Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो मार्क्सवादी दर्शन ?

आदर्शवादले विश्वको गलत र भ्रमपूर्ण व्याख्या गर्दछ र प्रगतिलाई नोक्सान पुर्‍याएर मानव समाजको विनाश गर्छ। आदर्शवादीहरू सदैव प्रगतिका दुश्मन र प्रतिक्रियावादका सेवक हुन्छन्। उदाहरणका निम्ति चट्याङ्ग पर्नुलाई नै लिऊँ। चट्यांग किन पर्छ भन्दा आदर्शवादीहरू ‘यो त देउताले फ्याँकेको बज्र हो’ भन्छन् या ‘यो कुनै बुझ्न नसकिने शक्तिको प्रकोप हो’ भन्छन्। यही भनाइलाई मान्ने हो भने मानिसले बज्रको मारलाई खपेर भगवान भरोसा भन्नु बाहेक अरु केही गर्न सक्ने थिएन।

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ ८, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राजनीति र अर्थशास्त्रसरह नै दर्शनका क्षेत्रमा पनि मार्क्सको देन महान् छ। वास्तवमा यी तिनैवटा अंगको योग नै मार्क्सवाद हो। मार्क्सवादी दर्शन अथवा विश्व दृष्टिकोणलाई द्वन्द्वात्मक भौतिकवाद भन्छन्। मार्क्सवादी दर्शनको अध्ययन गर्नुभन्दा पहिले दर्शनको महत्व र आवश्यकताबारे थाहा पाउनु जरुरी हुन्छ।

    मानिस एउटा चेतनशील, सांसारिक प्राणी हो। मानिसको जीवनमा दुख–दुःखमा आफ्ना वरिपरिका देखिने र नदेखिने थुप्रै चीज र घटनाले प्रभाव पारेको हुन्छ। अतः ती सम्पूर्ण चीजको विषयमा चिन्तन गर्नु र सही बाटो पत्ता लगाउनु मानिसका निम्ति नभई नहुने कुरा हुन्। उदाहरणका निम्ति सुख के हो, संसारभरिका मानिस कसरी सुखी हुन सक्छन् ? यो हरेक मानिसका मनमा सधैंभरि आइरहने प्रश्न हो। तर यसको जवाफ खालखालका हुन सक्छन्। कसैले भगवानको भक्ति गर्नुपर्छ भन्लान्, कसैले परोपकार गर्नुपर्छ भन्लान् तर कैले आफ्नो जस्तो अवस्था छ, त्यसैमा सबैले सन्तोष गर्नुपर्छ भन्लान्। यस्तै यस्ता थरिथरिका जवाफबाट सही जवाफ कसरी पत्ता लगाउने ? यो दार्शनिक प्रश्न हो।

    राम्ररी बाँच्नका निम्ति प्रत्येकले यसको उचित समाधान पाउनै पर्छ। त्यसैगरी मानिसका मनमा अरु थुप्रै प्रश्न आउँछन्। जस्तै – जीवन के हो? मरेपछि मानिस के हुन्छ? आकाशमा देखिने अनगिन्ति तारा र ग्रहहरू के हुन् ? यिनीहरू कसरी बने ? यो विश्वको रचना कसले गर्‍यो? आदि।

    यी प्रश्नको जवाफ दिनु दर्शनको काम हो। झ्वाट्ट हेर्दा यी प्रश्नको व्यक्तिगत जीवनसँग के वास्ता र भन्ने लागे तापनि यी ठट्टाका कुरा होइनन्। आफैं यिनको सही जवाफ भेट्टाउन नसक्ने मानिस ज्योतिषीले ‘आज मर्ने मान्छे सोझैं स्वर्ग पुग्छ’ भनेका भरमा कुरा नबुझी खुरुक्क सुलीमा चढेर ज्यान फाल्ने राजा जस्ता उल्लु हुन्छन्, अनि बाठाबाट मनपरीसँग ठगिन्छन्। जीवन र जगत्सम्बन्धी माथिका प्रश्नको एउटा न एउटा जवाफ दिन हरेकले जानेकै हुन्छ र ती जवाफबाट संसारका वस्तुबारे उसको सोचाइ अर्थात् दृष्टिकोण कस्तो रहेछ, त्यो थाहा पाइन्छ।

    यसप्रकार दर्शन के हो भन्ने कुरा बुझेको भए पनि, नबुझेको भए पनि हामी संसार र यहाँका घटनाको व्याख्या गरिनै रहेका हुन्छौं, चाहे हाम्रो व्याख्या गराइ सही होस् वा गलत। यसकारण हामी त्यसै पनि एउटा न एउटा दर्शनको प्रभावमा परेकै हुन्छौँ। तर मुख्य कुरा छ–सही दर्शनलाई अँगाल्नु अर्थात प्रत्येक वस्तु र घटनालाई सही ढंगबाट हेर्ने र व्याख्या गर्ने ठीक दृष्टिकोणलाई अँगाल्नु। सही दर्शनले मानिसलाई बाटो देखाउँछ। दर्शनले समस्त विश्व, प्रकृति, विचार र विभिन्न घटनाका उत्पत्ति र विकासका आम नियमको ज्ञान दिलाउँछ। सही दर्शन मानिसका निम्ति दोस्रो आँखा हो।

