Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
Sunday, August 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बर्माबाट बम बारुद छल्दै सहाना प्रधानको नेपाल आगमन

जहाजको इञ्जिनमाथिको छानामा जान प्रयत्न गर्नुभयो। त्यहाँ इन्जिन तताउन आगो बालेको थियो। मेरा बाले त्यो देखेर रोक्नुभयो। कैयौं जनाले कता जाऊँ, कता जाऊँ, के गर्ने कसो गर्ने भएर पानीमा हामफाले। घण्टाभरसम्म कोलाहल भयो। भागदौड भयो। घण्टाभरपछि अलिकति साम्य भयो। जहाज चढ्न नजीक बसेका मानिसहरू सबै सोत्तर भए।

nepal_readers nepal_readers
कार्तिक १०, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हजुरआमा र बासहित बर्मामा रहेकी कम्युनिष्ट नेता सहाना प्रधान दोस्रो विश्वयुद्धको समयमा त्यहाँ बमबारी भएपछि बाल्यवस्थामै परिवारसहित नेपाल फर्किनुभएको थियो। कहिले जहाज,कहिले बस, त कहिले महिनौंसम्म हिंडेर नेपालसम्म आइपुग्दाको यात्रा संस्मरणः

    हामीसँग सिलवरका भाँडाहरू पनि थिए। त्यस्तै ६/७ बजेको थियो होला। चिया पकाएर खानुप-यो भनेर काका र दाइले चिया पकाउनुभयो। चिया त पाक्यो, त्यही बेलामा जहाजमा बस्ने नाममा रोलकल भयो। नौजवाहरूलाई जहाजमा पठाउँदैन, उनीहरूलाई त्यहाँबाट लडाइँमा पठाउँछ , बच्चा र बूढाबूढीलाई मात्र पठाउँछ भन्ने हल्ला चल्यो। मेरा दाजु र काकाहरू जवान हुनुहुन्छ, उहाँहरूलाई पठाउँदैन, हाम्री हजुरआमा, दिदी, म भाइ र बालाई मात्र पठाउँछ भन्ने डर थियो।

    बा पनि झण्डै ४० वर्षको मात्र हुनुहुन्थ्यो। त्यसैले कसरी जहामा पठाउने भन्ने चर्चा चल्यो। यो आगाडि बूढो देखाउनलाई। दाइको त जुँगाको रेखी भर्खर बस्दै गरेकाले ठूलो समस्या परेको थियो। बजैलाई ठूलो पीर परेको थियो। तर पनि नाम बोलाउँदा त हामी सबैको आयो। नाम आइसपकेपछि चिया पिएर बस्ने कुरा पनि आएन। चिया त्यहीँ लिएर जाने भनेर चियाको डेक्ची बोकेर जहाजभित्र गयौँ।

    जहाज तीन तलाको थियो। हामी दोस्रो तलामा गयौँ। जहा हजारौँ यात्रु अट्ने थिए। त्यहाँ कोठासोठा केही थिएन। जहाँ पायो त्यही थुप्रो भएर बस्यौँ। त्यहीँ राखेर चिया पिउन लागेका मात्र थियौँ। जहाजमा कोलाहल सुन्यौँ। त्यही बेला थुप्रै हवाईजहाज आए। पानी जहाजमा मानिसहरू चढिसकेकै थिएनन्। जहाजको लङगुर बाँधी रहेको थियो। ३/४ सय जति हवाईजहाज आएरर ढरर बम बसाले।

    पानीजहाजमा त हानेन् तर बाहिर हजारौं मानिसहरू बसेका थिए। हाम्रो परिवारका नौ सदस्य भित्र पसेका थियौं तर अधिकांश परिवारका सदस्यहरू जहाजमा आधा र बाहिर आधा परेका थिए।

    कति दिन अगाडिदेखि जहाज कुरिरहेकाहरू पनि थिए। बम हानेपछि आगो बल्यो। कसैका लोग्ने, कसैका स्वास्नी, कसैका छोरा बाहिर थिए। भित्र भएका मानिसहरू आत्तिएर बाहिर जान खोज्थे। कोही त्यो इरावती नदीमा नै हामफल्न खोज्ने पनि भए। मेरी हजुरआमालाई के परेछ भने मरेपछि जलेन भने स्वर्ग गइँदैन। पानीमा परेर मरियो भने अगति भइन्छ। सबैजनालाई डोर्‍याउन नसकेर केवल दिदी र मलाई डोर्‍याउनु भयो। अरु केही नभए पनि मेरा दुईजना नातिनी लिएर डढ्छु भन्नुभयो।

    जहाजको इञ्जिनमाथिको छानामा जान प्रयत्न गर्नुभयो। त्यहाँ इन्जिन तताउन आगो बालेको थियो। मेरा बाले त्यो देखेर रोक्नुभयो। कैयौं जनाले कता जाऊँ, कता जाऊँ, के गर्ने कसो गर्ने भएर पानीमा हामफाले। घण्टाभरसम्म कोलाहल भयो। भागदौड भयो। घण्टाभरपछि अलिकति साम्य भयो। जहाज चढ्न नजीक बसेका मानिसहरू सबै सोत्तर भए।

    जमीन दनदनी बल्यो। हामीले के सुन्यौं भने त्यहाँ नजीकै आर्सेनल(हातहतियार भण्डार) थियो र त्यही भण्डार ध्वस्त हुँदा आगोको लप्का निस्किएर जमीन जलेको थियो। बाहिर जमीनमा भएका मान्छेहरू सबै जले। बाबै! ती मान्छेहरू डढेको बेला खसीबोका पोल्दा जसरी बटारिन्छ त्यसरी नै बटाीरएका थिए। बमबाड रोकिएपछि कोलाहल कम भयो। बाँचेका मानिसहरूले मरेका र घाइते भएका मान्छेहरूलाई भकाभक पानीमा फाल्न थाले।

    पछि हामीले के थाहा पायौं भने बम र मेसिनगनका छर्राहरूले जहाजको छत त सबै प्वालैप्वाल पारेको रहेछ। त्यो छर्राले गर्दा जहाजको क्याप्टेन मरेछ। मेशिनगन र बमहरू पड्किएको आवाजले मेरो दाइका कान थुनिएको रहेछ। बिहानको आठ बजिसकेको थियो, पाकेको चिया पनि मुखमा पर्न पाएको थिएन। त्यस्तो स्थितिमा खाने कुरै पनि भएन। हाम्रो भोक आफैं हरायो।

