Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वेदकालिन विद्रोही चार्वाक र भौतिकवाद – १

nepal_readers nepal_readers
भदौ १३, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ईश्वर र ईश्वरमाथि आधारित धर्महरूको जुन प्रभाव मानव र त्यसको समाजमा परेको हो त्यसको विवेचना गर्दा स्पष्ट भएको छ – त्यो प्रभाव कुनै पनि किसिमले मानवीय प्रगतिको साधक रहिआएको छैन। ईश्वरको खोजी र ईश्वरवादी धर्महरूको उदय हुन थालेपछि सुरुमै समाजका केही विचारकहरूले यो ईश्वरवाद एक रुग्ण प्रकारको विचार प्रणाली हो र मानवताले यसबाट कुनै किसिमको लाभ आर्जन गर्न सक्नेछैन भनेर ठम्याए। भारतमा यस्ता विचारकहरूको एउटा सम्प्रदाय चार्वाकवादीहरूको थियो। ईश्वर नमान्ने भएको कारण तिनीहरू नास्तिक कहलाउँथे। ईसापूर्वको आठौं शताब्दीदेखि प्रबुद्ध समाजमा उपनिषद्हरूद्वारा ब्रह्मवादको प्रचार हुन लाग्यो र वैदिक यज्ञहरूको तालमेलमा ब्रह्म र ईश्वरको स्थापना गर्न थालियो।

    ब्रह्मवादी र ईश्वरवादीहरूले बहुदेवतावादको तिरस्कार नगरिकनै अर्थात् त्यसलाई यथास्थितिमै राखेर आफ्नो दर्शन प्रस्तुत गर्न थाले । यस धर्मको संक्रान्ति कालमा व्यावहारिक र दार्शनिक अन्तर्विरोधको कारण भारतमा चार्वाकवादीहरूको तर्क परम्परा विकसित भयो।

    वैदिक र औपनिषदिक धर्मका व्याख्याकार, प्रचारक तथा उपदेशकहरूले गाउँ–गाउँ, नगर–नगर घुम्दै आफ्ना सिद्धान्तहरूको प्रचार गर्ने गर्थे तथा ठूला–ठूला आयोजनाहरूका रूपमा यज्ञहरू गराउँथे, जब कि चार्वाकवादीहरु भने केवल आलोचना मात्र गर्ने गर्थे, ती यज्ञकर्महरूदेखि तटस्थ रहन्थे र यत्तिमै आफ्नो कर्तव्यको इतिश्री भएको ठान्थे। चार्वाकवादीहरूले आफ्नो दर्शन पद्धतिको प्रचार गर्दै हिंडेको कुनै इतिहास पाइँदैन।

    यस नास्तिक विचारहरूको परम्परामा कालान्तरमा मक्खलि गोशाल, अजितकेश कम्बल आदिले सुनियोजित अभियानका रूपमा आफ्नो विचार, दर्शन र जीवन पद्धतिको प्रचार आरम्भ गरे, किन्तु उनीहरूको प्रयास कालजयी हुन सकेन। यसै नास्तिक परम्परामा बौद्ध र जैन धर्मको पनि अभ्युदय भयो। यिनको प्रचार अभियान बढी प्रभावशाली रह्यो र कालजयी धर्मका रूपमा यिनीहरू प्रतिष्ठित भए। ईश्वरवादी वैदिक र औपनिषदिक परम्पराका विरोधमा ईसापूर्वको त्यस कालमा अनेक विचारकहरू निस्केका थिए र तिनीहरूले ईश्वर प्रत्ययको रुग्णतातर्फ संकेत गर्न थालेका थिए । यिनीहरूमध्ये म यहाँ चार्वाकवादीहरूको संक्षिप्त उल्लेख गर्न चाहन्छु।

    आन्वीक्षिकी विद्या
    भनिन्छ, आचार्य वृहस्पति चार्वाक विचार परम्पराका प्रवर्तक थिए, किन्तु अन्य दार्शनिक ग्रन्थहरूको झैं चार्वाक दर्शनको कुनै छुट्टै ग्रन्थ उपलब्ध छैन । कि त यस्ता ग्रन्थहरूको प्रणयन नै भएको थिएन, कि भने विरोधी विचारधारा भएकाहरूद्वारा ती नष्ट गरिदिइएका हुँदा हुन्।