    दर्शनका मुख्य प्रश्न

    हामीले आफ्ना वरिपरिका असंख्य वस्तु र घटनालाई नियालेर हेर्‍यौं भने संसारमा दुई प्रकारका चीज पाउने छौँ। एक किसिमका चीजलाई हाम्रा आँखा, कान, नाक, छाला, जिब्रो आदि पाँच ज्ञानेन्द्रीयले थाहा पाउन सक्छन्। तिनीहरूको नाप, आकार र तौल हुन्छ। जस्तैः हावा, पानी, ढुंगो, किताब इत्यादि। तिनीहरू हामीदेखि बाहिर र स्वतन्त्र छन्। हामी भए पनि, नभएपनि ती रहन्छन्। यस्ता चीजलाई पदार्थ अर्थात भौतिक वस्तु भनिन्छ। दोस्रो प्रकारका चीजलाई हामी देख्न र जोख्न सक्दैनौँ, अनुभव मात्र गर्न सक्छौँ। जस्तै – विचार, भावना, इच्छा इत्यादि। यी हामीदेखि बाहिर र स्वतन्त्र रुपमा रहन सक्दैनन्। यस्ता चीजलाई चेतना भनिन्छ।

    अब यी दुई प्रकारका चीजमा अर्थात पदार्थ र चेतनामा पहिले कुन चाहिँ हो ? पदार्थले चेतनालाई जन्म दिन्छ कि यसको विपरित चेतनाले नै पदार्थलाई जन्माउँछ ? यो दर्शनको सबैभन्दा पहिलो प्रश्न हो। किनभने दर्शनको अरु समस्त समस्याको समाधान यस्तै प्रश्नको उत्तरमा भर परेको हुन्छ।

    यस प्रश्नको उत्तर दिइएअनुसार दार्शनिक दुई भागमा बाँडिएका छन्। पदार्थको उत्पत्ति हुनुभन्दा अघि नै चेतनाको अस्तित्व थियो र चेतना पदार्थको उपज हो र चेतनाले पदार्थको अस्तित्वलाई निर्धारण गर्दैन, बरु यसको उल्टो पदार्थले चेतनालाई निर्धारण गर्दछ भन्नेलाई भौतिकवादी भन्छन्। प्रष्ट छ – यी दुई विचार एकअर्काका पूरै विरोधी छन्। मार्क्सवादी दर्शन भौतिकवादी भएको हुँदा अब हामी दर्शनका यी दुई भागका विचार के के हुन्, यिनमा कुन चाहिँ सही हो भन्नेतर्फ विचार गरौं।

    भौतिकवाद र आदर्शवाद

    हुन त आदर्शवादीहरू पनि थरिथरिका छन्। एक खालकाहरू विश्वको सृष्टि चेतनाले गरेको हो भन्छन्। अर्का खालकाको भनाईअनुसार विश्वको सिर्जना मानवीय चेतनाबाहिरको कुनै ‘निरपेक्ष विचार’, ‘सर्वव्यापी आत्मा’ वा ‘ईश्वर’ले गर्दछ। तर जे भएपनि सबै आदर्शवादीका विचारको निचोड भौतिक जगत्देखि अलग रहेको स्वतन्त्र शक्ति नै समग्र विश्वको रचयिता हो भन्नेमा नै पुग्छ। यसलाई ईश्वर र धर्मबाट अलग गर्न सकिँदैन। लेनिनले ‘आदर्शवाद नै पुरोहितवाद हो’ भन्नुभएको थियो।

    भौतिकवादले हामीलाई के देखाउँछ भने संसार स्वभावले नै भौतिक छ। संसारको रचना र विकासका निम्ति कुनै ईश्वर वा विश्वव्यापी आत्माको खाँचो पर्दैन। पदार्थका अस्तित्वको कुनै आदि अन्त्य छैन। यो अनादिकालदेखि थियो र अनन्तकालसम्म रही रहनेछ। पदार्थभित्रै रहेको गतिका नियमबमोजिम संसारको विकास हुनेछ।

    आदर्शवादीहरू के भन्छन् भने चेतना पदार्थमा भर पर्दैन, पदार्थ नभएपनि रहन सक्छ। यसको उल्टो भौतिकवादीहरूको दावा छ, पदार्थ वस्तुगत तथ्य हो। अनुभव र चिन्तन गर्ने मानिस हो। मानिस नै नभए चिन्तनको कुरै आउने थिएन। भौतिक पदार्थकै विकासको परिणामस्वरुप मानिस बनेको हो भन्ने कुरा विज्ञानले सिद्ध गरिसकेको छ। प्राणीको सृष्टि हुनुभन्दा अघि पनि प्रकृति थियो। तर चेतनाको अस्तित्व कहीँ थिएन। मानिसको चिन्तन गर्ने मस्तिष्क नै स्वयम् भौतिक विकासको उपज हो। यो सुक्ष्म र जटिल भौतिक वस्तुहरूको बनोट भएकाले गर्दा नै बढी चिन्तन गर्न सक्नु र नसक्नु मस्तिष्क स्वस्थ हुनु र नहुनुमा भर पर्दछ।

    मार्क्स भन्नुहुन्छ, ‘जुन संसार भौतिक छ, इन्द्रियबाट थाहा पाउन सकिन्छ र जसमा स्वयम् हामी छौँ, त्यही नै एक मात्र सत्य हो। पदार्थ चेतनाको उपज होइन, तर स्वयम् चेतना नै पदार्थको सबैभन्दा ठूलो उपज हो।’

