पुष ५ पछिको राजनीतिक घटनाक्रमलाई एकथरीले प्रतिगमन भने र अर्कोथरीका लागि यो धेरै अग्रगमन भयो । तर मेरो अडान छ, प्रतिगमन हुनका लागि पहिले अग्रगमन भएको हुनुपर्छ । नेपाली राजनीतिमा समाज रुपान्तरण गर्नका लागि विभिन्न समयमा भएका आन्दोलनहरूले उठाएका सवालहरू र जनतालाई देखाइएका सपनाहरू कहाँनिर सम्बोधन भए ?
कति हदसम्म मात्रै सम्बोधन भए भन्ने कुराको लामो समीक्षा र विश्लेषण नगरी हामी सिधै प्रतिगमन र अग्रगमनको व्याख्या गर्न सक्दैनौँ । यद्धपी वि. सं २००७ साल यता राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा जे जसरी लडाईंहरू भए, ती चरणहरूले देखाएका सपनाहरु पूरा गर्ने सन्दर्भमा अन्तिम लडाईंका रुपमा १० वर्षे जनयुद्ध र ०६२/६३ को जनआन्दोलनलाई लिएका छौँ ।
पटक–पटक प्रतिगमन
०६२/६३ को जनआन्दोलनले आम मानिसहरूमा देखाएको सपना र जगाएको चेतनाले प्राप्त गरेको अन्तरिम संविधानलाई नेपाली राजनीतिमा निकै ठूलो अग्रगमनका रुपमा व्याख्या गर्न सकिन्छ । यसले धेरै कुरा सम्बोधन गरेको थियो । तर जब पहिलो संविधानसभा विघटन भयो, यो नै नेपाली राजनीतिमा सबैभन्दा खतरनाक प्रतिगमन भएको मेरो आफ्नो बुझाई छ ।
त्यसपछि भएको चुनाव र संविधानसँग हामीले असहमति प्रकट गर्दै आएका छौँ । म आफैं यो संविधान अपूर्ण छ, यसलाई पुनर्लेखन गरिनुपर्छ वा संशोधन गरिनुपर्छ भनेर उठिरहेका आन्दोलनहरूको पक्षमा सधैँ सहभागी भइरहेको छु । यो संविधान जारी भइसकेपछि त्यसले व्यक्त गरेअनुसार नयाँ चुनावको कोर्ष सुरु भयो । त्यो चुनावसम्म आइपुग्दा बाम गठबन्धन सुरु भयो । त्यतिबेला पनि अर्को प्रतिगमन सुरु भयो भन्ने मेरो बुझाई थियो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा १० वर्ष जनयुद्धको कमाण्डर भएको व्यक्ति वा विम्ब कमरेड प्रचण्डले कम्युनिष्ट एकताको नाममा बाम गठबन्धन गर्दै १० वर्षदेखि उठाएका धेरै एजेण्डाहरू थाती राखेर सम्झौता गरे । उनले धेरै मुद्दाहरू छोडे । जस्तैः आदिवासी जनजातिका मुद्दा, महिलामुक्ति र दलित आन्दोलनका मुद्दाहरूमाथि उनले सम्झौता गर्दै केपी ओली जस्तो व्यक्ति जसले कहिल्यै १० वर्षे जनयुद्ध र ०६२/६३ को आन्दोलनलाई सकारेनन्, त्यस्ता व्यक्तिसँग गठबन्धन गरे । सबैभन्दा खतरनाक प्रतिगमन प्रचण्डबाट त्यहाँ भएको थियो।
किनभने आफ्नो एजेण्डालाई छोडेर त्यस्तो व्यक्तिसँग सम्झौता गर्नु नै खतरनाक प्रतिगमनका लागि सहयोग हो । किन पनि यसो भनिंदैछ भने त्यो गठबन्धनको चुनावमा भावी प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई सारिएको थियो । त्यो गठबन्धनलाई आम जनताले झण्डै दुईतिहाई मतसहित अनुमोदन गरिदिए ।
