स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ मेरो आदरणीय दिदी मात्र हुनुहुन्न, मेरो प्रेरणा र प्रोत्साहनका स्रोत पनि हुनुहुन्छ। करिब ७६ वर्ष पहिले मेरो हात समातेर उहाँले मलाई सत्ममार्गमा डोहोर्याउनुभएको हो। मैले जानेसम्म उहाँ एक जना चेतनशील, जागरुक, कर्तव्यनिष्ठ, साहसी अगुवा क्रान्तिकारी नेता हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘हामी खानका लागि बाँच्ने होइन, बाँच्नका लागि खाने हो।’ सुन्दा सामान्य लाग्ने यस भनाइमा निहित गहन विचारको अर्थ र महत्व बुझेका समकालीन केही अगुवा क्रान्तिकारी महिलाहरूमा स्नेहलता दिदी पनि एक हुनुहुन्छ। खानकै लागि उहाँले कहिल्यै पनि सरकार वा अन्य कुनै शक्तिसँग सम्झौता गर्नुभएन, बरु दुःख र अभावका बीच नै आफ्नो समय बिताउनुभयो। उहाँ कर्तव्यनिष्ठ महिलाको एक उम्दा उदाहरण हुनुहुन्छ।
पहिलो पकट मैले स्नेहलता दिदीलाई वि.संं २००१ सालतिर भाजु दिवाकार राजभण्डारीको घरमा देखेकी थिएँ। राजभण्डारी एक कट्टर राणाशासनविरोधी व्यक्ति मात्रै नभई शिक्षाप्रेमी र समाजसेवी हुनुका साथै अदम्य साहसी मानिस पनि हुनुहुन्थ्यो। उहाँको काठमाडौंको न्हकन्तलास्थित चाःबहालको घर राणाशासनविरुद्ध गरिने कामका योजनाकारहरूको अखाडा नै थियो। उहाँले त्यस समयमा आफ्नै कोठामा राखी ५–६ जना केटाकेटीहरूलाई पढाउनुभएको थियो। पछि उहाँको घरसँगै जोडिएको एउटा भत्केको सानो घरको माटो, काँचो इँटा र काठहरू पन्छाई सुकुल ओच्छ्याएर ती केटाकेटीहरूलाई त्यसमा सारी पढाउनुभएको थियो। तिनै केटाकेटीहरूमध्ये म पनि एक थिएँ। यो त्यसबेलाको कुरा थियो, जतिखेर मुलुकमा स्कुल र पुस्तकालय खोल्न पाइँदैनथ्यो।
चिनियाँलालले खोलेको पहिलो प्राइभेट स्कुल
ज्योतिषी माधवराज जोशीकी छोरी तथा शहीद शुक्रराज जोशी शास्त्रीकी बहिनी चन्द्रकान्ता जोशी मल्लले कन्या पाठशाला स्थापना गर्नका निम्ति राणाशासकसँग अनुमति मागेकी थिइन्। सुरुमा त उनले अनुमति पाइनन् तर पनि उनले हिम्मत हारिनन् बरु कोसिस गर्दै रहिन्। तत्कालीन श्री ३ महाराजहरू श्री ३ चन्द्रशमसेर, भीम शमसेर र जुद्ध शमसेरसित एकपछि अर्काेसँग झण्डै ‘वाकयुद्ध’ नै गरेर अन्ततः उनलाई कन्या पाठशालाको अनुमति प्राप्त भयो। १९९० सालमा उनले कन्या पाठशाला स्थापना गरिन्। शहीद चिनियाँलाल सिंहले खीःलस्थित आफ्नो घरमा वि.सं. १९९३ सालतिर ‘महावीर इन्स्टिच्युट’ नामक प्रथम प्राइभेट स्कुलको स्थापना गरेका थिए। राणाकालको उनको सो कार्य स्वीकार्य भएन। पछि उनी पनि १९९७ सालको काण्डको बेला पक्राउमा परे। उनलाई सर्वस्वहरसहितको आजीवन कारावासको सजाय भयो। कारागारभित्रै वि.सं. २००१ सालमा उनले शहादत प्राप्त गरे।
