Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

म्युजियमः औपनिवेशिक विज्ञानको विद्रुप छायाँ

मिनिकले उनीहरुलाई, "तिमीहरु वैज्ञानिक अपराधि–जाति हौ," भने। "मलाई थाहा छ मैले मेरो पिताका अस्थिपन्जर कहिल्यै पाउने छैन ... म खुशी छु कि उनीहरुले मेरो गिदी निकालेर शिसाको जारमा राख्न नपाउँदै त्यहाँबाट भाग्न सफल भएँ।"।

श्रृया चटर्जी श्रृया चटर्जी
कार्तिक ३, २०७८
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बगैंचा र संग्रहालयहरु हामीलाई जैविक जीवन र मानव इतिहासलाई मात्र होइन, आज पनि हाम्रो दैनिक जीवनलाई निर्देशित गर्ने औपनिवेसिक र पुँजीवादी तर्कविज्ञान सिकाउने स्थान बन्नुपर्छ।

    आद्रता ८०% मा राखिएको, लण्डनको किउ गार्डनभित्रको हराभरा तथा घना पाम हाउसमा प्रवेश गर्नासाथ बाहिरको बेलायती हिउँदको कहरबाट मुक्ति दिलाउँछ। त्यँहा बर्खे जङ्गलको सुगन्धयुक्त न्यानो हावा चलिरहेको हुन्छ। विशाल बगैचालाई राम्ररी हेरचाह गरिएको छ र त्यहाँको पाम हाउस हरकोहीका लागि शान्त बगैंचा नै लाग्छ। यहाँ प्रवेश गरेका धेरै आगन्तुकहरुले ‘मुक्ति भित्रको मुक्ति मिलेको’ महशुस गर्छन्। जस्तो, डेभिड एटेन्बरोले, “अनुपम वैश्विक बर्खेजङ्गल” भने झै यो नियन्त्रित अनकण्टार हो।

    एउटा अजङ्गको रवरको रुख आगन्तुकहरुका लागि आकर्षणको केन्द्र बनेको छ। हाविया ब्रसिलेन्सिस नामाकरण भएको रवरको यो रुख अमेजन नदि उपत्यका र गिनीको रैथाने जातको हो। आकर्षण बन्नुको आंशिक कारण वनस्पति र मानवका दैनिक उपयोगका वस्तुहरु बीचको सम्बन्ध हो भने अर्को आंशिक कारण दक्षिण अमेरिका, अफ्रिका र एसियाका पर्यटकहरुको उक्त रुखसँग विशेष प्रकारको सम्बन्ध हुनु हो।

    रबरको रुख गैह्रकानुनी रुपमा किउ आइपुग्यो। यो कुरा सन् १८७६ को वर्षायामको हो। हेनरी विक्ह्याम नाम गरेका बेलायती अन्वेषक एक वर्षभन्दा बढी समय ब्राजिल बसेका थिए। त्यसबेला उनले रबरका ७०,००० बीउ बोकेर बेलायत फर्के। ती विउहरु बेलायतकी महारानीका लागि “अनौठा वस्तुहरु” हुनसक्ने भनेर ब्राजीलका अधिकारीहरुसमक्ष बताएका थिए। तर उनले ढाँटेका थिए।  लण्डनमा उनले किउको बोटानिकल गार्डनका निर्देशक जोसेफ हुकरलाई महंगो मुल्य लिई ७०० पाउण्डमा बेचे। यति रकम हालको मुल्यमा १६,००० पाउण्ड वा २३,००० डलर भन्दा बढी हुन्छ।

    १९ औं शताब्दीमा जैविकचोरी (Biopiracy) सानो विषय थिएन। विकह्यामले ब्राजीलबाट रबरका बीउ तस्करी गरेर बेलायत ल्याउनुभन्दा एक दशक अगाडिको कुरा हो। त्यसैताका बोलिभियाको सरकारले मान्युएल इन्क्रा मामानी नामको आइमनरा इन्डियनलाई जैविकचोरी गरेको आरोप लगाउँदै यातना दिएर मारेको थियो। उनलाई चार्ल्स लेजन नामक बेलायती अल्पाका किसानलाई मलेरियाको औषधि क्विनाइन बनाउने तत्व हुने चिराइतोको उन्नत प्रजाति खोज्न र त्यसलाई बेलायत तस्करी गर्न मद्दत गरेको आरोप लगाइएको थियो। तर विकह्यामलाई कुनै सजाँय दिइएन बरू उनको हरकतलाई आधुनिक विश्व परिवर्तनको गाथाका रुपमा जयजयकार गरियो।