    अब तीन बज्यो। एउटा सानो जहाज आयो र त्यो सानो जहाजको क्याप्टेनले हामी चढेको जहाज चलायो। हामी चढेको जहाज धेरै नै ठूलो थियो। त्यहाँभित्र होटल, स्वीमिङ्ग पुल र खेलकुदको सानो मैदान पनि थियो। एक घण्टा जहाज चलाएपछि अलिकति खुला र सानो सानो बुट्यान भएको ठाउँमा जहाज रोकियो। त्यहाँ भात पकाउने सवाल नै थिएन। आफूले बोकेको रोटी लिएर बाहिर तङग्रन गयौं। हामी केटाकेटी, मलाई अलिक त्यस्तो कुरा मन लाग्ने भएकाले दाइ, भाइ, म र काका बुटाहरू नाघ्दै अलिक पर पुग्यौँ। त्यहा केही मान्छेहरू थिए। उनीहरू डाकु रहेछन्। उनीहरूले चुपी लिएर हामीलाई लेखट्न आए। हामीसँग पैसा छ भन्ने उनीहरूको अनुमान थियो। सबै दौडियौं पुनः जहाजमा फर्किएर ज्यान बचायौँ।

    जो दौडन सकेन तिीहरूमध्ये कतिजना काटिए भन्ने पनि सुन्यौं। भागदौडमा किनारबाट जहाज चढ्न तखता राखेको हुन्छ। त्यहाँबाट कतिजना खसे पनि। त्यहाँबाट पनि बचेर जहाज चढ्यौं। त्यो दिन हामीले केही पनि खाएनौँ। रात पर्‍यो, हामी त्यसै सुतैं। हामी सबैमा एक प्रकारको त्रास थियो। भोलिपल्ट बिहान मात्र त्यो जहाज चल्यो। रातभर जहाजबाट कसैलाई बाहिर जान दिइएन।

    सबैजना रोयौं
    एक दिन, दुई दिन गर्दे सातौं दिनमा हामी भामो भन्ने उत्तरबर्मा आइपुग्यौं। त्यो सात दिनमा कैयौं पटक हवाइजहाज आयो, तर नदीमाथिको जहाजमा आक्रमण गरेन। हवाईजहाज कहिले जापानको आउँथ्यो, कहिले बेलायतको। हामीले बोकेको खाना र होटलमा जे पाइन्थ्यो त्यो खान्थ्यौं। तर हाम्री हजुरआमा जहाँ पायो त्यहीँ नखाने र जसले तसले पकाएको पनि नखाने भएकीले पानी जहाजमा अङकुसेले तानेको अर्को सानो जहाज थियो, त्यसैमा गएर काका र दाइले खिचडी पकाइदिनुहुन्थ्यो। अनि त्यहीँ खानुहुन्थ्यो। जहाजमा पनि अलग बसेर खानु हुन्थयो।

    भामोमा पुगेपछि हामी जहाजबाट ओर्लियौं। हामी बसेको मेम्योभन्दा पनि भामो सानो शहर रहेछ। दन्तेकथा जस्तै त्यो शहरमा कोही मान्छे थिएन। साह्रै सुनसान थियो। जता हेरे पनि मान्छे मरिरहेका थिए। पसलहरू बसै बन्द थिए। दन्तेकथाकी राजकुमारी सुतिरहेकी बेला, एउटा सुनको छडीले छोएपछि ब्यूँझने कथा पनि याद आयो। रेलको एक छेउामा मरेको मान्छे पल्टिरहेछ। बजार अस्तव्यस्त छ। अहो ! अब के गर्ने अन्धेरनगरी जस्तो लग्यो। जनता नै नभएको देश जस्तो लाग्यो। जहाज हिंडिसकेको थिएन। त्यसैले त्यहाँ बसेर भएन भनेर फेरि जहाजमा नै चढ्यौं र त्यो भन्दा माथिल्लो कत्था भन्ने शहरमा गयौं।

    त्यो कत्था भन्ने शहरमा पनि भामोका जस्तै दृशयहरू थिए। कत्थाको शहरमा हामी हिँड्दै गयौं। त्यहाँ एउटा पनि मान्छे भेटिएन। एक घण्टा जति हिंड्यौँ तर पनि सुनसान छ। मान्छे मरिरहेका थिए र रेल पल्टिरहेको थियो र पानीजहाज कत्था भन्दा अगाडि जान सक्ने ठाउँ पनि थिएन। हामीसँग भएको सामानको भारी बोकेर हिँड्न हामीलाई आँट आएन। त्यहाँ हामीले बोकेका सामानहरू धेरैजसो फ्याँक्यौँ। बोक्न सक्ने र खानेकुराहरू मात्र बोक्यौं। आफ्नो सामानको खूब माया लाग्यो। सामान फ्याँक्नुपर्दा सबैजना खूब रोयौँ। त्यो फ्याँकेका सामान सम्झिँदा अझै पनि मलाई रुन मन लाग्छ।

    मैले आफ्नो जिउमा पाँचवटा फ्रक लगाएँ –एकको माथि अर्को। अरु सबैले त्यसै गरे। सबैले आ–आफ्नो लागि रासनपानी सक्ने जति बोक्नुपर्छ भनेर सबैको लागि ठिक्कका भारीहरू बनाइ टाउकोमा बोक्न हुने गरी सानो सानो नाम्लो जस्तै निकालेर पोको बनाइदिए। सबै सामान बोक्न पनि नसकिने त्यसैले सबैजना रुँदै बाटो लाग्यौं। हिंड्नेहरू हजारौं थियौं। सबैभन्दा पहिला कत्थाबाट दुई तीन घण्टा हिंडेपछि एउटा गाउँमा आइपुग्यौं। त्यो गाउँको नाम राजापुर थियो।

    त्यो गाउँमा आइपुगेपछि खानेकुरा पाइन्छ कि पाइँदैन भन्ने चिन्ता भयो। जति हामी डराएका थियौं, राजापुरका मानिसहरू पनि त्यतिकै डराएका रहेछन्। किनभने हाम्रो साथमा सिपाहीको जागिरबाट भागेर आ–आफ्ना बन्दुक साथै लिई आमाबाबुसँग हिंडेका मानिसहरू पनि थिए। बन्दुक बोकेको मानिस देखपछि उनीहरू डराएर लुक्न गए। हामी उनीहरूको छाप्रोमा चामल तरकारी आदि खानेकुरा खोज्न गयौं । एउटा गोलभेंडा देखे पनि टप्प टिपिहाल्ने, अदुवा एक टुक्रा देखे पनि टप्प टिप्ने र आफ्नो पोकामा हाल्ने गथ्यौं।

