Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

इजरायल-प्यालेस्टाइन युद्ध २

रोहेज खतिवडा रोहेज खतिवडा
कार्तिक २१, २०८०
- इतिहास, राजनीति, रिडर्स डिस्कोर्स, विमर्शका लागि, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जेरूसलेम नजिकैको गाउँ एन करेममा जिसस क्राइस्टको जन्म हुँदा जेरूसलेम र सम्पूर्ण प्यालेस्टाइन युद्ध र हिंसाले त्राहिमाम थियो। विभिन्न साम्राज्यहरूको प्यालेस्टाइन कब्जा गर्ने प्रतिस्पर्धा, रोमको कब्जामा परेको जेरूसलेमको आत्मग्लानी र यहुदी दरबार भित्रको सत्ताको दाउपेचले प्यालेस्टाइन रक्ताम्य थियो। यतिमात्रै होइन, पाप बढेको र शान्ति तथा मोक्षका लागि ‘प्रोफेट’ को ‘सेकेन्ड कमिङ’ को समय भएको धेरैले विश्वास गरिरहेका थिए। जेरूसलेममा निरन्तरको नरसंहार, ग्रिक संस्कृतिबाट ‘भ्रष्ट’ यहुदी संस्कृति तथा रोमको अधिपत्यले यो विश्वास गर्ने वातावरण पनि निर्माण गरेको थियो। त्यसैले, यसबेला आफूलाई यहेवाको दूत दाबी गर्दै यहुदी राजा बन्न दाबी गर्दै विद्रोह गर्नेहरूको संख्या पनि उल्लेख्य थियो। यस्ता निरन्तरका विद्रोहले पनि जेरूसलेममा थप रगत बगिरहेको थियो।

    जिससकी आमा मेरी सम्भवत: अविवाहित अवस्थामै गर्भवति भएकी थिइन्। त्यसैले उनी आफ्नी दिदी (कजन) एलिजावेथ कहाँ गएकी थिइन्। एलिजावेथका श्रीमान् जकारिया एन करेमकै एक यहुदी मन्दीरका पुजारी थिए। उनका छोरा जोनले सन्यासी जीवन रोजेका थिए, उनी ‘जोन दी बाप्टिस्ट’ नामले चिनिन्छन्। जिससको जन्मपछि उनको कर्मकाण्ड र शिक्षादिक्षा जोनसँगै हुन थाल्यो। त्यसैले, जिसस जोनका थोरै अनुयायीहरूमध्ये एक थिए। तर, जिसस किशोर अवस्थामै हुँदा गलिलीको शासन गरिरहेका यहुदी कुलिन हेरोड एन्टीपाले जोनको हत्या गरिदिन्छन्।

    यसपछि लगभग ३० वर्षको हुँदासम्मको जिसस कहाँ थिए र के गर्दै थिए भन्ने प्रष्ट छैन। सम्भवत: उनी हिब्रु बाइबल र अन्य धार्मिक पुस्तकको अध्ययनमा थिए। ३० वर्षको हुँदासम्ममा जिससले राम्रो संख्यामा अनुयायीहरू आर्जन गरेका थिए। यसमध्ये १२ अनुयायी प्रमुख थिए। जिससले शुरूमा जेरूसलेममा भइरहेको रक्तपातमा चिन्ता जाहेर गर्थे र धार्मिक मान्यता अनुसार शान्तिको मार्ग बताउँथे।  बिस्तारै उनले यो रक्तपातका लागि जेरूसलेमका शासकहरूलाई दोष दिन थाले र उनीहरूको पापको अनन्त शृङ्खलाका कारण यो भूमिमा रगतको खोला बगिरहेको प्रवचन दिन थाले। यसले जेरूसलेमका शासकहरूलाई चिढ्याइरहेको थियो।

    सन् ११८मा रोमका सम्राट बनेका पब्लियस एलियस हेड्रिएन्सको समयमा जेरूसलेमका यहुदीहरूले फेरि एकपटक रोम विरूद्ध विद्रोह गर्छन्। यसबेलाको दमनमा ९८५ गाउँ र पाँच लाख ८० हजार यहुदी लडाकु मारिएको उल्लेख छ।

