Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

प्रश्नहरु जब कमजोर हुँदै जान्छन् राजनीतिले गम्भीरता गुमाउदै जान्छ। परिणाम समाज विस्तारै नकारात्मक, वेपर्वाह र आवेगी हुँदै जाने खतरा हुन्छ। र, सबैभन्दा ठूलो कुरा चै के भने, पुरापुर समाज निरासामा जाने खतरा हुन्छ। भन्न पर्दैन निरासामा फसेको समाज सबैभन्दा हिंस्रक र खतरनाक हुन्छ।

केशव दाहाल केशव दाहाल
फाल्गुन ३, २०७९
- राजनीति, विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वैकल्पिक राजनीति
    वैकल्पिक राजनीति भनेको गतिशिल राजनीति हो। अग्रगामी राजनीति हो। भविष्य उन्मुख राजनीति हो। समय, समाज र सपनालाई एकाकार गर्ने राजनीति हो। यसले भन्छ, समाज गतिशिल छ, त्यसैले राजनीति पनि गतिशिल हुनुपर्छ। जस्तो समाज फेरिएको छ, यो फेरिदै जान्छ। उत्पादन सम्बन्ध र सामाजिक सम्बन्धहरु गतिशिल हुन्छन्। जसले समाजका अन्तरबिरोध, समस्या, आवश्यकता र चुनौतिहरूलाई पनि फेरिदिन्छन्। समयको बदलावसँगै पुस्ताहरु फेरिन्छन् र तिनका सपनाहरु पनि फेरिन्छन्। समयको तिब्र बहावमा नयाँनयाँ ज्ञानहरु उद्घाटित हुँदै जान्छन्। नयाँ नयाँ अनुभवहरु हासिल हुँदै जान्छन्। ती तमाम बदलावहरुलाई बुझ्ने र अगाडि जाने राजनीतिनै वैकल्पिक राजनीति हो। राजनीतिको समयसँग अविभाज्य सम्बन्ध हुन्छ। अतः भन्न सकिन्छ, हिजोको वैकल्पिक राजनीति अर्कै थियो- भोलिको वैकल्पिक राजनीति अर्कै होला।

    उदाहरणका लागि राणाकालमा प्रजातन्त्र आवश्यक थियो। जसका लागि कांग्रेस पार्टी बन्यो र त्यसले निरन्तर प्रजातन्त्रका लागि लड्यो। कांग्रेस त्यो समयको वैकल्पिक पार्टी थियो। तर बिश्व राजनीतिको अर्को वर्गले बुर्जुवा लोकतन्त्र वा पूँजीवादी प्रजातन्त्रले वर्गीय शोषणको हल गर्दैन। सर्वहारावर्गलाई न्याय आवश्यक छ। यही भाष्यलाई स्थापित गर्दै संसारभर मार्क्सवादी आन्दोलनको लहर उठ्यो। नेपालमा पनि त्यसले अर्को कोणबाट जनजिविका, वर्गीय मुक्ति र न्यायको कुरा गर्‍यो। पुजिंवादी प्रजातन्त्रको विकल्पमा समाजवादको प्रस्तावगर्ने कम्युनिष्टहरु त्यो समयका वैकल्पिक शक्तिहरु थिए।

    तर आजपनि त्यही, पुरानै औपचारिक प्रजातन्त्र वा त्यही पुरानै चरित्रको समाजवादको कुरा कसैले गर्छ भने त्यो वैकल्पिक राजनीति होइन, त्यो परम्परागत राजनीति हो। परम्परागत राजनीति भनेको राजावादी राजनीति मात्र हैन। लोकतन्त्रवादी वा समाजवादीहरु पनि पुरानै कुरा गर्छन् भने तिनीहरु पनि परम्परावादी नै हुन्। अर्थात, दक्षिणपन्थी परम्परावादी र वामपन्थी परम्परावादी। बितेका ७० बर्षदेखि एउटै बिचार, एउटै संस्कृति, उस्तै संरचना र उस्तै राजनीति गरेर आजको समाजलाई कसरी नेतृत्वगर्न सकिन्छ ? किनभने आजको समाज र आजका अन्तरविरोधलाई सम्बोधन गर्नका लागि आजकै राजनीति चाहिन्छ। हिजो सामन्तवादी समाज थियो, त्यसका आफ्नै अन्तरबिरोध थिए, आफ्नै सपना थिए। आज लोकतान्त्रिक गणतन्त्र छ, आजको उत्पादन सम्बन्ध अर्कै छ, आजका अन्तरबिरोधहरु अर्कै छन् र आजको पुस्ताले देख्ने सपना अर्कै छ  आज प्रजातन्त्रको परिभाषा र प्रयोग हिजोभन्दा धेरै फरक र समुन्नत छ। हिजो भनिएको समाजवाद अनेकौं कमजोरी सहित संकटमा पुग्यो, आजको समाजवाद अर्कै हुनसक्छ। अतः सबै कुरा फेरिदैंछ भने राजनीति मात्र स्थिर वा जड बसेर कसरी समाजलाई अगाडि बढाउन सकिन्छ?

