Sunday, March 7, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विचार समाज इतिहास

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

by पत्रपत्रिकाबाट
September 6, 2017
- इतिहास, समाज
Share on FacebookShare on TwitterEmail

राजनीतिक वृत्तमा चर्चा हुन्छ, हिजोआज मन्त्रिपरिषदबाट निर्णय हुने विषयहरु बैठक नबस्दै लैनचौरस्थित भारतीय दूतावास पुग्छ । तर, एक समय यस्तो पनि थियो, भारतीय दूतावासले १५० रुपैयाँको दरले मन्त्रिपरिषदका निर्णयहरु किन्थ्यो।

कुरा २०३२ सालको हो। तत्कालीन जल तथा विद्युत् सहायकमन्त्री ध्यानबहादुर राईका स्वकीय सचिव विजयराज चापागाईंमार्फत भारतीय दूतावासले मन्त्रिपरिषदका निर्णय किन्ने गर्थ्यो । भारतीय दूतावासको प्रथम सचिवको आवरणमा रहेका रअ एजेन्ट बिके राजपुतले चापागाईंसँग नेपालको मन्त्रिपरिषदका प्रति निर्णय १५० रुपैयाँका दरले किन्ने गर्थे।

तत्कालीन बागमती अञ्चल एसपी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर राईले विशेष अदालतमा दायर गरेको मुद्दाको कागजातमा यस्तो तथ्य फेला परेको हो । निर्णय बेच्ने कार्यमा तत्कालीन नेपाल गुप्तचर विभागका कर्मचारी युवराजशमशेर जबरा र व्यवसायी मीनप्रसाद खतिवडा समेत संलग्न थिए।

जबराले नै चापागाईं र खतिवडालाई राजपुतसँग सम्पर्क गराएका थिए । तर, पछि जबराले आफू गुप्तचरी कार्यकै लागि आफ्नो संस्थालाई जानकारी गराएर उनीहरुसँग जोडिएको बयान दिएका थिए।

‘श्री ५ को सरकारबाट प्रकाशित नभएका प्रहरी सुधार योजना तथा विभिन्न कूटनीतिक तथा सैनिक गतिविधि जस्ता आन्तरिक गोपनीयता निर्णयका कागजताहरु निस्केका। त्यस्ता गोपनीय निर्णइ कागजात प्रलोभनमा परी विदेशी मानिसलाई बिक्री गरेको गर्न उद्योग गरेको समेत देखिन आएकाले विपक्ष विजय चापागाईं, मीनप्रसाद खतिवडा समेत २ जनाले जासुसी ऐन २०१८ दफा ३ (१) (२) अन्तर्गत कसुर अपराध गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा ६ अनुसार सजाय हुन सम्मानित अदालतसँग अनुरोध गरिन्छ,’ एसपी कार्यालयले दायर गरेको मुद्दामा भनिएको छ।

सरकारी निर्णय दूतावासमा बेच्ने काण्डमा मुछिएका विजयराज चापागाईं, मीनप्रसाद खतिवडा र युवराजशमशेर जबराले प्रहरीसमक्ष दिएको बयान र प्रहरीको अभियोजन यस्तो छ:

विजयराज चापागाईंको बयान

०३१ साल बैशाख १० गतेबाट माननीय जल तथा विद्युत् सहायक मन्त्री श्री ध्यानबहादुर राईको पिएमा काम गर्दै थिएँ । यत्तिकैमा ०३२ साल साउनको ५–६ गतेतिर मैले अघिदेखि चिनेका मीनबहादुर खतिवडा मेरो डेरामा आई मसँग मन्त्रिपरिषद्को निर्णय र प्रस्तावहरु बेच्न पाइन्छ, बेचौं भने । मैले पनि हुन्छ भनेँ।

त्यसपछि त्यही साउन १० गते मीनप्रसाद र म युवराज शमशेरको घरमा गयौं । त्यहाँ सोही निर्णयहरु बेच्ने कुरा भयो र भारतीय राजदूतावासको प्रथम सचिवलाई बेच्ने र प्रति निर्णय रु १५० का दरले लिने भन्ने कुरा भयो । युवराजजी हामी दुईलाई त्यहाँ राखी पहिले नै सो प्रथम सचिव भन्नेको घरमा गएर एकछिनपछि हामीलाई पनि बोलाएकाले म र मीनप्रसाद पनि गयौं । युवराजको घर नजिकै भएको एउटा घरमा गयौं । युवराज त्यही रहेछन् र सोही घर प्रथम सचिव राजपुत भन्नेको रहेछ।