मुलुकमा राजनीतिक चेतना जगाउने उदेश्यले, अति गोप्य तरिकाले स्थापित ‘नेपाल प्रजा परिषद’ का संस्थापकहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज जोशी शास्त्री (शुक्रराज प्रजा परिषदको सदस्य थिएनन्) समेत चार जनालाइै ‘गाथ गादी ताकेको’ गम्भीर राजद्रोहको अभियोग लगाई वि.सं. साल माघ महिनामा मृत्युदण्ड दिइएको थियो । सोही क्रममा समाजमा विद्यमान अन्धविश्वास एवम् रुढीवादी परम्परामा सुधार ल्याउन प्रयास गरेको आरोपमा अन्य थुपैैलाई पक्री जेल कोचियो। कसैलाई सर्वस्वहरणसहित आजीवन कैद, कसैलाई देश निकाला र कसैलाई जरिवानासहित माफी माग्न लगाउनेसम्मका सजायहरू भयो। राणाशाहीको यस्तो दमनकारी कामबाट आक्रोशित युवायुवतीहरूले राणाशासनजको विरोध भित्रभित्रबाट बढाउन सुरु गरे। राणाशासनविरोधी त्यस्ता युवाहरूमा स्नेहलता दिदी पनि हुनुहुन्थ्यो।
त्यतिबेला समाचारको स्रोत भन्नु नै गोर्खापत्र र भारतको अल इण्डिया रेडियो थियो। यो त्यो समय थियो, जतिबेला राजधानी काठमान्डुमा समेत रेडियो भित्रिएको थिएन, केवल केही राणाहरू र उनका निकटका खास मान्छेहरूसँग मात्र रेडियो हुन्थ्यो। कसैकसैले राणाका आफन्तहरूकहाँ पुगी अल इण्डिया रेडियो सुन्न पाउँथे र त्यही नै हाम्रो ‘सत्य समाचार’को स्रोत हुन्थ्यो। अल इण्डिया रेडियोबाट नेपालको बारेमा जे समाचार प्रसारण भयो, त्यसैलाइै आधार मानी राणाशासनका विरुद्ध छलफल गर्ने कार्य हुन्थ्यो। त्यसरी विरोधका कार्यक्रमहरू तयार पार्न छलफल गर्नेेहरूमा भाजु दिवाकर राजभण्डारी, प्रेमबहादुर कंसाकार, कामाक्षादेवी राणा, स्नेहलता गुरुवाचार्य, भुवनलाल प्रधान, मथुरामान श्रेष्ठ अत्यन्त सक्रिय थिए। पम्पलेट र पोस्टर लेख्ने र त्यसको लिथो गरी ठीक पार्ने सबै काम भाजु दिवाकर राजभण्डारीको घरमा गरिन्थ्यो। उता सरकारले धरपकडको कार्य पनि अत्यन्तै तीव्र पारेको थियो तर सामाजिक जागरणका ती अगुवाहरूले त्यसको पर्वाह नगरी राणाशासनविरोधी गतिविधि झन् तीव्र पार्दै लगेका थिए।
शान्ति निकुञ्ज या क्रान्ति निकुञ्ज?
विसं. २००२ सालमा स्थापित शान्ति निकुञ्ज विद्यालयका १०–१२ जना केटाकेटी जसलाई स्कुलका शिक्षकहरूले अत्यन्त विश्वास गरेका थिए–ले स्कुलको पढाइका साथै राणाहरूले गर्दे आएका दमन, शोषण, अन्याय, अत्याचार आदिबारे अन्य विद्यार्थी एवम् सर्वसाधारणलाई समेत जानकारी दिने गर्दथे। त्यस्तो जानकारीका साथै उनीहरूले मानव अधिकार, नागरिक अधिकार, शिक्षाको महत्व, बहुदलीय, प्रजातन्त्र आदिका बारेमा अन्य विद्यार्थी एवं सर्वसाधारणलाई समेत जानकारी दिने गर्दथे। राणाशासनको विरोधमा मर्न, मेट्न तयार रहेका ती विद्यार्थीहरूमा एक जना म पनि थिएँ। पोस्टर टाँस्ने, पम्प्लेट छर्ने, मास्टरहरूले अर्हाएको गोप्य काम गर्ने, खबर ल्याउने र लैजाने कार्य पनि केटोकटीहरूले नै गर्ने गरेका थियौँ। यस्ता कार्यहरूमा स्नेहलता दिदीको सक्रिय सहभागिता रहन्थ्यो।
एक पटक त शान्ति निकुञ्ज विद्यालयका सबै शिक्षकहरूलाई राणाशासनका प्रहरीले पक्रेर लगेको थियो। राजा त्रिभुवनले समेत उक्त स्कुललाई ‘शान्ति निकुञ्ज होइन, क्रान्ति निकुञ्ज हो’ भनेका थिए। उनी स्कलुका मास्टर र विद्यार्थीहरूबाट निकै प्भावित भएका थिए र त्यसवापत उनले पछि करिब १८ रोपनी जग्गा स्कुललाई उपलब्ध गराएका थिए। राणाशासनको अन्त्य गरी भारत प्रवासमा रहेका राजा त्रिभुवनलाई नेपाल फर्काई, पुनः राजगद्धी सुम्पनुमा हामी विद्यार्थी र