Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पुँजीवादको चिरफार

पुँजीवाद र साम्राज्यवादले गठबन्धन गरेका छन्। उनीहरूका बीच एउटा गुप्त सल्लाह भएजस्तो छ। त्यस सल्लाहका अनुसार सम्पत्ति र प्रगति एकातिर थुप्रिंदै छ। विपत्ति र अधोगति अर्कातिर केन्द्रित हुँदैछ। यो बडो अचम्मको अवस्था प्रतीत हुन्छ।

प्रदिप गिरि प्रदिप गिरि
भदौ २६, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मार्क्सको भविष्यवाणी र वास्तविकता
    सर्वहारा वर्गको बढ्दो गरिबी विकसित पुँजीवादी देशहरूमा देखिदैन। मार्क्सले भनेजस्तो अनिवार्य र विशाल संकट पूँजीवादी समाजमा अध्यावधि देखिएको छैन। संकट आउँछन् तर तिनका उपर पुँजीवादले विजय प्राप्त गर्दै हिंड्छ। बरु मार्क्सले अनुमान नगरेको क्षेत्रमा सामाजिक व्यवस्थाहरू छिन्न-भिन्न हुँदै गएका छन्। तेस्रो विश्वका दरिद्र समाजहरू यताका दशकहरूमा ठूलो उथल-पुथलबाट गुज्रिरहेका छन्। उता उन्नत पुँजीवादी देशहरू यथा- फ्रान्स, इंगल्यान्ड, जर्मनी, संयुक्त राज्य मेरिकाजस्ता देशहरू अपेक्षाकृत शान्ति र स्थिरताका उदाहरण भएका छन। मार्क्सको ‘भविष्यवाणी’ का सन्दर्भमा उपर्युक्त वस्तुस्थिति एउटा विडम्बना देखिन्छ। मार्क्सका विरोधीहरूले बडो हर्षपूर्वक यस विडम्बनाका तर्फ औंल्याउने गरेको पाइन्छ। यी तथ्यहरू नभन्दै बडो महत्त्वपूर्ण छन्। तर, यी तथ्यहरूले मार्क्सवादको आधारभूत मान्यता र तर्कप्रणालीलाई आघात पुर्‍याउँछन् भनेर कदापि भन्न सकिन्न। खासमा अनेकौं मार्क्सवादी शास्त्रीहरूले यी तथ्यहरूका तर्फ ध्यान पुर्याइसकेका छन्। एउटा सिद्धान्तका रूपमा समसामयिक मार्क्सवादले यी वास्तविकताहरूलाई सामना गरिसकेको छ। तत्सम्बन्धी मार्क्सवादी व्याख्या सारयुक्त र व्यावहारिक छ भन्न मलाई कुनै संकोच छैन । तर, फेरि पनि मेरो आग्रह यथावत् छ। मार्क्सवादी सिद्धान्तको वास्तविक परीक्षा गर्ने थलो यो होइन। अतिरिक्त मूल्य, वर्ग संघर्ष र क्रान्तिको अनिवार्यता मार्क्सवादका वास्तविक सिद्धान्त हुन्। यी सिद्धान्तहरूको पुनर्मूल्यांकन अथवा खण्डनमण्डनबाट मात्र मार्क्सवादको वास्तविक परीक्षा गर्न सकिन्छ।

    पुँजीवादको अध्ययन र अतिरिक्त मूल्यको सिद्धान्त
    अतिरिक्त मूल्यको मार्क्सवादी सिद्धान्तले निश्चय नै गहन पुनर्विचारको आवश्यकता राख्दछ। मार्क्सवादको मौलिकता र आकर्षणको एउटा प्रमुख आधार अतिरिक्त मूल्य हो। तर, अतिरिक्त मूल्यको परिभाषा र प्रस्तुतीकरणमा नै कार्ल मार्क्स हडबडाएका र गडबडाएका छन् भन्ने मरो प्रमुख मान्यता छ। अरू कुरा गौण छन्। यही नै प्रमुख हो। कार्ल माक्सको मृत्यु पछि उनका सिद्धान्तको कतिपय अधुरो पक्षप्रति विद्वानहरूको ध्यान गयो।

