सबै उपचार पद्धति, चाहे परम्परागत होउन् वा आधुनिक, ती सबैले औषधीय गुणरहित वस्तु प्रयोग गरी वा सेवन गराएर पनि कतिपय बिरामीको उपचार गर्दै आएका छन्। त्यसलाई अङ्ग्रेजी भाषामा ‘प्लसिबो’ भनिन्छ। वास्तवमा, प्लसिबो मनोवैज्ञानिक उपचार विधिको रुपमा स्थापित भइसकेको छ। यो उपचार विरामीका लागि वास्तविक देखिन्छ, तर अवास्तविक हुन्छ। एक अर्थमा भन्ने हो भने धामीले फुकेर दिने चामल पनि ‘प्लसिबो’ हो। चामल फुकाइ, ढ्याङ्ग्रो ठटाइ, उफ्राइ समस्तिमा ‘प्लसिबो’ उपचार विधि हो।
चिकित्सा जगतले ‘प्लसिबो’ विधिलाई मानसिक समस्याको उपचारमा प्रभावकारी मानेको छ। र, यसलाई स्वास्थ्य समस्याको उपचार गर्नलाई मात्र होइन, औषधि र भ्याक्सिनको प्रभावकारीता मूल्यांकन गर्न पनि ज्यादै प्रयोग गर्दछ। कोभिड-१९ को मामलामा समेत यस विधिको अति नै प्रयोग भइरहेको छ। हामीले सम्झनु पर्ने कुरा के हो भने चिकित्सा वैज्ञानिकहरुलाई आफुले प्रयोग गरेका यसता वस्तुहरु ‘प्लसिबो’ मात्र हुन् भन्ने थाहा हुन्छ। यसको प्रयोगबाट केही मानसिक समस्यामा सहयोग गर्न सके ठीकै छ तर वेफाइदा नगरोस् भन्ने चाहेका हुन्छन्।

प्लसिबोको प्रयोगको कुरा बिरामी या प्रयोगकर्तालाई जानकारी दिइन्न तर उसमा कस्तो प्रभाव परेको छ भनेर बिरामीमाथि अनुसन्धानकर्ता र अध्येताहरूले नियमित अनुगमन गरिरहेका हुन्छन्। यसो हुँदा धेरैजसो बिरामीलाई ‘मैले औषधी खाएँ या सुईँ लगाएँ, अब मेरो बिमारी निको हुन्छ’ भन्ने भ्रम हुन्छ। र, थोरै प्रतिसत बिरामीहरू त्यही नक्कली औषधीको प्रयोगले आफ्नो बिमारी ठीक भएको समेत ठान्न पुग्छन्।
प्लसिबोको प्रयोग चिकित्सा जगतले मात्र गर्ने गर्दैन। कोभिड-१९ का अवधिमा हाम्रा बाआमा र दाजुभाइ दिदीबहिनीले पनि प्लसिबो-औषधिहरु प्रयोग गरिरहेका छन्। हाम्रा जस्ता मुलुकमा प्रधानमन्त्रीहरुले नै यस्ता प्लसिबोहरु प्रेस्क्राइब गरिरहेका छन्, जुन बेसार हुँदै अब अम्बाको पातमा गएर रोकिएको छ।
हाम्रो सरकारको लहै लहैमा लागेर हाम्रा छरछिमेकका कैयन व्यक्तिहरु पनि अचेल कोरोनामारक औषधिहरुको प्रचारमा लागेका देखिन्छन्। यसले हाम्रो समाजमा अनेकन भ्रमहरु सिर्जना गरेका छन् र यिनीहरुले अनेकन निचोड निकाल्न थालेका छन्।
पुदिना र कागतीको प्लसिबो प्रभाव
