वासलाई साथमा राखेर काम गर्ने सल्लाह भयो। अझै ढुक्क भएर काम गर्न सजिलो होस् र विश्वासको स्याहार पुगोस् भनेर मलाई पाँगामा बसेर काम गर्ने निर्णय पार्टीले गर्‍यो।

    छोरा विश्वासलाई लिएर कमरेड रवि चित्रकार (प्रभा)का साथ पाँगा पुग्यौँ। पार्टीले मलाई धनमाया दिदी र जितबहादुर दाइकोमा बस्ने व्यवस्था मिलाएको थियो। धनमाया दिदीका छोराछोरी पनि भएकाले मलाई अझै सजिलो र सहयोग मिल्ने भयो। म पनि दक्षिण पश्चिम इलाकामा रहेर पार्टी काममा जुटेँ। कमरेड कृष्णगोपाल र सानु श्रेष्ठले त्यस ठाउँको स्थिति, अवस्था र समस्याबारे जानकारी गराउने, कमरेडहरूलाई चिनाउने र भेटघाट गराउने काम गर्नुभयो।

    उहाँहरूको आत्मीय सहयोग पाएर मलाई पार्टीको काम गर्न सजिलो भयो। पाँगाका पुराना पाका साथीहरूको सहयोग, महिला कमरेडहरूको माया र सहयोग पाउँदा मलाई अति नै खुसी लाग्यो। खासगरी नानी, छोरी दिदी, मैयाँ दिदी र धनमाया दिदीहरूको सहयोगले मलाई पार्टीको काम गर्न सजिलो भयो। उहाँहरूले म र छोरा विश्वास दुबैको स्वास्थ्य राम्रो बनाउने विशेष हेरचाह पु¥याउनु हुन्थ्यो।

    पाँगा राजनीतिक रुपले सचेत ठाउँ भए तापनि निरङकुश पञ्चायती काल भएकाले अलिकति मात्र खुकुलो हुँदा त्यहाँको पार्टी काममा ठूलो नोक्सान हुने डर थियो । त्यसमा पनि बच्चाका साथमा रहेकाले अरु सतर्कता अपनाउनु पथ्र्यो। त्यहाँ मैले धनमाया दिदीकी बहिनी हुँ भन्ने नाता जोडेर बस्ने सल्लाह भएको थियो र त्यही नाता चिनिन्थेँ।

    दिउँसो पढ्ने, लेख्ने र छोरालाई स्याहार गर्ने काम गर्थे। रात परेपछि साथीहरूसँग भेला बैठकहरूमा जान्थेँ। पार्टीका भेला बैठकहरूमा देशको परिस्थिति, पार्टीका धारणाहरू, कमरेड पुष्पलालले कम्युनिष्ट आन्दोलनमा दिनुुभएको योगदान, जुन संगठनका काम तथा पाँगाको पार्टी कामलाई अगाडि बढाउने जस्ता विषयमा छलफल हुन्थ्यो।

    शत्रुहरूका गतिविधीहरूबारे पनि हामी बुझ्ने गथ्र्यौँ। ती भेला बैठकहरू सिंगो समाजको परिवर्तन कसरी गर्ने र किन संगठित हुनु भन्ने कुरामा पनि छलफल चल्थ्यो। घर परिवारबीचको सम्बन्ध कसरी राम्रो बनाउने र छरछिमेकबीचको सम्बन्ध कसरी राम्रो बनाउने जस्ता कुराका साथै सरसफाईका बारेमा, केटाकेटीलाई स्वस्थ र ज्ञानी बनाउने सवालमा, जनवादी विवाहका सम्बन्धमा समेत छलफल गर्ने र बुझाउने काम गरिन्थ्यो। गाउँघरमा दिउँसो किसानहरू खेतबारीको काममा जानुपर्ने हुँदा पार्टी काम राति मात्र हुने गथ्र्यो।

    सौताको आरोप
    पाँगा किसानहरूको बस्ती भएको पुरानो ठाउँ पनि हो। खासगरी नेवारहरूको बाहुल्य रहेको गाउँ हो। त्यतिखेर टोखा र पाँगामा घरभित्रै चर्पी बनाउने चलन थिएन। दिशा गर्न जानुप¥यो भने साझा र खुल्ला चर्पीमा जाने चलन थियो, जसलाई खिखामुग भनिन्थ्यो। पाँगामा बस्दा धनमाया दिदीको चर्पी नभएकाले बिहान सबैरै साझा र खुल्ला चर्पीमा जानुपथ्र्यो। मेरा लागि त्यो एउटा ठूलो समस्या पनि थियो। कसैले मलाई नचिनोस् र नदेखोस् भनी म बिहानै ४ बजे नै उठेर खिखामुगमा जाने गर्थे।

    यसरी जाने क्रममा मलाई गाउँका मान्छेहरूले नदेख्नै कुरै भएन। नयाँ मान्छे उनीहरूले को हो भनेर चियोचर्चा गर्नु स्वभाविक नै थियो। त्यस क्रममा मलाई धनमाया दिदीकोमा बस्छे भन्ने थाहा भयो।त्यसपछि त “जितबहादुरले धनमायामाथि सौता हालेछ। कस्तो लोग्ने मान्छे रैछ? छोराछोरीको बाबु भएर पनि यस्तो काम गर्ने? कहाँकी होली, हेर्दा धनीकी छोरी जस्ती छ?” भनेर गाउँलेहरूले कुरा काट्न थाले। धनमाया दिदीलाई पनि बजारमा, खेतमा र पानी लिन जाँदा सोध्न थालियो। मान्छेहरूले केटाकेटी विद्यालय जाँदा र खेल्न जाँदा पनि “तिमीहरूलाई सानी आमाले मिठो खान दियो कि दिएन? माया गर्छ कि गर्दैन?” भनेर सोध्न थाले।