    अतिरिक्त मूल्य, वर्ग संघर्ष र क्रान्तिको अनिवार्यता मार्क्सवादका वास्तविक सिद्धान्त हुन्।

    तर, म जुन कुरो भन्न खोज्दै छु त्यसतर्फ कसैको पनि ध्यान गएन। त्यसतर्फ ध्यान नजानुका पछाडि ठोस कारण थिए। जस्तै, मार्क्सले स्वयं जोड दिएर भनेका छन्- ‘विचारहरू परिवेश र परिस्थितिबाट उत्पन्न हुन्छन्। पुँजीवाद पश्चिम युरोपमा उत्पन्न भयो। पुँजीवादका आलोचकहरू पनि पश्चिमी यूरोपमा नै उत्पन्न भए। मार्क्सवाद पनि पश्चिमी युरोपमै उत्पन्न भयो। मार्क्सवाद बारे अहिलेसम्म भएका महत्त्वपूर्ण संशोधन र परिष्कार पनि आफ्नो जन्मस्थलको परिवेशबाट मुक्त हुन सकेको छैन। मार्क्सवादका केन्द्रीय मान्यताहरूमा पश्चिमी युरोपको ऐतिहासिक तथा बौद्धिक संस्कारको गहिरो छाप छ। अतिरिक्त मूल्यको परिभाषा र प्रस्तुतीकरण यस किसिमको संस्कार र छापको प्रभाव हो।

    मार्क्सले पुँजीवादको विकासको अध्ययन मुख्यतः पश्चिमी युरोपको परिप्रेक्षमा गरेका छन्। पुँजीवादको विकास आफ्नै आन्तरिक स्रोतबाट भयो भन्ने उनको ठहर छ। ‘पुँजीवादले मजदुरहरूको अतिरिक्त मूल्यबारे प्राप्त सञ्चयका आधरमा आफ्नो गति प्राप्त गर्दछ।’ यो सोचाइले वास्तविक ऐतिहासिक यथार्थसित न्याय गरेको जस्तो मलाई लाग्दैन। पश्चिमी युरोपमा पुँजीवादको विकास एउटा क्षेत्रीय घटनाको रूपमा भएको जस्तो देखिन्छ। यो दृश्य सबैले देख्दै, पत्याउँदै आएका छन्। तर वास्तविकता अर्कै छ। पश्चिमी युरोपको विकासको कथालाई तेस्रो विश्वको शोषणबाट अलग राखेर कसरी बुझ्न सकिन्छ ? मैले बुझ्न सकेको छैन। एउटा समाजका रूपमा पश्चिमी युरोपमा मार्क्सले चित्रण गरेसरह श्रमिक र पुँजीपति तथा भूमिपतिका माझमा हानथाप अवश्य चल्यो। त्यस हानथापमा पुँजीपतिले श्रमिक वर्गद्वारा आर्जिएको मूल्यको अपहरण लागातार गरे। कार्ल मार्क्सको महान् प्रतिभाले यस अपहरणको प्रामाणिक विवरण हामीलाई उपलब्ध गराएको छ। त्यसका निम्ति हामी उनका ऋणी छौं। तर, हामी अविकसित तथा औपनिवेशिक समाजको बासिन्दाहरूका आफ्ना केही अनुभव छन्।

    ती अनुभव र पश्चिमी यरोपको सम्पन्नताको केही सम्बन्ध छ। त्यस सम्बन्धको ठोस तथा ऐतिहासिक विश्लेषण कुनै युरोपवासीले अहिलेसम्म गर्न सकेका छैनन्। यस दृष्टिले मार्क्स पनि युरोपीय नै ठहरिन्छन्। मार्क्सले पनि पुँजीवादको आफ्नो महान् विश्लेषणमा युरोपीय मानसिकताबाट पूर्णतः मुक्ति प्राप्त गर्न नसकेको देखिन्छ। हुन त, मार्क्सको पुँजी अधुरो छ। ठाउँ-ठाउँमा कतिपय युक्तिमा औपनिवेशिक समस्याको उल्लेखसमेत छ। ठाउँ-ठाउँमा मार्क्सले साम्राज्यवादी शोषण र साम्राज्यवादी नियन्त्रणको पनि चर्चा गरेका छन्। तर, त्यति भएर पनि पुँजीवादको विकासको क्रममा औपनिवेशिक शोषण र लूट केन्द्रीय महत्वको रहेको छैन। पुँजीवादको विकास अन्ततः आन्तरिक मजदुरको आन्तरिक शोषणबाट भएको हो भन्ने कुरामा मार्क्सवाद अडिग छ। यो धारणा ऐतिहासिक विकासका दृष्टिले अवैधानिक तथा त्रुटिपूर्ण छ।