मेरो घरनजिकै एक जना वृद्ध बस्नुहुन्छ, उहाँलाई प्रायः हरेक समस्याहरूमा पुदिना राखेर खाने आदत छ। उहाँलाई लाग्छ, पुदिनाले प्रायः सबैजसो रोगलाई निदान गर्छ। टाउको दुखेमा पनि उहाँ पुदिना हालेर चिया खानुहुन्छ। ‘म त जिउ दुख्दा र खोकी लाग्दा पनि पुदिना नै प्रयोग गर्छु।’ पुदिनाको वास्ना र स्वादसँग उहाँको यति गहिरो मनोवैज्ञानिक नाता जोडिइसकेको छ कि पुदिनाको नामैले पनि उहाँ दंग पर्नुहुन्छ। जब कि परम्परादेखि नै पुदिनालाई दुखाइ कम गर्न होइन, अपच हुँदा र झुसिलो डकार आउँदा प्रयोग गरिदैं आएको छ र केही फाइदा पनि गर्छ।
पुदिनाको यस्तो विशेषताको कारण पुदिन-हरा नामक एक उत्पादनलाई भारतमा आएको थियो। अभिताव बच्चनले प्रचार गरेको यो उत्पादन नेपालमा समेत व्यापक प्रयोग हुन्थ्यो। तर पुदिनामा हुने पोलेजिन तत्वले क्यान्सर गराउने भएका कारणले नेपालमा प्रतिबन्ध गरियो। तर मेरा छिमेकीले भने पुदिनालाई सबै दुखाइको रामवाणका रुपमा प्रचार गर्न थाल्नु भएको छ। धामीले फुकेर दिएको चामलको गेडीले सातो फर्केको विश्वास गरेर हुर्किएको मैले उहाँको दुखाइ कम भएको छैन भन्न कसरी सक्नु र?
मेरा गाउँमा एउटी बुढी आमै हुनुहुन्छ। उहाँचाहिँ जेमा पनि कागती प्रयोग गर्नुहुन्छ। चिया, खाना र दिउसोको सर्वतमा पनि। अवश्य पनि सिट्रस क्यटागोरीमा पर्ने कागती, सुन्तला, जुनार र भोगटेमा स्वभाविक रूपले प्रशस्त भिटामिन सि भएकाले त्यसले कतिपय सिजनल फ्लुसँग लड्न त्यसले सहज गर्छ। मेडिकल साइन्सले पनि यस कुरालाई पुष्टि गरेको छ। तर आमैका लागि कागती सबै रोगको साझा औषधी हो।
हाम्रा करेसाबारीमा पाइने घिउकुमारी, बोजो, बेसार, अदुवालगायत जडीबुटीहरूलाई आम मान्छेहरूले धेरै वर्षदेखि प्रयोग गर्ने गरेका कारण उनीहरूको त्यसप्रतिको लगाव अझै बढी पनि हुने गरेको छ। र, ती बनस्पतिहरुको उपभोग गर्दा उनीहरूलाई केही हदसम्म औषधीय प्रभावसँगै मानसिक शान्ति पनि मिल्नेगर्छ। यसैगरी कतिपय समस्याहरुमा यिनीहरुले आरामी महशुस गराउँछन् र खासै बेफाइदा पनि गर्दैनन्। तर एउटै फल वा वनस्पतिले सबै रोगलाई निको पार्छ भन्ने मनोविज्ञान प्लसिबो प्रभाव नै हो।
परम्परागत पद्धति र प्लसिबो
प्लसिबो प्रभावका दुई उदाहरणहरू हुन् माथिका। बिमारीले पहिले नै त्यस औषधीले आफूलाई ठीक गर्छ भन्ने विश्वास राखेका कारण उनलाई दिइएको नक्कली औषधीको रत्तिभर प्रभाव नपारेपनि उनी निको हुन्छिन्। या निको भएको महसुस हुन्छ। प्लसिबो र धेरैजसो परम्परागत उपचार पद्धतिहरू वास्तवमै एउटै हो।
प्लसिबो-इफेक्टमा अनुसन्धान गरेका अमेरिकाका बेथ इजराइल डेकोनेस मेडिकल सेन्टरका प्राध्यापक टेड कप्तचुकले हार्वर्ड-हेल्थसँगको एक अन्तर्वार्ताका क्रममा भनेका छन् कि ‘प्लसिबोको प्रभाव भन्नु नै सकारात्मक सोच हो। यस्तो सोचले उक्त उपचारले आफू निको हुन्छु भन्ठान्छ बिरामी। प्लसिबोले मस्तिष्क र शरीरबीच एक मजबूत सम्बन्ध स्थापित गर्छ। प्लसिबोले बिरामीलाई ठीक पार्दैन तर बिरामी झुक्किएका कारण उ मानसिक रूपमा आफूलाई बलियो महसुस गर्छ।’