त्यहाँ गई कुराकानी भएपछि प्रति निर्णयको रु. १५०  लिने कुरा भयो र मैले लिई गएको नं ९ को निर्णय त्यहाँ देखाएँ । त्यसपछि सोही कोठामा सक्कल निर्णयको फोटो पनि खिची लिएँ । फोटो खिचिसकेपछि मीनप्रसाद र म त्यहाँबाट आयौं।

भोलिपल्ट ११ गते मैले ९ नं. का निर्णयको २ प्रति टाइप गरिराखेको थिएँ । मीनप्रसाद आई मागेकोले १ प्रति निजलाई दिई पठाएँ । त्यसको भोलिपल्ट १२ गतेका दिन मीनप्रसादले मेरो डेरामा आई पैसाको हिसाब मिलेन भनेकाले मीनप्रसाद र म युवराजको घरमा जाँदा निजलाई भेट भएन। हामी दुई जना मात्र राजपुतको घरमा गयौं। त्यहाँ रक्सी खाई मैले लगेको निर्णयको नक्कल देखाई सो निर्णयहरु बेच्न मोलको बारेमा कुरा गर्दा पैसामा कुरा मिलेन र हामी त्यहाँबाट आयौं।

१९ या २० गते मीनप्रसाद मेरो डेरामा आई मेरी श्रीमतीलाई रु ५०० दिई गएछन् । त्यसपछि २४ गते मीनप्रसाद र युवराज मेरो डेरामा आई मसँग निर्णयहरु मागे । मैले पहिलेदेखि टाइप गरी राखेको २५ र २९ नम्बरको निर्णयको नक्कल प्रति २ र अरु ३ प्रति सक्कलै निर्णयहरु दिई सो सारी लानू भनी दिएँ । निजहरुले सो सारी लिई गएका हुन्। साथै, निर्णयहरु दर्ता गरी राखेको दर्ता किताब मैले मन्त्री ज्यूको निवासस्थानबाट ल्याइ मीनप्रसादलाई दिइ पठाएको थिएँ । भोलिपल्ट फर्काउन ल्याएका थिए।

साथीहरुको बहकावमा लागेर रुपैयाँको लोभमा परी यस्तो काम गरेको हुँ।

मीनप्रसाद खतिवडाको बयान

म व्यापारको काम खोज्दै हिँड्दा ०३१ साल मंसिरदेखि युवराज शमशेरसँग मेरो चिनाजानी भएको हो । निजले मलाई लकडीको काम मिलाइदिन्छु भनी मसँग पहिलो पटक रु ६०० र त्यसपछि ४९०० लिएका थिए । तर, समानहरु दिएनन् र मैले पैसा फिर्ता माग्दा आज–भोलि भनी आलटाल गरी दिएनन् । त्यसै कुरामा म निजको घरमा आवतजावत गर्ने गर्दै थिएँ।
त्यत्तिकैमा ०३२ साल साउन ४ या ५ गते रुपैयाँ माग्न जाँदा पैसा छैन, तर एउटा काम गर, तिमी र म समेतलाई फाइदा हुन्छ भने।

मैले के काम भन्दा ‘मन्त्रिपरिषदका निर्णयहरु पिएहरुसँग हुन्छ, सो किन्ने मानिसहरु मसँग छन्, तिम्रै जिल्लाको विजय चापागाई जलविद्युत् सहायक मन्त्री श्री ध्यानबहादुर राईको पिए काम गर्छ, तिमी एकपटक निजको डेरामा गई कुरा गर’ भनी युवराजले सिकाए।

मैले हुन्छ भनी आई साउन ६ गतेतिर विजयको डेरामा नै विजयलाई भेटी अरु कुरा गरिसकेपछि ‘मन्त्रिपरिषदका निर्णयहरु किन्ने मानिस पाइदा रहेछन्, तपाईं पैसा पाए दिन सक्नुहुन्छ’ भनी मैले सोध्दा ‘कुन विदेशीहरुले खोज्दा रहेछन्’ भने । ‘पैसा लिई दिन सकिन्छ र त्यस मानिससँग म आफैं गई कुरा गर्छु’ भनी विजयलाई भनेँ । १० गते कुरा मिलाउने सल्लाह गरी म फर्किएँ।