    पूँजीवादको बहुरुप व्याख्यानमा मार्क्सको सिमितता
    ब्रिटिस पूँजीवादको एउटा उदाहरण लिऊँ : ब्रिटेनमा पुँजीको सञ्चय कहिलेदेखि शुरु भयो ? यस सञ्चयलाई अब हामी भारतको र विशेष गरेर बंगालको लूटसँग दाँजेर हेरौं। इस्टइन्डिया कम्पनीले भारतबाट निकै पहिलेदेखि नै प्रचुररूपमा नाफा कमाउन थालेको थियो । झन् १७५६ युद्धपछि अंग्रेजहरू बंगालका शासक भए। अंग्रेजी शासनकालमा बंगालका बुनकर र जुलाहाहरूको अक्षरशः हात काटियो भनिन्छ। जे होस्, १८औं शताब्दीको अन्त्यपछि बंगालमा भएको लूट र शोषणबाट ब्रिटिस पुँजीवादले पाएको पोषण अकाट्य र असंदिग्ध छ। तर, मार्क्स यसको चर्चा गर्दैनन्। ब्रिटिस पुँजीवादको ऐतिहासिक विकासको अध्ययन मार्क्सले आजीवन गरे। तर, यस क्रममा भारतका उपर के-कस्तो प्रभाव पर्‍यो, त्यसको प्रामाणिक जानकारी मार्क्सलाई थिएन। फलस्वरूप ब्रिटिस पँजीवादले ऐतिहासिकरूपमा एकत्र गरेको अतिरिक्त मूल्यमा भारतीय शोषण र लुटका कुनै उल्लेख छैन। यो उल्लेख बेगर ब्रिटिस पुँजीवादको ऐतिहासिक विकासको विवरण लेख्न सकिन्छ जस्तो मलाई लाग्दैन। तर, मार्क्सले यस्तै गरेका छन्। ब्रिटिस पुँजीवादको उत्थान उनका निमित्त ब्रिटेनको घटना भएको छ।

    यो मान्न सकिने कुरो होइन। ठीक यही कुरो युरोपका बारे भन्न सकिन्छ। पश्चिमी युरोपमा पुँजीवाद आज एउटा सम्पन्न सामाजिक व्यवस्थाका रूपमा प्रतिष्ठित छ। तर, पश्चिमी युरोपको ऐतिहासिक विकास स्वयम् आफूमा आफैबाट आत्मपोषित रहेको वस्तुस्थिति होइन।

