(यो लेख भारतीय स्वतन्त्रता आन्दोलनका योद्धा भगत सिंहले जेलमा छँदा लेखेका हुन्। २७ डिसेम्बर १९३१ मा लाहौरको पत्रिका ‘द पिपुल’ मा यो लेख प्रकाशित भएको थियो। यसमा भगत सिंहले ईश्वरको अस्तित्वका बारेमा अनेक तर्कपूर्ण प्रश्नहरू उठाएका छन् र यो संसारको निर्माण, मान्छेको जन्म, मान्छेको मनमा ईश्वरको कल्पनाका साथसाथै संसारमा मनुष्यको अत्याचार, उसको शोषण, दुनियाँमा व्याप्त अराजकता र वर्गभेदका स्थितिहरूबारे विश्लेषण गरेका छन्। यो लेख भगत सिंहका लेखहरूमध्ये सबैभन्दा बढी चर्चितमध्ये एक हो।
भारतीय स्वतन्त्रता सेनानी बाबा रणधीर सिंह १९३०–३१ का बीचमा भारतीय ‘सेन्ट्रल जेल’मा कैद थिए। र, उनी एक ईश्वरवादी व्यक्ति थिए। भगत सिंहले ईश्वरमाथि विश्वास गर्दैनन् भन्ने कुरा थाहा पाएर उनी सार्है दुखी थिए। बाबा रणधर सिंह कुनै तरिकाले भगत सिंहको कालकोठरी (खोर) मा पुग्न सफल भए र भगतलाई ईश्वरको अस्तित्वमा विश्वास दिलाउने कोसिस गरे। तर आफ्नो प्रयासमा असफल भएपछि बाबा रणधरले रिसाएर भगत सिंहलाई भने, ‘प्र्रसिद्धिका कारण तिम्रो दिमाग खराब भएको रहेछ र तिमी अहङ्कारी बनेका रहेछौ। यो अहंकार नै तिमी र ईश्वरका बीचमा एउटा कालो पर्दाका रूपमा खडा छ।’ बाबा रणधर सिंहको जवाफस्वरूप नै भगत सिंहले यो लेख लेखेका हुन्।)
एउटा नयाँ प्रश्न उब्जिएर उभिएको छ। के म मेरो आफ्नो अहङ्कारकै कारण सर्वशक्तिमान्, सर्वव्यापी तथा सर्वज्ञाता भनिइने ईश्वरको अस्तित्वमा विश्वास गरिरहेको छैन? सायद यसो भनेर म मेरा केही साथीहरूमाथि धेरै अधिकार जमाइरहेको छैन। तर मसँग आफ्ना थोरै सम्पर्कको आधारमा नै मेरा केही साथीहरू यो निष्कर्षमा पुग्न उत्सुक छन् कि ईश्वरको अस्तित्व नकारेर म आवश्यकताभन्दा बढी केही अगाडि नै बढेको छु र ममा भएको घमण्ड नै इश्वरप्रति अविश्वासको कारक हो। मान्छेका कमजोरीहरूभन्दा म चाहिँ माथि छु भन्ने मलाई लाग्दैन। म एउटा मनुष्य हुँ। यसभन्दा बढी म केही पनि होइन। कसैले पनि मान्छेभन्दा बढी हुने दाबी गर्नसक्दैन। कमजोरीहरू ममा पनि छ। अहंकार मेरो स्वभावको पनि एक अंश हो, त्यो कुरा स्वीकार्छु।
अर्को कुरा, मेरा कमरेडहरूका बीचमा मलाई ‘भगत सिंह त निरङ्कुश हो’ भन्ने गरिन्छ। यहाँसम्म कि मेरा साथी श्री वटुकेश्वरकुमार दत्त पनि मलाई कहिलेकाहीं यस्तो भन्ने गर्थे। कैयौं अवसरमा त मलाई स्वेच्छाचारी भनेर निन्दासमेत गरियो। केही साथीहरूलाई मप्रति गुनासो छ कि म नचाहँदा नचाहँदै पनि आफ्ना विचारहरू उनीहरूमाथि थोपर्छु, मेरा प्रस्तावहरू मान्न लगाउँछु। यो कुरा केही हदसम्म सत्य पनि हो। त्यसलाई पनि म इन्कार गर्दिनँ। त्यसैलाई अहङ्कार पनि भन्न सकिन्छ। जहाँसम्म अन्य प्रचलित मतका प्रतिद्वन्द्वमा मैले आफ्ना मत राखेको कुरा छ, त्यसमा भने मलाई निश्चितै पनि आफ्नो मतमा गर्व छ। यसलाई अहंकार नठानियोस्।
यस्तो भने हुनसक्छ–यो केवल आफ्नो विचार र विश्वासप्रति गरिने न्यायोचित गर्व हो। जसलाई घमण्ड भन्न सकिन्न। घमण्ड त आफैँप्रति अनुचित गर्वको आधिक्य नै हो। तर प्रश्न उठ्छ, मलाई नास्तिकतातर्फ जेले डोर्यायो, के त्यो अनुचित गर्व हो? अथवा मैले यस विषयमा खुब सावधानीपूर्वक अध्ययन गरी, त्यसमाथि खुब विचार गरी, त्यसपछि मात्र ईश्वरमाथि विश्वास गर्ने कुरा गलत हो?