    हामी एक आपसमा प्रस्ट थियौँ। तरपनि यस्ता हल्लाले धनमाया दिदीलाई निकै चोट पुर्‍याएको थियो। जितबहादुर दाइ र अरु कमरेडहरूले पनि सम्झाउनुभयो। अति भएपछि एकदिन मसँग रुनु पनि भयो। मैले सम्झाएँ तर चित्त बुझाउन सकिनँ। आखिर इमानदारीपूवर्क पार्टी काम गर्दा महिलाहरूले यसरी अपमान र बोइज्जती भोग्नुपर्ने रहेछ भन्ने मलाई लाग्यो।

    मलाई सारै अप्ठ्यारो लाग्यो तर के गर्ने? कहाँ जाने? समस्यासँग डराएर हुँदैनथ्यो। मैले आफ्नो मनलाई अझ दह्रो बनाएँ र अठोट गरेँ, मैले यस्ता समस्याका विरुद्ध लड्नै पर्छ। त्यहाँ बस्ने स्थिति नभएपछि मलाई पार्टीले नजिकै वल्बु(मैया) दिदीकोमा राख्ने निर्णय गर्‍यो।

    फटाहहरूको केरकार
    धनमाया र वल्बु दिदीको घर साह्रै नजिक भएकाले मलाई त्यहाँ बस्न पनि अझै गाह्रो भयो। त्यसैले कडा भूमिगत भएर बस्नु पर्ने स्थिति बन्यो। टोल छिमेकीले थाहा पाउलान् भन्ने डर थियो। यदि म त्यहाँ बसेको खुल्यो भने पार्टी काम गर्न अरु अप्ठ्यारो पर्न सक्ने र बच्चा सहित बस्न अरु ठाउँ उपलब्ध हुन नसक्ने भएको मैले कडा भूमिगत रुपमा बस्नुपर्ने भयो।

    म त्यस ठाउँमा अत्यन्त सतर्क भएर बस्न थालेँ। छोरो रमाउन खोज्दा वा रुँदा बाहिर मान्छेले थाहा पाउलन् भनी दुध चुवाइ हाल्नु पथ्र्यो। कोठाभित्र हुर्काउनु पर्ने भएकाले छोराको शरीर कमजोर र अस्वस्थ थियो। उसले घाम समेत राम्ररी देख्न पाउँदैनथयो। छोरालाई कसरी स्वस्थ बनाउने र कसरी हुर्काउने भनेर चिन्ता हुन्थ्यो। यस अवस्थामा साथीहरूले पनि पिरचिन्ता लिएर आवश्यक सहयोग गर्नुहुन्थ्यो।

    एक दिन कमरेड अमृत(श्याम) र कमरेड कृष्णगोपाल (रमेश) आउनुभयो। हामी कोठामा बसेर कुराकानी गर्दै थियौँ। त्यसै दिन महिलाहरूको भेला पनि राखिएको थियो। महिला कमरेडहरूको चहलपहल पनि भइरहेको थियो। अचानक स्थानीय फटाहहरू घरभित्र पसे र हामी बसेको कोठामा हेरे। हामीलाई नदेख्ने कुरै भएन। “त्याँ अमेरिकन जस्तो मान्छे को हो? कोठामा बस्ने को को हुन्? यी आइमाइ किन यहाँ आएका ?” ती फटाहाहरूले हामी रहेको त्यो घरका दिदी र दाजुलाई केरकार गरे।। भरे राति यो घर घेराउ हुन्छ भन्ने धम्की दिए। वल्बु दिदी र दाजुले कराउँदै भन्नुभयो, “हाम्रा आफन्त छैनन्? आफन्त, दिदी बहिनी र भाइहरू हाम्रा घरमा आउनु हुँदैन? तिमीहरू जे गर्न सक्छौ गर। हामी डराउँदैनौँ” यसरी वल्बु दिदी लगायतले हप्काएर पठाउनुभयो।

    यस्तो स्थितिमा हामी त्यहाँ बसिरहनु हुँदैन भन्ने लाग्यो। यदि घर घेराउ भयो भने हामी त पथ्र्यौ नै, पार्टीका सामग्री पनि दुस्मनका हातमा पर्ने र अन्ततः पार्टीलाई ठूलो नोक्सानी हुने प्रस्टै थियो। हामीले त्यस ठाउँलाई छोड्ने सल्लाह गर्‍यौँ। पार्टीका सबै सामान पोको पा¥यौँ। मैले बच्चा पिठ्युँमा च्यापेँ र एउटा सामानको पोका बोकेँ। उहाँहरूले पनि सामग्रीका पोका बोक्नुभयो।

    रातारात खेतको आली – आलीको बाटो हुँदै हामी अर्कै गाउँमा गयौँ। पिठ्युँमा बोकेको बच्चा रुन्छ कि भन्ने निकै डर लागेका थियो। तर बच्चा चाइँचुँसम्म पनि नगरेको हुनाले मलाई सजिलो भयो। हामी मच्छेगाउँमा पुग्यौँ। त्यहाँ पुग्दा केही मान्छे बाटामा बसिरहेका थिए। त्यहाँ बाटोबाट जानुपर्ने भएकाले हामीलाई अप्ठ्यारो पर्‍यो।

