Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

श्लील, अश्लील र मार्क्सवाद

डी‍. डी‍. अधिकारी डी‍. डी‍. अधिकारी
बैशाख ६, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रस्थान
    यौन सम्बन्ध भन्नाले स्त्री र पुरुषका बीचमा हुने मैथुन क्रिया भन्ने बुझिन्छ। यो क्रिया सृष्टि सञ्चालनको अनिवार्य आवश्यकता मात्र होइन मानिस लगायत सम्पूर्ण प्राणीहरूको जैविक आवश्यकता पनि हो। जब मानिसले बाँच्ने इच्छा राख्छ तब उसमा फैलिने इच्छा पनि स्वतः रहन्छ। तसर्थ यो क्रिया हिजोदेखि आजसम्म जति अवाश्यक बनेर आएको छ, त्यति नै भोलि पनि एक अनिवार्य आवश्यकताका रुपमा रहीरहने छ। तर यसलाई हेर्ने दृष्टिकोण, यसको उपयोगिता वा प्रयोजनका बारेमा भने फरक फरक धारणहरू प्राप्त हुन्छन्।

    एकातिर यसलाई जैविक आवश्यकताका रुपमा नलिई विलाससिताको रुपमा लिने र नारीहरूमाथि पितृसत्तात्मक हैकम कायम गर्ने एउटा महत्वपूर्ण हतियारका रुपमा प्रयोग गर्ने सामन्तवादी पूँजीवादी मान्यता समाजमा छ भने अर्कोतिर यसलाई मर्यादित, भव्य र सभ्य ढङगले प्रयोग गरी सुन्दर समाज निर्माणका लागि सुन्दर सन्तानको प्रतिपाद गर्ने एक महत्वपूर्ण क्रियाका रुपमा स्थापित गर्न चाहने दृष्टिकोण छ।

    सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि वर्ग संघर्षको पथमा संलग्न हुने मार्क्सवाद र त्यसैको साहित्यिक रुपमा प्रगतिवादमाथि प्रहार गर्नका लागि यसका विरोधीहरूले विभिन्न हत्कण्डाहरू अपनाइरहेका हुन्छन्। यसै सिलसिलामा प्रगतिवादीहरूलाई सामन्तवादी पूँजीवादीहरूले यौन सम्बन्धलाई माध्यम बनाएर बदनाम गर्ने प्रयास गरेको पाइन्छ।

    पतिव्रता धर्मको प्रचार गर्ने पितृसत्तात्मक सामाजिक, सांस्कृतिक र एक पक्षीय दाम्पत्य नैतिकताको विरोध गर्ने मास्र्कवादी मान्यतालाई बङग्याएर सामन्तवादी, पूँजीवादी, पुरुष हैकमवादी बुर्जुवाहरूले मार्क्सवादभित्र छाडा यौन सम्बन्ध कायम रहन्छ भन्ने अफवाह पनि नफैलाएका होइनन्। यसैका आधारमा उनीहरूले मार्क्सवादीहरू सहज रुपमा छाडा भएर नातापाता समेतको वास्ता नगरी जहाँ जहिले जोसँग मन लाग्छ उसैसँग यौन सम्बन्ध कायम गर्न छुट दिने छाडावादीहरू हुन भन्ने निराधार कपोल्पकल्पित र निकृष्ट आरोप पनि लगाउने गरेकै हुन् र गर्छन् पनि।

    समन्तवादीहरूले चलाएको यो हौवाले प्रगतिवादमा गम्भीर असर पनि पार्ने गरेको छ। यसै हल्लाका कारण मार्क्सवाका जनप्रिय मान्यता र व्यवहारबाट प्रभावि हुने र यौन नैतिकतामा रहन चाहनेहरू यसबाट टाढा रहन चाहने र छाडावादी यौन पिपासुहरू यतर्फ आकृष्ट हुने स्थिति समेत निर्माण हुन्छ। यी दुबै सन्दर्भले मार्क्सवादी आन्दोलनमा गम्भीर समस्या उत्पन्न गराउँछन्। त्यसकारण मार्क्सवादमा आस्था राख्ने र राख्न चाहने जो कोहीले पनि यौन सम्बन्ध र यसको नैतिकताका बारेमा प्रगतिवादी दृष्टिकोणको धारण स्पष्ट रुपले बुझ्न आवश्यक छ।

    समानान्तर धारका मात्र होइन प्रगतिवादी विचारधारामा प्रतिबद्ध रहेका भन्नेहरूले पनि यसप्रतिको प्रष्ट दृष्टिकोण प्राप्त गर्न सकिरहेका छैनन् र उनीह आफैं पनि अलमलिने गरेको सन्दर्भ यहाँ स्मरणीय छ । प्रगतिवादीहरू कै यसप्रतिको प्रस्ट दृष्टिकोण सार्वजनिक हुन नसक्दा अन्यहरूलाई प्रहार गर्न झन सजिलो बन्ने गरेको छ।

    हुनत हिजो भन्दा आज चेतनाको स्तर निकै बढिसकेको छ। हिजो भूमिगत अवस्थाका कारण यस सम्बन्धीका सामग्रीहरू पनि खुल्ला रुपले पढ्न पाइने अवस्था थिएन। त्यसैगरी प्रकाशन र वितरणमा आएको सहजताले पनि प्रगतिवादी र मार्क्सवादी दृष्टिकोणमा सामग्रीहरू आज निकै सहज रुपले प्राप्त भइरहेका छन्। तिनीहरूले पनि प्रगतिवादी दृष्टिकोणको बोध गर्नमा निकै सहयोग पु¥याउने गरेका छन्। तर पनि यौन सम्बन्धका बारेमा जति स्पष्ट धारणाहरू आउनुपर्ने हो त्यति रुपमा आउन नसकेको सन्दर्भ यहाँ उल्लेख गर्नु यो पंक्तिकारले आवश्यक ठानेको छ।

    यसैगरी हाम्रो जस्तो सामन्तवादबाट भर्खर मात्र पूँजीवादमा संक्रमित हुँदै गरेको समाजमा अझै पनि कतिपय कारणले यौनका विषयमा गम्भीर रुपले वहस गर्न, किशोर किशोरी, युवा युवतीहरूलाई आफ्नो शारीरिक तथा मानसिक परिवर्तनका बारेमा वैज्ञानिक ढंगले दीक्षित गर्न समेत अप्ठ्यारो अवस्था सिर्जित हुने सन्दर्भ एकातिर छ भने अर्कोतिर यसलाई विकृत रुपले प्रचार प्रसार गर्ने अवस्था पनि छ। मार्क्सवादमा यौन सम्बन्धका बारेमा प्रस्ट धारणहरू रहेका छन्। मार्क्सवादका प्रवर्तकहरू ९मार्क्स, एङ्गेल्स, लेनिन र अन्य व्याख्याताहरू० ले यस विषयमा स्पष्ट धारणा राखेका छन्।

    ती धारणालाई आम जनताका अगाडि ल्याउनु र सामन्तवादी तथा पूँजीवादीहरूले प्रगतिवादीहरूमाथि लगाउने गरेको अरोपको खण्डन गर्ने दायित्वपनि प्रतिवादीहरूको नै हो भन्ने पंक्तिकारको बुझाइअनुसार नै यस आलोखमा यौन सम्बन्धको पूर्वीय र पाश्चात्य सन्दर्भ, प्रगतिवादीहरूमाथि लाग्ने गरेको भ्रामक आरोप, साहित्यमा यौनको प्रयोग, श्लीलता र अश्लीलता सम्बन्धी मार्क्सवादी मान्यता र विवाह तथा यौन सम्बन्धका बारेमा मार्क्सवादी धारणाको विवेचना गरिएको छ।