ईश्वरलाई विश्वास गर्ने बाटोमा कसरी अनुचित गर्व वा व्यर्थको अभिमान अवरोध बन्न सक्छ भन्ने कुरा बुझ्न पूर्णतः म असफल रहेको छु। कुनै ‘महान् व्यक्ति’को महानतालाई मैले मान्यता नदिने कुरा तबमात्र हुनसक्छ जब मलाई पनि थोरै उसलाई जस्तै यश प्राप्त भएको होस्। त्यसको निम्ति या त म योग्य छैन या मभित्र त्यस्ता गुण छैनन्, जो त्यसका लागि आवश्यक छन् । यहाँसम्मको कुरो त बुझ्न सकिन्छ तर यो कुरा कसरी सम्भव हुन्छ कि–एउटा मान्छे जो ईश्वरमा विश्वास गर्छ–उ सहसा आफ्नो व्यक्तिगत अहङ्कारकै कारण मात्र ईश्वरमाथि विश्वास गर्न बन्द गरिदिन्छ? दुवै बाटा सम्भव छन्–या त मान्छे आफूलाई ईश्वरको प्रतिद्वन्द्वी ठान्न थालोस् अथवा आफैंलाई नै ईश्वर ठान्न सुरु गरिदियोस्। तर यी दुवै अवस्थामा ऊ सच्चा नास्तिक बन्न सक्दैन। पहिलो अवस्थामा त ऊ आफ्नो प्रतिद्वन्द्वी ईश्वरको अस्तित्वलाई नकार्दैन। दोस्रो अवस्थामा पनि ऊ एउटा यस्तो चेतनाको अस्तित्वलाई मान्दछ, जुन पर्दापछाडिबाट प्रकृतिका सबै गतिविधिलाई सञ्चालन गर्दछ।
म घन्टौँ गायत्री मन्त्र जप्थेँ
मैले त त्यो सर्वशक्तिमान् परमात्माको अस्तित्वलाई नै अस्वीकार गरेको छु। त्यो अहङ्कार होइन, जसले मलाई नास्तिकताको सिद्धान्त ग्रहण गर्न प्रेरित गरेको छ। न म देउताको एउटा प्रतिद्वन्द्वी हुँ न त अवतार नै हुँ। अनि न म स्वयं परमात्मा नै। यो अभियोग स्वीकार गर्नका लागि आउनुस्–तथ्यमाथि मनन् गरौं। मेरा यी साथीका अनुसार दिल्ली बमकाण्ड र लाहौर षड्यन्त्र काण्डको दौरानमा मलाई अनावश्यक यश(नाम र चर्चा) प्राप्त भयो, सायद त्यसै कारणले म बिना कारण अभिमानी भएको हुँ।
मेरो नास्तिकतावाद अहिले भर्खरैको उत्पत्ति होइन। मैले त ईश्वरमाथि विश्वास गर्न त्यतिखेर नै छोडिएको थिएँ जतिखेर म अप्रसिद्व नवजवान थिएँ। कम्तीमा एउटा कलेजको विद्यार्थीमा त त्यस्तो कुनै अनुचित अहङ्कार पालित पोषित नहुनु पर्ने हो, जसका कारण उ नास्तिक होओस्। यद्यपि म केही अध्यापकहरूले रुचाइएको र अरु केहीका लागि नरुचाइएको विद्यार्थी थिएँ। तर म कहिल्यै पनि अत्यन्त मिहिनेती अथवा पढैया विद्यार्थी भइनँ। यसो हुँदा अहङ्कारजस्तो भावनामा फस्ने कुनै मौका नै मिलेन मलाई।
भविष्यका बारेमा केही निरासावादी प्रवृत्ति भएको एउटा लजालु स्वभावको केटो थिएँ म। मेरा बाबा, जसको प्रभावमा म ठूलो भएँ, एउटा रुढिवादी आर्यसमाजी हुनुहुन्थ्यो। एउटा आर्यसमाजी अरुथोक जेसुकै होस्, तर नास्तिक चाहिँ हुँदैन। आफ्नो प्राथमिक शिक्षा पूरा गरेपछि मैले ‘डीएभी स्कुल,लाहौर’मा प्रवेश गरेँ। एक वर्ष त्यसको छात्राबासमा रहँे। त्यहाँ बिहान–साँझको प्रार्थनाका अतिरिक्त म घण्टौं गायत्री मन्त्र जप गर्ने गर्थेँ। त्यो बेला म पूरै भक्त थिएँ।
पछि म पिताकै साथ रहन सुरु गरेँ। जहाँसम्म धार्मिक रुढिवादको प्रश्न छ–उहाँ एक उदारवादी व्यक्ति हुनुहुन्थ्यो। उहाँकै शिक्षाले मलाई स्वतन्त्रताको ध्येयका लागि आफ्नो जीवन समर्पित गर्ने प्रेरणा प्राप्त भयो। उहाँ नास्तिक हुनुहुन्थेन। उहाँलाई ईश्वरमा दृढ विश्वास थियो। उहाँ मलाई प्रतिदिन पूजा–प्रार्थनाका लागि प्रोत्साहित गर्नुहुन्थ्यो। यसरी मेरो पालन–पोषण भयो।
भारतमा चलेको असहयोग आन्दोलनका समयमा मैले राष्ट्रिय कलेजमा प्रवेश लिएँ। यहाँ आएर नै मैले सम्पूर्ण धार्मिक समस्याहरू, यहाँसम्म कि ईश्वरको अस्तित्वका बारेमा उदारपूर्ण सोच, विचार र आलोचना गर्न सुरु गरेँ। तर यहाँसम्म पनि म पक्का आस्तिक नै थिएँ। त्यसबेलासम्म लामो कपाल नै पाल्दथें। यद्यपि मलाई कहिल्यै पनि सिख या अन्य धर्महरूको पौराणिकता र सिद्धान्त र दर्शनहरूमा विश्वास लाग्न सकेको थिएन। किन्तु मेरो ईश्वरमाथि दृढ निष्ठा थियो नै। पछि म क्रान्तिकारी पार्टीसँग जोडिएँ।
ईश्वरपुजक कम्युनिष्ट
त्यहाँ मेरो जुन नेतासँग पहिलो सम्पर्क भयो, उनमा ईश्वरप्रति पक्का विश्वास थिएन तर ईश्वरको अस्तित्व नकार्ने साहस उनी गर्न सक्दैनथे। ईश्वरका बारेमा मैले दृढतापूर्वक सोधिरहँदा उनी भन्थेँ– ‘जहिले इच्छा हुन्छ, त्यहि बेला पूजा गर्ने गर्नू।’ ‘नास्तिकता साहस’को अभाव भएको नास्तिकता थियो त्यो। अर्का नेता, जसको सम्पर्कमा म आएँ, पक्का श्रद्धालु आदरणीय कामरेड सचीन्द्रनाथ सान्याल–जो आजभोलि काकोरी षड्यन्त्र काण्डका सिलसिलामा आजीवन काराबास भोगिरहेका छन्।
उनको पुस्तक ‘बन्दी जीवन’मा त ईश्वरको महिमाको घनघोर गायन छ। वेदान्त प्रभावका कारण यसमा उनले ईश्वरप्रति प्रशंसाका शब्दहरू बर्साएका छन्। २८ जनवरी १९२५ मा पूरै भारतमा जुन ‘दि रिभोल्युसनरी’ (क्रान्तिकारी) पर्चा बाँडिएको थियो–त्यो उनको बौद्धिक–श्रमको परिणाम थियो। त्यसमा सर्वशक्तिमान् ईश्वरको लीला एवम् उसको कार्यको प्रशंसा गरिएको छ। यसरी ईश्वरप्रति मेरो अविश्वास भाव क्रान्तिकारी दलमा छँदा पनि प्रस्फुटित भइसकेको थिएन।