    जिससको लोकप्रीयता बढ्दै जाँदा हेरोड एन्टिपासम्म यो चर्चा पुग्यो। जिसस र जोनको सम्बन्धबारे थाहा पाएपछि एन्टिपाले घोषणा गरे, ‘यो मैले टाउको काटेको जोन हो, जो मृत्युबाट बौरिएर आएको छ।’ सन् ३३को पासओभरमा जिसस टेम्पल माउन्ट गएका थिए। जिससका अनुयायीले जिससको जयजयकार गर्दै ‘डेविटका पुत्र’ र ‘यहुदीहरूका राजा’ जस्ता नारा लगाएपछि शासकहरू झनै रन्थनिएका थिए। हेरोड एन्टिपा लगायत यहुदीहरूले जिससलाई पक्राउ गरी मृत्युदण्ड दिन रोमन सम्राट टाइबेरियसका प्रतिनिधिका रूपमा जुडामा शासन गरिरहेका पोन्टियस पाइलेटसँग माग गर्छन्। र, जिससलाई पक्राउ गरिन्छ।

    ‘तिमी यहुदीहरूका राजा हौ?’ पाइलेट सोध्छन्।

    ‘उनीहरूले यही भन्छन्,’ आफ्ना अनुयायीलाई देखाउँदै जिससले जवाफ दिन्छन्।

    जिसस गलिलीका भएको थाहा पाए पछि उनले गलिलीका शासक हेरोड एन्टिपालाई जिम्मा लगाउँछन्। तर, जोनको हत्या गर्ने एन्टीपासँग बोल्न जिससले अस्वीकार गर्छन्।

    अन्तत: पाइलेटले जिससलाई क्रसमा झुन्ड्याउने आदेश दिन्छन् र उनको हत्या गरिन्छ।

    जेरुसलेमका गभर्नर पोन्टियस पाइलेटले जिससलाई क्रसमा झुन्ड्याउने आदेश दिएपछि उनको हत्या गरिन्छ। पेन्टिङ: जेरार्ड डेविड

    जिससका अनुयायीहरूमध्ये एक पलले जिससका सन्देशहरूमा आधारित नयाँ धर्म ‘क्रिश्चियानिटी’ को आधार निर्माण गरे। पलका अनुयायीहरू यहुदी भन्दा धेरै गैह्र यहुदी थिए। उनले यहुदीहरूको विश्वास जित्ने प्रयास पनि जारी नै राखेका थिए। तर, पलको प्रचारको समयमा यहुदी र क्रिश्चियन धर्म एकअर्कामा पूर्णरूपमा विभाजित भइसकेका थिएनन्। इतिहासकार सिमोन सेबाग मोन्टेफिअरे लेख्छन्, ‘कहिलेकाहिँ पल आफैं यहुदी हुन्थे र यहुदीका रूपमा उनले पाँच पटक जेरूसलेम पनि भ्रमण गरे तर कहिलेकाहिँ उनी यहुदी धर्मलाई मुख्य शत्रुका रूपमा व्याख्या गर्थे।’ पलसँगै पिटर, जेम्स र स्टेफेनले पनि जिसस क्राइस्टका अनुयायीको संख्या बढाउन उल्लेख्य भूमिका निर्वाह गरे।

    पलको आगमनसँगै जेरूसलेममा नयाँ चर्च स्थापना भयो। यसले परम्परागत यहुदी र क्रिश्चियन यहुदी बीचको संघर्ष चर्कन थाल्यो। जिससका भाइ जेम्सलाई मृत्युदण्ड दिइएपछि जिससका भतिज सिमोनको नेतृत्वमा क्रिश्चियन समुदाय जोर्डन बसाईं सर्छ।