    यौन सम्बन्धः पूर्वीय र पाश्चात्य सन्दर्भ
    यौन सम्बन्ध मानव अस्तित्व कायम रहेको समयदेखि संसारका पूर्व र पश्चिम दुबै तर्फको चर्चाको विषयका रुपमा रहेको छ। यसका बारेमा चाहे पूर्व होस वा पश्चिम दुबै तर्फ बहसको विषय बनाइँदै आएको पाइन्छ। पूर्वीय सन्दर्भमा यौनलाई ‘काम’ को रुपमा प्रस्तुत गरिएको पाइन्छ। यहाँका संस्कृत साहित्य र वाङमयिक दार्शनिक ग्रन्थहरूमा पनि यसको चर्चा भएको छ। पूर्वीय धर्मशास्त्रले पुरुषर्थ चतेष्ट अन्तरगत ‘काम’लाई पनि एक मानेको छ।

    पूर्वीय धर्म ग्रन्थहरू, जहाँ ‘काम’ भनेर यौनको चर्चा गरिएको छ। त्यहाँ यसको निर्दिष्ट आचारसंहिता पनि निर्माण गरिएको छ। पूर्वीय धार्मिक ग्रन्थहरूमा मानव जीवनलाई व्यवस्थित रुपले वर्गिकरण गरी बाल्यकालमा (जन्मदेखि १५ वर्षसम्म) शिक्षा आर्जन गर्ने, यौवनावस्था (१६ देखि ५९ वर्षसम्म) काम सेवन गर्ने र वृद्धावस्था (६० वर्षमाथि)मोक्षका लागि विभिन्न कार्यहरू गर्नुपर्ने मान्यता अगाडि सारिएको छ।

    – डी डी अधिकारी

    पूर्वका यी ग्रन्थहरूले अविवाहित पुरुषले उपयुक्त कन्यासँग विधिवत् विवाह गर्दा सम्भोगबाट काम तृप्ति, कन्याप्राप्ति रुप, अर्थ र गृहस्थ आचार अनुकूल धर्मपनि प्राप्त हुन्छ भन्ने मान्यता राखेका छन् -न्यौपाने र दाहाल, २०६४ःइ.। यौनका सन्दर्भमा चर्चा गर्ने क्रममा पूर्वीय सन्दर्भको आदि ग्रन्थ वात्स्यायनको कामशास्त्र वा कामसूत्रलाई मानिँदै आइएको छ। उनको यो ग्रन्थ यौन चिन्तनका दृष्टिले पूर्व र पश्चिम दुबैतिरको महत्वपूर्ण उपलब्धिका रुपमा रहेको छ।-गौतम, २०६१ः२०उनले यस ग्रन्थमा यौनका बारेमा विषद् चर्चा गरेका छन्।

    यौनका बाह्य र आन्तरिक सन्दर्भहरूको उल्लेख गर्दै उनले आलिङगन, चुम्बन, नखक्षत, दन्तक्षत हुँदै सम्भोगका बारेमा आफ्ना अभिमतहरू अगाडि सारेका छन् पूर्वका संस्कृत साहित्य र पौराणिक रचनाहरूमा यौनका विषयमा चर्चा गरिएको पाइन्छ। पूर्वका पौराणिक वा धार्मिक ग्रन्थहरूमा ईश्वरका रुपमा स्थापित गरिएका शिव, विष्णु, कृष्ण वा भगवतीका रुपमा स्थापित गरिएका नारीपात्र पार्वती, लक्ष्मी, राधा सबैका यौन वा रतिक्रीडाका बारेमा पनि चित्रण गरिएको छ। अथर्ववेदमा समेत यौनको सन्दर्भ आएको देखिन्छ।
    यसका साथै पूर्वका तन्त्रशास्त्र, वेदान्त, साङख्य, न्याय, व्याकरण, धर्मशास्त्र लगायतका शास्त्रीय ग्रन्थहरूमा समेत यो वा त्यो रुपले यौनको विमर्श गरिएको पाइन्छ। पूर्वीय साहित्य परम्परामा पनि यौनलाई स्थान दिइएको छ। संस्कृतका महाकवि कालिदास, महाकवि माघ लगायतका प्राचीन साहित्यकारहरूले आफ्ना रचनामा यौन चित्रणलाई राम्रै स्थानमा दिएका छन्। यसरी पूर्वीय संस्कृत साहित्यमा पौराणिक कालदेखि नै यौनको चित्रण गरिएको छ र यसका बारेमा विमर्श पनि गरिएको देखिन्छ।

    पूर्वमा जस्तै पश्चिममा पनि यौनका बारेमा चर्चा परिचर्चाहरू भएको पाइन्छ। तर पनि पश्चिमा जगत् यौनका विषयमा व्यापक चिन्तन गर्ने र व्याख्या गर्ने कार्य बीसौं शताब्दीमा मात्र भएको देखिन्छ। पश्चिमका वात्स्यायनको रुपमा चिनाउन सकिने सिग्मन फ्रायडको ‘यौन मनोविज्ञान’, त्यहाँको यौनका विषयमा विषद् चर्चा गरिएको आदि ग्रन्थ हो। फ्रायडको यो कार्यपछि कार्ल गुस्ताव र अल्फ्रेड एडलरले यसमा केही आफ्ना निजी र नवीन स्थापना प्रस्तुत गरेको पाइन्छ।

    यसपछि यौन अध्ययनको यो यात्राले लामो यात्रा तय गरीसकेको छ। यासको अध्ययन तथा विश्लेषण गर्ने परम्पराको यात्रा आज पनि जारी छ। पाश्चात्य साहित्यमा पनि यौनले उल्लेखनीय स्थान पाएको देखिन्छ। यौनको सन्दर्भ, यौनावस्था र साहित्यमा यौन जस्ता विषयमा एडवार्ड अर्नोल्डले प्रस्तुत गरेको मान्यतालाई पाश्चात्य साहित्यमा यौनको चिन्तनको महत्वपूर्ण उपलब्धिका रुपमा हेरिन्छ -गौतम, २०६१ः४०। उनले अगाडि सारेको मान्यता स्वच्छन्द यौनमा केन्द्रित रहेको देखिन्छ। यस्तै जे.ए. कडनले यौन कथालाई नवीन प्रेम कथाका रुपमा प्रस्तुत गरेका छन्। यौनलाई कला वा शास्त्रका रुपमा चिनाउने जेर्मी हाउथोर्नको मत पनि पाश्चात्य जगतमा यौन चिन्तनका सन्दर्भमा आएका धराणाहरूमा उल्लेखनीय छ। उनले यौन साहित्यलाई नारीवादी सोचाइ, कला र चिन्तनको प्रतिबिम्ब मानेका छन्।

    यसरी पाश्चात्य सन्दर्भमा विभिन्न विद्वानहरूले यौनका बारेमा चर्चा गरेका भए पनि कला तथा साहित्यमा फ्रयडको सिद्धान्त नै महत्वपूर्ण रुपले प्रयोग हुँदै आएको छ। उनको सिद्धान्त मुख्य रुपले यौनमा केन्द्रित रहेको छ। उनको सिद्धान्तलाई आधार बनाएर लेखिएको साहित्यले पाश्चात्य जगत्को यौन चिन्तन र साहित्यमा त्यसको स्थान तथा पाश्चात्य दृष्टिकोणलाई प्रतिबिम्बित गरेको देखिन्छ।

    यसरी पूर्व र पश्चिम दुबै तर्फका दृृष्टिकोणहरूलाई हेर्दा यौन मानवीय जीवनको एक अपरिहार्य आवश्यकताका रुपमा देखिएको छ। सृष्टि सञ्चालनका लागि मात्र नभएर मानवको जैविक आवश्यकताका रुपमा पनि यौन देखिएको छ। सहित्य पनि मानव जीवनको एक अंग जस्तै भएकाले यसमा जीवनका यावत् पक्षहरू समावेश भएका हुन्छन्।