काकोरीका सबै चारजना सहिदहरूले आफ्नो अन्तिम दिन भजन–प्रार्थना गरेरै गुजारे। रामप्रसाद ‘विस्मिल’ त एकजना रुढिवादी आर्यसमाजी थिए। समाजवाद तथा साम्यवादको आफ्नो बृहत् अध्ययनका बावजुद पनि राजेन लाहडीले उपनिषद् एवं गीताका श्लोक उच्चारण गर्ने आफ्नो भित्री अभिलाषालाई दबाउन सकेनन्। मैले उनीहरूमा एकजना मात्र यस्तो व्यक्ति पाएँ, जो कहिल्यै प्रार्थना गर्दैनथ्यो र भन्ने गर्थ्यो– ‘दर्शनशास्त्र मान्छेको दुर्वलता अथवा सीमित ज्ञान भएका कारण उत्पन्न हुन्छ।’ ऊ आजीवन निर्वासनको सजाय भोगिरहेको थियो तर उसले पनि कहिल्यै ईश्वरको अस्तित्व नकार्ने हिम्मत गरेन ।
त्यतिखेरसम्म म केवल एउटा ‘रोमान्टिक आदर्शवादी क्रान्तिकारी’ थिएँ। त्यतिखेरसम्म हामी अर्काको अनुसरण गर्दै थियौँ। अब भने आफ्नो काँधमा नै जिम्मेवारी बोक्ने समय आएको थियो। मेरो क्रान्तिकारी जीवनको निर्णायक विन्दु थियो यो। अध्ययनको पुकार मेरो मनमा गुञ्जिरहेको थियो– ‘विरोधीहरूद्वारा राखिएका तर्कको सामना गर्नका लागि अध्ययन गर्। आफ्नो मतको पक्षमा तर्क दिनका लागि पढ्।’ अब मैले पढ्न सुरु गरेँ। यसबाट मेरो पुराना विचार र विश्वासहरू अद्भूत रूपले परिष्कृत हुँदै गए।
अध्ययन र जेल
रोमान्सको ठाउँमा अब गम्भीर विषयहरू आए। अब न अझ धेरै रहस्यवाद, न अन्धविश्वास नै। अब यथार्थवाद हाम्रो विचारको आधार बन्न थाल्यो। मलाई विश्वक्रान्तिका अनेक आदर्शका बारेमा पढ्ने धेरै मौका मिल्यो। मैले अराजकतावादी नेता बाकुनिनलाई पढेँ। साम्यवादका पिता माक्र्सलाई तथा लेनिन, त्राटस्की र अन्य मानिसलाई पढेँ, जसले आफ्नो देशमा सफलतापूर्वक क्रान्ति ल्याएका थिए।
ती सबै नास्तिक थिए। पछि मलाई निरलम्ब स्वामीको पुस्तक ‘सहज ज्ञान’ प्राप्त भयो। यसमा रहस्यवादी नास्तिकताको विषय उल्लेख थियो। सन् १९२६ को अन्त्यसम्म मलाई एउटा सर्वशक्तिमान्, परम–आत्मा, जसले ब्रह्माण्डको सृजना, दिग्दर्शन र सञ्चालन गर्दछ– त्यो केबल ‘कोरा बकबास’ हो भन्ने विश्वास भयो। यसरी मैले ईश्वरप्रति अविश्वास गर्न थालेँ। मैले यो विषयमा आफ्ना साथीहरूसँग बहस गरेँ। म एउटा घोषित नास्तिक भइसकेको थिएँ।
मे १९२७ मा म लाहौरमा गिरफ्तारीमा परेँ। रेलवे पुलिस हिरासतमा मैले एक महिना कटाउनुप¥यो। त्यहाँका पुलिसहरूले मलाई भने, ‘तँ लखनउमा थिइस्, जतिखेर त्यहाँ काकोरी दलको मुद्दा चलिरहेका थियो। तैले तिनीहरूलाई छुटाउन कुनै योजनामाथि कुरा गरेको थिइस् र सहमति पाएपछि तैले केही बम प्राप्त गरिस्। १९२७ को दशैंको बेला ती बममध्ये एउटा परीक्षणका लागि भीडमा फ्याँकियो।’ मैले क्रान्तिकारी दलका गतिविधिमाथि प्रकाश पार्दै एउटा वक्तव्य दिएँ भने मलाई गिरफ्तार गरिने छैन। र, त्यसको साटो मलाई अदालतमा अगुवाझैं पेस नगरिकन रिहा गरिनेछ र इनाम दिइनेछ।
सो प्रस्तावका विषयमा म हाँसे। हामीमाथि लगाइएको आरोप बेकारको कुरा थियो। हामी अरुजस्तै विचार राख्ने आफ्ना निर्दोष जनतामाथि बम हान्ने गर्दैनौँ। एकदिन बिहान ‘सीआइडी’का वरिष्ठ अधीक्षक श्री न्युमनले मलाई भने–‘यदि तैले त्यस्तो वक्तव्य दिँदैनस् भने तँमाथि काकोरी काण्डमा सम्बन्धित विद्रोह गरेको षड्यन्त्रमा तथा दशैं उत्सवमा उपद्रो र हत्याको अभियोगमा मुद्दा चलाउन बाध्य हुन्छौं।’ र, उनले भने ‘हामीसँग सजाय दिलाउन र फाँसीमा चढाउनका लागि उचित प्रमाण छन्।’
त्यसै दिनदेखि केही पुलिस अफिसरले मलाई नियमका साथ दुवै समय ईश्वरको स्तुति गर्न भने, त्यसका लागि फकाउन सुरु गरे। तर त्ययतिखेर म एउटा नास्तिक थिएँ। म आफू स्वयंका लागि यो कुरा निश्चित गर्न चाहन्थें कि के म शान्ति र आनन्दका दिनहरूमा मात्र नास्तिक हुनुको दम्भ गर्छु या कठीन समयमा पनि नास्तिकताका सिद्धान्तहरूमाथि अडिग रहन सक्छु? धेरै साचिसकेपछि मैले त्यसबारे निश्चिय गरें।
म कुनै हालतमा पनि ईश्वरमा विश्वास र प्रार्थना गर्न सक्दिनँ भन्ने ठानेँ र मैले एक क्षणका लागि पनि त्यसो गरिनँ। त्यही नै साँचो परीक्षण थियो र म त्यसमा सफल भएँ। अब म पक्का अविश्वासी भएँ र त्यतिखेरदेखि अहिलेसम्म छँदैछु। यो परीक्षामा खरो उत्रिनु सजिलो काम थिएन। मलाई थाहा छ, भ्रमपूर्ण नै किन नहोस्, विश्वासले कष्टहरूलाई हलुका गरिदिन्छ। यहाँसम्म कि कहिलेकाहीँ त्यसले जीवनलाई अस्थायी रूपमा सुखद पनि बनाउन सक्छ। ईश्वरको भ्रममा मान्छेलाई अत्यधिक सान्त्वना दिने आधार पाउन सकिन्छ।
ईश्वर नहुँदा मान्छेले आफँैमाथि निर्भर हुनुपर्दछ। तुफान र झन्झावातका बीच आफ्ना खुट्टामा उभिनु केटाकेटीको खेल होइन। परीक्षाका यी घडीमा यदि अहङ्कारको गन्ध छ भने त्यो बाफ बनेर उडिजान्छ र मनुष्य आफ्नो विश्वासलाई गलहत्याउने साहस गर्नसक्दैन। यदि त्यसो गर्छ भने त्यसबाट के निष्कर्ष निस्कन्छ भने उसँग खाली अहङ्कारमात्र होइन, कुनै अन्य शक्ति पनि छ। आज ठीक त्यस्तै स्थिति छ। निर्णयको पूरापूर ज्ञान छ। एक हप्ताभित्र यो घोषित हुनेछ कि–म आफ्नो जीवन कुनै एउटा ध्येयमा होमिदिन्छु। यो विचारका अतिरिक्त अरु के सान्त्वना हुनसक्छ?