    माथिका कुरा झट्ट हेर्दा बढो साधारण देखिन्छन्। तर, यी कुराहरूको निकै गम्भीर परिणाम निस्किएको छ। म यी परिणामहरूलाई केलाउँदै जाने प्रयास गर्नेछु। तर, त्योभन्दा अघि नै एउटा कुरा भन्न मलाई मन लागेका छ। मार्क्सद्वारा परिभाषा गरिएको अतिरिक्त मूल्यको सिद्धान्तसित वास्तवमा मेरो कुनै मतभेद छैन। यस सिद्धान्तले पुँजीवादको भ्रामक जाललाई छिन्न-भिन्न पार्ने अतुलनीय कार्य गरेको छ। यस सिद्धान्तले समाजवादी चिन्तनलाई साँच्चै नै वैज्ञानिक धरातलमा उभ्याइदिएको छ। तर, स्वयम् मार्क्सले पनि यस सिद्धान्तको सीमित प्रयोग गरे। युरोपीय मजदुरहरूको शोषणका तर्फ उनको ध्यान गयो। तर, एसियातिर उनको नजर पुगेन। आज यस संसारमा र अझ एसियामा पनि मार्क्सका अनुयायीहरू असंख्य छन्। उनीहरूले मार्क्सको सूत्र यथावत् जपेको सुनिन्छ। यो बढो अपसोचको कुरो हो। मार्क्सका प्रस्थापनाहरूलाई त्यसको तार्किक संगतिसँग लैजाने प्रयत्न किन कसैले गर्दैन? यस्ता प्रयत्नले गर्नुपर्ने मुख्य काम एउटै छ। त्यो काम हो – अतिरिक्त मूल्यको नयाँ तथा व्यापक परिभाषा। यस व्यापक परिभाषाले पुँजीवादको सार्वभौम चरित्रलाई उद्घाटित गर्नुपर्नेछ। विगत ४ सय वर्षको पुँजीवादको इतिहास बढो जटिल र संश्लिष्ट छ। यसको एउटा पाटामा इंग्ल्यान्ड, हल्यान्ड, फ्रान्स, जर्मनी र पर्चुगलका प्रस्ट, स्वस्थ र उज्याला अनुहार कोरिएका छन्। यसको अर्को पाटामा अफ्रिका, ल्याटिन अमेरिका, भारत, नेपाल, बर्मा, मलाया र चीनका चुसिएका, लुटिएका क्रान्तिहीन अनुहारको तस्वीर छ। सामान्यतः पुँजीवादलाई एउटा विकासशील व्यवस्थाका रूपमा हामीले चिनेका छौं।

    गरिब मुलुकहरूमा विगत चार सय वर्षमा उत्पादक शक्ति लगातार विनाश भइरहेको छ। धनी मुलुकहरूमा उत्पादक शक्ति लगातार विकास भइरहेको छ। पुँजीवादको मुख्य अन्तरविरोध यही हो।

    स्वयम् मार्क्स र एंगेल्स पुँजीवादको प्रगतिशील चरित्रका बारेमा विश्वस्त थिए। तर, मलाई भने ठीक यही बिन्दुमा ठूलो शंका छ। ती जसले पुँजीवादको उज्यालो अनुहार हेरे, उनीहरूले प्रगतिको कुरा गर्न सुहाउँछ। तर, हामी एसियावासीको अनुभव बेग्लै छ। पुँजीवाद अन्तरविरोध हो भन्ने मार्क्सको मान्यता थियो। तर, म अर्कै कुरो देख्दैछु। म विकसित मुलक अर्थात् पुँजीवादी देशहरू र अविकसित मुलुकहरू अर्थात् भारत, नेपाल, चीनजस्ता जस्ता ग्रामीण समाजहरूको अन्तरविरोध देख्दैछु। ब्रिटिस समाजभित्रको अन्तरविरोध आज त्यस्तो प्रखर देखिंदैन। तर, ब्रिटेन तथा भारतजस्ता देशहरूको अन्तरविरोध झन् चर्किरहेको छ। उत्पादनको सम्बन्ध र उत्पादनको शक्तिको अन्तरविरोधको चर्चा अब त्यस्तो प्रास‌ंगिक देखिंदैन। एउटा अर्को कुरो स्पष्ट तथा ठोस रुपमा देखिंदैछ। आजको जर्मनी, आजको फ्रान्स र आजको ब्रिटेन अझ यसमा चाहे रुस र अमेरिकालाई पनि थप्नुस्, यिनले नित्य उत्पादनका नयाँ-नयाँ प्राविधिको विकास गरिरहेका छन्। तर, गरिब मुलुकहरूमा विकास हैन, विनाश भइरहेको छ। यो कुरो भन्दा मानिसहरू पत्याउँदैन । गरिब मुलुकले पनि थोरै नै भएपनि विकास गरिरहेका छन् भन्ने धेरैको धारणा छ। पश्चिमको विकास र पूर्वको विकास गुणात्मक होइन, मात्रात्मक फरक हो भन्ने धेरैको सोचाइ छ। तर, यो सोचाइ सरासर गलत हो।

