नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भूमिगत समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने खबर यो हप्ताको प्रारम्भदेखि नै गाईँगुईँ सुनिएको थियो। नभन्दै बिहीवार घोषणा गरेर शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा प्रकट भए नेत्रविक्रम चन्द विप्लव । २०६३ सालमा विप्लव आफैं नेता रहेको नेकपा माओवादीका तर्फबाट प्रचण्डले शान्तिपूर्ण र संसदीय राजनीति रोज्दा त्यसलाई ‘महापतन’ भनेका विप्लवले यतिखेर खड्गप्रसाद ओली सरकारसँग उनले गरेको सम्झौतालाई उनी इतरकाले भोलि के भन्लान्, त्यो भविष्यको प्रश्न भयो।
तर राष्ट्रियसभामा आज देखिएका एकाध दृश्यहरूले भने विप्लवको महापतन भएको संकेत गर्छ । त्यसका केही कारण छन् । पहिलो, विप्लवले आफ्नो सम्वोधनमा आफूले गरेको हिंसात्मक आन्दोलनले प्राप्त उपलब्धिको व्याख्या गर्न सकेनन् । सम्बोधनमा जेजति कुरा राखे, अत्यन्त अमूर्त कुराहरू मात्रै थिए ती । उसो त घुमिफिरी विप्लव हिजो प्रचण्ड आइपुगेकै ठाउँमा आइपुगेका छन्। उतिखेर सरकारसँग शान्ति सम्झौता गरेका प्रचण्डले त धर्म निरिपेक्षता, गणतन्त्र र समावेशिताका जर्वजस्त मुद्धा लिएर आएका थिए । र, राजतन्त्र ढल्नु र समाजमा अनेक खालका जागरण आउनुमा माओवादीको फौजी लडाईं पनि जिम्मेवार थियो। तर विना कुनै उपलव्धि ओलीसँग सम्झौता गरेका विप्लवले जनताको हित हुनेगरी केके प्राप्त गरे? विप्लवको रूमानी क्रान्तिका लागि ज्यान गुमाएका शहीद परिवारहरूलाई अब विप्लवलाई के उत्तर देलान् ?
बरु राष्ट्रियसभा गृहमा प्रधानमन्त्रीभन्दा सानो कुर्सीमा बसेका विप्लव ओलीको लघुछायाँजस्तो देखिए । ‘नेपाललाई आत्मनिर्भर र स्वाधीन बनाउने’ सपनाको डिङ हाक्नु राम्रै कुरा हो तर त्यसमा ओलीको राष्ट्रवादको झोल पोखिएजस्तो देखियो । ओलीले समृद्धिको रेल र पानीजहाज कुदाएर देश नै दग्द पारिरहेका बेला विप्लवले समृद्धिको गफ हाल्दा ‘कपिपेस्ट’ गरेको जस्तो बुझियो। गर्नलाई विप्लवले आफ्नो सम्बोधनमा एक दुई थान भावनाका कुरा गरे, शहीदकी आमैले टिका लगाइदिएको कुरा गरे, शोषण र उत्पिडनका सनातन भाषण गरे। र भने, ‘म विश्वास दिलाउन चाहन्छु, सहिदको सपना पूरा हुन्छ।’
तर आश्चर्य! खड्गप्रसाद ओलीले केही दिन अघि ‘म सुरक्षित छैन’ भनेर दिएको वक्तव्यलाई सपोर्ट हुने गरी उनले भने, ‘नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन। सबै पार्टी सबै नेता र जनतालाई जीवनमाथि आफैं हावी भइरहेको छ, अब नयाँ प्रयोग जनमत हो। हामी तयार छौं। युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिष्टले नै गर्छ।’
विप्लवले माथि बोलेका कुरालाई अनेक अर्थ लगाउन सकिन्छ। तर त्यहाँ प्रयोग भएको ‘जनमत’ शब्दको अर्थ के हो ? पार्टीभित्रको सकसमा संविधानको घाँटी निमोठेका ओलीसँग हतारहतार हात मिलाउन आएका क्रान्तिकारी विप्लवले कतै दक्षिणपन्थी र राजावादीहरूले मागेजस्तै ‘जनमत संग्रह’कोे कुरा गरेका त होइनन्? कतिपय विश्लेषकहरूले भनेजस्तै कतै यो गठजोड अन्ततः ज्ञानेन्द्र शाही र ज्ञानन्द्र शाहसम्म पुग्ने त होइन?
‘क्रान्ति भोजभतेर होइन’ भनेर क्रान्ति गर्नु असहज भएको बताउँथे माओत्सेतुङ। तिनै माओत्सेतुङका आदर्श पच्छ्याउँदै लामो समय पहाडी जिल्लाहरूम लुक्दै–भिड्दै क्रान्ति गर्नु अवश्य पनि सहज थिएन विप्लव र उनका क्रान्तिकारी नेता कार्यकर्ताहरूलाई। यदि क्रान्तिको थकाई बिसाउनकै लागि विप्लवले प्रतिगमनको गन्धे टिका लगाएका ओलीसँग हात मिलाएका हुन् भने यो उनको पतन हो । र, खड्ग ओलीकै धर्मभीरू, दक्षिणपन्थी र उडन्ते राष्ट्रवादसँग मितेरी लगाउँदै ओलीकै हितका लागि उनी राजधानी छिरेका हुन् भने विप्लवको यो घनघोर पतन हो । उनले भनेको महापतनभन्दा पनि चर्को ।
यी दुई फोटोबीच केके अन्तर छन्?
शुक्रवार राष्ट्रिय सभागृहमा खड्गप्रसाद ओलीले विप्लव समूहका प्रवक्तालाई देखाउँदै ‘प्रकाण्ड हो क्यार’ भनेर अपमान गरेबाट, ‘यति थोरै जेल बसको’ भनेर विप्लव समूहका नेता धर्मेन्द्रलाई उल्याएबाट, खड्गप्रसाद ओली बस्ने कुर्सी र विप्लव बस्ने कुर्सीको आकारबाट, उनीहरू दुबैलाई राखिएका बेग्लै टेबुल र टेबुलमा राखिएका टिस्यु पेपरबाट विप्लव पतन भएको संकेत सामान्य मान्छेले अनुमान लगाउन सक्ने खालको छ । कमरेड विप्लवले यो अनुमानलाई गलत सावित गरुन् ।