इतिहासमा संचित हुँदै गएका विकृतिहरूको नेकपा एमालेमा अहिले विस्फोट भएको हो। नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मूल शक्ति भएको हुनाले कम्युनिष्ट आन्दोलनसँग यसको भविष्य गाँसिएको छ। आन्दोलनकै सन्दर्भमा भन्नुपर्दा नेकपा एमाले अहिले एउटा अवसाद अर्थात् डिप्रेसनको चरणमा प्रवेश गरेकोछ। त्यसो भन्नुको अर्थ पुराना तौरतरिका, पुराना शैली, पुराना मान्यता, पुराना संरचना र पुराना नीतिले अब यो अवसादबाट बाहिर निस्किन सकिँदैन।
नेकपा एमालेका लागि यो चरण आत्मसमीक्षाको हो। भविष्यका गन्तब्यहरू निक्र्यौल गर्ने मौका पनि हो यो अवसर। एमाले अहिले गम्भीर संक्रमणको चरणमा छ, तर पार्टीले यो समस्यालाई मौकाका रूपमा लिनुपर्छ। अवसादको अवधि भनेको आफैँमा हानी नोक्सानी हुने समय हो, उपलब्धिको होइन। तर अवसादको समयमा वस्तुनिष्ट समीक्षा र आत्मसमीक्षाका साथ नयाँ उपायहरू निकालिन्छन भने त्यसपछि सुल्झिएको विचारसहितको र सुल्झिएको व्यवहारसहितको नेकपा एमाले हुन्छ भन्ने मलाई विश्वास छ।
खासगरी एमालेमा उत्पन्न विवाद यो पार्टीको विभाजनसम्म पुगेको छ। यसले पार्टीलाई नोक्सानी पुर्याएकोछ। आगामी दिनमा पनि यस नोक्सानीका प्रभावहरू अवश्यै देखिएलान्। तर यसैलाई आधार मानेर अब नेकपाएमालेको इतिहास सकियो भनेर कुनै व्यक्ति विशेष वा समुह विशेषलाई आधार बनाएर हेर्नु हुँदैन।
विभाजन आवश्यक थियो?
नेकपा एमालेमा नवौं महाविधेशनभन्दा अघिदेखि नै विवादका आधारहरू विद्यमान थिए, पार्टी कताकता आफ्ना सामाजिक मिसन, कम्युनिष्ट आन्दोलनाका मूल्य, सपना र आफ्नो वर्गप्रतिको जिम्मेवारीबाट विचलित हुँदैछ भन्ने कुराको अनुभव हुँदै थियो। त्यतिबेला पनि अन्तरविरोध नभएका होइनन्।
तत्कालिन विवादलाई एकसरो सुल्झाएर नै नवौं महाविधेशन सुखद रूपमा सम्पन्न भयो। महाधिवेशनपछि नेतृत्वमा विजयी भएको पक्षले महाधिवेशन अघि र पछिका विवादलाई सुल्झाउन जस्तो भूमिका खेल्नुपर्थ्यो, त्यो देखिएन। विवाद समाधानका लागि पार्टीभित्रको प्रतिपक्षसँग जुन सहकार्य गर्नुपर्थ्यो त्यसमा नेतृत्व चुक्यो। पाँचौं महाधिवेशनपछि मदन भण्डारीले आन्तरिक अन्तरविरोधलाई हल गर्न जुन तरिका अपनाउनुभएको थियो, नवौं महाधिवेशनपछिको नेतृत्व त्यो तरिकाबाट विल्कुल भिन्न दिशातर्फ गयो। त्यसैले त्यहाँ अन्तरविरोधहरू झनै बढ्दै गए।
पछि, नेकपा एमालेको माओवादी केन्द्रसँग एकता भइसकेपछि एकता प्रक्रिया अगाडि बढाउन कस्ता सैद्धान्तिक, वैचारिक कार्यनीति र रणनीतिक कार्यक्रम अपनाउनुपर्छ भन्ने विषयमा आवश्यक गृहकार्य भएन। त्यसको साटो, फेरि नजानिँदो ढंगले शक्ति संघर्षको अन्तरविरोधका साथै विचारमा आएका विचलन पनि झनै प्रखर रूपमा देखा परे। गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला अनुसार माओवादी केन्द्रसँग अलग भइसकेपछि पनि नेतृत्वबाट एमालेमा विवाद र विभाजनलाई सल्ट्याउने राजनीतिक सुझबुझपूर्ण कौशल प्रदर्शन हुन सकेन। विवाद झाँगिदै गएर अन्ततः पार्टी विभाजनमा गयो।
विद्रोह जायज कि नाजायज?