    गरिब मुलुकहरूमा विगत चार सय वर्षमा उत्पादक शक्ति लगातार विनाश भइरहेको छ। धनी मुलुकहरूमा उत्पादक शक्ति लगातार विकास भइरहेको छ । पुँजीवादको मुख्य अन्तरविरोध यही हो। एउटा सार्वभौम उत्पादन प्रणालीका रूपमा पुँजीवादले यो भयंकर तथा अपूर्व कर्म गरेको छ। एकातिर विश्वको एउटा कुनामा यसले उत्पादक शक्तिको विकास गरेको छ। अर्कोतिर शेष संसारमा पूँजीवादले उत्पादक शक्तिको विनाश गरेको छ। यही नै पुँजीवादको अर्थात आजको यगको केन्द्रीय अन्तरविरोध हो।

    पुँजीवादको बहुविध विश्वरुप
    लामो समयसम्म पश्चिमी युरोप विश्व-पुँजीवादको राजधानी थियो । यता आएर संयुक्त राज्य अमेरिका र जापान पुँजीवादका प्रिय वासस्थल भएको लक्षण देखिन्छ। मैले माथि रुसको समेत उल्लेख गरें। पुँजीवादी देशहरूको हारमा रुसलाई उभ्याउनु एउटा असम्भव  र मूर्खतापूर्ण कार्य मानिएला। तर, फेरि रुसको उल्लेख अकारण अथवा अप्रासंगिक पनि थिएन। रुसमा यताका दशकहरूमा आएर उत्पादक शक्तिमा अभूतपूर्व वृद्धि भएको छ। यस वृद्धिको उल्लेख र विश्लेषण आवश्यक छ। त्यसैले यहाँ रुसको सामान्य उल्लेखसम्म गरियो। यसका अरू पक्षहरूको चर्चा यथास्थान हुनेछ। एउटा कुरो स्पष्ट गरिनु बेलैमा आवश्यक छ। उत्पादन प्रणालीको विकास अथवा विनाशको तर्कलाई म भावनाको क्षेत्रमा सीमित राख्न चाहन्न। तथ्यले आफै बोल्नेछन्। अमेरिका, पश्चिम युरोप र रुसमा उपलब्ध भौतिक तथा प्राकृतिक संसाधन र पुँजीमा अद्भुत समानता छ। यता चीन र भारतको स्थिति बिल्कुलै विपरित छ। भारत र चीनका प्रमुख उत्पादन संयन्त्र आज पनि घटीमा दुई हजार वर्ष पुराना होलान्। उही हलो, कोदालो र चर्खा आज पनि भारत र चीनका गाउँमा प्रचलित छन्। तर रुस, अमेरिका र पश्चिमी युरोपमा उत्पादनका आधुनिकतम संयन्त्रहरू कार्यरत छन्। उत्पादनका यस्ता संयन्त्रहरू जुटाउनका निमित्त हामीसँग पुँजी चाहिन्छ। तर, हाम्रो जस्तो तेस्रो विश्वका गरिब मुलुकहरूमा पुँजी कहाँबाट आउने ? अहिले अमेरिकामा प्रतिव्यक्ति सरदर दस हजार रुपैयाँका औजार उपलब्ध छन्। पश्चिमी युरोपमा प्रतिव्यक्ति औजारको मोल केही कम होला। तर, पश्चिमी युरोपका कुनै पनि देशमा प्रतिव्यक्ति पाँच हजार रुपैयाँभन्दा घटीका औजार छैनन्। अब यसको तुलना भारतमा उपलब्ध पूँजीसँग गर्नुस्। जस्तै उदारतापूर्वक हिसाब गरे पनि भारतमा प्रतिव्यक्ति १ सय ५० रुपैयाँभन्दा बढी पुँजी उपलब्ध छैन। यी तीनवटा समाजहरूको आर्थिक स्थिति यही सूचकांकबाट थाहा पाइन्छ।

    यी तीन समाजको अन्तर खासमा प्रतिव्यक्ति १००००, ५००० र १५० रुपैयाँको पुँजीको अन्तर हो। पुँजीको यो अन्तर पुँजीवादको ऐतिहासिक विकासको अन्तर हो।