    पछिल्लो कुरा नै अधिक सत्य प्रतीत हुन्छ। पछिल्ला दिनहरूमा वैदिक धर्मका प्रचारकहरूले चार्वाकवादी तार्किकहरूको सामना गर्नु परेको थियो। किन कि बहुमत ईश्वरवादी वैदिकहरूको थियो, अतः चार्वाकवादीहरूले सामाजिक कोपाभाजन बन्नु पर्दथ्यो। चार्वाकवादी विचारकहरू ईश्वरवादका विरोधी मात्र थिएनन्, उनीहरूको निषेधात्मक तार्किकताका साथै समाज रचनाको विधेयात्मक पक्ष पनि थियो। राजदर्शन र दण्डनीति दर्शनको प्रादुर्भाव चार्वाक परम्पराकै उपलब्धि थियो।

    जुन कालान्तरमा ईश्वरवादी प्रभावमा पर्न गयो। यस जमानाको मनुष्यका सुख–सुविधाका उपकरणहरू जुटाउन चार्वाकवादीहरूले वैज्ञानिक खालका अन्वेषणहरू चलाउने गर्थे। अतः यिनीहरूको यस किसिमको विद्यालाई ‘आन्वीक्षिकी’ भनिन्थ्यो। भारतको ठूलो दुर्भाग्य, त्यहाँको चार्वाकवादीहरूको प्रभाव क्षेत्रबाट बाहिरिएर ईश्वरवादी र जैन एवं बौद्ध धर्मावलम्बीहरूको चंगुलमा फँस्न पुग्यो, जसको कारण आन्वीक्षिकी विद्याको घाँटी निमोठियो।

    आन्वीक्षिकी विद्या आयुर्वेद, ज्योतिष, गणित तथा राजदर्शन आदिका क्षेत्रमा महत्वपूर्ण ठूल्ठूला उपलब्धिहरू हाँसिल गरिसकेर पनि ईश्वरवाद, ब्रह्मवाद तथा वेदान्तादिकहरूको गहिरो कुहिरोमा बाटो बिराउन पुग्यो। जसले गर्दा भारत भौतिक र वैज्ञानिक उपलब्धिका क्षेत्रमा पर्नुसम्म पछि पर्‍यो। र, यही पछौटेपन कालान्तरमा राजनीतिक दासताका रूपमा फलित भयो।

    त्यस कालमा चार्वाक दर्शन ईश्वरवादीहरूमाथि प्रभावी बन्न पुगेको भए भारतको वैज्ञानिक प्रगति ईसाको पाँचौं, छैठौं शताब्दीभित्रै सत्रौं शताब्दीको आधुनिक प्रगति जत्तिकै हुन्थ्यो। किनकि आधारभूत विज्ञानहरूको जग त्यसै बेला नै बसिसकेको थियो, विकास मात्र हुन बाँकी थियो तथा त्यस्तो भइदिएको भए यस विश्वको आजको इतिहास अर्कै भइसक्ने थियो। अतः मेरो सुनिश्चित मत छ चार्वाकवादीहरूको प्रभाव नै भारतको पछौटेपनको कारण हो ।

    श्राद्ध र दान
    स्वतन्त्र चार्वाक दर्शन उपलब्ध हुन नसकेको आजको स्थितिमा खोजी गर्दा हामीले यस चार्वाकवादी विचार परम्पराको उल्लेख ईश्वरवादीहरूका पुस्तकहरूमै कहीं कहीं टुक्राटुक्री रूपमा भएको पाउँछौं। यस प्रकारका विचारहरूको उल्लेख इतिहासको प्रत्येक कालमा भएको पाइन्छ, जसबाट ईश्वरवादी धर्महरूको निस्सारता, व्यर्थता र अनुपयोगितामाथि विचारकहरूले दृष्टि पुर्‍याउने गरेको स्पष्ट हुन्छ।

    पुस्तकमा व्यक्त गरिएका विचारहरू त्यसकालका प्रचलित विचारहरूबाट प्रभावित हुन्छन्, जुन कालमा त्यस पुस्तकको रचना भएको हुन्छ । हिन्दूहरूमा भगवान राम बुद्ध पूर्व कालका व्यक्ति हुन्, तर वाल्मीकिले रामायणको रचना बुद्ध काल पश्चात् लगभग चौथो शताब्दीमा गरे। वाल्मीकि वैदिक र ईश्वरवादी परम्पराका कवि थिए। उनका समयमा उनको विचार दर्शनको विरोध चार्वाकहरूका साथै बौद्धहरूसित पनि थियो। अतः उनले अयोध्या काण्ड, सर्ग १०० मा रामद्वारा भन्न लगाएका छन् –

