Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीले झलनाथलाई तोकेर भन्नुभयो, ‘यो डामेको साँढे हो, यसबाट पार्टी चल्दैन।’ : गौरा प्रसाईँ

गौरा प्रसाईँसँग कुराकानी-२

गौरा प्रसाईँ गौरा प्रसाईँ
असार ३, २०७८
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भूमिगत रुपमा काम गर्दा म धेरैजसो दक्षिण झापाको सतार तथा राजवंशी बस्तीहरूमा खटिएँ। कहिलेकाहीँ चारपानेदेखि माथिका गाउँतिर पनि गएँ। म कहिले लिला कट्टेल दिदीसँग त कहिले अरु साथीहरूसँग हिँड्थेँ। त्यतिबेला भूमिगत हुनेमा अरु महिलाहरू थिएनन्। झापामा पहिलो पटक भूमिगत हुने महिला नै लिला कट्टेल हो, शायद उहाँ नेपालकै पहिलोमा पर्नुहुन्छ होला। दोस्रोमा सिता खड्का र म। पछि लिला कट्टेल दिदी दुर्घटनामा परेर बित्नुभयो।

    वि.सं. २०२९ सालमा सुरु भएको मेरो भूमिगत यात्राका क्रममा मैले धेरै कठिन चरणहरू पार गर्नुपर्‍यो। कति दिनसम्म खान पाइँदैन थियो। कहिलेकाहीँ त बासै नपाइने। भोकप्यास सबै सहेर जंगलको बास पनि बस्यौँ। दुइ/तीन दिनमा खान पाइन्थ्यो। कहिलेकाहीँ चिउरा पाउँदा पनि स्वर्ग पुगेजस्तो लाग्थ्यो।

    राति नै घरबाट निकालिएँ

    भूमिगत समयमा पुरुष साथीहरूसँग पनि हिँड्नुपर्ने हुन्थ्यो। त्यो बेलाको समय, त्यसमाथि भूमिगत हुने महिलाहरूको संख्या एकदमै कम, हामीलाई पुरुष साथीहरूसँग हिँड्दा विभिन्न लान्छना लगाउने काम हुन्थ्यो। कुनै पुरुष साथीका घरमा गइयो भने त्यो घरका परिवारका सदस्यले गलत तरिकाले सोच्ने गर्थे।

    एकपटक एकजना पुरुष साथीसँग म उहाँको घर पुगेँ। राजवंशी बस्तीभित्र रहेको उहाँको घर भित्र पसेर बस्नै लाग्दा उहाँकी श्रीमती रिसाउँदै आउनुभयो भयो र उहाँकै भाषामा नराम्रो गाली गर्नुभयो। उहाँले भन्नुभयो, “तिमीहरू बिहे गरेर आयौ, अब तिमीहरूलाई काटेर नालामा फालिदिन्छु।”

    त्यसपछि मलाई ती पुरुष साथीले झोलामा चिउरा हालिदिनुभयो र त्यहाँबाट जतिसक्दो छिटो भाग्न आग्रह गनुभयो। रातको समय थियो। कहाँ जानु भन्ने पिर बोकेरै त्यहाँबाट निस्किएँ। त्यसपछि म नजिकैको खरबारीमा बसेँ। रात त्यहीँ बित्यो। भोलिपल्ट बिहानै तिनै साथी आएर मलाई अर्को ठाउँमा लिएर जानुभयो। त्यसरी कहिलेकाहीँ घरबाट निकालिन्थ्यौँ। तर पछिपछि जनताले हाम्रा कुरा बुझेछन् क्यार, हामीलाई असाध्यै माया गर्न थाले।

    समाजको गरिबी

    त्यतिबेलाको समाजमा सर्वसाधारणको जनजीवन एकदमै कठिन थियो। कसैको घरमा पुग्नेगरी खानेकुरा हुँदैन थियो, लुगा हुँदैन थियो। जाडो मौसममा पनि कहिले पराल र कहिले पातपतिंगर ओढेर सुत्नुपर्ने बाध्यता थियो। मैले घर छोडेर हिँडेपछि जनताको घरका दुःखलाई झनै बुझ्ने मौका पाएँ। उहाँहरूको दुःखसँग घुलमिल भएर बाँच्न सिकेँ।

