Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हामीलाई बिताए, आउँदो पुस्तालाई पनि बिताउनेछन्

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर ४, २०७७
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रेमवासना र काल्पनिक इश्वरका भजनबाहेक अन्य रचनाहरूलाई मूलधारको गीत नठानिने समाजमा जीवनवादी र सार्थक गीत लेख्ने–गाउनेहरुले २० को दशकतिर खासगरी पूर्वी पहाडमा हलचल मच्चाए। ती गीतहरुले थुप्रैलाई तत्कालिन् व्यवस्थाविरुद्ध लड्न र समाजवादी आन्दोलनसँग जोडिन प्रेरित गर्‍यो। तिनै सार्थक गीतहरूमध्ये बहुचर्चित गीत ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’का रचनाकार श्याम तमोटसँग जनसंगित र कम्युनिष्ट आन्दोलनबारे नेपाल रिडर्सले कुराकानी गरेको छ:

    ऐना हेरेर खाना खाने मान्छेहरू !
    म भोजपुर जिल्लाको टक्सार गाउँमा जन्में। मेरा बा र हजुरबा त्यहीँ जन्मनु भएको हो। हाम्रो खास पुख्र्यौली ललितपुर रहेछ। चार पुस्ताअघि व्यवसायको सिलसिलामा भोजपुर गएका रहेछन् जिजुबाजे–बज्यै। टक्सारमा जन्मेपनि मेरो बुबाले जीवनवृत्तिको कामचाहिँ भोजपुरकै दावाँ भन्ने ठाउँमा गर्नुभएको हो। दावाँमै हुर्कें, त्यहीँ पढें। त्यहीँ बसेर पुर्खौली पेशा अपनाएँ र पछि सरकारी शिक्षक बनें। विगत ७ वर्षदेखि काठमाडौंमा छु। हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानमा सचिवका रूपमा कार्यरत छु। तर अहिले पनि मलाई दावाँकै मोह लाग्छ। धेरैले दावालीँ नै भनेर चिन्छन्।

    सुरुवालमा घुँडा नटालेका छोरा मान्छे र कुइँनो र कुम नटालेका लुगा नलगाउने छोरी मान्छे विरलै भेटिन्थे । उतिखेर चप्पल जुत्ता एकदमै कम मात्रै मान्छेले लगाउँथे ।

    नेपालका नेवारहरु प्रायः पसल गर्छन्। म पनि दोकाने–नेवारकै छोरा भएकाले खान र एकसरो लगाउन उति दुःख भएन। तर आफू पसले हुनाका नाताले मैले आम गाउँलेको जीवनलाई नजिकबाट देखें। मेरो पसलमा सामान किन्न आउने मान्छेहरु दावाँ गाउँकै किसानहरू हुन्थे । यो २०–२२ सालतिरको कुरो हो। म बाल्यकालबाट किशोर अवस्थातिर जाँदै गरेको समय थियो त्यो। पसलमा बाआमालाई सघाउन बस्ने हुनाले पसलमा आउने ग्राहकहरूको आर्थिक हैसियत अनुमान गर्न सक्थें म। त्यतिखेर खुट्टामा चप्पल लगाउने मान्छे एकदमै कमै हुन्थे। विशेषगरि सुरुवालमा घुँडा नटालेका छोरा मान्छे र कुइँनो र कुम नटालेका लुगा नलगाउने छोरी मान्छे विरलै भेटिन्थे। उतिखेर चप्पल जुत्ता एकदमै कम मात्रै मान्छेले लगाउँथे।

    दोकानमा आएर कहिलेकाहीँ हामीसँग कुरा गर्थें गाउँले। र कुराका क्रममा कसैकसैले भन्थे, ‘बर्खाका दिनमा त हामी ऐना हेरेर खाना खान्छौं।’ उनीहरूको भनाई सांकेतिक थियो। पछि मैले थाहा पाएँ– भनेजति अन्न नभएका कारण कोदाको पिठोलाई पानीसँग उमालेर अति नै पातलो बनाएर खाँदा रहेछन् उनीहरू। पातलो खोलेलाई सिलाबरको थालमा राख्दा त्यसमा आफ्नो अनुहार देखिन्थ्यो रे! गरिबीको साहित्यिक व्याख्या थियो त्यो। त्यस समयमा स्वास्थ्यचौकी र अस्पताल पनि थिएनन् गाउँघरमा। गाउँलेहरूको जीवन धामीझाँक्रीकै भरमा टिकेको थियो। तर संयोगले दावाँमा काष्ठादी औषधी (जडिबुटी) गर्ने वैद्य भने थिए।