सर्वोच्चको फैसलापछि नेकपा एमाले पुरानै अवस्थामा फर्किनका लागि सबैभन्दा पहिलो सर्त थियो, पार्टीलाई २०७५ जेठ २ मा फर्काउनु। त्यस समयको संरचना र विचारमा पार्टीलाई पुर्याउनु पर्थ्यो। तर पार्टीभित्रको ‘सत्तासिन’ पक्षले एकलौटी निर्णय गरेर अघि बढ्न थाल्यो। फैसलापछि जेठ २ को संरचनामा फर्किनुपर्नेमा नेतृत्व पक्षले फागुन २८ मा एकलौटी निर्णय गर्यो र यसैबाट समस्या सिर्जना भयो।
एमालेको एकतालाई मजबुत बनाउनका लागि २०७५ जेठ २ मा फर्किएर त्यसै संरचनाभित्र रहेर पार्टीका अन्तरविरोधहरूलाई हल गर्नुपर्थ्यो। तर त्यसो नगरिएपछि समस्या बढ्दै गयो। अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टीका निर्णयहरू गर्न थालेपछि माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भनेर चिनिने समूहको राष्ट्रिय भेला आयोजना भयो। त्यस भेलाले पनि विभाजनको दिशा लिएको थिएन। भेलाले सिद्धान्तनिष्ठ भएर एकता गर्ने र पार्टीलाई ३ वर्ष अगाडिको अवस्थामा फर्काउनका लागि अपिल गर्यो। त्यही हुँदा पनि नेतृत्वबाट प्रतिक्रया दिन ढिलाई गरिन थालियो र एकलौटी निर्णयको सिलसिलालाई निरन्तरता दिइयो।
पछि पार्टीभित्र बढ्दै गएको समस्यालाई समाधान गरेर दुई पक्षबीचको एकताका लागि एउटा कार्यदल बन्यो। कार्यदलले विषद छलफल गरेर दश बुँदे सहमतिको प्रस्ताव अघि सार्यो। एकताको निम्ति माधवजीले चाहेको जस्तो कुनै त्यस्तो अर्को गाँठी, आधारभूत सर्त थियो भने त्यसलाई १० बुंदे सहमतिभित्र पारिनुपर्थ्यो या थप गर्नु पर्थ्यो । तर माधवजीले त्यस्तो विषय कहीं राखेको पाइदैन | माधव नेपाल समूहबाट कार्यदलमा रहेका साथीहरू १० बुँदे सहमतिमा माधव नेपालको सहमति बिना राखिएको त्यस्तो कुनै बुंँदा, शब्द र वाक्य नराखिएको बताउँछन्।
१० बुँदे सहमति भएपछि पनि पार्टीको विवाद मिलाउन ढिलाई भइरहदा ‘रात रहे अग्राख पलाउँछ’ भन्ने चिन्ता मलाई भइसकेको थियो। त्यसैकारण हामीले माधव नेपाल र कार्यदलका साथीहरूलाई बोलाएर अन्तरक्रिया पनि गर्यौं। माधव नेपालका निकटम नेताहरू रघुजी पन्त र भीम रावलजीका अनुसार १० बुँदेमा त्यस्तो कुनै विषय छैन, जहाँ माधव नेपालको असहमति होस्। माधवजीको सहमति भएपछि नै उहाँका तर्फका कार्यदल सदस्यहरूले १० बुँदेमा हस्ताक्षर गरिएको बताइन्छ।
माधव नेपाल प्रेसरमा त हुनुहुन्नथ्यो?