    उनीहरू दिनभरी ज्याला मजदुरी, खेती किसानी गर्ने गर्थे, महिलाहरू जमिनदारको घरको भाँडा माझिदिन्थे र कहिले कहाँ के पाइन्छ, त्यो काम गरेर गुजारा गर्ने गर्थे। जनताले आफू जे खान्थे हामीलाई पनि त्यही खान दिन्थे र उनीहरू जहाँ सुत्थे, हामीलाई पनि त्यहीँ सुताउँथे। प्रहरीहरूले नभेटाउन् भनेर हामीलाई लुकाउन सहयोग गर्थे।

    कहिँकतै हामी बसेको बारेमा जमिनदार तथा गाउँका फटाहहरूले प्रहरीलाई जानकारी गराउँदा रहेछन्। प्रहरी गाउामा आउँदा हाम्रो सुरक्षाका लागि गाउँलेहरू कहिले उनीहरूका भकारीमा लुकाउँथे भने कहिले सिलिङमा बस्न लगाउँथे। कति ठाउँमा प्रहरीलाई छलेर भाग्नुपर्थ्यो। कति ठाउँबाट भेष बदलेर पनि भागेका छौँ।

    हामी पनि जनताका घरमा यत्तिकै बस्दैन थियौँ। गुन्द्री, मान्द्रा र कुचो बुन्ने काम गथ्यौँ। कहिले ओखलमा धान कुटिदिन्थ्यौँ त कहिले किसानहरू बेलुका घर आउने बेलामा खाना पकाउनका लागि सबै सामान तयार गरेर राखिदिन्थ्यौँ। यसरी विस्तारै जनताका घरमा हामी घुलमिल हुँदै गयौँ र सबैको माया पाउन थाल्यौँ।

    महिनावारी भएका समयमा भने हामीलाई कठिन हुन्थ्यो। फेर्ने लुगा हुँदैनथियो। ठाउँ–ठाउँमा च्यातिएका र फाटेका लुगा प्रयोग गर्ने र राति धोएर सुकाउने गथेँ। महिनावारीका समयमा पेट दुखेका बेला दाह्रा किटेरै भएपनि सहनुपर्ने बाध्यता थियो। त्यस्तो बेलामा पनि जनताले असाध्यै माया गर्थे।

    २८ सालको आन्दोलन

    वि सं. २०२८ सालमा भएको झापा आन्दोलनको समयमा म विद्यार्थी आन्दोलनमै थिएँ। जमिनदार खतम आन्दोलनको एउटा घटनामा मलाई पनि लगिएको थियो। उद्रकान्त राजवंशी भन्ने जमिनदारको हत्या गर्ने टिममा थिएँ म।

    हाम्रो टोली उनको घर पुग्दा उनी मकलमा आगो ताप्दै थिए। आगो तापेर बसिरहेका बुढो मान्छे देख्दा मलाई उनी मार्नुपर्ने खालका मान्छे होइनन् जस्तो लाग्यो।

    जमिन्दार भन्ने बित्तिकै ठूला, बलवान र घोडा चढेर हिँड्ने मान्छे जस्तो लाग्थ्यो। तर उनी त्यस्तो देखिँदैन थिए। मलाई चाहिँ भाला दिएर एक छेउमा राखिएको थियो। मसहित अरु पनि वरपरि भाला लिएर बसेका थिए। एकजनाले उनलाई भालाले प्रहार गरे। त्यतिबेला ति व्यक्ति चिच्याएको र रगत बगेको देखेर म बेहोस् भएँ।