    कच्चिन्न लोकायतिकान् ब्राह्मणांस्तात सेवसे ।
    अनर्थ कुशलाह्येते बालाः पण्डितमानिनः ।। ३८ ।
    धर्मशास्त्रेषु मुख्येषु विद्यमानेषु दुर्बुधाः ।
    बुद्धिमान्वीक्षिकीं प्राप्य निरर्थं प्रवदन्ति ते ।। ३९ ।

    (अर्थ – भाइ भरत ! तिमीले लोकायतिक (नास्तिक) ब्राह्मणहरूको सेवा गर्ने त गर्दैनौ ? यिनीहरूले आफूलाई ठूला पण्डित ठान्दछन् र अनर्थ गर्नमा बडो कुशल हुन्छन्। मुख्य धर्मशास्त्रहरू हुँदाहुँदै पनि यिनीहरूले दुर्बुध आन्वीक्षिकी बुद्धि पाएर बेकार बकबक गर्ने गर्छन्।)

    निन्दाम्यहं कर्मकृतं पितुस्तत्, यस्त्वामगृण्हाद्विषमस्थ बुद्धिम् ।
    बुद्ध्यायैवं विधया चरन्तं सुनास्तिकं धर्मपथादपेतम् ।। ३३.।
    यथा हि चोर: स तथाहि बुद्धस्तथागतं नास्तिकमत्र विद्धि ।। ३४.।
    – (वाल्मीकि रामायण, अयोध्याकाण्ड, सर्ग १०९)

    (अर्थ – यस सम्बन्धमा त मैले पिताजीको पनि निन्दा गर्छु, किनकि उहाँले अधार्मिक बुद्धि भएको नास्तिक व्यक्तिलाई आफ्नो याजक आदिका रूपमा ठाउँ दिनु भएको थियो। राजाको लागि त यही उचित हुन्छ कि उनले बुद्ध, तथागत र चोरलाई एक समान ठानुन् र दण्ड दिऊन्।)

    भगवान् रामको यस कोपको कारण थियो भरतको साथ लागेर आएका ऋषिहरूमध्ये जाबालि नामका चार्वाकवादी ब्राह्मणको उपस्थिति। सबैले सम्झाइ–बुझाइ गर्दा पनि राम अयोध्या फर्कन नमानेपछि जाबालिले आफ्नो नास्तिक मतको अवलम्ब लिएर रामलाई यसरी सम्झाउन थाले – हे रघुनन्दन ! तपाईं श्रेष्ठ बुद्धि भएका तपस्वी हुनुहुन्छ। त्यसैले तपाईंले आफ्नो मनमा गाउँले मनुष्यले मैं निरर्थक विचार ल्याउन हुँदैन। संसारमा को कसको बन्धु हो र? कसद्वारा कसलाई के पाउनु छ? जीव एक्लैले जन्म लिन्छ र एक्लै नै नष्ट हुन्छ। अतः माता पिता सम्झेर जो मान्छे कसैप्रति आसक्त हुन्छ, त्यसलाई बहुलाएको ठान्नु पर्छ, किनकि यहाँ कोही कसैको केही पनि होइन। तपाईंले पिताको राज्य छाडेर यस दुःखमय, अग्लो–होचो उकालो – ओरालो, कंटकाकीर्ण जंगलको कुत्सित बाटो समात्नु हुँदैन। तपाईंले समृद्धिशाली अयोध्यामा राजाको पदमा आफ्नो अभिषेक गराउनोस्। त्यस नगरीले तपाईंको प्रतिक्षा गरिरहेको छ।

    राजा दशरथ तपाईंका कोही थिएनन् र तपाई पनि उनको कोही होइन। राजा दशरथ अर्कै व्यक्ति थिए, तपाई अर्कै व्यक्ति हुनुहुन्छ। जीवको जन्ममा पिता निमित्त कारण मात्र हुन्छ। ऋतुमती माताद्वारा गर्भमा धारण गरिएको वीर्य र रजको संयोग भए पछि नै यहाँ पुरुषको जन्म हुन्छ।