    किउ स्थित उष्ण–गृहमा विकह्यामले ल्याएका रबरका बीउ मध्ये ४% बीउ उम्रिए। तर त्यति अंकुरित बीउ नै दक्षीण र दक्षिणपूर्व एसियाका बेलायती उपनिवेशहरुका विशाल जमिनमा ठुला रबर बगान लगाउन पर्याप्त भए। ब्रिटिस मलाया (हालको सिंगापुर र मलेसिया) विसौं शताब्दीको सुरुवातमै सबैभन्दा बढि रबर उत्पादक–क्षेत्र बन्यो। यसको श्रेय सिङ्गापुरका बोटानिकल गार्डनका पहिलो वैज्ञानिक निर्देशक हेनरी “रबर” रिड्लीलाई जान्छ। उनले नै बेलायतका लागि नाफा कमाउन नयाँ बनस्पति लगाउन कडा परिश्रम गरेका थिए।

    ठूला रबर बगानका लागि सस्तो जमिन र सस्तो मजदुरको आवश्यकता पर्दथ्यो। औपनिवेशिक राज्यले जमिन खाली गर्न विकट र अनुत्पादक भनी चित्रित गर्दै विशाल जङ्गललाई विनास गर्‍यो। मजदुरका लागि बेलायत आफ्नो औपनिवेशिक सञ्जालमाथि भर परेको थियो: भारतीय उपनिवेशहरुबाट कुल्लीहरु ल्याइयो, विशेषगरी दक्षिण भारतको मद्रास प्रेसिडेन्सीबाट।

    जङ्गल फडानी गरी जमिन खाली गराउँदा श्रृङ्खलाबद्ध अल्पकालीन र दिर्घकालीन पर्यावरणीय (पारिस्थितिकिय प्रणाली) उलटफेर भयो, जसको कारण बहुप्रजातियुक्त माटोको पर्यावरण र मानव बसोवासको ढाँचामा परिवर्तन निम्त्यायो। जमिन खाली गराउँदा माटोको उपल्लो तह हटाइँदा औलो फैलाउने एनोफिलस जातको लामखुट्टे हुर्कने उर्बर भूमि तयार भयो। जसको दुष्परिणाम मलायाका रबर बगानमा काम गर्ने मजदुरहरु औलो महामारीको उच्च दरबाट पीडित भए।

    युरोपेली उपनिवेशहरु उष्णवनस्पतिहरुको  खोज, लुटखसोट र उत्पादन गरिने क्षेत्रहरु भए। ती उपनिवेश क्षेत्रहरु निर्यातका बधुवाँ बजार पनि बन्न पुगे, जहाँ औपनिवेशिक राज्यहरु एकाधिकारहरु स्थापना गर्न र आयात- निर्यात करहरु माथि धोकाघडी गर्न सफल भए। बनस्पति विज्ञानले औपनिवेशिक ब्यवसायमा सहयोग पुर्‍यायो भने औपनिवेशिक ब्यवसायले बनस्पति विज्ञानलाई ब्यवस्थित बनायो।

    औपनिवेशिक विश्वभरि बनस्पतिका बगैंचाहरुको विश्वब्यापी सञ्जाल विकसित भयो। यी बगैंचाहरु विभिन्न फुलहरु र वनस्पतिहरुले भरिएका मनमोहक बगैंचाहरु मात्र नभएर औपनिवेशिक जैविक उत्खनन् (bio-prospecting) मार्गका नमुना प्रयोगशालाहरु र विसौनीहरु थिए। जैविक उत्खनन् भनेको बनस्पति, सूक्ष्मजीव र जनावरहरु जस्ता जैविकस्रोतहरुमा उपयोगी बस्तुहरुको ब्यवस्थित खोजी हो। जो हालका बर्षहरुमा ठुला बहुराष्ट्रिय कृषि उद्योगहरु र औषधि उत्पादक कम्पनीहरुको अधिनक्षेत्र बनेको छ। यसको पुस्तौनीको सुरुवाती खोज्ने हो भने औपनिवेशिक युगमा भेटिइन्छ  र यसले पनि उस्तै शोषणको प्रणालीलाई पछ्याउछ।

    जब सन् १७३० मा “अनौठा वस्तुहरू”को रुपमा सानो परिमाणमा रबर पहिलो पटक युरोप भित्रियो, जुनवेला यसलाई “काउट्चाउक् (caoutchouc)” भनिन्थ्यो। यसको अर्थ “रुन्चे काठ” हुन्थ्यो र त्यो पेरुको एन्डिजको भाषा परिवारको शब्द क्वेचुवानबाट आएको थियो। त्यही “रुन्चे काठ” को बोक्रामा लागेको चोटबाट बगेको चोपबाट बेलायती वैज्ञानिक जोसेफ प्रिस्लेले कागजमा पेन्सिलले लेखेको मेटाउँछ भन्ने थाहा पाए। उनले नै त्यही चोप या लचिलो ल्याटेक्सलाई “रबर” नामाकरण गरे।