    भिडियो:

    छुवाछुत, एकलख र बुद्धको मैत्री
    मैले दावाँमै पढें आठ कक्षासम्म। नौ–दशको पढाई त्यहाँ नहुने भएकाले सदरमुकाम गएँ। सदरमुकामकै हाइस्कुलमा नौ दश पढेर एसएलसी सकें  एसएलसि दिँदासम्म समाजमा भएको आर्थिक विभेदका कुरा उति बुझेको थिइनँ। तर समाजमा डरलाग्दो जातीय थिचोमिचोचाहिँ छ भन्ने मैले प्रष्टै बुझेको थिएँ। कुनै उच्च भनिने जातको मान्छेले सानो जातको भनिने अर्को मान्छेलाई बाटोमा भेट्यो भने सानो जातको मान्छेले पहिल्यै बाटो छोटिदिनुपर्ने र अर्कोभित्तातर्फ लाग्नुपर्ने कुरा देखे/भोगेको थिएँ। त्यतिमात्र होइन, उच्च भनिनेहरूलाई ज्युहजुरी र अभिभावदन गरिदिनुपर्ने, शीर झुकाउनुपर्ने र कहीँ सामाजिक अवसरमा जाँदा आँगनको पेटीभन्दा तलै बसिदिनुपर्ने चलन थियो!

    सुकिलामुकिला मान्छेले मैलाधैला मान्छेहरूलाई सिधै ‘तँ’ भन्थे, नामका पछाडि एकलख लगाउँथे। राम भए रामे, सिता भए सिते  वा सिती ! मैले समाजको त्यो रूप देखें। यता, मेरी आमा बौद्ध धर्म मान्नुहुन्थ्यो, त्यससँग सम्बन्धित किताबहरू पढ्नुहुन्थ्यो। र, बौद्ध धर्ममा मैत्री, दया, करुणा, क्षमा र शान्तिका कुराहरू रहेछन्। ती कुराहरू पढे–सुनेपछि समाजमा विभेद छन् भन्ने कुरो झनै प्रष्ट भयो। मान्छेमान्छेबीच करुणा, दया र समानता हुनुपर्नेमा त्यस्तो रहेनछ भन्ने बुझें। समाजका यी विभेद र शोषणले मलाई भित्रैदेखि बिझ्न थाल्यो।

    राल्फा
    नौ–दस पढ्दाताक रामेश, मंजुललगायतको राल्फा भन्ने सांगितिक समुह सांगितिक कार्यक्रम लिएर भोजपुर आइपुग्यो। राल्फा जीवनवादी र संघर्षका गीत–साहित्य रच्ने एउटा समुह थियो। राल्फा भन्ने शब्दले आफैंमा कुनै अर्थ नबोकेपनि राल्फाको उद्देश्य  प्रष्ट थियो। गीतमार्फत जीवन बदल्ने, अन्यायविरुद्ध लड्ने। सांगितिक कार्यक्रममा मंजुलले गीतको पृष्ठभूमी बताउनुभयो। मानव–मानवबीचका छुवाछुत र भेदभावका कुरा ठीक छैनन् भन्नुभयो। मंजुलको उद्घोषणकला अत्यन्तै प्रभावशाली लाग्यो। त्यही उद्घोषण र उहाँहरूका गीतले मलाई समाजका अन्याय र विभदेबारे झनै छ्याङ्ग बनाए। विभेदहरूका कारण सामाजिक र शासकीय व्यवस्था रहेछ भन्ने बुझें। व्यवस्था र परम्पराले गर्दा मान्छे–मान्छे बीच भेदभाव र उँचनीचको चलन रहेछ भन्ने लाग्यो।

    बाहुनले अपराध गरे चारपाटा मुडेर डाँडा कटाउने तर त्यही अपराध अर्को जातिले गरे अर्को जातको टाउकै कटाउने चलन त गयो नि ! यस्ता परिवर्तनहरू चानचुने होइनन्।

    उतिखेर चीनियाँ पत्रपत्रिकाहरू खुब पढ्न पाइन्थ्यो। ‘चीन सचित्र’ भन्ने रंगीन पत्रिकामा छापिएका तस्वीरहरूमा चीनियाँ विद्यार्थी, युवा र किसानहरू हाँसीखुसी काम गरिरहेका र पढिरहेका देखिन्थे। अत्याधुनिक कृषी औजार प्रयोग गर्दै खेतबारीमा काम गरिरहेका किसान देख्दा म पनि हाम्रो देशमा यस्तै भइदिए हुन्थ्यों भन्ने सोच्थें। आफूले आफ्ना गाउँठाउँमा कहिल्यै हँसिला र सुकिलामुकिला किसानहरू देख्न पाएको थिइनँ। गाउँघरमा त झुत्रे, झाम्रे र कुपोषणले ख्याउटे भएका अनुहारहरू मात्र देखिन्थे।