    आदर्शवादीहरू संसारलाई रहस्यपूर्ण ठान्छन्। उनीहरूको सोचाइअनुसार संसारभरि यस्ता थाहा पाउन नसकिने कुरा छन्, जसको भेद विज्ञानले कहिल्यै पाउन सक्दैन। यस विषयमा भौतिकवादको कस्तो विश्वास छ भने प्रकृति जगतमा मानिसको ज्ञानले पत्ता लगाउन नसक्ने कुनै कुरा छैन। अहिलेसम्म थाहा नपाइएका थुप्रै कुरा पत्ता लाग्दै जानु र विज्ञानले अनेक चमत्कारपूर्ण आविष्कार गर्नु यसका बलिया प्रमाण हुन्।

    आदर्शवादले विश्वको गलत र भ्रमपूर्ण व्याख्या गर्दछ र प्रगतिलाई नोक्सान पुर्‍याएर मानवसमाजको विनाश गर्छ। आदर्शवादीहरू सदैब प्रगतिका दुश्मन र प्रतिक्रियावादका सेवक हुन्छन्। उदाहरणका निम्ति चट्याङ्ग पर्नुलाई नै लिऊँ। चट्यांग किन पर्छ भन्दा आदर्शवादीहरू ‘यो त देउताले फ्याँकेको बज्र हो’ भन्छन् या ‘यो कुनै बुझ्न नसकिने शक्तिको प्रकोप हो’ भन्छन्। यही भनाइलाई मान्ने हो भने मानिसले बज्रको मारलाई खपेर भगवान भरोसा भन्नु बाहेक अरु केही गर्न सक्ने थिएन।

    तर बज्रको भौतिकवादी विश्लेषणले यसका कारण र जोगिने उपायको पत्ता लगाई मानिसको सेवा गरेको छ। आदर्शवादीहरू विश्वको रहस्यबारे थाहा पाइ नसक्नुछ, केही गर्नु पर्दैन, सकिँदैन भनेर ज्ञानको अघि बढ्ने बेगलाई जबरजस्ती बाँधेर रोक्न बल गर्छन्। त्यति मात्र होइन, अहिलेसम्म नौलो खोज गर्ने सबैजसो विचारकहहरूले आदर्शवादको प्रहार खप्नु परेको छ। समाजमा असमानता किन छ, शोषण किन छ ? भन्दा ईश्वरको मर्जी नै यस्तो छ भन्ने आदर्शवादी नै हुन्।

    फेरि ‘शोषण नमेटाई हुँदैन’ भन्दा चुसाहाहरूको मन फर्काएर ‘उनीहरूको चुस्ने बानी हटाउनु पर्छ’ भन्ने पनि यिनै हुन्। पुनर्जन्म, स्वर्ग, नर्क, दान, धर्म आदि सबैको पछाडि समाजका चुसाहलाई सघाउने कुटील आदर्शवादी षड्यन्त्र छ। आदर्शवादीहरू ‘निष्पक्ष’, ‘निःस्वार्थ’ हुने दलहरूदेखि अलग्ग रहने र ‘समन्वय’ गराउने शिक्षा दिन्छन्। तर यसो गर्नुको मतलब चुसिएका गरीबलाई ‘चुस्ने चलन विरुद्ध संघर्ष गर्नु हुँदैन, नगर’ भन्ने शिक्षा दिनु हो।

    यसबाट एउटा कुरा प्रस्ट हुन आउँछ, जसरी चुसिने र चुसाहा दुई वर्ग भएको समाजमा दुवै वर्गको भलो गर्ने एउटै राजनीति हुन सक्तैन, त्यसैगरी निष्पक्ष दर्शन पनि हुन सक्तैन। आदर्शवाद चुसाहा वर्गको दर्शन हो।

    भौतिकवादले हामीलाई आत्मविश्वासको शिक्षा दिन्छ र हाम्रा अगाडि ज्ञान र विज्ञानको असीम भण्डार खोलिदिन्छ। प्रगतिशीलहरूको दर्शन सधैं भौतिकवाद नै रही आएको छ।

    भौतिकवादी पनि थरिथरिका हुन्छन्। कति विचार चाहिँ नाममा भौतिकवादी भएपनि तिनको मुहान भने आदर्शवाद नै हुन्छ। यान्त्रिक भौतिकवाद पनि एउटा यस्तै किसिमको विचार हो। त्यसकारण यस प्रसंगमा, मार्क्सले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको स्थापना गर्नुअघि युरोपमा प्रचलित यान्त्रिक भौतिकवादी विचारबारे संक्षेपमा विचार गरौं।

    यान्त्रिक भौतिकवाद

    १. दर्शनमा यान्त्रिक भौतिकवादी विचार धेरै पुरानो हो तर सत्रौँ र अठारौँ शताब्दीतिर युरोपमा यसको विशेष रुपमा चल्ती भएको थियो। सुन्दा भौतिकवादी विचार भए तापनि यो आदर्शवादको धेरै नजिक छ र यसले पुँजीपतिवर्गको सेवा गर्दछ। पुँजीपति लगायत चुसाहावर्गहरू परिवर्तनदेखि साह्रौ डराउँछन् र त्यसैले परिवर्तन नहुने खालको कुनै न कुनै चीज खोलिरहन्छन्। आफ्ना छेउछाउमा सधैँ भइरहेका परिवर्तनलाई सोझै त कसैले पनि इन्कार गर्न सक्तैनन्। जस्तैः दिन, रात, हिउँद, वर्षा आदि। अब यी परिवर्तन हुने कारण के हुन् त भन्दा आदर्शवादी त्यसको कारण पदार्थदेखि अलग रहेको, स्वतन्त्र र अपरिवर्तनीय शक्तिमा खोज्छन्। यान्त्रवादीहरू परिवर्तनको कारण पदार्थभित्रै रहेको अपरिवर्तनीय तत्वमा खोज्छन्। यसप्रकार यी दुवैको विचार मूलतः परिवर्तनलाई नमान्नु हो।