    एकातिर क्रिश्चियन र यहुदीहरूबीचको संघर्ष सुरू भएको थियो भने अर्कातिर यहुदीहरू रोमविरूद्ध विद्रोहको तयारी गर्दै थिए। यही विद्रोह दबाउन सम्राट वेस्पासियनले आफ्ना छोरा टाइटसलाई पठाएका थिए। सन् ७०मा टाइटसको आक्रमण विरूद्ध जेरूसलेमको सिङ्गो यहुदी समुदाय एकबद्ध भयो। यो कहालीलाग्दो युद्धमा लगभग १० लाख मानिसको हत्या भयो भने टेम्पल माउन्ट पूर्णत: ध्वस्त भयो। यसपछि, यो मन्दिर कहिल्यै पुरानो स्वरूपमा बनेन। टेम्पल माउन्ट भएको स्थान यहुदीहरूको पवित्र स्थलका रूपमा रह्यो।

    जिससको हत्यापछि जेरूसलेममा जिससका अन्तिम दिनसँग जोडिएका स्थानहरूलाई क्रिश्चियनहरूले आफ्नो पवित्र स्थलका रूपमा स्थापित गर्न थाले। जिससले अन्तिम पटक प्रवचन दिएको, बिरामीहरूको उपचार गरेको स्थान सँगै जिससलाई क्रसमा झुन्ड्याइएको र जिससको चिहान बनाइएको ठाउँ (जहाँबाट जिसस मृत्युबाट बौरिएर फर्किएका थिए भन्ने विश्वास छ) सबै उनीहरुका लागि पवित्र स्थल भए। सुरूमा यहुदी र इशाई अलगअलग धर्म नबन्दासम्म यी स्थलमा जिससलाई मसिहा मान्ने यहुदीहरूले पनि श्रद्धा अर्पण गर्थे तर जब इशाई अलग धर्मका रूपमा स्थापित भयो, जेरूसलेम यहुदी र इशाईहरूको द्वन्द्वको थलो बन्यो।

    सन् ११८मा रोमका सम्राट बनेका पब्लियस एलियस हेड्रिएन्सको समयमा जेरूसलेमका यहुदीहरूले फेरि एकपटक रोम विरूद्ध विद्रोह गर्छन्। सधैं जस्तै यसपटक पनि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्छ। यसबेलाको दमनमा ९८५ गाउँ र पाँच लाख ८० हजार यहुदी लडाकु मारिएको उल्लेख छ। साथै हेड्रिएनसले यहुदीहरूलाई जेरूसलेम प्रवेशमा प्रतिबन्ध समेत लगाए। यसबेला क्रिश्चियनहरूलाई पनि जेरूसलेम प्रवेशमा रोक लगाइएको थियो।

    पलको समयपछि इशाई धर्म बिस्तारै फैलँदै गयो र यहुदी भित्रको एउटा सम्प्रदाय नभएर अलग धर्मको रूप लिन थाल्यो। यहुदीजस्तो क्रिश्चियानीटी एउटा समुदायको मात्रै धर्म बनेन। यसमा गैरयहुदीहरू पनि सामेल हुँदै गए। त्यसैले, हेड्रियन्सको आक्रमण र यहुदीहरूको निकालापछि जेरूसलेममा बस्न पठाइएका सिरियालीहरूमा प्राय: गैह्र यहुदी क्रिश्चियनहरू थिए। त्यसैले, यसपछि यहाँ क्रिश्चियनहरूको बाहुल्य बन्न पुग्यो। यहुदीहरूका लागि भने जेरूसलेम एउटा इतिहास मात्रै रहयो। जेरूसलेम अब यहुदी अधिराज्य रहेन। यहाँ न उनीहरूको पवित्र स्थल टेम्पल माउन्ट थियो, न पासओभरमा बलि नै दिन सकिन्थ्यो। जेरूसलेम र सम्पूर्ण प्यालेस्टाइनमा यहुदीहरूको बाहुल्य पनि रहेन। गलिली, फोनेसिया जस्ता एकाध स्थानमा भने यहुदी बाहुल्य कायमै भए पनि इशाईहरूको संख्या उल्लेख्य थियो।

