सम्पादकीय टिप्पणीः यो अध्ययन नेपालको पश्चिम हालको लुम्विनी प्रदेश अर्घाखाँचीको राजनैतिक पहिचान झल्काउने आँखीझ्याल हो। यसमा खास कुलहरु र तिनका नातासम्बन्धीहरु कसरी काँग्रेस र कम्युनिष्टहरुको पहिचानमा संलग्न हुन पुगे र तिनीहरुले इतिहास देखि नै पाइ आएका राजनैतिक सुविधा र हैसियत हत्याइराख्न सके भन्ने प्रष्ट गर्दछ। नेपालमा शासन प्रणाली फेरिएपनि राज्यमाथिको पकड अझै सम्म कुलिन वर्गबाट अन्य वर्गमा सरेको रहेनछ। वि. सं. १८४३ मा गोर्खालीहरुले अर्घा माथि विजय प्राप्त गरेपछि अर्घाली राजाहरु पदच्युत गरिएका थिए। त्यसबेला व्राम्हण र काजीहरु नै ठूलो मुखिया थिए र तिनीहरुले मन्दिरको पूजा गर्ने र जमीन करहरु उठाउने गर्दथे। राणाकालमा तिनीहरु नै ठूलो मुखिया राज्यका प्रतिनिधी नै थिए र राणाकालपछि काँग्रेस र कम्युनिष्ट बन्दै र पञ्चायतकालमा समेत तिनीहरु नै राज्यका प्रतिनिधीहरु बनेका थिए। हाल उनीहरु कुन अवस्थामा छन्- यसको अध्ययनक्षेत्र होइन तर के भन्न सकिन्छ भने अर्घाखाँचीमा शक्ति अर्को वर्गमा पुग्न सकेको छैन।
यस अध्ययनमा अर्घाखाँची पुर्कोटका काजी खलकका धनेश्वर भुसाल र अर्घाका पुरोहित खलकका कमलापथी भुसालहरुका सन्तान नै कसरी काँग्रेस र कम्युनिष्टको पहिचानमा आए र तिनीहरुले ००७ साल, पञ्चायतकाल र बहुदलकालमा राजनीतिमा पकड जमाउन सके। बेलबेलामा खनाल, आचार्य, बेलवासे आएपनि यी दुवै भुसालहरुको बैशाखीमा आएका हुन् भन्ने बुझ्न सकिन्छ। यो अध्ययन अर्घाखाँचीको मात्र हो तर यस अध्ययनलाई सन्दर्भमा राखेर अन्य जिल्लाहरुमा कुलिन वर्ग र मध्यम वर्गबाट राजनीतिक शक्ति तल्लो वर्गमा सरे-नसरेको मापन गर्न हाम्रा पाठकहरुका लागि उपयोगी हुनेछ भन्ने ठानेर यहाँ साभार गरिएको छ।
नेपालका दुर्गम भू-भागहरुको भ्रमण गर्दा यो गाउँ ‘कम्युनिष्ट’ र त्यो गाउँ ‘काँग्रेस’ भनेर औल्याउने गरेको पाइन्छ। गाउँहरुलाई चिनाउन प्रयोगमा ल्याइने यस प्रकारका राजनैतिक परिचयहरु आफैमा कत्तिको सार्थक र सापेक्ष छन्? कुन हिसावमा गाउँहरुलाई एउटा खास राजनैतिक पार्टीसँग आवद्व भएको निर्क्यौल गरिन्छ? अर्घाखाँची जिल्लाको वि.स. २०४७ सम्मको राजनैतिक इतिहासलाई केलाउँदै मूलतः यिनै प्रश्नहरुलाई प्रष्ट गर्ने जमर्को गर्न चाहन्छु। स्मरण रहोस् यस लेखमा प्रस्तुत गरिएका तथ्यहरु वि.स. २०४३-२०४७ बीचमा गरिएको अनुसन्धानमा आधारित छन्। यो, पञ्चायत कालको पछिल्लो समय थियो जतिखेर राजनैतिक पार्टीका गतिविधिहरु खुला रुपमा सञ्चालन गर्न बन्देज थियो। यो कुरा प्रष्ट छ, वि.स. २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र त्यसपछि सुरु भएको माओवादी विद्रोहले जिल्लाका स्थानीय राजनैतिक पार्टीका वास्तविकता र स्वरुपहरु सशक्त रुपमै प्रभावित भएका हुन सक्छन्।
अर्घाखाँची मध्यपश्चिम नेपालको कम उचाइमा अवस्थित एक पहाडी जिल्ला हो। यहाँको जनसंख्या घना छ। अन्य पर्वतीय र ग्रामीण क्षेत्रको तुलनामा यहाँ शिक्षित जनसमुदायहरू बसोबास गर्दछन्। यस भेगको मुख्य आयस्रोतका रुपमा कृषि व्यवसाय र विदेशबाट कमाई पठाइएको धन नै रहेको पाइन्छ। मेरो मुख्य अध्ययनको क्षेत्र अर्घा राज्यको पुरानो राजधानी अर्घाराजस्थल थियो। जहाँ विशेषगरी बाहुन, क्षेत्री, कामी, सार्की, दमाई, गाइनेहरु एवं केही न्यून संख्यामा नेपाली भाषा बोल्ने मगरहरु र नेवारहरु बस्ने गर्दछन्।