केपी ओली, जो हिजोको जनयुद्ध र ०६२/६३ को जनआन्दोलनको विरोधी थिए, त्यसमाथि गणतन्त्रको त नामै सुन्न मान्दैनथिए । त्यस्तो व्यक्तिलाई सर्वाधिकार सम्पन्न बनाइसकेपछि कुनैपनि बेला यस्ता कदमहरू हुनु स्वभाविक थियो । त्यत्रो लामो त्याग र राजनीति गरेर आएका राजनीतिक नेताहरुले त्यो अनुमान गर्न सक्नुपथ्र्यो । त्यो कुरा मस्तिष्कमा राखेर उनलाई सधैं कसिलो बनाउनुपथ्र्यो । त्यो गर्न सकेनन् । सायद बढी विश्वास गरियो ।
अर्को कुरा, संविधान जारी भइसकेपछि राजनीतिक रुपमा एउटा मिठो नारा आयो, ‘अब समद्धि र विकास हुन्छ, त्यहाँभन्दा अरु मुद्दा छैनन् ।’ स्वभाविक रुपमा त्यसले प्रभाव पा¥यो । सरकार विकासमा जान्छ र देश समिृद्धितर्फ अघि बढ्छ भने किन विरोध गर्नु भन्ने प्रश्न जनतामा आयो । मेरा पनि पहिचानका मुद्दा थाती थिए, एकदम सानो स्वरमा थियो । मुलुक अघि बढ्छ भने किन सधैं प्रश्नमात्रै गरिरहने भनेर ती कुराहरूलाई थाती राखेँ । मुलुकले विकासको गति लिन्छ र समृद्धितिर जान्छ भने हामीले कठोरतापूर्वक प्रश्न गरिरहनुपनि हामीभित्रको प्रतिगमन हो ।
“नैतिक” शिक्षाः शासकको शुत्र
हामीले थुप्रै क्रान्तिका कुरा गर्यौँ । जनताको तहसम्म गएर परिवर्तनका लागि धेरै एजेण्डाहरू पनि सुनायौँ । प्रशिक्षित पनि गर्यौँ । एउटा तहसम्म हामीले ठूलो प्रशिक्षण गरेर ल्यायौँ । तर जब हामी कार्यान्वयन गर्ने ठाउँमा पुग्यौँ, हामीले हिजो प्रशिक्षण गरेका विषयहरू नै बिर्सियौँ । हामी आफैं पनि प्रतिगमनकारी भयौँ, त्यसैले त त्यस्ता व्यक्तिहरूलाई सहज भयो ।
एउटा समान्य उदाहरण : नेपालको कम्युनिष्ट आन्दोलनले ६ सालदेखि नै वर्ग संघर्षलाई अगाडि ल्याएर जात व्यवस्थाविरुद्ध लड्न थालेको हो । तर जब हामी कार्यान्वयन गर्नतिर लाग्छौँ, तब जात व्यवस्थाकै मतियार भएर बस्छौँ । जात व्यवस्थाले निर्माण गरेको सौन्दर्य लाई हामीले बिर्सनै सकेनौँ । कम्युनिष्ट पार्टीबाट बनेका सबै प्रधानमन्त्रीहरूले बोलेको क्लिप खोजेर हेर्नुभए हुन्छ । उनीहरूले कहीँ न कहीँ बोलेका छन् ‘अबको हाम्रो अर्जुनदृष्टि भनेको …’ भनेर । त्यो ‘अर्जुनदृष्टि’ भन्ने विम्ब जात व्यवस्था हो ।