८ गते म युवराजको घरमा गई विजयसँग भएको कुरा भनेँ । युवराजले पनि ‘हुन्छ १० गते म पनि मानिसहरुलाई यही डाकिराख्छु, तिमी पनि विजयलाई लिई आउनू, आउँदा निर्णयको कागजहरु पनि ल्याउनू’ भने।

मैले पनि सो किन्ने मानिस को हो भन्दा ‘भारतीय दूतावासका प्रथम सचिव राजपुतसँग मेरो कुरा भएको छ, निजलाई नै मेरो घरमा बोलाइराख्छु’ भनी भनेपछि म त्यहाँबाट हिँडेँ।

१० गते म विजयको डेरामा गई विजयलाई लिई युवराजको घरमा गयौं । त्यहाँ युवराजले हामी दुवैलाई बोलाई निजको कोठाभित्र लगे । त्यहाँ निर्णय बेच्ने कुरा हामी ३ जनाले गर्‍यौं । निर्णय बेच्ने कुरा पक्का भएपछि युवराजले हामी दुईलाई त्यही कोठामा राखी बाहिर गए ।

१५–२० मिनेटपछि युवराजको छोरा आई ‘तपाईंहरु माथिल्लो घरमा जानुहोस्, फोन आएको छ’ भने।

म र विजय त्यहाँबाट विजयको घरभन्दा उत्तरपट्टिको अर्को घरमा गयौं । त्यहाँ ढोकामा युवराज रहेछन् । निजले नै हामीलाई घरभित्र लगे। त्यहाँ एक जना भारतीय व्यक्ति रहेछन् । युवराजले सो व्यक्तिलाई ‘सेक्रेटरी साहेब हो’ भनी हाम्रो चिनाजानी गराइदिएर निजको नाम राजपुत रहेछ । त्यसपछि युवराजले निर्णयको कुरा झिके । युवराजले विजयसँग तपाईंले ल्याउनुभएको निर्णय झिक्नुहोस् भने । विजयले आफ्नो ब्यागबाट एउटा कागज निकाली युवराजलाई दिए । युवराजले सो कागज राजपुतलाई देखाए ।

त्यसपछि पैसाको मोलतोलको कुरा गर्दा युवराजले ‘म रु २०० सम्म दिलाइदिन्छु, त्यसमा विजयलाई रु १५०, म र युवराजले २५÷२५ रुपैयाँ लिने’ भने । सो कुरा विजयले मञ्जुर गरे।

त्यसपछि हामी तीनै जना उक्त राजपुतको घरमा गयौं । त्यहाँ गएपछि विजयसँग भएको निर्णय मागी राजपुतले त्यसको ३–४ प्रति तस्बिर खिची राखे । त्यसपछि हामी तीनै जना युवराजको घरमा आयौं । त्यहाँ युवराजले विजयसँग ‘तिमीसँग निर्णयहरु कति छन्, कहिले ल्याउँछौ, काम गरी छिटै पैसा लिइहाल्नुपर्छ’ भने।

विजयले ‘४–५ सय निर्णयहरु होलान् । तर, पैसा थोरै भयो बढाउनुहोस्’ भन्दा ‘हुन्छ म बढाउँछु भनी युवराजले भनेपछि विजय र म त्यहाँबाट आयौं । भोलिपल्ट २२ गते म युवराजको घरमा खर्च माग्न जाँदा निजले मलाई रु १६० दिई ‘हिजो खिचेको फोटो डिम भयो, तिमी अहिल्यै विजयकहाँ गई मागी ल्याउनू’ भने।

त्यसपछि म विजयको डेरामा गई निजलाई भेटी युवराजले भनेको कुरा भन्दा हुन्छ भनी टाइप गरी राखेको निर्णयको १ प्रति विजयले मलाई दिए । साँझ मैले सो प्रतिलिपि युवराजकहाँ लगेर दिएर त्यहाँ एकछिन बसेर फर्किएँ । बाटोमा युवराजले भोलि विजयलाई डाकी ल्याउनू भने । त्यसपछि भोलिपल्ट साउन १२ गते विजयलाई लिई निजको डेरामा गयौं । तर, युवराज घरमा भेटिएनन्।

हामी दुवै जना राजपुतकै घरमा गयौं । त्यहाँ राजपुलाई भेटी रक्सी खाई त्यहाँ निर्णयबारे मोलतोलको कुरा भयो । त्यसपछि हामी त्यहाँबाट आई डेरातर्फ गयौं । भोलिपल्ट बिहानै युवराज मेरो घरमा आई ‘हिजो विजयलाई मेरो घरमा किन ल्याएनौ’ भने । मैले हामी मात्र राजपुतकहाँ गयौं भन्दा उनले शंका गरी तिमीहरुले मात्र पैसा लिई आयौ भने।