    त्यहाँ ३,४ परिवारले एकै भान्सा गरेर बस्यौं । भात, दाल, तरकारी, अलअलग पकाउने, सामानहरू हामीसँग थिएन। सबैलाई एक ठाउँमा हाली दियो र खोले जस्तै बनायो। माथिबाट तेल तुरुक्क चुहाइदियो। कमसेकम १५ दिन सम्मलाई त हामीसँग तेल थियो। त्यसपछि त अलिकति नुन हाल्यो पकायो र खायो। हामी त्यस्तो खानालाई पनि कति मीठो मानेर चाटचुट पारेर खान्थ्यौँ।

    हाम्रो परिवारसँग सानो टिफिन क्यारियर थियो। त्यो टिफिन क्यारियरमा बज्यैले आफूले नखाइकन मलाई खान मन लागेन भन्दै खानेकुरा राखिदिुनुहुन्थ्यो। बाटोमा हिंड्दा त्यो टिफिन क्यारियर हजुरआमाले मलाई दिनु हुन्थ्यो। म टिफिन क्यारियरको भात भाइलाई एक गाँस खुवाउँदै आफू पनि खाँदै हिंड्थे। हाम्रो खानामा प्रायः उसिना चामल थियो। ५/६ दिन हिंडिसकेपछि पनि हवाईजहाजको आवाज आयो। त्यो आवाज सुन्नासाथ हामीमा कोलाहल भयो र लुक्न थाल्यौं। ब्रिटिसको हवाईजहाज आएको रहेछ, त्यो हवाईजहाज तल नजिकै आयो र रासनपानी खसाएर गयो। त्यो रासनपानीमा चामल, पिठो, बिस्कुट, चिनी आदि थियो। ए, खानेकुरा पो रहेछ भनेर खुशी लाग्थ्यो। त्यस्तो हवाईजहाजलाई हात हल्लाई दिन्थ्यौँ।

    हाम्रो समूहमा १०/१२ जना केटाकेटी थियौं। दाइ र दिदी ठूलै भए। भाइ सानै भएकाले म सामान बटुल्ने काममा ठीक थिएँ। त्यस्तो जहाज आएर सामान खसाउन थाल्यो भने त्यो खसाएको सामान गएर म घोप्टिन्थे। अनि मेरो पछिपछि अरु साथीहरू आउँथे। म त्यसरी घोप्टिँदा हातखुट्टा जहाँ जहाँ पुग्छ फिजाउँथे र मेरो जीउ मुनि भएकाले सबै मेरो अधिकार हो भन्दै आगेटेर राख्थेँ। त्यो पोकोमा चामल, दाल, चिनी, चियापत्ती सबै हुन्थ्यो। अरु साथीहरूले पनि त्यसै गर्थे। मेरो परिवारका मानिसहरू आइपुगेपछि त्यो छोड्थें र कतिकति बोक्न सकिन्छ आ-आफ्नो पोकोमा हाल्यौँ।

    मेरो भाइको पोकोमा तेलको टिन, त्यो भित्र एउटा रोटी पकाउने तावा र रोटी बेल्ने मात्र थियो। यसको मतलब सबैभन्दा सानो भाइ पनि खाली हिंड्न पाउँदैनथ्यो। खाली हिंड्न पाउने केवल हजुरआमा मात्र हुनुहुन्थ्यो। त्यसबेला हजुरआमा ६२ वर्षकी हुनुहुन्थ्यो। जङगल वा झाडीबाट हिंड्दा बाटोमा निङग्रो लगायत केही खान हुने जङगली झारपात पनि टिप्थ्यौं। त्यस्तो टिपेको चीज सबै भाइको टिनको डिब्बामा हाल्थ्यौं। त्यस्तो डरलाग्दो बेलामा एकले अर्कालाई सघाउँदै हामी एउटै परिवारका सदस्य जस्तो भएर हिंड्यौं।

    यस्तै महिनादिन जति हिंडेपछि मेरो ५ वटा फ्रकमध्ये २ वटा फटिसकेका थिए। किनभने कतै काँडाले चिथोर्छ त कतै के हुन्छ। सकेसम्म च्यातिएको ठाउँमा गाँठो पारेर लगाउँथे तर लगाउँनै नभएपछि फुकाएर फ्याँक्थे।

    मध्यरातमा भागाभाग
    हामी हिंड्दै गरेको बाटोमा पानीमा विष हालिदिएको हुन्छ भन्ने चर्चा ब्यापक थियो। त्यसैले पानीमा विष प्रयोग गरेको छ नपिउनु भनेर लेखेको हुन्थ्यो। त्यो कसले लेखेको थियो थाहा छैन। साँच्चै पानीमा विष हालेको हुनाले लखेको हो कि पानी नै नखाइ मार्न आँटेको हो ? अनेक-अनेक चर्चाहरू पनि भयो।

    साँच्चै कहिलेकाहीँ एक/दुई दिन पानी पनि नपिई हिंडिरहह्यौँ। त्यस्तो लेखेको ठाउँमा २/४ मानिस मरिरहेको पनि भेट्थ्यौँ। ३/४ दिनसम्म बाटोमा पानि खान पनि पाएनौँ। एउटा गाउँमा पुग्दा ठूला किसानहरूको घर रहेछ र भकारीमा धान रखेको रहेछ। हामीसँग बन्दुक बोकेका मानसिहरू पनि भएकाले डरले गाउँ चकमन्न बनाएर गाउँलेहरू लुक्न गएका रहेछन्। लुक्न जाँदा सायद साँचो लगाउन भ्याएनन् होला। गाउँमा प्रशस्त धान देखेपछि आफ्नै घरमा हामीमुहाली गरे जस्तै हामी चामल र चिउरा बनाउने काममा व्यस्त भयौँ। त्यो रात त्यहाँ बस्ने अनि राति धान उसिनेर चिउरा बनाएर बोक्ने विचारले हजुरआमा लगायत सबै महिलाहरू तयार भए। ओखलहरू पनि गाउँमा छँदै थिए।