मलाई मेरो अनुसन्धानको सुरुका महिनाहरुमा एउटा पक्षले चकित पार्यो जुन त्यस गाउँका दुई समुहबीच गहिरो रुपमा जरो गाडिएको प्रतिस्पर्धी भावना थियो। हुन त गाउँलेहरू गाउँमा आउने जो कोही नौलो मान्छेका अगाडि एकजुट नै भएको देखाउन खोज्छन् तैपनि त्यहाँको यथार्थ वस्तुस्थिति मलाई चाँडै नै खुल्न गयो। गाउँलेहरू मध्येकै एक कुनै खास समूह अर्को समूहलाई ‘ठग’ र ‘शोषकको हूल’ भनेर व्याख्या गर्दथ्यो। त्यसमा पनि कम्युनिष्टहरुले कांग्रेसहरुलाई र कांग्रेसहरुले कम्युनिष्टहरुलाई यस्ता आक्षेप लगाउने गरेको पाइयो। मैले चाडै नै बुझेँ यस्ता किसिमका भनाइहरुले दुई शक्तिहरुबीच विद्यमान पद्धतिमुलक विरोध झल्काउने गर्दछन्। यसलाई मानवशास्त्री हरु ‘गुट’ भन्ने गर्दछन् भने यहाँका स्थानीय बासिन्दाहरु ‘पक्षीय’ नामाकरण गर्दछन्। त्यसैले मैले यी गुटहरुका बनोट,स्थानीय समाजको संरचनात्मक वस्तुस्थिति र उनीहरूमा विद्यमान फाटोका राजनैतिक नतिजाहरू बुझ्ने जमर्को गरें। यी गुटहरु बारे के बुझ्न जरुरी छ भने उनीहरुको न त कुनै जातीय वर्गसँग मिल्दाजुल्दा छन् न त कुनै आर्थिक वर्गीकरण सँग नै। दुवै गुटहरुमा समानुपातिक हिसावमा बाहुन, क्षेत्री, कामी र दमाईहरूको संलग्नता भएको पाइयो। यसैगरी जमिन्दारहरु,अधिया कमाउने मोहीहरु, मजदुरहरु वा उद्यमीहरुका संख्या पनि दुवै गुटहरुमा उत्तिकै पाइयो। विद्यालयस्तरमा भने एक वा अर्को समूह भनेर छुट्याउन नसकिने भेटियो। दुवै गुटहरुले स्थानीय समाजको आधा जति जनसंख्या ओगटेका थिए। यस तथ्यमा यस मानेमा पनि छ दुवै गुटहरु संख्यात्मक राजनैतिक हिसाबका यस ठाउँका प्रभावशाली कुलका (दुवै भुसाल थरका) नेताहरुका वरिपरि संगठित भएको पाइयो। अर्घाका पूर्व राजाहरु र राजगुरुहरुका सन्तान मानिने दुबै कुलहरु पुस्तौंदेखि विभाजित छन्।
गुटको उत्पत्ति वा निरन्तरता दुई किसिमको सैद्धान्तिक एकतामा आधारित रहेको पाइयो। एकातिर एकै कुलका दाजु-भाइहरूका बीच र अर्को संरक्षक र समर्थकका बीच। पर्वतीय समाजमा ‘संरक्षक-समर्थक’का बीचको सम्बन्ध अति महत्वपूर्ण हुन्छ। यसप्रकारको सम्बन्ध ‘आफ्नो मान्छेको’ सम्बन्धभन्दा तहगत प्रकृति र व्यापकताको हिसाबले धेरै हदसम्म फरक छ। यस सवालमा ‘समर्थक-संरक्षक’ को सम्बन्ध एउटा जटिल सम्बन्धका साथै व्यापक सम्बन्ध पनि हो। यसले समाजका दुई असमान व्यक्तिहरुलाई समाजका सबै क्षेत्र समेट्ने तर आफैंमा भौतिक लेखाजोखा कडिकडाउका साथ पालना नगर्ने विविध लेनदेनका कारोवारहरुका माध्यमद्वारा जोड्ने गर्दछ। यस सम्बन्धको अर्को महत्वपूर्ण पक्ष के छ भने दुवै संरक्षक र समर्थक आ-आफ्ना सम्बन्धलाई अनिवार्य देख्दैनन्, तथापि निष्पक्ष पर्यवेक्षकहरुको भने यस सवालमा विभिन्न सोच पनि हुनसक्छ। संरक्षक र समर्थकहरु एकआपसमा सेवा र आपसी सहयोगहरु साटासाट गर्ने गरेको बताउँछन्। संरक्षकहरूले समर्थकहरुलाई भौतिक सरसमान उपलब्ध गराउनुका अतिरिक्त प्रशासनिक कामहरुमा सहयोग जुटाउछन्। समर्थकहरुले संरक्षकहरुलाई बिशेषतः शारीरिक काममा सहयोग र राजनैतिक कुरामा समर्थन गर्दछन्। ‘संरक्षक समर्थक’ को सम्बन्ध तल्सिङ- मोहीको सम्झौतापत्रबाट, बाली र जजमानी तथा तमसुक वा ऋणधनको लेनदेनबाट सुरुवात हुनसक्छ तर नै उल्लेखित तरिकामा मात्र सिमित भने हुँदैन र यसले अरु थुप्रै किसिमका साटासाटलाई पनि अङ्गिकार गर्ने गरेको पाइन्छ। अर्घाराजस्थलका केही धनी घरवालाहरु भने संरक्षकको भूमिका निर्वाह गर्नतिर लागेनन् र आफूलाई केवल जमिन्दार र ऋण सहयोग दिने साहुमा सीमित राखे। यसबाहेक उनीहरु कुनै पनि सामाजिक वा सांगठनिक जिम्मेवारीमा दीर्घकालीन रूपमा बसेनन्।
अर्घाखाँचीको राजनैतिक पद्धतिलाई जोड्ने कडीका रुपमा माथि उल्लेखित ‘संरक्षक समर्थक’ को सम्बन्ध देखिन्छ। समर्थकहरुको आफ्ना संरक्षकको कार्य थलो वा गढको निर्माण वा विस्तार गर्दथे। स्थानीय संरक्षक जिल्ला तहका संरक्षकको अगाडि समर्थकको भूमिका निर्वाह गर्दथ्यो। जिल्ला तहका संरक्षकको काठमाडौंसँग प्रभावकारी सम्बन्ध हुने गर्दथ्यो। यसकारण गाउँका स्थानीय संरक्षकको भूमिका गाउँ समाजलाई बाह्य समाजसँग जोड्नका लागि अति नै महत्त्वपूर्ण हुने गर्दथ्यो। यस सवालमा यहाँ उल्लेखनीय के छ भने स्थानीय संरक्षकहरू आफ्नो भूमिका निर्वाह गर्न निकै गाह्रो हुँदै गइरहेको गुनासो यदाकदा गर्दथे। उनीहरु आफूलाई एकातिर आफ्ना समर्थकहरूको बढ्दो माग र अर्कातिर कर्मचारीतन्त्रको काम गर्ने प्रविधिमा आएको ह्रासको मारमा परेको महसुस गर्दथे। अर्कोतर्फ, पहिलेका जस्ता सक्कली तथा प्रभावशाली नेताहरु रहेनन् भन्ने गुनासो समर्थकहरूको थियो।