    हिजोको दर्शन, हिजोका समाजिक र आर्थिक मुद्धाहरु र हिजोको आवश्यकतामा बनेका पार्टीहरुले जब आजको दर्शन, आजका आवश्यकता र आजका सपनाहरु सम्वोधन गर्ने तागत गुमाउछन् तब ती पुराना हुन्छन्। त्यसपछि चाहिन्छ नयाँ दर्शन, नयाँ कार्यक्रम, नयाँ लक्ष्य, नयाँ साधन र नयाँ गन्तब्य । जब पुरानो राजनीतिमा फेरिएको समय, समाज र सपनाहरुलाई नेतृत्व गर्ने तागत हराउछ तब या त पुरानाहरुको सम्पुर्ण पुनर्गठन आवश्यक हुन्छ, अन्यथा तिनीहरु फेरिएनन् भने समाजले नयाँ राजनीति निर्माण गर्छ। त्यही ऐतिहासिक मागको सम्बोधन गर्ने प्रयत्न नै वैकल्पिक राजनीति हो । त्यसैले वैकल्पिक राजनीति अग्रगामी हुन्छ र हुनुपर्छ।

    वैकल्पिक राजनीति र वैकल्पिक पार्टीबीचको फरक
    सबैभन्दा पहिले हामीले वैकल्पिक राजनीति र वैकल्पिक पार्टीलाई अलग ढंगले बुझ्नुपर्छ। वैकल्पिक राजनीति भनेको आजको युगलाई सम्बोधन गर्ने राजनीति हो। आजका मान्छेले देख्ने सपना, आजका समाजिक, आर्थिक अन्तरबिरोध, आवश्यकता, समस्या र चुनौतिहरुलाई बुझ्ने र त्यसलाई बदल्ने प्रयत्न हो। वैकल्पिक पार्टी भनेको त्यो राजनीतिलाई स्थापित गर्ने एक साधन हो। वैकल्पिक राजनीति परिवर्तनको अपिल हो, पार्टी त्यो अपिललाई स्थापित गर्ने एक माध्यम।

    कतिपय मान्छेलाई भ्रम छ कि एक थान पार्टी बनाएपछि सबै कुरा पुग्छ। तर होइन, मुख्य कुरा राजनीति हो। पार्टी  भनेको त्यो राजनीतिलाई बोक्ने मात्र भरिया हो। जस्तो राजनीति भित्र विचार हुन्छ, मुद्धाहरु हुन्छन्, कार्यक्रम, कार्यदिशा हुन्छ, परिवर्तनको सपना हुन्छ, न्यायको सपना हुन्छ, राज्यलाई कस्तो बनाउने त्यसको रुप र चरित्रको खाका हुन्छ र ती यावत चिजलाई पार्टीले आफ्नो काँधमा बोकेर हिड्नुपर्छ। राजनीति कस्तो गर्ने भन्ने कुनै खाका नबनाई मात्र पार्टी बनाउनु भनेको गन्तब्यको टुंगो नगरी हिड्नलाई झोला तयार गर्नु जस्तै हो। त्यसैले एक थान पार्टी बनाउनु मात्रै वैकल्पिक राजनीति गर्नु होइन, न त यसरी वैकल्पिक पार्टी नै बन्छ।

    सबै नयाँ पार्टीहरु वैकल्पिक हुन सक्दैनन्
    पछिल्लो समय केही थान नयाँ पार्टीहरु खुले। कतिले चुनावमा भाग पनि लिए । कतिले जितेपनि। यद्यपी नयाँ पार्टीहरु मध्ये कतिपयको राजावादी रुझान देखिन्छ। कतिपय जनयुद्ध वा जनसंघर्षको माध्यमबाट पुरानै शैलीको माओवादी जनक्रान्ति सम्पन्न गर्न चाहान्छन्। कतिपयलाई जनआन्दोलन ०६३ र नयाँ संविधान ०७२ मन परेको छैन। कतिपयलाई होहल्ला र प्रियतावाद प्यारो छ। के आजको राजनीतिक विकल्प राजतन्त्र हो ? के आजको राजनीतिक विकल्प जनगणतन्त्र हो ? अथवा के वैकल्पिक राजनीति होहल्ला वा चटक हो?