    राजा दशरथलाई जहाँ जानु थियो, त्यहाँ गए। यो प्राणी मात्रका लागि एक स्वाभाविक स्थिति हो। तपाईंले भने उनका लागि व्यर्थै कष्ट उठाइरहनु भएको छ। जो जो मनुष्य आफूलाई प्राप्त भएको अर्थ (धन, वैभव) को परित्याग गरेर धर्म परायण भएका छन्, ती–तीका लागि म त शोक गर्छु। तिनीहरू यस जगत्मा धर्मका नाममा केवल दुःख मात्र भोगेर मृत्यु पश्चात् नष्ट हुन गएका छन्।

    ‘अष्टका आदि जे जति श्राद्ध छन्, तिनका देवता पितर हुन्। श्राद्धमा दिइएको दान पितरहरूलाई मिल्छ’ भन्ने ठानेर मानिसहरू श्राद्ध गर्नमा प्रवृत्त हुन्छन्। किन्तु विचार गरेर हेर्ने हो भने यसमा अन्नको नाश मात्र हुन्छ। के मरेको मान्छेले पनि केही खान्छ? यदि यहाँ एकले खाएको अन्न अर्काको पेटमा पुग्दो हो त परदेशमा गएकाको लागि पनि श्राद्ध गर्नु नै बेस हुन्थ्यो, तिनीहरूले बाटो हिंड्दा आफूलाई चाहिने खानेकुरा लिएर जानु पर्ने हुँदैनथ्यो।’

    ‘देवताहरूका लागि यज्ञ र पूजन गर, दान देऊ, यज्ञको दीक्षा ग्रहण गर, तपस्या गर तथा घरद्वार छोडेर संन्यासी बन’ इत्यादि कुरा बताउने ग्रन्थहरू बुद्धिमान् धूर्तहरूले मानिसहरूलाई दान गर्नतिर प्रेरित गर्न रचेका हुन्। अतः महामते ! तपाईंले आफ्नो मनमा निश्चय गर्नुहोस् – यो लोक बाहेक अर्को कुनै लोक छैन। जुन प्रत्यक्ष राज्यलाभ छ त्यसको आश्रय लिनुहोस्, परोक्ष (पारलौकिक लाभ) लाई पछिल्तिर धकेल्नुहोस्। तपाईंले सबै मानिसहरूलाई बाटो देखाउन पर्ने हुँदा प्रमाणभूत भएका सत्पुरुषहरूको बुद्धिलाई अघि लगाएर भरतको अनुरोधमा राज्य ग्रहण गर्नुहोस्। – वाल्मीकि रामायण, अयोध्याकाण्ड, सर्ग १०८ ।

    विवेकबिनाको ईश्वरवाद
    यस प्रसंगबाट सिद्ध हुने पहिलो कुरा के भने राजा दशरथको संरक्षकतामा जाबालि जस्ता चार्वाकवादी विद्वान पनि आदर सहित निवास गर्ने गर्दथे तथा उनका विचारहरूको पनि उपयोगिता सम्झिन्थ्यो। भरतले आंशिक रूपमै भए पनि उनका विचारको उपयोगिता स्वीकार्थे, त्यसैले उनले रामलाई मनाउन जाँदा ती जाबालिलाई पनि आदर सहित साथै लिएर गए।

    सम्भवतः राजा दशरथ र उनको परम्परामा भरतले पनि वैदिक परम्परा र चार्वाकीय परम्परा दुवैलाई आदर दिन्थे होला, किन्तु राम ब्राह्मण धर्मबाट प्रभावित धेरै ईश्वरवादी थिए।

    उनी नास्तिक परम्पराका घोर विरोधी हुँदा हुन्। अतः दशरथबाट रामलाई हस्तान्तरित हुने भएको राजसत्ता नास्तिक मतवादहरूको विरुद्ध परिरहेको थियो, जब कि भरतलाई हस्तान्तरित भएमा नास्तिक मतको त्यति विरुद्ध पर्दैनथ्यो होला। सत्ताको हस्तान्तरणमा यदि भावुकता, वरदान, पिताको आज्ञापालन आदि जस्ता कुराहरू मात्र थिएनन्, केही राजनीति पनि थियो भने मान्नु पर्ने हुन्छ अनीश्वरवादीहरूको षड्यन्त्रको कारण रामको वनगमन भयो।

