Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राजालाई बिन्तिपत्र हाले पनि म राजाको मन्त्री बनिनँ

पाँचौ महाधिवेशनमा भण्डारीसँग मेरो असहमति थियो, तर समय क्रममा त्यो मेटिएको थियो र जनताको बहुदलीय जनवाद आवश्यकता हो भनेर मैले स्वीकार गरिसकेको अवस्था थियो। गुटबन्दी गर्ने, एउटाले अर्कोलाई छिर्के हान्ने लगायतका अनेक हर्कतबाट वाक्क भएर म आफैं पार्टीबाट निस्किएको हुँ।

प्रेमबहादुर सिंह प्रेमबहादुर सिंह
साउन १९, २०७८
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जतिखेर म दैलेखको हाइस्कुलमा म पढ्थेँ, त्यतिखेर मेरो एउटा कविता बनारसबाट प्रकाशित भएको थियो। त्यसबेला हामीले नेपालका विभिन्न पार्टीका नेता बनारसमा हुनुहुन्छ भन्ने सुनेका थियौँ। त्यसैले २८ सालमा एसएलसी पास गरेपछि म पनि ‘बनारस जान्छु’ भनेर घरबाट हिँडे। हुनत त्यसबेला एसएलसी पास गरेपछि कर्णालीमा जागिरको राम्रो अवसर थियो। बनारस जानुको सट्टा म बरालिएर दरभंगा पुगेर त्यतै बसेँ। त्यहाँ बसेर मैले विज्ञानमा प्रविणता पढ्न थालेँ। त्यसैक्रममा रोहितजीसँग मेरो सम्पर्क भयो। त्यसपछि पुष्पलालसँग पनि भेट भयो। पुष्पलालजी बनारसमा बस्नुहुन्थ्यो र दरभंगा आउने गर्नुहुन्थ्यो।

    त्यतिबेला कर्णालीको अवस्था

    अहिले त कर्णालीको अवस्था सुध्रेको छैन भने त्यतिखेर कर्णालीको अवस्था झनै कहालीलाग्दो थियो। त्यसबेलाको कर्णालीमा समाजिक आर्थिक अधिकारको कल्पना नै गर्न सकिँदैन थियो। समाजमा चरम गरीबी, बेरोजगारी र अशिक्षा थियो। भर्खरै मात्र गाउँमा प्राथमिक विद्यालय खुलेको अवस्था थियो। गाउँमा उच्च शिक्षाको सम्भावना नै थिएन। अहिले त्यसबेलाको तुलनामा धेरै प्रगति भएको छ। तर पनि कतिपय समस्याहरू त्यहाँ अहिले पनि विद्यमान नै छ।

    कर्णालीका गाउँमा अस्पताल र उपचारको कल्पना नै थिएन। जडीबुटी र धामीझाँक्रीमा भर पर्नुको विकल्प थिएन। अहिलेको जस्तो सरकारले सहयोग गर्ने भन्ने नै थिएन। विल्कुलै प्राकृतिक र आइसोलेटेड जीवन बाँच्थे मान्छेहरू। संसारबाट पूरै अलग्गै रहेको अवस्था थियो। आफ्नै खालको जीवन बाँच्नुको विकल्प थिएन। पछि कम्युनिष्ट पार्टीका सिद्धान्त बुझ्न थालेपछि म कम्युनिष्ट गतिविधिमा संलग्न हुन थालें। २०२९ साल भाद्र १५ गते मैले दरभंगामा नारायणमान बिजुक्छे ‘रोहित’बाटै कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ।

    रोहितजी उतिखेर पुष्पलाल समूहमै हुनुहुन्थ्यो। पुष्पलालजीसँग रोहितजीको पछि मतभेद भयो र उहाँहरू अलग–अलग हुनुभयो। ३१ सालमा हामीले नेपाल मजदुर किसान संगठन भनेर नयाँ पार्टी खोल्यौं, त्यस पार्टीको अध्यक्ष रोहितजी र म उपाध्यक्ष भएँ। ४६ सालमा दलीय व्यवस्था पुनर्स्थापना भइसकेपछि मात्रै हाम्रो संगठन पार्टीमा रुपान्तरण भयो। निर्वाचन आयोगमा दर्ता हुने क्रममा त्यो संगठन पार्टीमा परिणत भयो।