    एकजना मान्छे सत्तामा पुग्ने कुराले मात्र राजनीति सफल वा असफल हुँदैन। बरु राजनीति गर्नेले समाजलाई कता लैजाने त्यसले राजनीतिको सफलता र असफलता निर्धारण हुन्छ। उदाहरणका लागि भर्खरै आएको स्वतन्त्र पार्टीले चुनावमा के भन्यो? जितेपछि के के भयो? नो नट् अगेन भनेर होहल्ला गर्नेहरु बिहान बालुवाटार र राती बालकोट पुग्न कसरी बाध्य भए? राजनीतिमा जब वैचारिकीले काम गर्दैन र हुण्डरी प्रभावशाली बन्छ तब यस्तै हुन्छ। युवा पुस्ता र मध्यम वर्गले कहिलेकाहीं विचार नै नगरीकन हुण्डरीमा भर गरिदिन्छ। तर त्यो दिगो हुँदैन। एकदिन त्यो ‘एक्सपोज’ हुन्छ र सकिन्छ।

    आजको विकल्प अझधेरै लोकतन्त्र हो। अर्थात, समावेशी लोकतन्त्र वा सहभागितामुलक लोकतन्त्र। आजको आवश्यकता, दलाल पुजींवादको अन्त्य र आत्मनिर्भर अर्थतन्त्र हो। आजको आवश्यकता विचौलिया सत्तालाई समाजवाद वा कल्याणकारी सत्ता बनाउनु हो। आजको मुद्धा जनआन्दोलनका तमाम उपलब्धिहरुलाई उल्ट्याउने हैन, तिनलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रलाई अझ धेरै न्यायपुर्ण बनाउनु हो। अर्थात, सत्तामुखी राजनीतिलाई शुसंस्कृत गर्नु र भुइँतिर फर्काउनु आजको आवश्यकता हो। आजको आवश्यकता राज्यमा जनताको स्वामित्व बढाउनु र नागरिकलाई अझ धेरै सार्वभौम बनाउनु हो। यावत वैचारिकीहरुको आलोकमा हेर्दा पछिल्लो समय कृयाशिल कतिपय नयाँ पार्टीहरुले आफुलाई वैकल्पिक भने पनि म भने त्यहाँ वैकल्पिक राजनीतिको स्पिरिट देख्दिन।

    नयाँ पार्टी हुने बित्तिकै वैकल्पिक पार्टी मान्ने हो भने त कमल थापाको पार्टीलाई वैकल्पिक मान्दिए भयो। नयाँ पार्टीले यदि लोकतान्त्रिक संस्कृति, राजनीतिक निष्ठा र समग्र राजनीतिमा योगदान गरेको छ र उ अग्रगामी छ भने त्यसलाई वैकल्पिक पार्टी मान्न सकिन्छ। अन्यथा ठूलो स्वर गर्दैमा, चिच्याउँदैमा र पुराना नेतालाई गाली गर्दैमा त्यो वैकल्पिक पार्टी हुन सक्दैन। वैकल्पिक भनेको गम्भिर राजनीति हो, होहल्ला र लोकरिझ्याई हैन। प्रियतावादले वैकल्पिक राजनीतिको गम्भिरतालाई नोक्सान गर्छ। किनभने, राजनीति हुण्डरीजस्तो हुँदैन, यो सिरसिर चल्ने शान्त, सितल र मुलायम बतास जस्तो हुनुपर्छ।

    पुरानो व्यागेज, नयाँ राजनीतिः
    पुरानो भारी बोकेर नयाँ राजनीति हुँदैन भन्ने अनुभव वैकल्पिक राजनीतिमा स्थापित अनुभव हो। बि.सं. ०७२ यता कै अनुभवलाई हेर्ने हो भनेपनि कुनै बेला “नयाँ शक्ति”लाई वैकल्पिक राजनीतिक पार्टी भनिएको थियो। तर त्यो माओवादी आन्दोलनको यति ठूलो व्यागेज बोक्न बाध्य भयो कि त्यो पार्टी वैकल्पिक बनेन। त्यसले नयाँ राजनीतिको प्रस्तावलाई उठाउन, काँधमा हाल्न र अगाडी लैजान सकेन। त्यसलाई विकल्पको पार्टी भनेर कसैले पत्याएन। त्यसपछि नयाँ पुस्ताले सुरु गरेको विवेकशील साझा पार्टीले काम गर्छ कि भनेर धेरैले आशाको नजरले त्यता हेरे। विवेकशील साझा पार्टी बनाउँदा एकखालको हुटहुटी थियो। नयाँ पार्टी चाहिन्छ, जसलाई नयाँ पुस्ताले स्थापित गरोस्। तर नयाँ पुस्ता भन्नुको अर्थ मान्छेको मात्रै नयाँ पुस्ता भनेको होइन। विचारको पनि नयाँ पुस्ता हुन्छ। पार्टी भित्रको लोकतन्त्रमा पनि नयाँ पन चाहिन्छ। अथवा, संगठन संस्कृतिको पनि नयाँ पुस्ता हुन्छ। नेतृत्व शैलीको पनि नयाँ पुस्ता हुन्छ।

