Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महामारीमा पपुलिस्ट नेतृत्व : सर्वनासको कारक

विज्ञानविरोधी, परम्परागत र पपुलिस्ट सरकारले कसरी जनताको ज्यानमाथि खेल्यो

प्रकाश अजात प्रकाश अजात
बैशाख २८, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पहिलेदेखि नै जलवायु परिवर्तन, साइबर हमला, भोकमरी, बेरोजगारी र आर्थिक मन्दीबाट ग्रस्त हाम्रो विश्वले एक वर्षदेखि कोभिड १९ को महामारी झेलिरहेको छ। र, यो महामारीबाट हामीले एउटा सन्देश पाएका छौँ, रोगव्याधीको महामारीमा अन्धविश्वासी, धर्मभिरु र पपुलिस्ट नेतृत्वको काम छैन। तिनले हाम्रो अवस्थालाई झनै नाजुक बनाउने रहेछन्।

    ब्राजिलको बोल्सोनारो : सर्वनासको उदाहरण

    भ्रष्टाचारविरुद्ध सन् २०१८ मा ब्राजिलमा एउटा शसक्त अन्दोलन जाग्यो। र, त्यही आन्दोलनको उभारमा जेर बोल्सोनारो नामको लोकरिझ्याइँको नारा बोक्ने एउटा परम्परावादी क्रिश्चियन धर्मभिरु सत्तामा आइपुगे। अहिले सबैभन्दा द्रुत गतिमा त्यहाँ कोरोना फैलिराखेको छ। त्यहाँ फैलिएको कोरोनाको विश्वव्यापी असर आगामी दिनमा सम्पूर्ण विश्वले झेल्नु नै छ।

    बुझ्नुपर्ने कुरा के छ भने, चाहे त्यो इरान होस् या ब्राजिल, मेक्सिको होस् या टर्की, या किन नहोस् भारत, यी सबै देशहरूका अहिलेका नेतृत्व धार्मिक, राष्ट्रवादी र परम्परागत–उन्मादी नाराहरू उचालेर उदाएका हुन्। अघिल्लो पटक अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनल्ड ट्रम्प पनि उस्तै उग्र राष्ट्रवादी नारा उचालेर सत्तामा आएका हुन्। नेपालमै पनि राष्ट्रवादको नारामा टेकेर नै खड्गप्रसाद ओली सत्तामा उदाएका हुन्, जो हिजोमात्रै संसदबाट अविश्वास गुमाएसँगै कामचलाउ प्रधानमन्त्रीमा परिणत भएका छन्। तर उनको भारतविरोधी राष्ट्रवाद “त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये” भएको हालका घटनाहरुले छ्याङ्ग भइसकेको छ।

    तर अहिले हामी यस्ता मान्छेहरूलाई सत्तामा पुर्‍याउनुको सजायँ भोग्दैछौँ। महामारीले ढोकैमा ढक्ढक्याउँदा हामीलाई लागेको छ, ‘कहिले मैले भ्याक्सिन लगाउन पाउँला?’ कतिपयले संयोगले भ्याक्सिनको पहिलो डोज लगाएको भए उनीहरू सोच्दैछन्, ‘भ्याक्सिनको दोस्रो डोज लगाउन कहिले पाउँला?’ अनि पूर्ण भ्याक्सिन लगाएका सिमित मान्छेहरूचाहिँ ठान्दैछन्, ‘मेरा परिवार र आफन्तहरू सबैले कहिले भ्याक्सिन लगाउन पाउलान्? कसरी सबै सुरक्षित हुन सकिएला?’ कोरोनाका नयाँनयाँ भेरियन्टहरू आएको बताइँदै गर्दा हामी सबैलाई लागेको छः कहिले हामी सामान्य अवस्थामा फर्कौँला?

    सम्पन्न र विकसित ठानिने अमेरिकालगायत देशहरूले त पूरै देशलाई भ्याक्सिन लगाएर ‘सुरक्षित’ पार्न सक्लान् ! तर त्यसो गर्दैमा, पूरै विश्व नै सुरक्षित नहुँदासम्म, अमेरिकनहरू पनि पूरै सुरक्षित नरहन सक्छन् । जस्तो कि, विश्व स्वास्थ्य संगठनका एक अधिकारी जुलियो फ्रेंक भन्छन्, ‘प्रत्येक संक्रमितले कोरोनाको अर्को ‘भगुवा भेरियन्ट’ बनाउने सम्भावना हुन्छ र भ्याक्सिन लगाएको जनसंख्यामा पनि त्यसले संक्रमण फैलाउन सक्छ। आजको जस्तो जेलिएको र जोडिएको संसारमा प्रत्येक मान्छे सुरक्षित नभईकन कोही पनि सुरक्षित छैन।’