    रबर प्रतिको युरोपेली दृष्टिकोण, अरु बनस्पतिहरुका मूल–तत्वलाई प्रयोग गरे जसरी नै गर्नु थियो। विज्ञानको गौरवपूर्ण इतिहासले प्रारम्भमा बनस्पति विज्ञानलाई “विशुद्ध” वैज्ञानिक खोजको विषयका रूपमा चित्रित गर्दछ। यस विज्ञानले विशेषगरी बनस्पतिको नामाकरण, वर्गीकरण र तिनका प्रकृतिको क्रमनिर्धारणमा आफूलाई केन्द्रीत गरेको भनाइ छ। तर यहाँनेर केही कुरा भनिदैन। त्यो के हो भने १८ औं शताब्दिको सुरुवातिमा बनस्पतिको गुणमा निहित औषधीय र आर्थिक उद्देश्य पूर्ति गर्ने ज्ञान युरोपेली राज्यहरुका निम्ति महत्वपूर्ण थियो। यही कारणले मात्र बनस्पति विज्ञान प्राज्ञिक विधाका रुपमा जीवित रह्यो।

    समयक्रममा, बनस्पतिको वर्गीकरण गरियो। यो नै मानव जातिलाई कुटिलतापूर्ण वर्गीकरण गर्ने  स्वभाविक खुट्किलो बन्न पुग्यो। यसैलाई टेकेर सन् १७५८ मा स्विडिस बनस्पतिविज्ञ तथा वर्गीकरण विज्ञ (taxonomist) कार्ल लिनाअसले अमेरिका, युरोप, एसिया र अफ्रिकासँग मिल्ने गरी मानव जातिलाई चार समूहमा वर्गीकरण गरे। उनले मानवलाई चार रङ, रातो, सेतो, पहेँलो र कालोका आधारमा छुट्याए। त्यसपछि छालाको रङलाई “रसिकपना” सँग जोडियो। मध्यकालीन विज्ञानले मानव शरीरका मुख्य चार तरलहरुले मानिसको शारीरिक र मानसिक अवस्था (स्तर) निर्धारण गर्छन् भनेर मानिन्थ्यो। त्यसबारे केही बोलिएन। तथापी मानवलाई रङका आधारमा वर्गीकरण गर्ने कार्ल लिनाअस “प्राकृतिक इतिहासमा समर्पित विश्वको सबैभन्दा पुरानो र सकृय समाज, लिनियन सोसाइटी अफ लण्डनमा अंकित हुन पुगे।

    अहिले हामीले जाति वा नश्ल (race) भन्ने गरेको सामाजिक श्रेणीको उदयमा लिनाअसले गरेको मानव वर्गीकरणको दिर्घकालिन प्रभाव रहेकोछ। ककेसियनलाई गोरो, साहसिलो तथा विश्वासिलो र बलिष्ठ मांसपेशीधारी भएको र अफ्रिकीलाई कालो, लोसे तथा अल्छी भनी चित्रित गरियो। वास्तवमा छालाको रङ अरु बौद्धिक क्षमता, आनिवानी जस्ता अन्य गुणहरुजसरी नै स्वतन्त्र रुपमा विकसित भएको हो र मानिसहरुबीच उत्पत्तिगत भिन्नताहरु हुन्छन् भन्ने कुनै प्रमाण विद्यमान छैनन्।

    जाति विज्ञान (Race science) ले धेरै प्रकारले उपनिवेशवादको तर्कलाई टेवा दियो। युरोपेलीहरु श्रेष्ठ हुन् भन्ने मान्यताले अरु माथि प्रभूत्व जमाउने प्रवृत्तिलाई वैधानिकता प्रदान गर्‍यो। त्यसले आदिवासी खेति प्रणाली र खाद्य ब्यवस्थाहरुलाई कृषि कर्म नै होइन भन्दै खारेज गर्‍यो। अर्को शब्दमा भन्दा, त्यसले आदिवासी समुदायहरु जातीयरुपमै जमिनका मालिक बन्न असक्षम हुन्छन् भन्ने मान्यताका आधारमा जमिन माथि कब्जा जमाउने कार्यलाई जायज ठहर्‍यायो। अमेरिकाको दास प्रथालाई जायज ठहर्‍याउन यहि उपनिवेशवादी (जातिवादी) तर्कको सहारा लिइएको थियो।