    दुई/दुई पाथी जस्ता चिउरा धेरैजसोले बनाए। हाम्री हजुरआमाले पनि बनाउनुभयो। त्यहाँ बेलुका भात पनि पकायौं र मजाले आँत भर्नेगरी भात खायौँ। चिउरा पोको पार्‍यौं। आज एक रात यही सुत्नुपर्‍यो क्यारे भन्ने सोच्यौँ। धान कुटेर चाम बनाउँदा बनाउँदै भोकको सुरमा चामलै चपाउँथ्यौं। यसरी चामलसँग कति धानै पनि चपाउँथ्यौं। धान चपाउँदा चामलको रस चाहिँ खायो, अनि भूस चाहिँ फुर्र पारेर फुक्थ्यौं।

    हामी बच्चाहरू मज्जासँगले सुतेका थियौं। मेरो बालाई सन्चो थिएन। उहाँलाई पाखाला चलेको थियो। राति ११ बजेको थियो होला–गाउँमा होहल्ला भयो। मानिसहरू सुतिसके होलान भनेर चुप्पी, खुकुरी लिएर गाउँलेहरू आए। सबैजना चाँडो भागौं भन्दै भागदौड शुरु भयो। को आएको हो, कसले लखेटेको हो कसैलाई पनि थाहा भएन।

    मस्तको निन्द्राबाट हामीलाई पनि उठाइयो। सबै अन्धाधुन्ध दौडन थाल्यौं। कसैलाई कसैको चिन्ता भएन, आफूले आफ्नो सुरक्षा गर्ने बाहेक अरुको चिन्ता गर्ने कुरै थिएन। कहिले नहिंडेको बाटोमा, उज्यालोमा पनि हैन अँध्यारोमा दौडन थाल्यौं। मानिसहरू कुटिए र काटिए अरे तर कतिजना को को परे, हामीलाई थाहा भएन। २/३ घण्टा हामी राति दौडियौं। अन्त्यमा डाकबङगलामा हामी आइपुग्यौं।डाकबङगलामा आरामगृह पनि रहेछ। ४०/५० जना सँगै आएका साथीहरू छुटे। ती छुटेकाहरू काटिए कि मरे कि के भयो कसैलाई थाहा पनि भएन। थाहा पाउने चासो पनि राखिएन। हामी त्यो डाकबङगलामा बस्यौँ। बा बिरामी भएका कारण हिड्न सक्नु हुन्नथ्यो।

    उहाँलाई दाइ र काकाले कपडाको नाम्लो बनाएर पिठयुँमा पालो पालो बोक्नुभयो। बर्मामा हाम्रो आयुर्वेदको दवाई पसल पनि थियो। बाटोमा केही पर्छ कि भनेर खाँटी(औषधि) बाले बोक्नुभएको रहेछ। बाले खल पनि बोक्नुभएको रहेछ। डाकबङगालमा राति आइपुगपछि खलमा त्यही भएका औषधिहरू बनाएर खुवायौं। सबैले भोलिपल्ट त हामीलाई छोडेर गए। त्यहाँ बाबुले छोरालाई पर्खदैनन्, लोग्नेले स्वास्नीलाई पर्खदैनन्, स्वास्नीले लोग्ने पर्खदैनन्, त्यस्तो बेला थियो। हामी नेपाली स्कुलमा पढ्दाखेरीको एउटा दरवानको परिवार र हामी मात्र छुट्यौं। त्यो परिवारको सदस्य पनि बिरामी भएर छुटेको थियो।

    बालाई बोकेर हिंड्ने आँट आएन, त्यो दिन त्यहीं राख्यौं र औषधिमुलो गर्‍यौं। भोलिपल्ट बा अलि ठिक हुनुभयो। बिहान उठेर हामी दुवै परिवार हिंड्न थाल्यौं। पुनः तेस्रो दिन हामीलाई छोडेर जाने समूहलाई भेटायौं। यसरी बाटोमा अनेक प्रकारका आपतहरूको सामना गर्नुपरेको थियो। बाटोमा अनकन्टार जङगल, बाटै नभएका ठाउँ, काँडैकाँडाले कोतर्ने ठाउँ भएर हिंडियो। हामीले घुँडाभन्दा मुनि पानीमा र आधा जीउ जमीनमा गरेर पनि रात बितायौं। जमीनको भागमा तन्दा एउटा ओछ्यायो सुत्यो। जङगली जनावरबाट सुरक्षित हुन दुबैतिर रुख ढालेर बस्नुपर्‍यो।

    सम्झदा पनि आङ सिरिङग हुन्छ
    कहिले बाटै नभेटिने, कहिले अनकन्टार जङगल, कहिले छातिसम्म आउने पानी नै पानी उल्टो धार (एन्टी करेन्ट) पाँच दिनसम्म हिंड्थ्यौ। अलिकति तलमाथि पर्‍यो भने खै के हुन्थ्यो थाहा छैन। एक ठाउँमा त धेरै गहिरो पानी थियो। हामी त पौडी खेल्न जान्ने थियौं। तर हाम्री हजुरआमा र बुबालाई भने काँधमा राखेर दाजुले तार्नुभयो। कहिले कहिले २/३ दिनसम केही खान पाएनौं र वनमा पाइने झारपात, कन्दमूल टिपेर खायौं। आँप लटरम्म फलेको थियो। तर आँप खान हुँदैनथियो। गर्मीले गर्दा आँप खायो भने बिरामी हुइन्थ्यो।

    आँप देखेर पनि चुप लागेर बस्न करै लाग्यो। भोक सहन नसकेर आँप खाँदा बाटोमा धेरै मान्छे मरेका थिए। हामीले आँप टिप्न खोज्यो भने पनि लौ त्यसरी नै छोडेर जाने भनेर हजुरआमा र बाहरूले भन्नुहुन्थ्यो। र हामीले त्यो आँप छोड्थ्यौं। यसरी हामी सिटाङग नदी, चिन्डवीन, सालिङग नदी तर्दै अघि बढ्यौं। यी सबै बिपिरित धारमा हिंड्नुपर्ने नदी हुन्।