    यान्त्रिक भौतिकवादीका भनाइअनुसार संसार साना–साना अणु मिलेर बनेको छ। अणुमा परिवर्तन आउँदैन। तिनै अणुहरूको बाहिरी गति र आपसी क्रियाको परिणामस्वरुप हामीले देखिने परिवर्तन भएका हुन्। संसारमा एउटा विशाल यन्त्र हो र अणु यसका सूक्ष्म पूर्जा हुन्। यो धारणा गलत छ। मार्क्सवादी दृष्टिकोणअनुसार संसार तयारी वस्तुको थुप्रो होइन, संसार जटिल प्रक्रियाको परिणम हो। यसलाई विभिन्न पदार्थ अस्तित्वमा आउने र अस्तित्व लोप हुने परिवर्तनका प्रक्रियाले कायम राख्छ। वैज्ञानिक अन्वेषणले विश्वको प्रारम्भिक एकाई परमाणु होइन र अझ इलेक्ट्रन, प्रोटोनसम्म अविभाज्य छैनन् भन्ने प्रमाणित गरिसकेको छ।

    २.यान्त्रिक भौतिकवाद के देखिन आउँछ भने पदार्थ स्वयम् गतिमान छैन। पदार्थको विश्वयन्त्र निरन्तर चलिरहेको छ। त्यसो हो भने यसलाई सुरुमा चलाउन पदार्थदेखि बाहिरको शक्ति चाहिन्छ। त्यो कुनै सर्वोच्च शक्ति ईश्वर नै हुन सक्छ। यसको विपरीत सत्य के हो भने पदार्थलाई गतिबाट अलग्याउन सकिँदैन। ‘गति पदार्थको अस्तित्वको रुप हो।’ यसैगरी समाजको विकास पनि समाजभित्रैको गति (द्वन्द्व, अन्तरविरोध) बाट हुन्छ। तर यन्त्रवादअनुसार यस्तो परिवर्तन ल्याउन समाजमा देखिने स्वार्थ विकारबाट माथि उठेको ठूलो मानिस चाहिन्छ। यो निरर्थकसावित भइसकेका काल्पनिक समाजवादलाई सघाउने विचार हो।

    ३.यन्त्रवादको अर्को धारणा छः बाहिरी शक्तिले गर्दा अणुको स्थान परिवर्तन हुन्छ र अणुमा यस्तो यान्त्रिक गति नै पदार्थमा पाइने गतिको मूल रुप हो। सारा परिवर्तन र घटनालाई यस्तो यान्त्रिक गतिमा घटाउन सकिन्छ। यसरी एक त यस सिद्धान्तले पदार्थमा हुने आन्तरिक परिवर्तन र त्यसबाट हुने खास विकासका निम्ति कुनै ठाउँ राख्दैन र अर्कोचाहिँ यसको भनाइबमोजिम भौतिक गतिमा पाइने विभिन्न खाले प्रक्रियालाई एकै किसिमको यान्त्रिक गतिमा घटाउन असम्भव छ।

    ४.यन्त्रवादले के भन्छ भने विश्वका सम्पूर्ण चीज एकअर्काबाट अलग, पूर्ण स्वतन्त्र एकाई हुन्। तिनीहरूको मिलन संयोगमात्र हो। सम्पूर्ण भनेको यस्ता अलग भागको योग हो। यो सोचाइ सरासर झुटो छ। किनभने कुनैपनि वस्तुको निम्ति अस्तित्वको अवस्था हुनुपर्छ, पूरै शुन्यमा केही रहन सक्तैन। सबै पदार्थहरू एकअर्कासँग सम्बन्धित छन्।

    यसप्रकार यान्त्रिक भौतिकवादको निरर्थकता र भौतिक जगतका घटनाको व्याख्या गर्ने यसको गलत तरिकाको बोध भएपछि अर्को सही र व्यापक भौतिकवादी सिद्धान्तको आवश्यकता पर्दछ। यो द्वन्द्वात्मक भौतिकवाद हो।

    द्वन्द्वात्मक भौतिकवाद

    मार्क्सले आफ्नो समयसम्म चलेका दार्शनिक विचारको गहिरो अध्ययन गरी आदर्शवादविरुद्ध भौतिकवादको स्थापना गर्नुभयो र भौतिक जगत्लाई चिन्ने, व्याख्या गर्ने यन्त्रवादी र अध्यात्मवादी तरिकाविरुद्ध द्वन्द्वात्मक तरिकाको विकास गर्नुभयो। द्वन्द्वात्मक तरिका संसारलाई जान्ने र बुझ्ने वैज्ञानिक हतियारमात्र नभएर विश्वको रुपलाई फेर्ने दह्रो हतियार पनि हो। यसका नियमलाई हरेक घटनामा लागु गर्न सकिन्छ। द्वन्द्ववादी तरिका विश्वका प्रत्येक वस्तु र घटनालाई अरुसँग सम्बन्ध नभएको, स्वतन्त्र, अपरिवर्तनीय र अविकासशील रुपमा अध्ययन गर्ने अध्यात्मवादी तरिकाभन्दा ठीक उल्टो छ।

