Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रदीप गिरिको बुझाइमा मार्क्सवाद

मार्क्सवादको प्रबल आकर्षणको श्रोत यसको विश्लेषण प्रणाली तथा कार्य-पद्धतिमा निहित छ। अन्तिम लक्ष्य सबैको एउटै हो- मानव कल्याण। तर, त्यस लक्ष्यमा पुग्ने बाटोका बारेमा विवाद छ ।

प्रदिप गिरि प्रदिप गिरि
भदौ १०, २०७९
- राजनीति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हरेक वाद वा विचारधाराका आफ्ना केही आधारभूत मान्यता हुन्छन्। सामान्यतः त्यस्ता आधारभूत मान्यताका  आधारमा विवादलाई  चिनिदैन । मार्क्सवादका पनि आफ्ना केही आधारभूत मान्यता छन्। ‘मनुष्यले मनुष्यको शोषण गर्नेछैन’,  ‘व्यक्तिको सर्वांगीण विकास नै गर्नेछैन मानवताको विकासको पूर्वशर्त हो’, ‘व्यक्तिले कसैका अधीनमा रहनुपर्नेछैन, वस्तुस्थितिको बन्दोवस्त समाजवादी राज्यको विशेषता हुनेछ।’ यी यस्ता अनेकौं उद्धरणहरूलाई मार्क्सवादको आधारभूत मान्यताका रूपमा जानिन्छ। यी सबै उद्धरणहरू मार्क्सवादका अभिव्यक्ति हुन्। तर, मात्र यस्ता अभिव्यक्तिका आधारमा मार्क्सवादलाई बुझ्न सकिदैन।

    यस्ता अभिव्यक्तिहरू अनेकौं आदर्शवादी चिन्तकहरूका लेखनमा पाइन्छन्। स्वयं गांधी, क्रो पार्टकिन अथवा एडम स्मिथसमेतको सोचाइमा यस्ता आदर्शवादी कथनहरूको भरमार छ। यी र अरु सबै मानवतावादी चिन्तकहरूले शोषणविहीन समाजको परिकल्पना गरेका छन्। यस समाज र संसारको पुनर्गठन गरेर मानिसलाई मात्र सुख र शान्ति दिने दिलाउने कोसिस नयाँ होइन। मार्क्सवाद पनि यस्तै कोसिसको लामो शृंखलाको एउटा कडी हो।

    तर, यति भन्नाले पुग्दैन। खास गरेर आजको संसारमा मार्क्सवाद किन यति लोकप्रिय र चुनौतीपूर्ण छ भन्ने कुरो माथिको कुराबाट प्रस्टिदैन। मार्क्सवादको प्रबल आकर्षणको श्रोत यसको विश्लेषण प्रणाली तथा कार्य-पद्धतिमा निहित छ। अन्तिम लक्ष्य सबैको एउटै हो- मानव कल्याण। तर, त्यस लक्ष्यमा पुग्ने बाटोका बारेमा विवाद छ । त्यसैले मार्क्सवादको अध्ययनलाई यसको लक्ष्यको स्पष्टीकरणले कुनै मद्दत गर्दैन। यसको विश्लेषण प्रणालीका तर्फ हामीले ध्यान पुऱ्याउनु कताकता ज्यादा जरुरी छ। फेरि मार्क्सवादको विश्लेषण प्रणाली साच्चै नै विशिष्ट छ। मार्क्सवादको विश्लेषण प्रणालीमा एउटा खास किसिमको तार्किकता छ। त्यस तर्कले पाठकलाई डोर्याएर स्वतः मार्क्सवादको अन्तिम पुऱ्याइदिन्छ। यस विश्लेषण प्रणालीमा लक्ष्य स्वयं प्रणालीमा अन्तर्मिक छ। लक्ष्य र विश्लेषण प्रणालीको अलग-अलग अस्तित्व छैन। दुवै एउटै ऐतिहासिक नियतिबाट बाँधिएका छन्। मार्क्सले पुँजीवादको विश्लेषणबारे आफ्नो कार्य थालेका छन्। यस विश्लेषणका क्रममा पुँजीवादको गति र विकासको तस्वीर प्रकट हुन थाल्छ। गति र विकासको दिशा कुनै व्यक्ति वा समूहको इच्छासँग सरोकार राख्दैन। पुँजीवाद आफ्नो स्वाभाविक विकासको बाटो हिंडेर समाजवाद साम्यवादमा पुग्दछ। यस गन्तव्यको अध्ययन गर्ने क्रममा मार्क्सले केही नियमहरूको अस्तित्व पत्तो लगाए। पुँजीवादको विकासको नियम नै पुँजीवादको जीवन र गतिको श्रोत देखियो। मार्क्सवादको विशेषता यी नियमहरूको निर्क्योल हो भन्नु एक हदसम्म ठीक हुनेछ। त्यसैले हामीले मार्क्सवादलाई बुझ्नका निमित्त यी नियमहरूलाई बुझ्नै पर्नेछ।