    डेरीमा दुध बिक्रि गर्ने काम भैरव काकाले गर्नुहुन्थ्यो। हामी सबै बर्माबाट बाटो त लाग्यौं तर भैरव काकाकी श्रीमती हिँड्न सक्दैनथिइन्। स्वास्नीलाई बोकेर भैरव काका पनि बाटो लागे। भैरव काकाका आमा र ३ वटा छोराहरू चाहिँ आफैं हिंडे। बाटमा श्रीमती र ३ वटै छोराहरू मरे। बाटोमा मरेका छोरा र स्वास्नीलाई बाटोको छेउमा राखियो र लासमाथि सलाई कोरेर आगो दिइयो अनि हिँडियो। त्यो सलाईको काँटीले लासलाई के छुन सक्थ्यो र कहिले त सलाई आफूं पनि बल्न सक्दैनथ्यो। आगो दिनै पर्ने बाध्यतालाई पूरा गर्‍यो अनि त्यसै लास छोडयो। देखिन्छ कि भनेर मुख छोप्दै हिँड्यो। यस्ता घटना सम्झदा साह्रै नरमाइलो लाग्छ।

    भैरव काकाकी आमा हिँड्न सक्दिनथिइन्। उनी निकै बुढी भइसकेकी थिइन्। उनलाई भैरव काका छोडेर हिँड्थे। उनी फेरि अर्को समूहको साथ लागेर हामीलाई भेट्न आइपुग्दथिन। भैरव काकाको नेपाल आउने मन थिएन। उनी बनारसतिर लागे। ती बुढी आमा पनि भैरव काकालाई पछ्याउँदै पछि बनारस नै पुगिछन् र बनारसमा नै आमा छोराको भेट भयो अरे। यिनै भैरव काकाले मेरी साथी कलावतीलाई पछि बिहे गरेका रहेछन्। कलावती धेरै वर्षपछि २०१९ सालमा अचानक नेपाल आई। त्यसबेला हाम्रो भेट हुँदा उसले अँगालो मारेर साह्रै रोई। उसको स्थिति यति खराब थियो कि भनेर साध्ये छैन। हामी राम्रै अवस्था थियौं। उसको तुलनामा हामी व्यवस्थित थियौं। पछि उनी दिल्लीमा बस्न थालिन्।

    बर्मामा एउटा पञ्जाबीको विवाह भर्खरै भएको थियो। युद्धले गर्दा त्यो पञ्जाबी पनि आफ्नी श्रमीतीलाई लिएर बाटो लाग्यो। श्रीमती बाटोमा हिंड्न सकिन। उसले स्वास्नीलाई त्यसै छोडेर हिँड्ने आँट गरेन। ऊ आफनी प्यारी श्रीमतीलाई अंगालो मारेर रुखको आडमा बस्यो। हामीले ती दुबै श्रीमान श्रीमतीलाई छोड्यौं। त्यो अशक्त स्वास्नीलाई च्यापरेर बस्दाबस्दै उनीहरू दुवैजना मरे होलान् भन्ने मलाई लाग्छ। अहिले विभिन्न देशका शरणार्थीहरूको अवस्था टि.भी.मा देख्दा बर्माबाट नेपाल आउँदा हाम्रो पनि अवस्था त्यस्तै थियो भन्ने कल्पना गर्छु।नागा पर्वत आइपुग्नु अघि बाटोमा मानिसहरूले बोकेको पैसाका नोटहरू जलाइरहेका देखें। हुन पनि त्यो पैसाको कुनै काम थिएन। मैले पसलबाट निकालेर माया गरेर बोकेको पैसाको पनि केही काम नदेखेपछि त्यहीँ जलिरहेको नोटमाथि त्यो पैसा फ्याँकी दिएर म हिँडेँ। त्यति धेरै पैसा चाहिने मलाई पनि त्यो दिन पैसाको कुनै महत्व रहेनछ भन्ने लाग्यो।

    यसरी हामी नागा पर्वतमा पुग्यौं। नागाहरू पनि हामीसँग डराएका थिए। हामी हजारौं जनामध्ये २/३ सय जना पुलिसबाट भागेर आएका थिए। उनीहरूको घरमाथि मचान सिँढीमा चढेर जानुपर्ने। माथि विभिन्न प्रकारका पशुका टाउकाहरू झुण्डिएका थिए। त्यहाँ हामीले एउटा नौलो खानेकुरा देख्यौँ। सामान्य स्थितिमा भए हामी कुनै हालतमा पनि खाने थिएनौं । तर भोकको सुरमा हामीले त्यस्तो चिज पनि खायौं।

    बाँसको बडेमान ढुङग्रोमा मासुलाई गुन्द्रक जस्तै कुहाएर राखेको । मासु सरह किरा पनि हुने। त्यसलाई आँखा चिम्लेर खायौँ। कस्तो भयो होला। भान्सामा के के बनाइराखेको छ खोजी खोजी खायौं र हाम्रो भोकलाई साम्य बनायौं।

    त्यही नागा पर्वतमा नागाहरू झुण्ड–झुण्ड भएर बाख्रा चराइराखेका थिए। त्यहाँ बन्दुक भएकाहरूले भोकको सुरमा बाख्रालाई बन्दुकले हानेर मारे। गोठालाहरू डरले लुक्न गए। बाख्राको मासु पाक्यो। त्यो मासुमा हाल्ने नुन र बेसारबाहेक हामीसँग केही पनि थिएन। हाम्रो छिमेकी पाँडेबाजे (कलावतीका बा) ले जिन्दगीभर मासु खाएका थिएनन् तर भोकको अगाडि के लाग्दोरहेछ र उनले पनि मासु खाए। आँसु चुहाउँदै डबका भरी भरी मासुको सुप खाए ती शाकाहारीहरूले पनि।मनिपुर

    पुग्न दुई दिन बाँकी थियो। बाटो एकदम साँघुरो थियो। त्यही साँगुरो बाटोमा निकै पहिले मरेको एउटा लास भेटियो। लास कुहेर गनाइरहेको थियो। हामीले त्यो लास नाघेर हिँड्नुपर्दथ्यो। म हाइजम्प/लङजम्प खेल खेल्ने गरेकीले त्यो लास नाघेर अघि जान मलाइ कठिनाइ भएन। हजुरआमालाई समाउदै छेउबाट पार भयौं। दिदी साधनाले लास नाघ्नका निम्ति के उफ्रनुभएको थियो, त्यो कुहेको लासमाथि ग्याम्म खुट्टा भासियो। अहिले पनि त्यो दृश्य सम्झँदा आङ सिरिङग हुन्छ।