    अध्यात्मवाद विरुद्ध द्वन्द्ववादका खास विशेषता निम्न छन्ः

    १.विश्वका प्रत्येक वस्तु र घटना परस्परमा सम्बन्धित हुन्छन्। स्टालिन भन्नुहुन्छ, ‘प्रकृति एउटा सुसम्बद्ध र अविच्छिन्न एकाई हो, जसमा वस्तु, घटना प्रवाह एक अर्कोसँग भित्री रुपले सम्बन्धित छन्, एकअर्कामाथि निर्भर छन् र एकअर्काको रुपरेखा निश्चित गर्दछन्।’
    कुनैपनि घटनाको विषयमा अध्ययन गर्दा त्यसका कारण र असर पार्ने याद गरिएन भने त्यस घटनाबारे केही थाहा पाउन सकिन्न। त्यो निर्जीव कथामात्र हुन्छ। पृथ्वीको अति सुक्ष्म कणदेखि लिएर पृथ्वी स्वयम् सौर्यमण्डलसँग गाँसिएको छ र सौर्यमण्डल अरु अझ ठूला समूहसँग जोडिएको हुन्छ।

    २. द्वन्द्ववादको अर्को सिद्धान्त के छ भने प्रकृतिको कुनै पनि क्षेत्रमा स्थिरता, गतिहीनता छैन। यहाँ चीजहरू अस्तित्वमा आउने, हुर्किने, पुरानो हुने र थोत्रिएर विलिन हुने क्रिया निरन्तर छ। एंगेल्स् भन्नुहुन्छ, ‘सम्पूर्ण प्रक्रिया, सबैभन्दा सानोदेखि ठूलोसम्म, बालुवाको एउटा कणदेखि सूर्यसम्म, प्रोटिस्टादेखि मानिससम्म अस्तित्वमा आउने र अस्तित्व लोप हुने निरन्तर प्रवाहमा छन्, गति र परिवर्तनको निरन्तर अवस्थामा छन्।’

    यस सिद्धान्तले हामीलाई विकासको अवधि पुग्नै लागेको मरणशील होइन, बढ्दो, हुर्किदो वस्तुलाई चिन्न सक्नुपर्छ र त्यसलाई जतन गर्नुपर्छ भन्ने शिक्षा दिन्छ। मार्क्सवादीहरू सधैं प्रगतिशील हुनुको कारण उनीहरू पतन हुनै लागिसकेको, सडेको र नास नभई नछाड्ने राजनीतिक, सामाजिक व्यवस्थालाई छाँद हालेर रुँदैनन्, बरु त्यसको गर्भमा जन्मेर बढिरहेको विकासशील व्यवस्थालाई मलजल गर्न र हुर्काउन क्रियाशील हुन्छन्।

    ३. द्वन्द्ववादले परिवर्तन हुन्छ मात्र नभनेर परिवर्तन र विकास कसरी हुन्छ भन्ने समेत बताउँछ। द्वन्द्ववादी सिद्धान्तअनुसार प्रत्येक विकास सुरुमा परिमाणका परिवर्तनका रुपमा हुन्छ। यसरी पदार्थमा भइरहेको परिमाणको परिवर्तन एउटा खास अवस्थामा पुगेपछि पदार्थको गुणमा एकैचोटि परिवर्तन आउँछ। यसरी फेरिएको नयाँ पदार्थमा फेरि परिमाणात्मक परिवर्तनको यस्तो परिवर्तनद्वारा भएको विकास साधारणबाट जटिलतिर, तल्लो स्तरबाट माथिल्लो स्तरतर्फ बढ्छ।

    ४.द्वन्द्ववादको अर्को महत्वपूर्ण सिद्धान्त के हो भने हरेक वस्तु र घटना प्रवाहभित्र सकरात्मक र नकरात्मक दुई पक्ष हुन्छन्। यी दुवै पक्ष परस्पर विरोधी हुन्छन्। यी दुईमध्ये नयाँले पुरानोविरुद्ध संघर्ष गर्छ र बलियो हुन्छ। पुरानो नष्ट हुन्छ। फेरि त्यसमा पनि नयाँ विरोध प्रकट हुन र बढ्न थाल्छ। प्रकृति र समाजमा भएको अहिलेसम्मको सम्पूर्ण विकास पदार्थभित्र रहने परस्पर विरोधी तत्वको संघर्ष, पुरानोको हार र नयाँको जीतकै नतिजा हो। लेनिनका शब्दमा, ‘सही अर्थमा द्वन्द्ववाद वस्तुहरूको मूल तत्वमा रहेका अन्तरविरोधहरूकै अध्ययन हो।’ ‘विकास विरोधी तत्वहरूको संघर्ष हो।’

    परिवर्तन र विकासका मुख्य द्वन्द्ववादी नियम

    संसारमा जे जति घटना घटिरहेका छन् र विकास भइरहेका छन्, यो अव्यवस्थित रुपमा आकस्मिकताबाट भएको होइन। हरेक वस्तु र घटनाको परिवर्तनका खास नियम हुन्छन्। यदि त्यसो नहुँदो हो त संसार उहिल्यै नष्ट भइसक्थ्यो वा यस्तो सिलसिला मिलेको विकासको इतिहास हुने थिएन। नियम भनेको वस्तुको बीचमा आपसी सम्बन्ध हो। ज्ञानविज्ञानको हरेक क्षेत्रमा हुने हरेक क्रियाकलापका आफ्ना विभिष्ट नियम हुन्छन्।

    तर यहाँ हामीले चर्चा गर्ने नियम सर्वव्यापी, आवश्यक र सामान्य नियम हुन्, जसलाई समाज र प्रकृति जगतका हरेक घटनाप्रवाहमा लागु गर्न सकिन्छ। नियमको सम्बन्धमा अर्को बुझ्नुपर्ने कुरा के छ भने नियम वस्तुगत हुन्छन्। यी नियम मार्क्सले बनाएका होइनन्, उहाँले पत्ता लगाएकोसम्म हो।