माधवजीको पावर सेयरिङको सर्त पनि होला भनेर हामीले बुझ्ने प्रयास गर्यौं। १० बुँदे कार्यान्वयनका लागि भरपर्दो संयन्त्र वा नेतृत्व जरुरी छ भनेर १० बुंदे सहमतिपछि पावर सेयरिङको एजेण्डा पनि अगाडि सार्यौं। यसका लागि अध्यक्ष ओली पक्ष राजी पनि भएको हो। ‘हामी पनि दुईवटा अध्यक्ष राख्नसमेत राजी भएका थियौं।’ विष्णु पौडेल र सुवास नेम्वाङहरूसँग पनि हामीले कुरा गर्यौं। उहाँहरूसँग मैले यदि पार्टी एकतालाई पावर सेयरिङले नै अवरोध गरेको हो भने यसमा किन विचार नगर्ने भनेर भनेँ। उहाँहरूले पनि माधवजीलाई केही अन्यथा नहुने भए आपत्ति छैन भन्नुभयो।
हाम्रो समुहका पार्टीका केन्द्रीय कमिटीका केही सदस्य र सांसदहरू बसेर कुराकानी गर्दा त्यहाँ पनि हामीले यो बिषयमा कुराकानी गरेका हौं। उहाँहरूले पनि कुनै आपत्ति नरहेको बताउनुभयो। ‘त्यो कुरा माधवजीसँग गर्न जाँदा उहाँ आफैँले त्यसलाई अस्वीकार गर्नुभयो। पार्टीमा दुईवटा अध्यक्ष बनाउँदा त्यसले आफूलाई महत्वाकांक्षी बनाउने उहाँको कुरा थियो। त्यसपछि यो च्याप्टर क्लोज भयो। माधवजीले अस्वीकार गरेको कुरा हामीले अध्यक्ष केपी ओलीलाई सुुनायौं। उहाँले पनि यो च्याप्टर क्लोज भएको कुरा गर्नुभयो।’
अन्ततः हाम्रो विचार समुहलाई निर्देशित गर्ने दुईवटा मान्यतालाई समेत लत्याएर माधव कमरेडले पार्टीविभाजन गर्नुभयो। पहिलो मान्यता हो, राष्ट्रिय सम्मेलनको म्यान्डेट। राष्ट्रिय सम्मेलनले २०७५ जेठ २ माफर्किने गरी एकता गर्न भनेको थियो। दोस्रो मान्यता थियो, विभाजनको केही दिन अघि मात्रै बसेको केन्द्रीय कमिटीको म्यान्डेट। यसले सम्मानजनक एकतामा जोड दिएको थियो। तर माधवजी त्यसको विपरित जानुभयो।
म माधवजीलाई धेरै अघिदेखि चिन्छु। माले-अर्डिनेसन कमिटी बन्नुभन्दा अगाडि अर्थात् २०३१ सालदेखि नै मैले उहाँलाई नजिकबाट हेरेको छु। उहाँलाई म ठूलो सिद्धान्तकार, दार्शनिक विचार भएको र चिन्तकका रूपमा हेर्दिनँ। तर पार्टीभित्र विधि र प्रक्रियालाई पछ्याउने, तुलनात्मक रूपले सरल र स्वच्छ नेताका रुपमा मैले उहाँलाई बुझेको छु। सबैभन्दा बढी उहाँ विधि र प्रक्रियामा जब्बर उठेको मान्छे हो।
यदि उहाँलाई १० बुँदेमा कुनै समस्या थियो भने वा उहाँ विभाजनको पक्षमा हुनुहुन्थ्यो भने उहाँले केन्द्रीय कमिटी बोलाएर आफ्नो कदमको जस्टिफाई किन गर्नुभएन? केन्द्रीय कमिटी, सांसदहरू र राष्ट्रिय भेलाको म्यान्डेटएकता नै हुँदाहुँदै उहाँले विभाजनको बाटो रोज्नुमा उहाँ कुनै ‘हिडन् प्रेसर’मा हुनुहुन्थ्यो कि भन्ने प्रश्न उठ्छ।
पार्टी विभाजन गलत
अहिलेको अवस्थामा, खासगरी नेपालजस्तो एक खालको राजनीतिक परिवेश भएको देशलाई अस्थिर राजनीतिभित्र धकेल्नका लागि भित्री वाहिरी शक्ति सक्रिय छन्। यिनको उद्देश्य के छ भन्ने विषयमा बेग्लैविश्लेषण हुन सक्ला। तर नेपालमा जुन किसिमले अस्थिरता थोपर्न खोजिदैछ, त्यसबाट हुने दुष्परिणामका बारेमा खासगरी ठूला पार्टीहरू बढी संवेदनशील हुनुपर्छ। अहिले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रजस्ता ठूला पार्टीहरूले आपसमा विभाजित भएर अन्तरविरोधको लाभ लिनका लागि ताउरमउर गर्ने बेला होइन।