    ‘मनुष्यले मनुष्यको शोषण गर्नेछैन’,  ‘व्यक्तिको सर्वांगीण विकास नै गर्नेछैन मानवताको विकासको पूर्वशर्त हो’, ‘व्यक्तिले कसैका अधीनमा रहनुपर्नेछैन, वस्तुस्थितिको बन्दोवस्त समाजवादी राज्यको विशेषता हुनेछ।’

    पुँजीवादको आफ्नो अध्ययनको थालनी मार्क्सले वस्तुको परिचयबाट थालेका छन्। अझ त्यसमा पनि श्रमलाई वस्तुका रूपमा हेरेर मार्क्सको विश्लेषण थालिन्छ। मार्क्सको लेखनको सम्पूर्ण गहनता एवं व्यापकतालाई हामी यहाँ दोहोऱ्याउन अवश्य नै सक्नेछैनौं । तर, सुविधाका लागि हामी उनको भनाइसित अन्याय नगरी यथासम्भव सरलीकरण गर्दै जानेछौं। सरलीकरण गर्दा हामी श्रमिकको उत्पादनको दोहोरो चरित्रका उपर विशेषरूपले विचार गर्न तयार रहनुपर्नेछ।

    मार्क्सको विश्लेषणमा अतिरिक्त मूल्यको सिद्धान्त केन्द्रीय तत्त्व हो। एउटा कारखानामा मजदुरले श्रम गर्छ। उसको श्रमको साटो पुँजीपतिले मजदुरलाई मजदुरी दिइन्छ। उसको मजदूरी र उसले गरेको श्रमबाट उत्पादित वस्तुको मूल्य समान हुँदैन। यस असमानतामा नै अतिरिक्त मुल्य लुकेको हुन्छ। श्रमिकले आफूले गरेको उत्पादनको सम्पूर्ण प्रतिफल कहिल्यै प्राप्त गर्दैन। खासमा उनीहरूकै उत्पादनबाट पुँजीपति वा मालिकले आफ्नो नाफा आर्जन गरेको हुन्छ। पुँजीपतिले यो आर्जनलाई फेरि पुँजीमा रूपान्तर गर्दछ।

    पुँजीवादी उत्पादन प्रणालीको यो खास विशेषता हो। यहाँ अतिरिक्त मूल्य नाफा भएर अनि सञ्चित भएर फेरि पुँजी भएर पुनः अतिरिक्त मूल्य उत्पादन गर्नपुग्छ। उता, श्रमिकहरू भने विपरीत स्थितिमा पुगिरहेका हुन्छन्। पुँजीले उत्पादनलाई झन्-झन् यान्त्रीकरण गर्दै जान्छ। नयाँनयाँ मेसिनहरूको आविष्कार तथा परिष्कार हुँदै जान्छ। नयाँ मेसिनहरूले क्रमशः तर निश्चित् रूपले श्रमिकलाई विस्थापित गरिरहेको हुन्छ। यस विस्थापनाले मजदुरहरूमा गरिबी, अभाव र भोकमरीको सिर्जना गरिरहेको हुन्छ। तर, फेरि उनीहरूमा वर्गचेतना पनि वृद्धि भइरहेको हुन्छ। स्वयं पूँजीवादी उत्पादन प्रणालीले नै उनीहरूको वर्ग-चेतनाका निमित्त अनुकूल परिस्थितिको सिर्जना गरिरहेको हुन्छ। एकातिर पुँजीको केन्द्रीकरणले झन्झन् ठूला-ठूला कारखानाको निर्माण गर्दछन्। अर्कोतिर यस्ता विशाल कारखानाहरूमा कार्यरत मजदुरहरूको संख्यामा उही रूपमा वृद्धि भइरहेको हुन्छ। परिमाणात्मक मात्र होइन, मजदुरहरूमा गुणात्मक परिवर्तनसमेत देखिन्छ। विशाल कारखानाका असंख्य मजदुरहरूमा सामाजीकरण तथा एकतामा अनिवार्यरूपले बढिरहेको हुन्छ। पूँजीवाद वा पुँजीपतिले यो अनिवार्य प्रक्रियालाई रोक्न सक्दैन।

