Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आठ हजार मिटरभन्दा अग्लो आत्मविश्वास

आठ हजार मिटर माथिका आठ हिमाल चढेकी पूर्णिमाको संघर्ष र सफलताको कथा 

मेनुका बस्नेत मेनुका बस्नेत
मंसिर ११, २०८०
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २०१७मा सगरमाथा बेस क्याम्पसम्म पुग्न पूर्णिमा श्रेष्ठलाई हम्मे-हम्मे परेको थियो। फोटो पत्रकारका रुपमा काम गरिरहेकी उनी एभरेष्ट म्याराथनको फोटो खिच्न त्यहाँ गइरहेकी थिइन्। ५३५० मिटरको उचाईमा रहेको संसारकै सबैभन्दा अग्लो हिमालको बेस क्याम्प पुगेर फोटो खिच्न सक्छिन् भनेर आयोजकले नै पत्याएका थिएनन्। आयोजकले उनलाई लैजानै मानेका थिएनन्। तर, उनले गएरै छोड्ने अठोट गरिन्।

    लुक्ला विमानस्थलबाट अगाडि हिडेर जानुपथ्र्यो। पूर्णिमासँग न ट्रेकिङको अनुभव थियो, न त उचाईको। उनीसँग एउटै कुरा मात्र थियो– अठोट।

    हिड्न गाह्रो भयो। उचाईले समस्या थप्यो। तर, उनी हारिनन्। सगरमाथा आधार शिविर पुगेर फोटो खिचिन्। र, नयाँ अठोट गरिन्- सगरमाथा चढ्ने।

    आज उनले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ मध्ये आठ चुचुराका शिखरबाट संसारलाई हेरिसकेकी छन्। उनले नेपालमा भएका आठ हजार मिटर माथिका आठ हिमालमध्ये सात वटा र सगरमाथापछि संसारको सबैभन्दा अग्लो हिमाल केटु चढिसकेकी छिन्। नेपालमा रहेको चोयु भने नेपालबाट आरोहण खुला भएको छैन, तिब्बतबाट मात्रै चढ्न मिल्छ। यो हिमाल र अन्य मुलुकमा रहेका अन्य पाँच हिमाल चढेर आठ हजार मिटरमाथिका सबै हिमालका शिखरमा पाइला टेक्ने उनको लक्ष्य छ।

    आजभन्दा ६वर्ष अगाडि सगरमाथाको आधार शिविर पुग्नै संघर्ष गरेकी पूर्णिमामा एकपछि अर्को हिमाल चढ्ने रहर कसरी पलायो त ? अनि त्यो साहस उनले कसरी जुटाइन् ? सम्झिँदा उनी आफैंलाई अनौठो लाग्छ।

    २०६४ सालमा उच्च शिक्षा अध्ययनका लागि उनी गोरखाबाट काठमाडौँ आएकी थिइन्। गोरखाको सामान्य परिवारबाट काठमाडौं आएकी उनले पढाई खर्च जुटाउन ‘सेल्स गर्ल’का रुपमा काम गर्न थालिन्। ‘सेल्स गर्ल’का रुपमा काम गर्दागर्दै उनी पत्रकारितामा लागिन् र खेल पत्रकारका रुपमा काम गरिन्। उनको बाटो मोडिँदै गयो। उनले कलम छोडेर क्यामेरा समातिन् र ‘फुड एण्ड वाइन म्यागजिन’का लागि फोटोग्राफी गर्न थालिन्। यही म्यागजिनमा काम गर्दा उनलाई ‘एभरेष्ट म्याराथन’को फोटो खिच्न सगरमाथा आधार शिविर जाने मौका मिल्यो।

    तर, सानो कदकी र ट्रेकिङ्गको अनुभव नभएकी पूर्णिमालाई आयोजकले सकेसम्म नलैजान खोजे। ५ हजार मिटर माथि हिडेको अनुभव नभएकी, त्यसमाथि महिला भन्दै ‘एभरेस्ट म्याराथन’का सञ्चालकले उनलाई नलैजान खोजेका थिए। तर, उनले भने जसरी पनि सगरमाथा आधार शिविर पुगिछाड्ने अठोट गरेकी थिइन्।

    ‘मान्छेले सजिलै अरुलाई जज गर्ने रहेछन्। को भित्र कति आँट हुन्छ भन्ने कुरा कसलाई थाहा हुन्छ र ?,’ उनी जसरी पनि आधारशिविर पुग्न चाहन्थिन्। तर, त्यो यात्राले उनको बाँकी जीवनको बाटो नै बदल्छ भन्ने कुरा उनलाई पनि कहाँ थाहा थियो र ? उनी त पहिले आधार शिविर पुगेर फर्किएका अग्रज पत्रकार र साथीहरुले गरेको बयानबाट रोमाञ्चित हुँदै कल्पनामा रमाइरहेकी थिइन्। ‘सगरमाथा आधार शिविर गएर फर्केका साथीहरुले त्यसको बयान गरेको सुनेकी थिएँ,’ उनी भन्छिन्, ‘त्यही भएर मलाई जसरी पनि त्यहाँ पुग्नु थियो।’