    स्कुलमा पढ्न जाँदा समेत बेन्च खोसाखोस गर्नुपर्थ्यो। जो पहिला गयो, उसले ओगट्थ्यो। पछि आउने तिघ्रे र बलियो पर्‍यो भने उसैले बेन्चमा उही बस्थ्यो। हाम्रा स्कुल भवनहरूमा झ्याल पनि थिएनन्। छाना चुहन्थे। कति स्कुलहरू त बर्खा लागेपछि पानी परेकै कारण छुट्टी हुन्थे। राल्फाका गीतले यिनै गरिबी र असमानतासँग लड्नुपर्ने कुरा गर्थे। गरिबीको कारण शासनव्यवस्था हो भनेर बुझाउँथे। त्यसअघि मैले रेडियो नेपालका गीत मात्रै सुनेको थिएँ। जागरणमुखी र चेतनामुखी गीत हुन्छन् भन्ने थाहा थिएन। उहाँहरु सबैले बुझिने शब्दमा सार्थक गीतहरू गाउनुहुन्थ्यो। जस्तो कि

    ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू,
    नाङ्गै मर्ने गाइने दाइका झुत्रा लुगाहरू, हाम्रा गीतहरू।’

    यस्तै यस्तै गीतहरु मैले सुने उहाँबाट। सबै गीतहरू उर्जा–उत्प्रेरणा दिने र जीउमा काँडा उमार्ने खालका हुन्थे।

    राल्फाका बारेमा पहिले–पहिले अनौठा किम्वदन्ती सुनिन्थे। लामालामा कपाल पालेका, नुहाउँदा पनि ननुहाउने र देख्दै फोहरीहरू छन् राल्फाली भन्थे मान्छेहरू। कतिले त हिप्पीसँग तुलना गर्थे राल्फालीहरूलाई। तर आम मान्छेका भन्दा थोरै लामो कपाल पालेपनि राल्फालीहरू सफा र स्नेही थिए। पहिले त रामेश दाइलगायतकाहरु रेडियो नेपालमा हुनुहुँदो रहेछ। रेडियोको शोषण नपचाएर पारिजात दिदीले विद्रोही संस्कृतीकर्मीको रूपमा सबैलाई संगठीत गर्नुभएको रहेछ। म उहाँहरूसँग निकट हुँदा भने राल्फा ब्रेक भइसकेको थियो। राल्फामा दुई फ्रन्ट थिए: साहित्यिक र सांगितिक।

    अहिले कम्युनिष्टको सरकार भए पनि सत्ता कम्युनिष्टकै छ भन्नेमा म त्यति विश्वस्त छैन। 

    राल्फा संगित र साहित्यको स्वतन्त्र विद्रोह थियो। यसमा संलग्न कसैको पनि पहिले पार्टीसँग आवद्धता थिएन। तर विद्यार्थी र बुद्धिजीविहरूको उहाँप्रतिको आकर्षण र जनतामाथिको प्रभावका कारण विस्तारै वाम शक्तिले राल्फालाई आफू निकट शक्ति ठान्यो। नेताहरूले भेट्न, बोलाउन र प्रशिक्षित गर्न थाल्यो। पहिले एकिकृत राल्फामा फुट आयो। ३० सालतिर रायन, निनु र पारिजातहरू नेकपा–चौमतिर लाग्नुभयो। मन्जुल र रामेशहरू चाहिँ कोअर्डिनेशन केन्द्र (कोके) मा लागे।

    सुस्ता–महेशपुर र राजनीतिक चेत
    चीनमा हाम्रो देशमा भन्दा तुलनात्मक रूपमा सबै कुरा राम्रो रहेछ र चीनमा कम्युनिष्टहरूले सत्ता सम्हालेका रहेछन्। जनताको शिक्षा र स्वास्थ्यका विषयलाई कम्युनिष्टहरूले प्राथमिकता दिन्छन् भन्ने लाग्यो। यता, २६–२७ सालतिर सुस्ता–महेशपुर काण्ड चर्कियो। म दस कक्षमा पढ्दाताकको घटना थियो त्यो। भारतले सीमा मिचेको घटनाविरुद्ध नेपाली विद्यार्थीहरू जागेका थिए। बिराटनगरमा पढेर फर्कने विद्यार्थीहरूले गाउँगाउँ पुगेर यो कुरा उचाल्न थालेका थिए।