    श्रमिक वर्गको बढ्दो गरिबीले पुँजीवादी उत्पादनलाई पनि एक हद पछि प्रभावित गर्ने स्थिति उत्पन्न हुन्छ। बजारमा माल थपिदै जान्छ। उता श्रमिकहरूको शोषणमा कुनै कमी आउँदैन। श्रमिकहरूको क्रयशक्ति झन्-झन् घटिरहेको हुन्छ। जति उत्पादन हुन्छ, त्यति खपत हुन सक्दैन। उत्पादन र खपतको यो असन्तुलनले पुँजीवादका निमित्त संकटको वीजारोपण गर्दछ। प्रारम्भमा यस्ता संकट साधारण किसिमका हुन्छन्। यस्ता साधारण संकटहरूलाई पुँजीवादले पचाउन तत्काल असम्भव हुन्छ। तर, पुँजीवादको जीवनकालमा यस्ता संकट घरिघरि दोहोरिइरहन्छन्। प्रत्येक आउँदो संकट झन्-झन् भयंकर हुँदै जान्छ। पुँजीवादले यस्ता संकटहरूलाई निर्मूल गर्न सक्दैन। यस्ता संकटहरूको मूलमा अतिरिक्त मूल्य प्रभावकारी रहन्छ। त्यसैले अतिरिक्त मूल्य र यस्ता संकटहरू करिब-करिब अन्योन्याश्रित हुन् भनेर भन्न सकिन्छ। अतिरिक्त मूल्यको अभावमा पुँजीवादको जीवनको सञ्चालनसम्म हुँदैन। ठीक त्यसै कारणले पुँजीवादको जीवनकालमा कथित संकट पनि निर्मूल हुँदैन।

    पुँजीवादले आफ्नो विकासको क्रममा स्वयं आफैले आफ्नो चिहान खन्ने डफ्फाको निर्माण गर्दछ। सर्वहारा वर्गका ती असंख्य बेरोजगारहरूको समूह यस्ता डफ्फाहरू हुन्। पुँजीवाद एकातिर आफनो शक्ति दोब्बऱ्याउँछ, आफू झाँगिन्छ, लम्कन्छ र फड्किन्छ। उसको विकासको कथा साच्चै नै रोमाञ्चक र प्रभावकारी छ। तर, उसको विकास र फड्कोको प्रत्येक कदमले उसको निषेधलाई जन्म दिइरहेको हुन्छ। सर्वहारा वर्गहरू यस निषेधका मूर्तरूप हुन्। सर्वहारा वर्गको अभ्युदय कसैको इच्छा वा भावनामा निर्भर रहने कुरो होइन। यो एउटा ऐतिहासिक प्रक्रिया हो। इतिहासका नियमहरू यस स्थितिका निमित्त उत्तरदायी रहन्छन्। जुन इतिहासका नियमले पुँजीवादलाई जन्म दिन्छन्, तिनै पुँजीवादका नियमहरूले उसको काल अर्थात् सर्वहारा वर्गलाई हुर्काउँछन्। प्रारम्भमा सामान्य देखिने संकट उग्रतर हुँदै जान्छ । यस्ता संकटले सर्वहारा वर्गको राजनीतिक चेतना झन्-झन् तिक्खर बनाउँछ। आखिर पूँजीवाद र सर्वहाराका बीचमा निर्णायक संघर्षको दौर शुरु हुन्छ। त्यस निर्णायक संघर्षले पुँजीवादको जरोमा प्रहार गर्दछ।