    अतः भरतले रामलाई आश्वस्त पार्न जाबालिलाई पनि साथ लगेका हुन्। रामको वनगमनको निर्णय जति भावावेशी व्यक्तिको हो, त्यति विवेकशील व्यक्तिको होइन। सबै–सबैले त्यति साह्रो मनाउँदा पनि खालि आफ्नै कुरामा मात्र अडिएको अडिएकै गरी वनगमनको मार्गको अनुसरण गर्नुलाई रामको जिद्दी नै भन्नु पर्छ। रामको ईश्वरवादी सिद्धान्तले त्यस प्रकारको स्वभावको निर्णय गरिरहेको थियो र उनको विवेकशीलतालाई नष्ट पारिरहेको थियो ।

    आफ्नो विवेक ईश्वरवादीहरूका हातमा सुम्पिसकेका हुँदा उनी किन फर्कन मान्थे? यस प्रसंगको दोस्रो निष्पत्ति हो – कालान्तरमा रामको राज्यारोहण भए पछि चार्वाकवादीहरूको रहे सहेको (बाँकी बचेको) धाक वा प्रतिष्ठा पनि समाप्त हुन पुग्यो होला। यस्तै प्रकारका अनेकौं घटना क्रमहरूले गर्दा ईश्वरवादी धर्म विकसित हुँदै गयो र चार्वाक् मत पराभूत हुँदै गयो ।

    रामः मानसिक रोगी!
    यस प्रसंगको तेस्रो निष्पत्ति हो – ईश्वरवादी परम्परा भारतको भूमिमा मात्र विकास गरिरहेको आन्वीक्षिकी विद्या, चार्वाक् मत तथा तथागत बुद्धको धर्मको प्रबल विरोधी थियो र यी मतवादका अनुयायीहरूलाई चोर बराबर ठानिन्थ्यो। एउटा अर्को निष्पत्ति यो पनि हुन सक्छ – लुम्बिनीमा जन्मेका गौतम बुद्धको धर्म पल्लवित–पुष्पित हुँदै गएको देखेर वैदिक धर्मवादी वाल्मीकिले आफ्नो कवि कर्मकौशलबाट शाक्य जनपदको निकटवर्ती राज्य भएको अयोध्याका कुनै राजकुमार राममाथि आफ्नो लेखनी (कलम) चलाएर मनोहर तथा सशक्त चरित्र निर्माण गरी एक धार्मिक उद्गाता प्रस्तुत गरेका हुन्।

    वाल्मीकिलाई यस कार्यमा पर्याप्त सफलता पनि मिल्यो। रामका माध्यमबाट ईश्वरवादी विचारधारा र वैदिक परम्परामा चल्ने ब्राह्मणवादी धर्मलाई पर्याप्त बल मिल्यो। निष्कर्षमा के भने वाल्मीकिलाई बौद्ध धर्मको प्रतिद्वन्द्वितामा कुनै जोरदार चरित्र प्रस्तुत गर्नु थियो, त्यसलाई उनले रामको रूपमा प्रस्तुत गरिदिए। वाल्मीकिको सफलतामा अश्वघोषले बुद्धको चरित्रमाथि कवि कौशल देखाए। अश्वघोषलाई अघि बढेको देखेर कालिदास रघुवंश लिएर अघि सरे।

    यद्यपि महाकाव्यहरूको प्रमाणमा रामलाई वैदिक धर्मको पुनरुद्धारक भनेर स्वीकार गर्नु पर्छ, किन्तु तिनकै प्रमाणमा यस्तो आभाष पनि पाइन्छ कि रामको चरित्र साहित्यिक संशोधनको प्रक्रिया हुँदै चलेको हो। वास्तविक इतिहास पुरुष राम भने अवसाद (डिप्रेशन) का मानस रोगी थिए। यस अवसादको रोगको आक्रमण उनको जीवनमा उनीमाथि धेरै पटक भयो। मदुराई मेडिकल कलेजको मनोरोग चिकित्सा विभागका अध्यक्ष प्रोफेसर ए. बेकोवा रावले शोध गरेर यस प्रकारको एउटा शोधपत्र पनि प्रस्तुत गरेका छन् ।