    ४ लाखको मृत्यु र विश्व त्रास

    ब्राजिलमा अहिलेसम्म कोभिडका कारण ४ लाख मान्छेको मृत्यु भइसकेको छ। गत जनवरीमा एउटा संस्थाले गरेको अध्ययनमा ९८ देशमध्ये ब्राजिलको कोभिडबारेको व्यवस्थापनको तदारुकता सबैभन्दा तल अर्थात् ९८ मा थियो। र, अहिले पनि त्यहाँको व्यवस्थापनमा फेरबदल आएको छैन। अर्थात् कोभिड महामारीका बारेमा त्यहाँ अन्धविश्वासी र विज्ञानविरोधी राष्ट्रपतिले फैलाएको हल्लाका प्रभाव उत्तिकै छ। युनिभर्सिटी अफ मयामीका अध्यक्षसमेत रहेका फ्रेंक भन्छन्, ‘जति धेरै संक्रमणहरू बढ्छन्, त्यसबाट म्युटेसन (रुप परिवर्तन) उति धेरै हुन्छन्, रूप परिवर्तन गरेका भाइरस झनै संक्रामक हुन्छन्। अहिले भएकै त्यही हो।’

    ब्राजिलमा फैलेको कोरोना अब सर्वत्र फैलन थालिसकेको छ। जस्तो कि अन्य दक्षिण अमेरिकी देशहरूमा समेत यो फैलन थालेको छ। पि १ बताइने कोरोनाको यो नयाँ भेरियन्ट अमेरिका लगायत ४४ देशमा देखिएको छ। ब्राजिलमा कोभिडका बारेमा अध्ययन गर्ने सबैभन्दा ठूलो अध्ययन संस्थाका प्रमुख अध्येता पेद्रो हलाल बताउँछन्, ‘कोरोनोका नयाँ भेरियन्ट बच्चाहरूका लागि खतरापूर्ण हुने र अहिले लगाएका भ्याक्सिनको प्रभाव त्यसमा नहुने पनि हुनसक्छ।’ पेद्रो थप्छन्, ‘ब्राजिल कोरोनाका नया भेरियन्टको फ्याक्ट्री नै बनेको छ ब्राजिल।’

    ब्राजिलको यो वर्वादीका लागि त्यहाँका राष्ट्रपति बोल्सोनारो जिम्मेवार छन्। किनभने कोरोनाबारेको प्रारम्भिक केस अघिल्लो फेब्रुअरीमा त्यहीँ देखिएका थिए, तर समय छँदै बोल्सोनारा र उनका सत्ता समर्थकहरूले कोरोनाका विरुद्ध कुनै कदम चालेनन् किनभने हाम्रा प्रधानमन्त्री ओलीजस्तै यिनी पनि कोरोनालाई सामान्य रूघाखोकी हो भन्दै भाषण ठोक्थे। यसपालीको दोस्रो छालको शुरुवातमा हाम्रा प्रधानमन्त्रीले ‘अम्बाका पात चपाएर कुल्ला गरेपछि कोरोना भाग्छ’ भन्ने मनगढन्ते सिद्धान्तको व्याख्या गरे।

    र, दुःखको कुरा, महामारीको केही पहिले बोल्सोनारोले विश्वविद्यालय र शिक्षा तथा विज्ञान मन्त्रालयको बजेटसमेत कटौती गरेका थिए। सोहि कारण अहिले त्यहाँका वैज्ञानिकहरूलाई कोरोनाका अनेक भेरियन्टबारे अध्ययन गर्न कठिन भइरहेछ। विज्ञानविरोधी व्यक्तिहरू सत्तामा पुगेपछि हुने यस्तै नै हो।

    कोरोनाको बिरोध

    जतिखेर विश्वभर कोरोनाका भाइरसहरू फैलिराखेको थियो, कोरोनालाई अस्विकार गर्नेहरूका नेताको रूपमा उतिखेर बोल्सोनारोकोे उदय भएको थियो। उनले भाइरसलाई ‘सामान्य फ्लु’ भने र यसबारे चिन्ता व्यक्त गर्ने व्यक्ति र वैज्ञानिकहरूकै मजाक उडाए। उनले सार्वजनिक स्थानहरूमा मास्क लगाएनन्। उल्टै, समर्थकहरूमाझ खुला नाकमुख सेल्फी खिचे, हात मिलाए। आफ्नो मतसँग असहमती राख्ने स्वास्थ्य अधिकारी र मन्त्रीहरूसँग उनको चर्को द्वन्द्व पर्‍यो। सोही कारण अहिले सम्भवतः कोभिडका बारेमा सबैभन्दा बढी भ्रमपूर्ण खबरहरू फैलेको देशका रूपमा यस देशलाई लिइन्छ।