    मार्क्स जन्मनुभन्दा अघि पनि द्वन्द्ववादका नियमले काम गरिरहेकै थिए। मानिस आफूले चाहेअनुसार प्रकृतिका नियमविरुद्ध चल्न सक्दैन। सामन्त, पुँजीवादी र सबै प्रतिक्रियावादीहरू सामाजिक स्थितिलाई जस्तो छ, त्यस्तै राख्न बल गर्छन् र शोषण व्यवस्थालाई सधैँभरि टिकाउने कोसिस गर्छन्। तर सामाजिक विकास नियमविरुद्ध भएको हुँदा जतिसुकै शक्ति र जुक्ति खर्च गरे पनि उनीहरूको पतन नभई छाड्दैन।

    द्वन्द्ववादका मुख्य नियम

    १.परिमाणबाट गुणमा परिवर्तन हुने नियम

    प्रत्येक पदार्थमा एउटा न एउटा किसिमको गुण हुनु स्वभाविक छ। जस्तैः पानी, चामल, ढुंगा प्रत्येकका आ आफ्ना गुण हुन्छन्। पदार्थमा रहेका गुणमा परिवर्तन आएपछि स्वयम् पदार्थमा पनि परिवर्तन आउँछ। यो देखिरहेकै कुरा हो। पदार्थमा गुण मात्र होइन, परिमाण अर्थात मात्रा पनि हुन्छ। जस्तै – कति चामल ? कत्रो ढुंगो ? आदि प्रश्नका उत्तरले तिनका परिमाणको बोध गराउँछ।

    हामीले एउटा भाँडोमा पानी उमाल्न लाग्यौँ भने पहिला भाँडाको पानी तात्न थाल्छ। बिस्तारै क्रमिक रुपमा ताप बढ्दै जान्छ। पानी तात्दै जान्छ। ५०–६० हुँदै ९९ डिग्री सेन्टिग्रेटसम्म तापमान पुगुन्जेल पानीको गुणमा फरक आउँदैन। पानी पानै रहन्छ। खाली पानीभित्रको तातो मात्रै बढेको हुन्छ। तर पानीको ताप १०० डिग्री सेन्टिग्रेटमा पुग्दानासथ अघिदेखि जम्मा हुँदै आएको तापको परिमाणात्मक वृद्धिले पानीलाई उम्लिने बिन्दुमा पुर्‍याउँछ। यहाँ अचानक पानीमा गुणात्मक परिवर्तन आउँछ अर्थात पानी पानी रहँदैन, वाफ भएर उड्छ।

    समाजमा विकास पनि यस्तै किसिमबाट हुन्छ। पुँजीवादी व्यवस्था भएका समाजमा बिस्तारै–बिस्तारै आउने परिवर्तन र दोस्रो, त्यो क्रिया खास बिन्दुमा पुगेपछि आउने क्रान्तिकारी गुणात्मक परिवर्तन। नौला विकास वा पूर्ण परिवर्तन आउन यी दुवै खुड्किला पार गर्नुपर्छ। वामपक्षी दुस्साहसवादीहरू खाली फड्को (क्रान्ति) लाई मात्र स्वीकार गर्छन् र फड्को आउनुभन्दा अघि पर्याप्त परिमाणत्मक विकास भइसकेको हुनुपर्छ भन्ने कुरालाई वास्ता गर्दैनन्। अवसरवादी र संशोधनवादीहरू क्राीन्तको विरोध गर्छन् र सधैं परिमाणात्मक विकास मात्र भइरहेको होस् भन्ने चाहन्छन्। यी दुवै मार्क्सवाद विरोधी गलत विचार हुन्।

    २.विरोधी तत्वहरूको एकता संघर्ष नियम

    यस नियमअनुसार प्रत्येक पदार्थमा दुई किसिमका तत्व हुन्छन् र ती दुवैको आपसमा संघर्ष भइरहन्छ। यही संघर्षलाई अन्तरविरोध भन्छन्। अन्तरविरोध विकासको आधारभूत नियम हो। माओत्सेतुङले भन्नुभएको छ, ‘वस्तुभित्रको अन्तरविरोध विकासको आधारभूत कारण हो, जब कि अरु चीनसँगको सम्बन्ध तिनीहरूको अन्तरसम्बन्ध र अन्तरक्रिया दोस्रो कारण हो। बाहिरी कारण परिवर्तनका अवस्था हुन् र भित्री कारण परिवर्तनका आधार हुन्। बाहिरी कारणहरू भित्री कारणद्वारा नै क्रियाशील हुन्छन्।’ यस भनाईलाई अझ प्रस्ट पार्न माओत्सेतुङ भन्नुहुन्छ, ‘सुहाउँदो तापमानमा फूल चल्लामा फेरिन्छ, तर उस्तै तापमानको ढुंगालाई चल्लामा फेर्न सकिँदैन, किनभने दुवैको जग (आधार) नै बेग्लाबेग्लै छन्।’

    दुई विरोधी तत्वहरूमध्ये कुनै एउटाको अभावमा पदार्थको अस्तित्व नै रहन सकदैन। त्यस्तो स्थितिमा पदार्थमा गुणात्मक परिवर्तन आउँछ र फेरि नयाँ अन्तरविरोध सुरु भइहाल्छ। स्वयं हाम्रो जीवन नै अन्तरविरोधका भरमा टिकेको छ। निरन्तर पुराना सेल मर्ने र नयाँ सेल बनिने क्रिया चलिरहेको छ।

