म्यानमारमा गत फेब्रुअरी १ मा त्यहाँको सेनाले ‘कु’ गरेर देशलाई नियन्त्रणमा लिएदेखि त्यहाँका विभिन्न शहरहरूमा ठूलाठूला प्रदर्शनहरू भइरहेका छन् । त्यहाँकी निर्वाचित नेतृ आङ सुकी र उनको पार्टी, नेसनल लिग फर डेमोक्रेसीका सदस्यहरूलाई अहिले सेनाले कैदी बनाएको छ । सेनाले बालबालिकालगायत सैयौँको हत्या गरेको छ ।
कहाँ छ म्यानमार?
बर्माको नामबाट समेत चिनिने यो देश दक्षिण पूर्वी एसियामा पर्छ । यसका छिमेकीहरूमा थाइल्याण्ड, लाओस्, बंगलादेश, चीन र भारत छन् । यसको जनशंख्या पाँच करोड चालिस लाख छ। यहाँका प्राय : मानिसहरू बर्मेली भाषा बोल्छन्। यस देशमा नेपाली भाषीहरू पनि छन् । यहाँको ठूलो शहर याङ्गुन (रङ्गुन) हो तर राजधानी भने ‘नाय् पीय् तव्’ हो । यहाँका मान्छेहरू आफूलाई बौद्धमार्गी ठान्छन्। यस देशमा रोहिङ्या मुसलमानलगायत थुपै आदिवासीहरू समेत छन् । बेलायती उपनिवेशबाट यो देशले सन् १९४८ मा स्वतन्त्रता पाएको हो । सन् १९६२ देखि सन् २०११ सम्म यहाँ सैनिक शासन रह्यो । नागरिक सत्तातर्फ फर्कने क्रममा सन् २०११ मा त्यहाँ नयाँ सरकारको उदय भयो ।
म्यानमारलाई किन बर्मा पनि भनिन्छ ?
सैनिक सत्ताले सन् १९८९ मा पहिले कायम रहेको ‘बर्मा’को सट्टामा देशको नाम ‘म्यानमार’ नाम राख्यो । यी दुबै शब्दको अर्थ एउटै हो तर म्यानमार भन्ने नामचाहिँ बढी औपचारिक हो । सैनिक सत्ताको वैधतालाई अस्विकार गर्ने अर्थमा, प्रारम्भिक चरणमा बेलायतलगायत केही देशले नाम परिवर्तनको विषयलाई अस्विकार गरे । तर धेरैजसो व्यक्ति र देशले अचेल बर्मालाई ‘म्यानमार’कै रूपमा स्विकार्दै गएका छन् ।र, सन् २०१६ मा त्यहाँकी चर्चित प्रजातन्त्रवादी नेतृ सुकीले जुनसुकै नाम प्रयोग गर्दा पनि फरक नपर्ने बताइन् ।
अहिले के भयो र किन?
अहिले पुन : प्रजातान्त्रिक प्रक्रियालाई मिचेर सत्तामा सैनिक नै आएको छ र एक वर्ष लामो संकटकाल घोषणा गरेको छ । सैनिकले आम चुनावलगत्तै देशमाथि नियन्त्रण लिएको थियो, जतिखेर चुनावमार्फत आङसाङ सुकीको नेसनल लिग फर डेमोक्रेसीले व्यापक बहुमत पाएको थियो ।
यता, त्यहाँ सक्रिय सशस्त्र समुहले भने आङ साङ सुकीको विपक्षीहरूलाई समर्थन गरेका थिए । र, सुकीका विपक्षीहरू भने चुनावमा व्यापक धाँदली भएको भन्दै भोटिङ प्रक्रिया दोहोरिनु पर्ने माग गरिराखेका थिए । निर्वाचन आयोगले भने त्यस्ता दावीहरूलाई पुष्टि गर्ने आधार नभएको बताएको थियो । अनि, संसदको नयाँ सत्र सुरु हुने तयारी हुँदै गर्दा सैनिकले ‘कु’ गरेका थिए ।
अहिले नेतृ सुकीलाई अज्ञात स्थानमा बन्दी बनाएर राखिएको छ । उनीमाथि देशको आधिकारिक गोप्यतासम्बन्धी कानुनको उल्लंघन गरेको, अनाधिकृत रूपमा ‘वाकिटकी’ लिएको र आतंक फैलाउने सूचनाहरू प्रवाह गरेकोलगायतका अनेकौं मुद्धा छन् ।
पक्राउबाट उम्केर भागेका नेसनल लिग फर डेमोक्रेसीका सांसदहरूले भूमिगत रूपमै नयाँ समूह निर्माण गरेका छन् । तिनका नेताले प्रदर्शनकारीहरूलाई आफ्नो रक्षा आफैं गर्नसमेत आह्वान गरेका छन् ।
अहिले त्यहाँको प्रमुख को छ ?