प्रोफेसर टेडका अनुसार, ‘प्लसिबोले तपाईंलाई राम्रो भएको भ्रम दिनसक्छ तर ठीक भने गर्दैन। यो दुखाइ कम गर्न तथा क्यान्सर उपचारका साइड इफेक्टहरू, जस्तैः टाउको दुखाई र थकानमा सबैभन्दा बढी प्रभावकारी देखिन्छ।’ आधुनिक प्लेसिबोका प्रभावहरू दुई खाले हुनसक्छन् : एउटा सकारात्मक, अर्को नकारात्मक। ‘औषधी खाएको छु, अब ठीक हुन्छ’ भन्ने मनोविज्ञान सकारात्मक प्रभाव भयो भने ‘औषधी खाएको छु, यसले झनै खराब पो गर्ने हो कि!’ भन्ने चिन्ताचाहिँ नकारात्मक प्रभाव।
आम रूपमा प्लसिबोको प्रयोग कुनै नयाँ औषधी या भ्याक्सिनको प्रभाव र असर पत्ता लगाउन गरिन्छ। उदाहरणका लागि : कोलोस्टोरल घटाउनका लागि उत्पादन गरिएको कुनै औषधीको असर पत्ता लगाउन, केस स्टडीका लागि प्लसिबोको प्रयोग गरिन्छ। यस्तोमा कतिपय व्यक्तिलाई वास्तविक औषधी दिइन्छ त कतिपयलाई त्यसकै प्लसिबो। त्यसपछि निश्चित समयपछि प्लसिबो दिइएका बिरामी र वास्तविक औषधी दिएका बिरामीमा त्यसका असर र साइडइफेक्टहरू कस्तो हुन्छ भनेर अध्ययन गरिन्छ।
प्लसिबोमार्फत भएका अनुसन्धानहरूबाट प्रष्ट हुन्छ कि प्लसिबोले दिमाग र शरीरबीच एक खालको सम्बन्ध स्थापित गर्छ। प्लसिबोसम्बन्धी आम सिद्धान्त यो हो कि प्लसिबोको प्रभाव व्यक्तिको आशा वा अपेक्षाको नतिजामात्रै हो। कुनै व्यक्तिलाई ‘औषधी खाएपछि पक्कै पनि बिमारी निको हुन्छ’ भन्ने लागेपछि त्यो नक्कली ट्याब्लेटको असर वास्तविकझैँ पनि हुनसक्छ। उदाहरणका लागि एक अध्ययनमा मान्छेहरूलाई प्लसिबो दिएर बताइयो कि त्यो औषधी मान्छेलाई उत्तेजनामा ल्याउने औषधी हो र त्यो ट्याब्लेट खानेवित्तिकै उनको पल्स रेट र ब्लड प्रेसर बढ्न सक्छ।
त्यसैगरी त्यही प्लसिबो दिएर मान्छेहरूलाई भनियो कि त्यस औषधीले उनीहरूलाई राम्रोसँग निन्द्रा लाग्छ र आराम महसुस हुन्छ। उत्तेजना ल्याउन सक्छ भनेर सावधान गराइएको कारण पहिलो पक्षका प्रयोगकर्ताहरू प्रायः उत्तेजना मै आए। दोस्रो पक्षले प्रायः आराम नै महसुस गरे। उत्तेजना र थकानको विषय मनोवैज्ञानिक पनि हुने भएकाले परिणामहरू यस्ता देखिए तर सबै केसमा त्यस्तै हुन्छ भन्ने छैन।
अनुमान र प्लसिबो