    मलाई त्यहाँबाट साथीहरूले बोकेर लगेछन्। त्यस घटनापछि मलाई मान्छे मार्नु गलत कुरा हो भन्ने लाग्यो। किनभने त्यस घटनामा मारिनुपर्ने मान्छे मरेन भन्ने लाग्यो मलाई। अरु कार्यकर्ताले पनि जमिनदार सिध्याउने नाममा जमिनदारको हत्या गर्ने घटनाको विरोध गर्न थाले। नेत्र घिमिरे, कृष्ण कुईकेल लगायतसँग मैले आफ्नो कुरा राखे। पछि त नेताहरूलाई व्यक्तिहत्याको अभियान रोक्न ठूलै दबाब पर्‍यो र रोके पनि।

    आर.के. मैनालीकी छोरी भएर हिँडे

    मेरो नजिकका नेताहरूमा नेत्र घिमिरे, कृष्ण कुइँकेल र हर्क बहादुर खड्का लगायत हुनुहुन्थ्यो। खासगरी हाम्रो आन्दोलनको नेतृत्व गर्ने सिपी मैनाली हुनुहुन्थ्यो। भूमिगत आन्दोलनको दौरानमा आरके मैनालीसँग पनि म हिँडे। आरके मैनाली चाहिँ नाताले मेरो भतिज पर्नुहुन्छ। तर पार्टीमा हुँदा ‘कमरेड’ नै भन्थेँ। उहाँहरू जमिनदार वर्गकै भएपनि उहाँले सोचमा आफूलाई बदल्नुभएको थियो र गरीबको हितका लागि आन्दोलनमा लाग्नुभएको थियो।

    उहाँसँग हिँड्दा धेरैले मलाई उहाँकी छोरी भन्ठान्दा रहेछन्। म सानी भएकाले कतिले उहाँलाई भन्थे, “ए कमरेड, तपाईले यति सानी छोरीलाई किन लिएर हिँड्नुभएको? आमासँग राखिदिनु नि।” उहाँले पनि त्यसमा सार मिलाउदै भन्नुहुन्थ्यो, “घरमा बस्नै मान्दिनँ, आमाले पनि हेर्न सक्दिनन्।”

    कतिले हामीलाई हेरेर बुवा त काले छन्, यिनी गोरी छिन्, पक्कै आमा गोरी होलिन् भनेर अड्कल काट्थे। आरके कमरेडले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। नातामा मभन्दा सानो भएपनि उमरले म भन्दा जेठो हुनुहुन्थ्यो। त्यसैले म उहाँकी छोरीजस्तो भएर हिँडेँ। यसरी आन्दोलनमा हिँड्दा कहिले छोरी त कहिले कसैकी बहिनी भएर हिँडियो।

    बिरामी भएपछि फिर्ता पठाइयो

    २०२९ सालमा भूमिगत भएपछि म १ वर्ष भन्दा धेरै समय काम गर्न पाइनँ। म २०३० सालमा भारतको आसाम गएँ। भूमिगत अवस्थामा सरकारले चारैतिर छापा मार्ने गर्‍थ्यो। सेल्टर पनि धेरै खुलेका थिए। मलाई चाहिँ असाध्यै पेट दुख्ने भएकाले कतिखेर ठूलो स्वरमा चिच्याउँदो रहेछु, मलाई नै थाहा हुँदैन थियो।

    त्यसकारण मलाई भूमिगत बस्न गाह्रो हुने भयो र उपचार गर्ने पनि ठाउँ भएन। त्यसपछि सिपी मैनालीले नै बोलाएर घर जान आग्रह गर्नुभयो। मैले मानिनँ। तर पनि मलाई घरमै पुर्‍याइयो। त्यस बीचमा पनि घर गएको थिएँ। गएका बेला बुवाले राम्रैसँग कुरा गर्नु हुन्थ्यो। ‘देश र जनताको निम्ति काम गर्छु भनेर निस्किएपछि बचेर काम गर र शिर नझुकोस्’ भनेर सुझाव दिइरहनु हुन्थ्यो। आमा चाहिँ रुनु मात्रै हुन्थ्यो।