    गाडी दुर्घटना
    यसरी हामी बर्माको युद्धबाट एकातिर बम अर्कोतिर हिंश्रक जन्तुसँग जोगिंदै हिँड्यौँ। डकैती र पानीमा हिंड्दा गोहीबाट पनि बच्नु पर्दथ्यो। यस्तै चारैतरि डरैडरको बीचमा हाम्रो यात्रा चरिहेको थियो। हामी भाग्दा युद्धबाट भागेकाहरू पनि भेटिएका थिए। उनीहरूले ठलो खँड्कुलो दुईपट्टि नोलले झुण्डाएर बोकेका थिए। बाटोमा पाएका चामल, दाल, तरकारी सबै त्यसैमा हाल्थे र बेस्मारी पकाएर सुप जस्तै बनाउँथे। त्यो सुप देखेपछि हामी ५,७ जना केटाकेटीहरू उनीहरू भएको ठाउँमा जान्थ्यौ र (भाषा त आउँदैनथ्यो) पहिला पेट देखाउँथ्यौं अनि मुख देखाउँथ्यौं, अनि हात थाप्थ्यौं। यसरी हामी माग्थ्यौं। उनीहरूले बस–बस भनेर इसारा गर्दै खड्कुला पाक्दै गरेको त्यो खाना बडेमानको डाडुले उबाएर पातमा दिन्थे। हामी त्यो पात पनि खाइएला झैं गरी चाटचुट पारेर खान्थ्यौं। यसरी हामी त्यो नागा पर्वतमा एक हप्ता जति हिंड्यौ होला।

    हामीलाई चाहिँ प्रायः रामाइलो नै लाग्थ्यो । त्यो नागा पर्वत हिंडेर ओरालो लाग्यौं। त्यसपछि पानीमा हिंड्यौ। तिनतिर आगो बालेर बास बस्थ्यौं । पानीमा पाँच दिनसम्म हिँड्यौँ। पानीमा कसैकसैले गोहीले पनि तानेर लान्थ्यो। अन्त्यमा नागा पर्वत सिद्धिएपछि हामी मनिपुर पुग्यौं।

    मनिपुर भनेको हिन्दुस्तान हो, हामी हिन्दुस्तान आइपुग्यौं। हिन्दुस्तान आइपुग्दा माडवारीहरूले बडेमानका कराईहरू बसाएर पुरी पकाई राखेको, आलुको तरकारी पकाई राखेको देखेर हामीलाई अचम्म लाग्यो। मनिपुरेहरूले १ पैसाको एक गोल्टिनको बट्टा दही, एक पैसाको दुई कोसा झपरी केरा, एक पैसाको एक गोल्टिन बट्टा चिउरा बेचिरहेका थिए। हामीले दही चिउरा खायौं। काकाको पखाला दही चिउराले नियन्त्रण भयो। भोकको सुरमा पहिला किनेर खायौं। पछि मारडवारीहरूले पुरी तरकारी खुवाए। उनीहरूले बिना पैसा खुवाए। पहिला त यो किन पकाएको, कसको निम्ति पकाएको हामीलाई थाहा भएन।

    बाटोमा हाम्रा कपडाहरू फाटेर झुत्रो भइसकेका थिए र कपाल लट्टा परिसकेको थियो। मैले पाँचवटा फ्रकमा चारवटा फ्याँकिसकेकी थिएँ र बाँकी एउटा मात्र थियो। त्यो पनि १०/१२ गाँठा परिसकेको थियो। हामी सबैलाई लाइनमा उभ्याएर एउटा–एउटा कम्बल दिइयो। हामी शरणार्थी भयौं। हामीसँग बस्ने ठाउँ कहीँ थिएन। खुला मैदानमा बस्यौं। त्यो महिना असार थियो। त्यहाँबाट बस पाइने भयो। अब हिंड्नु परेन, सबैलाई बडा आनन्द लाग्यो। अलिजेललाई दुःख खाइयो। आफ्नो मुख कस्तो, आफैले हेरेको थिएन। ऐना बोकेको त थियो, तर कता पर्‍यो कता।

    त्यसपछि त्यहाँ हामीले गाडीको पालो पर्खन चार दिन कुर्नुपर्‍यो। सबैको नाम लिस्ट बनाएको थियो। नाम बोलाएपछि धमाधम बडेमानेका वारलरीमा चढ्नु पर्दथ्यो। चार दिनपछि हामीलाई बोलाइयो। त्यहाँ पनि एउटा नराम्रो अपसकुन भयो।

    हामी भात पकाउँदै थियौं। नाम बोलाउने बित्तिकै छड्केको भात र पाक्न लागेको दाल ह्वात्तै फ्याँकेर हामी हस्याङफस्याङ गर्दै लरीमा चढ्न गयौँ। सबै एउटै लरीमा परेनौं। हजुरआमा, बा, काका, दाइ र म एउटा लरीमा पर्‍यौं। मेरो एउटा काका, दिदी, भाइ र फुपूको छोरा अर्कोमा परे। बिहान बिहानै त्यस्तै ८/९ बजेको थियो होला। घाम निस्किसकेको थियो। त्यो भयानक वारलरीमाथि टाट हाल्दा भित्र अँध्यारो इनारजस्तै थियो। हामी केटाकेटीलाई आलुको बोरा फ्याँकेजस्तै फुत्त–फुत्त फ्यालियो। कहाँ गएर बस्ने थाहा थिएन। हामी भुइँमा टक्र्याकटुक्रुक्क बस्यौं।

    गाडी चलेको एक घन्टा के भएको थियो–मेरो दाइले मसँग साउती गर्नुभयो–“ए सहाना यतिबेला केही गरेर गाडी खस्यो भने त हगी, फलाना–फलाना गाडीबाट खसे भनेर हाम्रो नाम आउँछ।” हजुरआमा त्यहीँ हुनुहुन्थ्यो, उहाँले “के नचाहिँदो कुरा गरेको?” भन्दै हकार्नु भएको मात्र के थियो गाडी त साँच्चै खसिसकेको रहेछ। कस्तो सन्दर्भ मिलेको त ! ढुङगा भएको ठाउँमा गाडी खसेको भए हामी कोही पनि बाँच्ने थिएनौं। तर गाडी करिब ४० फिट जति तल धान रोपेको ठाउँमा खस्यो।