हाम्रो स्कुलको महत्वपूर्ण भूमिका थियो। यसमा पनि स्नेहलता दिदीको अप्रतक्ष्य तर उल्लेखनीय भूमिका थियो। विसं. २००३ सालतिर मासं गल्लीस्थित प्रेमबहादुर कंसाकारको घरको छिँडीको ठूलो दलानमा उनकै अगुवाईमा ‘प्रदिप पुस्तकालय’को स्थापना भएको थियो। यो पुस्तकालय स्थापनामा पनि स्नहेलता दिदीको सक्रिय सहभागिता थियो। पुस्तकालय स्थापनाको कुरा सरकारले थाहा पाएपछि प्रेमबहादुर कंसाकारलाई हत्कडी लगाई लगेको थियो।
आफैँ बत्तिमुनिको अँध्यारो ! शिक्षाको त्यत्रो महत्व बुझ्नुभएको, शिक्षा जीववनको मात्र नभई राष्ट्रकै मेरुदण्ड मान्नु हुने अनि समाजमा शिक्षाको ज्योति फैलाउन ज्यानको बाजीसमेत लगाएर संघर्षमा होमिनुभएकी स्नेहला दिदीले स्कुल भर्ना भएर औपचारिक शिक्षा भने हासिल गर्न पाउनुभएन। सानै उमेरमा पितृशोक परेको अनि भर्खर किशोरी अवस्थामा प्रवेश गरेको समयमा आमाले पनि संसार त्यागेकीले दुई भाइ विष्णुगोपाल र रितेन्द्रगोपाल गुरवाचार्यलाई लिएर दिदी आफ्ना माइला बुबाआमा पूर्ण गोपाल गुरुवाचार्य र सुनमाया गुरुवाचार्यको शरणमा बस्नुभयो। माहिला बाआमाका चार भाइ छोरा थिए, उनीहरू पनि त्यतिखेर सानै थिए। ६ जना भाइहरूको पढाईलेखाई, स्याहारसुसार, पकाउने, भाँडा माझ्ने, लुगा धुने आदि सम्पूर्ण घर गृहस्थी स्नेहलता दिदी एक्लैले चलाउनुपर्थ्यो। धेरै वर्षसम्म उहाँले आफूले चाहेको जस्तो खान, लगाउन वा बस्न कहिल्यै पाउनुभएको थिएन।
माहिला बुबा एक्लैको कमाइमा आठजनाको परिवारको पालन पोषणा गर्नुपर्ने हुन्थ्यो। यसले गर्दा स्नेहलता दिदीले चाँडै नै अत्यन्त व्यवस्थित रूपले अनि कम खर्चमै पनि राम्ररी घर चलाउने कुुशलता हासिल गर्नुभएको थियो। उहाँ एउटा तीन मुखे चुल्होमा भुस र थोरै दाउरा मिसाई आगो बालेर खाना पकाउनुहुन्थ्यो। बिहान साँझ सधैँ चार तल्लमाथिसम्म गाग्रोमा पानी ओसार्नु हुन्थ्यो। उहाँ सधैँ ६ जना भाइहरूको भविष्य सपार्नमा नै तल्लीन हुनुहुन्थ्यो। यसले गर्दा पठनपाठनबाट अमूल्य ज्ञान हासिल गर्ने बाल्यकिशोर अवस्थाको सूवर्ण समय उहाँले आफ्ना लागि खर्चिन पाउनुभएन। उहाँको जीवन किताबी ज्ञान सँगाल्नुभन्दा व्यवहारिक ज्ञान बटुल्दै अघि बढ्यो। यसको एउटा दिगो प्रभाव के भयो भने उहाँमा ‘कर्तव्य पालन गर्नु नै जीवनको सार हो’ भन्ने अघोषित ‘स्वमान्यता’ (सेल्फ कन्भिक्सन) विकसित हुँदै गयो।
विसंं २००२ सालतिर म शान्ति निकुञ्ज विद्यालयमा ठूलो वर्णमाला किताब पढ्थेँ। त्यतिबेला म अक्सर दिनको पटकपटकजसो दिदीकहाँ जाने गर्दथे। कहिलेकाहीँ त म स्कुलबाट भागेर पनि जाने गरेको थिएँ। मलाई मानौँ उहाँको संगत एक किसिमको नशा लागेजस्तो पो थियो। उहाँ भने जहिले पनि घरको काममा व्यस्त हुनुहुन्थ्यो। बेलाबेलामा उहाँ ‘तिमीलाइ मन पर्ने’ भन्दै आगोको भुंग्रोमा आलु पोलेर मलाई खुवाउनुहुन्थ्यो। एकदिन म उहाँको घरमा जाँदा उहाँ लुगा धोइरहनु भएको थियो। उहाँको अगाडि मोटो बानाको सेतो खाले दौरा सुरुवाल, खोल, तन्ना आदिको थुप्रो देखेर म तर्सिएको थिएँ–यतिका धेरै लुगा एक्लैले कसरी धुने र कहिले सुकाइसक्ने होला!