जनयुद्ध लडुन्जेल कठोरतापूर्वक रुपमा धर्मको विपक्षमा उभिएका जनयुद्धका ठूल्ठूला नेताहरू नै बिहान बेलुका चण्डी पाठ गर्ने र घण्टी बजाएर पूजा गर्ने गर्छन् । म उनीहरूको नाम लिन्नँ तर म आफैं पनि उनीहरूको नजिक भएर साक्षात्कार हुने अवसर पाएको छु । एकपटक बेलायतमा भेट भएका बेला यही विषयलाई लिएर मैले तिनैमध्येका एक नेतालाई झपारेको छु । त्यस्तो खालको ‘सेटेड माइन्ड’ हामीसँग छ ।
अहिले एउटा प्रश्न मज्जाले उठेको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो राईहरुको खुवालुङ (राइहरूले आस्थाको रुपमा मान्ने विशेष प्रकारको ढुंगा) फोड्ने कुरा बताएपछि राई समुदायमा बहस चलिरहेको छ । त्यो ढुंगाले जेट चलाउन नदिएको भन्दै त्यसलाई फुटाउनुपर्छ भनेर प्रधानमन्त्रीको अभिव्यक्ति आएपछि विवाद भइरहेको छ । यस्तै बहसमा एकजना साथीले यो जातीय संस्थाहरू ध्वस्त गर्नुपर्छ भनेर कसैलाई केन्द्रित गरेका छन् । जातीय संस्था चाहिँ मानौँ आदिवासी, जनजाति र दलितसँगमात्रै छ भन्ने बुझाईबाट उनले यो कुरा गरेका छन् । मैले उनलाई संकेतको रुपमा मात्रै जवाफ दिएको छु ‘ठिक छ जातीय संस्थाहरू ध्वस्त गरिनुपर्छ । तर जातीय संस्थाहरू कहिलेदेखि कुन उद्देश्यका साथ निर्माण भए भन्नेपनि ख्याल गर्नुपर्छ, समीक्षा गर्नुपर्छ ।’
नेपालमा सबैभन्दा पहिलो जातीय संस्था आर्य समाज हो । आर्य समाज निर्माण भएको थुप्रै वर्ष भयो । मन्दिरहरू बने र मन्दिरका नाममा संस्थाहरू बने । धार्मिक संस्थाहरू बन्दा भयो, अनि दलितहरूले ‘हामी आफ्नो मुक्तिका लागि संगठित हुन संगठन बनाउँछौँ’ भन्दा त्यो चाहिँ जातीय हुने ? अथवा जनजातिले आफ्नो समुदायको लागि संगठन बनाउँदा त्यो जातीय हुन्छ ?
साच्चै भन्ने हो भने तपाई हामी त विद्यार्थी जीवनमै पनि नैतिक शिक्षाका साथसाथै राजनीतिक पर्चा पम्प्लेटहरू पढ्दै आयौँ । त्यसबाट राजनीतिक र समाजिक विषयहरू पनि पढ्नुपर्ने रहेछ भन्ने लाग्यो । सबैले त्यसरी पढेनन् । त्यसरी प्रशिक्षित गराइएन । संगठित पनि गराइएन । उनीहरूले नैतिक शिक्षामात्रै पढे । दक्षिण एशियामा नैतिक शिक्षा यहाँको हिन्दु धर्मको आधारमा आर्य सभ्यता पढाउनका लागि पढाइन्छ । प्राथमिक तहदेखि विश्वविद्यालयसम्म अहिले पनि नैतिक शिक्षाका नाममा धार्मिक शिक्षा पढाइएको छ र त्यसरी माइन्ड सेट गराइएको छ । यो जो सुकैलाई पनि सेट हुन्छ ।
कतिसम्म पढाइएको छ भने लेखनाथ पौडेलको दुईलाइन कविता यहाँ उल्लेख गर्छु ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ सुन्दा कति मिठो लाग्छ । त्यसलाई शासकले शुत्र बनायो र भन्योः तिमी त उपकारी हौँ, गुणी हौँ, तिमी त फलेको वृक्ष हो तिमी त नुहिनुपर्छ । समाजमा यस्ता किसिमका एस्थेटिक बनाइदिएर हामीलाई जगल्टिदिएको छ ।