    अगुवाले नै बाटो फोहर गरेपछि अरुको के लाग्छ? अहिले पनि ब्राजिलमा राष्ट्रपतिले बोलेको कुरालाई आधार बनाएर कोरोनाबारेका अफवाहहरू ह्वाट्सअप, भाइबर, ट्विटर र फेसबुकमा सेयर गरिन्छन्। रोचक के छ भने, बोल्सोनारोले त्यस देशको पहिलो भ्याक्सिनेसन अभियानको उद्घाटन गरे तर बोल्सोनारो आफैँले भने ‘खोप लगाउने कुनै योजना नभएको’ बताए । अझ ठट्टा गर्दै यसो सम्म भन्न भ्याए, ‘भ्याक्सिनले मान्छेलाई गोहीजस्तो बनाउला, महिलालालाई दारी आउने बनाउला, र केटाहरूको स्वर अझै ठुलो होला। तर के गर्नु? त्यसो भइहालेमा भ्याक्सिन बनाउने कम्पनीहरू तिनको जिम्मेवारी लिँदैनन्।’

    कतिसम्म भने इण्डिया र दक्षिण अफ्रिकाले भ्याक्स्नि बनाउँदा लाग्ने कतिपय प्याटेन्ट अधिकारलाई खुकुलो गरेर भ्याक्सिन उत्पादन गर्न आग्रह गर्दासमेत बोल्सोनारो सरकारले त्यसलाई अस्विकार गर्‍यो। अहिले त्यसकै परिणाम भोग्दैछ ब्राजिल।

    गोबरको केक र अम्बाका पात

    यता, महामारीलाई व्यवस्थापन गर्ने सवालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीको हालत पनि उस्तै छ। कोरोना महामारीलाई ट्याकल गर्नका लागि यसको विज्ञान बुझ्नुपर्ने हुन्थ्यो तर परम्परावादी र रुढीवादीहरूलाई विज्ञानको भाम्तो छिचोल्न सहज हुने कुरै भएन। ‘एउटै धुलोले सैयौँ रोग चट्’ का सिद्धान्तमा विश्वास गर्नेहरूले कोरोना भाइरसको फैलावट र जटिलता बुझ्न चाहेनन्।

    भ्याक्सिन निर्माणमा भारत सरकार लागेपनि हिन्दूवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका चेलाचपेटाहरूले गोमुत्र पिएर कोरोना निको हुन्छ भन्दै ‘गाईको गहुँत पार्टी’ गर्दै हिँडे। मोदी समर्थकहरू महामारीको मौका छोपेर आफ्नो ‘अचुक वैज्ञानिक र वैदिक उपचार विधि’को धुवाँदार प्रचार गरे। गाईको गोबरयुक्त केकसमेत खाए। र, उनीहरूका नेता नरेन्द्र मोदी पनि मास्कबिनै लाखौँका सभा गर्दै देशभर डुले। र, ‘अहिलेसम्म यति ठूलो मान्छेहरूको भीड मैले देखेको थिइनँ’ भन्दै छाति पिटे। दोस्रो भेरियन्टको तवाह मच्चिँदै गर्दा हरिद्वारको धार्मिक कुम्भ मेलामा प्रतिवन्धहरू लगाउने कामसमेत गरेन धार्मिक सरकारले।

    चेतना र प्राथमिकता

    मार्चबाट कोरोना संक्रमणमा ह्वात्तै वृद्धि भएको भारतमा अहिलेसम्म २ लाख पचास हजार मान्छे कोरोनाबाट मरेका छन्। अक्सिजन अभाव र अस्पताल अभावकै कारण मान्छेहरू सडकमै मर्ने अवस्था छ त्यहाँ। यी सबैको गुह्य कारण हो अविवेकी र विज्ञानविरोधी सरकारी नेतृत्व। भारतजस्तो देशको नेतृत्वमा यदि कोही कामयाव, शिक्षित र युगको चेतना बुझ्ने नेता हुन्थ्यो भने उसले मन्दिर बनाउने र शहर र टोलहरूका नाउँ फेर्ने अभियान चलाउँदैनथ्यो।

    अर्बौँका शालिक, मुर्ती र मेगासिटीभन्दा पर्यावरणमैत्री गाउँ शहरको विकाश उसको चासो हुन्थ्यो। जनताको जीवन उसको प्राथमिकता हुन्थ्यो। मोदीकै शैली अनुकरण गर्ने पपुलिस्ट प्रधानमन्त्री भएको हाम्रो देशको अवस्था पनि अहिले उस्तै छ। कोरोनाका कारण गम्भीर बिरामी भएकाका लागि समेत अस्पतालमा बेड उपलब्ध छैन तर काल्पनिक आयोजनाहरूका डिजिटल उद्घाटनमा प्रधानमन्त्री अस्तिसम्म व्यस्त थिए।