अर्को जन्ममा राजा
ईश्वरमा विश्वास राख्ने हिन्दू ‘अर्को जन्ममा राजा हुने आशा’ गर्नसक्छ। एउटा मुसलमान या इसाई–स्वर्गमा व्याप्त समृद्धिको आनन्द लिन’ तथा ‘आफ्ना कष्टहरू र बलिदानका लागि पुरस्कारको कल्पना’ गर्नसक्छ। तर म के आशा गरुँ? कुनै पनि क्षण डोरीको फन्दा मेरो घाँटीमा बाँधिनेछ र मेरो खुट्टामुनिको पिर्का पल्टाइनेछ र त्यो नै मेरो जीवनको पूर्णविराम हुनेछ। त्यही अन्तिम क्षण हुनेछ र मेरो आत्मा त्यहीँ समाप्त हुनेछ र, अगाडि केही बाँकी रहने छैन।
एउटा सानो जुझारु जिन्दगी, जसको कुनै गौरवशाली परिणति छैन। यदि ममा यस दृष्टिले हेर्ने साहस भयो भने त्यो आफैँमा मेरा लागि एउटा पुरस्कार हो। बिना कुनै स्वार्थ यो जीवनमा र यो जीवनपछि पनि कुनै पुरस्कारको इच्छाबिना मैले अनाशक्त भावले आफ्नो जीवनलाई स्वतन्त्रताको ध्येयका लागि समर्पित गरिदिएको छु। किनकि मैले त्यत्ति गर्न सक्थेँ, अरु केही गर्न सक्दिनथेँ। जुन दिन यो मनोवृत्तिका धेरै पुरुष र महिलाहरू भेटिनेछन्, जो आफ्नो जीवनलाई मान्छेको सेवा र पीडित मानवको उद्धारका अतिरिक्त अन्यत्र कतै समर्पित गर्न सक्दैनन्–त्यसै दिन मुक्तिका युगको शुभारम्भ हुनेछ। उनीहरू शोषकहरू, उत्पीडकहरू र अत्याचारीहरूलाई चुनौती दिनका लागि उत्प्रेरित हुनेछन्। मृत्युपरान्त अर्को जन्ममा राजा बन्न वा कुनै पुरस्कार प्राप्त गर्नका लागि होइन।
मानवताको गर्धनबाट दासताको जुवा उतारेर फ्याँक्न र मानव मुक्ति एवं शान्ति स्थापित गर्नका लागि यो मार्ग अपनाउनु पर्नेछ उनीहरूलाई। के उनीहरू त्यस्तो खतरनाक बाटो हिँड्नेछन्? तर उनीहरूको विवेकको कोणबाट हेर्दा त त्यहीमात्र एउटा कल्पनीय बाटो हो। के त्यस्तो महान् ध्येयप्रति उनीहरूले गर्ने गर्वलाई अहङ्कार भनेर गलत अर्थ लगाउन मिल्छ र?
त्यस्तो घृणित विशेषण प्रयोग गर्ने साहस कसले गर्ला त?
या त त्यो मूर्ख हुन्छ या धूर्त। हामीले त्यस्ता मान्छेहरूलाई क्षमा गरिदिनुपर्छ किनकि उनीहरू क्रान्तिकारीहरूको हृदयमा उद्वेलित उच्च विचार, भावना, आवेग तथा तिनको गहिराइलाई नै अनुभूत गर्न सक्दैनन्। उनीहरूको हृदय मासुको एक टुक्राझैं मृत छ। तिनका आँखाहरू अरु धेरै स्वार्थका प्रेतछायाँ परेका कारण कमजोर भएका छन्। आफैँमा भरपर्ने गुणलाई सदैव अहङ्कारको संज्ञा दिनु दुःखपूर्ण र कष्टप्रद कुरा हो। तर उपाय के छ र?
स्वविचार र आलोचना
स्वतन्त्र विचार र आलोचना एउटा क्रान्तिकारीका लागि अनिवार्य गुण हुन् किनभने हाम्रा पूर्वजहरूले कुनै परम–आत्माप्रति विश्वास बनाएका छन्। अतः कसैले पनि त्यो विश्वासकोे सत्यता वा परम–आत्माप्रतिको अस्तित्वलाई चुनौती दिए, उसलाई विधर्मी र विश्वासघाती भनिनेछ। यदि उसका तर्कहरू खण्डन गरिन नसक्ने गरी अकाट्य छन्। र, ईश्वरको प्रकोपका कारण आइपर्ने विपत्तिहरूको भय देखाएर दबाउन नसकिने गरी उसको आस्था प्रबल छ भने उसलाई वृथाभिमानी भनेर अवश्य नै निन्दा गरिनेछ।
यसर्थ, जुन विषयले मलाई नास्तिकतातर्फ लग्यो, त्यो मेरो अहङ्कार थिएन। मेरो तर्कको तरिका सन्तोषप्रद सिद्ध छ कि छैन ? यसको निर्णय मेरा पाठकहरूले नै गर्नुपर्छ , मैले हैन । म जान्दछु कि ईश्वरमाथि मैले विश्वास गरेको भए आज मेरो जीवन सजिलो र मेरा बोझ हलुका हुने थिए। त्यसमाथि, ईश्वरमाथिको मेरो अविश्वासले सारा वातावरणलाई अत्यन्त शुष्क बनाइदिएको छ।
थोरै रहस्यवादको सहाराले यसलाई म कवित्वमय बनाउन सक्छु। किन्तु मेरो भाग्यलाई कुनै उन्मादको सहारा चाहिएको छैन। किनकि म यथार्थवादी हुँ। म अन्त प्रकृतिमा विवेकको सहायताले विजय प्राप्त गर्न चाहन्छु। यस ध्येयमा म सधैं सफल भएको छैन, किन्तु प्रयास गर्नु मान्छेको कर्तव्य हो। सफलता त संयोग र वातावरणमा निर्भर गर्दछ। कुनै पनि मनुष्य जसमा थोरै पनि विवेकको शक्ति छ–उसले आफ्नो वातावरणलाई तार्किक रूपले सम्झाउन चाहनेछ।
जहाँ सीधा प्रमाण छैन, त्यहाँ दर्शनशास्त्रको महत्व हुन्छ। जतिखेर हाम्रा पूर्वजले फुर्सदका बेला विश्व–रहस्यलाई, यसको भूत, वर्तमान एवं भविष्यलाई, यसको ‘किन र कहाँबाट’लाई, बुझ्ने प्रयास गरे, तब सिधा परिणामहरूको कठिन अभाव थियो। त्यसको अभावमा उनीहरूले प्रत्येकले ति प्रश्नहरूलाई आफ्नै ढङ्गले हल गर्ने काम गरेँ। यसै कारणले विभिन्न धार्मिक मतहरूमा हामी यति धेरै अन्तर पाउँछौं कि जसले कहिलेकाहीँ वैमनस्यता र झगडाकै रूप लिन्छ।