    यसै सन्दर्भमा साहित्यमा यौनको पनि राम्रै स्थान रहेको हुन्छ। साहित्यमा यौनलाई प्रयोग गर्ने कार्य पूर्व र पश्चिम दुबै तर्फ भएको देखिन्छ। साहित्यमा मात्र नभएर समग्र दृष्टिकोणका सन्दर्भमा नै पूर्वीय सन्दर्भ भन्दा पाश्चात्य जगत् बढी उदार जस्तो देखिन्छ। तर यो उदारताले समाजमा पार्ने प्रभावलाई भने त्यसै छोड्न सकिँदैन। पूर्वीयहरूले यौनलाई एक धर्मका रुपमा पनि चिनाउने र त्यसका निर्दिष्ट मापदण्ड निर्माण गर्ने कार्य गरेका छन् भने पाश्चात्य सन्दर्भमा यो पक्ष अलि कमजोर देखिन्छ।

    पश्चिममा यौनलाई अलि खुला रुपले प्रस्तुत गर्ने गरिएको देखिन्छ। यसैका आधारमा साम्राज्यवादीहरूले यौन बजार विस्तार गरी यसलाई बजारको बिकाउ मालका रुपमा प्रस्तुत गर्ने गरेका छन्।

    यौन सम्बन्धका बारेमा मार्क्सवादी नैतिकता
    यौन सम्बन्धलाई विषय बनाएर सामन्तवादी वा पूँजीवादीहरूले मार्क्सवादीहरूमाथि विभिन्न आरोपहरू लगाउने गर्छन भन्ने कुराको संकेत माथि नै भइसकेको छ। उनीहरू विभिन्न प्रकारका अरोपहरू मार्क्सवादीहरूमाथि लगाउने र आफू चोखिन खोज्ने गर्छन्। तर महिलाहरूलाई उपभोग्य वस्तुमा रुपान्तरण गरी यौनलाई छाडा र सस्तो बनाउने दिशामा मरी मेटेर लाग्ने गर्छन्।

    समाजलाई विकृत बनाउँदै मानिसको मानसिकतालाई रोगी र दुर्गन्धित बनाउने कार्यमा पूँजीवादीहरू भए भरको बल प्रयोग गर्ने गर्छन्। आफूहरू भने खुल्लमखुल्ला रुपले पिपासु बनेर हिँड्ने अनि मार्क्सवादीमाथि नानाभरका अरोप लगाएर मानिसलाई भाँड्न सक्नुमा नै उनीहरूले आफ्नो सफलता देखेका हुन्छन्।

    मानव सभ्यता विकासको इतिहास हेर्दै जाँदा आदिम साम्यवादलाई आधार बनाएर प्रतिक्रियावादीहरूले साम्यवादी समाजमा महिलाको प्रयोग साझा स्वामित्वका आधारमा गरिन्छ र खुल्ला यौन जीवन अंगालिन्छ भन्ने प्रचार गर्छन्। सामाजिक र आर्थिक शोषण नभएको र खुल्ला रुपमा यौन स्वतन्त्रता नभएको आदिम साम्यवादी युगलाई साक्षी राखेर कम्युनिष्टहरूको उद्देश्य पनि साम्यवादी समाज निर्माण गर्नु भन्ने निष्कर्ष निकाल्ने र त्यसका विशेषताहरू निर्धारण गर्ने हो भने बुर्जुवाहरूले दिएको यो तर्क ठिकै जस्तो पनि देखिन्छ।

    तर यसलाई सतहबाट नहेरी गहिरिएर हेर्न आवश्यक छ। पूँजीपति वर्गले आफैंजस्तो सोची कम्युनिष्टहरूमाथि महिलाहरूलाई साझा सम्पत्ति बनाउनेहरू हुन् भनी लगाएको आरोपको खण्डन गर्दै र यौन नैतिकताका सम्बन्धमा आफ्नो मान्यता प्रस्तुत गर्दै मार्क्स–एंगेल्स्ले कम्युनिष्ट पार्टीको घोषणापत्रमा यसो भनेका छन्ः

    “पूँजीपति आफ्नी स्वास्नीलाई एउटा उत्पादनको साधन मात्र ठान्छ। उसले के सुनेको छ भने उत्पादनका साधनहरूलाई पनि सामूहिक सम्पत्ति बनाइनेछ। उसले कुन कुरा सोच्नै सक्दैन भने हाम्रो मुख्य उद्देश्य उत्पादनको साधन मात्र बनेका महिलाहरूलाई त्यस्तो स्थितिबाट मुक्त पार्नु हो। महिलाहरूलाई खुल्ला र अधिकृत रुपमा सामूहिक सम्पत्ति बनाउन खोज्छन् भनेर कम्युनिष्टहरूमाथि आक्षेप लगाई पूँजीपतिहरू बडो सदाचारी बनेर त्यसप्रति क्रोध प्रकट गर्छन्। यो जत्तिको हाँसो उठ्ने कुरा अरु केही छैन। महिलाहरूलाई सामूहिक सम्पत्ति बनाउनुपर्ने कम्युनिष्टहरूको लागि कुनै कारण छैन। हाम्रा पूँजीपतिहरू आफ्नो अधीनमा भएका सर्वहाराहरूका श्रीमती र छोरीहरूको सतीत्व लुटेर पनि नअघाई एक अर्काकी स्वास्नी उडाउनमा निकै आनन्द लिन्छन्।”

    मार्क्स–एंगेल्स्ले प्रस्तुत गरेका माथि उल्लिखित धारणाहरूले नै मार्क्सवादीहरूको यौन नैतिकतालाई राम्रैसँग प्रस्तुत गरेका छन्। एकले अर्काकी स्वास्नीसँग लसपस गर्न चाहने पूँजीवादी मानसिकता र उनीहरूले स्वतन्त्रताका नाममा चाहने पशुतन्त्रलाई प्रस्ट पारेको छ। फोहोरी व्यवहारबाट पनि आनन्द प्राप्त गर्न सक्ने पूँजीवादी मानसिकता र त्यसका आसोपासे भरौटेहरूको दुर्गन्धी आचरणको विरोध गर्ने मार्क्सवादीहरूमाथि विभिन्न अरोप लगाउनु र आफू जस्तै सावित गर्नुलाई उनीहरूले आफ्नो सबैभन्दा ठूलो प्राप्ति ठानेका छन्।

    आफूहरू अर्थनीति र यौन सम्बन्धलाई एउटै रुपमा हेर्ने अनि वैज्ञानिक साम्यवादका पक्षपाती मार्क्सवादीहरूलाई आदिम साम्यवादतर्फ फर्कने प्रयासका रुपमा प्रस्तुत गर्नु बुर्जुवाहरूको कुचेष्टा हो। आदिम साम्यवादमा भएको मानिसको चेतनाको स्तर विकासको स्थिति र आजको अवस्था एउटै छरु अब यहाँ आएको मानिस फर्किएर आदिम साम्यवादमा कसरी जान सक्छरु आज मार्क्सवादीहरूले उठाउने गरेको साम्यवादको नारा त वैज्ञानिक साम्यवादको हो भन्ने कुरामा बुर्जुवाहरू किन प्रष्ट हुन नसकेका रु फेरि अर्कोतरि उनीहरूलई मार्क्सवादले निर्दिष्ट गरेका नैतिकता जेल जस्तो लाग्छ।

    यसैले उनीहरू स्वतन्त्रताको कुरा उठाउँछन्। कम्युनिष्टहरू साझा स्वमित्वका पक्षपाती हुन् र यिनीहरूले छाडा यौन सम्बन्धको विस्तार गर्छन् भनी लगाएको भ्रामक आरोप चिर्न मार्क्सवादीहरू सफल भए र जनताले यो कुरा बुझ्न थाले भने आफू छाडा भएर हिँड्न नपाउने अवस्था सिर्जना हुन थालेको महशुस गरेपछि उनीहरूले उठाउने गरेको स्वतन्त्रता यौनमा मात्र सीमित छ।