    त्यतिबेला मलाई घर पुर्‍याए पनि बुवाले त्यहाँ राख्न सक्ने स्थिति भएन। मलाई नेपाल र भारतको बोर्डरमा पुर्‍याउनुभयो। त्यहाँ एउटा बंगालीको घरमा काम गर्नुपर्ने थियो। मसँग अर्को साथी रिता खड्का पनि गएकी थिइन्। त्यहाँ एक महिना बस्दा धेरै दुःख पाइयो। पछि बुवालाई बोलाएर सबै कुरा भनेपछि उहाँले त्यहाँबाट आसामको तेजपुर लैजानुभयो।

    आसाममा उपचार पनि गराउने उद्देश्यले मलाई त्यहाँ लैजानुभएको हो। तेजपुर गएपछि हामी तत्काल आउन सकेनौँ। त्यहाँ लगभग २ वर्ष बस्यौँ। विद्यालय तहमा पढ्दै भूमिगत भएपछि पढाईलाई अगाडि बढाउन सकिनँ। आसाममा पनि घरायसी काम नै गर्नुपर्‍थ्यो। एक वर्ष त्यसरी नै बित्यो। अर्को वर्ष मेरो साइँला दाजुसँग भेट भयो। उहाँ पनि प्रवासिनु भएको थियो। दाईले मलाई ‘यहाँ सुखी भएर बस्नु भन्दा नेपाल गएर गोली खाएको बेस हुन्छ’ भनेर त्यहाँबाट नेपाल पठाउनुभयो।

    नेपाल आएपछि सबै कुरा बदलिएको पाएँ। पूराना साथीहरूसँग सम्पर्क भएनन्। धेरै साथीहरू नयाँ थिए। त्यसपछि साथी गंगा (रीता खड्का)को घरमा गयौँ। उनी त घरै बस्ने भइन्। मेरो चाहिँ जाने ठाउँ भएन।

    गंगाको दाईले मेरा साथीहरूसँग सम्पर्क गराइदिने बताउनुभयो। उहाँ देउनिया बस्नु हुन्थ्यो, उहाँको नाम भीम कुँवर थियो। उहाँसँग सम्पर्कमा आउँने क्रममा म प्रहरीबाट समातिएँ। उहाँ चाहिँ भाग्नुभयो। मलाई चन्द्रगढी लगियो। मलाई महिला प्रहरीले कुटपिट पनि गरे। तर, मैले म भर्खरै आसामबाट आएको र नेपालको बारेमा केही थाहा छैन भन्ने जताउनका लागि आसामी भाषा मात्रै बोले। केही कुरा नखुलेपछि मलाई २ दिनमा छोडियो।

    भारतको दोस्रो यात्रा र जेल

    म फेरि आसाम जान भनेर हिँडेँ। तर म आसाम नपुग्दै मलाई एउटा यस्तो ठाउँमा फसाइयो, त्यो घटना रसमय मेरा लागि एकदम कहालीलाग्दो स्मरणको रूपमा रहेको छ। यस विषयमा मैले मेरो किताब ‘मेरा जीवनका पाना’ मा लेखेको छु। अनेक जुक्ति लगाएर करिब २३ दिनपछि म त्यहाँबाट फुत्किएँ। म फेरि पुरानै ठाउँ, छत्रवासमा पुगेँ।

    मैले बुवालाई बोलाएर पार्टीका नाममा एउटा चिठी लेखेँ र त्यो चिठी पार्टीमा पुर्‍याउनु भनेर बुवालाई दिएँ। बुवाले त्यो चिठी सिपी मैनालीलाई दिनुभएछ र सिपी मैनालीले मान्छेसहित मलाई लिन पठाउनुभयो र म फेरि पार्टीमा सामेल भएँ। यसरी म २०३२ सालको मंसिर महिनामा दोस्रोपटक पार्टीमा सामेल भएको हुँ।

    त्यसको केही महिनापछि म फेरि समातिएँ। मसहित सिपी मैनाली, तारानिधि भुर्तेल र गोबिन्द न्यौपाने पनि समातिनुभएको थियो। ०३२ सालदेखि ०३७ सालसम्म म जेलमा बसेँ। ५ महिना झापामै राखियो र अरु समय काठमाडौँको महिला कारागारमा राखियो। जेलबाट छुटेपछि म फेरि भूमिगत भएर काम गर्न थालेँ। जेलबाट छुटेपछि भने मलाई पार्टीले प्रवास पठायो। प्रवासमा दुई वर्ष काम गरेँ। प्रवासमा रहँदा नेपालीहरू बसेका भारतका विभिन्न ठाउँमा म खटिएँ। सिलोङ, आसाम, कलकत्ता, बनारस लगायतका विभिन्न ठाउँमा पार्टीले पठाउँथ्यो।