    अतिरिक्त मूल्यको रहस्य रहँदैन। अतिरिक्त मूल्यलाई समाप्त गर्ने किसिमको व्यवस्थाको संगठनको औचित्य सबैले बुझ्दछन्। तदनुरूप उत्पादनका साधनमाथिको व्यक्तिगत स्वामित्व नष्ट हुन्छ। समाजिक स्वामित्वको नयाँ व्यवस्थाको स्थापना गरिन्छ। त्यस व्यवस्थाको पूर्वशर्तका रूपमा लुटाहा लुटिनेछन्। नयाँ सामाजिक व्यवस्थाको स्थापना गरिनेछ। त्यहाँ मानिसले मानिसको शोषण गर्नेछैन। मार्क्सको उपयुक्त विश्लेषणका दुई केन्द्रीय अवधारणा छन्। ‘यी दुई अवधारणालाई मार्क्सले उत्पादक शक्ति र उत्पादनको सम्बन्ध भन्ने गरेका छन्।

    सामान्यत: विज्ञान र प्रविधिका सहायताबाट श्रमले उत्पादन-कार्य गरेको हुन्छ। कलकारखाना, खेतीका साधन र त्यहाँ कार्यरत श्रमिकहरूलाई संयुक्तरूपमा मार्क्सले उत्पादक शक्तिको संज्ञा दिएको देखिन्छ। अर्कोतिर सामन्यतः जमिनदार-किसान, मालिक-मजदुरजस्ता सामाजिक सम्बन्धहरूलाई मार्क्सले उत्पादनको सम्बन्धको संज्ञा दिएका छन्। उत्पादनको सम्बन्ध वास्तवमा सम्पत्तिमाथिको सम्बन्ध हो। यस सम्बन्धले समाजका विभिन्न सदस्यका सम्पत्तिमाथिको सम्बन्धलाई जनाउँछ। मार्क्सका विचारमा यी सम्बन्धहरू कुनै शाश्वत अथवा अपरिवर्तनीय होइनन्। यी सम्बन्धहरूको परिवर्तनको प्रक्रियालाई बुझ्नु नै इतिहासलाई बुझ्नु हो।

    पुँजीवादका सन्दर्भमा यो परिवर्तन कसरी हुन्छ, त्यो बुझौं- पहिले उत्पादनको शक्तिमा परिवर्तन आउँछ। खासमा उत्पादनको शक्तिमा हुने सुधार र परिष्कार एउटा अनिवार्य प्रक्रिया हो। तर, उत्पादनको सम्बन्ध भने यसरी सतत् तथा स्वभाविकरूपमा परिवर्तित हुँदैन। हाम्रो समाजका स्वामीहरू उत्पादन शक्तिको सुधारको स्वागत गर्दछन्। तर, वास्तवमा उत्पादनको सम्बन्धमा सुधार नआई उत्पादन शक्तिमा एक हदभन्दा अगाडि अभिवृद्धि गराउन सकिदैन। यो एउटा अनिवार्य द्वन्द्वको स्थिति हरेक समाजमा रहन्छ। पुँजीवाद पनि यसको अपवाद छैन। आखिर उत्पादन शक्ति र उत्पादन सम्बन्धको द्वन्द्वले विशाल रूप ग्रहण गर्दछ, जुन बाह्य आवरणमा यो द्वन्द्व अटाएर बसेको हुन्छ, त्यहाँ अब यो अटाउँदैन। धर्म, सदाचार, नीति-नियम र राज्यको एकात्मक शक्ति छिन्न-भिन्न हुन्छ। मार्क्स भन्छन्- खोल फाट्छ, अन्तरनिहित द्वन्द्वको विस्फोट हुन्छ र उत्पादनका सम्बन्धको नयाँ परिभाषा आवश्यक हुन्छ। यस नयाँ परिभाषाका आधारमा नयाँ सामाजिक व्यवस्थाको निर्माण हुन्छ।