    विवेकशील साझामा उमेरका हिसाबले त नयाँ मान्छे आए तर शैलीमा नयाँकुरा आएन। पार्टी अध्यक्ष र उनको वरिपरी घुम्ने समुह स्वयं राजाभन्दा चर्को राजावादी बनेर देखापरेपछि त्यो पनि छिन्नभिन्न भयो। अहिले विवेकशिल साझा पार्टी पुराना भारी, दाग घब्बाहरु पखाल्ने अभियानमा लागेको छ। वैकल्पिक राजनीति पुराना अनुभवहरुलाई दोहोर्‍याउने  र फेरि गल्ति गर्ने राजनीति होइन। बरु पुरानो अनुभवलाई शिक्षाको रुपमा अंगिकार गर्दै नयाँ प्रयत्नलाई संगठित गर्ने राजनीति हो। पुरानैले काम गर्नेभए नयाँ किन चाहिन्थ्यो।

    लोकरिझ्याइँको राजनीति
    राजनीति गम्भिर कुरा हो। खासमा यो चटक जस्तो हुँदैन। यो जादु होइन। आज एकजना मान्छेले कहींकतै चर्का कुरागरेर नाम कमायो र राजनीतिमा तहल्का मच्चायो, गम्भिर राजनीति त्यस्तो हुँदैन। कहींकतै साथीहरुले भनेको सुनिन्छ, म सत्तामा जानासाथ सबैकुरा एक बर्षमा मिलाउछु। त्यस्तो हुण्डरीजस्तो त हुँदैहुँदैन राजनीति। यसमा हुटहुटी भएरमात्र पुग्दैन, गम्भिरता पनि चाहिन्छ। राजनीतिले सिनेमाको नायकजस्तो नेता खोजेर हुँदैन। किनभने राजनीतिमा विचारको गम्भिरता, संगठनको गम्भिरता, नेतृत्वको गम्भिरता, उच्चतम् निष्ठा र नैतिकता चाहिन्छ। किनभने यो मन्त्री बन्ने भन्दा धेरै मान्छेलाई उत्प्रेरित गर्ने र बाटो देखाउने कुरा हो। यो सभ्यता निर्माणको कुरा हो। राजनीति राज्यको चित्र र चरित्र बनाउने माध्यम हो।

    एकजना मान्छे सत्तामा पुग्ने कुराले मात्र राजनीति सफल वा असफल हुँदैंन। बरु राजनीति गर्नेले समाजलाई कता लैजाने त्यसले राजनीतिको सफलता र असफलता निर्धारण हुन्छ। उदाहरणका लागि भर्खरै आएको स्वतन्त्र पार्टीले चुनावमा के भन्यो? जितेपछि के के भयो? नो नट् अगेन भनेर होहल्ला गर्नेहरु बिहान बालुवाटार र राती बालकोट पुग्न कसरी बाध्य भए? राजनीतिमा जब वैचारिकीले काम गर्दैन र हुण्डरी प्रभावशाली बन्छ तब यस्तै हुन्छ। युवा पुस्ता र मध्यम वर्गले कहिलेकाहीं विचार नै नगरीकन हुण्डरीमा भर गरिदिन्छ, तर त्यो दिगो हुँदैन। एकदिन त्यो ‘एक्सपोज’ हुन्छ र सकिन्छ।

    राज्यको रुप र चरित्रको कुराः
    राजनीतिक ब्यवस्था फेरिनुको अर्थ र औचित्य नागरिकको अवस्थाबाट प्रमाणित हुनुपर्छ। नागरिकको अवस्था भनेको आर्थिक, सामाजिक र राजनीतिक उन्नयन हो। अथवा सामाजिक न्याय र सम्बृद्धि हो। त्यसैगरी राजनीतिक परिवर्तनले राज्यसत्ताको अनुहार फेरेरमात्र पुग्दैन। राज्यको चरित्र फेर्नुपर्छ। किनभने राज्यको स्वरुप र चरित्रको सम्बन्ध आफैमा सन्तुलित, सुन्दर र न्यायपुर्ण हुनुपर्छ। तर बदलिएको राजनीतिक ब्यवस्थाले नागरिकको आर्थिक, सामाजिक अवस्थालाई बदल्न जुन योगदान गर्नुपर्ने हो त्यो हुनसकेको देखिदैन। निश्चय नै राजनीतिक आन्दोलनहरुले ब्यवस्थामा परिवर्तन गरे । हिजो निर्दलिय पंचायत थियो, त्यसलाई फेरेर संवैधानिक राजतन्त्र सहितको संसदिय प्रजातन्त्रका स्थापना भयो। अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ। यसो हेर्दा ब्यवस्था फेरियो, राज्यको स्वरुपमा ठुलो परिवर्तन आयो। राजतन्त्र हट्यो, एकात्मकता हट्यो। संविधानमा समाजवाद उन्मुख लोकतान्त्रिक राज्य लेखियो। तर न त नागरिकको अवस्था फेरियो न त राज्यको चरित्रमा परिवर्तन ल्याउन सकियो। यो अर्थमा मान्छेको अवस्था बदल्नेकाम बाँकी रह्यो। र, राज्यको चरित्रलाई न्यायपुर्ण बनाउने काम बाँकी रह्यो। राज्यको अनुहार फेरियो तर चरित्र फेरिएन। राजनीतिको मुख्य जिम्मेवारी यहीनेर बाँकी रह्यो भन्ने मलाई लाग्दछ।