अहिले देशको अर्थव्यवस्था कोभिडले गर्दा थिलथिलो बनाएको छ। राजनीतिक अस्थिरतालाई बढाउनका लागि हिजो पनि हाम्रो संविधानसँग असहमति राख्ने शक्तिहरु लागेकै छन्। यो संविधानसँग असहमति राख्नेभित्रि र बाहिरी शक्ति ज्यादै सक्रिय भएका छन्। यो सन्दर्भमा अहिलेका प्रमुख राजनीतिक पार्टीको विभाजनकहीँ कतै पनि न्यायिक र जायज छ जस्तो लाग्दैन। विगतलाई हेरौं, २०५४ सालको एमाले विभाजन र २०५९ को कांग्रेसको विभाजनले के ल्यायो? र, आज यदि एमालेको भर्टिकल रूपमै विभाजन हुन्थ्यो भने त्यसले ल्याउने परिणाम के हुन्थ्यो? के यसमा हाम्रो नेतृत्व तहमा रहेका मानिसहरू गम्भीर छन्?
दश बुंदे र ‘मध्यमपन्थी अवसरवाद’
१० बुँदे भनेको पार्टीभित्र अन्तरसंघर्ष चलाउनका निम्ति न्यूनतम प्रजातान्त्रिक स्पेस निर्माण गर्ने आधार मात्र हो। यसले न्यूनतम प्रजातान्त्रिक स्थान सिर्जना गर्छ भने बाँकी समस्याहरू त्यसैको कार्यान्वयपछि हल गरिन्छ। पार्टीभित्र अन्तरसंघर्षका बीचमा वैचारिक र सांगठनिक प्रश्नहरू छन्। तर डेमोक्रेटिक स्पेस भयो भने मात्रै तीप्रश्नहरूमा बहस गर्न सकिन्छ ।
१० बुँदे भनेको एमालेभित्रका सबै समस्याहरुको रामवाण औषधि थियो भन्ने हाम्रो मान्यता होइन। बाँकी मुद्दामात हामी छलफल र बहस गर्छौ। ओली पक्षका साथीहरूमा पनि पार्टी यो ठाउँमा किन आयो भनेर खुल्दुली छ।त्यसैले उहाँहरूसँग पनि बसेर हामी छलफल गर्न तयार छौँ, यसका लागि १० बुँदेले आधार दिने काम गर्छ। तर केही साथीहरूले यो सत्यलाई बुझेनन्। सबै समस्याको निराकण गर्नका लागि बनाइएको पाकताउली भाँडो होइन १० बुँदे। यसले पार्टीको एकतालाई कायम राख्नका लागि न्यूनतम आधारशीलाको मात्रै काम गर्छ। यो कार्यान्वयन भएपछि मात्रै अरु अन्तरविरोध र अन्तरसंघर्षका विषयमाथि छलफल हुन्छ।
बुद्धको मार्ग भनेको मध्यमार्ग हो। तपाईँ गितारको तार त्यति नकस्नुहोस् कि त्यो फ्याट्ट छिनोस्, तर त्यतिखुकुलो पनि नबनाउनुहोस् कि त्यसले दिनुपर्ने संगीत उत्पन्न नै गर्न नसकोस्। मार्क्सवादले दक्षिणपन्थलाई गलत भन्छ भने उग्र वामपन्थलाई पनि गलत भन्छ। यी दुई वटै अतिवादबाट बच्ने उपाय नै मध्यमार्ग हो।
अतिवाद नै शक्ति हो भनेर मार्क्सवादले भन्दैन। हाम्रा द्वन्द्ववादी तथा लालबुझक्कड साथीहरु सेतो र कालोमात्रै देख्छन्। दिन र रात मात्रै देख्छन्। सेतो र कालोबीचमा पनि धेरै रंगहरू छन्। दिन र रातको बीचमा पनि समय छ। दिन र रातको बीचमा सन्ध्या छ र प्रभात छ। ट्रान्जिसनल पिरेड हुन्छ तिनका बीचमा। तपाईँ अतिवादमा उभिनुभयो भने दिन र रातबीचको सन्ध्या र प्रभाव देख्नुहुन्न। तर यदि तपाईँ सन्ध्या वा प्रभातमा पुग्नुभयो भने के त्यसलाई अस्वीकार गर्नुहुन्छ?