पहिचानको आन्दोलन
म आफैंले गरेको पहिचानको आन्दोलनलाई सिधै ‘जातिवादी’ भनियो । पहिचानको आन्दोलन भनेको व्यक्तिको मौलिक हकको पनि अधिकार हो । हामीले पहिचानको आन्दोलनको जरा खोजेनौँ । हिजोको दिनमा ब्ल्याक दासहरू, जसमा पनि महिलाहरूको श्रमको मूल्य एकदमै कम हुथ्यो । त्यसविरुद्ध महिलाहरूले संगठित आवाज उठाए । आफूमाथि भएको विभेदविरुद्ध आवाज उठाइसकेपछि तिनै ब्ल्याक महिलाहरूले उठाएको आन्दोलन पहिचानको रुपमा विकास भएको आन्दोलन हो ।
पहिचानको आन्दोलन भनेको व्यक्तिको मौलिक हक र श्रमसँगको अधिकारको आन्दोलन हो । यो सम्प्रादाय, धार्मिक र जातिसँग जाँदै नजाउ । मौलिक हकसँग उसको भाषा पनि छ । के नेपालमा त्यो छ त ? म वान्तवाभाषी हो । म वान्तवा भाषामा यो मुलुकको विश्वविद्यालयबाट पीएचडी गर्न चाहन्छु भने मेरो लागि त्यस्तो कुनै ठाउँ छ ? छैन । त्यसकारण मेरो मौलिक हक कहाँ सुरक्षित गरिएको छ । भनेपछि हामीले मौलिक हकको कुनै ग्यारेन्टी गरेका छैनौँ । त्यसकारण पनि पुष ५ मा प्रतिगमन भएको हो ।
हिजो परिवर्तनका आन्दोलनहरू जसरी लड्दै आयौँ, ती लडाईबाट हामीले प्राप्त गर्ने कुरामा पनि धेरै सम्झौता गर्दै आयौँ । यहाँसम्म आइपुगिसकेपछि सम्झौता नै गर्नुपर्ने रहेछ भनेर सम्झौता गर्दागर्दै हामीले केपी ओली जस्ता मान्छेलाई जिम्मा दियौँ । उसले गर्ने नै त्यहीँ थियो । उसले आफ्नो असली चरित्र देखाएको हो ।
प्रशिक्षणको कमी
केपी ओली जनयुद्ध, ०६२/६३ को जनआन्दोलन र गणतन्त्रको विपक्षमा थिए । उनले अनेक तिकडम गरेर पुष ५ को घटना घटाए । यो घटना घटाएपछि केपी ओलीले गलत गरेको भन्ने सबैलाई छ । त्यो घटनालगत्तै आगो बल्नुपर्ने हो । तर त्यस्तो आन्दोलन किन उठ्न सकेन ? किनकी अब अविश्वासहरू छन् ।
नेताहरूले हिजो पनि सम्झौता गरेर धोका दिएकै हुन् । यतिमै चित्त बुझाउनेपर्ने हो भने अब के का लागि उठ्ने भन्ने मानसिकता आम जनमानसमा छ । जस्तैः थरुहट आन्दोलन भयो, थारुहरूले ठूलो आन्दोलन गरे । त्यसबाट राज्यपक्ष र आन्दोलनकारी दुवैतर्फ क्षति पनि भयो । तर अहिले थारु समुदायमा गएर आन्दोलनको कुरा गर्नुभयो भने उनीहरू आन्दोलनको ‘अ’ पनि सुन्न मान्दैनन् । किनभने मनोवैज्ञानिक रुपमै उनीहरूलाई प्रताडित गरियो ।