    यो अन्तरविरोध सकिनासाथ मानिस मर्दछ। समाजमा पनि यस्तै हुन्छ। आदर्शवादीहरू पुँजीवादी समाजमा असल र खराब दुवै किसिमका तत्व हुन्छन् भन्ने कुरा स्वीकार गर्छन् र के भन्छन् भने सम्पूर्ण खराबीलाई हटाएर सुधार्ने हो भने पुँजीवादलाई सधैंका लागि टिकाऊ असल व्यवस्थामा बदल्न सकिन्छ। यो गलत हो। विश्वको अरु हरेक पदार्थ र व्यवस्थासरह नै पुँजीवादी व्यवस्थामा पनि प्रगतिशील र प्रतिक्रियावादी तत्व हुन्छन् र यी दुई तत्वको आपसमा अन्तरविरोध हुन्छ। यस अन्तरविरोधलाई मास्न स्वयम् पुँजीवाद नै नष्ट हुनुपर्छ।

    भौतिक संसारमा गति नभएको कुनै वस्तु छँदैछैन। गति भनेको अन्तरविरोधकै रुप हो। यतिमात्र होइन, अन्तरविरोध प्रत्येक वस्तुका विकास थालनीदेखि अन्त्यसम्म पाइने सामान्य लक्षण हो। तर प्रत्येक वस्तुमा अन्तरविरोधको एउटा विशिष्ट लक्षण हुन्छ। यो पदार्थको सारतत्व हो। यसैले गर्दा नै पदार्थका विभिन्न गुण हुन्छन् र एउटाबाट अर्कोलाई छुट्याउन सकिन्छ। कुनै ठूला घटनाको विकास हुँदै जाँदा थुप्रै अन्तरविरोध उत्पन्न भएका हुन्छन् र खास प्रकारको विशिष्टता भएका अन्तरविरोधलाई खास किसिमबाट मात्र समाधान गर्दा त्यस वस्तुमा पाइने अन्तरविरोधको विशिष्ट स्वरुप र सामान्य स्वरुपसँगको त्यसको सम्बन्धलाई राम्ररी पत्ता लगाउनुपर्छ।

    यति गरिसकेपछि अन्तरविरोधका दुवै विरोधी पक्षमध्ये प्रत्येकको खास अवस्था, शक्ति र दुवैबीचको सम्बन्धलाई केलाउनुपर्छ अनि समग्र अन्तरविरोधको प्रक्रिया कुन अवस्थामा पुगेको छ, त्यो थाहा पाउनुपर्छ। मार्क्सवादी लेनिनवादी द्वन्द्वात्मक सिद्धान्तको विकासमा एउटा अध्याय थप्दै आफ्नो ‘अन्तरविरोधबारे’ भन्ने रचनामा माओत्सेतुङले भन्नुभएको छ, ‘कुनै वस्तुको विकासका प्रक्रियामा रहेका हरेक अवस्थामा पाइने अन्तरविरोधका विशिष्टताको अध्ययन गर्दा, हामीले तिनलाई तिनका आपसका सम्बन्ध तिनका सिंगै स्वरुपमा हेर्ने मात्र होइन कि हरेक अन्तरविरोधका दुवै पक्षलाई पनि खोजेर हेर्ने गर्नुपर्दछ।’

    माओत्सेतुङका अनुसार जटिल वस्तुका विकासको प्रक्रिया एकैचोटि थुप्रैथुप्रै किसिमका अन्तरविरोध जन्मेका हुन्छन्। जस्तै एउटा पुँजीवादी मुलुकमा दशौं किसिमका अन्तरविरोध हुन सक्छन्। ती सबैमध्ये एउटा चाहिँ मुख्य हुन्छ र अरु सबै अन्तरविरोध त्यसैका भरमा हुन्छन्। समाजमा परिवर्तन ल्याउन खोज्ने कुनै पनि क्रान्तिकारी समूहले मुख्य अन्तरविरोध पत्ता लगाउँन सक्नुपर्छ।

    यसो गर्नुको अर्थ समाजका सारा प्रतिक्रियावादी वर्गमध्ये मुख्य कुन चाहिँ हो र त्यसँग सिधैं टक्कर पर्ने परिवर्तन चाहने शक्तिमध्ये पनि सबभन्दा विकासशील वर्ग कुन हो ? त्यो पत्ता लगाउनु हो। पुँजीवादी समाजमा पुँजीपति र सर्वहारावर्गको अन्तरविरोध अरु सबै अन्तरविरोधमध्ये मुख्य हुन्छ। यसरी मुख्य अन्तरविरोध पत्ता लगाउन नसक्ने क्रान्तिकारीले कुन वर्गको अन्त्य गर्न कुन वर्गको नेतृत्व गर्नुपर्ने हो त्यही सुरुकै कुरा बुझ्न सक्दैन र गञ्जागोलमा पर्दछ।

    कुरा मुख्य अन्तरविरोधको पत्ता लगाउनमा मात्र टुंगिदैन त्यस अन्तरविरोधका दुई पक्षमध्ये पनि एउटा मुख्य र एउटा चाहिँ अमुख्य हुन्छ। मुख्य पक्ष भनेको शक्ति भएको र बलियो पक्ष हो। मुख्य पक्ष जस्तो छ, वस्तुको गुण पनि त्यही अनुसारको हुन्छ। एक समयको अमुख्य पक्ष अन्तरविरोधको विकास हुँदै जाँदा मुख्यमा फेरिन्छ। र वस्तुको गुणमा पूर्ण परिवर्तन आउँछ। जस्तैः पुँजीवादी समाजमा सुरु सुरुमा पुँजीपति वर्ग सर्वहारा वर्गसँगको अन्तरविरोधमा मुख्य पक्ष हुन्छ। तर सर्वहाराको शक्ति बढ्दै जान्छ र यसमा मनग्य परिमाणात्मक वृद्धि आइसकेपछि यो मुख्य पक्षमा फेरिन्छ। यसले समाजवादी क्रान्ति (फड्को)द्वारा समाजवादको स्थापना गर्दछ।