    ३१ सालमा त्यो संगठन निर्माण भएपछि ३२ सालमा म पश्चिमतिर लागेँ। मैले करिब करिब ४६/४७ सालसम्म लगातार त्यहीँ क्षेत्रमा संगठन विस्तारका लागि लागेँ। दैलेख सुर्खेत, कालिकोट, हुम्ला, जुम्ला, बझाङ, बाजुरा लगायतका क्षेत्रहरूमा व्यापक संगठन बनायौँ। त्यसक्रममा विभिन्न ठाउँमा पंचायती सरकारको धरपकड पनि भयो। जनमत संग्रहपछि हाम्रा विभिन्न साथीहरूलाई पक्रियो।

    मलाई पनि जुम्ला, डोल्पासम्म पनि पुर्याइयो। त्यसबीचमा हामीले पञ्चायतलाई उपयोग गर्ने नीति लिएका थियौँ। म चुनावै लडेर प्रधानपञ्च पनि भएको थिएँ। प्रधानपञ्च हुँदा पनि प्रहरीले बेलाबेला दुख दिन्थ्यो, धरपकड गर्ने गर्थ्यो। कर्णाली क्षेत्रमा उतिखेर अरु कम्युनिष्ट पार्टीको नामोनिसान थिएन। पछि म एमालेमा प्रवेश गरेपछि कर्णालीमा एमालेको बिजारोपण भएको हो। त्यतिखेरसम्म एमाले नाउँको कुनै कमिटी र सदस्य पनि थिएन त्यस क्षेत्रमा।

    एमालेमा म ४७ सालमा प्रवेश गरिसकेपछि ४८ सालमा कर्णालीका पाँचै जिल्लामा चुनाव लड्यौँ। राम्रो प्रतिस्पर्धामात्रै भयो। ५१ सालमा हामीले कालिकोट जित्यौं। ५६ मा त पाँच वटा जिल्लामा नै जित्यौं। एमाले पार्टी फुटेको समयमा पनि कर्णालीका पाँच जिल्लामा एक्लै जित्यौं।

    मजदुर किसान पार्टी र एमाले छोड्नुको कारण

    नेपाल मजदुर किसान पार्टीभित्र धेरै विवादहरू भएका कारण मैले पार्टी छोडेको हुँ। नेमकिपाको नीति सिद्धान्तसँग मेरो सिद्धान्त मेल नखाएपछि मैले पार्टी छाडेँ। म एमालेमा रहँदा एमाले पार्टी फुटेकै अवस्थामा पनि एमालले पाँच जिल्लामा अहिले दुईवटा पार्टी मिलेको बेलामा पनि हुम्लामा एमालेले जित्न सकेन। त्यसबेला माले फुटेर चकनाचुर भएको र माओवादीले जंगलमा युद्ध चर्काएको बेला कर्णालीका पाँच जिल्ला जित्नु सामान्य कुरा थिएन। हामीले जितेर इतिहास बनाएका थियौँ।

    म स्वतन्त्रताको पक्षपाती हो। स्वतन्त्रता मेरो सबैभन्दा ठूलो लक्ष्य हो। म कसैको अनावश्यक दबाब र दासता स्वीकार गर्ने मान्छे होइन। मेरा लागि नागरिक र वैयक्तिक स्वतन्त्रता सबैभन्दा ठूलो हो। स्वतन्त्रताको सम्मान भएन भने नागरिक नागरिककै रूपमा रहन सक्दैन। यो मूलभूत मुद्दा हिजोदेखि आजसम्म कामय छ। जहाँसम्म मैले एमाले छाडेको कुरा छ, म एमालेमा रहँदा पनि त्यसका सिद्धान्त र मान्यतासँग मेरा केही आधारभूत मतभेदहरू थिए।

    मैले एमालेमा रहँदा तीनवटा महधिवेशन सामना गरेँ। पाँचौँ, छैटौ र सातौँ। पाँचौमा मदन भण्डारीको बहुदलीय जनवादसँग म सहमत थिइनँ। त्यसबेला नीति तथा कार्यक्रम पेश गर्दा, तीन किसिमका राजनीतिक प्रतिवेदनहरू पेश भए। मदन भण्डारीको जनताको बहुदलीय जनवाद, म र मोहनचन्द्र अधिकारीको नौलो जनवाद तथा सीपी मैनालीको सुधारिएको नौलो जनवाद।