न केवल पूर्व र पश्चिमका दर्शनमा मात्र मतभेद छ, अपितु प्रत्येक गोलाद्र्धका आफ्नै विभिन्न मतहरूमा पनि आपसमै अन्तर छ। पूर्वका धर्मः इस्लाम तथा हिन्दू धर्ममै अलिकति पनि मतैक्यता छैन। भारतमै बौद्ध तथा जैन धर्म, जो बाह्मणवादबाट धेरै अलग्गै छन्, त्यसमा स्वयं आर्यसमाजी र सनातन धर्मजस्ता विरोधी मतहरू पाइन्छन्।
चार्वाक
पुरानो समयका एउटा स्वतन्त्र विचारक भनेका चार्वाक (वृहस्पति) हुन्। उनले ईश्वरलाई त्यति पुरानो समयमा पनि चुनौती दिएका थिए। हरेक व्यक्ति आफूलाई सही ठान्छ। पुराना विचारकहरूको अनुभव तथा वैचारिक भविष्यलाई अज्ञानताविरुद्ध लडाइँको आधार बनाउनुभन्दा हामीहरू चाहिँ अल्झीझिैं, पुराना कथनहरूमा अविचल एवं संशयहीन विश्वास चित्कार, पुकार र पुजा गरिरहन्छौं। यसरी मानवताको विकासलाई जड बनाउने दोषीका रूपमा हामी स्थापित हुन्छौँ।
केबल विश्वास र अन्धविश्वास खतरनाक छन्। यिनले मस्तिष्कलाई मूढ र प्रतिक्रियावादी बनाइदिन्छन्। जुन मानिसले आफूलाई यथार्थवादी भएको दावा गर्छ, उसले समस्त प्राचीन रुढिगत विश्वासहरूलाई चुनौती दिनैपर्छ। प्रचलित मतहरूलाई तर्कको कसीमा घोट्नुपर्छ। यदि मान्छे तर्कको प्रहार सहन सक्दैन भने टुक्राटुक्रा भएर छरिनुपर्छ। तब नयाँ दर्शन स्थापनाका लागि तिनलाई पूरै धराशयी बनाई ठाउँ सफा गर्नु र पुराना विश्वासका केही कुरा प्रयोग गरेर नयाँ निर्माण गर्नुपर्छ। म प्राचीन जडतामाथि प्रश्न गर्नुपर्छ भन्ने कुरामा ढुक्क छु।
मलाई पूरा विश्वास छ–एउटा चेतन परमात्मा, जसले प्रकृतिको गतिलाई ‘दिग्दर्शन र सञ्चालन’ गर्छ–त्यसको कुनै अस्तित्व छैन। हामी प्रकृतिमा विश्वास गर्छाैं र समस्त प्रगतिशील आन्दोलनको ध्येय–मनुष्यद्वारा आफ्नो सेवाका लागि प्रकृतिमाथि विजय प्राप्त गर्नु हो भन्ने ठान्छौं। यसलाई दिशानिर्देश दिने कुनै चेतन–शक्ति छैन। यही नै हाम्रो दर्शन हो। हामी आस्तिकहरूसँग केही प्रश्न पनि गर्न चाहन्छौं।
एउटा सर्वशक्तिमान्, सर्वव्यापक र सर्वज्ञानी ईश्वर छ, जसले विश्वको रचना ग¥यो भन्ने कुरा यदि तपाईंहरूमा विश्वास छ भने तब कृपा गरी मलाई भन्दिनुस् कि उसले यो रचना नै किन ग¥यो? किन यति धेरै कष्ट र सन्तापहरूले भरिपूर्ण दुनियाँ बनायो? असङ्ख्य दुःखहरूका शास्वत गठबन्धनहरूले ग्रसित किन बनायो? र, यहाँ एउटै व्यक्ति पनि पूर्ण रूपले सन्तुष्ट छैन। कृपया यही नै उसको नियम हो भनी नभनिदिनु होला, देउताको बलजफ्ति प्रतिरक्षा नगरिदिनुहोला। यदि ऊ ईश्वर कुनै नियमले बाँधिएको छ भने त ऊ सर्वशक्तिमान नै छैन। ऊ पनि हामीजस्तै नियमहरूको दास भयो। कृपा गरी ‘यो त उसको मनोरञ्जन हो’ पनि नभनिदिनु होला।
निरो र चंगेज खाँभन्दा डरलाग्दो ईश्वर
रोमको निरोले केवल एउटा रोम जलाएको थियो। उसले असाध्यै थोरै सङ्ख्यामा मान्छेहरूको हत्या गरेको थियो। उसले त रोममा ज्यादै थोरैमात्र दुःख पैदा ग¥यो, आफ्नो पूर्ण मनोरञ्जनका लागि। अनि इतिहासमा उसको कुन स्थान छ? उसलाई इतिहासकारहरूले कुन नामले बोलाउँछन्? सबै विषालु विशेषण त निरोमाथि नै बर्साउँछन्। किताबका पानाहरू उसकै निन्दाका वाक्यले पोतिएका हुन्छन्। निरोको भत्र्सना गरिन्छ–‘नीरो एउटा हृदयहीन, निर्दयी, दुष्ट।’ चङ्गेज खाँले आफ्नो आनन्दका लागि केही हजार मान्छेको ज्यान लियो र आज हामी उसको नामलाई घृणा गर्छौं।
तर तिमी कसरी यत्रा अत्याचार र हिंसा गर्ने आफ्नो ईश्वरलाई न्यायोचित किन मान्छौं त? त्यो शास्वत नीरोलाई जसले हरेक दिन, हरेक घण्टा र हरेक मिनेट सबैलाई अनेक दुःख दिइरह्यो र अहिले पनि दिइरहेको छ। फेरि तिमी कसरी ईश्वरका दुष्कर्मको पक्ष लिन्छौ? जुन चङ्गेज खाँभन्दा प्रत्येक क्षण बढी छ। के यी सबै कामहरू, यी निर्दोष मान्छे÷प्राणीहरू र अहिले कष्ट सहनेहरूका लागि पुरस्कार र गल्ती गर्नेहरूका लागि पछि दण्ड दिनका लागि भइरहेको हो? ठीक छ। तिमी कहिलेसम्म त्यस्तो व्यक्ति/शक्तिलाई उचित ठानिरहन्छौं, जसले हाम्रो शरीरमा घाउ पार्ने साहस गरिरहन्छ ता कि पछि उसैले नरम र आरामदायक मल्हम लगाइदिनेछ।
‘ग्लेडिएटर’– संस्थाका व्यवस्थापक कतिसम्म उचित थिए? एउटा भोको खुंखार सिंहका सामुन्ने उनीहरू मान्छेलाई फ्याँक्थे र भन्थे कि यदि त्यस मान्छेले ज्यान बचाउन सक्यो भने उसलाई पछि खुबै देखभाल गरिनेछ। त्यसैले म सोध्छु–त्यो चेतन–परमआत्माले यो विश्व र त्यसमा मानिसको रचना किन ग¥यो? आनन्द लुट्नका लागि? तब ईश्वरमा र नीरोमा वा ग्लेडिएटरमा के फरक भयो त?