विक्रम संवत २०३६ का दशकतिर अर्घाराजस्थलमा प्रकाशमा आएका चार संरक्षकहरु चार छुट्टाछुट्टै स्वशासित कार्यथलोका नेताहरु थिए। झै-झगडा वा द्वन्द्वको अवस्थामा चाहे त्यो पारस्परिक भनाभन वा गालीगलौज मात्र नै किन नहोस्; यी कार्य थलोका प्रभावशाली कुलहरु दुई चिरपरिचित गुटहरुमा समाहित हुने गर्दथे। एकातिर अर्घाली भुसाल तिनका समर्थकहरु सहित थिए भने अर्कातिर पुर्कोटे भुसाल र तिनका समर्थकहरु।
सबभन्दा बढी द्वन्दात्मक अवस्था चुनावताका हुने गर्दथ्यो जतिखेर अत्यधिक स्थानीय बासिन्दाहरु दुई गुटमध्ये कुनै एकका समर्थकका रूपमा प्रष्ट चिनिने गर्दथे। सच्चा र खुला रुपमा कतै पनि नलागेका मतदाता जो थोरै हुने गर्दथे उनीहरु दुवै पक्षहरुद्वारा अपहेलित हुने गर्दथे। यसकारण संरक्षकहरूको भूमिका चुनावी अभियानताका विशेष महत्वपूर्ण हुने गर्दथ्यो। उनीहरु पहिले आफ्नै समर्थकहरूको इमान्दारिता र समर्थन जुटाउने गर्दथे। त्यसपछि तिनै समर्थकहरुलाई कार्यथलो बाहिरका अन्य गुटहरुबाट मत खसाल्नका लागि परिचालन गर्ने गर्दथे। यस्तो चुनावी खेललाई मत चोर्ने काम भन्ने गरिन्थ्यो। यसैले गाउँलेहरुसँग मतदाताहरुका नियत र धारणा प्रष्ट हुन्थ्यो र चुनावी अभियानका अन्त्यतिर उनीहरुले गरेका भविष्यवाणी चुनावको अन्तिम नतिजासँग मिल्दोजुल्दो हुने गर्दथ्यो।
यसरी अर्घाराजस्थलको राजनैतिक जीवन प्रमुखरुपमा दुई भुसाल कुलका बीच रहेको प्रतिस्पर्धा मै आधारित थियो। भुसालहरुको पुरानो अर्घा राज्यमा प्रमुख वा महत्वपूर्ण स्थान थियो। चार शताब्दी अघि अर्घाका पहिलो राजासँग आएका यिनीहरुले राजगुरु र काजीका रूपमा सेवा गरेर राज्यको स्थापनाका लागि भरपुर सहयोग गरेका थिए। वि. सं. १८४३ मा गोर्खालीहरुले अर्घा माथि विजय प्राप्त गरेपछि अर्घाली राजाहरु पदच्युत गरिएका थिए। यस कालका ऐतिहासिक कागजातहरू अत्यन्त दुर्लभ छन् जसका कारण यस समयमा भएका राजनैतिक फेरबदलहरुका ठोस वर्णन गर्न सकिँदैन तर यस्तो लाग्छ अर्घामा पनि नेपालका अन्य ठाउँहरुमा झैं उही सिद्धान्त लागू गरिएको थियो, जहाँ राज्यबाट नियुक्त मुखियाले न्यायाधीश र कर उठाउने मान्छेले दुवै काम गर्दथे। यस्ता नियुक्तिहरू त्यस ठाउँका प्रभावशाली कुलका मानिसहरू मध्यबाटै हुने गर्दथ्यो।
वास्तवमा १९ औं शताब्दीको अन्त्यतिर अर्घालीहरुका पुर्खा मानिने ठुलो मुखिया कमलापथी भुसाल एक पुरानो राज्य संचालन व्यवस्था अन्तर्गत मिल्ने भागमा कार्यभार सम्हालेर बसेका थिए। (ठुलो मुखियाले थुप्रै मुखियाहरुलाई चलाउने गर्दथे)। वि.स. २०१९ मा मुखिया पद्धतिको उन्मूलन नहुँदासम्म उनका जेठा छोरा र जेठा नातिले उनको जिम्मेवारी निभाएका थिए। यसरी नै उनका कान्छा छोरा र नातीहरुले जिम्वाल अर्थात् सिचाइयुक्त जमिनहरुका कर उठाउने काम गरेका थिए। त्यस्का साथसाथै अर्घा भगवतीको मन्दिरमा मूल पुजारीको कार्य सञ्चालन गर्न अर्घाली पक्षकालाई नै सुम्पिएको थियो, जुन आजको दिनसम्म जारी छ। आर्थिक हिसाबले यो मन्दिर राजगुठीद्वारा संचालित थियो। अन्य कार्यालयहरु अरु प्रभावशाली कुलहरुलाई हस्तान्तरण गरियो जसमा पुर्कोटे भुसालहरुको परे जो पूर्व काजीहरुका सन्तान थिए। पुर्कोटेहरुका पुर्खा धनेश्वर लगायत उनका हाँगाबिँगा दाजुभाइहरुले उत्तरी अर्घाका दुई वार्डहरुमा (तालुकहरुमा) मुखिया अर्थात् असिंचित जग्गा जमिनका तिरो उठाउने कार्यभार सम्हाले।
अर्घाली र पुर्कोटे कुलहरुबीचको फुटको उत्पत्तिबारे हालका सदस्यहरु अनभिज्ञ छन्। एउटै कुरा के थाहा छ भने पुर्कोटेहरु केही समय पुर्कोट अर्थात् पश्चिम गुल्मीमा बसाइँ सरेपछि एकीकरण पश्चात अर्घाराजस्थल फर्केका हुन्। मध्य बीसौं शताब्दी अगाडिसम्म भुसालहरुबीच राजनैतिक कार्यभार लागि प्रतिस्पर्धा रहेको भन्ने कुराको कुनै औपचारिक प्रमाण भेटिँदैन तथापि आज पनि संस्कृतिको क्षेत्रमा धार्मिक प्रतिस्पर्धाका संकेतहरु प्रशस्त पाइन्छन्। दुई कुलहरुले अर्घाका केन्द्रीय देवतालाई छुट्टा-छुट्टै पुजा गर्ने संस्कारको स्थापना गरे। यसबाहेक मन्दिरहरूको निर्माण र पुनर्स्थापना गरे जुन कुरा अभिलेखहरूमा होसियारीपूर्वक राखिएका छन्। यस किसिमको भक्तिभावको प्रतिस्पर्धा बाहेक राजगुठी अन्तर्गत पर्ने जग्गाहरु बाँडफाँट गर्ने सवालमा कलह उब्जने गर्दथ्यो।