    त्यसबेलाको अवस्थामा मदन भण्डारीले अघि सारेको कार्यक्रमलाई जित्न सक्ने अवस्था नहुनु स्वभाविक थियो। हाम्रो प्रतिवेदन पारित नभएपनि हामीले हाम्रो सैद्धान्तिक फरकपन भने देखायौँ। त्यो फरकपन राखेरै हामी अगाडि बढ्यौं। जनताको बहुदलीय जनवाद अत्यन्त ठूलो बहुमतका साथ महधिवेशनबाट पारित भयो।

    आफ्नो प्रतिवेदन पास नभएपछि म केन्द्रिय कमिटीमा नजाने भएँ। त्यसपछि मोहनचन्द्रजी मकहाँ आएर मदन भण्डारीजीले मलाई केन्द्रीय कमिटीमा आउन आग्रह गरेको कुरा सुनाउनुभयो। त्यसबेला पनि मेले अस्वीकार गरेँ। त्यसपछि भण्डारी आफैं आएर मलाई भन्नुभयो, ‘महाविधेशनमा पेश भएको प्रतिवेदन सबैको छलफलपछि टुंगो लागेको हो। जहाँसम्म नेतृत्वको कुरा छ, तपाईँ कर्णालीबाट नआउने भन्ने हुनै सक्दैन।’

    उहाँले आफैं बोलाएपछि मसहित केन्द्रीय कमिटी सदस्यहरूको लिस्ट तयार गरियो। त्यो लिस्ट तयार भएको ३/४ मिनेटपछि मञ्चमा घोषणा गर्न लगियो। तर अघि तयार गरेको लिस्ट र मञ्चमा घोषणा गरिएको लिस्टबीच फरक पारियो। त्यसमा धेरैको नाम छुटेको थियो। उदाहरणका लागि प्रदीप नेपालको नाम नै आएन। मेरो नाम वैकल्पिकमा आयो। नाम घोषणा हुनेबित्तिकै ताली ठोक्न थालियो, त्यहाँ विरोध गर्ने कुरै भएन। जबकि त्यो सहमतिको लिस्ट थिएन।

    त्यस्तो अवस्थामा मैले तत्कालै प्रतिकार गरिन। प्रदिप नेपालजीले पत्रकार सम्मेलन गरेर विरोध गर्नुभयो। बाहिर हंगामा भयो। पछि उहाँलाई केन्द्रीय कमिटीलाई ल्याए। नेतृत्व चयनको दुईवटा मोडालिटी हुनुपर्छ भन्ने मेरो मान्यता थियोः एउटा मोडालिटी, जसको राजनीतिक प्रतिवेदन पास भयो, उसले आफ्नो पाँच वर्षका लागि टिम चयन गर्नुपर्छ। दोस्रो मोडालिटी, यदि चुनाव नै विकल्प हुने हो भने साँच्चै लोकतान्त्रिक हुने चुनाव हुनुपर्छ। त्यसो नगरी छलछाम गर्न पाइँदैन। भण्डारीले चुनाव हुने भए सहमतिमै गर्नुपर्छ भन्नुभयो। उहाँको अगुवाईमा लिस्ट तयार भयो। लिस्ट घोषणा गर्ने बेला त्यस्तो भयो।

    मैले त भनेँ यो पदको प्रश्न होइन, मैले त चाहेकै थिइनँ। जिम्मेवारीबाट भाग्न पनि चाहेको होइन। तर केन्द्रीय कमिटीमा आफैं बोलाएर पनि समावेश नगरिनु चाहिँ गलत भयो। भण्डारीले ‘जे भयो त्यो गलत भयो यसलाई सुधार्नु पर्छ’ भन्ने कुरा गर्नुभयो। ५० सालमा उहाँको दुर्घटनामा परेर मृत्यु भएपछि ती सबै कुरा सकिए।

    त्यसपछि छैटौँ महाधिवेशन नेपालगञ्जमा भयो। छैटौँ महाधिवशनको सम्पूर्ण तयारी गर्ने जिम्मा मेरो थियो। महाकालीको सन्दर्भलाई लिएर पार्टीमा ठूलो विवाद थियो। बामदेव लगायतको ठूलो समूह एकातिर थियो। त्यतिखेर म वामदेवहरूसँग एक्लै भिडेँ। त्यहाँ पनि महाविधेशनमा राजनीतिक प्रतिवेदन पास भइसकेपछि फेरि निर्वाचन गर्दा, दुईवटा मतपत्र थियो। एउटा, निर्वाचन आयोगको थियो भने अर्को कसलाई हाल्ने र कसलाई नहाल्ने भनेर छुट्याइएको लिस्ट थियो। त्यहाँ पनि मलाई हराइयो।