    जब युरोपमा प्राकृतिक ईतिहास सवल र नाफामूलक विधा बन्यो तब दास ब्यापारसँग यसको सम्बन्ध पनि गहिरो बन्दै गयो। बेलायती प्रकृतिविद कस्ता पनि थिए भने जस्तै दासहरु बोक्ने जहाजहरुका शल्य चिकित्सकहरु जेम्स पेटिभर र ड्रु ड्रुरी जस्ता धेरैजसोलाई बनस्पति विज्ञानबारे तालिम दिइएका थिए र तिनीहरुलाई वनस्पति संकलन गर्ने गुप्त जिम्मेवारीसमेत दिइएको हुन्थ्यो। यसै क्रममा पेटिभरको मृत्यु भयो, त्यसपछि उनको संकलन सर हान्स स्लोएनले खरिद गरेका थिए। स्लोएन आफ्नो समयको विज्ञानका सबैभन्दा शक्तिशाली ब्यक्तित्वहरुमध्ये एक थिए र बेलायतमा पिउने चकलेट भित्र्याए बापत उनलाई माया गरिन्थ्यो। आफ्नो पेसाका सुरुवाति समयमा उनी क्यारेबियन क्षेत्रका बगानहरुमा डाक्टरका रुपमा काम गर्थे। र दास बनाइएका पश्चिम अफ्रिकीहरु मुख्यतः हालका घाना र आइभरी कोष्ट (Cote d´Ivoire) का अकान पुरुष र महिलाहरुको श्रम र ज्ञान प्रयोग गरी ८०० भन्दा बढि बनस्पतिका नमूना र अन्य “अनौठा वस्तुहरु (curiosities)” संकलन गरी लण्डन फर्किए। ती अनौठा वस्तुहरुमा छाला र खप्परका नमुनाहरुका साथै भगौडा दासहरुलाई दण्ड दिन प्रयोग गरिने गलपासो र कोर्राहरु थिए। जब स्लोएन लण्डन फर्किए, आफ्नो भर्खर सुरु भएको संकलनलाई सम्मृद्ध बनाउन उनले दास व्यापारभित्र युरोपेलीहरुको व्यापक सञ्जाल निर्माण गरे। र यस मार्फत् गरेका संकलनले नै लण्डनको प्राकृतिक इतिहास संग्राहलयको ठूलो हिस्सा ओगटेको छ।

    दास बोक्ने जहाजहरु अरु जहाज नपुगेका ठाउँहरुमा पनि पुग्थे। केही ठाउँहरुमा दासहरुलाई संकलकको तालिम दिनु नियमित अभ्यास बनेको थियो। सन् १७७४ मा जमैकाका बेलायती बगान मालिक एड्वार्ड लङले लेखेका नै थिए, “पशुहरु स्वभावैले बनस्पति विज्ञ हुन्छन्”। अझ अघि बढेर लङले कसरी कोष्टारिकन बाँदरहरुले बन्दुकको गोलीले लागेको घाउमा लेउ(काइ) र पातको चोपहरुको लेप लगाउछन् भनी व्याख्या गरेका छन्। युरोपेलीहरु आदिवासीहरुको क्षमतालाई सदैव निचा देखाउथे तर युरोपेली प्राकृतिक इतिहासको आधार खडा गर्न आदिवासीहरुको ज्ञानले धेरै सहयोग पुर्‍याएको छ।

    १९ औं शताब्दीमा जाति वा नश्ल विज्ञान (Race science) मानिसहरुलाई रुपरङ्ग (कदकाँठी) र क्षमताका आधारमा वर्गीकरण गर्ने भन्दा अघि बढेर मानव प्रगतिको “मापन” गर्ने अवस्थामा पुग्यो। त्यो समयमा मानव सभ्यता र मानव प्रगति प्राथमिकताका विषय बनेका थिए। मानवजाति विज्ञान (ethnology) नयाँ क्षेत्र बन्यो र त्यसले मानव जातिको एकलउत्पति (monogenesis) वा बहुउत्पति (polygenesis) भएको हो भन्ने प्रश्नमा विश्वब्यापी अनुसन्धान सञ्चालन गर्‍यो।