तिमी मुसलमान र इसाईहरू त पूर्वजन्ममा विश्वास गर्दैनौ। तिमीहरू त हिन्दुहरूलेझैं यो तर्क प्रस्तुत गर्न सक्दैनौ–‘प्रत्यक्षतः आज निर्दोषहरूले पाएको कष्ट उसको पूर्वजन्मका कर्महरूको फल हो।’ त्यसो हो भने म तिमीहरूलाई सोध्छु– ‘त्यो सर्वशक्तिशालीले शब्दद्वारा विश्वको उत्पत्तिका लागि छ दिनसम्म किन परिश्रम ग¥यो? प्रत्येक दिन उसले किन सबथोक ठीकठीक छ भन्छ? उसलाई अहिले नै बोलाऊ। उसलाई यो विश्वको पछिल्लो इतिहास देखाऊ। उसलाई आजका परिस्थितिहरूको अध्ययन गर्न देऊ। त्यस अवस्थामा हामी हेर्नेछौँ। के उसले आजका दिनमा सबथोक ठीकठाक छ भन्ने साहस गर्नसक्ला?
काराबासका कालकोठरीहरूदेखि लिएर झुप्राका बस्तीहरूसम्म भोक र प्यासले छटपटाइरहेका लाखौँ मान्छेहरूदेखि ती शोषित मजदुर, गरिबसम्म–जसलाई पुँजीवादी पिशाचहरूले रगत चुस्ने क्रिया जारी छ। र यो सबै बर्वादीलाई ईश्वर धैर्यपूर्वक र निरुत्साह हेरिरहेको छ, मानव शक्तिको बर्बादी हेरिरहेको छ। यी सबै देखेर थोरै पनि सहज ज्ञान र दया भएको कुनै पनि व्यक्ति भयले काँप्नेछ ।
त्यतिमात्रै होइन, अधिक उत्पादन भएका सामान र अन्नलाई भोका र दुखीहरूमा बाँट्नुको साटो समुद्रमा फ्याक्नु उत्तम सम्झनेहरू छन् यहाँ। राजाहरूका त्यस्ता महलहरू छन्, जो मान्छेका हड्डीहरूको जगमा खडा छ। ईश्वरलाई यी सब कुरा हेर्न देऊ र उसले फेरि भनोस्, ‘मैले बनाएको यो संसारमा सबथोक ठीकठीक छ ।’ तर म सोध्छु उसलाई, ‘किन र कसरी ?’
तिमी हिन्दुहरू भन्छौं– ‘आज जसले कष्ट भोगिरहेका छन्, ती पूर्वजन्मका पापी हुन् र आजका उत्पीडकहरू अघिल्लो जन्मका साधुसन्त थिए। त्यसैले ती अहिले पूर्वजन्मको कमाई खइरहेका छन्, सत्ताको आनन्द लुटिरहेका छन्।’ तपाईँहरूका पूर्वज असाध्यै चलाख व्यक्ति थिए भन्ने मान्नैपर्छ। उनीहरूले यस्तो सिद्धान्त बनाए जसमा तर्क र अविश्वासका सबै प्रयासहरू विफल बनाउने प्रशस्त ताकत छ। न्यायशास्त्रका अनुसार अपराधीमा पर्ने असरका आधारमा दण्डलाई केबल तीन कारणले उचित ठान्न सकिन्छ। ती हुन्–प्रतिकार, भय तथा सुधार। आज सबै प्रगतिशील विचारकहरूद्वारा प्रतिकारको सिद्धान्तलाई भने निन्दा गरिन्छ। भयभीत गर्ने सिद्धान्तको पनि अन्त त्यही नै छ। सुधार गर्ने सिद्धान्तमात्र आवश्यक छ। र, मानवताको प्रगतिका लागि अनिवार्य पनि।
कस्तो दण्ड हो यो?
यसको ध्येय अपराधीलाई योग्य र शान्तिप्रिय नागरिकका रुपमा समाजमा फर्काउने हो। किन्तु यदि हामी यी मान्छेहरूलाई अपराधी मान्छौँ भने पनि त ईश्वरले उनीहरूलाई अहिले दिइरहेको यो दण्ड कस्तो प्रकृतिको हो? तिमी भन्छौ, ‘ईश्वरले उनीहरूलाई गाई, बिरालो, रुख, जरीबुटी या जनावर बनाएर फेरि उत्पन्न गर्छ।’ तिमी यस्ता चौरासी लाख दण्डहरू गन्न लाउँछौ। म तिमीलाई सोध्छु–‘यसो गर्दा आज गल्ती गर्ने मान्छेहरू भोलि कसरी सुध्रन्छ?’ तिमीले त्यस्ता कति मान्छेसँग भेट गर्यौ जो कुनै पापका कारण पूर्वजन्ममा गधाका रूपमा जन्मेका थिए?
तिमी भन्नेछौ, ‘मैले त एकजना पनि भेटेको छैन।’ आफ्ना पुराणहरूका उदाहरण मलाई नदेऊ। मसित तिम्रा पौराणिक कथाहरूका लागि कुनै स्थान छैन। फेरि तिमीलाई थाहै छ, दुनियाँमा सबभन्दा ठूलो पाप गरिब हुुनु हो। गरिबी एउटा अभिशाप हो। यो आफैँमा एक दण्ड हो। म भन्छु, यस्तो दण्डप्रक्रियाको कतिसम्म प्रशंसा गर्नु, जसले अनिवार्यतः मान्छेलाई अझ धेरै अपराध गर्न बाध्य पार्छ? के तपाईँको शर्वशक्तिमान ईश्वरले यो कुरा सोचेको थिएन? या उसलाई पनि यी सबै कुराहरू मानवद्वारा अकथनीय कष्ट झेलेको मूल्यमा, तिनै मानवहरूकै अनुभवबाट सिक्नु थियो?