    उनको भनाइ छ, रामका पूर्वजहरूमा पनि यस अवसादको रोग ‘मनोरोग’ आनुवंशिक रूपले विद्यमान थियो। अजले इन्दुमतीको आकस्मिक मृत्यु पछि अन्न–जल त्यागेर मृत्युवरण गरेका थिए। दशरथका जीवनमा उनीमाथि तीन-तीन पटक यस्तो खालको रोगको आक्रमण भएको थियो। जसमध्ये अन्तिम पटकको आक्रमण रामको निर्वासनको बेलामा भएको थियो र यो प्राणघाती (ज्यानमारा) सावित भयो। राम पनि त्यही मनोरोगको मनस्थितिका बन्न गए।

    रावणमाथिको विजय पछि रामले सीताको अग्निपरीक्षा लिनु, गर्भावस्थामा सीताको परित्याग गर्नु र अन्तमा सरयू नदीमा हाम्फालेर (फाल हालेर) प्राण त्याग गर्नु – उनका यी सबै कृत्यले उनको अवसादका मनोरोगको पुष्टि गर्छन्। साहित्यकारले चरित्र शोधन गरेर पात्रलाई उदात्तताको परमोच्च स्थानमा प्रतिष्ठित गरिदिन्छन् (बैठ्याइदिन्छन्)। बौद्धधर्मको प्रतिक्रियास्वरूप वैदिक धर्मको पुनर्प्रतिष्ठाका लागि साहित्यकारहरूले रामलाई प्रचारयुद्धको एउटा अस्त्रका रूपमा ग्रहण गरे, कुरा यस्तै लाग्छ ।

    यस्तो खालको प्रचार युद्धमा प्रायः ईश्वरवादीहरूको विजय हुँदै गयो र ईश्वरवादी धर्महरूको रुग्णतामा औंला ठड्याउनेहरू कम हुँदै गए। समाजलाई ईश्वरवाद स्वीकृत हुँदै गयो, तापनि मानिसहरूले आफ्नो हृदयको कुनामा कतै न कतै यो कुरा सम्झदै रहे कि धार्मिक विचारहरूमा खोक्रोपन छ, यी विचार रुग्ण विचार हुन् ।

    महाभारत प्रसंग

    महाभारतको एउटा प्रसंग हेरौं। शान्ति पर्वको १० औं अध्यायमा युधिष्ठिरले सन्यास लिने प्रस्ताव राख्दा भीमले उनलाई सम्झाउँदै भन्छन् – “महाराज ! तपाईंले के भन्नु भएको यस्तो? रटन्ते (घोकन्ते) वैदिकहरू झैं तपाईं पनि अविद्वान् एवं मन्द बुद्धिको बन्नु भएको लाग्छ। तपाईंले आफ्नो बुद्धिलाई ठेगान लगाउनु पर्छ। विद्वान् मानिसहरू भन्छन्, संसारमा जे जति छ त्यो सबै प्राणी मात्रको भक्ष्य वस्तु हो।

    सन्यास त त्यस्तो आपत् कालको कर्तव्य हो, जुन बेला व्यक्ति बुढ्याइँको चंगुलमा फँस्छ वा शत्रुहरूद्वारा सताइन्छ। वन–जंगलमा भौंतारिने यी मृग, बँदेल एवं पंक्षीहरूले स्वर्गमाथि कहाँ विजय प्राप्त गरेका छन् र? त्यागबाट स्वर्ग पाइने भए यिनै पशुपंक्षीहरूलाई मिल्नु पर्थ्यो , किन कि यिनीहरूले मान्छेले मैं उपभोग गर्दैनन् । यदि सन्यासबाट राजालाई आफ्नो इष्टको सिद्धि प्राप्त हुने भए यी पर्वत, वृक्ष आदिले अनायास इष्टको सिद्धि किन प्राप्त गर्दैनन् त? किनकि यी विचराहरू सदा निर्विघ्न भावले सन्यासी छन्। यी माछा आदि जलचर जन्तुहरूले पनि सिद्धि लाभ गर्ने थिए, किन कि यिनीहरू जीवन मात्रका लागि अपेक्षित अल्पाति अल्प कर्मका अतिरिक्त कहिलै केही गर्दैनन्।”