    सन् १८७१ मा चार्ल्स डार्विनले (जीवशास्त्री) ” मानवको उत्पति (The Descent of Man)” प्रकाशित गरे। यसमा उनको निष्कर्ष मानव प्रजातिको एउटै साझाण पुर्खा थिए र जीवनका अन्य रुपहरु झैं मानवको पनि बिस्तारै क्रमिक विकास भएको हो भन्ने रह्यो। यस निष्कर्षले आधारभूत रुपमै जाति(नश्ल)को विवाद अन्त्य गर्नुपर्थ्यो, तर गरेन। त्यसको साटो यसले मानव प्रजातिभित्र नै उत्पत्तिको वर्गीकरणको अध्ययनको क्षेत्र सिर्जना गर्‍यो। मानव प्रगतिलाई क्रमिक, विवेकसम्मत निरन्तर वृद्धि,  मिथक र विश्वासका प्रणालीहरुलाई वैज्ञानिक विचारहरुले (युरोपेली) विस्थापित गरिरहेको रुपमा हेरिन्थ्यो। यसै भित्र सामाजिक र सांस्कृतिक विकासवाद नयाँ मानवशास्त्रीय दिशाको रुपमा अगाडि आयो।

    विभिन्न समुहहरुका सभ्यताको तहगत विकासको तुलना गर्ने काम युरोपका मानव स्वभाव अध्ययनसम्बन्धी संग्राहलयहरु (ethnographic museums) को निम्ति कोशेढुङ्गा सावित भयो। ती मध्ये अक्सफोर्ड विश्वविद्यालयको पिट रिभर्स संग्राहलय सबैभन्दा उत्तम छ। यो संग्रहालय सन् १८८४ मा ख्यातनाम र धनवान् पुरातत्वविद जनरल अगष्टस हेनरी लेन-फक्स पिट- रिभर्सको संकलनबाट स्थापना गरिएको थियो। जनरल पिट-रिभर्सले आफु आधुनिक बन्दुक चलाउने सेनासम्बन्धी चाखलाई बल पुर्‍याउन यस्ता वस्तुहरु संकलन गर्न सुरु गरेका थिए जसलाई उनले मानवशास्त्र र मानव स्वभाव अध्ययनसम्बन्धी क्षेत्रहरुमा विस्तार गरे।

    सन् १८९१ मा आफ्नो एक लेख ” टाइपोलोजिकल संग्रहालय” (Typological Museums) मा पिट- रिभर्सले “समान गुणका आधारमा वर्गीकरण गर्ने शास्त्र (Typology)” भन्ने शब्दावली राख्नु पर्छ भनी दावी गरे।

    भौतिक संस्कृति (material culture) लाई “मनमा बाहिरी संकेत या कुनै खास विचारको प्रतिक” मान्दै टाइपोलोजिकल प्रदर्शनी हुनेगरी विभिन्न संस्कृतिका एकै प्रकारका हस्तकलाहरु एकै ठाउँमा देब्रेबाट दाहिनेतर्फ क्रमबद्ध मिलाएर राखे। यसो गरेर सामान्य रुपमा “आदिम (असभ्य)” बाट  “परिस्कृत” हुँदै “विशिष्टिकृत” रुपहरुको क्रमको झलक देखाइएको थियो। युरोपका अरु मानव स्वभाव अध्ययनसम्बन्धी संग्राहलयहरुले त्यस्ता प्रदर्शनीहरुलाई अरुसँग तुलना गर्ने गरी संस्कृतिहरुलाई मिलाएर राखेका छन्। यसैकारण युरोप सधैं शिखरमा रहेको हुन्छ।

    पिट- रिभर्सका लागि, वैज्ञानिक सत्यले जसरी नै विकासवादको अवधारणाले उनको राजनीतिलाई जायज ठहर्‍याउँथ्यो। सांस्कृतिक विकासवादको सिद्धान्तले तात्कालिन सामाजिक तह (order) र बेलायती साम्राज्य विस्तारलाई जायज ठहर्‍याउँथ्यो। त्यसले नश्लवादको खतरनाक रुपलाई पनि प्रोत्साहित गर्थ्यो।

    अघिल्लो निबन्ध “आदिम युद्धकला” मा पिट- रिभर्सले “सभ्यता सधैं नै कुनै विशेष जातिहरु केन्द्रित हुन्छ, जसको काम युद्ध र विजयद्वारा वरिपरिका राष्ट्रहरुमा कला फैलाउनु वा आफ्नो मानसिक संस्कृतिका कारण उक्त कला ग्रहण गर्न असक्षमहरुलाई निर्मूल गर्नु हो” भनी दावी गरेका छन्। यस्ता विचार न त कुनै अस्वाभाविक टिप्पणी थिए, न विशुद्ध प्राज्ञिक। त्यस समयका धेरै मानवशास्त्रीहरु सन् १८२० र १८३० ताका भएका तस्मानीयाका आदिवासीहरुको (aboriginal) आमहत्यालाई अस्वाभाविक ठान्दैनथे। उनीहरु तस्मानियाको समाज पुरानो ढुङ्गे युग मै रहेकोले त्यसलाई उन्मूलन गर्नु पर्छ भन्ने ठान्दथे।