    एसएलसी सकेर इन्टरमेडीएट (प्रविणता प्रमाणपत्र तह) पढ्न म धरान आएँ। त्यतिखेर भोजपुर जिल्लामा कमर्स विषयको पढाई नहुने भएकाले धरान आउनु मेरो बाध्यता थियो। भोजपुरमा आर्टस् मात्र पढाई हुन्थ्यो। धरानमा मेरो मामाघर भएकाले पढ्न सहज हुने भयो। धरान त्यस समय राजनीतिक चेतनाको थलो थियो। बिराटनगर कलेज र धरान कलेजको पूर्वमा खुबै चर्चा हुन्थ्यो त्यतिखेर। कलेज छिरेपछि कवि गोष्ठीहरूमा कविता सुनाउने अवसर पाउन थालें। राजनीति र साहित्यको सम्बन्ध बुझ्न थालें। राल्फाको तातोले छोएको मलाई गीत–कवितामार्फत पनि समाजलाई प्रभाव पार्न सकिन्छ भन्ने बुझें। अब विचार–विमर्शहरु बढ्न थाले। क्याम्पसमा त स्ववियुको राजनीति छँदै थियो। नेताहरु रातीराती मार्क्सवाद र वर्ग–संघर्षका राजनीतिक कक्षाहरू चलाउन थाले। राजनीतिक व्यवस्था परिवर्तन गरेर मात्रै अन्य खालका सामाजिक परिवर्तन सम्भव छ भन्ने कुराहरु मैले बुझें।

    भिडियो:

    गाउँगाउँबाट उठ्दै
    यस्तै सरसंगतबाट मैले हाम्रो देश गाउँ नै गाउँको देश रहेछ भन्ने बुझें। देश फेरिनुपर्छ र यो फेर्ने काम हाम्रै हो भन्ने बुझें। उतिखेर नेपाली कम्युनिष्ट राजनीतिमा चिनियाँ र रसियाली गरी दुई कम्युनिष्ट धारको प्रभाव थियो। रसियामा औद्योगिकरण धेरै भएकाले त्यहाँ क्रान्तिको नेतृत्व मजदुरहरूले गरे, चीनमा कृषिकर्म बढी भएकाले त्यहाँ किसानहरुको क्रान्तिमा सक्रिय अगुवाई रह्यो। हाम्रो त गावैँगाउँको देश हो। त्यसो भएको हुनाले किसानहरूले क्रान्तिको नेतृत्व गर्नुपर्छ। र, परिवर्तनको सुरूवात गाउँबाट हुन्छ भन्ने लाग्यो। र, २२ वर्षको उमेरमा मैले ‘गाउँगाउँबाट उठ’ भन्ने गीत लेखें। त्यो गीतलाई संगीत गरेर म आफैंले गाएको थिएँ। भोजपुर कलेजको एउटा कार्यक्रममा मैले त्यो गीत गाएँ।

    हाम्रा नेताहरूमा अझै पनि व्यक्तिगत चिन्तन र सामन्ती संस्कारका प्रभावहरु बाँकी छन्। मेलमिलापका कुरामा कुरामा तुषका रूपमा बाँकी रहेको संस्कारले कहिँ न कहिँ अप्ठ्यारो पारेको छ।

    धरानमा पढ्दाखेरी मैले लुसुनको जीवनी पढ्न पाएँ। डाक्टर पढ्न हिँडेका लुसुनले ‘मान्छेको शरीररको रोग हटाउने भन्दा पनि मष्तिस्क (विचार) बदल्नु आवश्यक रहेछ। विचार स्वस्थ भए पो तपसिलका कुरा स्वस्थ्य भएर आउने रहेछन्’ भनेर साहित्यमा लागेको कुरोले गहिरो प्रभाव छाडेको थियो। मलाई त्यस कुराले सोच्न वाध्य बनायो। अनि आफ्ना अग्रज राजनीतिज्ञहरूले पनि गाउँले र किसानहरूको कुरा बारम्बार उठाएको सुनेको थिएँ। सम्भवतः यिनै सबै कारणहरूको एकमुष्ठ प्रतिक्रियास्वरुप गाउँगाउँबाट उठ गीत जन्मेको थियो ।