    महाभारतकै मोक्षधर्म पर्व, अध्याय १८६ मा भृगुलाई भारद्वाज जस्ता तपस्वी ब्राह्मणले उपदेश दिन्छन् – “यदि वायु नै सबै प्राणीहरूको प्राण हो र त्यस प्राणको कारणले नै प्राणीहरू चेष्टाशील हुन्छन्, श्वासप्रश्वास लिन्छन्, बोल्ने–चल्ने गर्छन् भने अतिरिक्त जीवात्माको अस्तित्व मान्नुको कुनै अर्थ छैन ।

    देहमा पाइने गर्मी शरीरगत अग्नि नै हो। खाइएका पदार्थहरू यही जठरानलद्वारा पच्ने गर्छन् र रस, रगत, मांसादिको निष्पत्ति हुन्छ। अतः भूतातिरिक्त (प्राणीहरूदेखि बाहेकको) जीवात्मा मान्य छैन। यदि प्राणीहरूको शरीरभित्रको जीवात्मा शरीरांश भूत (पदार्थ) हरूदेखि बाहेक अरु थोक केही हुँदो हो त मर्दाखेरि शरीरबाट हुने त्यसको बहिर्गतिलाई त्यसकै वरपर बसेका बन्धुबान्धवहरूले अवश्य नै देख्ने थिए। प्राणीहरूको मरण प्राणवायुको निर्गमन बाहेक अरु थोक केही होइन।

    अनाहार गर्नाले, पानी पिउन छाड्नाले शरीरको रस सुक्न जान्छ। हठात् (अकस्मात्) जबरजस्ती श्वासप्रश्वासको निग्रह गर्नाले प्रणवायुको नाश हुन्छ। कोष्ठ भेदले अर्थात् पेट आदि फुट्नाले शरीरभित्रको आकाश नष्ट हुन्छ। खाना खान छाड्ने हो भने जठरानल नष्ट हुन्छ। विभिन्न प्रकारका व्याधिहरूबाट शरीरगत पार्थिव भाग नष्ट हुन्छ। मानिसहरू मर्ने बेलामा सोच्ने गर्छन् – दान दिइएको यो गाईले मलाई परलोकमा फाइदा पुयाउँछ भनेर। तर तिनीहरूले यो गाई पनि त अजर–अमर होइन/छैन भन्ने कुरातिर पटक्कै ध्यान दिदैनन्।

    यहीं नै मर्ने भएको गाईले त्यहाँ कसरी लाभ पुर्‍याउला? जहाँ गाई, त्यसलाई दानमा लिने व्यक्ति र दान दिने व्यक्ति तिनैजना यहीं मर्नेवाला हुन् भने त्यहाँ तिनीहरूको पुनः समागम कसरी हुन सक्छ ?

    जुन मृत शरीरलाई चील, गिद्ध आदिले लुछी लुछी खान्छन्, जुन शरीर कुनै अग्लो पहाडबाट खस्दा चूर्ण–विचूर्ण हुन्छ, तथा जसलाई आगोले जलाएर खाक पार्छ, त्यसले फेरि कसरी पुनर्जीवन प्राप्त गर्न सक्छ ? जरैदेखि उखेलेर फालिएको रुख फेरि प्ररुढ हुन सक्तैन, फेरि पनि पल्लवित, पुष्पित, फलित भएको कहिलै देखिदैन। यस्ता स्थितिमा मरेको व्यक्ति फेरि कसरी फर्केर आउन सक्छ ? स्पष्ट कुरा के भने यो शरीर मांस, शोणित (रगत), मेद (बोसो), स्नायु, अस्थि (हाड) आदिको नै संचित रूप हो, अरु केही होइन। यो नष्ट भएपछि जीवको अस्तित्वलाई पुनः उत्पन्न गर्न सकिंदैन।”

    ‘पशुवध धार्मिक कृत्य होइन’
    यस्तै प्रकारले मोक्षधर्म पर्व, अध्याय २१८ मा जनक–पंचशिख संवादमा पनि एउटा प्रसंग छ–
    “एक पटकको कुरा हो। मिथिलाधिपति जनककहाँ मृत्यु पछिका परिस्थितिहरूको विवेचनामा संलग्न विवेचकहरूको कमी थिएन। उनी कहाँ विद्वान्, विवेचकहरूको कमी थिएन। एक सयजना आचार्यहरूले भिन्न भिन्न धर्मका अनुसार परलोक तत्वको व्याख्या गर्न लागे, किन्तु तिनका तर्कहरूले जनकको मन सन्तुष्ट भएन।”