वास्तवमा नेकपा एमाले इतिहासको एउटा यस्तो चौबाटोमा पुगेको छ, अब यो पार्टीले आफूभित्र विकसित भएका विकृतिहरूलाई धोइ पखाली गर्न सक्नु पर्छ। यहाँसम्म कि नेकपा एमालेको पुनःजन्म हुनसक्नुपर्छ र त्यो जरुरी छ। नेतृत्वदेखि लिएर विचार, संगठन र संरचनालगायत सबै कुरामा व्यापक पुर्नगठन हुन जरुरी छ। पार्टीभित्र रहेका सबै मानिस र हर कोहीले आत्मसमीक्षा गर्नुपर्छ। पार्टीको तल्लो तहदेखि छलफल गर्न जरुरी छ। माथिको आदेशमा पार्टी बनाउने होइन। तलदेखिको बृहत बहस र छलफलबाट यो पार्टीलाई पुनः निर्माण गर्न जरुरी छ।
यो पार्टी श्रमजिवी वर्गको पार्टी हो कि मध्यम वर्गको सत्ता र सुविधाकोलागि भर्याङ् (स्प्रिंग बोर्) ? यही बेला यसबारे समीक्षा गर्नुपर्ने बेला भएको छ। हामीले भनेको श्रमजिवी वर्गका मानिसलाई पार्टीमा कत्तिको सहभागी गरेका छौं ? संगठन र राज्य सत्तामा हामीले उनीहरूलाई कति डोहोर्याउन र तान्न सकेका छौँ ? यसबारे अब समीक्षा गरौं। माथी नव वर्गह र तल मध्यम वर्गको आत्म केन्द्रित स्वार्थी लम्पट समूहको रजगजको थलो त बनेको छैन ?! हाम्रो वर्ग पक्षधरता माथिको शंका फतुर मात्रै होइन |
हामी जे विचारमा हिँडिरहेका छौं, त्यो विचार प्रणालीको समीक्षा गरौं। मदन भण्डारीको अवसानपछि जनताको बहुदलीय जनवादलाई उदारवादी प्रजातन्त्रको मूल्यको भाष्यको रुपमा व्याख्या गरेको होइन | त्यो भाष्यमा स्वयम् मदन भण्डारी ओझेल पर्थे | मदन भण्डारीले अघि सारेको जनसत्ता, समाजवाद उन्मुख मिश्रित अर्थव्यवस्थाका मूल्यहरू कार्यक्रममा अभिव्यक्त हुने कुरा त छोड्नो’स, उच्चारण हुन् पनि छोडेको हो कि होइन ?! हामीले कस्तो संस्कृति निर्माण गर्यौं ?! बुर्जुवाहरु र फ्युडलको संस्कृति भन्दा हाम्रो संस्कृतिका बीचमा के फरक पर्यो?! न विचारमा, न व्यवहारमा, न संस्कृतिमा समाजवादी पहिचान देखिने यो हालत किन भयो? यसको पनि गम्भीर समीक्षा गरौं। सुधारका उपाय सुल्झाऔं |