तिमी के बुझ्छौ– ‘कुनै गरिब वा अनपढ परिवार, जस्तो एउटा चमार अथवा पोडेकहाँ पैदा भएमा मान्छेको भाग्य के भाग्य होला? किनकि ऊ त गरिब छ, त्यसैले उसले सहजै पढाइ गर्न सक्दैन। किनकि भोको बच्चा कसरी स्कलु जानसक्छ? ऊ आफ्ना साथीहरूबाट प्रायः तिरष्कृत एवं परित्यक्त रहन्छ। जो मान्छेहरू उच्च जातिमा उत्पन्न भएका कारण आफूलाई उच्च सम्झन्छन् र उनीहरूले चमारको गरिबी तथा हीन जातीयतामाथि क्रुर र गलत व्यवहार गर्छन्। त्यस्ता व्यवहारले चमारको हृदयलाई समाजप्रति निष्ठुर बनाइदिन्छ। त्यसपछि यदि उसले कुनै पाप गर्छ भने त्यसको फल कसले भोग्ला? ईश्वरले या ऊ स्वयंले? या समाजका मनीषीहरूले?
र, उसको दण्डका बारेमा के प्रावधान होला, जसलाई दम्भी ब्राह्मणहरूले जानीजानी अज्ञानी बनाइराखे। जसलाई ज्ञानसम्बन्धी तिम्रा पवित्र पुस्तकहरू–वेदहरूका केही वाक्य सुनेकै कारण पगालेको सिसाको धारा सहन गर्नुपर्ने सजाय भोग्नुपथ्र्यो। यदि चमारहरूले कुनै अपराध गर्दछन् भने त्यसका लागि को जिम्मेवार हुन्छ? ईश्वरको प्रहार कसले सहन्छ ? मेरा प्यारा मित्रहरू !विशेषाधिकार प्राप्त व्यक्तिहरूको आविष्कार हो यो सिद्धान्त।
यी सिद्धान्तका आधारमा यिनीहरू आफूले हत्याएको शक्ति, पुँजी तथा उच्चतालाई सही ठह¥याउँछन्। आपटान सिक्लेयरले त लेखेकै थियो–मान्छेलाई केबल अमरत्वको भ्रममा विश्वास दिलाइदेऊ र त्यसपछि उसको सारा सम्पत्ति लुट। यसो भएपछि ऊ विनाबडबडाहट यस कार्यमा तिमीलाई सहयोग गर्नेछ। धर्मका उपदेशकहरू तथा सत्ताका स्वामीहरूको गठबन्धनबाट नै जेल, फाँसी, कोर्रा र यस्ता भ्रमपूर्ण सिद्धान्तहरू उब्जन्छन्।
अपराध गरिरहेकै बेला दण्ड किन दिँदैनन् ईश्वर ?
म सोध्न चाहन्छु–मान्छे जतिखेर पाप र अपराध गरिरहेको हुन्छ, त्यति नै बेला तिम्रो त्यो शक्तिशाली ईश्वरले किन रोक्न सक्दैन? ईश्वरले चाहेमा यो त उसले सजिलै गर्नसक्नु पर्ने हो। उसले किन लडाकु राजाहरूको लडाइँको हिंसा र उग्रता समाप्त गरेन? यसरी हुने युद्ध र विश्वयुद्धद्वारा मानवतामाथि आइपर्ने विपत्तिहरूदेखि संसारलाई ईश्वरले किन बचाएन?उसले अङ्ग्रेजहरूको मस्तिष्कमा भारतलाई मुक्त गरिदिने भावना पैदा गर्न सकेन? उसले पुँजीपतिहरूको हृदयमा उत्पादनका साधनहरूमाथि आफ्नो व्यक्तिगत सम्पत्तिको अधिकार त्याग गर्ने परोपकारी उत्साह किन भरिदिएन? यसरी सम्पूर्ण श्रमिक समुदायमात्रै होइन, समस्त मानव समाजलाई पुँजीवादका जञ्जीरबाट मुक्त गर्ने भावना किन दिएन?
बस्, तपाईं समाजवादको व्यवहारिकतामा तर्क गर्न चाहनुहुन्छ। जहाँसम्म सामान्य भलाइको कुरा छ, मान्छेहरू समाजवादका गुणहरूलाई मान्दछन् तर उनीहरू समाजवादका उति व्यवहारिकता नहुने बहाना बनाएर यसको विरोध गर्छन् र भन्छन्–परमात्मालाई आउन देऊ र उसले सबै चीज सही तरिकाले हल गरिदिन्छ। अङ्ग्रेजहरूको भारतमा आगमन ईश्वरले चाहेका कारण भएको होइन, बरु उनीहरूसँग अनेक खालका शक्ति थियो र हामीमा उनीहरूको विरोध गर्ने हिम्मत थिएन, त्यस कारणले नै उनीहरू यहाँ आएर अत्याचार गर्न सकेका हुन्।
उनीहरूले हामीलाई आफ्नो प्रभुत्वमुनि दबाउने काम ईश्वरको मद्दतले गरेका हैनन् बरु बन्दुक, राइफल, बम र गोलीहरू, पुलिस र सेनाको सहाराले गरेका हुन्। हाम्रो उदासीनताका कारण पनि त्यसो भएको होे। त्यसैले उनीहरू एउटा समाजका विरुद्ध निन्दनीय अपराध, एउटा राष्ट्रलाई अर्को राष्ट्रद्वारा अत्याचारपूर्ण शोषण–सफलतापूर्वक गरिरहेका छन्। कहाँ छ ईश्वर? के उसले मनुष्य जातिका यी कष्टहरूमा आनन्द लिइरहेको छ ? एक नीरो ! एक चङ्गेज ! त्यस्ताको नास होस्।
चाल्र्स डार्बिनलाई पढ्नुहोस्
तिमी मलाई सोध्न सक्छौ–म यो विश्वको उत्पत्ति तथा मानवको उत्पत्तिको व्याख्या कसरी गर्छु? म तपाईँलाई बताउँछु। चाल्र्स डार्बिनले यस विषयमा प्रकाश पार्ने कोसिस गरेका छन्। उनीबारे राम्ररी पढनुस्। यो एउटा प्राकृतिक घटना हो। विभिन्न पदार्थहरूको निहारिकाका आकारमा आकस्मिक मिश्रणबाट पृथ्वी बन्यो। कहिले? इतिहास हेर। यस्तै प्रकारका घटनाबाट जीवजन्तु पैदा भए र एउटा लामो यात्रापछि मान्छे जन्मियो। डार्विनको ‘जीवको उत्पति’ पढ र त्यसपछि सबैखाले विकास, मानिसद्वारा प्रकृतिसँग लगातार संघर्ष र त्यसमाथि विजय प्राप्त गर्ने चेष्टाबाट भयो। यो यस घटनाको सम्भवतः सबभन्दा सूक्ष्म व्याख्या हो।