    जब पिट- रिभर्सले आफ्ना संकलनहरु अक्सफोर्डलाई दान दिए र निर्णय गर्ने आफ्नो अधिकारसमेत त्यागिदिए। त्यसपछि संग्रहालयका सहायक क्युरेटरमा हेनरी बेलफोर नियुक्त भए। तिनले पिट-रिभर्सकै विकासवादी दृष्टिकोणलाई पछ्याए। बेलफोर प्राणीशास्त्रका तालिमप्राप्त रचना विज्ञानविद् (animal morphologist) थिए। उनी विशिष्ट गुणहरु मिल्दाजुल्दा सांस्कृतिक समूहहरुसँगसँगै राख्थे र दुबैलाई विकासका तहहरुको वर्णानुक्रममा मिलाउन कोसिस गर्दथे। संग्राहलय अध्यक्षको रुपमा उनको काम टाइपोलोजीहरु (typologies) भर्नु र नयाँ कलाकृति प्राप्त भए नयाँ टाईपोलोजी निर्माण गर्नु थियो।

    आजका दिनमा पनि, पिट- रिभर्स संग्रहालयले शुरुकै जस्तो टाइपोलोजिकल प्रदर्शनीहरु कायम राखेको छ। त्यस संग्राहलयका आगन्तुकहरुले त्यसलाई प्रायश: रहस्यमय र आश्चर्यजनक स्थानका रुपमा वर्णन गर्ने गर्छन्, मानौं कि जहाँ समय रोकिएको जस्तो लाग्छ। हालसालै रोडस मस्ट फल मूभमेन्ट (दक्षिण अफ्रिकाको केपटाउनमा रहेको सेसिल जोन रोड्सको शालिक ढल्नु पर्छ भन्ने आन्दोलन, जुन औपनिवेशिकताको सम्पूर्ण अन्त गर्नेमा केन्द्रीत छ) का विद्यार्थी आन्दोलनकारीहरुले त्यसलाई हिंसात्मक स्थान भनेका छन्। त्यो स्थानमा पुग्न आसन्न प्राकृतिक इतिहास संग्रहालयको फराकिलो हल हुँदै अस्थिपन्जरहरुको लहर पार गर्नुपर्छ। क्याल्सिफाइ (हड्डिहरु नखिउन् भनी क्याल्सियम लेपन) गरिएका अस्थिपन्जरहरुलाई एकै लहरमा राखेर ठूला स्तनधारी जीवहरुको विकासवादी अनुकुलनका विविधताहरु (diversity of evolutionary adaptations) दर्शाउने प्रयास गरिएको छ। यस्तो विकाशवादी दृष्टिकोण पिट-रिभर्स संग्राहलयसम्म देख्न सकिन्छ, त्यहाँ विभिन्न संस्कृतिका हातहतियार, डोको-डालो र धुम्रपान गर्ने हुक्कानलीहरु, एकै प्रकारका वस्तुहरुलाई शिसाका पारदर्शी बाकसहरुमा खादेर राखिएको छ। त्यो ठाउँ पुरापुर कैयौं अनकहि कथाहरुसहित विज्ञान र संकलनको हिंसापूर्ण ईतिहास रुमल्लिई रहेको छ।

    मिनिक वालेस ग्रिनल्याण्डबाट सन् १८९७ मा अमेरिकी अन्वेषक रोबर्ट पिएरीका साथ न्युयोर्क शहर भित्रिएका थिए। मिनिकका साथै उनका पिता क्विसुक र उनका मातृभूमिका अन्यहरुलाई इनुइट संस्कृति झल्काउने जीवित नमूनाका रुपमा ल्याइएका थिए।(इनुइट भनेका उत्तरी क्यानडा, ग्रिनल्याण्डका आदिवासी हुन्)। क्विसुकलाई क्षयरोगले समात्यो र केही समयपछि उनी बिते। संग्राहलयका अध्यक्षले उनको नक्कली सदगती गरी उनको शरीरलाई मांसरहित बनाएर अस्थिपन्जरलाई प्रदर्शनीमा राखे। मिनिकले उनीहरुलाई, ” तिमीहरु वैज्ञानिक अपराधि–जाति हौ,” भने। “मलाई थाहा छ मैले मेरो पिताका अस्थिपन्जर कहिल्यै पाउने छैन … म खुशी छु कि उनीहरुले मेरो गिदी निकालेर शिसाको जारमा राख्न नपाउँदै त्यहाँबाट भाग्न सफल भएँ।”।