    जसले रिक्साको मर्म बुझ्दैन, त्यसले पुँजीवादको इतिहास बुझ्दैन भन्ने मेरो आग्रह छ।

    पुँजीमा यस्तो अन्तर छ। उता, जनसंख्याको वृद्धिको आफ्नै कहानी छ। राष्ट्र निर्माण र आर्थिक पुनर्निर्माणका कुरा गर्ने मानिसहरूले जनसंख्याका बारेमा पनि सोच्नु पर्दछ। विगतका शताब्दीहरूमा विश्वको जनसंख्या ३ गुणा भएको छ भन्ने अनुमन छ। युरोपमा १९औं शताब्दीमा मात्र त्यहाँको जनसंख्या ४ गुणा वृद्धि भयो भनिन्छ। भारतमा अकबरको जमानाको जनसंख्याको एउटा अनुमान हामीसँग छ। त्यो जमानादेखि अहिलेसम्ममा हामी ३ गुणा बढेको देखिन्छौं। तुलनात्मक दृष्टिले हेर्दा हामी नडराए हुने हो। तर, स्थिति डरलाग्दो छ। युरोपमा जनसंख्या वृद्धिले आर्थिक विकासलाई बल पुर्‍यायो । त्यहाँ प्राकृतिक संसाधन र पुँजी धेरै थियो। जनबल थिएन। त्यसैले युरोपले १९औं शताब्दीमा वाञ्छित जनशक्ति प्राप्त गर्‍यो। तर, भारतमा जनसंख्याको विकासले भौतिक विकासमा बाधा पुर्‍याउन थालिसकेको छ। खाने मुख बढ्दैछन् । तर, उत्पादन बढिरहेको छैन। भारतवासीहरू परिश्रम गर्दैनन भन्नु मूर्खता हुनेछ। तर, त्यो परिश्रमको प्रकृति कस्तो छ भन्ने कुरा नियालेर हेर्नु परेको छ। मैले भारतीय परिश्रमको प्रतीक एउटा रिक्सावालालाई मानेको छु। रिक्सावालाको कष्टलाई मैले मानवीय श्रम मान्नबाट सधैं इन्कार गरेको छु। मैले आफूले होश सम्हालेदेखि रिक्सा चढेको छैन। सोचेर हेर्नुहोस्, हिजोको तथाकथित सामन्त युगमा घोडा वा गोरुले गरेको काम आजको २०औं शताब्दीमा फेरि पनि मानिसले किन र कसरी गर्न थाल्यो? भारत, चीन र दक्षिण एशियामा रिक्साको चलन शुरु भएको हो। युरोप र अमेरिकाको आफ्नो विकासको चरणमा रिक्सा देख्नै परेन। रिक्सा हाम्रो भागमा पर्‍यो। वायुयान उनीहरूले लिए। हामी एसियावासीलाई अर्ध-पशुका दर्जामा उतारेर पुँजीवादले पुँजी सञ्चय गरेको छ, जसले रिक्साको मर्म बुझ्दैन, त्यसले पुँजीवादको इतिहास बुझदैन भन्ने मेरो आग्रह छ।