उत्तरदायित्व र इन्क्लाब
उहाँ परालको खरानी राखेर उमालेको पानीलाई पातलो कपडाले छानेपछि बनेको कालो झोलमा लुगा भिजाउँदै, मिच्दै, दल्दै र निचोर्दै गरिरहनुभएको मैले हेरिरहेको थिएँ। त्यो दृश्य म अहिलेसम्म पनि सम्झन्छु र भावुक हुन्छु। म बिर्सन सक्दिनँ, त्यतिबेलाको स्नेहलता दिदीलाई–भर्खर चौध पन्ध्र वर्षको कलिलो शरीर, कट मिलेको गहुँगोरो अनुहार, कमलको पातजस्तो भावपूर्ण एक जोडी आँखा अनि छाँट परेका हात खुट्टा भएकी एउटी किशोरी आफूले भर्खर धोएका बाक्लो खाले तन्नकाहरू निचोर्न हातले नभ्याएकाले खुट्टाले च्यापेर निचोरिरहनुभएको थियो! सुन्ने मानिसलाई कथाजस्तो लाग्ने यसरी पत्याउनै नसकिने गरी परिवारको जिम्मेवारी उठाउन उहाँले कति दुःख, कष्ट र असहजता व्यहोर्नुपरेको थियो होला।
स्नेहलता दिदीका सम्बन्धमा मलाई आश्चर्य केमा लाग्छ भने घरायसी जिम्मेवारीको त्यति ठूलो बोझ र जहिल्यै भ्याई नभ्याई काम गरिरहनु पर्ने विवशताबीच पनि उहाँले त्यति सानो उमेरमै अविश्वसनीय लाग्ने ऐतिहासिक कार्यहरू सम्पन्न गर्न आफ्नो सीमित समय कसरी व्यवस्थित गर्नुभएको थियो होला? सात सालको परिवर्तन हुनु पहिलेसम्म राणा परिवारको हुकुमी शासनकाल कत्तिको अत्याचारी, दमनकारी, शोषणकारी र जनविरोधी थियो भनेर पछिल्लो पुस्ताका मानिसले त कल्पना पनि गर्न सक्दैनन्। सबै किसिमबाट अधिकारहीन जनता अशिक्षाको तुवाँलोमा पशुवत् जीवन बिताइरहेका थिए। समाज अन्धविश्वास र रुढीवादी परम्पराहरूले ग्रस्त थियो। राणाशासनको विरोध गर्नु अथवा विरोधमा बोल्नु मात्र पनि टाउकोमा कात्रो बाँधेर हिँड्नु जस्तो थियो। तापनि तुलनात्मक रूपले चेतनशील, जागरुक एवम् साहसी कतिपय युवायुवतीहरू हिम्मत गरेर राजनीतिक परिवर्तनको आवाजले सामाजिक वातावरणलाई तरंगित तुल्याउन थालेका थिए, स्नेहलता दिदी पनि त्यही साहसी युवा–पंक्तिको अग्रस्थानमा हुनुहुन्थ्यो।
विसं, २००४ साल वैशाख १७ गते नेपालको इतिहासमा विशेष दिन बनेको छ। यो दिन नेपाली जनताले राजधानी काठमान्डुमा मुलुकमै पहिलोपटक राजनीतिक जुलुस प्रदर्शन गरेका थिए। यो घटनाले राजधानीमा ठूलो हलचल मच्चायो। यसले जनमानसमा भयानक डर, त्रास र आशंका पैदा गरेको थियो किनभने आम जनतालाई थाहा नै थिएन–जुलुस के हो? किन प्रहरीले अचानक ती मानिसमाथि लाठी प्रहार गरेको? त्यो हुलमा हिँडिरहेका मानिस किन चिच्याइरहेका थिए? इन्क्लाब भनेको के हो? जिन्दाबाद र मुर्दाबाद भनेको के हो? हुलमा हिँडेका मानिस र प्रहरीले रातो कपडा किन तानातान गरेका? यस्ता केही कुरा नबुझेर मानिसहरू अचम्मित पनि थिए र आतंकित पनि। त्यही भएर यताउता भागिरहेका थिए, पसलेहरू आ–आफनो पसल थुन्दै भाग्दै गरिरहेका थिए। सहरमा पूर्ण हडताल भैसकेको थियो। जुलुसलाई प्रहरीले घेराउमा पारी भयानक लाठीचार्ज गरेको थियो। प्रदर्शनकारीमाथि त्यसरी निर्मम तरिकाले लाठी बर्साएको देखेर घरका झ्यालझ्यालमा बसेर हेरिरहेका महिलाहरूले भयवश रुँदै हतार–हतार भयालहरू बन्द गरेका थिए।
प्रहरीले जुलुसमा सहभागी महिलाहरूलाई समेत कुटेको देखेर दर्शक बनेका कतिपय मानिस पनि मिसिन थालेपछि त जुलुसमा सहभागिता अझ बढेको थियो। लाठीचार्जपछि धरपकड भयो। त्यसमा युवाहरू शम्भुराम श्रेष्ठ, तिलकराज शाही, टंकविलाससमेत गरी करिब ५० जना प्रदर्शनकारी समातिए। त्यसरी पक्राउ पर्नेमा चारजना किशोरी पनि थिए–साधना प्रधान, सहाना प्रधान, स्नेहलता गुरुवाचार्य र कनकलता नकर्मी। प्रदर्शन–स्थलबाट पक्राउ नपरे पनि बीच बाटोबाटै अभिभावकहरूले समातेर फर्काएकाहरूमा प्रमिला श्रेष्ठ, नानी मैयाँ र म पनि थिएँ। पक्राउ परेका किशोरीहरूलाई एक हप्तासम्म थुनिएको थियो।