    त्यो गीतलाई संगीत गरेर म आफैंले गाएको थिएँ। कुनै सहृदयीले मेरो गीतका शव्द र लय सहित रामेश दाइलाई सुनाइदिएछन्। रामेशलाई राम्रो लागेछ। र, उहाँले त्यो गीत गाउन थाल्नुभएछ। रामेश दाइहरू हामीभन्दा वयस्क हुनुहुन्थ्यो। उहाँले मेरो गीत गाएपनि मेरो उहाँसँग एकोहोरो परिचय मात्र थियो। व्यक्तिगत चिनारी थिएन। रामेशले मेरो गीत गाएताक उहाँहरूको टोली काठमाडौंमा सक्रिय थियो।

    म धरानको पढाइपछि भोजपुर दावाँ नै फर्के‌। त्यसपछि २०३२ सालदेखि म शिक्षण पेशमा संलग्न भएको थिएँ।  रामेशले मेरो गीत गाएपनि उहाँसँग मेरो सम्बन्ध पत्रबाट बिस्तारै बढ्न थाल्यो। ३४ सालमा आएर मात्र मेरो गीतलाई चर्चित बनाउने रामेश श्रेष्ठसँग मेरो भेट भयो। रामेश दाइले ले मलाई पूर्वको कोअर्डिनेसन केन्द्र र पूर्वको रातो झण्डा समुहलगायतका कम्युनिष्ट दस्तावेजहरू ल्याएर पढ्न दिनुभयो। त्यसले कम्युनिष्ट आदर्श बोक्नेहरूप्रति श्रद्धा र कम्युनिष्टहरूप्रति झनै मोह बढेर गयो।

    फेरियो त देशको मुहार ?
    विकाश र परिवर्तन भनेको नियमित प्रक्रिया हो। परिर्वतनको समय लामो हुन्छ। सांस्कृतिक असमानता र लामो समयदेखि स्थापित विभेद तत्कालै नहट्ने रहेछन्। जहाँसम्म राजनीतिक प्रणालीको कुरो छ, त्यो त हट्यो नि। हामीले राजाको जेठो छोरो नै राजा हुन्छ भनेर पढेका थियौं। राणाजीका पालामा उनीहरुका छोरानातिलाई गर्भैमा जर्नेल र कर्नेलको पदवी दिने चलन थियो। जन्म र जातले ठूलो र सानो हुने सामाजिक चलन थियो। यस्ता कुराहरूमा त बदलाव त आयो नि! त्यस्तो राजनीतिक व्यवस्थालाई त हामीले ढाल्यौं नि। कमसेकम जातैले कोही ठूलो र सानो भन्ने कुरो त नीतिगत रूपमा त हट्यो नि । बाहुनले अपराध गरे चारपाटा मुडेर डाँडा कटाउने तर त्यही अपराध अर्को जातिले गरे अर्को जातको टाउकै कटाउने चलन त गयो नि !

    यस्ता परिवर्तनहरू चानचुने होइनन्। म समाजशास्त्री र विश्लेषक त होइन, तर मेरो भोगाईमा पहिलेको तुलनामा आर्थिक रूपमा समाज समाज केही समृद्ध त भएको छ। यसमा विदेशी रेमिटेन्सको कृतिम सुख र समृद्धी पनि छ, तर यतिमा हामीले अल्झनु भएन। हामीले राष्ट्रिय उत्पादनमा आधारित स्वनिर्भरता खडा गर्न सकेनौं। यसका लागि त हामी फेरि पनि जुर्मुराउनु नै पर्छ। गीतले भनेजस्तै अथवा आम नेपालीले चाहेजस्तै सम्पूर्णतामा त देश बदलिएको छैन।

    विचार, कला र साहित्यलाई जोड्ने विषयमा अहिले पार्टीमै समेत संकट छ। पहिले रातीराती वैचारिक कक्षा हुन्थे। अचेल हुन छाडे। कार्यकर्ता र नेताहरुलाई त्यसबारे चासो छैन। भुत्ते हुँदै गएका छन्।

    कम्युनिष्ट सत्तासँग प्रश्नहरू
    अहिले कम्युनिष्टको सरकार भए पनि सत्ता कम्युनिष्टकै छ भन्नेमा म त्यति विश्वस्त छैन। हामीले पढे–बुझेअनुसार कम्युनिष्ट सत्ता हुनका लागि सेना र कर्मचारीतन्त्र जनमुखी हुनुपर्छ। सेना त लोकतान्त्रिक प्रक्रियामा समाहित भएको बताइँदैछ। तर सरकारको निर्णयलाई ब्युरोक्रेसीले मानेको छ कि छैन भन्ने प्रश्नहरु छन्। यो पनि कम्युनिष्ट सरकारलाई चुनौती हो। अर्को कुरो, भूगोलका कारण पनि हाम्रा चुनौती छन्। त्यसमाथि, विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरूले हामीलाई बाँधेको छ।