    यो पनि पढ्नुहोस्:  तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन 

    इजरायल-प्यालेस्टाइन युद्ध – १

    चौथो शताब्दीमा रोमन सम्राट कन्सटेन्टाइनले आफ्नो धर्म परिवर्तन गर्दै इशाई बने। र, रोम साम्राज्य भरीका मानिसलाई इशाई धर्ममा रूपान्तरण गराउन राज्य शक्तिको प्रयोग गरे। उनले जेरूसलेममा भव्य चर्च पनि निर्माण गराए। यसबाहेक प्यालेस्टाइनमा यहुदी बहुल क्षेत्रमा पनि उनले चर्चहरू बनाउन लगाएका थिए। साथै, कन्सटेन्टाइनकै समयमा ‘जिससको चिहान’ भेटिएको दाबी समेत गरियो। पछि जिससलाई झुन्ड्याइएको क्रस समेत भेटिएको दाबी गरियो। यी स्थलहरू क्रिश्चियनहरूको पवित्र स्थल बने। जेरूसलेम मात्रै नभएर सम्पूर्ण प्यालेस्टाइन इशाईहरूका लागि पवित्र भूमि अर्थात होली ल्याण्ड बनिसकेको थियो। करिन आर्म्स्ट्रङ लेख्छिन्, ‘प्यालेस्टाइनलाई पवित्र भूमिका रूपमा लिन थालियो: यो पवित्रताको नक्सामा बाइबलमा उल्लेखित स्थानहरू मात्रै थिएनन्, नयाँ भवन, स्मारक, बिहारहरू पनि थिए, जसको साथमा इशाईहरूले मुलुकलाई पवित्र धार्मिक स्थलमा रूपान्तरण गरेका थिए। ‘पवित्र शहर जेरूसलेम’ को ताज पहिरिएको जेरूसलेम यो नक्साको केन्द्रमा थियो। अब, यो शहर इशाई दुनियाँको पनि केन्द्र बनेको थियो।’

    सन् ७०मा टाइटसको आक्रमण विरूद्ध जेरूसलेमको सिङ्गो यहुदी समुदाय एकबद्ध भयो। यो कहालीलाग्दो युद्धमा लगभग १० लाख मानिसको हत्या भयो भने टेम्पल माउन्ट पूर्णत: ध्वस्त भयो।

    रोमजस्तो शक्तिशाली साम्राज्यले संरक्षण र प्रवर्द्धन गरेको इशाई धर्म केही शताब्दीमा नै युरोप र पश्चिम एसियामा तिब्र गतिमा फैलियो। रोमले त ‘पगान’ धर्म मान्न र देवताहरूलाई बलि दिन प्रतिबन्ध नै लगायो। ‘पगान’ मन्दिरहरू तोडियो र ठाउँठाउँमा नयाँ चर्चहरू बनाइयो। यसबीचमा रोमन साम्राज्य भरी विभिन्न स्थानमा यहुदी र क्रिश्चियनहरूबीच हिंसात्मक झडप पनि भएका थिए भने हजारौं मानिसले ज्यान गुमाइसकेका थिए। इशाईहरूले यहुदीलाई घृणा गर्न सिकिसकेका थिए। यसको कारण थियो- जिससको ‘क्रुसिफिकेसन’।  वास्तवमा जिससलाई क्रुसमा झुन्ड्याउन लगाउने व्यक्ति थिए- पाइलेट। उनी रोमन थिए। तर, पछि इशाईमा रूपान्तरण भएका रोमनहरू यहुदीहरूले जिससको हत्या गरेको मान्छन्। यसैकारण उनीहरू यहुदीलाई घृणा गर्न थालिसकेका थिए।

    पाँचौ शताब्दीको तेस्रो दशकमा यहुदीहरूलाई  आफ्नो पवित्र पर्वको समयमा जेरूसलेम आउन र टेम्पल माउन्ट भएको स्थालमा पूजा गर्न खुला गरिएको थियो। सन् ४३८मा टेम्पल माउन्टमा प्रार्थना गर्न आएका यहुदी र तीर्थ यात्रामा गएका इशाईहरूबीच भिडन्त हुँदा हजारौं यहुदीहरू मारिएका थिए। यो झडपमा ठूलो संख्यामा इशाईहरू पनि मारिए।