    बाल संगठन हुँदै केन्द्रीय सदस्य

    विद्यार्थी जीवनदेखि नै पार्टीमा संलग्न भएको हुँ म। पहिला त हामी बाल संगठनबाटै अगाडि बढेका थियौँ। त्यसपछि लामो समय जमेर काम गर्न पाइएन। कहिले प्रवास त कहिले जेल गर्दा पार्टीमा संगठित भएर काम गर्न र संगठनमा अघि बढ्न पाइएन।

    जेलबाट छुटेछि चाहिँ महिला कमिटीमा केन्द्रिय सदस्य भएर काम गरेँ। पार्टीको जिल्लामा चुनाव लडेर जितेँ। अञ्चल हुँदै केन्द्रीय अनुशासन कमिटीमा पुगेँ। त्यसपछि आठौँ र नवौँ महाधिवेशनमा चुनिएर केन्द्रीय सदस्य भएँ।

    छैटौँ महाधिवेशनमा उठिनँ। सातौँ महाधिवेशनमा उठेको थिएँ, त्यहाँ पनि प्यानलमा नपरेका कारण जित्न सकिनँ। सुरुमा त माधव नेपाल पक्षबाट उठ्न अनुमति दिइएको थियो। पछि वैकल्पिक सदस्यमा उठाउने कुरा गरियो। पछि प्यानलबाट मेरो नाम नै काटिएछ। त्यति हुँदा पनि मेरो पक्षमा २ सय ५९ मत खसेको थियो।

    त्यसबेला मलाई आरके मैनालीले भन्नुभयो, “तपाईं नआत्तिनु होस्, तपाईंमाथि अन्याय भयो।” म साह्रै निराश भएको थिएँ। राम्रो काम गर्नेका लागि यो पार्टीमा ठाउँ रहेनछ भन्ने लागेको थियो। त्यसपछि ८ औँ महाधिवेशन र नवौँ महाधिवेशनबाट जितेर आएँ।

    विवाह

    म प्रवासमा काम गरिरहेकी थिएँ। उहाँ (गोबिन्दप्रसाद कोइराला) पनि पार्टीका मुखपत्र तथा किताब छाप्न भारत जानु हुँदोरहेछ। हाम्रो पहिलो भेट बनारसमा भएको हो।

    पछि नेपाल आएपछि पार्टीले मलाई सुदूरपश्चिममा पठाउने निर्णय गर्‍यो। उहाँ पनि त्यतै हुनुहुँदो रहेछ। उहाँको घर चाहिँ बर्दिया हो। उहाँसँगै रहेर काम गर्ने क्रममा म असाध्यै बिरामी भएँ। सास फेर्नै गाह्रो भयो। नाकमा मासु पलाएर अपरेसन नै गर्नुपर्छ भनेको थियो डाक्टरले। त्यसपछि मलाई उहाँले नै बनारस लिएर जानुभयो। पार्टीका साथीहरूले उहाँसँगै पठाउनुभएको हो।

    त्यतिबेलै उहाँले मलाई विवाहको प्रस्ताव राख्नुभयो। भोलि वैवाहिक जीवनमा कुनै अप्ठ्यारो नपरोस् भनेर मैले मेरो सबै परिस्थितिका बारेमा बताएँ। उहाँले भन्नुभयो,“चन्द्रमामा पनि दाग छ, त्यो भए के चन्द्रमालाई चन्द्रमा नभन्ने?” त्यसपछि हामी अघि बढ्यौँ र पार्टीलाई जानकारी दियौँ। पार्टीको पनि भित्रभित्रै हाम्रो बिहे गरिदिने तयारी रहेछ। त्यसपछि २०३९ साल साउन ३० गते नेपालगञ्जको एउटा सानो घरमा हाम्रो विवाह भयो।

