सिंगापुरलाई ‘चार एशियन टाइगर वा ड्रागन’मध्येको एक मानिन्छ। यसमा सिंगापुरसँगै हङकङ, दक्षिण कोरिया र ताइवान पनि पर्छन्। सिंगापुरले केही समय अघि मात्रै विश्वकै सबैभन्दा प्रतिस्पर्धी अर्थव्यवस्थाको रूपमा आफ्नो स्थानलाई पुनः प्राप्त गर्दै अमेरिका र हङकङलाई समेत उछिनेको छ।
स्विस बिजनेस स्कुल (आइएमडी)ले यो र्याङ्किङ गरेको हो र आइएमडीले कुनै देशले कसरी व्यवसायिक वातावरणलाई प्रबर्धन गर्छ र त्यसको प्रभावस्वरूप कसरी उद्यमहरूमार्फत दिगो विकास प्राप्त हुन्छ, रोजगारी उत्पादन हुन्छ र नागरिकहरूको कल्याणको काम बढ्न जान्छ भनेर अध्ययन गर्नेगर्छ।
आर्थिक रूपमा सिंगापुर शिखरमा उदाउने कारणहरु भनेका यसको उन्नत प्राविधिक पूर्वाधार, सीपमूलक श्रमको उपलब्धता, अनुकूल आप्रवासन कानून र कुशल तरिकाबाट नयाँ व्यवसायको स्थापना गर्ने वातावरण नै हुन्। दक्षिणपूर्व एशियाको एउटा सानो देशले कसरी यस प्रकारको चमत्कार गर्न सक्यो? दुई वर्ष भन्दा बढी समय बसेको म एउटा विदेशीको आँखामा सिंगापुरको सफलताका कारणहरू निम्नानुसार हुन् भन्ने लाग्छः
भूगोल र छिमेक
सिंगापुर रणनीतिक रूपमा दक्षिणपूर्वी एशियाको मध्यभागमा एउटा व्यापारिक र ‘आपूर्ति’ केन्द्रको रूपमा अवस्थित छ। उदाहरणका लागि : अति छोटो दूरीमा जानुपर्दा जापान र दक्षिण कोरियाजस्ता दक्षिणपूर्वी एशियाली देशहरूका लागि निर्यात हुने तेल बोकेर मध्य एसियाबाट आएका कन्टेनर जहाजहरू मलाक्का स्ट्रेट हुँदै जाने गर्छन्। ती कन्टेनरहरू सिंगापुरमा इन्धन नभरी आफ्नो पूरा दुरी तय गर्न सक्दैनन्। कन्टेनर जहाजहरूको बिसौनी भएको सन्दर्भ हेर्दा सिंगापुर प्राकृतिक रूपमै व्यापारिक केन्द्र बन्नका लागि राम्रो अवस्थिति भएको मूलुक हो।
राजनीतिक स्थायित्व र सहज नीतिहरू
पिपुल्स् एक्सन पार्टी सिंगापुरको एउटा प्रमुख सेन्टर–राइट राजनीतिक पार्टी हो। यो पार्टी पूर्व विद्यार्थी संगठनबाट विकसित हुँदै स्वतन्त्रता समर्थक पार्टीका रुपमा सन् १९५४ मा स्थापित भएको हो । यो नै अहिले सिंगापुरको राजनीतिक प्रणालीमा हावी छ। पार्टीका संस्थापक सदस्यहरूमध्ये लि क्वान यू सिंगापुरको पहिलो प्रधानमन्त्री भए, र तीन दशक सम्म शासन गरे। उनको कार्यकालमा सिंगापुर “एउटै पुस्तामा ‘तेस्रो विश्व’को देशबाट ‘पहिलो विश्व’ को देश’को रुपमा उदय भइरहेको छ। यी लि क्वान यू नै राष्ट्रको संस्थापक पिताका रूपमा चिनिए।
