मूलधारका राजनीतिक शक्तिहरूको स्थायित्वले राष्ट्रको जीवनलाई जीवन्तता दिने काम गर्छ। यदि राजनीतिक शक्तिहरूको स्थायित्व भएन भने त्यसले उत्पन्न गर्ने दुर्घटना दूरगामी र भयावाह हुने गर्छ, त्यो पनि प्रणालीगत संस्थाहरु सुदृढ नभई सकेको संक्रमणकालिन अवस्थामा । सानातिना पार्टीहरूमा हुने सामान्य फुटहरूले उति असर नगर्ला।
तर मूलधारका पार्टीहरूमा हुने तलबितल, विवाद र विखण्डनले सम्बन्धित पार्टीलाई त नोक्सान पुर्याउँछ नै, प्रकारान्तर रूपमा त्यसका असरहरू राष्ट्रिय जीवनमा नै पर्दा रहेछन् – निकट अतितको हाम्रो आफ्नै इतिहास साक्षी छ । जसको सबैभन्दा पछिल्लो उदाहरण, नेकपा एमालेको २०५४ सालको विभाजन हो। त्यसपछि कांग्रेसमा आएको विभाजनले राजा ज्ञानेन्द्रलाई निरंकुश राजतन्त्र पुनःस्थापना गर्ने हिम्मत बढाइदियो। जसले गर्दा प्रजातान्त्रिक अभ्यास गरिसकेको हाम्रो मुलुक एक पटक फेरि निरंकुश राजतन्त्रको जाँतोमा पिसिन पुग्यो।
आन्तरिक र बाह्य शक्तिको चलखेल
खासगरी नेकपामा भएको विवाद, नेकपाको अवसान र त्यसपछि माओवादी र एमाले अलग हुनेगरी पूर्ववत अवस्थामा आइपुगिसकेपछि नेकपा एमालेभित्रको विवाद जसरी चर्किरहेको छ, त्यसले कता लाँदैछ मुलुकलाई? यसले गर्दा पार्टीलाई त हुनुसम्मको नोक्सानी भइसकेको छ। यसलाई सही ठाउँमा ल्याउन अझै दशौं वर्षलाग्छ सक्छ । यो रातारात ठिक हुन्छ जस्तो लाग्दैन। यसले गर्दा कम्युनिष्ट आन्दोनका छविलाई नै ठूलो क्षति पुगेको छ। त्यो छविलाई फर्काउन र फेरि जनताको विश्वास आर्जन गर्नका लागि अरु दशौँ वर्ष लाग्न सक्छ।
तर के यो समस्या एमाले भित्रको मात्रै हो? लोकतान्त्रिक विकासको निम्ति सानाठूला सबै पार्टीहरुको स्वस्थ र मर्यादित हुनु जरुरी हुन्छ। मुलुकका लागि एउटा पार्टी तहसनहस भएर उस्तो फरक पर्दैन। तर एमाले जस्तो मुलधारको पार्टीको विवाद विभाजनको असर व्यापक हुन्छ। सकिर्ण स्वार्थमा आर्काको चितामा आफ्नो ह्याकुलो सुकाउन चाहनेहरूको कुरो अर्कै हो। त्यस्ता शक्ति जमजमाई रहेका पनि छन् ।
नेकपाको विवादभित्र नै रमाउनेहरूलाई हामीले चिनेका छौँ। पर्दापछाडि बाहिरी शक्ति र पर्दा अगाडि देशका पुनरुत्थानवादी शक्तिहरू जसरी जमजमाएर लागेका छन्, तिनीहरूका अभिष्ट के होलान्? यो हामीले सम्झिनुपर्ने बेला पनि हो।हाम्रो आन्तरिक शक्तिको संलग्नताको कुराकानी गर्ने हो भने अलिक अगाडिदेखि नै नेपालमा ‘राजा आउ देश बचाँउ’ भन्ने शक्तिहरू जमजमाइराखेका थिए।
तिनीहरूले काठमाडौंदेखि बिराटनगर र बिराटनगरदेखि धनगढीसम्म जुलुस प्रदर्शन गरिरहेको हामीले देखेका छौं । उनीहरुको हताशा र घोषणा उदेक लाग्दो छ । उनीहरू भित्रभित्रै एक किसिमको प्रचारप्रसारमा लागिरहेका थिए, डंका पिटिरहेका थिए र छन् । त्यहीं बीचमा नेकपाभित्रको विवाद चुलिएको थियो, एउटा पक्षलाई उचालेर अर्को पक्षविरुद्ध गएको पनि हामीले देख्यौँ। एमालेको एउटा पक्षको वारिस बनेर अदालतसम्म पुगे राजावादीहरू।
अर्को कुरा, खास गरी ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आएर फर्किसकेपछि एक किसिमले नजानिँदो ढंगको ट्यासिट अन्डरस्ट्यान्डिङ गरेर नेपाली राजनीतिको आन्तरिक द्वन्द्वमा भारतीयहरू प्रवेश गरेको संकेत गरेकाछन्। र त्यसका परिणामहरू देखिन थालेका छन्।
भित्रभित्रै त के कस्ता ट्यासिट अन्डरस्ट्यान्डिङ भएका छन्, त्यो रहस्यकै विषय होला। तर बाहिरै देखिने विषयहरू केके छन्? अहिले उठेको विषय छः कालीगण्डकी नदीको डाइभर्सन। यस विषयमा स्वयं प्रादेशिक अर्थमन्त्रीहरूले समेत शंका व्यक्त गरेका छन्। अर्को, चुरे पहाडबाट ढुंगा, गिटी र बालुवाको उत्खनन्को प्रयास।
रामवरण यादव राष्ट्रपति हुँदा स्वयं राष्ट्रपति संलग्न भएर यस प्रकारको दोहनलाई रोक्ने प्रयास गरेका थिए। तर आज कसरी ८०/९० करोड रुपैयाँ हुन्छ भन्दैमा निर्लज्जता पूर्वक र हाकाहाकी प्राकृतिक स्रोतमाथिको दोहनलाई क्रियाशील गरिँदैछ? यो कसको स्वार्थमा भइरहेको छ? कसैले नजराना चढाइराखेको त छैन?