आर्थिक,संख्यात्मक र सांगठनिक हिसाबले प्रभावशाली दुई कुलहरुले स्थानीय जनसमुदायमा आफ्ना धार्मिक र राजनैतिक प्रभाव लाद्ने वा लागू गर्ने यस प्रकारको राजनैतिक स्वरूप वा पद्धति न त राणाहरूका पतनले ढलपलायो, न त पञ्चायती शासन व्यवस्थाले नै यसमाथि असर पार्यो। वि.स. २०१९ मा गाउँका नेताहरु तोकिने नियमहरुमा आमूल परिवर्तन भयो। त्यसपछि सरकारी तवरबाट राज्यले नभई सिर्जना हुँदै गाउँ परिषदका सदस्यहरुले ‘प्रधान’ छन्न थाले। तथापि कुलहरुका सवालमा उनीहरुको सहभागिता र वाहुल्य भने उही नै रह्यो। यसरी अन्तिम अर्घाली ठूलो-मुखियाका छोरा मित्रलाल भुसाल अर्घाराजस्थलका पहिलो प्रधानपञ्च बन्न पुगे र उनका छोराले पनि पिताको बींडो थामे। यसैगरी बीस बर्षको अवधिसम्म गाउँ र जिल्ला तहमा उनका प्रमुख प्रतिद्वन्द्वी भनेका पुरकोटे नारायण थिए जो धनेश्वरका सन्तानहरुमा सबभन्दा जेठा खलकका जेठा र उत्तरपूर्वका अन्तिम मुखिया थिए।
एउटा निर्वाचनयुक्त शासन पद्धतिभित्र यस किसिमको राजनैतिक वस्तुस्थितिको निरन्तरतालाई कसरी मूल्यांकन गर्न सकिएला? पंचायती निर्वाचनहरु राज्यद्वारा नै परिचालित हुने गर्दथे भनूँ भने सो भनाइ आफैंमा अधुरो र अपुग हुन जान्छ; किनभने दुवै नेताहरु नयाँ सत्ता वा शासन पद्धतिका कर्मठ समर्थकहरु थिएनन्। वास्तवमा यस ठाउँका छेउछाउका धेरैले झैँ पञ्चायतको गाउँ फर्क अभियानमा (जसलाई सांस्कृतिक क्रान्तिको संज्ञा पनि दिइन्छ) मित्रलालले अस्थायी तवरमा आफ्नो पद छोड्नु परेको थियो। मतदाताहरूको पुराना मुखियाहरु माथिको निर्भरता किटेर भन्ने पनि अमिल्दो र असत्य नै हुन आउँछ। एक त अत्याधिक गाउँलेहरु मित्रलाल वा नारायण कुनैसँग पनि सिधै आश्रित थिएनन्; गाउँलेहरुका यी दुई नेता न त तल्सिङ नै थिए न त आसामी। यदि मतदाताहरु माथि कसैको प्रभाव थियो त तिनैका संरक्षकको। यस सवालमा पुराना शक्तिहरूका निरन्तरताको मुख्य कारण एकातिर समर्थकहरूको संरक्षकप्रतिको इमान्दारिता जस्तो कि अर्घाली संरक्षकहरुको मित्रलाल प्रतिको ईमान्दारिता थियो र अर्कातिर पुर्कोटे संरक्षकहरूको नारायण प्रतिको ईमान्दारिता नै थियो। यी दुई नेताहरु आज पनि कतिपय व्यक्तिहरूका मानसपटलमा ठुला मान्छे (भलाद्मी) का रुपमा रहेका छन्। यो शक्ति र समृद्धिका कारणले मात्र नभई उनीहरूको उदारपना र निष्पक्षी व्यवहारका कारण पनि भएको हुनुपर्छ।
यदि लोककथनमा विश्वास गर्ने हो भने (जुन अक्सर मानवशास्त्री ले गर्नुपर्ने हुन्छ) नेताप्रतिको इमान्दारिता क्याम्प परिवर्तनको नतिजा भने थिएन। कम्तिमा पनि उल्लेखित भनाइहरुलाई पक्षीय वा गुटगत पद्धति भित्र राखिनु पर्दछ किनभने सबै कुरा बोल्ने ब्यक्तिको पहिचानमा भर पर्ने हुन्छ। प्राय: आफ्नो पक्षहरूलाई भलाद्मी र अर्को पक्षकालाई ’ठग’ र ‘शोषक’ का रुपमा लिने प्रवृत्ति मानिसहरुमा पाइन्छ। यस सन्दर्भमा लोकप्रिय मतदानद्वारा गरिने छनौटको नै पुनर्व्याख्या गर्नुपर्ने स्थितिको सृजना भयो किनकि मतदान प्रणालीमा भागलिने पक्षधरहरुको प्रवृत्ति पनि त्यस्तै नै देखिन्थ्यो।
वास्तविकतामा मतदाताले त्यस उमेद्वारलाई वैधानिक मान्ने गर्दथ्यो जसको पक्षमा उसले भोट हालेको हुन्थ्यो। यदि आफ्नो पक्षको उमेदवार प्रधान भएको खण्डमा उ तिनका निर्णय र निर्देशनहरुलाई अङ्गीकार गर्ने गर्दथ्यो तर विपक्षी उम्मेदवारले जितेको खण्डमा उसको नेतृत्वमा काम गर्न तयार हुँदैन थियो। उसको सोच हुन्थ्यो- “मैले उसलाई भोट हालेकै थिइन, म किन उसले भनेको मानूँ?”