    त्यसपछि ‘ठिकै छ, ५ वर्ष साधारण सदस्य भएरै रहन्छु, अब नेतृत्वमा जान्नँ’ भन्ने ठहर गरेँ। त्यसपछि अर्को महाधिवेशनमा जे हुन्छ, म त्यहीअनुसार नेतृत्वमा जाने भनेर ढुक्क भएर बसिरहेको थिएँ। त्यसैबेला एकाएक पार्टी फुट्यो : एमाले र माले। अब एमालेले आफ्नो केन्द्रीय कमिटी बनायो र मलाई त्यस कमिटीमा ल्यायो। र, ५ वर्ष केन्द्रीय कमिटीमा जान्न भनेर बसेको भएपनि एमाले फुटिसकेपछि मैले केन्द्रीय कमिटीमा जानुको विकल्प थिएन। फुटतिर नजाने भएपछि जम्मेवारी लिनुपर्यो।

    फुटतरि जाने भए त मैले पहिले नै तयारी गरेको हुन्थे। तर गरेको थिइनँ। त्यसैले म त्यो जिम्मेवारी स्वीकार गर्न बाध्य भएँ र स्वीकार गरें। पार्टी फुटपछि कर्णाली अञ्चलमा तहसनहस भएको अवस्था थियो। सबै फुटेर उता गइसकेका थिए। त्यस्तो बीचमा पार्टीलाई फेरि पुनगर्ठित गरेर ५६ सालको चुनावमा ५ जिल्ला जिताउन सफल भएँ। पार्टी केन्द्रीय कमिटीमा बधाई दिने क्रममा पार्टी महासचिव माधवकुमार नेपालले मलाई ‘कर्णालीको इन्चार्ज नै हो यो चुनावको नायक’ भनेर मलाई फुलमाला लगाइदिनुभयो। त्यसपछि जनकपुरमा एमालेको सातौँ महाधिवेशन भयो। त्यहाँ पनि पुरानै सिलसिला दोहोरियो।

    म एमालेमा रहिनँ

    पूर्वतिरका कमरेडहरू पनि पार्टीमा चिन्तित हुनुहुन्थ्यो। मैले उतिखेर ‘महाधिवेशनलाई प्रतिकूल असर पर्नेगरी अभिव्यक्त दिन्नँ तर अब म एमालेमा अब रहिनँ’ भनेर भनेँ। म केका लागि पार्टीमा रहने ? मेरो मूल्यांकनको आधार के हो ? पार्टी फुटेको बेलामा समेत आफ्नो भेगबाट शतप्रतिशत परिणाम दिएको मान्छे हुँ। यति गर्दा पनि एमालेमा मेरो मूल्यांकन भएन भने अब एमालेमा के नै गर्न सक्थेँ र?

    म एमालेमा त रहिनँ तर महाधिवेशनकै बेला ‘अब एमालेमा रहिनँ’ भनेर प्रतिक्रिया दिइनँ। पूर्वतिरका धेरै साथीहरू पनि मेरो बारेमा चिन्तित थिए। त्यसको एक वर्षपछि पार्टीबाट राजीनामा दिए। गुटबन्दी गर्नुभन्दा बरु अलग्गै पार्टी खोल्छु भनेर लागेँ। मैले २०६१ सालमा समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल नामको पार्टी खोलेँ।

    उतिखेर कैयौंले मलाई भनेका थिए, ‘वामदेवले त्यत्रो शक्ति लिएर जाँदा त केही भएन भने तपाईँ एक्लैले के गर्न सक्नुहोला र?’ मैले उहाँहरूसँग भने, ‘म बामदेवको जस्तो गल्ति त गर्दिनँ, त्यसलाई सुधार्छु र परिणाम देखाउँछु’ भनेर लागेँ। र पार्टी निर्माणका लागि मैले एमालेको एकजना सदस्य पनि लिएको छैन। म साथीहरूलाई भन्थेँ, ‘मैले जे परिस्थितिमा एमाले पार्टी छोडेँ, त्यसलाई छोडिदिनुहोस्, तपाईँहरू चाहिँ एमालेमै बस्नुहोस्।’