    कमरेड रमेशले भन्नुभयो, “तपाईहरू यही झाङमा बस्नुस्, म गएर हेर्छु।” उहाँ बुझ्नका लागि जानुभयो। ति मान्छेहरू १२ वर्षमा लाग्ने मच्छे नारायण मेलामा गएर फर्केका रहेछन्। हामी ढुक्क भयौँ।रातको ११–१२ बजेतिर हामी मच्छेगाउँका कमरेड ध्रुव महर्जनको घरमा पुग्यौँ र रात त्यहीँ बितायौँ। मच्छेगाउँको मेला लागिरहेको हुनाले हामीलाई एक किसिमले सजिलो भएको थियो। भोलिपल्ट बाटामा अप्ठ्यारो नपरोस् भनेर हामी पनि रातो टीका लगाएर बिहानै सहरतिर लाग्यौँ।

    पछि फटाहहरूले पाँगामा के गरेछन् भनेर बुझ्न पठायौँ। फटाहहरू त्यहाँ धम्काउन र तर्साउन मात्र आएका रहेछन् तर साथीहरूको दह्रो जवाफका कारण फेरि आउन सकेनन्। यसरी त्यहाँका कमरेडहरूले पार्टी र नेता कमरेडहरूलाई जोगाउनुभयो।

    आस्था र विश्वाससँगै टोखा गाउँमा
    भूमिगत कामका दौरानमै छोरीछोरा जन्मिए। बुबाआमाको घरमा जान नसक्ने भएकाले छोरीछोरा हुर्काउने, बढाउने र स्यहार सम्भार गर्ने सवालमा पनि कम समस्या थिएन। २०३६ सालमा घर छोडेर पार्टी काममा लागेपछि परिवारसँग मेरो कुनै सम्पर्क थिएन। कमरेड श्याम (अमृत) को घरमा पनि जान सक्ने अवस्था थिएन। उहाँको घरमा कडा निगरानी थियो र आफन्तहरूप्रति पनि त्यतिकै खोजीनीति थियो। मैले घर छोडिसकेपछि छोरीछोराको समस्यालाई प्राथमिकता दिएर बस्नु हुन्न भन्ने निधो गरे पनि तिनीहरूलाइ चटक्कै छाडेर हिँडिहाल्न सक्ने स्थिति पनि थिएन। छोरीछोरा साथमै राखेर काम गरिरहेँ।

    निरङकुश पञ्चायती शासन कालको हिँडडुल र उठबसमा समेत समस्या भएका बेला छारीछोरा साथमा राखेर काम गर्नु कम जोखिमयुक्त र चुनैती थिएन। एकजनाले समेत सेल्टर पाउन गाह्रो पर्ने बेलामा छारीछोरा समेतलाई बस्न खान कसले दिने? निश्चित सेल्टरहरूमा अत्यन्त नोक्सानी बेहोर्नुपर्ने हुन सक्थ्यो।

    पार्टी काममा समर्पित भइसकेपछि आउने जटिलता र चुनैतीहरूसँग डराएर भाग्ने कुरा पनि भएन। पारिवारिक सम्बन्ध देखाउन सक्ने स्थिति थिएन। कहाँ र कसरी बस्ने भन्ने समस्या छँदै थियो। त्यसमा पनि निजी सुख सुविधाहरू छोडेर पार्टी काममा लागि सकेका हुनाले आर्थिक समस्या पनि थियो। कहिले काहीँ पार्टीले दिएको सीमित रकम पनि अप्ठ्यारा दिनहरूका लागि बचाएरै राख्नुपथ्र्यो।

    अर्कातिर पार्टीको पैसा छोरीछोराका लागि कसरी खर्च गर्ने? मनले मान्दैन थियो, साह्रै दुःखकष्टले उनीहरूलाई हुकाउँदै थियौँ। यही समस्याले गर्दा पार्टीले मलाई छोरीछोरको हेरचाह गर्दै काममा लागि रहन काठमाडौँको टोखामा पठायो।दुई महिनाको छोरो विश्वासलाई च्यापेर कमरेड जमुनासँग टोखा पुगेँ कमरेड जमुना त्यतिबेला टोखाको एउटा विद्यालयमा शिक्षक हुनुहुन्थ्यो। मास्टर नानी भनेर गाउँलेहरू उहाँलाई सम्मान र उहाँको विश्वास पनि गर्दथे। उहाँ त्यस ठाउँमा केवल शिक्षक मात्र नभई एकजना सक्रिय पार्टी कार्यकर्ता पनि हुनुहुन्थ्यो।

    जमुना मेरी कलेजकी साथी पनि भएकाले मलाई उहाँसँग बस्न गाह्रो भएन। म जमुनाकी साथी भएको र मेरा श्रमान् बाहिर जागिरे भएकाले बच्चा हुर्काउन त्यहाँ आएको भन्ने बाहाना बनाइयो। मैले पनि ‘मास्टर्नीकी साथी’का हैसियतमा गाउँलेहरूबाट माया र सहयोग पाउन थालेँ।