दुवै भुसाल कुलका जेठाबाठा र आधा दर्जन भुसाल ‘संरक्षक समर्थक’हरुका बीचमा देखिएको गुटगत प्रतिस्पर्धा नै अर्घाराजस्थलमा लामो समयसम्म जरो गाडेको राजनैतिक वस्तुस्थितिलाई सञ्चालक र निरन्तरता दिने प्रमुख सिद्धान्त थियो। यस प्रकार गुटबन्दीको असर विभिन्न क्षेत्रहरुमा पर्थ्यो जुन कुराबारे हामी यहाँ विस्तारमा उल्लेख गर्ने छैनौं। उदाहरणका लागि, एउटै गुट भित्रका विवादहरुलाई तेस्रो गुटका नेताहरुले सजिलै समाधान गर्दथे भने भिन्न गुटका सदस्यहरुबीच उठेको विवादले अक्सर द्वन्द्वको स्थिति सिर्जना गर्दथ्यो। गाउँ तहमा निर्णय लिने काममा पनि ठूलो प्रभाव पर्दथ्यो। विकासका योजनाहरुमा विपक्षी गुटका पहलहरुलाई नियमितरुपमा भाँड्ने र रोक्ने काम हुन्थ्यो। तथापि कुनै परिस्थितिमा भने यी गूटहरु (संरक्षक-समर्थक) को प्रभावकारी परिचालन बढी नै उत्पादनमुलक सावित हुने गर्दथे। हुनत हामीले यहाँ जोड दिन खोजिरहेको विषय राजनैतिक पहिचान र क्याम्प परिवर्तनमा गुटवन्दीको भूमिका थियो भन्ने हो। वास्तवमा भन्ने हो भने यदि दुवै गुटहरु एउटा निश्चित गाउँका ठाउँसँग आवद्व थिए भने एउटा कुनै राजनैतिक पार्टी वा अझ किटेर भन्नु पर्दा एउटा राजनैतिक परिचयसँग आबद्ध थिए। एक पक्ष आफूलाई ‘कांग्रेस’ भनेर दाबी गर्दथ्यो भने अर्को पक्ष ‘कम्युनिष्ट’। यस प्रकारका पहिचानहरु केही शिक्षित बाहुन-क्षेत्री संरक्षकहरुका लगायत गुटका बहुसंख्यक सदस्यहरुद्वारा प्रकाशमा ल्याइने गर्दथ्यो।
यस्ता प्रकारका परिचयहरुले ठोस उपत्यकालाई किटेर भन्न असजिलो छ। गाउँलेहरुका कुरा सुन्दा कहिलेकाहीं यस्तो लाग्थ्यो धेरै पहिले देखि नै आधा गाउँ कांग्रेस र अर्को आधा कम्युनिष्ट थियो।
कोही यस्तो स्थिति पहिले प्रजातान्त्रिक काल अर्थात् वि सं २००७ सालपछि भएको भन्छन्। जतिखेर मध्यपश्चिम नेपालमा नेपाली कांग्रेसको दह्रो प्रभाव थियो। त्यसैका कारण स्थानीय विपक्षीहरुको पहिचान र झुकाव दह्रो हिसाबले कम्युनिष्ट पार्टीतिर भएको हुनुपर्दछ। तर दुई प्रश्नहरु भने अनुत्तरित नै छन् पहिलो त किन यस्तो पहिचान कांग्रेसका भित्री (आन्तरिक) गुट वा अरु पार्टीहरुको नभई कम्युनिष्ट पार्टीकै पक्षमा हुन गयो? र दोस्रो कुनै वर्ग विशेषले नभई कसरी समाजका केही निश्चित स्थानीय मानिसहरु आफूहरुको पहिचान नेकपासँग जोड्दथे? यस्ताखाले पहिचानका प्रकृया व्यक्तिगत प्रभाव तथा सञ्जालको कारणले विशेष प्रभावित हुन्थ्यो। यो कुरा गाउँ तहमा महसुस गरिएको हुन्थ्यो भने क्षेत्रीय तहमा र चुनावमा त अझ प्रस्ट रुपमा देखा पर्दथ्यो।
हामीले वर्णन गरेको अर्घाराजस्थलको सबै गाउँहरू र त्यसमा पनि जिल्लाका उत्तरी भागका प्राचीन वस्तीहरूको प्रतिनिधित्व गर्दछ। कसैले गुटगत विभाजनको अनुभव गरे कसैले गरेनन् तर पनि राजनीतिक पद्धति भने एउटा प्रभावशाली बाहुन-क्षेत्री कुल र तिनका समर्थक वरिपरि नै घुमिरहन्थ्यो। खनालहरु ‘खन’ मा पकड जमाउँथे भने वाङ्ला भुसालहरु (दुवै अर्घाली र पुर्कोटे भन्दा फरक) वाङ्लामा, गौतमहरु खिदिममा,बेलबासे र पौडेलहरू महाभारत लेकमा…। जिल्लाको राजनैतिक जीवनको दिशा यी कुलहरुका नेताहरुका इच्छा र आकांक्षा मै भर पर्ने गर्दथ्यो। २००७ सालमा राणाहरूको पतनले यी नेताहरुलाई क्षेत्रीय राजनैतिक कार्यालयहरुमा पहुँच प्रदान गर्यो जसमा पहिले राणाहरुको र सैनिकका वंशजहरुले एकाधिकार कायम गरेका थिए। ती पदहरुको किन पनि महत्त्वपूर्ण रहन गए भने प्रशासनिक र विकासमूलक रणनीतिहरूले जिल्ला तहलाई महत्वपूर्ण स्रोत र फाइदाहरु प्रदान गर्दथ्यो। त्यसैले कुलहरु एक अर्काबीच आफ्ना सम्बन्धित ठाउँहरुमा नयाँ स्रोत र फाइदाहरू भित्र्याउन प्रतिस्पर्धामा जुटे किनकि उनीहरुलाई राजनीतिक कार्यालयहरु हत्याउनु थियो जसले यस्ता पहुँचहरु प्रदान गर्दथे।
सन् १९५० का दशकतिर यस ठाउँमा रहेको नेपाली कांग्रेसको बलियो उपस्थितिले त्यसपछिका राजनीतिक उत्पति र विकासमा ठूलो टेवा पुर्यायो। अर्घाखाँचीमा राणाहरूका विरुद्धको संघर्षमा ३ व्यक्तित्वहरु चिनिए,काशीनाथ गौतम, जो पार्टीका गाउँ समितिका नेता थिए र जसको जन्म अर्घाखाँचीको दक्षिण-पूर्वमा भएको थियो। दक्षिण पश्चिममा पर्ने सिद्धाराका पुष्करनाथ पोखरेल र अर्घाका कुभिराम आचार्य।