अहिले र उहिलेको देश, काल र परिस्थितिमा आकास–जमिनको फरक आइसकेको छ। आजको परिवेशमा बढी खुल्लापन छ, पर्याप्त स्वतन्त्रता छ, सामाजिक–आर्थिक–धार्मिक–शैक्षिक–राजनीतिक क्षेत्रमा महिलाको सहभागिता हवात्तै बढेको छ। मतदानको अधिकार छ। तर सुरुको समयमा महिलालाई मतदानको अधिकार दिइएको थिएन र त्यसका लागि हिम्मतिलो संघर्ष गर्नुपरेको थियो भन्दा अहिलेका युवा महिलाहरूलाई आश्चर्य लाग्नसक्छ। त्यसरी संघर्ष गर्ने किशोरी–महिलाहरूमा स्नेहलता दिदी पनि हुनुहुन्थ्यो।
आन्दोलनको असरः महिलाको मतदान अधिकार
पहिलो पटक विसं.२००४ सालमा काठमान्डु नगरपालिकाको निर्वाचन हुने भएको थियो। त्यस निर्वाचनमा लोग्नेमान्छेले मात्र मतदान गर्न पाउने जानकारी बाहिर आयो। त्यस कुराको विरोध गर्दै एक महिला प्रतिनिधि–मण्डल श्रीमाया श्रेष्ठको अगुवाइमा श्री २ महाराज पद्म शमशेरलाई भेट्न दरबार पुगेको थियो। महिला अधिकारका लागि राणाकालमा त्यसरी हिम्मत गरेर अगाडि बढेकाहरूको त्यस प्रतिनिधि–मण्डलमा सहभागी महिलाहरूमा मंगलादेवी सिंह, स्नेहलता गुरुवाचार्य, हीरादेवी कंसाकार (यमी), चम्पादेवी (रजनी) बज्राचार्य, रामलक्ष्मी मानन्धर, सहाना प्रधान, साधना प्रधान र मसमेत थिए। त्यस प्रतिनिधि–मण्डलसितको वार्तापछि महिलाले पनि मतदान गर्न पाउने कुराको सुनिश्चितता भयो र मुलुकमा भएको पहिलो निर्वाचनमै महिला मताधिकार स्थापित भएको थियो। देशमा निर्वाचन सुरु भएपछि पहिलो निर्वाचनबाटै महिलाले समेत मतदान गर्ने अधिकार पाएको घटना विश्वमा कमै मात्र पाइन्छ।
अगुवा महिलाहरूले मतदानको अधिकारसमेत अन्य मौलिक नागरिक अधिकारलाई सदुपयोग गर्न संस्थागत अभियानको आवश्यकता महसुस गरे। त्यसका लागि महिला संगठन स्थापना गर्ने सहमति बन्यो। त्यसपछि २००४ साल साउन २२ गते काठमाडौंको म्हैपीमा बनभोजको निहुँमा करिब ३४–३५ जना सानो–ठूलो उमेरका महिलाहरूको भेला भयो। वनभोजमा सहभागी महिलाहरूबीचको छलफलले यथाशीघ्र महिला संघको स्थापना गर्ने निर्णय गत्यो। सोही निर्णयमुताबिक पूर्ण गोपनीयता अपनाउँदै त्यही साउन महिनामै मंगलादेवी अध्यक्षतामा ‘नेपाल महिला संघ २००४’ साउन नामक संगठन गठन स्थापना भयो। यो नेपालकै पहिलो महिला संगठन थियो।
संगठनमा स्नेहलता दिदी महासचिव, श्रीमाया श्रेष्ठ कोषाध्यक्ष र कार्यकारिणी सदस्यहरूमा हीरादेवी कंसाकार यमी, चम्पादेवी (रजनी) बज्राचार्य, रामलक्ष्मी मानन्धर, तुलसादेवी सिंह, सहाना प्रधान आदि थिए। साधारण सदस्यमा हामी केटीहरूसमेत त्यस्तै ४०–४५ जना थियौँ। संगठनमा कम्तीमा १६ वर्ष पुगेकाले मात्र सदस्य हुन पाउने नियम भएकोले हामीहरूको उमेर बढाई सदस्य बनाइएको थियो। संघ गतिशील भई अगाडि बढ्नुमा महासचिव स्नेहलता दिदीको ठूलो भूमिका थियो। फलस्वरूप, महिला संघको स्थापनापछि राजधानीमा राणाशासनविरुद्ध र प्रजातन्त्रको स्थापनाका लागि जति पनि संघर्षहरू भएका थिए, ती सबैमा नेपाल महिला संघको सक्रिय सहभागिता थियो। राणाशासनविरोधी गतिविधिमा संलग्न भएकाले संघका अधिकांश पदाधिकारी र सदस्यहरू पटकपटक प्रहरीको लाठी खाई थुनामा पनि परेका थिए।