    जेलनेल भागेका र युद्ध लडेर आएका नेताहरू सरकारमा गएका छन्। तर पनि अपेक्षित परिवर्तन हुन सकेका छैनन्। यसको कारण पनि छन्। राजनीतिक परिवर्तन क्षणका क्षण हुनसक्छन्। एक दुई दिन, दुई चार वर्ष र दस–बीस वर्षमा राजनीति परिवर्तन सम्भव छ तर संस्कार र संस्कृतिगत परिवर्तन हुन धेरै समय लाग्छ। हाम्रा नेताहरूमा अझै पनि व्यक्तिगत चिन्तन र सामन्ती संस्कारका प्रभावहरु बाँकी छन्। मेलमिलापका कुरामा कुरामा तुषका रूपमा बाँकी रहेको संस्कारले कहिँ न कहिँ अप्ठ्यारो पारेको छ। कम्युनिष्ट पार्टीको सदस्य हुनेबित्तिकै हिजोका सामन्ती चरित्र त एकाएक बदलिने त होइन नि! एउटा आदर्शले प्रेरित भएर कोही क्रान्तिमा होमिएला तर क्रान्तिकै क्रममा उसले आफूलाई क्रान्तिको मसिहा ठान्न पनि सक्छ। आफूलाई राजा घोषणा गर्न सक्छ। यसरी उसमा भएको सामन्ती स्वभाव बाँकी रहन्छ। नेताहरूमा अहिले देखिएको द्वन्दको कारण व्यक्तिगत अहंम् र विचारको टकराव दुबै होला। र, उहाँहरूमा मार्क्सवादलाई नेपालको सन्दर्भमा प्रयोग गर्ने दृष्टिकोणमा केही असहमती पनि थिए होलान्। किनकि नेकपामा मार्क्सवादलाई नेपालको सन्दर्भमा प्रयोग गर्ने सवालमा सर्वमान्य सिद्धान्त त बनिसकेको छैन।

    पूँजिवादी शक्तिहरूका अवरोधबीच कम्युनिष्टहरूले सामाजिक न्यायको आन्दोलनलाई उठाई नै रहे।भर्खरै भारतको बिहारमा भएको विधानसभा निर्वाचनमा पनि कम्युनिष्टहरूले जिते।

    मार्क्सवादका विधि र क्रान्तिकारिता: सधैं सान्दर्भिक
    सोभियत संघको पतनपछि एक ध्रुवीय विश्वको घोषणा गरियो। अमेरिकालाई सर्वसक्तिमान ठानियो। पुँजीवादी शासन व्यवस्थालाई आदर्श ठान्नेहरू पनि धेरै भए। तर त्यस्तो अवस्थामा पनि आफूलाई कम्युनिष्ट नै भनेर चीनका जनतालाई भोकमरी र गरिबीबाट उठाएर आफ्नो साख जगायो। अहिले उ अमेरिकालाई टक्कर दिँदैछ। यसबीचमा अवधिमा पेरु, नेपाल र भारतमा पनि शसस्त्र क्रान्ति भए। नेपालमा मात्र होइन, अन्यत्र पनि कम्युनिष्ट पार्टीहरू चुनाव जितेर सत्तामा आए। पूँजिवादी शक्तिहरूका अवरोधबीच कम्युनिष्टहरूले सामाजिक न्यायको आन्दोलनलाई उठाई नै रहे। भर्खरै भारतको बिहारमा भएको विधानसभा निर्वाचनमा पनि कम्युनिष्टहरूले जिते।

    मार्क्सवादबाट निर्देशित मानवोचित, न्याय स्वतन्त्रता र भातृत्वको अभियान हो कम्युनिष्ट आन्दोलन। राजनीति वर्गीय हुन्छ तर एउटा वर्गले अर्कोलाई अधिनस्थ ठान्दा र आफू र आफ्नालाई शासक ठान्दा कम्युनिष्टहरू इतिहासमा चिप्लेका छन्। पोलपोट र स्टालिनको तानाशाही पच्छ्याएर कम्युनिष्ट आदर्शलाई बदनाम गरे। कम्युनिष्ट आन्दोलन नै हो जसले आठ घण्टा काम र आठ घण्टा आराम भन्ने सिद्धान्त स्थापित गर्‍यो। पूँजीवादी शासन व्यवस्था अपनाउनेहरू पनि कतिपय कम्युनिष्ट विचार मान्न बाध्य छन्। कम्युनिष्टले वकालत गर्ने सामाजिक न्यायका विषयलाई पूँजीवादीहरुले स्विकारेका छन्। यसो हुँदा मानव स्वतन्त्रता र मानव अधिकारका कुराहरूलाई पनि स्थान दिँदै कम्युनिष्ट आदर्श बचाउन सकिने रहेछ भन्ने संसारको इतिहासले पुष्टी गरेको छ।