    रात परेपछि घरपटीले समेत थाहा नपाउने गरी सुतेको बच्चालाई काखी च्यापेर जमुना र म दुबै जना पार्टीका बैठक भेलाहरूमा बडो सावधानी र सतर्कताका साथ पुग्ने गर्दथ्यौँ। बस्ती र बजारका बीचबाट जानुपर्दा हामीलाई निकै मुस्किल पर्दथ्यो। । एकातिर कुकुर भुक्दा मानिसहरूले चाल पाउलान र फटाहहरूले चियोचर्चा गर्लान् भन्ने डर अर्कातिर, काखी च्यापेको बच्चा रोला भन्ने पिरैपिरमा बैठक बस्ने सेल्टरमा पुग्थ्यौँ।

    बच्चा निदाउँदासम्म सजिलै भएपनि बच्चा रुँदा बिरामी परेका बेलामा निकै अप्ठ्यारो हुन्थ्यो। बच्चा रुँदा सेल्टर खुल्ला भन्ने डरले बैठक बसुन्जेल दुध चुसाइराख्नुपथ्र्यो। त्यस्तो बेलामा मलाई निकै गाह्रो भएको महशुस हुने गर्दथ्यो तर जति गाह्रो भएपनि सहनै पर्ने बाध्यता थियो।

    छोरीमा न्यास्रोपना
    टोखामा हामीले संगठन विस्तार गर्ने काममा देखा परेका समस्या र तिनको निकासबारे छलफल गरी योजना बनाउने गर्दथ्यौँ। शत्रुका गतिविधिबारे पनि विशेष छलफल हुने गर्दथ्यो। यसरी पार्टी कामलाई व्यवस्थित गर्दै जाने क्रममा पुरुष साथीहरूको मात्र होइन, महिला साथीहरूको पनि बैठक भेलाहरूमा उपस्थिति वृद्धि हुन थाल्यो। त्यति बेला पार्टीमा भूमिगत शैलीले काम गर्नुपर्ने भएकाले पार्टी नेतृत्व सीमित व्यक्तिहरूसम्म मात्र पुग्न सक्थ्यो।

    छोरी आस्थालाई कसरी हुर्काउने हामीलाई समस्या पहिले नै परिसकेको थियो। उसलाई कमरेडहरू माझ छोडिएको थियो। यस क्रममा कहिले कमरेड उत्तम महत र चुनु दिदीसँग, कहिले कमरेड विजय सुब्बाको परिवारमा र कहिले भक्तपुरका कमरेड सत्य नारायण सैँजुको परिवासँग छोडियो।

    कतै गोपनियता र कतै राम्ररी घुलमिल हुन नसक्नुका कारण आस्था ती ठाउँमा स्थिर हुन सकिनन्। आस्थामा भोकतिर्खा र दिसापिसाबबारे कसैसँग भन्न नसक्ने जस्तो संवेदनशील स्थितिको समेत सिर्जना भयो। आमाको काख छाडेर बस्नु परेकाले होला छोरीलाई लामो समयसम्म मानसिक पीडा भयो। त्यही कारणले गर्दा शारीरिक विकासमा समेत समस्या देखियो।

    छोरीको यस्तो खबर पाउँदा मलाई निकै चिन्ता लाग्यो। जति नै चिन्तित भएपनि राख्ने ठाउँको समस्या छँदै थियो। डाक्टरको परीक्षणपछि छोरीको बिरामीपना आमासँग नहुनुको न्यास्रोपना रहेछ र आमासँग राख्नुपर्छ भन्ने खबर टोखामा पाएँ।त्यति नै बेला काखको छोरो पखालाले बिरामी भइ एकदमै कमजोर भएकाले अस्पताल लानुपर्ने स्थिति थियो। विश्वासको अवस्था कति खराब भयो भने उ बाँच्छ भन्ने आसै हराउला जस्तो भयो। कहिलेकाहीँ कमरेड श्याम आउनुहुन्थ्यो। केटाकेटीको यो अवस्था देखेर हामी धेरै पिरलिन्थ्यौँ तर पार्टी काम छाडेर छोरीछोराको स्याहारमा लाग्ने अवस्था थिएन।

    त्यतिखेर हामी अप्ठ्यारो अवस्थामा पार्टी निर्माण गर्दै थियौँ। अर्कातिर कमरेड श्यामको कार्यक्षेत्र अलग र जिम्मेवारी पनि धेरै थियो। त्यस्तो बेलामा धेरै समस्या देखाएर चिन्ता थपिदिनु हुँदैन भनेर म सकेसम्म समस्यालाई लुकाउने प्रयत्न गर्थे। तर त्यो सम्भव भएन।
    एकजना बच्चालाई लिएर काम गर्न निकै गाह्रो भइरहेका बेला अर्को पनि सँगै राख्नुपर्ने भएपछि म अत्यन्तै चिन्तित भएँ। कसरी काम गर्ने होला भनेर निकै पिर पर्‍यो। साथीहरूको सरसहयोगमा जीवन धान्दै पार्टी काम गर्नुपर्ने भएकाले छोरी र छोराको लालनपालन गर्ने पैसा पनि हामीसँग थिएन।