अहिले बर्माको कार्यकारी प्रमुखका रूपमा त्यहाँका प्रधान सेनापति मिन अङ हलइङले शक्ति आफ्नो हातमा लिएका छन् । हलइङको बर्मेली राजनीतिमा लामो समयदेखि महत्वपूर्ण प्रभाव कायम छ । म्यानरमा प्रजातन्त्र आएपछि पनि त्यहाँको ‘तत्मदउ’ भनिने म्यानरमारी सेनाभित्र उनले निरन्तर शक्तिको अभ्यास गरेका थिए । हलइङ नै अहिलेको सैनिक ‘कु’को प्रमुख पात्र हुन् ।
हलइङले विश्वका अनेक देश र त्यहाँका प्रमुखहरूबाट अहिले जारी हिंसाका लागि निन्दा झेल्नु परेको छ । त्यहाँका अल्पसंख्यक आदिवासीहरूमाथि गरेको अत्याचारका कारण पनि उनीमाथि विभिन्न प्रतिवन्धहरू लगाइएका छन् ।
सैनिक ‘कु’लगत्तै हलइङले दिएको प्रतिक्रियामा उनले आफूले गरेको ‘टेकओभर’को औचित्य पुष्टि गर्ने कोसिस गरे । उनले सैनिक जनताको पक्षमा रहेको बताउँदै ‘वास्तविक र अनुशासित प्रजातन्त्र गठन’ गर्ने बताए । संकटकाल सकिएपछि ‘स्वतन्त्र र निस्पक्ष चुनाब’ गर्ने सेनाको भनाई छ ।
मान्छेहरूले कस्ता प्रतिक्रिया दिए ?
सन् २००७ मा भएको तथाकथित ‘स्याफ्रोन आन्दोलन’ यताकै सबैभन्दा ठूला प्रदर्शनहरू अहिले सैनिक ‘कु’का विरुद्ध भएका छन् । उतिखेर हजारौं बौद्ध भिक्षुहरू तत्कालिन् सैनिक शासनविरुद्ध उत्रेका थिए । अहिले प्रदर्शनकारीहरूमा शिक्षक, वकिल, विद्यार्थी, बैंक अफिसरहरू र सरकारी कर्मचारीहरूसमेत छन्। यतिखेर, सैनिक सत्ताले त्यहाँ कर्फ्यु लगाएको छ र भेटगाटहरूमा समेत प्रतिवन्ध लगाएको छ ।
‘सुरक्षाकर्मी’हरूले पानीका फोहरा, रबरका गोली र गोली प्रयोग गरेर प्रदर्शनकारीहरूलाई रोक्ने प्रयास गरिरहेका छन् । ‘कु’ भएयताको सबैभन्दा डरलाग्दो दिन, गत मार्च २७ का दिन सयभन्दा बढी प्रदर्शनकारीहरू मारिएका थिए ।
आङ साङ सुकी को हुन् ?
सन् १९९० मा म्यानमारमा प्रजातन्त्र पुर्नस्थापनाका लागि अभियान चलाएका कारण सुकी विश्वभर चर्चित् भइन् । प्रजातन्त्र बहाली र स्वतन्त्र चुनावका पक्षमा अभियान चलाएकै कारण उनले सन् १९८९ देखि २०१० को बीचमा १५ वर्षजति नजरबन्दमा जीवन बिताइन् । घरमै नजरबन्दमा रहेका बेला सुकीलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिइयो । सन् २०१५ मा भएको पहिलो खुला चुनावमा त्यहाँको नेसनल लिग फर डेमोक्रेसीको नेतृत्व गर्दै त्यसलाई विजयी गराइन् ।
रोहिंग्या मुसलमानहरूमाथि भएको अत्याचारको कुरा के हो ?
त्यहाँका मुसलमान अल्पशंख्यकहरूमाथि राज्यबाट गरिएको हिंसाका कारण सुकीको अन्र्तर्राष्ट्रिय ख्यातीमा ठूलो ¥हास आएको छ । म्यानमारले आफ्ना अल्पशंख्यक मुसलमानहरूलाई अवैधानिक आप्रवासी ठान्दछ र नागरिकतासमेत दिँदैन । राज्यको उत्पीडन र अत्याचारबाट बच्न धेरै मुसलमानहरू देश छाडेर भागेका छन् । हजारौं रोहिंग्याली मुसलमानहरूको ज्यान गएको छ । सेनाले सन् २०१७ यता गरेको अत्याचारका कारण सात लाखभन्दा बढी मुसलमानहरू बंगलादेशतर्फ भागेका छन् ।
सोही विषयमा जवाफ दिन सन् २०१९ मा श्रीमती सुकी अन्र्तर्राष्ट्रिय न्यायिक अदालतमा उपस्थित भइन् । त्यहाँ उनले आफ्नो सरकारी सेनाले नरसंहार गरेको आरोपलाई अस्विकार गरिन् ।
‘कु’का बारेमा अन्र्तराष्ट्रिय प्रतिक्रिया कस्तो छ ?
थुपै्र देशहरूले सैनिक ‘कु’ तथा नागरिकमाथि गरिएको सैनिक हस्तक्षेपको निन्दा गरेका छन् । अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले म्यानमारी सैनिकले ‘अत्याचारको शासन’ गरेको आरोप लगाएका छन् । अमेरिका, बेलायत र युरोपियन युनियनलगायत प्रभावशाली देशहरूले सैनिक अधिकारीहरूमाथि प्रतिवन्ध लगाउने प्रतिक्रिया दिएका छन् ।
यता, चीनले भने ‘कु’लाई निन्दा गरिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको वक्तव्यलाई बन्देज लगाएको छ । तर, श्रीमती सुकीको रिहाइ र प्रजातान्त्रिक पद्धतिमा मुलुकलाई फर्काउन गरिएको आह्वानलई चीनले समर्थन गरेको छ । यसअघि चीनले म्यानमारमा अन्र्तराष्ट्रिय हस्तक्षेप हुने कुरालाई अस्विकार गर्ने बताएको थियो ।
(एलिस कड्डी–बिबिसी/अनुवादः प्रकाश–नेपाल रिडर्स)