यी सबै कुरा केपी ओलीले बुझेका थिए । उनले बुझेका थिए कि न आदिवासी आफ्नाविरुद्ध उत्रिनेवाला छन्, न थारुहरू उठ्ने छन्, न पहाडका जनजाति, न मधेशीहरू । मेरो प्रश्न छ ‘कति वर्ष भयो पार्टीले प्रशिक्षण नचलाएको ?’ हामीले थाह पाउँदा हामी महिनामा दुई तीनचोटी प्रशिक्षणमा सहभागी हुन्थ्यौँ । म पनि माध्यमिक तहमा पढ्दा अखिलको कार्यकर्ता थिएँ । पाँच÷सात वर्ष भयो कहीँपनि प्रशिक्षण गरिएको छैन । पार्टीको संगठन विस्तार गाउँको ठेकेदारले गरिरहेको छ । जोसँग स्काभेटर छ, जो डोजरको मालिक छ । उ जता – जता लाग्छ, मान्छेहरू त्यतै त्यतै जान्छन् ।
पार्टीले सैद्धान्तिक प्रशिक्षण चलाएको खोई ? कांग्रेस त हिजो पनि चलाउदैन थियो । कम्युनिष्टहरूले पनि छोडे । जसले प्रशिक्षणबाट सैद्धान्तिकरण गर्दै अघि बढाउँथे । यसको फाइदा केपी ओली प्रवृत्तिलाई भयो । म दुईचार वर्ष अघिदेखि भनिरहेको छु, इमोसनल मास एउटा कुरा हो र सैद्धान्तिक मास अर्को कुरा । इमोसनल मासको आन्दोलन कुनैपनि बेला उठ्छ र कुनैपनि बेला सेलाउँछ । तर सैद्धान्तिक आन्दोलन कहिले सेलाउँदैन ।
इमोसनल आन्दोलनमा हामीले बढी विश्वास गर्ने हुँदा हाम्रो सैद्धान्तिक प्रशिक्षणहरू समेत निकम्मा सावित भइरहेका छन् । नत्र यो देशका सबै दलितहरूकहाँ गएर सोध्नुस् । दलित मुक्तिका लागि नेतृत्व गर्ने को हो भनेर सोध्दा आम दलितले भन्ने छ, कम्युनिष्टहरू हो । तर तिनै दलितहरूसँग अहिले कम्युनिष्ट किन टाढा भएको ? अथवा तिनै कम्युनिष्टहरूसँग दलितहरूले किन शंका गर्नुपर्ने भयो ? आदिवासी जनजातिहरू जो सामाजिक – आर्थिक रुपमा सिमान्तकृत अवस्थामा छन्, उनीहरूलाई प्रशिक्षित गरेर ‘यो मुलुक तिमीहरूको पनि हो, तिमीहरूले पनि पाउँछौँ’ भनियो भने त उनीहरू त हिजैदेखि कम्युनिष्टहरू नै हुन् । तर आज तिनै कम्युनिष्टहरूलाई ती सिमान्तकृत समुदायले किन शंका गर्नुपर्ने ? प्रशिक्षण पुगेन ।
त्यहाँनिर साच्चिकै हिजो हाम्रो सैद्धान्तिक ठाउँबाट चुकेर हामी अलिकति बहकियौँ । हाम्रो नेतृत्व बहकियो । हाम्रा बुद्धिजिवीहरू बहकिए । बुद्धिजिवीहरूले प्रशिक्षण गरेनन् । हाम्रा हरेक पार्टीहरूको स्कुल विभाग नै सक्रिय छैन । नेपाली समाजको बनोट र संरचना अनुसारको एस्थेटिक निर्माण गर्नेगरी कुनैपनि बुद्धिजिवीहरूले पार्टीमा बहस नै गरेका छैनन् ।
किँराती समुदायमा केही ‘कम्युन’ परम्परा छन् । भाइ बाँध्ने र साङचेप परम्परा छन् । भाइ बाँध्ने परम्परा भनेको जस्तै १० घर राईहरूको बस्ती छ, त्यहाँ एक घर अर्को कुनै गाउँबाट कुनैपनि जातिको मान्छे आयो । उसले म तपाईहरूसँग भाइ जस्तै बन्छु भन्यो भने त्यो १० घर मिलेर उसलाई भाइ मानेर राख्छन् । उसलाई पनि त्यति नै अधिकार दिइन्छ र भाइसरह मानिन्छ । अहिले त अरु अरु परम्परा छिरिसक्यो ।