    उनीहरू छाडा भएर खुल्ला रुपले पशुवत् सम्बन्ध कायम गर्न पाउनुपर्ने कुरा गर्छन्। यौन मानव जीवनका लागि अपरिहार्य छ भन्दैमा खाली त्यसैको बढाई चढाई गर्ने र त्यसकै वरिपरि घुम्ने बानीले जीवनमा आनन्द तथा शक्ति भर्नुको सट्टा जीवनबाट नै यी कुराहरूको अपहरण हुन्छ भनी लेनिनले क्लारा जेटकिनसँगको कुराकानीमा बताएका छन्।

    क्रान्तिको समयमा त यो निकै हानिकाराक हुन्छ भन्ने कुरामा उनको जोड रहेको छ-जेटकिन २०६५ः६९०। समाज परिवर्तन र वर्गीय स्वार्थपूर्तिका लागि क्रान्ति चलिरहेको बेलामा संघर्षको पथ छोडेर व्यक्तिहरू यौनमा लिप्त भएर त्यसैमा बरालिन थाले भने क्रान्तिको दिशा कता जाला भन्ने कुरामा लेनिनले चिन्ता लिएको देखिन्छ, माथिको सन्दर्भबाट।

    मार्क्सवादी मान्यताले यौन सम्बन्धका बारेमा प्रष्ट नैतिकताको साँध कोरेको छ। यहाँ जीवनको अपरिहार्य र मानिसको जैविक आवश्यकता भन्दैमा त्यसलाई गलत रुपले प्रयोग गर्ने छुट छैन। जीवनलाई सुरक्षित राख्न भोजन आवश्यक भए जस्तै जीवनलाई प्रवाहमान बनाउन यौनेच्छाको पूर्ति आवश्यक छ।

    यस्तो यौनेच्छाको पूर्ति एकनिष्ठ विवाहको विकसित रुपमा परिणत भएपछि पति, पत्नी, साथी, सहकर्मी, नयाँ जीवनका सर्जक र नयाँ जीवनलाई उत्तरदायित्व सम्पन्न गर्न सक्षम रहेका व्यक्तिहरू बीचको सम्बन्धका रुपमा स्थापित हुनु आवश्क छ -लु सुन ई. १९८४ः२७–२८०।

    मानव जीवन र सामाजिक रुपान्तरण दुबैलाई प्रवाहमय बनाउन र सुन्दर समाजको निर्माण गर्नका लागि सभ्य र स्वस्थ यौनेच्छा आवश्यक हुन्छ। जीवनको अवाश्यकता हो भन्दैमा यसलाई रोजगारीको विषय बनाउनु किमार्थ राम्रो होइन -सांस्कृतायन, ई १९८२ः२००। यसो गर्नु त समाजलाई दुर्गन्धित फोहोरी बनाउनु मात्र हो। सृष्टिको सनातनदेखि चल्दै आएको र अझै पनि निरन्तर रुपले नै चलिरहने यौन सम्बन्ध समाजमुखी बनाएर समाजको उपयोगी अंगका रुपमा त्यसलाई प्रस्तुत गर्न चाहने मार्क्सवादीहरू यसप्रति उदासीन हुन सक्दैनन्।
    उनीहरू त यौन सम्बन्धलाई एकनिष्ठ दाम्पत्यका रुपमा विकसित गराउन चाहन्छन्। यौन सम्बन्ध उद्देश्यहीन र वासनापूर्तिका लागि मात्र हुनु हुँदैन भन्ने प्रगतिवादी मागअनुसार बुर्जुवाहरूको वासनापूर्ति मात्र मानिने यौन सम्बन्ध प्रगतिवादी चिन्तनधारामा प्रतिबद्ध रहनेहरूलाई फोहोरी लाग्छ।

    यौन सम्बन्धका बारेमा मार्क्सवादी नैतिकताको बारेमा जानकारी लिँदा सचेत हुनुपर्ने अर्को कुरा के पनि छ भने बीसौँ शताब्दीको तेस्रो दशकको आरम्भमा सोभियत संघमा तथाकथित यौन क्रान्तिकारीहरूले ‘कम्युनिष्ट समाजमा यौनेच्छाको समन गर्नु र प्रेम आवश्यकताको पूर्ति गर्नु भनेको एक गिलास पानी पिउनु जत्तिकै मामुली कुरा हो’ भनी हल्ला पिटेका थिए।

    यस भनाईको विरोध लेनिनले पनि गरेको देखिन्छ। उनले क्लारा जेटकिनसँगको वार्ताका सन्दर्भमा भनेका छन्–“म एक ग्लास पानीको सिद्धान्तलाई पूर्णतया गैरमार्क्सवादी ठान्छु। त्यतिमात्र होइन, समाजविरोधी पनि ठान्छु। यौन जीवनमा केवल सहज प्रकृतिमाथि मात्र होइन, सांस्कृतिक विशिष्टताहरू माथि पनि विचार गरिन्छ कि उनीहरू उच्च दर्जाका हुन् कि निम्न दर्जाका हुन्।”

    साच्चै भन्ने हो भने एक गिलास पानीको तर्क विचारहीन छ। तिर्खा लागेपछि पानी पिउनु र तिर्खा मेटाउने सामान्य कुरा मात्र होइन अपरिहार्य आवश्यकता पनि हो। तर तिर्खा लाग्यो भन्दैमा जस्तोसुकै ठाउँका पानी जुनसुकै गिलासमा राखेर पिउन सकिन्छरु फेरि पानीको तिर्खा र यौनको तिर्खा भनेका नितान्त फरक कुरा हुन्।

    पानीको तिर्खा लागेको व्यक्तिले पानी पिउनु वा नपिउनु यो व्यक्तिगत मामिला हो तर यौन सम्बन्ध व्यक्तिगत कुरा होइन। यसमा दुई पक्ष वा व्यक्ति हुनै पर्छ र त्यसँग तेस्रो व्यक्ति(सन्तान) पनि जोडिएको हुन्छ। यौन सम्बन्ध समाजप्रतिको कर्तव्य भावना पनि जोडिएर आएको हुन्छ।

    कात्तिके कुकुर झैँ छाडा भएर हिँड्ने र पशु झैँ प्यास मेट्नका लागि जस्तो पनि पानी पिउने यौन सम्बन्ध सामाजवादी समाजमा स्वीकार्य छैन। यौन सम्बन्धी सवालमा कमजोरी वा शिथिलता प्रकट हुनु पूँजीवादी कुरो हो, यो पतनको कारक वा संकेत हो भन्ने कुरामा लेनिनको जोड रहेको देखिन्छ ९चापागाईं, २०६४ः१८००। त्यसकारण यौनको तृप्तिलाई तिर्खाको पानीसँग तुलना गर्नु अत्यन्त नाजायज मात्र होइन, यो त कुतर्क हो।

    सामाजिक परिवर्तनका लागि अघि बढ्न वा वर्ग संघर्षको गतिलाई अगाडि बढाउनका लागि युवा समुदायको महत्वपूर्ण भूमिका हुन्छ। ठिक यसै समयमा यौनेच्छा पनि स्वभाविक रुपले तीव्र हुने गर्छ। यति बेला उनीहरूलाई सही ढंगले यौनका बारेमा बुझाउँदै त्यसको नैतिकताको पाठ सिकाउन र क्रान्तिमा समेल गराउन अवाशयक हुन्छ।

    यसै कुरालाई ध्यानमा राखेर लेनिनले जेटकिनसँगको वार्तामा यौन सम्बन्ध र यौन जीवनका बारेमा विमर्श गर्दा युवा वर्गलाई केन्द्रमा राखेका छन्। यसरी मार्क्सवादका प्रवर्तक, त्यसका व्याख्याताहरू र पक्षपातीहरूले प्रस्तुत गरेका विचारका आधारमा यौन सम्बन्धका बारेमा प्रगतिवादी नैतिकता प्रस्ट हुन्छ। परापूर्व कालदेखि चल्दै आएको र भोलि पनि चलि रहने यौन सम्बन्ध एकनिष्ठ विवाहका माध्यमले कायम हुन आवश्यक छ र त्यसमा असल सन्तान जन्माउने विकसित प्रेमको स्पष्ट संकेत देखिनुपर्छ। यो सम्बन्धले पति पत्नीका बीचमा पवित्र सम्बन्धलाई केन्द्रभागमा राख्नुपर्छ।