    त्यस्तो जटिल स्थितिबाट पार पाउन मलाई टोखाका कमरेडहरूले “तपाईं नआत्तिनुस्, हामी तपाईंलाई सहयोग गछौँ, दुबै बच्चालाई रेखदेख गर्छौँ।” भनेर हौसला दिनुभयो। उहाँहरूले सम्पूर्ण समस्या समाधानमा साथ दिएर मलाई निरन्तर पार्टी काममा लाग्न सहयोग गर्नुभयो। यस काममा कमरेड जमुनाको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ।विद्यालय छुट्टी भएपछि भाइहरू शुभराज श्रेष्ठ र विकास महर्जनले विश्वासलाई लिएर मलाई पढ्न सजिलो बनाइदिनुहुन्थ्यो। पद्मा दिदीले बेला बखतमा छोरीछोराहरूलाई लुगा पठाइदिनु हुन्थ्यो। यसरी सबैबाट प्राप्त भएको सहयोग बटुल्दै छोरी र छोरा दुबै जनालाइ आफूसँग राखी पार्टी काममा लागि नै रहेँ।

    टोखामा पनि विभिन्न शंका
    समय बित्दै जाने क्रममा मलाई टोखामा बस्न कठिन पर्न थाल्यो। मेराविरुद्ध टीका टिप्पणी हुन थाले। हामीले बनाएको बाहाना समय बित्ने क्रममा झुटा जस्तै हुन थाल्यो। “नानीको श्रीमान त कहिल्यै आउनुहुन्न, कहाँ हुनहुन्छ?” भन्ने प्रश्नहरू सोधिन थाले। छाडा आइमाइ हो कि भनेर शंका समेत हुन थाल्यो। कतै कतैबाट त कुनै फटाहले पेट बोकाई अलपत्र पारेर छोडेकी महिला भनेर टीका टिप्पणी गरेको सुन्न थालेँ।

    मलाई असजिलो थियो नै, मेरा कारणले कमरेड जमुनालाई समेत निकै अप्ठ्यारो पर्‍यो। कति ढाँट्ने? कति जनालाई ढाँट्ने? श्रीमान आउँदा पनि मेरो श्रीमान यही हो भनेर चिनाउने स्थिति थिएन। त्यसैले अपमान बोध हुने ती शब्दहरू चुपचाप सहँदै जाने आफूलाई बानी पर्नुपर्ने स्थिति बन्दै गयो।हाम्रो समाजमा कैयौँ महिलाहरू यस्तै भनाईहरू सुन्दै अपमानित भएर बाँचि रहेका थिए। मैले पनि पार्टी कामलाई उठाउन र पार्टी हित खातिर सबै कुरा सहन तथा पचाउन सक्नुपर्छ र अविचलित भई सतिसाल झैँ ठिङग उभिनुपर्छ भन्ने निधो गरेँ। जति आँट गरेपनि मलाई टोखामा बसेर पार्टी काम गर्न गाह्रो पर्‍यो।

    पिस्कर दमन र देशव्यापी विरोध
    पिस्कर गाउँको महादेव स्थानमा माघ १ गते सधैँ मेला लाग्ने गथ्र्यो। म त्यहाँ हुँदा पनि भूमिगत भएकाले मैले मेला हेर्न कहिल्यै पाइनँ। तर मेला आउन एक महिना अगाडिदेखि नै नाचगानको तयारी हुन्थ्यो। मैले पनि जनताका गीतहरू राति राति साथीहरूलाई सिकाइ दिन्थेँ। मैले सिकाइ दिएका गीत उहाँहरू मेलामा गाउनुहुन्थ्यो।

    महादेव स्थानको स्थानको मेला भनेपछि पिस्करमा मात्र मेला हुँदैनथ्यो। तौथली, कर्थली, टेकनपुर, धुस्कुन, चोकटी, डाँडापाखर, बाह्रबिसे, पेटखु लगायत गाउँहरूबाट मान्छेहरू मेलामा सहभागी हुन्थे। महादेवको पूजाआजा सहित जाग्राम बसी रातभरि नाचगान गर्ने चलन नै बसि सकेको थियो।

    त्यसमा पनि जनतलाई सचेत बनाउने र जनताका गीतहरू गाउने चलन थियो। मेला लाग्ने बेलामा नै आफूले भोगको दुःखपीडाका नाटकहरू बनाएर पनि देखाउने चलन थियो। तत्कालीन नेकपा (माले) पिस्कर गाउँ जिल्ला कमिटीको आयोजनामा स्वयम् सेवक राख्नेदेखि मेलामा सबै कार्यक्रमको तयारी गोप्य रुपमा हुन्थे। मेलामा रातभरि आँखा झिमिक्क नगरी सहभागीहरूले कार्यक्रममा भाग लिन्थे। वर्षमा एकचोटि लाग्ने मेला मान्छेहरूले साह्रै रमाइलो गरी मनाउँथे।

    मैले पिस्करमा बसेर काम गरिरहँदा पिस्करको पारी टौथली गाउँका जात्रा पनि हेर्न पाएँ। टौथलीको त्रिपुरा सुन्दरीको मन्दिरमा दसैंको टिकाको दिन दहीले एकअर्कामा छ्यापेर मनाउने जात्रा रहेछ। त्यो जात्रा पनि मलाई रामाइलै लाग्यो। भूमिगत अवस्था भएको हुनाले मैले एउटा घरको झ्यालबाट अत्यन्तै सचेत भएर त्यो जात्रा हेरेकी थिएँ।

