कार्ल मार्क्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले १० हजार जनालाई मार्क्सवादको अध्ययन गराउने भएको छ । नेकपा (एमाले)का उपमहासचिव एवं उक्त राष्ट्रिय समितिका संयोजक घनश्याम भूसालले धुलिखेलमा संचालित ५ दिने ‘कार्ल मार्क्स राष्ट्रिय स्कूल’ को समापन कार्यक्रममा उक्त जानकारी गराउनु भएको हो ।
उक्त स्कूलमा नेकपा (एमाले), नेकपा (संयुक्त), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेपाल र स्वतन्त्रगरी ३५० बढी युवाहरुको सहभागीता रहेको थियो । गहन छलफलका लागि उपस्थित सहभागीहरुलाई पाँचवटा समूह बनाई अन्तक्रियात्मक ढङ्गले प्रभावकारी विमर्श गरिएको थियो ।
अति सघन ढंगले भदौ १३ देखि १७ गतेसम्म आवासीय रुपमा चलेको उक्त स्कूलमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, ज्ञान सिद्धान्त, मार्क्सवादी नारीवाद, विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय राजनीति, बेल्ट एण्ड रोड इनिशियटिभ र नेपाल-चीन-भारतको त्रिदेशीय सहकार्य लगायतका विषयहरुमा राजनीतिज्ञ तथा विज्ञहरुबाट प्रशिक्षण र विमर्श गरिएको थियोे ।
कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीको सन्दर्भमा मार्क्सवादी विचार तथा सिद्धान्तको प्रचार प्रसार गर्न गठित राष्ट्रिय समितिले मार्क्सवादका आधारभूत सिद्धान्त एवं नेपालको कम्युनिष्ट आन्दोलनका करिब ७ दशकका अनुभव, शिक्षा र आगामी बाटो बारे नयाँ पिँढीलाई जानकारी र दिशानिर्देश गर्नु उक्त स्कूलको उद्देश्य रहेको आयोजक समितिका डा. विजय पौडेलले बताउनु भयो ।
स्कूलमा नेपाली वाम आन्दोलनका शिक्षाबारे वरिष्ठ नेताहरु मोहनविक्रम सिंह, बामदेव गौतमले बृहत समूहमा सम्भाषण दिनु भएको थियो । यसैगरी, नेपाली काँग्रेसका नेता प्रदिप गिरीले ‘कार्ल मार्क्स एवं उहाँको देन’ र चैतन्य मिश्रले ‘मार्क्सवादी अध्ययनका लागि केही सरोकार’बारे सम्भाषण दिनु भएको थियो ।
फरक–फरक कम्युुनिष्ट पार्टीमा क्रियाशील यति धेरै कामरेडहरु मार्क्सवादको अध्ययन/विमर्शका लागि एकै ठाउँमा सहभागी हुनु आफैंमा ठूलो महत्वको बिषय भएको संयोजक भूसालले बताउनु भयो ।
सबै घटना, समस्या र फरकपनलाई यस स्कूलमा सिकिएको मार्क्सवादी अध्ययन विधि भित्र रहेर हेर्दा समाधान गर्न सजिलो हुने सह–संयोजक एवं माओवादी केन्द्रका नेता राम कार्कीले बताउनुभयो ।
उक्त, स्कूल पुष्पलाल स्मृति प्रतिष्ठान, नेपाल अध्ययन केन्द्र, मदन भण्डारी अध्ययन केन्द्र, घनश्याम ढकाल स्मृति प्रतिष्ठान, पोष्टबहादुर स्मृति प्रतिष्ठान, कृष्णसेन इच्छुक प्रतिष्ठान र कम्युनिष्ट संग्राहलय नेपालको प्रायोजनमा सम्पन्न भएको थियो ।