अर्को साङचेप परम्परा । ‘साङ’ भनेको ‘को’ र ‘चेप’ भनेको ‘बोल्ने’ । जस्तैः मेरो घरमा मरण भयो वा अरु कुनै कार्जे गर्नुपर्ने भयो भने आर्थिक रुपमा म एक्लैलाई गाह्रो हुन्छ । अनि अरुले कसले कति सहयोग गर्न सक्छन् त्यति गर्नुपर्ने अनिवार्य परम्परा छ । त्यसलाई साङचेप परम्परा भनिन्छ ।
यो ‘कम्युन’ परम्परा हिजोदेखि किँराती समुदायमा सधैं थियो । त्यसलाई हामीले व्याख्या गरेर हाम्रा विद्यालय र विश्वविद्यालयमा पढाउन सक्थ्यौँ । त्यसबाट प्रेरणा मिल्थ्यो । तर हामीले हिजोदेखि निरन्तर धार्मिक परम्परा मात्रै पढायौँ । हाम्रा विविध जातिहरूका संस्कृति, मूल्य र मान्यताहरूसँग भएका राम्रा पक्षहरू छोडेर जडताहरू मात्रै पढाउनतिर लाग्यौँ । जडताको जसले पनि विरोध गर्नुपर्छ । आफैंलाई अल्झाउने चिजलाई जसले पनि फाल्नुपर्छ ।
‘आफूभित्रको प्रगतिशीलतालाई चिनौँ’
कल्चरल क्रिटिक्स भन्ने निबन्धमा प्रत्येक मानिसमा सांस्कृतिक विशिष्टता हुन्छ भनेर उल्लेख गरिएको छ । मेरै संस्कृति राम्रो भन्ने मान्यता । त्यो विशिष्टतावादी भ्रमले अधिनायकवाद जन्मिन्छ । त्यस्ता व्यक्तिहरूमा ‘हाम्रा जति सबै राम्रा’ भन्ने भ्रम हुन्छ । क्रिटिक्स ग¥यो भने हाम्रा पनि नराम्रा छन् भन्ने हुन्छ । राम्रा र प्रगतिशील संस्कृतिलाई सँगै लैजानुपर्छ । त्यस एंगलबाट हाम्रा ठाउँमा कहिले पनि बहस हुँदैन । बरु हामीले हतारो ग-यौँ ।
जस्तै राउटेहरूको उदाहरण लिनुपर्दा : राउटेहरू जंगलको रुख काटेर भाँडा बनाउँछन्, त्यो भाँडा बेचेर आर्जन गर्छन् । त्यस्तै भाँडा बनाएर बचेको काठ बेचेर पनि उनीहरू जीविका गर्छन् । राउटेहरूले आफ्नो रुख काट्ने अधिकार मागेका हुन् । तर राज्यले सामुदायिक वन बनाइदियो । सामुदायिक वनको नाममा त्यहाँ अर्कै मान्छेलाई अध्यक्ष बनाइदियो, दलाललाई लगेर अध्यक्ष बनाइयो र रुख काट्न दिइएन । रुख काट्नका लागि उसलाई मनपरेको दिन मात्रै खोलियो । अनि मनपरी ढंगले रुख काटियो । ठूला रुखहरू काटिए र साना रुखहरू मात्रै राखियो । त्यसो गर्दा न जंगलको सौन्दर्य रह्यो, न त्यसबाट हामीले उपलब्धि लिन सक्यौँ ।