    मैले पिस्कर छोडेको डेढ वर्ष जति भइसकेको थियो। तर पिस्कर गाउँमा पहिलोचोटि भूमिगत भएर पार्टी काम गरेका बेला त्यहाँका कमरेडहरूले गरेको सहयोग र मायाले मलाई सधैँ प्रेरणा दिने गर्छ। जनताको सेवाका लागि राजनीतिमा निरन्तर लाग्नुपर्छ भन्ने हौसला मैले त्यहीँबाट पाएकी हुँ। पिस्करको काम छोडेर छोरीछोराका साथमा कहिले पाँगा र कहिले टोखा गाउँमा बसेर काम गरिरहेकी थिएँ। म काठमाडौँमा बसेर पनि पिस्करको माघे संक्रान्ति मेलाको सम्झाना गरिरहन्थेँ।२०४० सालको माघे संक्रान्तिले मलाई जीवनमा कहिल्यै नभुल्ने गरी पिस्करको सम्झाना गरायो। मैले सुनेँ, मेला भर्न आएका, नाचागान गरिरहेका जनतामाथि निरङकुश पञ्चायती सरकारको सशस्त्र आक्रमण भयो। किसान योद्धा कमरेड इली थामी र कमरेड वीरबहादुर थामी कार्यक्रम स्थलमै मारिए। जगतबहादुर बोहरा, पाल्कमायाँ थामी, सोना तामाङ्ग लगायत धेरै साथीहरू गोली लागी सख्त घाइते भए।

    धेरैलाई पञ्चायती पुलिसहरूले लछारपछार पारी पक्रेर लगे। अँधेरी रातमा अचानक नसोचेको यस्तो आक्रमण हुँदा मेलामा आएका जनताले ठूलो प्रतिरोध गरे। अँधेरी रातमा त्यहाँ रुवावासी, भागदौड र कोलाहल मच्चियो। केटाकेटी र महिलाहरू भाग्न नसकेर कान्लाबाट खसेर घाइते भए। पञ्चायती पुलिससँग दोहोरो भिडन्त भयो। मेलामा आएकाहरू बहादुरीका साथ लडे, उनीहरूले केटाकेटी र वृद्धवृद्धालाई जोगाए।

    यही घटना र दमनका कारण धेरै साथीहरूलाई पक्रेर निर्मम यातना दिइयो। सावित्री बोहरा, बेत्रावती पौडेल, अरुण नेपाल, सुरेश नेपाल, मान बहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल र छत्रबहादुर बोहरा लगायतलाई राजकाज मुद्दामा जेल चलान गरियो।पञ्जायती व्यवस्थाका केन्द्रीय शासकहरू, जिल्ला प्रशासन र गाउँका फटाहरूको मिलेमतोमा माघे संक्रान्तिमा आक्रमण गर्ने योजना बनेको रहेछ। त्यहाँका पार्टीका ठूला नेता अमृत बोहरा लगायतलाई आक्रमण गर्ने र त्यहीँ सिध्याउने योजना रहेको थियो भन्ने मैले सुनेँ।

    पञ्चायती शासकहरूले जनताले माघे संक्रान्ति मलाइरहँदा सशस्त्र आक्रमण गरी गोली हानी हत्या र दमन गरेको घटनाको तत्कालै पार्टीको निर्देशनमा देश्व्यापी विरोध र भन्डाफोर भयो। पञ्जायती निरङकुशताका विरुद्धमा जनताहरू सशक्त आन्दोलनमा उत्रिए। पिस्कर दमन र प्रतिरोधको कथा पुस्तक मार्फत त्यो घटनाको भन्डाफोर भयो।

    मलाई आज पनि माघे संक्रान्ति मनाइ रहँदा पिस्करमा भएको त्यो दमन र हत्याको घटनाको झलझती सम्झना आइरहन्छ। बनिबुतो गरी दश नङग्रा खियाई पसिना बगाएर कष्टकर जीवन बिताइरहेका पिस्करवासी जनतामाथि यस्तो निर्मम दमनले पञ्चायती शासकहरूको निरङकुश र अपराधी चरित्र छ्याङग पारि दिएको थियो।

    त्यो बेला निरङकुश पञ्चायती शासकहरूले इलामको इभाङ, धनकुटाको छिन्ताङ, सिन्धुलीको भिमान र झापाको सुखानीमा जनताका योद्धाहरूको हत्या गरी कम्युनिष्ट आन्दोलनलाई दबाउने दुष्प्रयत्न गरेका थिए। निरङकुश पञ्चायती शासकहरूको यस्तै दमन, हत्या र जनविरोधी शासनबाट आक्रोशित हुँदै २०४६ सालमा जनताले संयुक्त जनआन्दोलन मार्फत देशमा निरङकुश पञ्चायती व्यवस्था ढाले र बहुदलीय व्यवस्था स्थापना गरे।

    छोरीको बस्ने व्यवस्था मिल्दा खुसी
    कमरेड श्याम पार्टीमा निष्ठापूर्वक खट्ने मान्छे भएकाले हाम्रो परिवारिक समस्याबारे पार्टीमा छलफल भएछ। हुन त त्यतिखेर पार्टी अप्ठ्यारो अवस्थामा थियो। सहयोगीहरू धेरै थिएनन्। निरङकुश व्यवस्थाका कारण पार्टी काम धेरै गाह्रो थियो तर जतिसुकै गाह्रो र कठिन भएपनि विचारमा दृढ हुनु पर्छ, जनतामा विश्वास र भरोसा गर्दै पारिवारिक समस्या हल गर्नुपर्छ भन्ने पार्टीको धारणा थियो। हामी सबै नेता र कार्यकर्ताहरू त्यो बेला पारिवारिक समस्या गौण हो, क्रान्तिको सवाल प्रमुख हो भन्ने ठान्थ्यौँ।