    ‘मास्टर सभापति’
    सेवाकालिन शिक्षककै रूपमा रहँदा म सानोठिमी क्याम्पस भक्तपुरमा स्नातक पढ्न (३२ सालदेखि ३५ सालसम्म) आएँ। सरकारकै पैसामा तालिम/पढाई चल्दै थियो। त्यतिखेर नै ३५–३६ को विद्यार्थी आन्दोलन भयो। त्यो आन्दोलनको प्रभावस्वरूप पंचायती व्यवस्थाले खुकुलोपन अंगिकार गरेको थियो। हामी त्यस आन्दोलनमा थियौं। साथीहरूले भने, ‘यहाँ पढुन्जेल तिमी विद्यार्थी हौ। र, उता स्कुलमा गएर पढाउँदा मात्र शिक्षक हौ। यसर्थ, स्ववियुको चुनावमा उठ।’ यसरी म स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल पाँचौंको तर्फबाट चुनाव जितेर स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भएँ। साथै म अनेरास्वियूको पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको सदस्य पनि भएँ।

    बजारिया, बिकाउ, वासनायुक्त प्रेम होइन, हामी आदर्श प्रेमका कुरा गर्थ्यौं। समाज हामीले सोचेको जस्तो आदर्शमय नभएका कारण पनि हाम्रा गीत नबजेका हुन् कि। पूँजीवादी उपभोक्तावादले गिफ्ट र फूलका बुकेमा प्रेम देख्छ।

    जनसंगीत र ‘प्रेमगीत’
    हामी जनसंगीत र प्रगतीशिल गीतसंगीत भनेर हिँड्यौं। त्यसमै एकदम एकोहोरो भएर लाग्यौं। शरीर प्रेमका गीत (प्रेमगीत) त ठ्याक्कै गाएनौं। त्यो कदम त्यस समयको माग थियो क्यार। अन्यथा, हाम्रो विवेक, गति, निशाना र विशृंखलित हुन्थ्यो होला। तर, अहिले फर्केर हेर्दा हामीले जीवनलाई अलि समग्रतामा हेरेनछौं कि भन्ने लाग्छ। किनभने जनपक्षीय गीतसंगीतमा काम गरेका धेरै साथीहरू अहिले मिडियाको पहुँचबाट टाढा छन्। अनि हाम्रा गीतहरू थोरै मान्छेले सुनिरहेका छन्।

    प्रेम त जीवनमा हुन्छ नै। बजारिया, बिकाउ, वासनायुक्त प्रेम होइन, हामी आदर्श प्रेमका कुरा गर्थ्यौं। समाज हामीले सोचेको जस्तो आदर्शमय नभएका कारण पनि हाम्रा गीत नबजेका हुन् कि। पूँजीवादी उपभोक्तावादले गिफ्ट र फूलका बुकेमा प्रेम देख्छ। हामीले त्यस्तो नक्कल जाननौं कि! आदर्शमय प्रेम बुझाउन सकेनौं कि! अर्को कुरो, मिडियालाई उपयोग गरेर जानुपर्‍थ्यो हामी। त्यसो गर्दा हामी व्यापक जनातमाझ जान सक्थ्यौं। हामीले कल्पेको आदर्श प्रेम र समाजको ज्ञान पनि दिन सक्थ्यौं। त्यसमा हामी चुक्यौं क्यार!

    भिडियो:

    हामीले गाउने दिनहिन र गरिबका गीत हुन्। शोषण र अत्याचारविरुद्ध लड्न प्रेरणा दिने गीत हुन्। जीवनमा संकट पर्दा भरोसा दिन गीतहरू हुन् तर हाम्रा गीत एउटा सानो घेराभित्र मात्र सिमित रह्यो। सम्भवत: हामीले मायाप्रेमको सुन्दर रूप प्रस्तुत गर्न सकेनछौं। हामीले कमसेकम बालगीत र राष्ट्रीय गीतहरु मात्रै गाएर पनि रेडियो छिर्नुपर्थ्‍यो। रेडियोको उभार आउँदा त्यसो गर्न सकिएन र पछि परेको पर्‍यै भयौं। अहिले जनकलाकारहरूलाई बाँच्नै गाह्रो भयो, गीत रेकर्ड गराउन असहज भयो। तीनै तहका सरकारमा वाम कार्यकर्ताहरूको प्रतिनिधित्व छ तर कलाकारहरूको स्थिती दयनिय छ। यो लाजमर्दो अवस्था हो।