    केही लाखले मात्रै कोभिड भ्याक्सिन लगाएको हाम्रो देशमा पछिल्लो चरणमा संक्रमण दर भयावह छ र मृत्युदर पनि बढ्दो छ। अहिलेसम्म करीब ४ हजारको मृत्यु भएको सरकारी तथ्यांक छ। अफवाह र हल्ला पनि यो व्यापक संक्रमण र मृत्युका कारण हुन्। किनभने दोस्रो लकडाउनअघिसम्म पनि आम मान्छेहरूले भाइरसलाई सामान्य नै ठानिरहेको देखिन्थ्यो। राजनीतिक दलका सभाहरूमा प्रमुख शहरमा उत्रने मान्छेहरूको भीडले नै त्यस कुरालाई पुष्टि गर्थ्यो।

    यसका मूल कारण हाम्रा प्रधानमन्त्री हुन् किनभने बारम्बार उनले भाइरस निवारणका बारेमा उटपट्याङ उपचार विधि सुझाइरहे। प्रधानमन्त्री स्वयंले अवैज्ञानिक उपचार विधिको प्रचार गरेपछि हुने नै यस्तै हो। किनकि रोगहरू कम्युनिकेबल (फैलने) खालका मात्रै हुँदैनन्, र कम्युनिकेटेड (संचार हुने) पनि हुन्छन्। भ्रामक सूचना पनि महामारी बढ्नुको प्रमुख कारणमध्ये एक हो।

    निकम्मा शासक, निरिह जनता

    केही महिना पहिले ओलीले ‘नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता अरु देशका मान्छेहरूको भन्दा बढी छ’ भनिदिए। त्यसो भन्नका लागि उनलाई कुनै अनुसन्धान स्रोत चाहिएन। मनमा आयो, भनिदिए। तर त्यसो भन्दा आम मान्छेहरूले चाहिँ के सोचे होलान्? ‘नेपालीको त रोग प्रतिरोधात्मक क्षमता नै धेरै रहेछ’ भन्ने ठाने र तिनले मेडिकल साइन्सले दिएका चेतावनीहरूलाई अवश्य वेवास्ता गरे।

    ‘तातो पानीले कुल्ला नै गरेरै रोग ठीक हुने भए आखिर किन मास्कको झमेलामा फस्ने?’ भन्दै खाली नाकमुख नै हिँडे होला मान्छेहरू। बाहिरबाहिर ओली स्वयंले मास्क लगाउनु पर्ने विषयलाई विभिन्न ठाउँमा तोडेको देखियो र वालुवाटार दरवारभित्र भने सीसाको कक्षमा रहे। आफूँ कवचले सुरक्षित हुँदै भाषणभुषण गर्ने र भीड जम्मा गर्ने काम त अस्तिसम्म पनि गरिरहेका थिए ओली। लकडाउनको अघिल्लो दिनसम्म पनि उनी बालुवाटारबाट चितवनसम्म रामसिताको मुर्ती लावालस्करसहित नै पठाउँदै थिए।

    लोकरिझ्याइँको अर्थ हो, जेजे भनेर भएपनि जनतालाई खुसी तुल्याउने। जस्तासुकै नाटक र प्रपञ्च गरेर भएपनि जनतालाई एकोहोर्‍याउने। वास्तविक मुद्धाहरूमा भन्दा काल्पनिक मुद्धाहरूमा जनतालाई भड्काउने। नभएका गफ चुट्ने र षड्यन्त्र सिद्धान्तहरू सिर्जना गरेर, जातीय तथा धार्मिक गिजोलेर जनतालाई दिग्भ्रमित तुल्याउने। यसो गर्न सक्दा चुनाव त जितिन्छ तर वास्तविक महामारीमा लड्नका लागि ज्ञान, विवेक र विज्ञानको सहारा चाहिन्छ।

    ज्ञान, विवेक र विज्ञानवादीहरूले यतिसम्म हावा कुरा गरेर सत्ता प्राप्त गर्न सम्भव पनि छैन। यसर्थ, यो महामारीमा पपुलिस्टहरू असफल हुँदैछन्। तिनको दक्षता र कार्यक्षमताको मुकुण्डो उत्रँदैछ। तर बिडम्वना, निकम्मा र बकम्फुसे शासकहरूकै कारण लाखौँको ज्यान जाने खतरा बढ्दैछ। भगवान हुन्थे भने म तिनलाई पुकार्थेँ र दुनियाँलाई यो महामारीबाट जोगाउन आग्रह गर्थेँ। एक वर्षभन्दा बढी यो महामारी चलिरहँदा मैले त्यस्तो कुनै संकेत पाएको छैन।

    –विभिन्न एजेन्सीहरूको सहयोगमा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.