    यो कार्यभार पुरा गर्न सबैभन्दा पहिले त राजनीतिलाई फेर्न आवश्यक छ। राजनीतिलाई फेर्नुभनेको यसको वैचारिकीलाई फेर्नु हो। राजनीतिलाई फेर्नु भनेको पार्टीहरुलाई फेर्नु हो। राजनीतिलाई फेर्नु भनेको राजनीतिक मुद्धाहरु, प्राथमिकताहरु, शासकीय संस्कृतिलाई फेर्नु हो। राजनीतिलाई फेर्नु भनेको नेतृत्वलाई फेर्नु हो। जस्तोकी अहिलेकै संसदीय अभ्यासलाई प्रभावकारी बनाउन पनि सबैभन्दा पहिले राजनीतिक दलहरूमा शुद्धता, पुनर्गठन र प्राकृतिक ध्रुवीकरण आवश्यक छ। अहिले हेर्दा जुन शक्तिहरूबीच प्रतिस्पर्धा हुनुपर्ने हो, ती शक्तिहरु गठबन्धनमा छन् । यसरी कसरी राजनीति चल्छ ? अथवा, गणतन्त्रवादी र राजावादीहरू एकठाउँ बसेर सरकार चलाउनु भन्दा दुषित राजनीति के हुन्छ ? दुषित राजनीतिले बनाउने भनेकै दुषित सत्ता हो।

    यो अर्थमा हामीले गर्नुपर्ने पहिलो काम राजनीतिक पुनर्गठनको काम हो। तर त्यतिलेमात्र पुग्दैन। राजनीतिक पुनर्गठनसँगै हाम्रो शासकिय संरचनाहरुमा पनि पुनर्गठन आवश्यक देखिन्छ। जस्तो शासकीय प्रवन्धनलाई प्रभावकारी र उन्नत बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखतिर जाने। सांसदनै मन्त्री बन्ने परम्पराबाट निर्वाचित सांसद र कार्यकारीले मनोनित गर्ने परिषदको प्रवन्ध गर्ने । सांसद र मन्त्रीको संख्या घटाउने। एक ब्यक्ति दुई कार्यकाल गर्ने। समावेशीतालाई अझ बलियो बनाउने। अन्यथा संसदमा पुग्ने हरेक प्रतिनिधि मन्त्रिको मोहमा भुल्ने प्रबृति देखियो। परिणाम ब्यवस्थापिका प्रभावकारी भएन।

    यहिनेर निर्वाचन प्रणालीमा सुधार र गहिरो लोकतन्त्रको प्रवर्द्धन आजको अर्को कार्यभार हो। जसका लागि मतदातालाई ‘राइट टू रिकल’ र ‘नो भोट’को अधिकार दिनपर्छ। नागरिकलाई अझ सार्वभौम नबनाई लोकतन्त्र कसरी बलियो हुन्छ? अर्को महत्वपूर्ण काम भनेको राज्यलाई भूइँतिर फर्काउनु हो। देशमा भएका तमाम आन्दोलनहरुमा सडकमा नारा लगाउने किसान, मजदुरका सपना सडकमै छुटेका छन्। राज्यले त्यसलाई सम्हाल्नु आवश्यक छ। जस्तैः शिक्षा र स्वास्थ्यका मुद्दा, किसानका मुद्दा, भूमि सुधारका मुद्दा। समाजवाद भनेको भूइँलाई न्याय दिनु, छुटेका मुद्दालाई सम्बोधन गर्नु, उत्पादन बढाउनु र न्यायोचित वितरण गर्नु हो। किसानले आफ्नो तरकारी सडकमा फाल्नुपर्ने अवस्था छ, तर हाम्रा किसान संगठनहरु चुपचाप छन्। यो अवस्थामा समाजवाद कसरी आँउछ? यसैगरी राज्य स्वयंको निर्मलिकरण आजको अर्को महत्वपुर्ण मुद्धा हो। त्यो के भने, हामीले समाजवाद उन्मुख राज्य भन्यौं, तर यसको तालाचाबी पाँचसय जति विचौलियाहरुको हातमा छ। जो सिंहदरबार र बालुवाटारमा बसेर राज्यलुटको योजना बनाउछन्। जो पंचायतमा पनि थिए र गणतन्त्रमा पनि तिनै हावी छन्। खान्दानी वा नवदलालहरुको प्रभावबाट सिंहदरबार र बालुवाटारलाई बाहिर ननिकालेसम्म राज्यको चरित्र फेरिदैन। अन्यथा, मुद्दा एकातिर र यात्रा अर्कोतिर गरेर हामी समाजवादतिर पुग्दैनौं।