दिल्ली सम्झौता
यसबीच नयाँ दिल्लीमा भारतको मध्यस्थतामा राजा, राणा र नेपाली काङ्ग्रेसबीच ‘दिल्ली सम्झौता’ भयो। त्यसपछि करिब चार महिना भारत–प्रवासमा रहेका राजा त्रिभुवन विसं. २००७ साल फागुन ४ गते नेपाल फर्किएर पुनः राजगद्दीमा आसीन भए र त्यसको तीन दिनपछि फागुन ७ गते ‘मुुलुकमा प्रजातन्त्र स्थापना भएको’ शाही घोषणा गरेका थिए। यसरी मुलुकमा राणाशासनको अन्त्य भएको थियो र नयाँ सरकारका रूपमा राणातर्फबाट पाँच र काङ्ग्रेसका तर्फबाट पाँच गरी दशजनाको नयाँ मन्त्रिमण्डल गठन भएको थियो। यसरी नयाँ दिल्लीस्थित ‘हैदराबाद हाउस’ भवनमा भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाहमा राजा, राणा र नेपाली काङ्ग्रेसको भित्री सम्झौताअनुसारको मन्त्रिमण्डल गठन गरिएकोमा यसको नेपाल महिला संघले विरोध गरेको थियो। आक्रोशित जनताबाट नै उक्त सम्झौताको बिरोध भएको थियो। त्यसपछि पनि जनतालाई छक्याई धोकामा राख्न र जनसंघर्ष साम्य पार्न राजाबाट कहिले परामर्श दातृ समिति त कहिले सल्लाहकार सभा गठन गरिएका थिए। तर त्यसले झन् आगोमा घिउ थपेजस्तो भएको थियो।
विसं. २००५ सालमा काठमान्डुको भूगोल पार्कमा नेपाल महिला संघ, नेपाल बिद्यार्थी संघ र नेपाल विद्यार्थी फेडरेसनको संयुक्त आयोजनामा एउटा वृहत् आमसभा भएको थियो। त्यतिबेला सडक आन्दोलन दबाउन काठमान्डुका मुख्य–मुख्य स्थानहरूमा कफर्यु लगाइएको थियो। त्यही कफर्यु तोड्दै आमसभा गरेर संविधान सभाको यथाशीघ निर्वाचन गराउन सरकारलाई दबाब दिनु र ‘३५ जना काङ्ग्रेस जनको सल्लाहकार सभा धोका हो’ भनी जनतालाई बुझाउनु थियो। त्यस सभाको पहिलो वक्ताका रूपमा सहाना प्रधान र नेपाल महिला संघको प्लेकार्ड समाउन प्रभा नेपाली र नानीमैयाँ श्रेष्ठलाई संघले खटाएको थियो। सभा सुरु गर्न माइक्रोफोन समातेका मात्र थियो, सैयौँ प्रहरीले भूगोल पार्क घेरेर दमकलबाट पानीको फोहोराले हान्नुका साथै निर्मम लाडीचार्ज गर्न सुरु गरिहाल्यो।
प्रहरी दमनबाट ५०औँ प्रदर्शनकारी सख्त घाइते भए भने दर्जनौँलाई लछारपछार पार्दै लरी–मोटरमा राखी हनुमान ढोकास्थित डिएसपी कार्यालयमा थुनिएको थियो। थुनामा परेका करिब पाँच सय प्रदर्शनकारीमा आठजना महिला र किशोरी थिए उनीहरूलाई एक हप्तापछि मात्र रिहा गरिएको थियो। म सख्त घाइते हुनुको साथै कम उमेरको भएको हुँदा मलाई चार दिनपछि नै रिहा गरिएको थियो। यसमा संघका महासचिव स्नेहलता दिदीको ठूलो भूमिका थियो। त्यतिबेला आइजिपी जेबी याकथुम्बा थिए। त्यही वर्ष अठार जना जति महिला प्रहरी भर्ना भएकोले तिनै महिला प्रहरीलाई महिलामाथि नै लाठीचार्ज गर्न लगाइएको थियो।
राजा त्रिभुवन नयाँ दिल्लीमा शरण लिन पुगेपछि श्री ३ महाराज मोहन शमशेरले चार वर्ष नपुगेको नाति ज्ञानेन्द्र शाहलाई विधिवत् राजगद्दी आरोहण गराएका थिए। उनको त्यस कार्यले जनता आगो भई सडक आन्दोलन तीव्र पार्न थालेका थिए। दिनहुँ हड्ताल, कोणसभा, छड्के जुलुस आदि प्रदर्शन भइरहेका थिए। सरकारले बिरोधलाई दबाउन धरपकड तेज पार्नुका साथै निर्मम लाठीचार्ज पनि बढायो तर जनविद्रोह दबाउन सकेन। यसैबीच मंसिर १५ गते आइतबार एउटा ब्रिटिस मिसन काठमान्डु आएको थियो। नेपाली जनता आफनो माग अझ जोडदार ढंगले प्रस्तुत गर्न र परिस्थिति पनि बुझन त्यतिबेला हजारौँको संख्यामा गौचरन विमानस्थल पुगेका थिए। त्यहाँ विशाल जनसमुदायको विरोधले गर्दा कमिसन बोकेको विमान तत्काल अवतरण गर्न सकेन। त्यसपछि प्रहरीले भयानक लाठीचार्ज गर्नुका साथै गोली पनि प्रहार गरेको थियो। ज्यान जोगाउन प्रदर्शनकारीहरूमा भागाभाग सुरु भयो। त्यो गोली थाप्न भन्दै म अगाडि सरेँ। ‘लौ हान्!’ भन्दै म प्रहरीको अगाडि उभिन पुगेँ तर प्रहरीले ममाथि गोली प्रहार गर्न सकेन। प्रहरी र जनताबीच बन्दुक खोसाखोससम्म भयो।