    यहुदी र इशाईबीचको दुश्मनीको छाया पर्सियन राजा खुस्रो द्वितियको हमलामा देखियो। सन् ३३०मा रोम विभाजन भएर पूर्वी र पश्चिमी रोममा विभाजन भएको थियो। पछिल्लो समय प्यालेस्टाइन पूर्वी रोम अर्थात बैजन्टाइनसाम्राज्यको अधिनमा थियो। सातौं शताब्दीको सुरूवाती दशकमा बैजन्टाइनसाम्राज्य कमजोर बनेको देखेर खुस्रोले बिजेन्टाइनका भूमिहरू कब्जा गर्न सुरू गरे। ६११मा दमास्कस कब्जा गरेको केही वर्षपछि सन् ६१४मा उनले जनरल शहरबराजलाई जेरूसलेम आक्रमण गर्न पठाए। शहरबराजले जेरूसलेममा विशाल फौजसहित आक्रमण गरे। उनलाई यहुदीहरूले साथ दिएका थिए।  शहरबराजले जेरूसलेमका चर्च र क्रिश्चियनहरूका धार्मिक आस्थाका केन्द्रहरू ध्वस्त पारेका थिए। यो युद्धमा ६६ हजार पाँच सय भन्दा धेरै इशाईहरू मारिएको इशाई सन्त एन्टिओकस स्ट्राटेगोसले उल्लेख गरेका छन्। बाँकी रहेका इशाईहरू जेरूसलेम छोडेर भाग्न बाध्य भए।

    पर्सियनहरूले केही समयका लागि यहुदीहरूलाई जेरूसलेमको शासन सुम्पिए। यसले यहुदीहरूमा आशा जगाएको थियो। उनीहरू मन्दीरको पुननिर्माण गर्ने सपना देख्न थालेका थिए भने बलि सुरू गरिसकेका थिए। तर, दुई वर्षपछि नै पर्सियनहरूले उनीहरूको हातबाट जेरूसलेम खोसे र इशाईहरूसँग मित्रताको हात बढाए।

    प्यालेस्टाइन दुई धर्म इशाई र यहुदीहरूबीच द्वन्द्वको थलो बनेको थियो र यसको केन्द्रमा जेरूसलेम थियो। तर, यही समय अब्राहमिक धर्ममा अर्को धर्म थपियो- इस्लाम।

    ६२२बाट बैजन्टाइनसम्राट हेरक्लियसले पर्सियामाथि आक्रमण गरे भने आन्तरिक ‘कु’मा पर्सियन सम्राट खुस्रो मारिए। यसपछि पर्सिया र बिजेन्टाइनले मित्रताको हात मिलाए। जेरूसलेममाथि फेरि बिजेन्टाइनको अधिपत्य कायम भयो। हेरिक्लियस आफैं ‘ट्रु क्रस’ लिएर फर्किए, जुन पर्सियन आक्रमणमा जेरूसलेमबाट भागेका इशाईहरूले लिएर गएका थिए।

    यतिञ्जेल प्यालेस्टाइन दुई धर्म इशाई र यहुदीहरूबीच द्वन्द्वको थलो बनेको थियो र यसको केन्द्रमा जेरूसलेम थियो। तर, यही समय अब्राहमिक धर्ममा अर्को धर्म थपियो- इस्लाम। अरबको एउटा व्यापारिक जनजातिय समुदायमा जन्मिएका हजरत मुहम्मदले इस्लाम धर्मको स्थापना मात्रै गरेनन्, तत्काल इस्लामिक साम्राज्य स्थापनाको अभियान पनि चलाए। यसपछि जेरूसलेम इस्लामहरूको पनि पवित्र स्थल बन्न पुग्यो।