वि.स. २०१६ को आमचुनावमा अर्घाखाँचीका दुई सिटका लागि कांग्रेस पार्टीले काशीनाथ र सुवर्ण शमशेरलाई मनोनयन गर्यो। पछि सुवर्ण शमशेरको उम्मेदवारी फिर्तापछि पुष्करनाथले सो सिट पाए। आफ्नो मनोनयन नभएकोमा पार्टीसँग रुष्ट भएर कुभिरामले कांग्रेस छाडे र कम्युनिष्ट पार्टीमा प्रवेश गरे। फलतः पहिले कम्युनिष्टहरु सांगठनिक तवरले कमजोर रहेका उनको गृह ठाउँका (अर्घाखाँचीको उत्तर-पश्चिम) खनाल र अर्घाली भुसालहरु बिस्तारै कम्युनिष्टहरु तिर नजिकिए। जब काशीनाथ विपी कोइरालाका मन्त्रिमण्डलमा छिरे तब पूर्व र पश्चिम अर्घाखाँचीको फाटो झन् बढ्न गयो। जति पूर्वी अर्घाखाँची त कांग्रेसको थलो भनेर चिनिन लाग्यो, त्यति नै पश्चिम अर्घाखाँची नेकपाको थलो भनेर चिनियो।
वि.स. २०१७ को ‘कू’ ले कांग्रेसको स्थानीय प्रभावलाई निश्चयपनि तहसनहस पार्यो र छुट्टै व्यक्तिहरूको उदयका निम्ति बाटो खुला गरिदियो। एक तराइका जमिन्दार र उद्योगपति जीव नारायण बेलबासे सिद्वाराको पूर्व मुखिया पनि थिए उनी मोहन शमशेरको पालामा जिल्लाका सभापति समेत भएका थिए। वि. स. २००८ मा उनी कांग्रेसको सुधार समितिमा समेत रहेका थिए। पहिलो सदनको चुनावमा उनको छिमेकी पुष्करनाथ पोखरेलको मनोनयन भएपछि उनको स्थानीय कांग्रेस राजनीतिको भविष्य खतरामा परेको थियो। वि स २०१७ मा कांग्रेस राजनीतिको पतनले उनको (जीव नारायण बेलबासेको) उदयलाई निरन्तरता प्रदान गर्यो। उनले कांग्रेस देखि रुष्ट प्रभावशाली कुलहरु जस्तै आचार्यहरु, खनाल र विशेषगरी अर्घाली भुसालहरुका समर्थन जुटाउन सफल भए। उनको अर्घाहरुसँगको सम्बन्ध विशेष थियो किनभने उनकी आमाले सोही कुलमा जन्म लिएकी थिइन् र उनको पिताको चाँडै मृत्यु भएका कारण उनको पढाइ लेखाइ उनका मामा अर्थात मित्रलालका बुवाले हेरेका थिए। यसैगरी पुर्कोटेहरुसँगको सम्बन्ध पनि उनले आफ्ना भाइकी छोरी पुर्कोटे नारायणलाई बिहेदान दिई सुदृढ पारेका थिए। यसैकारण उनी जिल्ला पञ्चायतका सभापति र त्यसपछि १५ वर्षसम्म अर्घाखाँचीका राष्ट्रिय पञ्चायत सदस्य (रापस) भए। पश्चिमका नेताहरुले पनि पूर्वका कांग्रेस विरुद्धको छवि प्रदान गर्ने सिलसिलामा उनैलाई समर्थन गरे। पश्चिमी नेताहरुले कम्युनिष्ट कार्यथलोका कुभिराम आचार्य मार्फत लगातार सहयोग गर्दथे। कम्युनिष्ट कार्यकालको नेतृत्व छिमेकी प्युठानबाट मोहनविक्रम सिंहले गर्दथे।
पूर्वका गौतमहरु, वाङ्लाका भुसालहरु र पोखरेलहरुले वि. स.२०२१ र २०२६ को राष्ट्रिय पंचायतको चुनावमा काशीनाथले आफ्नै नातेदार र त्यसपछि उनका भाइका विरुद्ध पराजय भोग्न पर्यो भने नारायण (पुर्कोटे) भुसाललाई जिल्ला पञ्चायतका सभापतिमा जिताउन सफल भए। त्यसैले जिल्लाको पक्का गुटबन्दीको अनुभव गर्यो जुन अर्घाराजस्थल जस्ता गाउँमा प्रतिध्वनित हुनपुग्यो। विद्यमान गुटबन्दी उही कुल, क्षेत्रिय र पार्टीगत आधारमा रहेको थियो। जिल्लासँग सम्बन्धित सबै विषयहरुमा बने छलफलहरुमा पनि त्यही फाटो विद्यमान रहने हुनाले पूर्व र पश्चिम बीचका शक्ति सन्तुलन नै जिल्लाका पञ्चायतले लिने निर्णयहरूमा निर्णायक रहने गर्दथ्यो। सबभन्दा नाटकीय विषय सदरमुकामको चयन थियो जुन कुलहरु बीचका साँठगाँठका फेरबदलका कारण २० वर्षभित्र ढाडाकोट देखि नरपानी हुँदै अन्त्यमा सन्धिखर्कमा पुग्यो।
वि.स (२०२९-३६) ‘गाउँ फर्क’ कालले कम्युनिष्ट र कांग्रेस बीचको मतभिन्नता र आपसी अन्तरविरोधहरुलाई केही हदसम्म मत्थर पार्यो भने ‘गाउँ फर्क’ले मनोनयन गरेको गाउँ सभाका प्रतिनिधिहरुले स्थानीय शक्तिको सही प्रतिनिधित्व गर्दैनथिए र उनीहरु कट्टर पञ्च थिए। यसका अतिरिक्त गाउँका मामलामा समेत काठमाडौंको सर्वदा हस्तक्षेपले भने स्थानीय नेतृत्व पंक्तिमा असन्तोष पैदा गर्यो दुवै क्याम्पहरुलाई काठमाडौंको विरुद्ध एकजुट हुन अभिप्रेरित गरायो। वि स २०३७ को जनमतसंग्रहको नतिजाले अर्घाखाँचीको राजनैतिक स्वरूपलाई केही जटिल गरायो तर प्रमुख सिद्धान्तहरुलाई आँच नपुर्याइकन। दुई साँघुरा क्याम्पहरुमा विद्यमान अन्तरविरोधले बिस्तारै आफ्नै क्याम्पभित्र अन्तरविरोधहरू निम्त्यायो। नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरु दुवैका केही मानिसहरुले