    जति गौण भनेपनि छोरीछोरालाई सँगै राखेर केही समय हुर्काउने काम गर्नै पथ्र्यो। खासगरी आमाले नै त्यो जिम्मेवारी पूरा गर्नु पथ्र्यो। मैले छोरीछोरालाई साथमा राखेर भूमिगत ढङगले हुर्काएँ।त्यसबेला जतिसुकै भनाइ, दुःख र अप्ठ्यारो आइपरे पनि मैले सबै भोगेँ, सहेँ। तर छोरीछोरा साथमा राखेर राजनीति अब कसरी गर्ने? मुख्य चिन्ता मेरो त्यही थियो। छोरीछोरा लिएर बस्ने सेल्टर पाउन गाह्रो थियो। छोरीछोरा भएकालाई सेल्टर दिन धेरले मान्दैनथे। “राजनीति गर्नुपर्नेले किन विवाह गर्नु परेको? किन बालबच्चा पाएको होला?” जस्ता टिप्पणी गरिन्थ्यो।

    अब छोरीछोरा सँगै राखेर राजनीति गर्नु भनेको थप जोखिम लिनु थियो। आफ्नो मात्र होइन, छोरीछोराका लागि पनि राम्रो हुँदैन भन्ने लाग्यो। छोरीछोरालाई अलग राखेर राजनीति गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ म। पार्टीले त्यसमा मलाई साथ दिने भयो।विश्वासको स्वास्थ्य त्यति राम्रो थिएन, साह्रै कमजोर थियो। आमाको दुध छुटाउँदा बच्चाको स्वास्थ्य अझै कमजोर हुन्छ कि भन्ने पनि लागेको थियो। तर सँगै राखेर काम गर्न सक्ने अवस्था पनि थिएन। साह्रै अप्ठ्यरो परेकाले मलाई पार्टीले छारीछोरा हुर्काउन्जेल केही समय कुनै पेसा गर्ने कि भनेर पनि प्रश्न नगरेको होइन, तर मैले मानिनँ।

    “छोरीछोरा मेरा मात्र होइनन्, पार्टीका सम्पत्ति पनि हुन्, छोरीछोरा हुर्काउने पार्टीको पनि दायित्व हो। मैले राजनीति गर्ने भनेरै घर, परिवार, शिक्षा, सम्पत्ति सबै छाडिसकेपछि किन मैले राजनीतिमा निरन्तरता नदिने?” मैले पार्टीलाई यही जवाफ दिएकी थिएँ।छोरी आस्थाको अवस्था र स्थितिले पनि मेरो मनमा पिर नपरेको होइन, तर आस्थाका लागि ढुक्क राख्न सक्ने परिवारको खोजीमा पार्टी लागेको थियो। त्यही क्रममा कमरेड झुमा देवानको माइती झापामा आमा मनमाया देवान र बुवा भुवन सिंह देवानले हेर्ने गरी राख्न सकिन्छ भन्ने कुरा कमरेड प्रदिप नेपालबाट आयो।

    झापाको शनिश्चरेमा बस्नु हुने आमाबुबा लगायत सबैले गरिरहेकै थिए। तर आस्थाले सानैदेखि एकै ठाउँमा आमा, बुबा र मेरो घर भनेर बस्नै नपाएको र बस्ने ठाउँहरू धेरै फेरिएका हुनाले उसको कलिलो दिमागमा कसलाई मेरा आमा बुबा भन्ने, भोक लाग्दा खाना कोसँग माग्ने, दिसा पिसाब आउँदा कसलाई भन्ने यी र यस्तै प्रशनहरू घुमि रहेका थिए।अस्थिर बसाइले गर्दा उसलाई नराम्रो असर परिसकेको थियो। शनिश्चरेमा उनी रमाएर बस्न सकिनन्। एक्लै बस्ने, बारी बँगैचामा गएर एक्लै बस्ने, कोहीसँग नबोल्ने अवस्था आस्थामा विकास हुँदै गयो।

    म र श्याम शनिश्चरेमा आस्थालाई भेट्न गएका थियौँ। हामीलाई देखेर उनी बेखुसी मात्र भइनन्, हाम्रा छेउसम्म पनि आइनन्। मलाई आमा मन पर्दै भनी बेस्सरी रुँदै खाटमुनि लुक्न गइन्। आस्थाको यो अवस्था देखेर हाम्रो मन साह्रै छियाछिया भयो। कसरी सम्झाउने? कसरी माया देखाउने? केही गर्दा पनि फकाउन सकेनौँ। झुमा देवानका आमाबुबाले साह्रै पिर मान्नु भयो।