ग्र्यान्ड डिजाइन र पूर्वराजाको तिर्थ
भूतपूर्व राजा ज्ञानेन्द्रलाई नांगेझार बनाएर हरिद्वारको गंगामा डुबुल्की मार्न लगाएको दृश्य पनि देखियो। भोलि के हुँदैछ? कसलाई डुबुल्की मार्न लगाइँदैछ? र, अझ सत्तामा बिराजमान गराएर के लिन खोजिँदैछ? अन्ततोगत्वा यो भ्याकुमले ल्याउने परिणम स्वरुप यहाँ हर कोही सत्तामा बस्नेका कन्दनी काट्ने काम त हुन गइरहेको छैन? त्यसबाट प्रताडित हुने, जोखिममा पर्ने भनेको राष्ट्र नै हो। सामन्ती युगमा समेत पूर्खाहरूले बचाएको मुलुकलाई कतै हामी नजानिँदो ढंगले अर्को कुनै मुलुकको प्रभाव क्षेत्र भित्र त पारिरहेका छैनौँ? कतै हाम्रो मुलुकलाई अर्को कुनै मुलुकको भेसेल स्टेट वा सेटेलाइट स्टेटका रूपमा त परिणत गरिरहेका छैनौँ ?
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्रान्ड डिजाइन’को कुरा गरिरहनुहुन्थ्यो। कतै हामी त्यही ‘ग्राण्डडिजाइन’मा त फसिरहेका छैनौँ ?! खास गरेर लालची नेताहरूको स्वार्थहरूभित्र प्रवेश गरेर हामीलाई त्यतातिरत फसाउन खोजिएको छैन?! आज एमाले फुटाइयो भने भोलि कोही अर्को सद्धे रहला त ?! कोही त हाकाहाकी यति सम्म भन्दैछन् ‘हामीलाई ज्ञानेन्द्र र पारस चाहिँदैन, हामीलाई हामीसँग सामाजिक र धार्मिक सम्बन्धभएको हृदयेन्द्रलाई राजा बनाउनुपर्छ।’ हामी अप्ठ्यारो घडीमा छौँ भन्ने मलाई लागेको छ।
आशलाग्दो क्षण
अहिलेको समयमा नेपालको अस्मिता तथा स्वायत्ततामाथि संवेदनशीलता बढेको छ। यो कुरा सुखद छ रत्यसको निम्ति एकिकृत प्रयत्न गर्नुपर्छ। यसका लागि कुनै एउटा पार्टीले मात्रै गरेर हुँदैन। २०६२/६३ को जनआन्दोलनबाट प्राप्त भएको राजनीतिक उपलब्धि, खासगरी संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वायत्त अस्मिता जोगाउनका लागि हामी सबै एकजुट हुनुपर्छ। हामी एकतावद्ध भएर यी उपलब्धिलाई जगेर्ना गर्नुपर्छ।
यो चेतना अहिले राजनीतिक वृत्तमा बढिरहेको छ। त्यो चाहिँ एउटा आसलाग्दो क्षण हो। यो हाम्रो राष्ट्रको परम्परादेखि बच्दै आएको आत्मा हो। अहिलेका केही मानिसहरू निर्घिणी स्वार्थहरूमा टेकेर क्षणिक फाइदा लिन खोजेका छन्, त्यो वास्तवमा उनीहरूकै निम्ति पनि प्रत्युत्पादक हुनेछ।
नेपाली जनमत असुचित र बेजान छ जस्तो लाग्दैन। नेपाली समाजको तलको एउटा ठुलो हिस्साले समेत योखेलको अन्तर्य बुझ्न थालेको छ। एकथरी भने अज्ञानतावस एमालेभित्रको विवाद या यो विभावजनका लागि कसैको उक्साहटमा धुप हालिरहेका छन्, त्यो निश्चिय नै सुखद घटना होइन। जो जानेर या नजानेर पार्टी फुटाउन धुप हालिराखेका छन्, उनीहरूलाई पनि हाइसन्चो हुने वाला छैन । पार्टी विभाजनमा घचेट्ने र विभाजनबाट बाक्लो दाल खान खोज्ने दुवै गलत प्रवृत्तिलाई एमालेजनले चिन्नु र रोक्न सक्नु पर्दछ |
अन्तरद्वन्द्वको परिणाम