डाउन विद राणाइजम्
मैले भाग्दै गरेका जनतालाई आह्वान गर्दै भनेँ, ‘कमिसन कायर हो, डराउनु पर्दैन। फर्केर आउनुस् ! फर्केर आउनुस् !’ सयौँ जना फर्केर आएपछि फेरि लाठीचार्ज भयो। सयौँ प्रदर्शनकारी घाइते भएका थिए। प्रहरीको लाठीले मेरो टाउको फुटेर म त्यहीँ बेहोस भएँ। होसमा आउँदा म मिसन बसेको सेतो कारको टपमा थिएँ। अरू दुईजना ८–९ वर्षका बालक पनि थिए। मैले सम्झेँ–मैले त मिसन प्रमुखलाई एउटा पत्र र राजा त्रिभुवनको फोटो दिनु थियो। ओढनी कम्मरमा बाँधी पोल्टामा राखेकी थिएँ। फोटो र चिठी टपमा राखी उभिएर नारा लगाएँ– ‘डाउनविथ– द राणाइजम्, वी वान्ट– किङ्ग त्रिभुवन, वी वान्ट – डेमोक्रेसी।’ मिसन प्रमुखलाई त्रिभुवनको फोटो र पत्र दिने जिम्मेवारी मैले सफलतापूर्वक निर्वाह गर्न सकेकी थिएँ।
गौचरन–काण्ड भनिएको त्यस प्रदर्शनमा महिला संघबाट ठूलो संख्यामा सहभागिता थियो। त्यहाँबाट फर्कने नाका–नाकामा हतियारधारी प्रहरी तैनाथ थिए। काठमान्डु सहरमा कर्फ्यु थियो। जनतामाथि भालासमेतले प्रहार गरी थप सयौंलाई घाइते बनाइएको थियो। पछि मेरो र कोपिला तुलाधरको समेत फोटोसहितको समाचार हिन्दुस्तान समाचारमा प्रकाशित भएकोले हाम्रो नाममा वारेन्ट जारी भएको थियो। राजा त्रिभुवन भारत निर्वासनबाट काठमान्डु फर्केपछि मात्र उक्त वारेन्ट निस्क्रिय भएको थियो। यो महिला संघबाट भएको एउटा उदाहरणीय एवम् ऐतिहासिक कार्य थियो। राजा त्रिभुवनले दिल्लीबाट नेपाल फर्केर आएपछि राज्यको बागडोर हातमा लिने क्रममा उनलाई महिला संघले ठूलो मद्दत पुग्याएको थियो।
त्यति बेलासम्म स्नेहलता दिदीले राजा त्रिभुवनलाई सल्लाह दिने हैसियत र क्षमता आर्जन गरिसक्नुभएको थियो। यसरी विभिन्न संघर्ष एवम्रु आन्दोलनहरू गर्दै अथवा सहभागी हुँदै अघि बढिरहेको नेपाल महिला संघको आर्थिक अवस्था नाजूकमात्रै होइन, शून्यप्रायः नै भइसकेको थियो। त्यसले गर्दा खिःलस्थित सहिद चिनियाँलाल सिंहको घरको मटान–कोठामा कायम गरी संघको तर्फबाट एउटा पाक्षिक पत्रिका ‘महिला’को प्रकाशन गरिएको थियो। त्यसको मुखपृष्ठ (कभर) मा महिलाको चुरा लगाएको हातले बलेको मसाल समातेको फोटो थियो। त्यस पत्रिकाको सम्पादक साधना प्रधान हुनुहुन्थ्यो। संघको तर्फबाट चुरा, धागो, टीकाको पसल पनि थापिएको थियो। पसलमा कोषाध्यक्ष श्रीमाया, कामाक्षादेवी, उहाँकी बहिनी शारदा, (सीठ्ठुदेवी राणा) आलोपालो गरी बस्ने व्यवस्था मिलाइएको थियो। यसले गर्दा राणाशाहीका गुप्चरहरूको आखाँ छली संघको सदस्यता बढाउन र संघको प्रचार–प्रसार गर्न सजिलो भएको थियो।
वर्तमानमा उभिएर हेर्दा के देखिन्छ भने आजभन्दा करिब सत्तरी वर्ष पहिले तत्कालीन अँध्यारो समयमा उच्च शिक्षा नपाएका, करिब अनपढ र मुठूठीभरको संख्यामा रहेका महिला संघका पदाधिकारी र सदस्यहरूले जे जति साहसिक कार्यहरू गरेका थिए, त्यसको एक छेउ पनि आजका उच्च शिक्षा पाएका, देश–विदेश देखेका, अकुत आर्थिक सहयोग र अतिशय खुल्ला वातावरण पाएका महिलाहरूले गर्न सकेका छैनन्। यसबाट के बुझिन्छ भने देश एवम् देशवासीको सेवा गर्न उच्च शिक्षाको आवश्यकता पर्दो रहेनछ, बरु आवश्यकता हुँदो रहेछ त इमान्दारिता, साहस र विवेकको।