    हामीले कमसेकम बालगीत र राष्ट्रीय गीतहरु मात्रै गाएर पनि रेडियो छिर्नुपर्थ्यो। रेडियोको उभार आउँदा त्यसो गर्न सकिएन र पछि परेको पर्‍यै भयौं।

    विचार, कला र साहित्यलाई जोड्ने विषयमा अहिले पार्टीमै समेत संकट छ। पहिले रातीराती वैचारिक कक्षा हुन्थे। अचेल हुन छाडे। कार्यकर्ता र नेताहरुलाई त्यसबारे चासो छैन। भुत्ते हुँदै गएका छन्। उतिखेर त हामीलाई कम्युनिष्ट नेताहरुले कक्षा लिन्थे। र, पो त न्याय र समताका गीतहरू जन्मन्थे। वैचारिक छलफलहरू पनि हुँदैनन्। अहिले पनि न्याय, समताका गीत लेखिरहेछु।

    ‘परदेशमा मध्यराती दुख्नु मुटु दुख्यो,
    गाउँ सम्झेर दुख्यो, घर सम्झेर दुख्यो।
    दिदी घाँसको भारीसँगै लड्नुभयो, होला।’

    यस्ता गीतहरू लेख्दैछु। हिजो सामन्तका विरुद्ध लडौं भनेर गीतमा आग्रह गर्थें। आज कोमल रूपमा गरिबीको चित्रण गरेका गीत लेख्दैछु।

    कम्युनिष्टहरूले आलोचना र आत्मालोचना दुबैलाई पालना गर्नुपर्छ भनेर हामीलाई पढाउँथे हाम्रा कम्युनिष्ट नेताहरु। र, आदर्श र अभिष्ट एउटै हो भने कम्युनिष्ट नेतृत्वले आफूहरूबीच आलोचना र आत्मालोचना गर्न सक्नुपर्छ। जनताले त कम्युनिष्टलाई पटक्कै पिच्छे भोट हालेका छन्। १२ चिरा परे पनि कम्युनिष्टलाई नै रुचाएका छन्।

    विचारको संकट
    मार्क्सवादीहरुले मार्क्सवाद पच्छ्याउनुपर्छ, त्यसको समयअनुसार उचित प्रयोग गर्नुपर्छ। कम्युनिष्टहरूले आलोचना र आत्मालोचना दुबैलाई पालना गर्नुपर्छ भनेर हामीलाई पढाउँथे हाम्रा कम्युनिष्ट नेताहरु। र, आदर्श र अभिष्ट एउटै हो भने कम्युनिष्ट नेतृत्वले आफूहरूबीच आलोचना र आत्मालोचना गर्न सक्नुपर्छ। अरुलाई हेर्ने र आफूलाई नहेर्ने बानी त्याग्नुपर्छ। नेपाली जनताहरू किन कम्युनिष्ट आदर्श र विचारप्रति अति समर्पित छन् होला? जनताले त कम्युनिष्टलाई पटक्कै पिच्छे भोट हालेका छन्। १२ चिरा परे पनि कम्युनिष्टलाई नै रुचाएका छन्। जनमत जहिल्यै कम्युनिष्टका पक्षमा हुन्छ, सरकारमा भने उ हारिराखेको हुन्छ। तैपनि जनताको कम्युनिष्ट मोह घटको छैन। यसर्थ, जनताले हामीसँग के खोजेका होलान् भन्ने सोचेर नेताहरुले माटो समात्दै आत्मालोचना गर्नुपर्छ।

     

    नवसमान्तवादी र सामन्तवादी चिन्तनले ग्रस्त भई ‘म ठूलो, मै शासक’ भन्ने सोँच राख्नु त जनमतको अपमान हुन्छ। ‘यहाँबाट फुटें भने अर्को भाग खान सक्छु, हङ पार्लियामेन्ट भएपछि त जताबाट भएपनि एउटा मन्त्री पड्काउन सक्छु’ भन्ने चिन्तन कम्युनिष्ट नेताहरुमा हुनु हाम्रा लागि दुर्भाग्य हो। हामीलाई त बिताए, बिताए, आउँदो पुस्तालाई पनि यिनले बिताउनेछन्।

    प्रकाश अजातसँगको कुराकानीमा आधारित । तस्वीर/भिडियो: महेश पाण्डेय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.