राउटेले आजसम्म आर्जन गरेको ज्ञानलाई आधुनिकीकरण गर्नु हाम्रो कर्तव्य हो । तर उसलाई आधुनिक हुन लगाएर ५ हजार रुपैयाँ भेटी दिएर र माग्ने बनाएर हुँदैन । उसलाई बरु यसो गर्दा तिम्रो काठलाई अन्तराष्ट्रियकरण र ब्राण्डिङ गर्न सक्छौँ भनेर राम्रा औजारहरू दिनुपर्ने हो । त्यतातिर हामी गएनौँ । जंगलै तार लगाइदिनेतिर लाग्यौँ । घुँगी टिप्न चेपाङ, मगर र थारुहरूलाई सिकाइरहनुपर्छ ? तर उनीहरूलाई घुँगी टिपेबावत् पक्राउ गरिन्छ । उसले आफ्ना चाडमा कतिले आफूलाई पुग्छ, कति बेच्नुपर्छ र कति बेचेर त्यस्को नुनतेल खानुपर्छ भन्ने कुरा निर्धारण गरिसकेको हुन्छ । तर राज्य यस्तो भएको छ कि घुँगी टिप्यो भनेर उसलाई पक्राउ गरी थुनिदिन्छ । एकपटक एउटा चेपाङको छोरालाई सेनाले लगेर कुटेरै मारे ।
प्रतिगमन के हो भने हामीले हाम्रो जाति समुदायभित्रको प्रगतिशीलतालाई चिन्न सकेनौँ। सबैभन्दा पहिले प्रगतिशीलतालाई चिन्ने र त्यसको संरक्षण गर्नुपर्ने हो । यो कुराले तिमीलाई पनि अगाडि बढ्न दिँदैन र हामीलाई पनि अघि बढ्न दिँदैन भनेर प्रष्टसँग भनिदिनै पर्छ । तर त्यसको नाममा उनीहरूको आस्थामाथि ठेस पुग्ने काम गर्नु हुँदैन । त्यसलाई कन्भिन्स गरेर लानुपर्छ । त्यसरी लानेतिर हामी बुद्धिजिवीपनि गएनौँ । एकदम आवेगको भरमा छिटो प्रतिक्रिया दिने र द्धन्द्धको वातावरण सिर्जना गर्नेतिर हामी बढी केन्द्रित भइरहेका छौँ । हिजोदेखि पढाइएको एकल धार्मिक एस्थेटिकको शिक्षाका कारण हामी अझैपनि जडताभित्र छौँ । त्यही जडताहरूले केपी ओली जस्तो प्रवृत्तिहरूलाई सधैँ नेता बनाइरहन्छ ।
‘अब नयाँ स्कुलिङ सुरु गर्नुपर्छ’
अब ओली प्रवृत्तिलाई घुँडा टेकाउन सकियो भने मात्रै फेरि आउने नेताहरूलाई सबक हुन्छ । नजिर बनिरहन्छ कि यो प्रवृत्ति साथ राखियो भने कुनैपनि बेला खेदिनुपर्ने रहेछ । नेतृत्वले आत्मसमीक्षा पनि गर्नुपर्छ । समीक्षा गरेर आफूबाट भएका गल्ति कमजोरीहरूलाई स्वीकार गरेर भन्नुपर्छ र जनतालाई शक्तिमा ल्याउनुपर्छ । ओली त्यत्रा ठूला अधिनायकवादी हुन् जस्तो मलाई लाग्दैन । किनकी म उनलाई त्यस्तो ठूलो नेता मान्दिनँ । तर पनि एउटा प्रवृत्तिको ठूलो डिजाइनले बनेका व्यक्ति हुन् । उनी व्यक्तिगत रुपमा केही पनि होइनन् ।
त्यो परम्परागत डिजाइनविरुद्ध लड्नका लागि आम एकता चाहिन्छ । त्यसका लागि आदिवासी, जनजाति, दलित, मधेशी, महिलाहरूसँग गर्नुपर्ने अपिल छ । हिजो हामी यहाँ चुक्यौँ, यी अप्ठ्याराहरूको कारणले हामीले सम्झौता ग¥यौँ र हाम्रा कतिपय बटमलाइनहरू छोडेर तल झर्यौँ भनेर हामीले इमानदारिताका साथ भन्नुपर्छ ।