संसारभर कोरोना महामारी फैलिएको अवस्थामा कोरोनाका बारेमा पनि अनेकौँ प्रकारका मनगढन्ते उपचारविधी र निचोडहरू सामाजिक संजालहरूमा छाए। खासगरी रोगबाट निको भएकाहरूले त्यस्ता भ्रमपूर्ण उपचार विधि र निचोडहरू सामाजिक संजालमा व्यापक रूपमा छरे। जो बितेर गए, तिनले त केही भन्नै पाएनन्। गम्भीर बिरामी भएर अस्पताल पुगेकाहरूमध्ये कति फर्के र कति फर्केनन्। मृत्युदर कम भएको यो रोगमा अस्पतालमा लामो समय बसेर बाँचेर फर्केकाहरूका कथा संजालमा उति छाएनन् किनभने तिनको संख्या नै थोरै थियो।
भारत र नेपालमा जसले घरै बसेर कोरोनालाई जिते, तीमध्ये कतिले हामीले नियमित रूपमा ज्वानोको झोल खाएका कारण निको भएका बताए त कतिले नियमित गुर्जोको झोल खानाको कारण आफूहरू ठीक भएको बताए। कतिले लसुनको महिमा गाए, कतिले अदुवाको। कागती, घोडताप्रे, तुलसी, बेसारजस्ता घरेलु मसलाहरूका बखान उत्तिकै थपिए। किनकि संक्रमितहरूले कोरोनाको त्रासमा परेर सामाजिक संजाल र टोल गाउँहरूमा हल्ला चलेका धेरैजसो बुटीहरूको उपभोग गरे। कसैले कागतीमा बढी भर गरे, कसैले बेसार त कसैले अम्बाको पातमा।
सालाखाला सयमा एक जनाको मृत्यु हुने यो रोगमा पोषिलो खानपान र आराममा ध्यान पुर्याउँदा मात्रै पनि ९९ प्रतिसत मान्छेहरु बाँच्ने नै भए। र, तिनै ९९ प्रतिसतमध्ये केही मान्छेहरूका अवैज्ञानिक तर्कहरू हुन्, ‘फलानो बुटी खाएर म बाँचेँ’ भन्नेहरु मध्ये कसैले बेसार पानी खाएका थिए होलान् कसैले कागति पानी या कसैले गुर्जो कसैले अम्वाको पात। मेरो आफ्नै परिवारमा पनि करिब ७० प्रतिसत सदस्यहरू कोरोनाबाट संक्रमित बने। र, सबै जना कोरोनालाई जितेर सामान्य जीवनमा फर्के।
कोरोनाबाट संक्रमित बनेपछि अरुबेला भन्दा अलि बढी पोषण, भिटामिन, पानीमा हामीले ध्यान दिएकै थियौँ। तर रोचक कुरा के छ भने, जस्तोसुकै अवस्थामा पनि हाम्रो परिवारमा बिहान र बेलुका ल्वाङ हालेको चिया बन्नेगर्छ। त्यसो हुँदा जस्तोसुकै बिमारीमा पनि हामी ल्वाङ चिया पिएकै हुन्छौँ। यसकारण कोरोना संक्रमित हुँदा जसले जे बढी प्रयोग गरे त्यही कुराको प्रचार गर्ने नै भए।
ल्वाङ चियाको प्रभाव
कोरोनाले गाँज्दा पनि हामीले नियमित ल्वाङ चिया छुटाएनौँ। युट्युब र फेसबुकमा अनेक जडीबुटीबाट कोरोनालाई परास्त गरेका बहादुरीका कथा र गाथाहरू आउँदा मलाई पनि झ्याप्प हाम्रो घरमा बिहान बेलुका नै उम्लने ल्वाङ चियाको याद आयो। मलाई लाग्यो, साँच्चै हामीले ल्वाङ चिया नपिएको भए कोरोनालाई परास्त गर्न सक्थ्यौँ कि सक्थेनौँ होला? पक्कै पनि ल्वाङ चिया पिएका कारण नै हामीले कोरोनालाई परास्त गरेउँ। यस्तै खालका मनगढन्ते दावा सैयौँ र लाखौँले गरे भने, हामीले पनि किन नगर्ने?