    ख्याल रहोस्, म पार्टीका नीति र सिद्धान्तकाविरुद्ध गएको थिइनँ। पार्टीमा देखापरेका नेताहरूका विकृत क्रियाकलाप र आचरणसँग असन्तुष्ट भएर मैले पार्टीबाट विद्रोह गरेको हुँ। पाँचौ महाधिवेशनमा भण्डारीसँग मेरो असहमति थियो, तर समय क्रममा त्यो मेटिएको थियो र जनताको बहुदलीय जनवाद आवश्यकता हो भनेर मैले स्वीकार गरिसकेको अवस्था थियो। गुटबन्दी गर्ने, एउटाले अर्कोलाई छिर्के हान्ने लगायतका अनेक हर्कतबाट वाक्क भएर म आफैं पार्टीबाट निस्किएको हुँ।

    ६२/६३ को आन्दोलन

    लोकतन्त्रलाई ठूला भनिएका दलका नेताहरूले नै राजालाई बुझाएका हुन्। गणतन्त्रचाहिँ ज्ञानेन्द्रको कुबुद्धिले आएको हो। उनले नचाहिने काम नगरेको भए किन गणतन्त्र आउँथ्यो? उनले दलहरूलाई पूरै विश्वास गरेर अगडि बढेको भए किमार्थ पनि गणतन्त्र आउँदैनथ्यो। त्यसबेला उनको हातमा लोकतन्त्र बुझाउने त नेपाली कांग्रेस र एमाले लगायतका दलहरू नै हुन्। यी दलका नेताहरू सत्ताका लागि जे सुकै गर्न पनि पछि पर्दैनन् र आफू अनुकूलको सैद्धान्तिकरण गर्छन्। संविधानको आफूखुसी व्याख्या गर्नेजस्ता प्रवृत्तिले नेपाली राजनीतिमा समयसमयमा संकटहरू आउने गरेको छ।

    राजासँगको निकटता ?

    मलाई राजासँग निकट भनेर आरोपित गरिन्छ तर म कसरी राजासँग निकट भएँ? मलाई यो अनौठो लाग्छ कि मलाई के कारणले यसो भनियो। म राजाको मन्त्री भएँ कि? राजाको पक्षमा मैले वकालत गरेँ कि? त्यसका लागि त तथ्य चाहियो नि। किनभने एमालेले त प्रतिगमन आधा सच्चियो भनेर उहिले सरकारमै गएको हो। माधव नेपालले राजाकोमा गएर प्रधानमन्त्रीको दरखास्त नै हालेका हुन्। र, त्यतिखेर मैले पनि दरखास्त हालेको हो। पिछडिएको कर्णाली जस्तो क्षेत्रको नेतृत्व नभए देशले निकास पाउँदैन भन्ने आशयका साथ मैले दरखास्त हालेको थिएँ। यसर्थ, मलाई राजा निकट भनेर आरोपित गर्नुको कुनै अर्थ छैन। र, म अहिलेसम्म कुनै पनि प्रगतिशील आन्दोलनको विपक्षमा लागेको छैन।

    विकिपिडियामा समेत त्यस्तै भ्रमपूर्ण कुरा राखिएको रहेछ मेरो बारेमा। राजाको पक्षमा गएपछि पार्टीले निष्कासन गर्यो र राजाको मन्त्रीमण्डलमा गएको भनेर लेखेको रहेछ। म राजाको कुन मन्त्रीमण्डलमा गएको थिएँ? एमाले र कांग्रेसजस्ता पार्टीले आरोप लगाएपछि म जस्तो पार्टी र व्यक्तिले थेग्न लायक हुन्छ? इतिहासको तथ्यले बोल्नुपर्यो नि त्यो कुरा त। तथ्यमा म कतै राजाको पक्षमा गएको थिइनँ। आन्दोलनको विपक्षमा गएको थिएँ कि मन्त्रीमण्डलमा गएको थिएँ कि? अरु त सबै गएका थिए, त्यसैले म गएको भएपनि केही बिग्रिन्नथ्यो। तर म गइनँ। यो बिलकुल गलत र मिथ्या आरोप हो यो।