    सन् १९१० मा मिनिक ग्रिनलेण्ड फर्किए तर केही समयपछि उनी फेरि अमेरिका आए। उनी सन् १९१८ को ईन्फ्लुएन्जा विश्वमहामारीमा मरे। सन् १९९३, जनदवावका कारण संग्रहालयले त्यति लामो समयसम्म राखेको त्यो इनुइट अस्थिपन्जर फिर्ता गर्न सहमत भयो।

    के मानव अस्थिपन्जर वा अन्य पवित्र वस्तुहरु फिर्ता गर्नुको अर्थ ती वस्तुहरु कसरी प्राप्त गरियो भन्ने ईतिहास मेट्नु हो ? त्यस्तो हुनुहुँदैन। संग्रहालयहरुले यी इतिहासहरुलाई आफुले भन्ने कथाहरुको अभिन्न अङ्ग बनाउनु पर्छ। वैज्ञानिक खोजका गलत निर्देशित र हिंसात्मक अभ्यासहरु संग्रहालय भ्रमणकर्ताहरुका लागि धेरै सान्दर्भिक हुन्छन् – र पहिले भन्दा अहिले ज्यादा सान्दर्भिक हुन्छ, जब उदाहरणका लागि उग्र दक्षिणपन्थीहरु आफ्नो गोरोपन प्रमाणीत गर्न वंशज परिक्षणलाई प्रबर्धन गरिरहेका छन्।

    वितेका केही वर्षहरु यता, पिट रिभर्स संग्रहालयका अध्यक्षहरुले “उपनिवेशवादको आफ्नो विरासतलाई सम्बोधन” गर्न विभिन्न स-साना प्रयासहरु प्रारम्भ गरेका छन्। ड्यान हिक्स, मोनिका हन्ना, सिराज रसुल र बेनेडिक्ट साभोईको नेतृत्वमा सञ्चालित “ज्ञानको क्षतिपूर्ति”(restitution of knowledge) आयोजना अन्य भन्दा धेरै अर्थपूर्ण छ। यसमा अध्यक्षहरूले “क्षतिपूर्तिबारे सूचना प्रदान गर्न र त्यसलाई सहयोग पुर्‍याउन सैनिक अभियानका क्रममा भएका लुटका घटनाहरुको विवरण तयार गरी साझा गर्न र यी घटनाहरुलाई युरोपेली संग्रहालयमा राखिएका वस्तुहरु बीचको सम्बन्धलाई अभिलेखिकरण गर्ने लक्ष्य लिएका” देखिन्छन्। त्यस्तै लण्डनस्थित प्राकृतिक ईतिहास संग्रहालयले आफ्नो औपनिवेशिक विरासतहरु र दासप्राथासँग त्यसको सम्बन्ध बारेका आयोजनाहरु सुरु गरेको छ; मिराण्डा लोउ, सुभद्रा दास जस्ता अध्यक्षहरुले कसरी संकलनहरुले औपनिवेशिक विचारधाराहरु र भाष्यहरुलाई संबर्धन गरिरहेछन् र कसरी तिनलाई प्राकृतिक ईतिहास संकलनसँग सान्दर्भिक बनाउन सकिन्छ भन्ने विषयमा चर्चा हुने गर्छन्।

    संग्रहालय र वनस्पतिका बगैचाहरुले अभिलेखालय तथा अनुसन्धानमा आधारित मञ्चन गरिरहेका कलाकारहरुलाई संग्रहालय स्थलहरुमा छायाङ्कन गर्न थालेका छन्। यिनिहरु प्रायशः औपनिवेशिक संकलनका इतिहास र हालसम्म नसुनिइएका आवाजहरु माथि प्रकाश पार्ने बलिया माध्यम र तरिका बनेकाछन्। मेक्सिकोमा जन्मिएकी कलाकार मारियाना कास्टिलो डेबालको अक्सफोर्डमा गरिएको आधुनिक चित्रकला प्रदर्शनले, उदाहरणका लागि, संग्रहालयका परम्परागत प्रदर्शनहरु र अभिलेखहरुको इतिहासमा उल्लेख नभएका ब्यक्तिहरुको खोजी गर्छिन्। त्यस्तै ब्यक्तिहरु मध्ये एक माकेरेटी थिइन्. तिनी माओरी आमा र अंग्रेज सैनिक अधिकारी कि सन्तान थिइन्। उनी माओरी संस्कृतिको दोभाषे ब्याख्याता बनिन् र उनीले आगन्तुकहरुलाई प्रायशः न्युजीलेण्डको उत्तरी टापुमा रहेको ह्वाकारेवारेवा गिजर उपत्यका घुमाउन लैजान्थिन्। सन् १९२४ मा माकेरेटी मानवशास्त्रकी विद्यार्थीका रुपमा अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भइन्। त्यसबेला माओरी जातिसम्बन्धी आफ्नो सम्पूर्ण ब्यक्तिगत संकलन पिट रिभर्स संग्रहालयलाई दान दिइन्। माकेरेटीको जस्तो कथाहरुले सांस्कृतिक अध्ययन र संकलनकार्यलाई धूमिल बनाउँछ, जहाँ पर्यवक्षेक र पर्यवेक्षणबिचको सीमा मिचिएपनि मानिसहरु र संस्कृतिको अध्ययनमा यस्तो प्राय भइरहन्छ।