आमरुपमा आन्तरिक द्वन्द्वले स्थापित शक्तिहरूको विनास गर्छ। महाभारत पनि आफ्नै परिवारबीचको द्वन्द्व नै हो। नेपालको राजपरिवारमा पनि आन्तरिक अन्तरविरोधकै लामो फेहरिस्त छ । राणा शासनको अन्त्यमापनि राणाहरूकै बीचको अन्तरद्वन्द्वले पनि काम गरेको छ। उसो त राणा र बाँकी समाजको द्वन्द्वपनि राणाशासन अन्त्यको कारण हो। राणा परिवारभित्रकै मान्छेहरूको सहयोग पनि प्रतिपक्षतर्फ थियो। त्यसकारण राणा शासन ढलेको हो।
वाह्य दबावका बावजुद हामीले यो संविधान घोषणा गर्यौं | यसो गरेर हामीले आफ्नो रणनीतिक स्वायत्तता र राष्ट्रिय स्वाधिनतामा कसैसँग सम्झौता न गर्ने घोषणा पनि थियो थियो | काला पानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धि सीमा विवादमा सिङ्गै राष्ट्र, राजनीतिक शक्ति एकढिक्को भएर आफ्नो मुलुकको अखण्डताको पक्षमा खडा भयौं |
यी कामले एकथरी बाह्य शक्ति खुशी थिएन। त्यसको अभिव्यक्ति स्वरुप हामीले नाकावन्दी भोगेको कुरा पनि बिर्सनु हुँदैन। त्यो शक्ति हामीलाई दण्डित गर्न मौका ढुकेर बसिराखेको छ। आज हामीकहाँ जे जस्ता घटनाक्रम विकास भएका छन् त्यसको निम्ति कतै नेपाली राजनीतिभित्रको अन्तरकलहभित्र पसेर पनि उसले प्रमोटगरिराखेको त छैन ?! न होला भन्न सकिने अवस्था रहेन ।
इतिहासका पाना र गतिबिधिहरूलाई हेर्दा त्यो शक्ति चुप लागेको जस्तो लाग्दैन र आज पनि कहीँ न कहीँ यसका गतिविधि सक्रिय छन्। खासगरी सामान्त गोयलको नेपाल भ्रमणपछि जेजस्ता घट्नाक्रमहरू देखिए, ती डरमर्दा छन्। यो केबल एउटा शक्तिको अवसानको विषयमात्रै होइन। यसले देशलाई कतातिर लैजादैँछ भन्ने चिन्तनको विषय पनि हो। यहाँ एउटा पक्षको मात्रै लसपस छैन। महाभारत युद्धमा बर्बरिकले भन्थे, ‘त्यो लडाइँमा म कोही देख्दिन थिएँ, मर्नेमा पनि कृष्ण र मार्नेमा पनि कृष्ण नै देखिन्थे। जताततै कृष्णको हात छ।’
हामीभित्रको अन्तरविरोधमा त्यो कृष्ण को हो? यो पनि हामीले खोट्याउनुपर्छ। हामी सचेत हुन जरुरी छ। यसको अर्थ कसैप्रति वैरभाव र पूर्वाग्रह राख्ने होइन। तर घटनाक्रमलाई हामीले गम्भीर र संवेदनशील भएरहेर्नुपर्छ। यसमा त्यो शक्तिको संलग्नता रहस्य के हो? त्यसको अभिष्ट के हो भन्नबारे सोच्नेबेला भएको छ।
संरचना, संस्था र संस्कृति
नेकपा एमाले भित्र राजनीति भनेको षड्यन्त्र, जालझेल र तिकडमबाजी मात्रै हो भन्ने बुझ्नेहरू पनि छन्। त्यसैले जसरी पनि शक्तिमा झुण्डिनुपर्छ भन्ने थेत्तराहरूको कर्मजस्तो राजनीति भएको छ। अर्कोतर्फ केही तत्वहरू होलान्, अवसरवादी एकता वा हरहालतमा विभाजनको नाममा त्यो तत्व सक्रिय भएको हुनसक्छ। त्यसैले दुवैपक्षबाट नेकपा एमलेको एकता बचाएर आन्दोलनमा भएका कमजोरीहरूको अवस्थालाई करेक्सन गर्नुपर्छ। एमालेभित्र देखिएको कमजोरीहरू चाहिँ आफैँभित्रको कमजोरीहरूको क्लाइमेक्स पनि हो।
भिडियो –