विसं.२००८ सालतिर भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल भ्रमणमा आएका थिए। त्यो बेला ‘दिल्ली सम्झौता’ को विरोधमा नेपाल महिला संघका सदस्यहरूले भद्रकाली र महांकाल स्थानहरूमा बसी कालो झण्डा देखाएका थिए। ती प्रदर्शनकारी महिलाहरूमाथि निर्मम लाठीचार्ज गर्नुका साथै आठजनालाई गिरफ्तार गरिएको थियो। पक्राउ पर्नेहरूमा कृष्णकुमार मानन्धर, कुमारी श्रेष्ठ, कोकिला तुलाधरलाई जेल चलान गरिएको थियो भने श्रीमाया श्रेष्ठ, शीलबन्दी शाह, धनमाया कार्की, सावित्री श्रेष्ठ, पूर्णकुमारी खड्की, मीदठकुमारी राणाहरूलाई एक हप्तापछि रिहा गरिएको थियो। विसं. २००७ सालदेखि २०१५ सालसम्म संविधान सभाको निर्वाचन गराउन जनताले संघर्ष जारी राखेका थिए। अन्त्यमा संविधान सभाको निर्वाचन गराउनुपर्नेमा त्यसको सट्टा प्रतिनिधि सभाको निर्वाचन भयो। जसमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमतले विजय हासिल गरी विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा सरकारबनायो। तर यो सरकारलाई करिब १८ महिनामै राजा महेन्द्रले अपदस्थ गरे। र, नेता कार्यकर्ताहरूलाई समात्दै–थुन्दै निरंकुश पञ्चायती शासनको सुरुआत गरे।
९० वर्षीय स्नेहलता दिदी
पुष २०१७ देखि ‘देशको हावापानी सुहाउँदो’ भन्ने नाममा निर्दलीय पञ्चायती व्यवस्था नामक एकतन्त्रीय शासन लादिएको थियो, जुन व्यवस्था ३० वर्षसम्म चलेर लामो प्रतिरोधपछि जनआन्दोलनमार्फत विसं. २०४६ साल चैतमा ढलेको थियो र फेरि बहदलीय प्रजातन्त्र स्थापना भएको थियो। पञ्चायती शासनअन्तर्गत राजनीतिक पार्टी, सभा–संगठन र अन्य कुनै पनि प्रकारका राजनीतिक गतिविधिमा प्रतिबन्ध थियो। त्यही राजनीतिक अन्धकारमय समयमा ‘नेपाल महिला संघ २००४’ माथि पनि प्रतिबन्ध लगाउनुका साथै सरकारले संघमा भएका सबै कागजात पनि जफत गरी लगेको थियो ।
बित्दो समयको यो कालखण्डमा स्नेहलता दिदीको जीवनमा ठूलो परिवर्तन आएको थियो। भाइहरूको स्याहासुसार र सम्पूर्ण जिम्मेवारी स्वतः पतिकोमा थियो। तर उहाँको भाग्य भनौँ वा कर्म, त्यसमा भने कुनै पनि परिवर्तन आउन सकेको थिएन। जसरी छ भाइ–परिवारको बोझ उहाँले बोक्नुभएको थियो, आफ्ना पतिको परिवारको बोझ उहाँले विवाह भएदेखि नै बोक्नुभएको थियो। स्नेहलता दिदीका सन्तान भएनन्। पतिले पनि छोडेर गए। उहाँ त फेरि पनि एक्लाको एक्लै! यसरी हेर्दा विसं. २००१ सालदेखि नेपाल र नेपालीको भलाइ एवम् प्रगतिका लागि केही गरिछाड्ने आफ्नो सपना साकार गर्ने पालेर मानौं त्यही सपनाका साथ उहाँ बाँचिरहनुभएको छ। उहाँ बाँच्नका लागि खानुहुन्छ, खानका लागि बाँचिरहनुभएको छैन र होइन पनि।
बाल, युवा र बृद्ध गरी तीन अवस्थामा खण्डित मानवीय जीवनमा स्नेहलता दिदी वृद्धावस्थामा हुनुहुन्छ। जीवनको यो लामो यात्रा तय गर्न उहाँले फलामकै चिउरा चपाउनुभयो, एउटा दीर्घ अग्निपथ हिँड्नुपर्यो। चरैवती चरैवती गर्दै उहाँले ९० वर्षको उमेरमा प्रवेश गर्नुभएको छ। म उहाँको सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक कामना गर्दछु।
शान्ताकुमारी बस्यालले लेख्नुभएको ‘स्नेहलता: जीवनकथाका पानाहरू’ किताबमा शान्ता श्रेष्ठले दिएको मन्तव्य।