    गाडीबाट अलिकता तलसम्म खस्दा के भइरहेछ केही अनुभूति भएन। पछि त तल डङर्‍याङग खस्दाखेरि पो कोलाहत मच्चियो। पछाडिको लरीमा भएका काकालाई मैले देखिनँ तर दाइले भन्नुभएको – “ए, मेरा आमा र दाइ बसेको गाडी खस्यो” भनेर चलिरहेको गाडीबाट हाम्फाल्नुभयो रे । गाडीमा ५० भन्दा अलिक बेसी मान्छे रहेछन् । तर खसेपछि ७ जना मान्छे त ठहरै मरे।
    सबैलाई निकालियो र बाहिर राखियो। मान्छे गन्ती गरियो। चढेका मान्छे कति छन्? हिसाब गरियो र एकजना छैन भनियो। त्यो एकजना नहुने मै परेछु।

    गाडीको एउटा फल्याक झरेर टाँड परेको रहेछ। म त्यो फल्याकको मुनि च्यापिएकै रहेछु। ल धान रोपेको छ। त्यो धान रोपेको हिलो ठाउँमा खुट्टाहरू धसिएका छन्। मेरी हजुरआमा कराएको बोलेको मैले सुनेँ। “मेरी सानी चाहिँ नातिनी छैन” भन्दै हजुरआमा कराएको रोएको सुनेँ र त्यही बेला बाले पनि ‘हो’ भन्नुभयो। मेरो नाम लिएर बोलाइयो। मैले त्यही च्यापिएको ठाउँबाट “म यहाँ छु, म यहाँ छु” भनी उत्तर दिएँ। मलाई खासै केही पनि भएको रहेनछ। अकिति चुक्ने बित्तिकै म त थिचिने थिएँ। भित्र अँध्यारो छ। म त्यहाँ रहेको कुरा सबैले थाहा पाएँ र टर्च बालेर हेरे। मलाई देखेपछि ‘एक बच्ची है, एक बच्ची है’ भन्दै बिस्तारै गल लगाएर होसियारी साथ मलाई निकालियो। त्यसबेला केही औषधि नभएकाले घाइतेहरूको घाउमा पेट्रोल दल्ने काम भयो।

    त्यसपछि त त्यो गाडी जान सक्ने हालतमा थिएन। ३/४ घण्टा कुरेपछि अर्को गाडी आयो र सिकिस्त घाइते भएका ३/४ जना हामीलाई ट्याक्सीमा राखेर बिस्तारै लगियो । डिम्मापुरको अस्पतालमा हामी सबैलाई राति पुर्‍याइयो। हामी सबैलाई अस्पतालमा भर्ना गर्नुपर्‍यो। घाइतेहरूलाई बेन्डेज र प्लास्टर गरियो। मेरो ढाडमा घाउ लागेको रहेछ। बाहिर केही नदेखिने भित्र अलिक दखल परेको रहेछ। दाइको सानो खुकुरी दापमा थियो। दुर्घटनामा त्यो खुकुरी कहिले निस्किने र र कहिले पस्ने गर्दो रहेछ क्यारे, हजुरआमाको सिउँदो काटेको थियो। गाडी दुर्घटना त्यस्तो हुँदोरहेछ।

    मनिपुरमा जस्तै डिम्मापुरमा पनि माडवारीहरूले खानाको व्यवस्था गरेका रहेछन्। त्यहीं बसेर खायौं । हामीलाई त्यहाँ उनीहरूले फेर्ने लुगा दिए। त्यो अस्पतालमा हामी सात दिन बस्यौं। प्लास्टर र टाँचाहरू खोलेर गुहाटीमा आयौं। गुहाटीको धर्मशालामा दुई दिन बस्यौं। त्यहाँ हामीले अलिकति आराम गर्‍यौं।

    एकदिन मेरा बाहरू किनमेल गर्ने भनेर बजार जानुभयो। बुबाहरूले पाँच रुपैयाँमा एउटा बोका, दुईटा हाँस, दुईटा कुखुरा, माछा २/३ किलो लिएर आउनु भयो। त्यस्तो सस्तो पाइँदो रहेछ। त्यहाँ हामीलाई कत्तिको कति पैसा पर्छ भनेर थाहा थिएन। बुबाले किनमेल गरेर आउनुभएपछि धित मर्नेगरी माछामासु खायौं।

    गुहाटीबाट हामी रेलमा पार्वतीपुरसम्म आयौं। पार्वतीपुर भनेको अहिले बङगलादेशमा पर्छ। म पछि बङगलादेश गएको बेला पार्वतीपुरमा गएँ। त्यो बेला मैले मेरो अतितलाई सम्झेँ। पार्वतीपुरको रेल स्टेशन गोरखपुरको जस्तै ठूलो जङसन थियो। त्यसबाट रेल चढेर भोलिपल्ट बिहान मुजफरपुर आइपुग्यौं। मुजफरपुर नेपालबाट नजिक पर्छ। त्यहाँ पुगेपछि मेरो हजुरआमा। दिदी र भाइ तीनजना धर्मशालामा नै बसे। हामी चाहिँ बजार गयौं। नेपालमा फुपूहरूको लागि साडी, बाजेहरूका लागि केही चिज कोशेली लान किनमेल गर्न गयौं। एउटा बाकस पनि किन्यौं।

    हामीसँग त केही पनि थिएन। हामी त झुत्रेभाम्रे थियौं र दानमा पाएका खद्धरका लुगा लगाएका थियौं। हामीलाई पनि एकसरो लुगा किन्यौ। मलाई बुबाले फ्रक पनि किनिदिनुभयो।

    यात्राको बिसौनी र तितो औषधि
    हामी गाडीबाट नै वीरगञ्ज आइपुग्यौं। त्यसबेलाको अनौठो वीरगञ्ज अहिले पनि सम्झन्छु। वीरगञ्ज पुगेपछि “सवारी मेरो रेलैमा”भन्ने पहिलो नेपाली गीतलाई सम्झेँ। त्यहाँ रेल स्टेशनमा एउटामात्र होटल थियो। त्यो होटल धेरैपछिसम्म पनि सम्झानामा रहरिह्यो। २००८/०९ सालमा पार्टीबाट काममा जाँदा पनि त्यही रुपमा त्यो होटल थियो। त्यहाँ त्यसबेलासम पनि कुनै परिवर्तन भएको थिएन। त्यहाँबाट गढी, भीमफेदी, थानकोट हुँदै हिंडेर आयौं।