    प्रगतिवादी मान्यतामा पूँजीवादीहरूको स्वतन्त्रताका नाममा उठाउने छाडावादी, अनियन्त्रित, नैतिकहीन, पतन र पलायनमुखी यौन सम्बन्धको कुनैपनि स्थान छैन। पूँजीवादी वा बुर्जुवाहरूले मार्क्सवादीहरूमाथि यौन सम्बन्धका बारेमा लगाउने कुनै पनि आरोप वा फैलाउने भ्रमको धरातल नै छैन भन्ने कुरामा मार्क्सवादका पक्षापाती, हिमायती, यसका सामर्थक, शुभचिन्तक मात्र नभएर आम जनता नै यस बारेमा प्रस्ट हुन आवश्यक छ। यसबाट नै उत्पीडित, शोषित, दमित र थिचिएको वर्गको उत्थानमा समतामूलक वैज्ञानिक साम्यवादी समाज निर्माणको यात्रा र क्रान्तिको पथ सशक्त हुन्छ र सुन्दर समाजको निर्माण हुने छ।

    साहित्यमा यौनः प्रगतिवादी साहित्यिक मान्यता
    यौनको बारेमा विमर्श गर्दा त्यसको उपयोगिता, प्रस्तुतिको शैली र माध्यमका बारेमा छलफल गर्नु आवश्यक हुन्छ। माथि यौन सम्बन्धको पूर्वीय र पाश्चात्य सन्दर्भको चर्चा गर्ने क्रममा नै साहित्यामा यौनको प्रस्तुतिको संकेत गरिएको छ। यौन जीवनको अपरिहार्य विषय हो र विश्वका कतिपय प्रसिद्ध साहित्यकारहरूले धेरै पहिलेदेखि आजसम्म पनि नारी र पुरुषका बीच अन्तरंग यौन साहचर्यको विषयलाई आफ्ना कृतिहरूमा प्रस्तुत गरिरहेका छन्। कला साहित्य पनि समाज रुपान्तरणका महत्वपूर्ण हतियार हुन भन्ने कुरामा विश्वास राख्ने प्रगतिवादीहरूले यसको अन्तरवस्तुमा के कुरालाई कति स्थान दिने भन्ने बारेमा पनि प्रस्ट हुन आवश्यक छ।

    कला साहित्य कहिल्यै पनि सत्ता र राजनीतिबाट पृथक रहन सक्दैन। यसले सत्ताका विशेषता, प्रवृत्ति र आचरणलाई यो वा त्यो रुपले प्रस्तुत गरिरहेको हुन्छ र यो पनि वर्गीय नै हुन्छ। नेपाली साहित्यका सन्दर्भमा नै हेर्ने हो भने पनि सामन्तकालीन श्रृंगारवादी कवि कलाकारहरूले उच्च वर्गको आकांक्षा अनुरुप विलासी, कामुक र यौन स्वेच्छाचारी प्रवृत्तिलाई चित्रण गर्न साहित्य–कलामा अश्लीलतालाई प्रश्रय दिएका थिए -चापागाईं, २०६३ः१७४०।

    यस खालको प्रवृत्तिलाई आजको समयमा अझ बढी बढाइ–चढाइका साथ प्रस्तुत गर्ने र यसलाई एक अनिवार्य आवशयकताका रुपमा प्रस्तुत गर्ने प्रवृत्ति पनि निकै हावी भएको छ। साहित्यमा छाडा यौनको माग गर्नेहरूले विभिन्न कुतर्कहरू अगाडि सारी यसलाई पंगु बनाउने र समाज विकास तथा परिवर्तनका दिशामा अफिम बनाउने कोशिस पनि गरिरहेका छन्।

    आज विभिन्न सञ्चार माध्यमका समाचारहरूमा अश्लील यौन भएको सन्दर्भले प्रमुख स्थान लिने गरेको हामी देख्न, पढ्न र सुन्न सक्छौँ। यस्तो गर्नमा उनीहरूको के उद्देश्य रहेको छ भन्ने कुरामा मार्क्सवाद साहित्यका पक्षपातीहरू प्रस्ट हुन आवश्यक छ। उनीहरू साहित्यामा यौनको नग्न चित्रण गरिएको सन्दर्भलाई यौन सन्तुष्टिको माध्यम र यौन परिकल्पनाहरू पढेर यौन सन्तुष्टि लिन सकिने तर्क गर्छन् र साहित्यलाई भद्दा यौन चित्रणको क्षेत्र बनाउन चाहन्छन्। यसमा उनीहरूको प्रस्ट उद्देश्य रहेको छ।

    साहित्यलाई राजनीतिबाट पृथक बनाउने, सौन्दर्यपूर्ण बनाउने र मात्र मनोरञ्जनको माध्यम बनाउने नाममा उनीहरू संघर्ष गर्ने मानिसको नैसर्गिक अधिकारलाई कुण्ठित गर्न चाहन्छन्। यौन साहित्यका पक्षपातीहरू यौन अृतप्तिको समन गर्ने र यौन असन्तुष्टिलाई मेटाउनका लागि साहित्यमा यौन चित्रण हुन आवश्यक रहेको तर्क अगाडि सार्छन्। तर यौन अतृप्ति वा असन्तुष्टिको परिहार साहित्यको पठनबाट हुनै सक्दैन। यो त जैविक कुरा हो र यसको परिहार स्त्रीपुरुषको पवित्र शारीरिक संसर्गबाट मात्र पूर्ण हुन्छ।

    त्यसैले जैविक आवश्यकताको पूर्ति त्यस किसिमको साहित्य पढेर वा त्यस प्रकृतिका सामाग्रीहरू हेरेर हुन्छ भन्ने तर्क नै अवैज्ञानिक छ-चापागाईं, २०६३ः१८२०। यसले मानिसलाई भाँड्ने र उसमा मानसिक विकार थप्ने कार्य मात्र गर्छ। सामूहिक जिम्मेवारीलाई सोचेर छाडावादीहरूको जंगली प्रेमका विरुद्ध विकसित प्रेमको माग गर्ने कुरा विश्वका कला, साहित्य र संस्कृतिमा धेरै पहिले देखि नै फैलन थालेको कुरा एंगेल्स् र लेनिनले प्रस्तुत गरेका छन् -गोरला, २०४७ः९०।

    आज संसारमा अन्धकार छ तर भोलिको उज्यालो संसारलाई देखेर परिवर्तनका लागि संघर्ष गर्ने मार्क्सवादहरूले आफ्नो सपना अवश्य साकार हुन्छ भन्ने मान्यताका साथ नैतिक र चरित्रवान् भई त्यसै अनुसारको समाज निर्माण गर्नका लागि हरेक कुरामा ख्याल राख्नु आवश्यक छ।तसर्थ प्रगतिवादी मान्यतामा प्रतिबद्ध रहेर साहित्यको सिर्जना गर्दा पनि यसका आधारभूत नैतिक मान्यताहरूबाट कुनै पनि हालतमा विचलित हुन हुँदैन र त्यसका माध्यमबाट आम जनता र समाजलाई नैतिकवान् बनाउन सहयोग पुर्‍याउनै पर्छ।

    विश्वमा पूँजीवादले टाउको उठाउन थालेपछि हरेक कुरा आर्थिक उत्पादनसँग जोडिएका हुन्। यसै सिलसिलामा साहित्यलाई पनि आर्थिक उन्नतिको माध्यम बनाउने प्रवृत्ति हावी भयो। साहित्यलाई बजारमा बिकाउनका लागि यौन चित्रण अत्यन्त सुनियोजित रुपबाट, उद्देश्यपूर्ण तरिकाले गर्न थालिएको छ।