    हिमाल चढ्नु भनेको सपना साकार पार्नु मात्रै होइन, जीवनकै जोखिम मोल्नु पनि हो। जीवन नै दाउमा राखेर मान्छे किन हिमाल चढछन् ? जवाफमा पूर्णिमा प्रतिप्रश्न गर्छिन्, ‘जोखिमका बीच सफल हुनुजति मज्जा अरु के मा आउँछ र ?’

    म्याराथन आयोजकसँग हारगुहार गरेपछि उनी आधार शिविर जाने तय भयो। काठमाडौंबाट हिड्नु भन्दा एक दिन अगाडि मात्र उनी जाने निश्चित भयो। हतारमा झोलामा चाहिने सामान कोच्दै उनी यात्राका लागि तयार भइन्। आयोजकको मनमा थियो, पूर्णिमा आधार शिविर पुग्लिन् त ? यो प्रश्न उनको आफ्नै मनमा पनि त थियो। तर, आफूलाई प्रमाणित गर्ने चुनौति लिएर उनी यात्रामा निस्किइन्। म्याराथन खिच्न भनेर गएका भिडियोग्राफर आधार शिविरसम्म पुग्नै नसकी फर्किए, तर पूर्णिमाले त्यो चुनौति पार गरिन्। उनी आधार शिविर पुगिन् र आफ्नो जिम्मेवारी पुरा गरिन्।

    र, यहीँबाट जीवनको नयाँ लक्ष्य निर्धारण गरिन्।

    पहिलोपटक ५ हजार मिटर माथिको उचाईमा पुगेकी उनले आधार शिविरबाट हिमालका चुचुरा देखिन्। ‘यो(सगरमाथा) हिमाल चढ्न पाए त हुन्थ्यो, चढ्न सक्छु नि भन्ने कुरा मनमा आयो,’ उनी सुनाउँछिन्, ‘तर, त्यतिखेर मैले कसैलाई भनिनँ।’

    हिमालको मनोरम दृश्यले उनलाई हिमालको चुचुरोसम्म पुग्ने सपना देखायो। हिम्मत जुटाइदियो र ऊर्जा भरिदियो। सगरमाथा आधार शिविर पुगेपछि उनलाई अब आफ्नो सबैभन्दा ठूलो सपना नै सगरमाथा चढ्नु हो भन्ने लाग्न थाल्यो। विदेशीहरू लाखौँ खर्च गरेर हिमाल चढ्न आइपुगेको देखेपछि उनलाई जसरी भएपनि सगरमाथा चढिछोड्ने हुटहुटीले सताउन थाल्यो। ‘त्यो सब देखेपछि मलाई म किन त्यहाँ(सगरमाथा आधार शिविर) ढिला पुगेछु जस्तो भयो,’ उनी सम्झिन्छन्।

    सगरमाथा आधार शिविरबाट फर्किँदै गर्दा उनले आफूसँगै गएका शेर्पालाई सगरमाथा चढ्ने रहर सुनाइन्। आफ्नो रहर सुनाइरहँदा पनि उनलाई ‘हिमाल चढ्ने मानिसमा हुनुपर्ने विशेषता आफूमा नभएको जस्तो लागिरहेको थियो।’

    हिमाल चढ्दा उनी चुचुरोमा पुग्ने कामना गर्छिन्। फर्किँदा जीवनको कामना। ‘हिमालबाट फर्किएर आएपछि सफल भएँ भनेर होइन, म बाँच्न पाएँ भन्ने कुराले धेरै खुशी दिन्छ,’ उनी भन्छिन्।

    हिमाल आरोहणको पृष्ठभूमि नभएकी उनलाई हिमाल चढ्ने मानिसहरू आम मानिसभन्दा बेग्लै देखिनुपर्छ भन्ने लाग्थ्यो। ‘स्टामिना’ फरक हुनुपर्छ भन्ने आम धारणाले उनको मनमा डेरा जमायो। त्यसैले सपना देखे पनि आत्मविश्वास जुटाउन भने अझै धेरै कसरत बाँकी थियो।

    सगरमाथा आधार शिविरबाट फर्के र आइसकेपछि उनले हिमाल आरोहण गराउने कम्पनी र सम्बन्धित व्यक्तिहरूलाई भेटेर सगरमाथा चढ्ने आफ्नो चाहाना सुनाइन्। सगरमाथा चढ्नुभन्दा पहिले ६ हजार मिटर उचाईको कुनै हिमाल चढ्नुपर्ने सुझाए। उनलाई शेर्पाहरुले सगरमाथा भन्दा अगाडि ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु(आठौं अग्लो) हिमाल चढ्न सुझाव दिएका थिए।