पञ्चायत व्यवस्था भित्र छिर्ने निर्णय गरे। यस्तो मार्ग काशीनाथ गौतमले निर्वासनबाटै अपनाएका थिए। उनले ‘३८ से समूह’ का साथ वि. सं २०३७ को निर्वाचनमा उम्मेदवारी दिएर कांग्रेसको केन्द्रीय समितिलाई अवज्ञा गरे। सुरुमा पूर्वीय कुलहरु जिल्लाको र रा. प. स. को सिट पुन: हत्याउने आशामा उनका पछि लागे जुन उनीहरुले हत्याए पनि। पश्चिमको क्षेत्र भने जीव नारायण बेलबासेले (जो पञ्चायतसँग निकट भएका मानिन्थे) मित्रलाललाई छाडिदिए। मित्रलाल विरुद्ध उनकै पुराना सहकर्मीहरु (खनालहरु) उठे। पुराना भुसालहरुको प्रभाव हटाउने उद्देश्यले खनालहरुले नयाँ व्यक्ति विष्णु प्रदीप नाम गरेको मान्छेलाई समर्थन गरे। स्वयं विष्णु प्रदीप आफूलाई कम्युनिष्ट पार्टी मा.ले. का प्रतिनिधि भनी दावी गर्दथे। जसको फलस्वरुप भुसालहरु कम्युनिष्टहरु बीचको एक प्रतिद्वन्द्वी मोहनविक्रम सिंहको चौथो महाधिवेशनसँग नजिक हुन पुगे। वि.स. २०४० पछि ‘मसाल’ नामाकरण गरे पश्चात चौंथो महाधिवेशनले प्यूठान बाहिर आफूलाई बिस्तार गरी अर्घाखाँचीका पश्चिममा पूर्ण रुपमा जग बसाल्न सफल भयो। वि.स. २०३६-३७ मा भएको जनमत संग्रह बहिस्कार अभियानमा सो पार्टी निकै सकृय थियो र वि.स. २०३७ को अन्त्यतिर सदरमुकाममा निकालिएको जुलुसमा यस पार्टीका लडाकू कार्यकर्ताहरु प्रहरीको गोलीबाट मारिएका थिए। पहिले ‘अर्घाली’हरूले मोहन बिक्रमको समूहसँग एकाध नौजवानहरु मार्फत् खुकुलो सम्बन्ध राखेका थिए तर जब चुनावको एकदिन पछाडि उनीहरूका छोरा टंक प्रसादको प्रहरीले हिरासतमै मृत्यु भयो उनीहरु पूर्णतवरले चौथो महाधिवेशनमा लागे। यस घटनाले जिल्लाको पश्चिमलाई कम्युनिष्ट पहिचान दियो जसअनुसार एक भाग मा.ले सँग सम्बन्ध थियो भने अर्को भाग मसालसँग।
वि.स. २०४३ को आम निर्वाचनपछि पुनः निर्वाचित भएर मन्त्री बनेका काशिनाथले यस्तै प्रकारको स्थितिको सामना पूर्वमा गर्नुपर्यो। खिदिको दह्रो पकडमाथि कुनै जोखिम नभएको खण्डमा वाङ्ला भुसालहरुको स्थानीय उम्मेद्वार रामबहादुर वी.सी.लाई समर्थन गर्दथे, जो आफू कांग्रेसको मूल प्रवाहको रक्षक भएको दावी गर्दथे। वि.स. २०३८ मा पराजित भएपछि र वि.स. २०३९ को जिल्ला पञ्चायतको चुनावमा बाङ्ला भुसालको पक्षमा हार्ने मित्रलालले आफ्नो ठाउँ नयाँ व्यक्तिलाई छाडिदिए। त्यो व्यक्ति अरु कोही नभएर लेखनाथ अर्थात जीव नारायण बेलबासेको छोरा थिए जसले संयुक्त अधिराज्यबाट विद्यावारीधि हासिल गरेका थिए। लेखनाथ अर्घालीहरूको समर्थन जुटाउन सफल भए र आफ्ना समर्थकहरु लगायत विरोधीहरु उनलाई कम्युनिष्टको बिल्ला लगाउँदथे। यद्यपि उनी आफै भने कुनै कम्यूनिष्ट संस्थाहरुसँग सम्बन्धित थिएनन्। उनलाई कम्युनिस्टका दुई उम्मेद्वारहरू विष्णु प्रदीप र मा.ले भित्रका प्रतिद्वन्दी जयप्रकाश किसान (जो पूर्व अञ्चलका थिए) द्वारा दिइएको थियो।
कांग्रेस र कम्युनिस्ट दुवैका बीच रहेको विभाजनको स्थितिलाई हिसाव गर्ने हो भने वि.स. २०३७-२०४७ सम्मको अर्घाखाँचीको राजनैतिक घटनाक्रमले राष्ट्रिय राजनैतिक परिदृश्य चित्रण सही रूपमा गरेको थियो, तथापि यी केवल समूहगत ऐक्यवद्धता र पहिचानहरु मात्र थिए। यो कुनै पार्टीहरुका कार्यक्रम र सोचहरुमा आधारित थिएन। काशीनाथको मृत्युपछि सम्पन्न वि.स. २०४४ (सन् १९८८) को आम चुनावमा सोही प्रवृत्ति हावी भएको पाइन्थ्यो। म यहाँ पाठकहरुलाई उक्त चुनावको पूर्ण अभिलेख दिन चाहन्न जहाँ पूर्वका कांग्रेस उमेद्वार रामबहादुर बिसीले पश्चिमी कम्युनिस्ट उमेदवार लेखनाथलाई परास्त गरेका थिए फेरि पनि नतिजाको नक्साले भने प्रष्ट हिसावमा प्रत्येक कुलद्वारा प्रभावित भू-भागहरुलाई प्रतिबिम्बित गरेको थियो।