    साहित्यमा यौन चित्रणलाई अप्राकृतिक रुपले प्रयोग गर्ने र समाज परिवर्तन गर्नुपर्ने दायित्व भएको उमेर समूहलाई भुत्ते बनाएर बराल्नका लागि पनि पूँजीवादीहरूले निकै बल खर्च गरिरहेको देखिन्छ। आम जनताको सांस्कृतिक नैतिक बललाई कमजोर बनाउनका साथै साहित्य बेचेर गलत रुपले पूँजी आर्जन गर्ने पूँजीवादी मानसिकताले यौन चित्रणमा विकृत रुप देखा परेको छ। साहित्यलाई नाफा आर्जनको रुपमा परिणत गर्नमा पनि पाश्चात्यहरू कै ठूलो भूमिका रहेको छ र त्यसको केन्द्रमा साम्राज्यवाद।

    यसको प्रभाव आज विश्वभर संक्रामक रोग बनेर फैलँदो छ। नेपाली साहित्यका सन्दर्भमा नै कुरा गर्ने हो भने वीपी कोइराला, पुस्कर लोहनी, पोषण पाण्डे, पेमा शाहगण साहित्यिकारहरू यौनको विकृत चित्रणमा केन्द्रित रहेका छन्। यस्तो प्रवृत्ति भएका लेखक साहित्यकारहरू यौन र साहित्य दुबैलाई जबरजस्त सौन्दर्यका रुपमा प्रस्तुत गर्दै त्यसको अन्तरवस्तुको कुनै वास्ता नगरी सामाजलाई भुत्ते बनाउने आम जनतालाई बथान बनाएर भेडा बाख्राझैं यौन विकृततिर धकेल्ने मागमा अग्रसर रहेका छन्।

    उनीहरू विभिन्न बाहानामा समाजका नैतिक बाँधहरू भत्काउनका साथै मानिसलाई भड्काएर संघर्षको मार्गमा लाग्नबाट रोक्ने केशिस गरिरहेका छन्। यसका साथै नेपाली साहित्यमा प्रगतिवादी भनाउँदाहरूले पनि यौनलाई गलत रुपले चित्रण गर्ने गरेको सन्दर्भ विशेष स्मरणीय छ। साहित्य समाज र जीवनको प्रतिलिपि यथार्थ मात्र होइन यसको पुनः सिर्जन पनि हो भन्ने मान्यता प्रगतिवादी साहित्यिक मान्यतामा राखिन्छ।

    यसमा साहित्यका माध्यमबाट नै जीवन र जगत्को पुनः सिर्जनको गतिलो प्रयास गरिन्छ। यौनपनि जीवनको एउटा यथार्थ र अनिवार्य चीज भएकोले जीवनको चित्रणसँगै यसको पनि चित्रण हुनसक्छ, साहित्यमा। तर सुन्दर समाज र जीवनको निर्माण गर्न चाहने प्रगतिवादीहरूले साहित्यमा यौनको चित्रण गर्दा सामन्तवादी पूँजीवादी सामाजिक सांस्कृतिक मान्यताले निर्माण गरेका गलत, फोहरी र दुर्गन्धित सन्दर्भहरूको पुनः सिर्जन गरी त्यसलाई सुन्दर बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ।

    श्लीलता र अश्लीलताः सन्दर्भ मार्क्सवाद दृष्टिकोण र यौन
    प्रगतिवादी दृष्टिकोणमा यौन र यौन सम्बन्धका बारेमा चर्चा गर्दा श्लीलता र अश्लीलताका बारेमा यसको ंमान्यता के हो भन्ने विषयमा पनि प्रस्ट हुन आवश्यक छ। श्लीलता र अश्लीलता दुबै सन्दर्भहरू अपरिभाष्य जस्ता देखिन्छन् र यी दुबै युग, परिवेश र समुदाय सापेक्ष पनि हुन्छन्। नेपाली बृहत शब्दकोशले श्लीललाई–‘लाजभाँड नभएको, शिष्ट, समाजको कल्याण गर्ने’ भनेर चिनाएको छ भने अश्लीललाई यसैको विपरीतार्थी शब्दका रुपमा चिनाएको छ। श्लील र अश्लील यी दुबै विशेषणमा ‘ता’ जोडिए श्लीललताले श्लीलपन र अश्लीललताले अश्लीलपनलाई बुझाउँछन्।

    शब्दकोशले दिएको यही कोशीय अर्थमा टेकेर हेर्दा श्लीललताभित्र समाजिक, वर्गीय र सांस्कृतिक मान्यता अनुकूल समाजको हित गर्ने कुरा पर्छन् भने अश्लीललताभित्र समाजका लागि अपाच्य, भद्दा र विकृत सबै विषय समेटिन्छन्। आज भोलि हाम्रो समाजमा श्लीलता र अश्लीलितालाई यौन सम्बन्ध वा यौन क्रिया र त्यससँग सम्बन्धित कुरामा सीमित गरेर बुझाउने सन्दर्भ बढी प्रचलित भएको छ।

    यो सीमित अर्थका सन्दर्भबाट मात्र हो। तर श्लीलता र अश्लीललता यौनसँगमात्र सीमित भएर जीवन र जगत्का यावत पक्षमा हुने कुरा हुन् भन्ने अर्थ चाहिँ व्यापक अर्थ हो। मार्क्सवादविश्वदृष्टिका विपक्षमा रहने हरेक सन्दर्भहरू अश्लील हुन् भने वर्ग संघर्षलाई सहयोग पुग्ने कुराहरू श्लीलताभित्र पर्छन्। यस आलेखमा पनि यी पक्षका बारेमा विमर्श गर्दा यौनसँग नै बढी सम्बन्धित रहिआएको छ।

    नेपाली साहित्यका सन्दर्भमा नै कुरा गर्दा पनि यसको मध्यमिककालीन अवस्थासम्म यौन र यौनसम्बन्धी कुराहरू कला र साहित्यमा मात्र सीमित थिए। तर आजको अवस्थामा यो कला साहित्यको विषयमात्र नबनेर अन्य पक्षसँग पनि सम्बन्धित बनेको छ। विशेषतः साम्राज्यवादी पूँजीवादीहरूले यौनसँग सम्बन्धित कुराहरूलाई बढी भद्दा रुपले प्रचार गरी यसलाई बजारमा नाफा आर्जनको एक महत्वपूर्ण विषयका रुपमा प्रस्तुत गर्ने र मानिसलाई अल्मल्याएर अधिकार प्राप्तिको आन्दोलनमा सहभागी हुनबाट रोक्ने हतकण्डाका रुपमा प्रयोग गर्ने गरेको पाइन्छ।

    यस सम्बन्धमा प्रगतिवादी सौन्दर्य चिन्तक ऋिषिराज बराज भन्छन्–“परको कुरा छाडेर नेपालको कुरा मात्र लिँदा पनि यहाँका अग्ला घरहरूमाथि उभिएका डिस्क एन्टिना, सिटी केवल, स्पेस टाइम, सांग्रिला च्यानल, स्टार च्यानलहरूका ताराहरू देख्दछौँ र एफ.एम. रेडियो आदिका चर्का स्वरहरू हामी सुन्ने गर्छौ। तिनबाट प्रस्तुत हुने नाङगा तस्वीर, कामुक दृश्य, अश्लील प्रस्तुति, सम्मोहनपूर्ण घटना र कार्यव्यपार, कौतुकमयता, रहस्यात्मकता, कुरुप र भद्दा चिन्तन, सूचना भ्रम, विज्ञापन आतङकको चर्को स्वर एउटा क्रमबद्ध श्रृङखला यस्ता माध्यमबाट हामी समक्ष प्रस्तुत हुने गर्छन्।केटाकेटीहरू स्कुलका पुस्तकहरू छाडी मिकी माउस र डिज्नीलैण्डका कमिक्स र कार्टुनमा रमाउँछन् र स्वप्न संसारमा हराउँछन्। पाश्चात्य जनविरोधी सञ्चारमाध्यमहरू साम्राज्यवादी र विस्तारवादी मुलुकहरूलाई अन्नदाता, उत्पीडित राष्ट्रका हितैषी, मानवअधिकारका हिमायती, मुक्तिदाता आदिका रुपमा प्रस्तुत गर्छन् र ठीक यसका विपरीत यसको विरोध गर्ने खास गरेर कम्युनिष्ट आन्दोलन, मुक्ति–संघर्ष र यसलाई नेतृत्व गर्ने नायकहरूलाई भद्दा र विकृत किसिमले प्रस्तुत गर्दै उनीहरूलाई आतंकवादीको संज्ञा दिने गर्दछन्।”