    मुहम्मद अरबको व्यापारिक जनजाति कुरैशमा जन्मिएका थिए। उनी जन्मिनु भन्दा अगाडि नै उनका पिताको मृत्यु भएको थियो भने उनी ६ वर्षको हुँदा उनकी आमाको मृत्यु भयो। यसपछि उनलाई काकाले हुर्काए। व्यापारका दौरान विभिन्न स्थानको यात्रा गरिरहने उनका काकाले उनलाई सिरिया लगे। त्यसबेला सिरिया क्रिश्चियन धर्मावलम्बीहरूको ठूलो संख्या रहेको महत्वपूर्ण मुलुक थियो। यहाँ केही विशाल चर्चहरू थिए। यस्तै, यहाँ यहुदीहरू पनि उल्लेख्य संख्यामा थिए। यहाँ मुहम्मदले क्रिश्चियन र यहुदी धर्मग्रन्थहरूको अध्ययन गर्ने अवसर पाए। त्यसैले, उनी आफ्नो समुदायको परम्परागत बहुदेवपूजक ‘पगान’ धर्म छोडेर एकदेवपूजक अब्राहमिक धर्मको बाटोमा लागे। र, कुरानको ‘रिभेलेसन’ पछि उनी एक महत्वपूर्ण तथा अन्तिम ‘प्रोफेट’ भए र नयाँ धर्म इस्लामको स्थापना गरे। उनले मदिनमा आफ्नो सानो तर अलग्गै राज्य पनि स्थापना गरे। इस्लाम धर्मावलम्बीहरू ‘इस्रा’ अर्थात् ‘रातको यात्रा’मा  मुहम्मद जेरूसलेम पुगेको र टेम्पल माउन्टमा अब्राहम, मोजेज लगायतका ‘प्रोफेट’हरूसँग भेट भएको विश्वास गर्छन्। यहिँबाट मुहम्मद स्वर्ग गएको उनीहरूको विश्वास छ।

    इस्लाम धर्मावलम्बीहरू ‘इस्रा’ अर्थात् ‘रातको यात्रा’मा  मुहम्मद जेरूसलेम पुगेको र टेम्पल माउन्टमा अब्राहम, मोजेज लगायतका ‘प्रोफेट’हरूसँग भेट भएको विश्वास गर्छन्। यहिँबाट मुहम्मद स्वर्ग गएको उनीहरूको विश्वास छ।

    मुहम्मदको मृत्युपछि इस्लामिक राज्यको नेतृत्व उनका ससुरा अबु-बकरले लिए। यसपछि उनले बैजन्टाइनर पर्सियन साम्राज्यविरूद्ध जंग छेडे। उनले इराकसँगै प्यालेस्टाइनमा पनि आक्रमण गरेका थिए। थोमस नाम गरेका एक क्रिश्चियन इतिहासकारले सन् ६४०मा अबु बकरको सेना र (पूर्वी रोमका) रोमन सेनाबीच गाजामा भिडन्त भएको र रोमन सेना पराजित भएको उल्लेख गरेका छन्। यसपछि बैजन्टाइनसम्राट हेराक्लियसले विशाल सैन्य दस्ता इस्लामिक दस्ता विरूद्ध लड्न पठाए भने अबु बकरले कमाण्डर खालिद इब्न वालिदको कमाण्डमा फौज पठाए। अहिलेको जोर्डन, सिरिया र इजरायल अधिनस्थ गोलनको सिमानामा पर्ने यार्मुक नदीको किनार यी दुई फौजबीच ठूलो भिडन्त भयो। यो युद्धमा सम्राट हेराक्लियसका आफ्नै भाइ मारिए भने सम्पूर्ण सिरिया र प्यालेस्टाइन इस्लामिक साम्राज्यको अधिनमा आयो। प्यालेस्टाइनमा जेरूसलेमबाहेकको सबै स्थानमा रसिदुन खिलाफतको नियन्त्रण स्थापित भइसकेको थियो।