यस समयमा संयुक्त कार्यगत एकताको निर्माण चम्किरहेको थियो नयाँ शक्तिहरु देखा परिरहेका थिए, जस्तै वि.स. २०३६ (सन् १९८०) का दशकमा चिदिकाको आफ्नो दह्रो गढमा मोदनाथ प्रश्रित पौडेलको उपस्थिति। तर स्थानीय समुदायको कुनै पार्टी वा उम्मेद्वारसँगको ऐक्यबद्धता वा समर्थन प्रभावशाली कुलका नेताहरूको बीचमा भर पर्दथ्यो वर्गीय स्वार्थ वा दर्शनमा होइन। यसको सट्टामा गाउँ र जिल्ला तहमा एउटा कुलको नेताको अर्को कुल प्रतिको रणनीतिगत दृष्टिकोणले भने बढी महत्व राख्दथ्यो। पार्टीको शाब्दिक अर्थ यी नेताहरूको व्यक्तिगत सम्बन्ध र गुटगत विपक्षीहरु बीचको समन्वयमा भर पर्दथ्यो। किनभने चुनावी युद्धले एकातिर राजनैतिक पद मार्फतको भौतिक नाफा जनाउँदथ्यो भने अर्कोतिर समूहको इज्जतको नापतौल गर्दथ्यो। यस मूल उद्देश्यका लागि पनि आफूलाई प्रतिद्वन्द्वी समूहहरू भन्दा पृथक देखाउन राजनैतिक परिचयको प्रयोग गर्नु पर्दथ्यो। यदि प्रतिद्वन्द्वीले आफूलाई कम्युनिष्ट दावी गरेको खण्डमा आफूले बाध्य भएर कांग्रेसको परिचय अपनाउनुपर्ने हुन्थ्यो भने यदि आफू पहिल्यै देखि कम्युनिस्ट रहेको भए कम्यूनिष्ट गुटभित्रको विपक्षी गुट पक्डिनु पर्दथ्यो।
जनआन्दोलनताका यी कुलगत, क्षेत्रीय र समर्थकका पहिचानहरु उत्तिकै शक्तिशाली थिए।एउटा राम्रो उदाहरण रेवती भुसालको लिन सकिन्छ जो वि स २०४८ को आमनिर्वाचनमा उत्तरी क्षेत्रबाट चुनिएका थिए। उनी नारायणका छोरा हुन् जो पुर्कोटे मुखियाका खास सन्तान हुन्। रेवतीको पार्टीप्रतिको कटिबद्धतामा कुनै सन्देह थिएन किनभने उनी सानै उमेरदेखि पार्टीमा समर्पित कार्यकर्ता थिए, तर एउटा कुरा पनि अचम्मकै छ, त्यो के भने एउटा सिंगो शताब्दीसम्म र त्यो पनि भिन्न भिन्न राजनैतिक परिप्रेक्ष्यमा कसरी नेतृत्व एउटै पारिवारिक कुलभित्रै हस्तान्तरण हुनगयो? टोप बहादुर रायमाझीको स्थिति पनि महत्वपूर्ण छ। उनी आर्घाराजस्थलको मध्य प्रभावशाली कुलमा जन्मेका थिए र लामो समयदेखि दुवै अर्घाली र पुर्कोटेहरूको विरोध गर्दै आफ्नो अस्तित्व कायम गर्न खोजेका थिए। वि.स. २०४८ को आम चुनावमा उनी संयुक्त जनमोर्चाबाट रेवतीका प्रमुख प्रतिद्वन्द्वी थिए र अहिले माओवादी केन्द्रीय समितिका सदस्य पनि छन्।
वि.स. २०४७ पछि असन्तुष्टिहरु बढ्दै गएका कारण पूर्व-पश्चिम सम्बन्ध झनझन धमिलो हुँदै गयो। ऐतिहासिक रुपमा प्रभावशाली कुराहरुबाट साना महत्वका कुलहरु छुट्ने क्रम, एकै थरका छुट्टिएका कुलहरुबीच गुट अन्तरगुटको निर्माणको क्रम बढ्दै गयो। जिल्लाको एक प्रभावशाली थरले कुलको संयोजन र पार्टीगत गुटवन्दीको उत्तम नमुना प्रस्तुत गर्यो। एक कुलले मसालका क्षेत्रीय नेताको नेतृत्व लियो भने अर्को विपक्षी कुलले एक राष्ट्रिय माओवादी नेतासँग विहेवारी सम्बन्ध मार्फत् आफ्नै ज्वाइँका पार्टीमा प्रवेश गरे। यसरी नै वि. स. २०४८ को चुनावमा दक्षिणी भागमा धेरै कुलहरु बेलबासेहरुबाट अलग भए। अलग हुनुको प्रमुख कारण बेलबासेहरु कांग्रेस भएका र उनीहरुबाट अलग भएर मात्रै ए. मा. ले. का मोदनाथ प्रश्रितलाई सघाउन मिल्ने भएकाले हो। मोदनाथले आफ्नै भाइको प्रतिकार गर्नु परेको थियो जसले ढुण्डिराज शर्मा पौडेल (कांग्रेस पार्टी) लाई समर्थन गरेका थिए। यस घटनाले स्थानीय राजनीतिमा कुलगत वाहुल्यलाई घटाएको देखाएन, बरु पौडेलहरुबीच एउटा नयाँ गुटगत विभाजनको जन्म भएको कुरा दर्शायो। त्यसैले पहिले भन्दा गुटगत एकता धेरै स्वतन्त्र र लचिलो भएको थियो। तैपनि राजनैतिक छाँटकाटहरु उनै कार्यशैलीमा आधारित रहे। केही हदसम्म स्थानीय राजनैतिक समूहहरुका वैचारिक लचिलोपना राष्ट्रिय राजनैतिक विकास क्रममा समयानुकुल अगाडि बढ्ने परिपाटी हो, तर यी समूहहरु अझै पनि कुलहरुका वरिपरि संगठित हुने र आ-आफ्ना अस्तित्वलाई कुलकै परिवेश भित्र निरन्तरता दिने क्रम जारी छ।
अर्घाखाँची र यस्तै जिल्लाहरुमा आज विद्यमान राजनैतिक वस्तुस्थिति र संरचनाको यहि रीतले विकास हुँदै जाने कुरा सम्भव छ। पछिका वर्षहरूमा प्रभावशाली कुलहरूका नेतृत्वमा चुनौती आउनसक्ने कुरा पनि उत्तिकै सम्भव छ। यसका साथसाथै कृषि सम्बन्धहरू माथिको आश्रयमा देखिँदै आएको ह्रासले निकै हदसम्म ‘संरक्षक- समर्थक’को सम्बन्धलाई असर पार्नेछ। त्यसैले राजनीतिक सम्वद्धताहरू व्यक्तिगत अथवा वर्ग अभिप्रेरित हुन सक्छ तथापि हालसालका वर्षहरूसम्म यस्ता जिल्लाहरुका राजनैतिक रूपरेखा र नातागोता, क्षेत्रीय र व्यक्तिगत कार्यगत थलोहरुमै बढी प्रभावित रहेका थिए। सम्पूर्ण ग्रामीण नेपालको अवस्था यस्तै छ भन्न खोजिएको होइन तर नेपालको स्थानीय परिवेशमा राष्ट्रिय राजनीति बुझ्नका लागि भने माथि उल्लेखित परिस्थितिलाई पनि ध्यानमा राख्न जरुरी छ।
साभार: बहाः जर्नल फागुन २०६१ अंक १ बाट।