    उल्लिखित कथनले साम्राज्यवादीहरूले मार्क्सवाद आन्दोलनलाई दबाउनका लागि गर्ने कोशिसलाई प्रस्तुत गरेको छ। त्यसमा सूचना तथा सञ्चारका माध्यमको भूमिकाको सन्दर्भ पनि यसबाट प्रस्ट भएको छ। समाजाई विकृत र मानिसहरूलाई अश्लीललताका पछि अन्धो बनाएर कुदाउनमा साम्राज्यवाद सँगसँगै पूँजीवादी चिन्तनको पनि ठूलो हात रहेको छ।

    पूँजीवादीहरूले कला र साहित्यलाई पूँजी आर्जनको गतिलो माध्यम बनाउन थालेपछि यसलाई बजारको बिकाउ माल बनाउनका लागि यौनसँग सम्बन्धित कुराहरूलाई विकृत रुपले प्रचार प्रसार गराउने र कला साहित्यमा त्यसको अनुचित प्रयोग गर्ने प्रवृत्ति निकै बढेको पाइन्छ। यसका साथै वर्तमान समयमा अश्लीलीकरणको अर्को माध्यम भनेको गीत–संगीत, नृत्य, फेसन, सुन्दरी प्रतियोगिता आदि बनेका छन्।

    यी सबैका माध्यमबाट पूँजीवादीहरूले एकातिर नाफा आर्जन गरिरहेका छन् भने अर्कोतिर कम्युनिष्ट आन्दोलनलाई तितरवितर पार्ने प्रयास गरिरहेका छन्। उनीहरूको यस्तो गतिविधिले सबैभन्दा बढी प्रभाव किशोर किशोरी र युवा युवतीमा परेको छ। अश्लीलता सामाजिक दायित्वबोधलाई भुत्ते बनाउने र सामाजिक परिवर्तनकारी जनताको नैतिक मेरुदण्डलाई नै भाँचिदिने साम्राज्यवादको घातक र विनाशकारी साधन हो भन्ने कुरामा मार्क्सवादहरू सचेत हुन र जनतालाई यी कुराहरू सही रुपले बुझायने मार्गमा अग्रसर हुन आवश्यक छ।

    पूँजीवादको मुख्य उद्देश्य भनेको जसरी पनि नाफा आर्जन गर्नु र सम्पूर्ण पूँजीमा आफ्नो स्वामित्व स्थापित गर्नु हो। यसका लागि उनीहरू जे गर्न पनि पछि पर्दैनन्। समाजलाई विकृत बनाउँदै चेतनालाई भुत्ते बनाउने गतिविधिहरूबाट पनि नाफा आर्जनको उद्देश्य नै तयार हुन्छ र यसको नेतृत्व साम्राज्यवादले गरेको छ भन्ने कुरामा कुनै सन्देह छैन। पूँजीवादका सञ्चालकहरूले वर्तमानमा सबैभन्दा बढी आर्जनको विषय बहुराष्ट्रिय कम्पनी र अश्लील कुरालाई बनाएका छन्। उनीहरूले कला साहित्यका अतिरिक्त नारी देहको नग्न अनावरण गरी पूँजी सञ्चय गर्ने गरेका छन्।

    यहाँ भारतीय चिन्तक शम्भुनाथको भनाइ स्मरण योग्य रहेको छ। उनी भन्छन्–“संस्कृति उद्योगका सबै नयाँ रुपहरू स्त्री देह प्रदर्शन, नग्नता र अन्य किसिमका कामुक अभिव्यक्तिहरूको माध्यमबाट एउटै लक्ष्य लिएर अघि बढ्दछन्ः यौन बिम्बहरूद्धारा दर्श स्रोताको मनः शारीरिक परिवर्तन। यिनको लक्ष्य आम जनताको सांस्कृतिक नैतिक मेरुदण्डलाई कमजोर बनाउने हो, आम जनतलाई खञ्चुवा, कामुक र विलासी बनाउनु हो।

    आज अश्लील संकेतले भरिएको कुनैपनि नृत्य वा संगीतले हामीलाई भिन्न भिन्न भावहरूमा पुर्‍याउँदैन बरु त्यसले हामीलाई बथान बनाएर भेडा बाख्रा सरह एउटै दिशामा धकेल्छ। यो मानव सोंच, कल्पना र परिवर्तनकारी चेतनालाई घटाउने काम हो, यो मानव उत्थानका निम्ति हानिकारका छ।”

    आजको युगमा भएको विज्ञान तथा प्रविधिको विकासलाई पूँजीवादीहरूले गलत रुपले प्रयोग गरिरहेका छन्। यसलाई पनि उनीहरू पूँजी आर्जन र उत्पीडित राष्ट्र, समुदाय तथा जनतामा आफ्नो प्रभुत्व कायम गर्ने हतियारका रुपमा नै प्रयोग गर्ने गर्छन्। मानिसलाई सचेत भएर आफ्नो हक अधिकार र उत्पीडनका विरुद्ध संघर्ष गर्नबाट रोक्नका लागि उनीहरू विभिन्न कसरत गरिरहन्छन्।

    यसैको प्रतिफल हो सञ्चार माध्यम, गीत संगीत, नृत्य आदि विभिन्न माध्यमबाट नारी देहको नग्नतापूर्ण अनावरण गर्ने, कामुक गतिविधिहरूलाई स्थान दिने र युवा मन मस्तिष्कलाई भुत्ते बनाएर बराल्ने कार्य पनि। यस्ता गतिविधिहरूको सञ्चालनबाट साम्राज्यवादीहरूले गलत ढङगले फाइदा उठाइरहेका छन्। यसर्थ अश्लील र नग्न गतिविधिका विरुद्धमा आवज उठाउनु भनेको साम्राज्यवादको नै विरोध गर्नु हो भन्ने मत मार्क्सवाद सौन्दर्यशास्त्री निनु चापागाईंको रहेको छ। यसबाट नै उत्पीडित राष्ट्रहरूलाई साम्राज्यवादी सांस्कृतिक बजारीकरणबाट मुक्त बनाउन सकिन्छ।

    यौनमा मात्र सीमित रहेर श्लीललता र अश्लीलतालाई अथ्र्याउने हो भने पनि यौनलाई जीवनको एक अपरिहार्य आवश्यकताका रुपमा प्रस्तुत गर्दै स्वास्थ, भव्य र सभ्य रुपले त्यसका बारेमा गरिएको विमर्श, चिन्तन वा प्रस्तुति श्लीललता हो भने यसलाई विकृत र भद्दा रुपले प्रस्तुत गर्ने, यसप्रति स्वभाविक रुपले उत्सुक समुदायलाई भड्काउने र उनीहरूलाई विकृतितर्फ प्रवृक्त गराउने क्रियालाई अश्लीललता भन्न सकिन्छ।

    श्लीललता वा अश्लीलता यी दुबै कुरा आशय र उद्देश्यमा केन्द्रित हुन्छन्। कुन कुराको चित्रण वा प्रस्तुति कस्तो आशय र के उद्देश्यका लागि भएको हो भन्ने कुराबाट नै त्यसको श्लील र अश्लीलपनको मापन गर्न सकिन्छ।