अपिल गरेर कम्तिमा केपी ओली जस्ता शासकलाई यो सत्ताबाट बाहिर पठाएपछि मात्रै अरु नेतालाई पनि ओलीलाई जस्तै आफूलाई पनि हुन्छ भन्ने लाग्छ । त्यसका लागि पनि हामी एकिकृत हुनुपर्छ र लामो समयदेखि जकडिएको मनोविज्ञानलाई हटाउन नयाँ स्कुलिङ सुरु गर्नुपर्छ । नयाँ किसिमले हाम्रा पाठ्यक्रम निर्माण गर्नतिर लाग्नुपर्छ । यो हरेक पार्टीमा लागु हुनुपर्छ । कम्तिमा हाम्रो प्राथमिक तहदेखि विश्वविद्यालयसम्म पढाउनपर्यो । अहिलेसम्म कतिचोटी पाठ्यक्रम परिवर्तन भए ? परिवर्तन हुँदा के के भए हामीपनि हेरौँ ।
स्रष्टा आन्दोलनलाई हामीले निरन्तर रुपमा अग्रगमनको आन्दोलन भनेका छौँ । यो सबैखाले प्रतिगमनविरुद्ध निरन्तर अग्रगमनको आन्दोलन हो । संसद पुनस्र्थापनापछि केपी ओली बाहिरिएर कोही त चुप बस्लान् । तर हामी हाम्रा एस्थेटिकहरू नयाँ किसिमले निर्माण गर्नतिर लाग्नुपर्छ । पुष ५ मा मुलुक फर्किएपनि हाम्रो आन्दोलन रोकिँदैन । स्रष्टा आन्दोलनले खबरदारी गरिरहनुपर्छ । यो स्पष्ट छ ।
मुलुकको पछिल्लो संविधानमा भएको सबैभन्दा ठूलो सुन्दर कुरा भनेको ‘समाजवाद उन्मुख राष्ट्र हुनेछ’ भन्ने वाक्य हो । समाजवाद उन्मुख यो मुलुक हुने छ भने समाजवाद प्राप्त गर्नका लागि निम्नतम सर्तहरू के के हुन् प्रष्टसँग भनिनुपर्छ । त्यसमा भ्रम छरिदिनु हुँदैन ।
हामी त भन्छौँ, बनाउँछौँ । समाजवादको सबैभन्दा पहिलो सर्त मौलिक हक हो । मौलिक हकभित्र शिक्षा र स्वास्थ्य पर्छन् । त्यसो हो भने समाजवाद उन्मुख राष्ट्रहरूमा किन दलालहरूले स्कुल र हस्पिटल चलाउँछन् ? समाजवाद उन्मुख मुलुक हो भने त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ । अनि जनतालाई अपनत्व महशुस गराउनुपर्छ । यो निम्नतम सर्त हो ।
स्वभाविक रुपममा हामीले धेरै कुराहरू सिक्यौँ । हामीलाई १० वर्षे जनयुद्ध र ०६२/६३ को जनआन्दोलनले निकै ठूलो सपना देखायो । हो, स्वभाविक रुपमा हामीले राजसंस्थालाई फाल्यौँ । त्यसमा मात्रै पूर्णता थिएन । थुप्रै स साना जडताहरू थिए । यत्रो वर्ष बितीसक्दा तिनलाई हामीले केलाउनुपथ्र्यो । तर हामी कसैले पनि गरेनौँ । अब हामी सधैं होसियार भइएन भने प्रतिगमन फेरि फर्केर आउँछ । कोही न कोही त घुमेर आउने रछ भन्ने थाह भयो । त्यसकारण हामी भन्दैछौँ ‘ओलीलाई धन्यवाद ।’ उनको कदमले कम्तिमा सचेत हुन सिकायो । नभए मुलुक समृद्धिको नाममा जेट र रेलमा अल्झिरहन्छ ।
भिडियो-
(लेखक/विश्लेषक मुकारुङसँग नेपाल रिडर्सका लागि प्रकाश अजात र गौतम राइले गरेको कुराकानीमा आधारित ।)