    हामीकहाँ ०२८/३० सालमा जो मान्छे पार्टीको नेतृत्वमा थियो अहिलेपनि उहिनै पार्टीहरुको केन्द्रीय कमिटी वा पोलिटव्युरो सदस्य छ। पटक पटक मन्त्री र प्रधानमन्त्री भएको उही पुरानो र असफल पुस्ता अहिलेपनि सरकारको नेतृत्वमा छ। ५० बर्ष अगाडिको योग्यताले आजको युगलाई कसरी नेतृत्व गर्छ? नेताहरूलाई लाग्छ, म आफू मात्रै सर्वोपरी छु।

    पुनर्गठनको अभिभाराः
    राज्य र राजनीतिलाई बदल्न नयाँ पुस्ता अगाडि आउनु पर्छ। यसका लागि हामीलाई एक बिद्रोही पुस्ताको आवश्यकता छ। हाम्रा दलहरू कुवा जस्ता भए। कञ्चन नदीमा नयाँ पानी बग्छ, तर कुवामा सधैं त्यही पानी हुन्छ। कुवा बनेर बसेको राजनीतिलाई कञ्चन बनाउन सजिलो छैन। त्यसका लागि बाँध भत्काउनुपर्छ। बाँध भत्काउन हिम्मतिलो पुस्ता चाहिन्छ।

    हामीकहाँ ०२८/३० सालमा जो मान्छे पार्टीको नेतृत्वमा थियो अहिलेपनि उहिनै पार्टीहरुको केन्द्रीय कमिटी वा पोलिटव्युरो सदस्य छ। पटक पटक मन्त्री र प्रधानमन्त्री भएको उही पुरानो र असफल पुस्ता अहिलेपनि सरकारको नेतृत्वमा छ। ५० बर्ष अगाडिको योग्यताले आजको युगलाई कसरी नेतृत्व गर्छ? नेताहरूलाई लाग्छ, म आफू मात्रै सर्वोपरी छु। आज सहभागितामूलक लोकतन्त्रको बहस छ, आज हरेक व्यक्ति आफूलाई सार्वभौम भनेर दाबी गर्छ, तर नेताहरुले त्यो बुझेका छैनन्। बरु उल्टो उनिहरुले आफ्नो वरिपरी यस्तो जमात खडा गरेका छन् जसले नेताहरुको स्तुति गाँउछ र नयाँ संभावनाहरुलाई जन्मदै निमोठ्छ । यदि कसैले आफुलाई पार्टीको सार्वभौम सदस्य दावी गर्छ भने वा कसैले निर्णय प्रक्रियामा आफ्नो हिस्सेदारी खोज्छ भने त्यो किनारामा पर्छ। पार्टी भित्र प्रश्न गर्नेहरु त्रासमा छन्। नेता र कार्यकर्ताको सम्वन्ध स्वार्थले निर्धारण गरेको छ। आसेपासेले नेतालाई भगवान बनाउने र पार्टी मठ बन्ने यस्तो अवस्थाको अन्त्य गर्न प्रत्येक पार्टीभित्र नयाँ पुस्ताको विद्रोह आवश्यक छ। जसले नेतालाई भगवानबाट मान्छेमा रुपान्तरित गरोस् । र, पार्टीहरुलाई कम्पनी वा मठ हुनबाट जोगाओस्।

    अर्थात, हामीलाई एउटा यस्तो विद्रोही पुस्ता आवश्यक छ, जसले प्रश्न गरोस् र आफ्नो राजनीतिक हिस्सेदारी दाबी गरोस्। विगत ३० वर्षदेखि गुम्सिएका सपना व्यूँताउन अब त्यो विद्रोह आवश्यक छ। यो महाधिवेशनमा नेतालाई हराउने वा सत्ताबाट झार्ने विद्रोह मात्रै होइन। यो वैचारिक बिद्रोहको प्रस्ताव हो। यो लोकतन्त्रलाई गतिशिल बनाउने बिद्रोह हो। यो नयाँ संस्कृति निर्माणको बिद्रोह हो। यसका लागि राजनीतिक कार्यकर्ताहरू दास मनोविज्ञानबाट उठ्नुपर्छ। किनारामा परिन्छ भने पनि भिड्नुपर्छ। गाह्रो छ, त्यसैले त यो युगिन काम हो। कम्तिमा एउटा पुस्ताले राजनीतिमा बदलाव ल्याउन हिम्मत गर्नुपर्छ।