    यसपटक जेरूसलेममा रगत बगेन। यार्मुक यद्धमा नराम्रोसँग पराजित भएको पूर्वी रोमले इस्लामिक फौजलाई रोक्ने प्रयत्न गरेन भने पूर्वी रोमको दमनबाट दिक्क भएका जेरूसलेमका इशाई र यहुदीले सहजै इस्लामसामु आत्मसमर्पण गरे। बिना रक्तपात जेरूसलेम रसिदुन खिलाफतको अधिनमा आयो। यसपछि कमाण्डर उमार इब्न अल-खत्तब अर्थात ओमारले टेम्पल माउन्ट भएकै स्थानमा मस्जिद बनाउन आदेश दिएका थिए।

    उनले टेम्पल माउन्टमा यहुदीहरूका लागि प्रार्थना गर्न खुला गरिदिए। यसपछि संसारका विभिन्न स्थानमा भएका यहुदीहरू फर्किएर जेरूसलेम आए। साथै, उनले ठूलो संख्यामा अरबहरूलाई पनि जेरूसलेममा स्थापित गरे। इस्लामिक शासनको पहिलो केही दशक जेरूसलेम साँचो अर्थमा बहुधार्मिक, बहुजातिय, बहुभाषिक ‘कस्मोपोलिटन’ सहर बनेको थियो। यद्यपी: सहरको यो बहुल विशेषताले केही शताब्दीपछि आउने कहालीलाग्दो नरसंहारको जग हालिरहेको थियो।

    रशिदुन खिलाफतले सिरिया र प्यालेस्टाइन बिजेन्टाइनको हातबाट खोसेपछि मुआविया इब्न अबी सुफीयान सिरियाका गभर्नर बने। मुआवियाले ओमारले आदेश दिएको स्थानमा मस्जिद बनाउने काम सम्पन्न गरे। यहाँ ३००० मानिसले एक साथ प्रार्थना गर्न मिल्ने विशाल मस्जिद बनाइको थियो। यो स्थानमा अहिले अल-अक्शा मस्जिद रहेको छ। यसपछि अब्द अल-मलिकले यहाँ ‘डोम अफ दि रक’को नामले प्रख्यात कुब्बत-अल-सख़रा बनाउन लगाए। यो मस्जिद बनाउन ७ वर्ष लागेको थियो। इस्लामिक मान्यताअनुसार मोहम्मदले यही स्थानबाट स्वर्गको यात्रा आरम्भ गरेका थिए भनिन्छ।

    ‘डोम अफ दी रक’ र अल-अक्साका बनेपछि जेरूसलेम यहुदी र इशाईको मात्रै नभएर इस्लामको पनि पवित्र शहर वा पवित्र तीर्थस्थल बन्न पुग्यो। इस्लामका लागि मक्का र मदिनापछि सबैभन्दा पवित्र तीर्थस्थल जेरूसलेम नै हो।

    ‘डोम अफ दी रक’ अल-अक्शा मस्जिदको क्षेत्रभित्र छ। अल-अक्शा आठौं शताब्दीमा बनेको यो मस्जिद मक्का र मदिना पछिको इस्लामहरूको सबैभन्दा महत्वपूर्ण तीर्थ हो। अल-अक्सा मस्जिदबारे कुरानमा नै उल्लेख गरिएको छ।  कुरानका अनुसार अल-अक्सा मस्जिद मक्का पछाडी बनेको पहिलो मस्जिद हो। मक्काको मस्जिद भन्दा ४० वर्ष पछि यस्को निर्माण भएको कुरानमा उल्लेख छ। कुरानमा मोहम्मदले मक्का र मदिनासहित अल-अक्सामा तीर्थयात्रा गर्न इस्लामहरूलाई सुझाव दिएका छन्।

    अनस इब्न मलिक मुहम्मदलाई उद्दृत गर्दै भन्छन्, ‘घरमा गरिने प्रार्थन एउटा प्रार्थना हो। साधारण मस्जिदमा गरिने प्रार्थनाले त्यो भन्दा २७ गुणा बढी अर्थ राख्छ। शुक्रबार गरिने प्रार्थनाले ५०० गुणा बढी अर्थ राख्छ। यस्तै, अल-अक्सा मस्जिदमा गरिने प्रार्थनाले ५००० गुणा बढि अर्थ राख्छ भने मदिनाम रहेको मेरो मस्जिदमा गरिने प्रार्थनाले ५०,००० र मक्काको मस्जिदमा गरिने प्रार्थनाले १,००,००० गुणा महत्व राख्दछ।’