लिले चुनावी धाँधलीलगायत अनेकौँ संस्थानहरूमार्फत एकदमै कडा एकदलीय शासन व्यवस्थापन गरे। उनी लामो अवधी शासन गर्जन सकेका कारण लिलाई एउटा सानो शहर–राज्यमा आफ्नो भव्य योजना र दृष्टिलाई साकार गर्नका लागि पर्याप्त शक्ति प्राप्त भयो। यो एकदलीय शासनको राजनीतिक प्रणालीले आर्थिक विकासका लागि एउटा उर्वर आधार प्रदान गर्यो। एक दूरदर्शी नेताको करिस्मा र नेतृत्वका साथ उदय भएको सिंगापुर अरु विकासशील देशहरूमा पनि विकासलाई उत्प्रेरित गर्ने उदाहरण भएको छ।
‘मास्टर प्लान एमपी’ वैधानिक भूमि उपयोगसम्बन्धी सिंगापुरे योजना हो। यस योजनाले बीचको समयको १० देखि १५ वर्षसम्म सिंगापुरको विकासलाई मार्गनिर्देश गर्यो। भूमि र सम्पत्तिको विकासलाई मार्गनिर्देशन गर्नका लागि सिंगापुरमा प्रत्येक पाँच वर्षमा यस योजनाको समीक्षा गरिन्छ र यसले सरकारको व्यापक दीर्घकालिन रणनीतिलाई विस्तृत योजनामा ढाल्ने काम गर्छ। स्थायीत्व प्रदान गर्दै समय–समयमा उठ्ने परिस्थितिजन्य आवश्यकता पूर्ति गर्नका लागि यो योजनाको बेलाबेला संशोधन गर्ने गरिन्छ किनकि सो ‘मास्टर प्लान’ पर्याप्त रूपमा लचक पनि छ।
दक्षिण कोरियामा भने यसको ठिक उल्टो उदाहरण छ। त्यहाँ सरकारमा हुने परिवर्तनले अघिल्लो शासनमा लागु भएका नीतिहरू पूर्ण रूपमा उल्ट्याइदिन सक्छ। राष्ट्रपति मुन जे इन सत्तामा आएको वर्षौंपछि न्युक्लियर पावरप्लान्टको विघटनका साथै विगतका दशकमा विकसित भएका सम्पूर्ण उद्योगहरू नष्ट गरिनु त्यसको उदाहरण हो। त्यसले दीर्घकालिन योजना बनाउनका लागि नीतिको स्थायित्व हुनु कति महत्वपूर्ण छ भन्ने कुरा देखाउँछ।
व्यापारका लागि एक स्थायी स्थानका रूपमा सिंगापुरको अवस्था हङकङसँग पनि बिलकुल विपरित छ। व्यवसायमैत्री रेपुटेसन भएको अर्को ‘शहर–राज्य’ हो हङकङ, जसले विगतमा आफ्नो देशमा धेरै लगानी आकर्षित गरेको छ। त्यहाँ भएको पछिल्लो राजनीतिक अस्थिरताका कारण व्यवसायिक भावनामा कति नकारात्मक असर गर्न सक्छ त्यो हेर्न बाँकी छ।
कुशल र सक्षम सार्वजनिक क्षेत्र
सिंगापुरका धेरै मेधावी युवाहरू सरकारी छात्रवृत्तिमा विदेश पढ्न जान्छन्। तथापी, उनीहरू सिंगापुर नै फर्कन्छन् र धेरै समयसम्म सार्वजनिक क्षेत्रमा काम गर्नका लागि अनुबन्ध भएका हुन्छन्। यसको अलावा, सिंगापुरमा कर्मचारीका लागि लामो समयदेखि उच्च पारिश्रमिक नीतिको व्यवस्था छ। सरकारी कर्मचारीलाई प्रतिस्पर्धी र सक्षम बनाउनका लागि नियमित रूपमा तलवको समीक्षा र संशोधन गर्ने गरिन्छ।