    विद्रोहको आधारभूमि
    बिद्रोहका दुईवटा आधारभूमि छन्। एउटाः पुराना पार्टीभित्र विद्रोह। यो विद्रोह प्रत्येक पार्टीभित्र संगठित हुनुपर्छ । दोश्रा, जो पार्टी बाहिर छन् उनिहरु बाहिरबाट संगठित हुनुपर्छ। यसरी पार्टी संरचना भित्र वा संरचना बाहिरबाट पुरानो राजनीतिलाई प्रश्न गर्नुपर्छ र चुनौति दिनुपर्छ। तर यहाँ विद्रोह गर्नु भनेको गाली गर्नु होइन। बरु विकल्पहरु निर्माण गर्नु हो। जब पार्टी संरचनाभित्र र बाहिर केही न केही घर्षण हुन्छ, त्यसले बदलाव ल्याउँछ।

    सामाजिक न्यायलाई नबुझीकन राजनीति हुँदैन। हाम्रो समाजमा जातीय, धार्मिक, लैंगिक र वर्गीय मुद्दाहरू छन्। त्यसलाई हल नगरीकन हामी न्यायपूर्ण समाज बनाउन सक्दैनौं। शहरमा बसेर राजनीतिको रहर गर्नु र साच्चै राजनीतिका गम्भीर मुद्दाहरु बुझ्नु अलग कुरा हो। ०४६ सालदेखि उठेका तर छुटेका मुद्दा जस्तैः महिला, दलित, जनजाति, श्रमिक, किसानका मुद्दालाई अझैपनि कार्पेटमुनि दबाएर राजनीति हुँदैन। अन्यथा सभ्य, समाजवादी र न्यायपूर्ण समाज बनाउन सकिँदैन।

    उदाहरणका लागि अहिले नेपाली कांग्रेसमा नयाँ पुस्ताले कम्तिमा टाउको उठाउने कोशिस गरेको छ। यो लहर अरु पार्टीमा पनि देखिएला। कम्युनिष्ट पार्टीमा पनि आउँदो महाधिवेशनमा सायद एउटा पुस्ता विदा होला। तर नयाँ पुस्ता पनि पुरानो विचार, शैली र संस्कृति मै रमायो भने त्यसले बदलाव ल्याउदैन। किनभने पार्टीहरुमा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने भनेको मान्छे फेर्ने भनेको होइन, राजनीति फर्ने भनेको हो। जसभित्र विचार, मुद्धा, नेतृत्व, संस्कार र संस्कृति सबै पर्दछन्। जस्तो, अहिले कम्युनिष्ट पार्टीहरू सोसलिस्ट सेन्टरको कुरा गरिरहेका छन्। सायद यो परम्परागत कम्युनिष्ट शैलीले अब काम गर्दैन भन्ने उनीहरुको स्विकारोक्ति होला। निश्चयनै यो राम्रो कुरा हो। तर नाममा समाजवादी मोर्चाको कुरा गर्ने, काममा पुरानै कुरालाई निरन्तरता दिने भयोभने त्यसले काम गर्दैन।

    यसैगरी अहिले परम्परागत दल भन्दा बाहिरबाट पनि पार्टी निर्माण गर्ने प्रयत्नहरु भइरहेका छन्। यसले समग्र राजनीतिलाई बदल्न दबाब सृजना गरिरहेको छ। तर त्यो दबाबले राजनीतिक चरित्र बोक्नुपर्छ। लेकरिझ्याई र हाहाहुहुको दबाब दिगो हुँदैन। यद्यपि अबका दिनमा सबैतिरका असल प्रयत्नहरुलाई जोड्दै जानुपर्छ। एजेण्डा मिल्नेहरू एक ठाउँमा आउनुपर्छ। बाहिर र भित्रका दबाब वा बिद्रोहले धेरै कुरामा फेरबदल ल्याउने छ।

    निरन्तर सत्यको पक्षमाः
    सामाजिक न्यायलाई नबुझिकन राजनीति हुँदैन। हाम्रो समाजमा जातीय, धार्मिक, लैंगिक र वर्गीय मुद्दाहरू छन्। त्यसलाई हल नगरिकन हामी न्यायपूर्ण समाज बनाउन सक्दैनौं। शहरमा बसेर राजनीतिको रहर गर्नु र साच्चै राजनीतिका गम्भीर मुद्दाहरु बुझ्नु अलग कुरा हो। ०४६ सालदेखि उठेका तर छुटेका मुद्दा जस्तैः महिला, दलित, जनजाति, श्रमिक, किसानका मुद्दालाई अझैपनि कार्पेटमुनि दबाएर राजनीति हुँदैन। अन्यथा सभ्य, समाजवादी र न्यायपूर्ण समाज बनाउन सकिँदैन। राजनीति भनेको मानव सभ्यतालाई उन्नत बनाउने नीति हो। समाजमा अझैपनि हेलाहोचो छ, मान्छेहरु अनेकौ प्रताडना र अपमानले रुन बाध्य छन्। भोक अझैपनि जिउदो छ। शुसाशन छैन। वैकल्पिक राजनीति गर्नेले यी मुद्दालाई सतहबाट बुझेरमात्र हुँदैन, किन यस्तो भइरहेको छ, त्यसको कारणलाई आर्थिक र सामाजिक अन्तरसम्बन्धको ऐतिहासिक चक्रको  सन्दर्भबाट  बुझ्नुपर्छ।