    विवाहपछि पार्टीको काम गर्दै बच्चाहरू पनि आफैं हुर्काउनुपर्ने परिस्थिति आयो। मेरा तीनै जना छोरीछोरा भूमिगत अवस्थामै जन्मिएका हुन्। त्यसो भएका हुनाले बच्चाले आफ्नो बुवालाई पनि राम्ररी चिन्दैनथिए। पार्टीका काममा हिँड्दा बच्चा बोकेरै हिँड्थेँ। वामदेव गौतमले बच्चा छोड कि पार्टी छोडसम्म भने। तर म पार्टी पनि नछोड्ने र बच्चा पनि नछोड्ने अडानमा थिएँ। यो पार्टी म जस्तै अरु लाखौँ मान्छेको त्याग र बलिदानले जन्मिएको हो। दुईचारजनाले गर्दा मात्रै पार्टी यहाँ आएको होइन।

    वर्तमान राजनीति

    कम्युनिष्ट पार्टीमा अहिले जुन संकट आएको छ, यसले गर्दा अब यो पार्टी फेरि पहिलेकै ठाउँमा आउन धेरै कठिन छ। नेताहरूको व्यक्ति गत स्वार्थका कारण कम्युनिष्ट पार्टीमा अहिले यो अवस्था आयो। पार्टीलाई जनताले विश्वास दिएर यति ठूलो ठाउँमा पुर्‍याएका थिए। यदि नेतृत्वले देश र जनताको निम्ति काम गर्छु भनेर अघि बढेको भए, पार्टीलाई अझै माथि पुर्‍याउने अवसर थियो।

    तर एउटा बच्चा जन्माएर त्यसलाई राम्रो बाटो देखाउन सकिएन भने त्यो बच्चा कमजोर हुँदै जान्छ। पार्टीमा पनि त्यस्तै भयो। आफैले बनाएको पार्टीलाई सही दिशा दिनबाट नेतृत्व नै चुकेको छ। पार्टीमा अहिले गुट जन्मियो। त्यो गुटलाई नियन्त्रण होइन, निरन्तरता दिने काम भयो। गुट भित्रभित्रै मौलाउँदै गयो। नेतृत्व वैचारिक छलफल र बहस गर्नबाट विमुख भयो। केपी ओलीले त कार्यकर्तालाई होच्याउने र विभेद गर्ने मात्रै काम गर्नुभयो।

    ओलीमा पहिलेदेखि नै गुटगत राजनीति गर्ने नै प्रवृत्ति थियो। उहाँ आफ्नै खालको परिस्थिति, सोच र विचारमा मात्रै चल्ने र आफूले भनेको जस्तो हुनुपर्छ भन्ने मान्यताले चल्नुभयो। तर वैचारिक छलफलमा राख्न उहाँलाई कसैले हिम्मत गरेनन्। उहाँको त्यस्तो प्रवृत्ति र उहाँलाई सैद्धान्तिक छलफलमा ल्याउन नसक्ने अरु नेताहरूका कारण नै कम्युनिष्ट आन्दोलनमा अहिलेको परिस्थितिले जन्म लिएको हो।

    एकपटक केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो। त्यतिबेला कमरेड झलनाथ खनाल अध्यक्ष हुनुहुन्थ्यो। कुनै विषयमा छलफल भइरहेको थियो। पार्टीभित्र बसेपछि विधानलाई मान्नुपर्ने हुन्छ। कुरा नमिलेपछि केपी ओलीले झलनाथलाई तोकेर भन्नुभयो, ‘यो डामेको साँढे हो, यसबाट पार्टी चल्दैन।’ यो स्तरको अराजनीतिक शब्दको प्रयोग उहाँले गर्नुभयो।

