मान्छेभित्रको हिनताबोधले उसले आफैँलाई ‘महान र वरिष्ठ’ बनाउने हो । मान्छे जब आफू कमजोर र कमसल छु भन्ने ठान्छ, तब बाहिर भने उ देखाउन चाहन्छ कि उ धेरै ठूलो र महान् छ । त्यसैको एउटा परिणाम हो खड्गप्रसाद ओलीको देवत्वकरण । जहाँसम्म उनका अनुयायीहरुका कुरा छ, सामन्ती समाजको सबैभन्दा ठूलो विशेषता भनेको नै व्यक्तिलाई पुज्ने हो । धर्मको सिर्जना पनि त्यही पुजक संस्कृतिबाट आएको हो ।
मान्छेका सबै श्रेष्ठतम् लक्षणहरू एकठाउँ थुपारेर नै ईश्वर वा देवताको निर्माण गरिएको हो । मान्छेले नै बनाएका हुन् संसारका सबै देवता र तिलस्मी पात्रहरु । त्यही प्रवृत्ति, रुचि र तरिकाले व्यक्तिहरूलाई पनि महान् बनाउने गरिन्छ । मान्छेहरू महान नहुने भन्ने पनि होइन । एकथरी व्यक्तिहरू कामले महान् हुन्छन् । अर्कोथरी व्यक्तिहरू महान् काम गर्न सक्दैनन् तर उनीहरु महान् देखिन चाहन्छन् । खड्ग ओली प्रवृत्ति त्यसैको अभिव्यक्ति हो ।
अझै विज्ञान र चेतनाका लागि लड्नुपर्छ
विश्वभर विज्ञान र चेतनाको उदय र विस्तार हुँदाहुँदै पनि यस्तो व्यक्तिपुजक संस्कृति कायम रहनुले हामीले अझै विज्ञान र चेतनाका लागि लड्नुपर्छ भन्ने सन्देश दिन्छ । अर्को कुरा, साम्राज्यवादी शक्तिहरुको उदयसँग पनि यी कुरा जोडिएका छन्। जनमतलाई कुल्चनका लागि माथिल्लो वर्गहरू, साम्राज्यवादी वा पूँजिवादी वा एकाधिकारी पूँजिवादी शक्तिहरूले कुनै न कुनै पात्रहरु उभ्याउने गर्छन् । त्यसैको एउटा प्रयत्नको परिणाम पनि हो अहिले संसारभर उदाइरहेको फासीवाद र फासिवादी पात्रहरू ।
अहिले सबैतिर एकैखालको फासीवादी सरकारहरू निर्माण भइरहेका छन् । अमेरिका, भारत लगायतका देश बाहेकमा पनि त्यस्ता लक्षणहरू देखा परिहेका छन् । दक्षिण अमेरिका र एसियामा पनि त्यस्तै देखिन्छ । यी सबै कुराले के पनि संकेत गर्छ भने सर्वत्र जनताको प्रतिरोध र संघर्ष पनि बढ्दै गएको छ । सँगसँगै, त्यसलाई दबाउनका लागि पनि शक्तिशाली व्यक्ति र पात्रहरू खोजिएका छन् ।
र, सोही कारण साम्राज्यवादी शक्ति र तिनलाई सहयोग पु-याउने व्यक्तित्वहरूको खोजी भइरहँदा त्यस्तै पात्रहरूलाई शक्तिमा ल्याइएको छ । यस्ता पात्रहरू साम्राज्यवादीहरूको आदेश मान्ने मात्रै हुन् । आफ्नै बुद्धी र विवेक खियाउने पात्र होइनन् ती । बुद्धी र विवेक खियाउनासाथ त जनताको माझ पुगिन्छ । जसले त्यस्तो गर्दैन, उनीहरुलाई नै अघि ल्याइन्छ ।
यो पनि पढ्नुहोस् –
फासिवादका ३१ लक्षणहरू
पिछडिएका भनिने देशहरुको तुलनामा भौतिक विकाशमा ठूलो छलाङ मारेका अमेरिका र युरोपमा समेत फासीवादी र दक्षिणपन्थी शक्तिलाई अगाडि ल्याउनका लागि दक्षिणपन्थी र फासीवादी शक्तिहरूले भूमिका खेलेका छन् । यद्धपि तिनको जरा त तत्तत् समाजमा छ । जरा नभएको भए त्यस्ता व्यक्तिहरूको उत्पत्ति नै हुने थिएन । यद्यपि, समाजमा दक्षिणपन्थी सोँच हुनुमात्रै तिनको उदयको कारण भने होइन । यस्ता शक्तिलाई परास्त गर्नका लागि जनचेतनाको खाँचो छ । वैज्ञानिक चेतना र जनमुखी चिन्तनको विकास गर्नुपर्छ । त्यसलाई भौतिकवाद र विज्ञानसँगै समन्वय गरेरे लैजान सकियो भने दक्षिणपन्थी भासबाट मुक्त हुन सकिन्छ ।