    पुँजीद्वारा स्थापित पश्चिमी वैचारिक उपनिवेश

    यहाँ म सानो विषयान्तर गर्न चाहन्छु। हाम्रा शासक नेहरू वा सुकार्णो मूर्ख छन्। तर, उनीहरू मूर्ख मात्र छैनन्, यिनीहरू पश्चिमका मानसिक दास पनि छन्। नेहरू भारतको राष्ट्रिय चिह्न अशोक-चक्र राखेर घमण्डले फुलेका छन्। उता इन्डोनेसियाको राष्ट्रिय चिह्न गरुड भएको छ। यस्तो फोस्रो घमण्ड र शान देखेर म अनेकौंपटक जलेको छु। कहाँको अशोकचक्र र गरुड ? मानिस पशु भएर बाँच्न बाध्य भएको देशमा गरुड उड्ने? हाम्रा देशहरूको राष्ट्रिय चिह्न कुनै परिश्रमी पशु हुनुपर्ने हो। साँच्चै भन्ने हो भने एउटा यस्तो प्राणी, जो आधा पशु र आधा मनुष्य छ, त्यो हाम्रो राष्ट्रिय चिह्नमा अंकित हुनुपर्ने हो। आधा ज्यू घोडाको बनाउनुहोस्, आधा मानिस रहोस् र त्यस अर्धपशुले एउटा युगौं पुरानो चर्खाको तान चलाइरहोस्। हाम्रो आर्थिक जीवनको यो एउटा सटिक प्रस्तुतीकरण हुनेछ। यस तस्वीरले विगत ३ सय वर्षको विश्व इतिहासको गतिलो विवरण दिनेछ। कमसेकम दुई तिहाइ संसार आज यही वस्तुस्थितिमा बाँचेको छ। कार्ल मार्क्सले एकथरि मानिस धनी हुनेछन् र अर्काथरिका मानिस गरिब हुनेछन् भनेर पुँजीवादको विकाससम्बन्धी नियमको व्याख्या गरेका थिए । उनको भनाइ साररूपमा ठीक ठहरिएको छ। मात्र वर्गहरू राष्ट्रमा परिणत भएका छन्। यस समय मुठ्ठीभर राष्ट्रहरू वैभव र विलासिताको समुन्द्रमा पौडिदैछन्। अर्कोतिर अकथनीय गरिबी र दारिद्रय छ। एउटा अचम्मको परिस्थिति वृद्धि भएको छ। पुँजीवाद र साम्राज्यवादले गठबन्धन गरेका छन्। उनीहरूका बीच एउटा गुप्त सल्लाह भएजस्तो छ। त्यस सल्लाहका अनुसार सम्पत्ति र प्रगति एकातिर थुप्रिंदै छ। विपत्ति र अधोगति अर्कातिर केन्द्रित हुँदैछ। यो बडो अचम्मको अवस्था प्रतीत हुन्छ। तर, यो अवस्थाको प्रामाणिकता चाहे तपाईले जाँचेर हेर्नुस्। जाँचेको खण्डमा एउटा अर्को खतरनाक कुरा देख्नुहुनेछ। सम्पत्तिको यो केन्द्रीकरणका आफ्नै तर्क र कारण देखिन्छन्। त्यसमा भूगोल र धर्मको भूमिका छ। तर, त्योभन्दा पनि ज्यादा इतिहासले यसपटक छालाको रंगको आधारमा कोल्टे फेरेजस्तो देखिन्छ।

    पुँजीवाद र साम्राज्यवादले गठबन्धन गरेका छन्। उनीहरूका बीच एउटा गुप्त सल्लाह भएजस्तो छ। त्यस सल्लाहका अनुसार सम्पत्ति र प्रगति एकातिर थुप्रिंदै छ। विपत्ति र अधोगति अर्कातिर केन्द्रित हुँदैछ। यो बडो अचम्मको अवस्था प्रतीत हुन्छ।

    पुँजीवादी इतिहासका निमित्त यसका कुइरे सन्तान प्यारा भएका छन् । हामी काला अथवा पहेंलाजति परत्र भएका छौं। मैले यहाँ चिनियाँ दाजुभाइलाई सम्झेर पहेंला शब्दको प्रयोग गरें। तर, रंगीन भन्नाले हामी एसिया र अफ्रिकाका सबै काला, राता र पहेंलालाई बोध गराउँछ। कुइरे पनि नभनौं। स्पेन र ग्रीसका युरोपवासीहरूको आँखा कुइरो हुँदैन। त्यसैले छालाको रंगबाटै जाऊँ। गोरा र रंगीनको विभाजन सम्झी राखौं। पुँजीवादी इतिहासले यस विभाजनलाई हाम्रो सामयिक जीवनको सर्वाधिक महत्वपूर्ण तथ्यका रूपमा प्रतिष्ठित गरेको छ। गोरो समाज आज यस संसारको मालिक भएको छ। हामी रंगीन जातिहरू उनीहरूको आर्थिक अधिपत्यमा रहन मजबुर भएका छौं। मार्क्सले बताउनुभएको सर्वहरा वर्गका सारा विशेषताहरू रंगीन जातिमा पाइन्छन्। उता गोराहरू भने एउटा जातिका रूपमा पुँजीपति वर्गको विशेषता लिएर बसेका छन्। यस्तै छ पुँजीवादको ऐतिहासिक विडम्बना।

    साभारः प्रदीप गिरिको ‘लोहिया जीवनी र विचार’ पुस्तकबाट।

    यो पनि पढ्नुहोस् –

    प्रदीप गिरिको बुझाइमा मार्क्सवाद 

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रदिप गिरि

      प्रदिप गिरि

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.