    यस प्रसंगमा पनि के स्पष्ट हुन्छ भने परलोकवादी व्यवस्था शंकादेखि परको (निःशङ्ग) थिएन र चार्वाकवादी विचारधारा हृदयको कुनै न कुनै कुनामा विद्यमान रहेकै थियो। यस्तै प्रकारले विष्णु पुराण, तृतीय अंशको अठारौं अध्यायमा एउटा प्रसंग छ।

    नर्मदाको किनारमा तपस्यारत असुरहरूलाई देखेर माया–मोहले तिनीहरूसित सोधे, “तपाईंहरूले ऐहिक फलका लागि तपस्या गरिरहनु भएको हो वा पारलौकिक फलका लागि ?” उनीहरूले जवाफ दिए, “पारलौकिक फलका लागि ।”

    त्यसपछि त्यस रक्ताम्बरधारी माया–मोहले ती तपस्यारत असुरहरूलाई भने, “यदि तपाईंहरू स्वर्ग या अपवर्ग (मुक्ति, मोक्ष, निर्वाण) चाहनु हुन्छ भने पशुवध आदि घटित भएको वैदिक धर्महरूको परित्याग गर्नुहोस् ।” यस उपदेशका प्रभावमा ती तपस्वीहरूले देवनिन्दक र वेदनिन्दक सिद्धान्त अँगाले।

    केहीले याग यज्ञको निन्दा गर्न थाले भने केहीले चाहिं ब्राह्मणहरूको। तिनीहरूले यस्तो उपदेश दिन लागे, “हिंसा वा यज्ञगत पशुवध धार्मिक कृत्य हुन सक्तैन। आगोमा व्यर्थै जलाइएका हव्य पदार्थहरूले कुनै फल प्रदान गर्छन् भन्नु केटाकेटीपन हो।

    अनेक यज्ञ गर्ने इन्द्रादिदेवताहरूले यदि शमी (स्वामी नामको रुखको काठ) आदि काठहरू (दाउराहरू) खान्छन् भने तिनीहरूभन्दा श्रेष्ठ धरतीका पशुहरू हुन् जो पात खाने गर्छन्। यज्ञमा मारिएका पशुहरू यदि मरेर स्वर्ग जान्छन् भने यजमानले आफ्नो पितालाई नै यज्ञपशु बनाएर किन मार्ने काम गर्दैन ? एउटाले खाँदा यदि अर्को (व्यक्ति) तृप्त हुन्छ भने प्रवासी यात्रीहरूले पाथेय (बाटा खर्च) को भारी व्यर्थ किन बोक्ने गर्छन् ? घरमा भएकाहरूले तिनको श्राद्ध किन गरिदिने गर्दैनन् ? श्राद्ध र याग यज्ञमा कुनै तात्विकता छैन। त्यसैले तिनको उपेक्षा (तिरस्कार) गर्न नै उचित छ। आप्त (विश्वास प्राप्त वाक्य, शब्द प्रमाण) वाक्य कुनै विशेष प्रयोजन बिना आकाशबाट त्यसै, त्यत्तिकै हामीहरूले युक्तियुक्त वाक्यहरूकै आदर टप्कदैन । हाम्रो लागि उचित छ गरौं ।”

    विष्णु पुराणोक्त यी विचारहरू सम्भवतः त्यस युगका हुन्, जुन युगमा जैनीहरूले वैदिकी यज्ञ–हिंसाका विरुद्ध आवाज उँचो पारेका थिए। यहाँ विष्णु पुराणकारले तिनीहरूलाई असुर तपस्वी बताएर तिनीहरूको हीनता प्रदर्शित गर्न चाहिरहेको देखिन्छ। किन्तु हामीलाई थाहा छ, त्यस युगमा पशु–बलि र वैदिकी यज्ञहरूको हिंसाबाट प्रबुद्ध जनमानस कति क्षुब्ध थियो र त्यसको प्रतिक्रियामा बौद्ध र जैन धर्म कसरी झांगिदै गए।

    डा. सच्चिदानन्द मिश्रको ‘ईश्वर मरिसक्यो’ पुस्तकको एक अंश।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.