विज्ञान पूँजिपति तप्काको नियन्त्रणमा
अहिले विज्ञानको विकास त भएको छ । तर विज्ञानको शक्ति र सामथ्र्य अहिले पनि एउटा सानो पूँजिपति तप्काको नियन्त्रणमा छ । त्यो तप्का विज्ञानलाई विकाश गरेर दुनियाँलाई बेच्छ, पैसा कमाउँछ । तर त्यसैमार्फत नै शोषण कायम राख्न चाहन्छ । उ विज्ञानमा टेकेर अनेक आविस्कार गर्छ तर समाजमा वैज्ञानिक चेतना फैलाउन काम गर्दैन । बरु वैज्ञानिक र तर्कशील चिन्तन फैलाउने काममा सकेसम्म बाधा पु-याउने काम गर्छ । पूँजिवादी तप्का उपभोग गर्ने मान्छेहरु त चाहन्छ तर समाजवादी चिन्तन भएको मानिसहरु निर्माणका लागि छेकबार लगाउने काम गर्छ ।
अहिले हाम्रो समाजको संस्कृति गाँजेमाँझे खालको छ । एकातिर सामाजिक संस्कृतिका आधारभूत तत्वहरूपनि हामीकहाँ छन् । अर्कातिर पूँजिवादी र उपभोक्तावादी संस्कृति पनि यहाँ डरलाग्दो रूपमा विकसित भइरहेको छ । पूँजिवादी संस्कृति हावी भइरहेहेको छ । पूँजिवादी संस्कृतिले सामन्ति र साम्राज्यवादी संस्कृति सँगै लगेर अगाडि बढिरहेको छ । हिजो पो पूँजिवादको अवस्थामा सामन्तवादको विरुद्ध क्रान्तिकारी संघर्ष लडिन्थ्यो।
त्यतिखेर पूँजिवादीले भौतिकवादको सहारा लिए । अहिले उनीहरुलाई त्यो लिनु छैन । त्यो लिएपछि झन आफ्नो पो विनाश हुने रहेछ भनेर उनीहरूले बुझेको हुनाले उनीहरू सामन्ति संस्कृतिलाई सँगै गठजोड गरेर अगाडि बढिरहेका छन् । त्यसैले अहिले ठिमाह संस्कृतिको विकास भइरहेको छ । यो क्रान्तिकारहरूको लागि चुनौतिको कुरो छ । यी दुईवटै संस्कृतिविरुद्ध नलडी हामी नयाँ संस्कृतिको निर्माण गर्न सक्दैनौँ ।
समाज र मानव जीवनको संघर्ष कहिल्यै अन्त्य हुने कुरो होइन । सुधार, थप प्रगती र थप उन्नत जीवन र समाजको पाटो नै हो निरन्तर संघर्ष । एकपटक जनचेतना उभारमा आएपछि पनि फेरि यो पछि पर्न सक्छ त्यो सोलोडोलो अग्रगतिमा सिधै जान्छ भन्ने छैन । त्यो घुमाउरो किसिमले जाने हो । त्यसकारणले यस्ता समस्याहरू आइरहन्छन् ।
यो पनि पढ्नुहोस् –
कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे
र, यी समस्याहरू आउँछन् भन्ने बुझेरै निरन्तर यसमा सजग हुने त्यसको बारेमा संघर्ष गर्ने भन्दा उपाय अर्को केही छैन । समाजमा फासिवाद र दक्षिणपन्थविरुद्ध प्रगतिशिल र विद्रोही तप्काले सधैं गर्ने भनेकै संघर्ष हो । अहिले टाउको उठाउन खोजेका यस्ता दक्षिणपन्थीहरूविरुद्ध र भोलि फेरि उठ्न खोज्ने फासिवादविरुद्ध हामी सधै लड्नुपर्छ, सजग रहनुपर्छ ।
(चापागाईँसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।