    आफ्नै गृहजिल्लाको हिमाल चढ्न सुझाव पाएपछि उनले पनि ‘हुन्छ’ भनिन्। सामान्यत: सगरमाथा आरोहण अगाडि ६ हजार मिटरका हिमाल चढेर अभ्यास गर्ने चलन छ। तर, उनी भने ८ हजार मिटर अग्लो हिमाल चढ्न जाने भइन्।

    मनास्लु चढ्ने निधो गरेपछि मात्रै उनले घरमा आमाबुवालाई आफ्नो निर्णय सुनाइन्। बुबा आमा उनको कुरा सुनेर अच्चमित भए। मान्छे हिमाल किन चढ्छ, हिमाल चढेर के हुन्छ ? कति खर्च लाग्छ ? त्यो पैसा कसले दिन्छ ? यो सबै कुरा आमाबुवालाई बुझाउन सक्ने अवस्थामा उनी थिइनन्।

    सन् २०१७ को अगष्ट महिनामा उनले मनास्लु आरोहण गरिन्। हिमाल चढ्नु भनेको सपना साकार पार्नु मात्रै होइन, जीवनकै जोखिम मोल्नु पनि हो। जीवन नै दाउमा राखेर मान्छे किन हिमाल चढछन् ? जवाफमा पूर्णिमा प्रतिप्रश्न गर्छिन्, ‘जोखिमका बीच सफल हुनुजति मज्जा अरु के मा आउँछ र ?’

    उनको मनमा सगरमाथाको शिखर चुम्ने सपना थियो। मनास्लु आरोहण यही सपना पुरा गर्ने पहिलो पाइला। पहिलो खुट्किलो। उनले यो पहिलो खुट्किलो उक्लिइन्। हिमाल चढ्नु भनेको के हो ? अनुभव गरिन्। मनास्लु आरोहणले उनलाई आत्मविश्वास दियो। साहस थप्यो।

    मनास्लु चढेर फर्किसकेपछि मानिसहरूले गरेको सम्मान र पाएको ‘साहसी’ उपमाले उनलाई सर्वोच्च शिखर सगरमाथा चढ्न थप हौसला मिल्यो। यसैपनि उनको लक्ष्य विश्वको सबैभन्दा उच्च ठाउँमा पुग्नु थियो। मनास्लुको सफल आरोहणको एक वर्षपछि अर्थात् सन् २०१८ मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिन्।

    सगरमाथा आरोहीहरु प्राय बिहान सूर्य नउदाउँदै सगरमाथको चुचुरोमा पुग्छन्। आकाशमा सूर्य देखिइसकेको हुँदैन्। तर, हिमालका चुचुरामा भने सूर्यका किरणले स्पर्श गरिसकेको हुन्छ। घामको पहिलो किरणको स्पर्शसँगै हिमालहरू टल्किन थालिसकेका हुन्छन्। हिमाल चढ्नुको सबैभन्दा आनन्दानूभुति यही हो पूर्णिमाका लागि। जब घामको पहिलो किरण संसारको सबैभन्दा अग्लो टाकुरामा पर्दै थियो, यतिबेलै उनको एउटा सपना पुरा हुँदै थियो।

    ‘Tears of Joy.’ Nepali mountaineer Purnima Shrestha on the summit of Kangchenjunga (8586 m), 05.05.2022. Video ©: Purnima Shrestha/IG. pic.twitter.com/7bTCQkt1Ta

    — Everest Today (@EverestToday) September 1, 2022

    सगरमाथाको चुचुरोतर्फ अघि बढ्दाका दृश्यहरूहरूको वर्णन गर्दै उनी भन्छिन्, ‘आठ हजार मिटर क्रस भएको हुन्छ र शिखरमा पुग्नै लागेको अवस्था हुन्छ। रातभरी हिँडिएको हुन्छ। घाम उदाउँदै गर्दाको त्यो वरिपरिको दृश्यले यस्तो इनर्जी दिन्छ कि खानेकुरा, अक्सिजन र हातखुट्टालाई बलियो बनाउने तत्व नै यही हो जस्तो लाग्छ। संघर्ष र पर्खाईपछिको सुन्दर समय हो त्यो।’

    उनी सगरमाथा चढिन्। सपना पुरा भयो। तर, उनलाई हिमालको हुटहुटीले छोडेन।

    त्यसपछि सन् २०१९ मा उनले ६,८१२ मिटर उचाईको तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमालको आरोहण गरिन्। यसपछि उनमा अरु पनि हिमाल चढ्ने रहर बढ्दै गयो।