यस्ता कल्पनाहरू पनि अन्ततः प्लसिबो इफेक्ट नै हो। यस्ता कल्पनाहरूमा हामी अरु थप कुराहरू पनि हाल्न सक्छौँ। जस्तो कि : हाम्रा घरहरूमा हामी नियमित घण्टी बजाउँछौँ, घण्टी बजाउनाले शान्ति र आनन्द मिल्यो, अझ थपौै हाम्रो आत्मविश्वास बढ्यो। त्यसैले हामीले कोरोनालाई जित्यौँ। हाम्रो घरमा आमाले बिहान साँझै सिन्के धुप बाल्नुहुन्छ। धुपको सुगन्धका कारण मन चंगा भयो, कोरोना भएको त्रास भुल्यौं, त्यस कारण पनि हामीले कोरोनालाई जित्यौँ। हामी तरकारीमा सधैँ मेथी फुराउँछौँ, तरकारीमा मेथी फुराएकै कारण हामीले कोरोनालाई जित्यौँ आदि।
अवैज्ञानिक निचोड
यस्ता अनेकन् मनगढन्ते चिन्तन र दावा गर्न सकिन्छ। तर यी दावीहरू सतप्रतिसत झुट्टा हुन्। बिल्कुलै मनगढन्ते र अवैज्ञानिक हुन्। जुनुसुकै रोगको पनि निश्चित आयू हुन्छ। कि रोगले जित्छ, कि मान्छेको शरीरको प्रतिरक्षा प्रणाली(डिफेन्स सिस्टम)ले। यस्तो अवस्थामा नियमित खानपान र आरामबाटै पनि धेरै रोगहरू एउटा अवधि पार गरेपछि स्वतः निको हुने गर्छन् तर रोगको त्रासमा परेका मान्छेहरू भने मृत्युको डरका कारण अनेकौँ हल्ला, अप्रमाणित सल्लाह र उपचारविधीहरूको अनुसरण गर्न पुग्छन्।
आफ्नै मनगढन्ते विधि पनि अपनाउन थाल्छन्। र, शरीरको प्रतिरक्षा प्रणाली बलियो हुँदा धेरैजसोको रोग पनि निको हुन्छ। किनकि आजको जमानामा धेरैजसो मान्छेहरू भरपेट खान पाउने अवस्थाका छन्। यति हुँदाहुँदै पनि मान्छेहरू रोग निको हुनुको हचुवा कारणहरू खोज्न थाल्छन्।
शरीरको रोग प्रतिरोधात्मक शक्तिको विषय चिकित्सा विज्ञानका लागि समेत अत्यन्त जटिल विषय हो। यस्तोमा हामीले खाने दालभातमा समेत अनेक द्रव्यहरू भएजस्तै जडीबुटीहरूमा समेत औषधीय गुणहरू छन्। तर अहिलेसम्म हाम्रा भान्छामा पाइने मसला र जडीबुटीहरूले कोरोना परास्त गर्न सक्छ भनेर प्रमाणित गरेको छैन। म त प्रष्ट छु, हामीले पिउने गरेको ल्वाङ चियाको कारण हामी कोरोनाबाट मुक्त भएका होइनौँ।