    तर हाम्रो राजनीतिमा गम्भीरता हराउँदै छ कि जस्तो लाग्छ। आजको खतरा नै त्यही हो। यहाँ सतही उल्कापात र होहल्ला मात्रै पत्याइन्छ। राजनीतिमा ‘बा’ वा ‘दाइ’ वा भगवान बन्ने होडबाजी छ। वास्तविक मुद्दालाई छोपछाप पार्ने यस्तो उल्कापातले राजनीति सप्रदैन। किनभने राजनीति भिंडमा बहकिनु हुँदैन। भिंडमा बहकिनु भनेको लोकरिझ्याइँमा रमाउनु हो। राजनीतिले त भिडलाई दिशानिर्देश पो गर्नुपर्छ। यो अर्थमा आजको वैकल्पिक राजनीति अग्रगामी त हुनैपर्छ, जो गम्भिर पनि हुनुपर्छ। राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनु पर्छ।

    हामी विज्ञानलाई मान्छौं भने, सबैकुरा गतिशिल हुन्छ भन्ने मान्नुपर्ने हुन्छ। त्यो गतिशिलता सामाजिक तथा राजनीतिक प्रकृयामा पनि हुन्छ। त्यो गतिशिलताले बिद्रोह निर्माण गर्छ। अतः विकल्प अनिवार्य छ। निश्यच नै त्यो कठिन छ, तर असम्भव छैन।

    विकल्प संभव छः
    अहिले पुराना तथा नयाँ पार्टीभित्र विचार र मुद्दाको स्खलन बाक्लै देखिन्छ। नेतृत्वमा गम्भीरता छैन। व्यक्तिको सत्तामोहलाई बेवास्ता गर्न सकिन्थ्यो, तर सत्तामोह राजनीतिको परम्परा बन्दैछ। दुर्भाग्य यति ठूलो वैचारिक, राजनीतिक र सांस्कृतिक स्खलनबिरुद्ध अझै चर्को बोलिएको छैन। नयाँ–पुराना सबै पार्टीमा यो समस्या देखिन्छ। त्यसैले अहिलेका लागि राजनीतिलाई लयमा फर्काउने काम महत्वपूर्ण छ। अन्यथा यस्तै रहिरह्यो भने एउटा पुस्ता निराश भएर पलायन हुनेछ, अर्कोले केही गर्न सकिएन भनेर हात उठाउनेछ। प्रश्नहरु जब कमजोर हुँदै जान्छन् राजनीतिले गम्भीरता गुमाउदै जान्छ। परिणाम समाज विस्तारै नकारात्मक, वेपर्वाह र आवेगी हुँदै जाने खतरा हुन्छ। र, सबैभन्दा ठूलो कुरा चैं के भने, पुरापुर समाज निरासामा जाने खतरा हुन्छ। भन्न पर्दैन निरासामा फसेको समाज सबैभन्दा हिंस्रक र खतरनाक हुन्छ।

    त्यसैले राजनीति फेरिनै पर्छ। अन्यथा धेरैकुरा आँखै अगाडि वर्वाद हुनेछन् । पुरानो राजनीति फेर्नका लागि राजनीतिमा परिवर्तनको झिल्को बाल्नुपर्छ। र, कहींकतै झिल्को बल्दैछ भने त्यसलाई निभ्न दिनुहुँदैन। त्यो झिल्को नै अबलाई आशाको झिल्को हो। त्यो नै विकल्प हो। यदि हामी विज्ञानलाई मान्छौं भने, सबैकुरा गतिशिल हुन्छ भन्ने मान्नुपर्ने हुन्छ। त्यो गतिशिलता सामाजिक तथा राजनीतिक प्रकृयामा पनि हुन्छ। त्यो गतिशिलताले बिद्रोह निर्माण गर्छ। अतः विकल्प अनिवार्य छ। निश्यच नै त्यो कठिन छ, तर असंभव छैन।

    (विवेकशील साझा पार्टीका नेता केशव दाहालसँग गरिएको कुराकानीमा आधारित)

    भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केशव दाहाल

      केशव दाहाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.