देशको आर्थिक क्षमता राम्रो हुँदा सरकारी जागिरेहरूले बोनससमेत पाउने गर्छन्। यस्तो नीति राम्रो तलब पाउने एउटा कर्मचारी भ्रष्टाचारमा संलग्न नहुने सम्भावना उच्च हुन्छ भन्ने विश्वासमा आधारित छ। यद्यपि सार्वजनिक क्षेत्रमा भ्रष्टाचार भयो भने सरकारले दोषीलाई कठोर सजाय दिन्छ।
यस ‘केरट एण्ड स्टिक’ ( पुरस्कार र दण्डको नीति) नीतिका साथ सिंगापुरले यस्तो सार्वजनिक क्षेत्रको वातावरणको सिर्जना गर्यो, जहाँ प्रतिभाशाली नागरिक काम गर्न र समाजका लागि योगदान गर्न मन पराउँछन्।
यस परिणाममूखी दक्षताको एउटा उदाहरण हो : यातायात मन्त्रालय। केही समय अघिमात्र यस मन्त्रालयले सार्वजनिक यातायात प्रणालीमा हाइब्रिड एप्रोचको कुरा गरेको छ। यस हाइब्रिड अप्रोचले राष्ट्रियकरण प्रणाली (सरकारले नियमन गरेको बस सेवा, रेल लाइन तथा संचालन मानक) को जिम्मेवारीपना र निजी क्षेत्र (बस तथा रेल सञ्चालन गर्ने निजी कम्पनी)को कुशलतालाई जोड्ने काम गर्छ।
व्यवसायमैत्री वातावरण
सिंगापुर न्यून कर दरका लागि परिचित छ। आय तथा कर्पोरेट कर दरहरू संसारमै सबैभन्दा न्यून मध्येमा पर्छ। सबैभन्दा प्राथमिकतामा कर छुट पर्दछन्। पूँजी लाभ, लाभांश, विरासत र उपहारहरूमा कर लाग्दैन। सुन, चाँदी तथा बहुमूल्य धातुको किनबेचमा कर लाग्दैन। यस्ता बहुमूल्य धातुका लागि सिंगापुर व्यपारिक केन्द्र बन्ने प्रयास गर्दैछ।
लगानीका प्रमुख क्षेत्र तथा उद्योगहरूका लागि सरकार सहयोगी भएकाले विदेशी लगानी तथा कम्पनीलाई आकर्षित गर्नका लागि एउटा महत्वपूर्ण भूमिका खेल्छ। यसको अलावा यहाँका सरकारी कर्मचारीहरूमध्ये धेरैजसो शिक्षित र कुलिन वर्गका छन्, जो कुन उद्योगलाई ध्यान दिइनुपर्छ र प्रवर्धन गरिनुपर्छ भन्ने कुरा राम्रोसँग जान्दछन्।
असमानताका बावजुद बस्नका लागि योग्य
तीव्र आर्थिक विकासको एउटा अपरिहार्य ‘बाइप्रोडक्ट’ असमानताको उदय पनि हो। ‘गिनी कोओफिसिएन्ट’द्वारा मापन गरिएझैँ सिंगापुरमा उच्च स्तरको असमानता रहेको कुरा सत्य हो।
सरकारले योग्यतातन्त्रमा विश्वास गर्ने र व्यवहारिक दृष्टिकोण अपनाउने भएका कारण यहाँ असमानताको उदय भएको हो। सिंगापुर सरकार ‘कम सुविधा प्राप्त भएका मानिसहरूबीच अवसरहरूको पहुँच पुर्याउन तथा अवसरको अधिकतम लाभ उठाउन, अभावलाई कम गर्न र दुई वर्गबीचको भिन्नतालाई संकुचित गर्न’ का लागि यस्तो व्यवहारिक दृष्टिकोण अपनाएको विश्वास गर्छ। जसले गर्दा सबै एकैसाथ उठ्न सक्छन् भन्ने उसको विश्वास छ।