    ‘डोम अफ दी रक’ र अल-अक्साका बनेपछि जेरूसलेम यहुदी र इशाईको मात्रै नभएर इस्लामको पनि पवित्र शहर वा पवित्र तीर्थस्थल बन्न पुग्यो। इस्लामका लागि मक्का र मदिनापछि सबैभन्दा पवित्र तीर्थस्थल जेरूसलेम नै हो।

    यसबीच इस्लामिक साम्राज्यमा रसिदुन र फातिमा खिलाफतबीच गृहयुद्ध पनि चल्यो। यसको प्रभाव पनि प्यालेस्टाइनमा पर्‍यो। यसपछि इस्लाम धर्म सुन्नी र शियामा विभाजित भयो। ११औं शताब्दीको सुरूवातमा फतिमा खिलाफत वंशका नयाँ शासक हाकिम इजिप्टका शासक चुनिए। उनीहरूको राजधानी कायरोमा थियो। यसबेला जेरूसलेम कायरोको अधिनमा आइसकेको थियो। धार्मिक रूपमा सहिष्णु र उदार इस्लामिक परम्पराविरूद्ध हाकिमले यहुदी र इशाईहरूलाई इस्लाम धर्ममा रूपान्तरण गराउन थाले भने चर्च र यहुदी मन्दीरहरूलाई मस्जिदमा परिणत गर्न थाले। यसले गर्दा प्यालेस्टाइनमा फेरि अशान्ति मच्चियो। तर, यसपछिका शासक जाहिरले फेरि धार्मिक सहिष्णुता कायम गरे। उनले बैजन्टाइन साम्राज्यको आर्थिक सहयोग लिएर चर्चहरू पुननिर्माण गराए। हाकिमको समयमा ध्वस्त पारिएका सुन्नि मस्जिद समेत उनले बनाउन लगाए।

    यसबीचमा कहिले इस्लाम-यहुदी त कहिले इशाई-यहुदी र कहिले इशाई-इस्लामबीच दंगा हुनु स्वभाविक जस्तै बनेपनि ठूलो रक्तपात भने भएको थिएन। कहिलेकाँही यी तीनमध्ये कुनै पनि धर्मका तीर्थयात्रीमाथि पनि आक्रमण भइरहन्थ्यो। धेरैजसो यस्तो आक्रमण लुटपाटको उद्देश्यले हुने गर्दथ्यो। त्यसबेला तीर्थयात्रीहरू सुन लिएर आएका हुन्थे र यस्तो सुन लुट्ने लुटेराहरूले आक्रमण गर्थे। १०७३मा सेल्जुकहरूको आक्रमणमा तीनहजार जति मानिसहरू मारिएका थिए। सेल्जुकको हातबाट जेरूसलेम तुर्क सुल्तानहरूले खोसे। तुर्कहरू पनि धार्मिक रूपमा सहिष्णु थिए। तर, १२औं शताब्दी सुरू हुँदा नहुँदै यो भूमिले रगतको होली खेल्यो। क्रुसेड भनिने यो युद्ध सम्भवत: पृथ्वीको इतिहासकै सबैभन्दा नरसंहारकारी धार्मिक युद्ध थियो। हामी अर्को भागमा यही युद्धको चर्चा गर्नेछौं।

    थप पढ्नुहोस् –

    मध्यपूर्वको समस्या र इरानी रणनीति

    हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

    इजराइल-प्यालेस्टिन विवादमा भारत किन फुकी फुकी कदम चाल्दैछ?

    प्यालेस्टिनी जनता विरुद्ध बर्बरतापूर्ण युद्ध

    इजरायल–प्यालेस्टाइन युद्धका मुख्य कारणहरू

    तीन हजार वर्ष पहिलेको इजरायल-प्यालेस्टाइन 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.