    हिमालमा बाटो खुल्न नसकेका कारण समस्या परिरहेका बेला उनीभने पैसा कसरी तिर्ने भन्ने चिन्ताले सम्हालिन नसक्ने अवस्थामा पुगिन्। उनी भावुक हुँदै भन्छिन्, ‘अब पनि आरोहण सफल भएन भने त ऋण लिएको पैसा तिर्न सक्दिनँ भनेर आधार शिविरमै रोएँ।’

    सगरमाथा चढिसकेपछि अरु साना हिमाल किन चढेको भनेर सोध्नेलाई पूर्णिमा जवाफ दिन्छिन्, ‘सगरमाथाको आफ्नै विशेषता छ भने अरु हिमालको पनि छुट्टै कथा छ। मलाई अरु हिमाल पनि मन पर्छन्। सगरमाथापछि म आमादब्लम हिमाल चढेँ। सगरमाथा क्षेत्रकै सबैभन्दा सुन्दर हिमाल हो, आमादब्लम।’

    आमादब्लम आरोहण सकेपछि उनलाई हिमाल आरोहण गर्दिनँ भन्ने लागेको थियो। ‘तर, आधार शिविर पुगेर माथि चुचुरो तिर हेरेपछि फेरी चढ्न मनि लागिहाल्यो,’ उनी हाँस्छिन्।

    आमादब्लमबाट फर्केपछि उनले आठ हजार मिटर अग्ला १४ वटै हिमाल चढ्ने सुर कसिन्। यही योजना अन्र्तगत उनले सन् २०२० मा अन्नपूर्ण जाने योजना बनाइन्।

    तर जुन हिमाल चढ्ने योजना बनाए पनि एउटा अप्ठ्यारो प्रश्नले उनलाई पछ्याइ रहन्थ्यो, पैसा कहाँबाट जुटाउने ? हिमाल आरोहण खर्चिलो काम हो। यसका लागि पैसाको जोहो गर्नु उनका लागि सजिलो थिएन।

    हिमाल चढ्ने सोच्न थालेदेखि उनीसँग सपना बाहेक अरु केही थिएन। न अनुभव, थियो न त पैसा। अनुभव त चढेपछि लिइन्छ, तर खर्च चढ्नु अघि नै जोहो गर्नुपर्ने हुन्छ। हिमाल चढ्न न्यूनतम पनि ५ लाख रुपैयाँ खर्च लाग्छ। मनास्लु चढ्दा पनि साथीभाईसँग सापटी मागेर काम चलाएकी थिइन्। त्यस आरोहणका क्रममा उनले आरोहण कम्पनीसँगै हिमाल चढ्दा लगाउने पोशाक सहयोग मागेकी थिइन्।

    सगरमाथा आरोहणका लागि पनि उनले साथीभाई र गाउँलेसँग पैसा मागिन्। कतिसम्म भने उनी चन्दा रसिद र रजिष्टर बोकेर आफ्नो गाउँ, बजार डुलिन्। विद्यालय पुगिन्। अहिले पनि उनी विभिन्न कम्पनी, कर्पोरेट हाउसको सहयोगमा नै हिमाल चढ्न जान्छिन्।

    सगरमाथा भन्दा अन्नपूर्णा हिमाल आरोहण गर्न कठिन छ। यसलाई ‘किलर माउन्टेन’ पनि भनिन्छ। सन् २०२० अन्नपूर्ण हिमाल आरोहणका लागि तयार भएकी थिइन्। तर, कोभिडले रोकिनु पर्यो। त्यसपछि उनलाई ज–जसले सहयोग गरेका थिए ती सबैले फिर्ता लिए। ‘काटिसकेको चेक पनि फिर्ता लिए,’ उनी सुनाउँछिन्, ‘कोभिडले आक्रान्त बनाएको थियो।’

    सन् २०२१ मा फेरि उनी अन्नपूर्ण चढ्ने अपूरो योजना पूरा गर्नतर्फ लागिन्। पैसाको जोहो गर्न जति नै सकस भएपनि उनी पैसाकै कारण हिमाल चढ्नबाट पछि हटिनन्, भन्छिन्, ‘कतिसम्म भने मैले हिमाल चढ्न जाने दिनसम्म पनि पैसा खोजिरहेँ।’ अन्नपूर्ण हिमाल आरोहणका लागि उनलाई गण्डकी प्रदेश सरकारले एक लाख र अन्नपूर्ण गाउँपालिकाले ४ लाख सहयोग गरेको थियो। यसैगरी एउटा नीजी हाइड्रो पावरले समेत सहयोग गरेपछि उनीसँग ६ लाख रुपैयाँ जम्मा भयो।

    तर, यो पैसा भने उनको हात लागिसकेको थिएन्। उनी आरोहणबाट फर्केपछि मात्र उनको हातमा पैसा पर्नेवाला थियो। आरोहणभरी उनलाई यही चिन्ताले सताईरह्यो। आरोहण सफल भएन भने पैसा नपाइने पक्का थियो।