उच्च स्तरको असमानताका बावजुद सिंगापुरले कम धनीहरूका लागि उनीहरूले खरिद गर्न सक्ने खालको आवासीय वातावरणको व्यवस्था गर्यो। बस तथा मास र्यापिड ट्रान्जिट सबवे (एमआरटी)हरू सहित सिंगापुरको सार्वजनिक यातायातको गुणस्तर सबैभन्दा राम्रो छ। यस्तै, सिंगापुरको सार्वजनिक यातायात अमेरिका र बेलायतजस्ता अरु विकसित देशहरूको तुलनामा पत्याउनै नसकिनेगरी सस्तो पनि छ।
अर्कोतर्फ, सिंगापुरमा कार किन्नका लागि धेरै महंगो पर्छ। सरकारले कारको लाइसेन्सका लागि उच्च मूल्य तोकेर अटोमोबाइलहरूको संख्यालाई सीमित गरेको छ। लाइसेन्सका लागि अत्याधिक मूल्यका कारण सिंगापुरमा कारको लागत दक्षिण कोरियामा हुने व्ययभन्दा तीन गुणा बढी पर्न जान्छ।
यस्तै, यहाँ अर्को ठूलो असमानता आवास र खानामा छ। एकातर्फ, आम सिंगापुरवासी ‘हाउजिङ एण्ड डेभलपमेन्ट बोर्ड (एचडीबी)’ बाट आर्थिक सहायता प्राप्त सार्वजनिक आवfसहरूमा बस्छन् र ‘हकर सेन्टर’ भनिने स्थानीय भोजन अड्डामा ४.४५ अमेरिकी डलर मूल्यमा खाना खान्छन्। अर्कोतर्फ, सिंगापुरका धनाढ्यहरू कुनै हाउजिङ कम्प्लेक्सका महंगा निजी घरमा बस्छन्। ती एचडीबीले उपलब्ध गराएको आवासभन्दा दुई वा तीन गुणा बढी महंगो हुन्छन्। उनीहरू एकदमै महंगा र शानदार स्थानहरूमा खाना जान्छन्। यद्यपि एचडीबीमा बस्नेहरूले एमआरटी प्रयोग गरेर सस्तो अड्डामा खाना खाँदै गर्दा उनीहरूले राम्रो स्तरको जीवनशैली पनि कायम राखेका छन्। सिंगापुर सरकारको यो एउटा प्रमुख चलाख्याँइ पनि हो।
एक अर्थमा सिंगापुरले धनी र कम धनी दुवै वर्गका लागि विभिन्न प्रणालीहरूको सिर्जना गरेको छ। तर कम धनीका भन्दैमा आवासीय स्तर र वातावरण कम गुणस्तरको बनाइएको छैन। यसबाट ‘आखिर असमानता त हुन्छ नै’ भन्ने कुरालाई यस सरकारले स्वीकार गरेको छ। त्यसो हुनाले, सिंगापुर सरकारले धनको वितरणमा ध्यान केन्द्रित गर्नुभन्दा योग्यतातन्त्रलाई बढावा दिने र दुवै वर्गका लागि ‘एउटा राम्रो आवासीय’ वातावरण प्रदान गर्नुलाई प्राथमिकतामा राखेको छ।
निश्कर्षः
माथिका सबै कारणहरूले सिंगापुरलाई बस्नका लागि एउटा अति नै विशिष्ट ठाउँका रूपमा स्थापित गरेको छ। सिंगापुरको मेरो बसाइको अनुभवको आधारमा म यति कुरो ढुक्कले भन्नसक्छु कि सिंगापुर अब पनि एसियाको केन्द्रका रुपमा चम्किरहने छ र भविष्यमा पनि धनी नै रहिरहनेछ।
एशियन टाइम्सबाट मेनुका बस्नेतको अनुवाद।