    गरिबीका कारण यौनाङग छोप्नेसम्मको हैसियत नभएकी महिलाको गुप्ताङग देखिनु कदापि अश्लील हुन सक्दैन तर सिर्जनाका कुनै पनि विधा मार्फत भावकमा यौनोत्तेजना जगाउने नियतले यौनजन्य गतिविधिलाई प्रस्तुत गरियो भने अवश्य पनि अश्लील हो। अनि फेरि कुनै पनि कुरा श्लील र अश्लील बनाउनमा देशकाल र परिस्थितिले पनि भूमिका खेलेको हुन्छ।

    हिजो अश्लील लाग्ने कुराहरू आज श्लील बनेर समाजमा सहज रुपले त्यसको वृत्ति हुन सक्छ। पूर्व र पश्चिम, उत्तर र दक्षिण, गाउँ र सहजजस्ता स्थानगत सन्दर्भले पनि यसमा प्रभाव पारेको हुन्छ। यी कुराहरूले मानिसलाई ज्ञान र शक्तिसँग सम्मुख वा विमुख गराउने गर्छन् र अवसरसँग जोड्ने र त्यसबाट छुटाउने गर्छन् अनि यिनै सन्दर्भहरूबाट निर्मित चेतनाको स्तरले पनि यसमा फरक पर्छ भन्ने निष्कर्ष निस्कन्छ। कुरा जेसुकै भए पनि श्लील होस् वा अश्लील यसलाई समाज र वर्गबाट पृथक गरेर हेर्न र अथ्र्याउन मिल्दैन।

    समाजमा, परिवारमा सबैसँग साथ नै बसेर हेर्न, सुन्न र पढ्न सकिने र त्यसले वर्ग संघर्षमा कुनैपनि नकरात्मक प्रभाव नपार्ने कुराहरू श्लील हुन् भन्ने त्यस विपरीतका कुराहरू अश्लीलमा पर्छन्। मार्क्सवादहरूले समाजमा हुने हरेक क्रियाका आशय र उद्देश्यको बोध गरी त्यसतर्फ आम जनतालाई सचेत र सजग गराउन आवश्यक छ र स्वभाविक रुपले त्यस सम्बन्धमा दीक्षित गराउन र मार्क्सवाद नैतिकताको पाठ सिकाउन पनि पछि पर्नु हुँदैन।

    समापन
    यौन सम्बन्ध मानव जीवनको एक अपरिहार्य आवश्यकता हो। यसको पूर्ति बिना मानिस पूर्ण रुपले स्वस्थ बन्न सक्दैन। तर यौनको दुरुपयोगले पनि मानिसलाई विकृत बनाउने गर्छ। पूर्वीय तथा पाश्चात्य दुबै समाजमा यौनका बारेमा चिन्तन गर्ने र त्यसको विमर्श गर्ने कार्य धेरै अघिदेखि भएको पाइन्छ। यी दुबै क्षेत्रका कला साहित्यमा पनि यौनलाई यो वा त्यो रुपमा चित्रण गर्ने गरेको सन्दर्भ स्मरणीय छ।
    ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी सिद्धान्तका आधारमा समाजको व्याख्या र विश्लेषण गर्ने तथा समाजमा हुने हरेक प्रकारका असमानताहरूको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि वर्ग संघर्षको अभियान सञ्चालन गर्ने कम्युनिष्टमहरूमाथि सामन्तवादी तथा पूँजीवादीहरूले विभिन्न प्रकारका आरोप लगाउने गरेको कुरा छर्लङग छ। मार्क्सवादकै साहित्यिक रुप प्रगतिवादमाथिको प्रहारका लागि बुर्जुवाहरूले लगाउने आरोपहरू मध्येको उल्लेखनीय आरोप यौन पनि हो।

    उनीहरूले यौनका माध्यमबाट प्रगतिवादीहरूलाई प्रहार गर्नका लागि विभिन्न आरोप लगाउने गरेको सन्दर्भ एकातिर छ भने प्रगतिवादी भनाउँदाहरू पनि यस विषयमा प्रस्ट हुन नसकेको अवस्था अर्कोतरि छ। मार्क्सवादमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै र यौनका सम्बन्धमा प्रगतिवादी नैतिकताका बारेमा मार्क्स, एंगेल्स्, लेनिन लगायतले प्रस्ट धारणाहरू अगाडि सारेका छन्।

    मार्क्सवाद मान्यतामा यौन सम्बन्ध एकनिष्ट विवाहका माध्यमले कायम हुन्छ र यसलाई वर्गीय स्वार्थपूर्तिका लागि भएको क्रान्तिमा असर नपर्ने गरी असल सन्तान जन्माउने क्रियाका रुपमा प्रयोग गर्नुपर्छ भन्ने हो। यसमा पनि र पत्नीबीचमा पवित्र सम्बन्ध हुन आवश्यक छ र एकले अर्काको सहअस्तित्व स्वीकार गरिनुपर्छ। यसमा पूँजीवादीहरूले स्वतन्त्रताका नाममा माग गर्ने छाडा र विलासी यौन सम्बन्धको स्थान हुँदैन। यसका साथै पूँजीवादीहरूले हरेक चीजलाई उत्पादनका साधनमा रुपान्तरण गर्ने प्रवृत्ति अनुरुप महिलालाई पनि उपभोग्य वस्तुका रुपमा मात्र प्रयोग गर्ने मान्यताको विरोध हुन्छ, प्रगतिवादी चिन्तन प्रणालीमा।

    आजको युगमा साम्राज्यवादी पूँजीवादीहरूले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सूचना तथा सञ्चारका माध्यमहरूमाथि एकाधिकार कायम गरी त्यसका माध्यमबाट समाज र जनतालाई बराल्ने र भुत्ते बनाउने उद्देश्यका साथ विकृत यौन चित्रणका सामाग्रीहरू प्रचार प्रसार गरिरहेका छन्। यौन जीवनको आवश्यकता हो भन्दैमा त्यसमा छाडावादी स्वतन्त्रता चाहने र मार्क्सवादहरूमाथि भने भ्रामक आरोप लगाउनेहरूले समाजलाई दुर्गन्धित बनाउने कार्य गरेका छन्।

    यसर्थ मार्क्सवादहरूले नैतिकतापूर्ण एकनिष्ट यौन जीवनको पक्षमा वकालत गर्दै पूँजीवादी साम्राज्यवादीहरूको कुनियततर्फ सचेत हुन आम जनतलाई त्यसको चेतना प्रदान गर्न आवश्यक छ। कला कलाका लागि नभएर जीवनका लागि हुनुपर्छ भन्ने मान्यताका पक्षपातीहरूले साहित्यको सिर्जना गर्दा समाजका नैतिक मूल्य र मान्यतालाई पूर्ण रुपले निषेध गरेर जान मिल्दैन।

    फेरि यसो भन्नुको अर्थ समाजमा रहेका जति पनि नैतिक मूल्यका नाममा रहेका विकृतिहरू छन् ती सबैलाई शिरोधार्य गर्नुपर्छ भन्ने होइन। साहित्यमा समाज र जीवनको यथार्थ चित्रण गर्दा होस् वा त्यसको पुनः सिर्जन गर्दा नै किन नहोस् जीवनका जैविक आवश्यकताहरूको चित्रण पनि हुन सक्छ।

    तर यसको चित्रण गर्दा समाज रुपान्तरण, वर्ग संघर्ष र सुन्दर समाज निर्माणको महाअभियानलाई भने कदापि भुल्नु हुँदैन। साहित्यमा यौनको चित्रण गरेर यौन अतृप्ति वा असन्तुष्टि मेटाउन सकिन्छ भन्नु भनेको भोको मानिसलाई अरु कसैले खाना खाँदै गरेको फोटो देखाएर भोक मेटा भन्नु भन्दा बाहेकको अर्को कुनै तर्क होइन। यसर्थ साहित्यमा यौन चित्रण गर्दा वर्गीय नैतिकता र समाजको आवश्यकतालाई भुल्ने कोशिस गर्नु हुँदैन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डी‍. डी‍. अधिकारी

      डी‍. डी‍. अधिकारी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.