    आधारशिविरमा नेट चलेका बेला साथीहरूलाई सम्पर्क गरेर पैसाका लागि ‘फलोअप’ गरिदिन आग्रह गर्थिन्, ‘म हिमाल आरोहणमा जाँदासम्म सबैले आर्थिक सहयोग गर्छु भनेर बचन दिएका थिए तर, पैसा मेरो हातमा थिएन्।’

    हिमाल आरोहणका बेला उनलाई आफ्नो सफलता/असफलता भन्दा पनि उधारो लिएको पैसा कसरी तिर्ने भन्ने कुराले बढी सताउँथ्यो। हिमाल आरोहणमा सधैं शतप्रतिशत सफल भइन्छ भन्ने हुँदैन तर असफल भए बाचा गरिसकेको सहयोग पनि नपाइने हुन्छ। उनले भनिन्, ‘यही पिरबीच हामी आरोहणमा गयौं तर सफल नभएर बिचबाटै फर्कियौं।’

    त्यसपछि फेरी अर्को प्रयासमा उनी अन्नपूर्णाको शिखरमा पुगिन्। उनी सहित अन्नपूर्ण हिमाल त्यतिखेर ६ जना नेपाली महिलाले एकै पटक चढे। अन्नपूर्ण हिमालको टाकुरामा नेपाली महिलाले पाइला टेकेको यो पहिलोपटक हो।

    अन्नपूर्णबाट फर्किएर पोखरा पुगिन्। पोखराबाटै उनी धौलागिरी (८ हजार १ सय ६७ मिटर)को आरोहणतर्फ लागिन्। अन्नपूर्णको आरोहणपछि केही पैसा बचेको थियो। त्यही पैसाले उनी धौलागिरीतर्फ गएकी थिइन्। तर, अन्य आरोही र गाइडलाई पनि कोभिड देखिएपछि उनी फकिइन्।

    धौलागिरीबाट फर्किँदा शहरमा कोभिडको दोस्रो लहर चलिरहेको थियो। कोभिडका कारण कम्पनीहरू बन्द थिए, आर्थिक संकटले देशलाई गाँजेको थियो, यस्तो अवस्थामा प्रायोजक हुने र कसैले सहयोग गर्ने कुरै भएन। तर पनि पूर्णिमालाई हिमाल चढ्ने हुटहुटीले छोडेको थिएन। धौलागिरीबाट फर्किएको दुई महिनापछि उनीहरूको टोली फेरि धौलागिरीतिर अघि बढ्यो।

    दोस्रोपटक धौलागिरी आरोहणको क्रममा पनि उनी लगायत टिमले धेरै अवरोधहरूको सामना गर्नुपर्यो। हिमालमा बाटो खुल्न नसकेका कारण समस्या परिरहेका बेला उनीभने पैसा कसरी तिर्ने भन्ने चिन्ताले सम्हालिन नसक्ने अवस्थामा पुगिन्। उनी भावुक हुँदै भन्छिन्, ‘अब पनि आरोहण सफल भएन भने त ऋण लिएको पैसा तिर्न सक्दिनँ भनेर आधार शिविरमै रोएँ।’

    नेपाल तर्फबाट चढ्न सकिने ८ हजार मिटर माथिका सबै हिमाल आरोहण गर्ने पहिलो किर्तिमानी नेपाली महिला र अन्नपूर्ण हिमालमा पुग्ने पहिलो नेपाली महिला मध्ये एक आरोही हुन् पुर्णिमा। नेपालमा रहेका ८ हजार मिटर भन्दा अग्ला हिमालमध्ये चोयू भने चीनबाट मात्रै आरोहरण गर्न सकिन्छ। नेपालका ७ वटा र पाकिस्तानको केटू गरी उनले विश्वका ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमाल आरोहण गरिसकेकी छिन्।

    उनको चिन्ता देखेपछि तेन्जेन शेर्पा बाटो खुलाउन कस्सिए। (८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गरेका तेन्जेन शेर्पाको अक्टोबर २०२३ मा चीनको शिशापाङ हिमाल आरोहणका क्रममा मृत्यु भयो।) तेन्जेनले बाटो खुलाएपछि हौसिएकी गाईड शेर्पालाई पछाडि पारेर हिमाल चढिन्। उनी १५ दिनमा धौलागिरीको चुचुरोमा पुगिन्।

    यसपछि उनले कञ्चनजंघा(८५८६), ल्होत्से(८५१), मकालु(८४८१) हिमालको सफलतापूर्वक आरोहण गरिन्। यी तिन वटै हिमाल उनले एक महिना भित्रै आरोहण गरिसकेकी हुन्। सन् २०२२ को मे महिनाको ५ तारिखमा कञ्चनजंघा आरोहण गरिन्। १६ तारिखमा ल्होत्से र २६ तारिखमा मकालु।