    शुरुमा नर्थ ब्रिटिस रबर कम्पनीको अड्डा रहेको एडिन्बर्ग प्रिन्टमेकर्समा, सन् २०१९ मा गरिएको “पारदर्शिता” नामको प्रदर्शनीलाई अर्को उदाहरणमा लिन सकिइन्छ। यसमा बनस्पतीय, औद्योगिक र सैनिक इतिहासका पृथक–पृथक धारहरुलाई अगाडि र पछाडि समयमा जोड्दै कलाकारहरुले विचरण गरिरहेका जस्ता लाग्दथे। त्यस प्रदर्शनीमा बार्वाडोस मूलका स्कटिस कलाकार अल्बेर्टा व्हिट्टलले बनाएको फिल्म, ” ह्वाट साउण्ड डज दि ब्ल्याक अट्लान्टिक मेक?” पनि देखाइएको थियो। (ब्ल्याक अट्लान्टिक  भनेको आन्ध्रमहासागरको तटमा काला जाति र अन्यसँगको अन्तर्क्रियाबाट प्रचलित संस्कृति हो)। यस फिल्ममा पहिलो विश्व युद्धमा सुरुङ युद्धमा प्रयोग भएको स्कटलेण्डमा निर्मित रबरको वेलिङटन बुट देखाइएको छ। त्यही रवर बुटको माध्यम बनाएर  व्हिट्टेकरले युद्धमा संलग्न औपनिवेसिक बगानहरु र अफ्रिकी पल्टनहरुबीचको सम्बन्धलाई चित्रित गरेका छन्।

    तिनीहरु युरोपेली दमनका उत्पादनहरु हुन्। तथापी ती संग्रहालयहरु हाम्रो जीवनलाई निरन्तर निर्देशित गर्न औपनिवेशिक र पुँजीवादी प्रकृयाहरुमाथि इमानदारीपुर्वक प्रकाश पार्नेगरी विशिष्ट अवस्थामा सञ्चालनमा छन्। बनस्पति उद्यानहरुमा गरिएका बहुप्रजातीहरुको प्रदर्शनले बनस्पति, प्राणी र सूक्ष्म–जीवहरुलाई संगठित गरिएको वर्गिकरण फ्रेम (taxonomic frames) भन्दा व्यापकरुपमा देखाउछन् र तिनीहरुले हामीलाई एकआपसमा जोडिएका जीवनको विविधता पहिल्याउन मद्दत गर्छन्। यस्ता जोडाइहरु जैविक जीवनभन्दा (biological life) परसम्म फैलिएका छन् र संग्रहालय तथा बनस्पति उद्यानहरुले नै वैज्ञानिक संकलनको जटिल औपनिवेशिक इतिहासहरु सम्बन्धी हाम्रो सचेतनालाई समृद्ध बनाउछन्। हामी अहिले यस्तो अवस्थामा छौं जहाँ युवा प्राज्ञ र क्युरेटरहरु त्यस्ता परिवर्तनहरु गर्न र त्यस्ता कथाहरु भन्न प्रचण्ड उर्जाका साथ अघिबढिरहेका छन्।

    साभारः Noema Magazine मा मार्च ११, २०२१ मा प्रकाशित लेख दामोदर उपाध्यायबाट अनुदित।

    यसका लेखिका श्रीया चटर्जी एक मानव जाति तथा पर्यावरणीय क्षेत्रकी इतिहासकार र  विद्वान हुन्। उनी हाल स्विट्जरल्याण्डको बासेलस्थित स्विस नेशनल साइन्स फाउन्डेसन शोधकर्ता  हुन्।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      श्रृया चटर्जी

      श्रृया चटर्जी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.