    कम्युनिष्ट आन्दोलनमा एकता

    अचेल त म कुनै नेताको व्यक्तिगत असल र खराब पक्षबारे भन्नै नसक्ने भइसकेँ। कस्ता व्यक्तिलाई नेता मानिएछ भनेर आत्मग्लानी हुनुपर्ने अवस्थामा म पुगेको छु। किनभने, जसले जे भने पनि म लोकतन्त्रका लागि लडेँ, जनजीविकाका लागि र राष्ट्रका लागि लडँे। आम जनता र हाम्रो बुझाइ पनि यही हो।

    हामीले इतिहासका विभिन्न कालखण्डमा कम्युनिष्ट एकताका कुरा उठाइरह्यौँ। तर सम्भव भएन। जब २०७४ मा कम्युनिष्ट कार्यगत एकताको प्रश्न उठ्यो, त्यो कार्यगत एकताको कुरा उठाउने र त्यसलाइ त्यो ठाउँमा पुर्याउनमध्येको व्यक्ति म पनि एक हुँ। मैले प्रचण्ड र केपीलाई एकै ठाउँ राखेर कम्युनिष्ट एकताको लागि आग्रह गरेँ। मैले उहाँहरूसँग एकताको कुरा गरेको थिइनँ, खाली कार्यगत एकताको कुरा गरेको थिएँ। ‘अहिलेसम्म तपाईँहरूको कार्यगत एकता राप्रपा, कांग्रेस र मधेशवादीसँगसमेत भयो भने अब कम्युनिष्टबीच पनि एकता गरेर किन नहेर्ने?’ भन्दै प्रश्न गरेँ।

    २००५ सालदेखिको नेपाली निर्वाचनको परिणाम र कम्युनिष्टहरुले पाउने मतलाई सुरक्षा गर्न नसकेको बामपन्थीको अवस्था र त्यसबेलाको स्थानीय तहको निर्वाचनमा कम्युनिष्टको अवस्था हेर्दा अब पनि कार्यगत एकता गर्न तपाईँहरुले सक्नुभएन भने नेपालमा कम्युनिष्ट सकिन्छन् भनेर मैले उहाँहरूलाई ब्रिफिङ गरें। ओली र प्रचण्ड दुवैलाई नेतालाई राखेर मैले त्यो कुरा गरेको हुँ। त्यसपछि उहाँहरूभित्र पनि कार्यगत एकताको प्रयास भयो। मेरो मात्र प्रयासले मात्र त्यो भएको होइन, मैले पनि गरे भनेको मात्र हो।

    कार्यगत एकता भएर आखिरमा परिणाम पनि सकारात्मक आयो। मैले त्यतिबेलै भनेको थिएँ, ‘पार्टी नै एकता गरेर गलत गरे।’ कम्युनिष्ट पार्टीको एकता भनेको नीति सिद्धान्त विधि पद्धति नै हो। पार्टी एकतापूर्व ठूलो सैद्धान्तिक बहस चाहिन्छ। कार्यगत एकतासम्मका लागि एमाले र माओवादीबीच आधार भएको थियो। तर पार्टीबीच एकताकै लागि भने आधार तयार भएको थिएन। तयार नहुँदानहुँदै पनि ओली र प्रचण्डको निजी स्वार्थका कारणले पार्टी एकता घोषणा गरियो। तर त्यसलाई तार्किक निष्कर्षतिर पुर्याइएन।

    कम्युनिष्ट एकता नेपालका कम्युनिष्ट पार्टीका लागि सबैभन्दा ठूलो अवसर हो। त्यस्तो अवसर विरलै पाइन्छ। त्यसमाथि केपीका लागि त झनै विरलै। एउटा व्यक्तिलाई त्यत्तिको अवसर आउनु ठूलो कुरा हो। त्यत्रो जनमत र अधिकार भएको इतिहासकै पहिलो प्रम थिए ओली। अहिलेको नेपालको संविधानले कार्यकारीलाई दिएको अधिकार र उसले प्राप्त गरेको जनमतका आधारमा ठूलो अधिकार नेकपाका नेतालाई थियो। योभन्दा ठूलो अवसर दुनियाँमा बिरलै कसैलाई आउँछ। त्यसलाई ओलीले नराम्रोसँग गुमाए।

    क्रमशः

    (नेपाल रिडर्सले कम्युनिष्ट नेता सिंहसँग गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रेमबहादुर सिंह

      प्रेमबहादुर सिंह

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.