२०३५ साल असार महिनाको घटना हो यो । म घामले सेकिएर सुस्ताउन भनेर चौतारोमा बसेको थिएँ । मेरो गुन्टा बोक्ने भरिया पनि भारी बिसाएर बिँडी सल्काउने धुनमा थियो । त्यसैबेला एउटा मानिस घोडा चढेर हामीतिर आयो ।
घोडचढीले सेतो कुर्ता र सेतो धोती लगाएको थियो । ऊ तराइतिरको रहनसहनसित राम्ररी परिचित देखिन्छ भन्ने कुरा उसको त्यो शैलीले व्यक्त गर्दथ्यो ।
घोडचढी नजिकै आइपुग्यो । र, ऊ लगातार मतर्फ हेरिरहेको थियो । उसका ठूला ठूला आँखाहरु काल भैरवको हेराइ झैँ स्थिर थिए । मैले अनुमान गरेँ– गाउँको जमिन्दारको मोडेल यस्तै हुनुपर्छ ।
एउटा थोत्रो अटैँची बोकेर कालो डल्ले युवक घोडचढीको पछाडि हिँडिरहेको थियो । हामी नजिकै आएपछि घोडचढी टक्क अडियो ।
–ए ठिटा, घर कहाँ हो ?
त्यस मानिसको अशिष्टता देखेर म एकदमै छक्क परेँ । मनमनै त्यसको निरीहपनामाथि हाँसो उठ्यो । तर म गम्भीर मुद्रामा रही रहेँ । हुनसक्छ शासन गर्ने एउटा तरिका यसरी हप्काउनु पनि हो ।
त्यस मानिसले मलाई किन त्यसरी हप्काएर व्यवहार गर्यो ? मेरो शारिरीक आकृति देखेर नै त्यो हौसिएको हुनुपर्छ । त्यसले ठान्यो होला म कुनै कृषि गणना वा जनगणनामा आउने खर्दार हुँ । मेरो दुब्लो ढाँचाले सम्भवतः यस्तै दर्शाउँथ्यो । ऊ आफ्नो पहिलो प्रश्नको निम्ति अधीर भएर मतिर घुरिरह्यो । तर मैले जवाफ दिइनँ ।
घोडचढीले आफूले खोजेको जवाफ नपाएपछि फेरि गर्जियो– ओ भाई, कहाँबाट आएको र कहाँ जान लागेको?
घोडचढी ‘ठिटा’ बाट ‘भाइ’मा ओर्लिएकोले ऊ भित्रभित्रै अत्तालिन थालेको स्पष्ट बुझिन्थ्यो ।
–किन बोल्नुहुन्न ? कान सुन्नुहुन्न कि क्या हो ? तपाईं कहाँबाट आउनु भो र कहाँ जाँदै हुनुहुन्छ?
जब घोडचढी धरहराबाट तीन सिँढी ओर्लेर जमीनमा आइपुग्यो त्यसपछि मैले बोलेँ– माफ गर्नु होला, यो गाउँमा पाहुनासित कसरी व्यवहार गरिन्छ होला भन्ने विषयमा सोच्दा सोच्दै तपाईंको प्रश्नको जवाफ दिन विलम्ब भयो । अन्यथा नमान्नुहोला ।
मेरो जवाफ पछि घोडचढीको अनुहार नीलो देखियो ।
–म तपाईंको रुपाकृति हेरेर अनुमान गर्दैछु, यदि चिनियाँ लेखक येह शी ले तपाईंसित भेट गरे भने तपाईंबारे एउटा राम्रो कथा लेख्ने थिए । के तपाईंको घर यतै कतै त होइन ?
उसले शुरुमा ममाथि शासन गर्ने मनसायले जसरी बोलेको थियो त्यसैको बदला चुकाउनु थियो । आखिर शासन गर्न को चाहँदैन? मानिसहरुमा शासक बन्ने महत्वकांक्षा उकुचपल्टेको घाउ झैं हुन्छ । कहिल्यै बिसेक नहुने ।
मेरो शब्दभेदी अस्त्र निकै प्रभावकारी भएछ । जसले गर्दा उसको जिब्रो अचानक बाक्लो भयो र मुखभित्रबाट रसिलो पदार्थ गायब भयो । तसर्थ जड्याहाले झैं शब्दहरुको सन्तुलन कायम गर्न नसकी उसले भन्यो– म यो गाउँको प्रधानपञ्च हुँ, हजूर ! ऊ त्यो मेरो घर हो । रामेछाप मन्थलीको बेँसीमा सबभन्दा राम्रो घर एउटै थियो– त्यहीँ घर उसको रहेछ ।
–अनि तराइतिर पनि छ कि ?
–हजूर जनकपुरमा छ, सिर्सिया तारापट्टीमा । २०/३० बिघा जमीन छ– उसले जवाफ दियो ।
अटैँची बोक्ने कालो युवक– जो त्यहाँको माझी बस्तीको उत्पादन थियो– मालिकमा एकछिन आएको यो परिवर्तन देखेर छक्क परिरहेको थियो ।
–अच्छा, तपाईंसित भेटेर ज्यादै खुशी लाग्यो । म अहिले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा एम ए गर्दैछु । त्यसैको सिलसिलामा म राष्ट्रिय विकास सेवा गर्न आएको हुँ । अब यहाँको सदरमुकाम पुग्न कति छ ?
–त्यस्तै अढाइ–तीन कोश । तर आज यतै राज भए पनि त भयो । मैले त पहिले हजूरलाई चिन्नै नसकेको ।
–होइन, मलाई आजै पुग्नु छ । पछि कुनै समय मौका मिलेमा बसौंला नि ।
त्यसपछि घोडचढी प्रधानपञ्च आफ्नो घोडाबाट ओर्लियो र त्यो घोडामा मलाई चढ्न अनुरोध गर्यो । मैले उसको त्यो आग्रहलाई स्वीकार गरिन ।
अब कालो घोडाको लगाम कालो माझीको हातमा थियो । घोडचढी प्रधानपञ्च निकै माथिसम्म मलाई पु¥याउन आयो ।
–हजूर पढाइ सकेपछि के गर्ने विचार छ ? छुट्टिने बेलामा उसले सोध्यो ।
–यस्तै जागीर सागीरमा लाग्नुपर्ला । मैले सहज ढंगले जवाफ दिएँ ।
–हजूर सि डि ओ हुनुभयो भने यही जिल्लामा पाल्नुहोला है । यदि हजूर यस जिल्लामा पाल्नुभयो भने हाम्रो पनि ठूलो अहोभाग्य हुनेछ ।
घोडचढी भावी सपनाको दृश्यावलीको कल्पनामा लिप्त भयो ।
त्यसपछि मैले सोचेँ– शासन पनि एउटा कला हो । तर यो कला कथा लेख्नु भन्दा धेरै फरक छ ।
–प्राची, अगस्त १९९३ (‘इरफान अली’ कथा संग्रहबाट साभार)