    नेपाल तर्फबाट चढ्न सकिने ८ हजार मिटर माथिका सबै हिमाल आरोहण गर्ने पहिलो किर्तिमानी नेपाली महिला र अन्नपूर्ण हिमालमा पुग्ने पहिलो नेपाली महिला मध्ये एक आरोही हुन् पुर्णिमा। नेपालमा रहेका ८ हजार मिटर भन्दा अग्ला हिमालमध्ये चोयू भने चीनबाट मात्रै आरोहरण गर्न सकिन्छ। नेपालका ७ वटा र पाकिस्तानको केटू गरी उनले विश्वका ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमाल आरोहण गरिसकेकी छिन्।

    आठ हजार मिटर भन्दा माथिका आठ चुचुरा टेकिसकेकी पुर्णिमालाई हामीले सोध्यौं– शिखरमा पुगेपछि के महशुस हुन्छ ?’

    ‘हिमालको चुचुरो एउटा लक्ष्य हो। त्यहाँ पुग्दाको भावना, उत्साह र उमङ्ग शब्दमा बयान गर्न सक्दिनँ,’ उनी सुनाउँछिन्। असिम खुसी व्यक्त गर्न मानिससँग शब्द अभाव हुन्छ। अनि शब्दको काम आँखाले गर्छन्।  आँखामा छचल्किएका आँशुले व्यक्त गर्छन्।

    तर,  हिमालको चुचुरोमा पुग्नु जम्मा आधा यात्रा हो। आधा सफलता हो। ‘किनभने फेरि ओर्लिनुपर्छ,’ उनी भन्छिन्। हिमाल चढ्नुभन्दा झर्नु सकस हो। ‘झर्दा अक्सिजन लगभग सकिएको हुन्छ। शरिरको तागत पनि सबै समाप्त भइसकेको हुन्छ, त्यसैले म भन्ने गर्छुः चढ्दाखेरी सपना हुन्छ भने झर्दाखेरी जीवन।’

    हिमाल चढ्दा उनी चुचुरोमा पुग्ने कामना गर्छिन्। फर्किँदा जीवनको कामना। ‘हिमालबाट फर्किएर आएपछि सफल भएँ भनेर होइन, म बाँच्न पाएँ भन्ने कुराले धेरै खुशी दिन्छ,’ उनी भन्छिन्।

    प्रकृतिमाथि मानिसको विजयको एक श्रृखंला हो हिमाल आरोहण। तर, प्रकृतिमाथि विजय गर्न कहाँ सजिलो छ र ? बरु प्रकृतिबाट सिक्न सकिन्छ भन्ने लाग्छ पूर्णिमालाई। सगरमाथा चढ्नु अघि उनलाई ‘सगरमाथा चढिसकेपछि त म सर्वश्रेष्ठ हुन्छु, कसैलाई मान्छे गन्दिनँ होला जस्तो लाग्थ्यो।’ तर, जसै चुचुरोबाट ओर्लिन सुरु हुन्छ हिमाल वा प्रकृतिको विशालताका अगाडि मानिसको अहम समाप्त भइसक्छ।

    आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्ये उनले आरोहण गरेको पछिल्लो अर्थात् ८ औँ हिमाल होः केटू (८६११)। पाकिस्तानमा रहेको यो हिमाल चढ्न पनि कम चुनौतिपूर्ण छैन। पूर्णिमालाई लाग्छः नेपालमा जन्मिनुको सबैभन्दा ठूलो फाइदा भनेको सहजै हिमाल आरोहण गर्न पाउनु हो। केटू चढ्न जाँदा उनलाई यी अग्ला हिमालहरू आफ्नो देशमा नभएको भए यति सहजै हिमाल चढ्ने थिइनँ भन्ने लागेको थियो।

    उनी भन्छिन्, ‘के टू हिमालको आधार शिविर पुग्नू नै एउटा महाभारत हो। त्यहाँ एकदमै छिटो छिटो मौसम परिवर्तन हुन्छ। फोन लाग्दैन, हरेक चिज महङ्गो छ।’

    आठ हिमाल चढेको उनको अनुभवले भन्छ, हिमाल चढ्न सहज छैन तर महिलालाई त झनै गाह्रो। त्यो गाह्रो हिमालले होइन, मानिसहरुले बनाइदिने रहेछन्। समाजले बनाउने रहेछ।