    मेरो कपाल सानो गरी केटाहरूको जस्तै गरी काटिदिनुभएको थियो। फ्रक घुँमाथिसम्म थियो। थानकोटबाट हिंडेर कालिमाटीमा आइपुगेपछि त्यस्तो देखे भने परिवारजनहरू रिसाउनलान्, नराम्रो भन्लान् भनेर तीनाथानाको चौरमा (अहिलेका जस्ता घरहरू बनेका थिएनन्) मेरी हजुआमाले फ्रकमाथि सारी लपेटिदिएको मलाई अहिले पनि याद आउँछ। साडी आडिंदैन कि भनेर गाँठो पारेर मुजा बनाएर लगाइदिनुभयो। फेरि त्यहाँबाट हिंडियो। कालीमाटीमा दुईजना काकाहरू हामीलाई लिन आउनुभएको थियो। अनि भिमसेनथानको अलिकति उकालो चढियो र मखनको कालभैरव देखियो। त्यस्तो ठूलो कालभैरवको मूर्ति देख्दा “वाफरे वाफ यत्रा ठूलाठूला देउता रहेछन् यहाँ त” भन्ने लाग्यो।

    काठमाडौंमा बिजुली राम्रो थिएन। सानो सानो बल्व बालेका थिए। हरेक पसलहरूमा टुकीहरू बालेका थिए। लामो लामो पित्तलको बत्ती बालेको देख्दा कस्तो देश होला भनेर अचम्म लाग्यो। दोकानहरूमा पनि केही सामान थिएनन्। काठमाडौं गणेशथाननिर पुग्दा मेरी फुपूको घर रहेछ त्यहाँ। अनि हामी फुपूको घरभित्र गयौं। फुपू भन्ने नाता दुनियाँमा पहिलोचोटि देखियो। बर्मामा बस्दा छिमेकीहरूलाई फुपू भन्थ्यौँ। तर यहाँ साख्यै फुपू (हजुरआमाकी जेठी छोरी)को घर रहेछ त्यो।

    आमाछोरीको दश वर्षपछि भेट भएको थियो। उनीहरू छाँद हालेर रोए। उनीहरू रोएको देखेर अनौठो लाग्यो। यसरी किन रोएका होलान, भेट नहुँदा पो रुनु। भेट भएपछि पनि किन रोएका होलन्। एकछिन रोइसकेपछि आमालाई छोरीले यसो हेर्नुभयो–आमाले यसो साडीको सप्कोमात्र हालेको देख्नुभयो। आमासँग खास्टै छैन। नेपालमा त खास्टो ओड्नुपर्ने। “के आमा पनि यो तरिकाले आउनुभएको?” नेवारी भाषामा फुपू गनगनाउन थाल्नुभयो। मैले नेवारी राम्रो बुझिनँ। अरु के के भन्नुभयो र हत्तपत्त सन्दुक खोलेर तीनखोले बडेमानको डम्बरकुमारीको खास्टो आमालाई ओडाई दिनुभयो। “अब जेठाजुको जानुपर्ने छ” भनेर आमाले पनि खास्टो स्वीकार्नुभयो।

    हामी आफ्नो घर असन पुग्यौं। कालीमाटीदेखि घरसम्म आइपुग्दा हरेक कुरमा मलाई अनौठो लागिरहेको थियो। नेपालका हरेक चिज बाटो, घर, पसल र मानिसहरूको आनीबानी सबै मलाई अनौठो लाग्यो। म सोह्रौं शताब्दीको देशमा आइपुगेछु जस्तो लाग्यो। घरका ढोका होचाहोचा थिए। भित्र पस्दा पनि ठोकिएला जस्तो निहुरेर पस्नुपर्ने। तीनवटा भर्‍याङ चढेलपछि त्यहाँ ठूलो हजुरबा, हजुरआमाकी दिदी र तीनवटी बुहारीहरू देखापरे।

    तिनीहरूले ढोेग्नुभन्दा पहिले सानोसानो पालमा के हो खान दिए। उनीहरूले खाली खानुपर्छ मात्रै भने। आउनेबित्तिकै केही मीठो खानेकुरा खान दिए भनेको त चिराइतो पो रहेछ–तितो । २/३ दिन अघिदेखि भिजाइराखेको, त्यसैको रस रहेछ। त्यो बेला मलाई साह्रै रिस उठ्यो। कति वर्षपछि आएका परिवारजनलाई मीठो–मीठो लडडु, पेडा पो ख्वाउनुपर्छ । यो तितो पनि ख्वाउने हो र ? बदमास बुढाबुढी जस्तो लागेको थियो। सबैले घुटुक्क घुटुक्क पिए। आफू पनि आँखा चिम्लेर घुटुक्क पिएँ। तर आजकल सम्झँदा त त्यो खानु वैज्ञानिक कुरा रहेछ।

    अब बल्ल कोठाभित्र पस्न पाइयो। निकै रात परिसकेको थियो। उसले उसलाई ढोक्ने, उसले उसलाई ढोग्ने काम भयो। हजुरआमालाई सबै छोरा र बुहारीहरूले ढोगे। राति खाना खाइयो र सुतियो। सबै चलन मलाई गज्जब लाग्यो। भेलिपल्ट एकाबिहानै ६ पनि बजेको थिएन–क्वाँक्वाँ रोएको सुनियो। एकाबिहानै को होला भनेको त बजैकी माइली र कान्छी छोरी आमाको एकएकवटा खुट्टा समाएर रोइरहेका थिए। यसो कुरा बुझ्दा दस वर्षसम्म ठूलोबुबा र ठूलीआमाले राम्रो व्यवहार नगरिरहेकाले उनीहरूलाई दुःख लागेको रहेछ। आफ्नी आमा आउनुभयो भनेर खुशीले रोएका रहेछन्। हामी वि.सं २००१ साल असारमा नेपाल आइपुगेका थियौं।

    कम्युनिष्ट नेता सहाना प्रधानको जीवनीमा सुशिला श्रेष्ठले लेख्नुभएको ‘सहाना प्रधान–स्मृतिका आँखीझ्यालबाट’ पुस्तकको एक अंश।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.