    यस नयाँ व्यवस्थाका स्वाभाविक नेताको रूपमा सर्वहारा वर्ग अगाडि आउँछन्। अब सर्वहारा वर्गको अतिरिक्त मूल्यको अपहरण गर्ने वर्ग स्वयं नाश भइसकेको हुन्छ। अबको समाजमा जसले काम गर्छ उत्पादन उसैको हुन्छ। यस स्थितिले गर्दा हिजो बारम्बार देखा परिरहने सकटहरू अब हराउँछन्। समाजमा अभूतपूर्व शान्ति र स्थिरता कायम हुन्छ। प्रत्येक व्यक्ति अफ्नो सर्वांगीण विकासका निमित्त क्रियाशील हुन सक्ने अवस्थाको सृजना हुन्छ  मार्क्सका शब्दमा ‘एउटा यस्तो समाजिक व्यवस्थाको उदय हुन्छ, जहाँ एउटाको उन्नति अर्काको अथवा सबैको उन्नतिको पूर्वशर्त हो र जहाँ समाजमा अब मानिसहरू शासक र शासितमा विभाजित हुँदैनन् । शासकको स्थान विधि र व्यवस्थाले लिनेछ।’ Where men no longer need to be governed only things are administered.

    यो मार्क्सवादको अत्यन्त संक्षिप्त रूपरेखा हो। अब यसमा पनि धेरै थपघट गर्न सकिन्छ। तर, मार्क्सवादको विस्तृत विवेचना गर्नु मेरो मूल उद्देश्य होइन। माथिका कुरामा मार्क्सवादको गन्तव्यको संकेत भयो वा भएन? मार्क्सवादलाई जस्तै विस्तारमा व्याख्या गरे पनि केही न केही अपुग रही नै रहन्छ। फेरि छिद्रान्वेषण गर्नेले कहाँ पो ठाउँ भेट्दैनन् र? तर, खासमा मेरो यस विश्लेषणले अथवा मार्क्सको ‘मार्क्सवाद’ले छिद्रान्वेषणलाई विशेष महत्त्व दिदैन।

    मानिसले स्वयं कार्ल मार्क्सका कतिपय भविष्यवाणी गलत भए भनेर रमाएको मैले देखेको छु। तर, त्यो छिद्रान्वेषण हो। मार्क्सवादको तर्कको मूलधारा बुझेका मानिसहरू त्यस्तो खण्डन-मण्डनमा फस्दैनन्। म पनि मार्क्सवादको मूलधारामा दृष्टि केन्द्रित गर्न चाहन्छु। प्रश्न छ, के मेरो माथिको प्रस्तुतीकरणले मार्क्सवादको मूलधारालाई संकेत गर्न सकेको छ? छ भने पुग्यो। अब माथिको विश्लेषणलाई हामीले केलाउनुपर्छ ।

    माथिको विश्लेषण आधारभूतरूपमा सटिक छ भने मार्क्सवाद अवश्य पनि आजको युग-सत्य हो। सानातिना विसंगति वा त्रुटिहरूका आधारमा मार्क्स र एङ्गेल्सको गल्ती देखाउन खोज्नु बेकार हो। यस्ता सानातिना भूल र त्यसको परिष्कार समयले स्वयं गर्दछ। हामीले आधारभूत मान्यताको मूल्यांकन गर्नु मात्र प्रासंगिक हुनेछ।

    साभारः प्रदीप गिरिको ‘लोहिया जीवनी र विचार’ पुस्तकबाट।

    यो पनि-

    पुँजीवादको चिरफार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रदिप गिरि

      प्रदिप गिरि

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      चक्र बहादुर पराजुलीको भूमिगत यात्रा

      चक्र बहादुर पराजुलीको भूमिगत यात्रा

      नेपाल रिडर्स
      साउन १७, २०८१

      चक्र बहादुर पराजुलीले २०३८ देखि २०४६ सम्म तत्कालीन मालेको कार्यकर्ताका रुपमा स्याङ्जा, पर्वत, म्याग्दीमा कठोर भूमिगत जीवन बिताएका थिए ।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.