    पुँजीपति अमुख्य पक्षमा फेरिन्छ र मासिन्छ। यसैगरी हरेक किसिमका सामाजिक, राजनीतिक व्यवस्था र प्रकृतिजगत्मा अन्तरविरोधद्वारा पूराना मासिदै जान्छन्, नयाँ हुर्किदै जान्छन् र यस्तो क्रिया सदैव चलिरहन्छ। यो द्वन्द्वावादको मुख्य नियम हो।

    ३. निषेधको निषेध

    जुनसुकै पदार्थ र व्यवस्था पनि एक समयमा उत्पन्न हुन्छ, बढ्छ र आखिरमा नष्ट हुन्छ । यस्तो जहाँतहीँ जहिले पनि भइरहन्छ। यसरी नष्ट हुनुलाई निषेध भन्छन्। तर द्वन्द्वात्मक निषेधको अर्थ खाली नष्ट हुनु मात्र होइन। निषेध जति सबै द्वन्द्वात्मक हुन्छन् भन्नु गलत हो। विकासको स्रोतको रुपमा काम गर्ने र सम्पूर्ण सकारात्मक र स्वस्थ पक्षको रक्षा गर्ने निषेध मात्र द्वन्द्वात्मक द्वन्द्वात्मक हुन्छन्। निषेध भएको पदार्थले आफ्नो ठाउँ त्योभन्दा शक्तिशाली र विकासशील वस्तुका निम्ति खाली गरिदिन्छ ।

    आफ्नो यथेष्ट विकास भइसकेपछि स्वयम् यसले पनि नयाँका लागि नष्ट हुनुपर्दछ। यसैलाई निषेधको निषेध भन्छन्। प्रत्येक निषेधमा विकास निम्नस्तरबाट उच्च स्तरतर्फ, साधारणबाट जटिलतर्फ बढ्छ। यस कुरालाई एगेंल्सले एन्टिड्युरिंग नामक पुस्तकमा विषद व्याख्या गरेका छन्, उनले त्यहाँ तलको उदाहरणबाट निषेधको निषेधलाई प्रष्ट पारेका छन्।

    जब किसानले जौं छर्छ । जौंको बीउको निषेध हुन्छ र त्यसको ठाउँमा जौको बोट आउँछ। बीउको निषेध नभएको भए बोट हुन सक्ने थिएन। प्रकृतिको नियमअनुसार बोट बढ्दै, छिप्पिँदै जान्छ। फुल्छ, फल्छ। आखिरमा जौं पाकेपछि विकासको प्रक्रिया खत्तम हुन्छ। जौं थन्क्याइन्छ। बोट मर्छ अर्थात् यसको निषेध हुन्छ। यो निषेधको पनि निषेध भयो। हामीसँग बीउको रुपमा पहिला जौं थियो, अहिले पनि जौं नै छ। फरक के आयो त? हामीलाई यहाँ प्रक्रियाको पुनरावृत्ति भएझै लाग्छ। तर अहिले हामीसँग अघिको तुलनामा जौंको बीउ दशौँगुना बढेर आएको छ। फेरि त्यही विधि दोहोर्‍याउने हो भने हजारौं गुणा बढ्छ। यसरी निषेधको निषेधबाट विकास हुन्छ र त्यो विकास निम्नबाट उच्चस्तरतर्फ जान्छ।

    समाजको विकासमा पनि त्यही कुरा देखिन्छ। सामन्ती व्यवस्था नष्ट भएपछि त्यसको ठाउँ पुँजीवादले लिन्छ, फलस्वरुप समाज एक कदम अगाडि बढ्छ। फेरि कालान्तरमा पुँजीवादी व्यवस्था पुरानो र जर्जर हुन्छ र पुँजीवादको निषेध भई त्यस्को चिहानमा अझ उच्चस्तरको व्यवस्था, समाजवाद आउँछ।

    आफ्नो क्षुद्र स्वार्थलाई जोगाउन निरर्थक प्रयत्न गर्ने समाजका विकासविरोधीहरू मार्क्सवादीलाई ‘ध्वंशप्रेमी’ भनेर बदनाम गर्छन्। तर मार्क्सवादीहरू सबै किसिमका अस्तित्वको विरोध गर्दैनन्। मार्क्सवादीहरू काम नलाग्ने, कुहेर गन्हाउने भइसकेकालाई निषेध गर्न जति सक्रिय हुन्छन्, नयाँ र विकासशीलको स्वागत गर्न र रक्षा गर्न पनि उस्तै सिपालु हुन्छन् । यसबाट कसैको हानी हुन्छ भने तिनै अल्पसंख्यामा रहेका शोषक र प्रतिक्रियावादीकै हुन्छ। समाजवादी मुलुक यसका ज्वलन्त प्रमाण हुन्।

    भरतमोहन अधिकारीले सम्पादन गरेको ‘मार्क्सवादको पहिलो पुस्तक’ को एक अंश। (लेखकहरूः महेश उपाध्याय, नारायणप्रसाद आचार्य, केशव गौतम र कृष्ण पोखरेल)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.