    कुनै विषयमा कुरा नमिल्दा वा फरक धारणा हुँदा उहाँले यहाँनिर गलत भयो भन्न सक्नुपर्थ्यो। तर ठाडै व्यक्तिगत रुपमा आक्रमण गर्नुभयो। हामीलाई चित्त बुझेन। केहीले कुरा उठाउने प्रयास पनि गरे तर ठूला नेता कोही बोलेनन्। यसरी गलत प्रवृत्तिलाई मलजल गर्ने काम पहिलेदेखि भएको हो।

    अर्को एउटा घटना पनि याद छ, धेरै साथीहरूले एउटै मान्छेलाई पटक–पटक टिकट दिइनु गलत भएको कुरा उठाइरहेका थिए। त्यसक्रममा मैले पनि मेरा कुरा राखेँ। मैले पनि एउटै व्यक्तिलाई लगातारको चुनावमा टिकट दिनुभन्दा एउटा कार्यकाल त्यसलाई रोकेर अर्को व्यक्तिलाई दिँदा राम्रो हुने धारणा राखेँ। त्यसपछि उहाँले भन्नुभयो, ‘ल अब गौरा प्रसाइँ कामरेडले सबैभन्दा पहिले टिकट पाउनुहुन्छ।’ आफूले व्यक्तिगत रूपमा टिकट नपाएर कुरा उठाएको जस्तो व्यवहार उहाँले देखाउनुभयो।

    उहाँको यस्तो प्रवृत्तिको विरोध गर्ने आँट अरु नेताले नगरेकै कारण आज उहाँ सबैलाई पाखा लगाएर गम्भीर तानाशाह बन्नुभयो। ओलीलाई हिटलरजस्तो तानाशाह बनाउने काम पार्टीकै अरु नेताबाट भयो। अहिले त उहाँ अरु नेतालाई सडकबाट यत्तिकै ल्याएको जस्तो अभिव्यक्ति दिनुहुन्छ।

    राजनीतिमा आउने सबैले त्याग गरेको हुन्छ। अरु नेता तथा कार्यकर्तालाई पेल्ने र दुःख दिने उहाँको यस्तो प्रवृत्तिविरुद्ध रिपोर्ट गर्न जाँदा पनि अरु नेताले सुनेन्। कार्यकर्ताका कुरा सुनिदिने, बहस चलाउने र आलोचनात्मक ढंगले अघि बढ्ने पद्धतिलाई बीचैमा छोडियो। त्यही कारणले गर्दा केपी ओलीजस्ता नेतालाई आगडि बढ्ने मौका मिल्यो ।

    अहिले तिनै ओली कस्ता झुट कुरा गरिरहेका छन् र अरुलाई झुक्याइरहेका छन् भन्ने कुरा हामी देखिरहेका छौँ। अहिले नमस्कार गर्ने र उहाँसँग नतमस्तक हुने भन्दा अर्को कोही व्यक्ति उहाँको अगाडि जान सक्दैन।

    यदि कम्युनिष्ट पार्टीलाई जोगाउने हो हामी दह्रो भएर अगाडि जानै पर्छ। ओली प्रवृत्तिलाई खतम नगरी वाम आन्दोलन अघि जान सक्दैन। ओली प्नवृत्तिले विचारलाई रोक्छ, सिद्धान्तलाई त्याग्छ। न विधान मान्छ न सामुहिक निर्णय।

    एमाले सैयौं ज्ञातअज्ञात सहिदका रगत र हामीजस्ता लाखौं सदस्यहरुले निर्माण गरेको हो। यसको जग र संरचनालाई पार्टीका हरेक तहका स्वाभिमान र इमानदार कमरेडहरुले काँधमा बोकेका छन्। त्यसो भएको हुँदा अब यिनै मान्छेहरू एकिकृत भएर संगठनलाई सशक्त बनाउनुका साथै सैद्धान्तिक, वैचारिक र आलोचनात्मक पद्धतिलाई पनि सँगसँगै लैजान सकिन्छ। केही समय त लाग्छ, तर कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई अझै सशक्त ढंगले अगाडि बढाउन सकिन्छ।

    यो पनि पढ्नुहोस् –

    (नेता प्रसाईँसँग मेनुका बस्नेतले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गौरा प्रसाईँ

      गौरा प्रसाईँ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.