    उहाँले भन्नुभयो, “छोरीको यो हालत छ, हामीले सम्झाउन पनि सकेनौँ बोल्दै बोल्दिनन्, खाना पनि खान्न्, एक्लै एकान्तमा बसि रहन्छिन्, यसरी राखेर हुँदैन, तपाईंहरूले सोच्नुहोला। उसलाई आफ्नो घर भन्ने लागेको छैन, कहाँ राख्ने होला, कतै राख्दा पनि हाम्रै घर परिवार हो भनेर राख्न सकियो भने उसको अवस्था फेरिन सक्छ।”डा. भरतले पनि यही सल्लाह दिनुभएको थियो। डा. भरत र डा. सरोज त्यो बेला पार्टीका भूमिगत डाक्टरका रुपमा बिरामी करमेडहरूलाई सेवा गर्नु हुन्थ्यो। पार्टीकै सल्लाह झापा धुलाबारीमा कमरेड लता र विष्णु प्रसाईका घरमा राख्न सकिन्छ भन्ने कुरा भयो। हाम्रै घर, दाजुदिदी भनर सम्झाएर राख्ने स्थिति बन्यो। खासगरी कमरेड लताको माया र व्यवहारले आस्थालाइ त्यहाँ बस्न सजिलो भयो। रमाएर बस्न थालिन्, विद्यालय पनि जान थालिन, हामी आस्थाको चिन्ताबाट मुक्त भयौँ।
    हामी बेला बेलामा भेट्न जाँदा आसाध्यै खुसी देखिन्थिन्। उनले पनि भूमिगत तौतरिका जानि सकेकाले बाहिर नयाँ मान्छे आउँदा हामीलाई आस्थाले बाहिर मान्छे आएको छ भनी सुटुक्क भन्थिन्। उनी हामीसँग बस्न पाउँदा साह्रै रमाउँथिन्। हामीले छोडेर जाँदा उनी चिन्तित भएकी देखिन्थन्।

    छोराले एक महिनासम्म बाटो हेर्‍यो
    छोरा विश्वासलाई झापामै राख्ने कुरा भयो। गौरादहमा कमरेड छविलाल श्रेष्ठ र चन्द्रकुमार श्रेष्ठको घरमा पार्टीले राख्ने व्यवस्था मिलाई सकेको थियो। त्यसैले म विश्वासलाई लिएर झापामा पुगेँ। छोरी र छोरा एउटै जिल्लामा आफैंले काम गर्ने ठाउँमा हुने भएपछि हामी बुबाआमा पनि खुसी नै भयौँ।

    छोरीछोरासँग भेट्न पनि सजिलो हुने, पार्टी काम पनि गर्न पाइने भएपछि म त अझ खुसी भएँ। त्यो बेला मेची अञ्चल इन्चार्ज कमरेड अमृत (अमर सिंह) नै भएकाले हुनाले हामी चारै जना एकै ठाउँमा नभए पनि एउटै कामको क्षेत्र र जिल्लामा बस्न पायौँ।छोरा विश्वासलाई लिएर म र अमृत (अमर सिंह) छविलालाका घरमा साँझतिर पुगेका थियौँ। दाजु, भाउजू र केटाकेटीले विश्वासलाई माया गरी बोक्नु भयो। विश्वासलाई आस्थाको जस्तो अन्त कतै छोडिएको थिएन। हाम्रै घर, आमाबुबा हो भनेर उ रमाउन सक्छ भन्ने लाग्यो। त्यस घरमा हजुर आमा लक्षुमायाँ श्रेष्ठपनि भएकाले अझै सजिलो हुने मलाई लाग्यो।

    त्यो रात विश्वासलाई मसँगै सुताएँ। भोलिपल्ट बिहानै विश्वास नउठ्दै उसलाई त्यस घर परिवारमा छोडेर हामी हिँड्यौँ। उ एक महिनासम्म आमाबुवा सम्झेर रोइ रहेको र आफ्ना लुगाको पोको बोकेर आमाले ल्याएको बाटो कुरेर बसेको खबर थाहा पाएँ। विश्वासको त्यो अवस्था देखेर हजुरआमाले मलाई फर्किन धेरै भन्नुभयो। तर मैले मानिनँ। तर आमाको त हो, चित्त नदुख्ने र चिन्ता नलाग्ने त कुरै भएन। तर एउटा असल परिवार, असल अविभावकत्वमा छोडेका हुनाले म ढुक्क थिएँ।

    म मनलाई दह्रो बनाउँदै पार्टी काममा लागि रहेँ। विस्तारै विश्वास रमाउन थालेको, खेल्न र खान थालेको खबर पाउँदा म साह्रै खुसी भएँ। मेरो मन आनन्दित भयो, बल्ल ढुक्क भएर पार्टी काममा लाग्न सक्ने भएँ। एक महिनापछि विश्वासलाई भेट्न गएँ, उसले हामीलाई नचिन्ने भइसकेको थियो। छविलाल कमरेडले मोटो काका र दिदी आउनुभयो भनेर चिनाउनुभयो।

    हामीले लगेको बिस्कुट खान पाउँदा विश्वास खुसी देखियो। प्रत्येक पटक जाँदा बिस्कुट ल्याइदिनु हुन्छ भनेर मसँग बस्न आउँथ्यो। घरमा दाजुदिदी खेतमा जाँदा हामी कोठामा भूमिगत रुपमा बसिरहनुपथ्र्यो, त्यस्तो बेला विश्वासले बाहिर मान्छे आएको छ, चुप लाग्नु भनेर संकेत दिन सक्ने भयो। कहिलेकाहीँ नजिक रहेकी भीमा दिदीकहाँ गोप्य पत्र विश्वासका हातबाट पठाउँथ्यौँ। उसले कसैलाई नभनी दिदीलाई पुर्‍याइ दिन्थ्यो। यसरी विश्वासले पनि दाजु, भाउजू र घरको वातावरणले भूमिगत तौरतरिका सिक्न थाल्यो।

    (नेकपा एमाले नेता शाक्यको ‘मेरो पाइला, मेरो अनुभव’बाट।)

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अष्टलक्ष्मी शाक्य

      अष्टलक्ष्मी शाक्य

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.