तिम्रो अर्को तर्क यो पनि हुनसक्छ–किन एउटा बच्चा अन्धो वा लङ्गडो पैदा हुन्छ? के त्यो त उसको पूर्वजन्ममा गरेको कार्यको फल होइन? जीवविज्ञान वेत्ताहरूले यस समस्याको वैज्ञानिक समाधान निकालेका छन्। अवश्य पनि, तिमी अर्को अल्लारे–प्रश्न सोध्न सक्छौ–यदि ईश्वर हुँदैनन्थ्यो भने मान्छेहरू त्यसमाथि किन विश्वास गर्थे होला त? मेरो सूक्ष्म र स्पष्ट उत्तर छ–जसरी उनीहरूले प्रेतहरू, दुष्ट आत्माहरूमा विश्वास गर्न थाले, त्यसरी नै ईश्वरमाथि पनि विश्वास गर्न लागे।
केवल दुष्ट आत्मा र ईश्वरमाथि यत्ति नै अन्तर छ–ईश्वरको विश्वास विश्वव्यापी छ र दर्शन अत्यन्त विकसित छ। ईश्वरको उत्पत्तिको श्रेय ती शोषकहरूको प्रतिभालाई छ, जसले दुनियाँलाई परमात्माको अस्तित्वको उपदेश दिएर मान्छेलाई आफ्नो प्रभुत्वमा राख्न चाहन्थे र उनीहरूबाट आफ्नो विशिष्ट स्थितिको अधिकार एवं अनुमोदन चाहन्थे। सबै धर्म, सम्प्रदाय, पन्थ र यस्तै संस्थाहरू अन्तमा निर्दयी र शोषक संस्था, व्यक्ति, वर्गहरूका समर्थक हुन जान्छन्। राजाका विरुद्ध गरिने विद्रोहलाई हरेक धर्ममा सदैव ‘पाप’का रूपमा रहिआएको छ।
मान्छेले बनाएको ईश्वर
मान्छेका सीमाहरू बुझेपछि, मान्छेका दुर्बलता र दोषलाई बुझेपछि, परीक्षाका घडीहरूमा मान्छेलाई बहादुरीका साथ सामनाका लागि उत्साहित गर्न, सबै खतराहरूसँग साहसका साथ झेल्न तथा सम्पन्नता र ऐश्वर्यमा उसका खुसीलाई बाँध्नका लागि ईश्वरको काल्पनिक अस्तित्वको रचना भयो। आफ्ना व्यक्तिगत नियम तथा अभिभावकीय उदारताले पूर्ण ईश्वरको बढाइ–चढाइ गरी कल्पना एवं चित्रण गरियो। जब त्यसको उग्रता तथा त्यसमै आधारित व्यक्तिगत नियमहरूको चर्चा हुन्छ, तब त्यसको उपयोग भय देखाउनका लागि गरिन्छ। ताकि कुनै मनुष्य समाजमा लागि खतरा नबनोस्।
जब त्यसका अभिभावकीय गुणको व्याख्या हुन्छ, तब ईश्वरको उपयोग एउटा पिता, माता, भाइ, बहिनी, मित्र तथा सहायकको जस्तै गरिन्छ। जब मान्छेलाई उसका सबै मित्रहरूले विश्वासघात गर्छन्, त्यस्तो दुःख र क्लेषको अवस्थामा हुन्छ, तब उसलाई यस विचारले सान्त्वना मिल्न सक्छ कि ‘एउटा सदा साँचो मित्र (ईश्वर) त उसको सहायता गर्नका लागि सधैं तत्पर छँदैछ। उसलाई ईश्वरले सहारा दिनेछ, किनकि ऊ सर्वशक्तिमान छ, त्यसैले जे पनि गर्न सक्छ ।’ वास्तवमा आदिम कालमा यस्तो सोच समाजका लागि उपयोगी पनि थियो। पीडामा परेको मान्छेका लागि ईश्वरको कल्पना उपयोगी हुन्छ।
आफ्नै खुट्टामा उभिउँ
तर अब समाजले यस्तो भ्रमपूर्ण विश्वासविरुद्ध लड्नुपर्छ। मान्छे जब आफ्नो खुट्टामा आफैं उभिने प्रयास गर्छ, यथार्थवादी बन्छ तब उसले श्रद्धालाई एकातिर फ्याँकिदिनुपर्छ र ती सबै कष्ट र समस्याहरूको साहस र हिम्मताका साथ सामना गर्नुपर्छ। जसमा परिस्थितिले उसलाई पछार्न सक्छ। आज मेरो यही स्थिति छ। र, यो मेरो अहङ्कार हैन। मेरा मित्र! यो मेरो सोच्ने तरिका हो। यही सोचले नै मलाई नास्तिक बनायो। ईश्वरमा विश्वास र दिनदिनैको प्रार्थनालाई म मनुष्यका लागि सबभन्दा स्वार्थी र बेकारको काम मान्दछु। मैले ती नास्तिकहरूका बारेमा पढेको छु–जसले सबै विपत्तीहरूको बहादुरीका साथ सामना गरे। अतः म पनि एउटा साहसी मान्छेझैँ फाँसीको फन्दाका अन्तिम घडीसम्म शिर उँचो गरेर उभिइरहन चाहन्छु।
हेर्नु छ, मैले कसरी आफ्नो शिरलाई अन्तिम अवस्थामासम्म उँचो राख्न सक्छु। मेरा एक मित्रले मलाई यो समयमा (फाँसी दिइने अवस्थामा)ईश्वरको प्राथना गर्न भने। जब मैले उनलाई आफू नास्तिक भएको कुरा गरेँ तब उनले भने, ‘आफ्ना अन्तिम दिनहरूमा तिमी विश्वास गर्न थाल्नेछौं।’ मैले उनीसँग भने– ‘प्रिय मित्र ! अवश्य यस्तो हुने छैन। मैले भ्रमपूर्ण ईश्वरको प्रार्थना गर्ने कुरालाई अपमानजनक र भ्रष्ट कुराका रूपमा बुझ्दछु। म प्रार्थना गर्नैछैन।’ पाठकहरू! मित्रहरू! के यो मेरो अहङ्कार हो? यदि हो भने म त्यसलाई स्वीकार गर्छु।
(मार्कसिस्ट्स्डटओआरजीबाट नेपाल रिडर्सका लागि प्रकाज अजातद्वारा अनुदित।)