    के टु मा केही दुर्घटना भयो या असहज भयो भने उद्धार गर्न पनि सजिलो छैन्। उनी भन्छिन्, ‘त्यहाँ केही भइहालेमा मृत्यु कुर्नुबाहेक कुनै विकल्पै छैन। केटूमा एकदम तिव्र गतिमा हावा चल्छ, अनि हावासँगै हिउँ पनि पर्छ।’ हिमाल आरोहणका क्रममा पहिलोपटक उनका हातखुट्टा काँपे के टु हिमालमा, ‘एकछिन पनि उभिन सकिदैनँ। हातखट्टा काँपे मेरा। यस्तो मौसमको सामना गर्नु भन्दा त बरु एकछिन बेहोस नै भैयोस् न भन्ने लाग्ने रहेछ।’

    अब आठ हजार मिटर अग्ला सबै हिमालको आरोहण पुरा गर्न उनले ६ वटा हिमाल चढ्न बाँकी छ। सगरमाथा, केटु, कञ्चनजंघा, मकालु, मनास्लु, ल्होत्से, धौलागिरी, अन्नपूर्णा हिमाल आरोहण गरिसकेकी उनको अब चोयु, शिशापागं, नांगा पर्वत, गाशेबु्रम १, र ब्रोड हिमालको शिखरमा पुग्ने योजना छ।

    आठ हिमाल चढेको उनको अनुभवले भन्छ, हिमाल चढ्न सहज छैन तर महिलालाई त झनै गाह्रो। त्यो गाह्रो हिमालले होइन, मानिसहरुले बनाइदिने रहेछन्। समाजले बनाउने रहेछ।

    पुरुषप्रधान समाजमा महिलाको कामलाई अझै पनि विश्वास गरिँदैन। पूर्णिमाले पनि कहिलेकाहीँ पुरुषवादी चिन्तन लत्पतिएको प्रश्नको सामना गर्नुपरेको छ। महिलाहरूले पनि हिमाल चढ्छन् र ? चढेर के पाइन्छ र ? विवाह नगरेर किन हिमाल चढ्न गएको ? जस्ता प्रश्न उनी दिनकै सामना गर्छिन्। भन्छिन्, ‘यस्तै प्रश्न पुरुषलाई सोध्दैनन्। हिमाल आरोहणका लागि मैले पैसा उठाएको कुरालाई लिएर पनि अनेक टिकाटिप्पणी गरिन्छन्।’

    आरोहणका क्रममा लामो समयसम्म घरबाहिर बस्नुपर्छ। महिनावारीका समयको दुखाई र अप्ठ्याराको सामना गर्नुपर्छ महिलाले। आरोहणमा धेरैजसो पुरुषहरूसँग काम गर्नुपर्छ, कतै  गलत नियतले हेर्छन् कि भनेर समेत चिन्ता मान्नुपर्छ महिलाले। ‘यस्तै कारणले महिलालाई हिमाल आरोहण सजिलो छैन। पुरुषलाई सजिलो छ। महिलालाई साहसिक काम गर्ने मामिलामा कसैले विश्वास गदैनन्,’ उनी भन्छिन्, ‘मरो होचो कद देखेर कतिपयले तिमिलाई त शेर्पाले बोकेर हिमाल चढाएको होला भन्छन्। तर, यही कुरा पुरुषलाई भने भन्दैनन्।’

    यो पेसालाई महिलाहरूले धेरै समयसम्म निरन्तरता दिन नसक्ने लगायतका कारणले महिलाहरूलाई धेरै ‘जज’ गर्ने गरेको पनि उनको अनुभव छ। उनी हिमाल आरोहणका मामिलामा आफूलाई महिलाका रुपमा भन्दा पनि युवाका रुपमा प्रस्तुत गर्न चाहन्छिन्।

    महिलालाई साहसिक काम गर्ने मामिलामा कसैले विश्वास गदैनन्,’ उनी भन्छिन्, ‘मरो होचो कद देखेर कतिपयले तिमिलाई त शेर्पाले बोकेर हिमाल चढाएको होला भन्छन्। तर, यही कुरा पुरुषलाई भने भन्दैनन्।’

    भन्छिन्, ‘पछिल्लो समय हामी युवाहरु सहज बाटो रोज्ने, संघर्षबाट टाढिने गर्छौ। हामी धेरै कुराको बहाना बनाउँछौं। युवा भनेको त संघर्ष गर्ने, हरेक चुनौति सामना गर्ने हुनुपर्छ। म जस्ता धेरै युवाहरु छन्, उनीहरु पनि सक्छन्, आफ्नो सपनालाई पच्छ्याउँछन। आफ्नो मन परेको काम गरे भने उनीहरुलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।’

    हिमालको चुचुरो पुगिसकेपछि व्यक्त नै गर्न नसकिने अनुभव त छँदैछ, उनले आरोहणका लागि खर्च जुटाउन गरेको दुःख सम्झिएर उनी शिखरमै भावुक पनि हुन्छिन्। अझ महिला भएकै कारण ऋण खोज्न र पाउन पनि सकस व्योहोर्नुपरेको उनको अनुभव छ। उनी आफ्नो ऋणको अंक त सुनाउँदिनन्। बरु ढुक्क भएर भन्छिन्, ‘अलि अलि बाँकी छ त्यो त तिर्छु म। ऋणले गर्दा नै तनावमा जाँदिन। समय छ, उमेर छ कमाउन सक्छु। कमाएर तिर्छु।’

    ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण नगरिसक्दासम्म आफ्नो सपना पुरा नहुने ठान्छिन उनी। उनी भन्छिन्, ‘अहिले  म ८ हजार मिटर उचाइको बाटोमा हिँडिरहेको छु।’

    उनको यो यात्रा यात्रा जहिले पनि डर र जोखिमका बीच हुने गर्छ। अबको आरोहणका लागि उनलाई कसरी पैसा उठाउने भन्ने चिन्ता छ। ‘किनभने अब मैले चढ्ने हिमाल विदेशमा छन्, विदेशमा आरोहण महङ्गो पर्छ,’ उनको चिन्ता छ।

    आफ्नै सपना, सफलता र  जीवनका भोगाईहरूलाई सम्झिँदै जाँदा पूर्णिमालाई आफैदेखि पनि अचम्म लाग्छ, भन्छिन् , ‘कहिलेकाहीँ लाग्छ हिमाल चढ्ने मेरो सपनाले मलाई धेरै नै दुःख दियो। मेरो सपना नै दुःख हो कि जस्तो पनि लाग्छ।’ यस्तो सोच आउने बित्तिकै उनी आफूलाई सम्झाउँछिन्, ‘यत्रो नाम छ। फेम छ। मेरो संघर्ष हेरेर मानिसहरु प्रोत्साहित भएका होलान्। राम्रै छ, चिन्ता नगर।’

    म ६०/७० वर्षको उमेरकी थिएँ भने यस्तो गर्न सक्थे र ? यो मेरो युवा उमेरको यो सुन्दर समय राम्रो ठाउँमा लगानी गरिरहेको छु भनेर खुशी छु।

    उनलाई आफ्नो जीवनमा सबैकुरा हिमालले दिएको जस्तो लाग्छ। पैसा नभएपनि अनुभव छ, कथा छ, सम्झना छ भन्ने कुरा सम्झिँदा उनी प्रफुल्लित हुन्छिन्। जीवनमा सधैँ खुशी र हर्षमात्रै हुन्छ भन्ने छैन। धेरैले उनको आरोहणको सफलता मात्र देख्छन्। तर, त्यो सफलताका लागि गरेको संघर्ष देख्दैनन्। त्यसैले त उनी भन्छिन्, ‘संघर्ष गर्नुहोस सफल भईन्छ। मान्छेले तपाईको संघर्ष होइन सफलता हेर्छन्।’

    यस्तै उतारचढावका बीच उनले आफूलाई ८ हजार मिटरमाथिको बाटोमा निरन्तर हिँडाइरहेकी छिन्। हिमाल चढ्ने भन्दा सुरुमा हच्किएका बाबा आमाले पनि अब बाँकी रहेका ८ हजार मिटरमाथिका ६ वटा हिमाल पनि छिट्टै चढ्नु भनेर आशिर्वाद दिन्छन्। ‘जीवनमा यो भन्दा ठूलो सफलता अरु के भयो र ?,’ उनी प्रश्न गर्छिन्।

    उनले पत्रकारितालाई अहिलेपनि निरन्तरता दिइरहेकी छिन्। कारोबार दैनिक पत्रिकामा उनी अहिले पनि फोटो पत्रकारका रुपमा काम गर्छिन्। हिमाल आरोहणका क्रममा पनि उनी आफूलाई सहज भएको समय र स्थानको मौका पारेर फोटो खिचिहाल्छीन्।

    हिमाल आरोहणका लागि जाँदा विदा बस्ने गर्छिन्। काठमाडौंमा पत्रिकाका लागि फोटो खिच्न जाँदा उनी जसको फोटो खिच्न गएकी हुन्छिन तिनै मान्छे उनीसँग फोटो खिचाउँछन्। ‘म आफू फोटो खिच्न गएको हुन्छु। मान्छेहरु मै सँग फोटो खिचाउन आउँछन्,’ उनी हाँस्छिन्।

    हिमाल आरोहणलाई उनले युवा अवस्थामा गरिरहेको एउटा लगानीका रुपमा लिएकी छिन्, भन्छिन्, ‘म ६०/७० वर्षको उमेरकी थिएँ भने यस्तो गर्न सक्थे र ? यो मेरो युवा उमेरको यो सुन्दर समय राम्रो ठाउँमा लगानी गरिरहेको छु भनेर खुशी छु।’

    तस्बिर स्रोत: पूर्णिमा श्रेष्ठ। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.