मैले होइन भन्दा ‘म नगई कुरा मिलेन’ होला भने । सोही साँझ म र युवराज विजयको डेरामा गयौं । कुरा गर्दा ‘पैसा थोरै भयो, पैसा बढाए मात्र म यहाँ काम गर्छु’ भनी विजयले भन्दा युवराजले ‘हुन्छ म कोसिस गर्छु’ भनी फर्के।

त्यसपछि म विजयसँगै युवराजले बोलाएको छ भन्दा निजले म युवराजको घरमा जान्नँ भने । सो कुरा मैले युवराजलाई भनेँ । युवराजले लाजिम्पाटमा भेटेर कुरा गर्ने भनेका थिए । तर, दुई पटक विजय र म जाँदा निजसँग भेट भएन । साउन १८ गते म युवराजकहाँ गई हामी २ पटक लाजिम्पाटमा गयौं । तर, तपाईं किन नआएको भन्दा निजले ‘मैले जवान कमान गरी रु १००० पेस्की लिएको छु, विजयलाई रु ५०० दिनु र रु ५०० तिमी लिनू’ भनी मलाई १००० दिए । ‘अर्को २ वटा राजदूतावासमा मैले कुरा मिलाएको छु, त्यहाँ देखाउन १ प्रति निर्णयको नक्कल मागी ल्याउनू’ पनि भने।

मैले हुन्छ भनी त्यहाँबाट विजयको डेरामा जाँदा निजसँग भेट भएन । निजकी श्रीमतीलाई विजय आएपछि दिनू भनी मैले रु ५०० दिइ गएँ। भोलिपल्ट म विजयको घरमा गई सो रुपैयाँ दिएको र युवराजले भनेको कुरा भनी अर्को निर्णयको नक्कल माग्दा तिमी नै सारेर लग भनी मलाई एउटा सक्कलै निर्णय प्रति दिए । मैले आफैंले सारेर ल्याई फोनद्वारा खबर गरेँ । युवराज आई भूगोलपार्कनिर मलाई भेटी सोको नक्कल प्रतिलिपि लिएर गए।

साउन २० र २१ गते म र युवराज राजपुतको घरमा गयौं । त्यहाँ मेरो व्यक्तिगत कुराको अतिरिक्त सो निर्णयहरुको बारेमा पनि कुरा भयो र त्यहाँबाट आयौं । बाटोमा युवराजले मलाई ‘तिमीले विजयसँग ५–६ प्रति निर्णयको नक्कल जसरी भए पनि मागी ल्याउनू र यसलाई दिन्छु, योसँग पैसा लिई राखेको छु’ भने।

मैले पनि हामी दुवैले विजयसँग यसबारे कुरा गरौं भनी भनेको थिएँ । २४ गते बिहान १०:३० बजे म विजयकहाँ गएँ  । युवराज त्यहाँ रहेछन्। त्यहाँ ३ प्रति निर्णयको नक्कल युवराजले सारिसकेका रहेछन् । २ प्रति टाइप गरेको प्रतिलिपि समेत जम्मा ५ प्रति निर्णयको नक्कल दिई युवराज निस्किए । म पनि त्यसपछि निस्किएँ।

मेरो पैसा युवराजसँग फसेको र युवराजले उपरोक्त कुराहरु गर्ने प्रेरणा दिई मलाई पैसाको प्रलोभन देखाएको र म बिखर्ची समेत भएको हुँदा पैसाकै लागि मैले बाध्य भएर यस्तो कार्य गरेको हुँ।

युवराज शमशेर जबराको बयान

मैले विजय र मीनप्रसाद समेत भई सरकारी गोप्य निर्णयहरु लाने बिक्री गरेको नेपाल गुप्तचर विभाग (नेगुवि) मा साउन १४ गते र त्यसपछि पनि समय–समयमा रिपोर्ट गरेको हुँ । मेरै प्रतिवेदन रिपोर्ट समेतको यो मुद्दाको कारबाही चलेको हो । यस मुद्दामा नेगुविमा समेत जो बुझ्न म अभियुक्त बन्न नपरोस्।

अभियोग 

यसमा अहिलेसम्म बुझिएको संकलित सवुदबाट विचार गर्दा युवराज शमशशेरको बयान  र ने. गु. वि. बाट आएको प्राप्त जवाफको सिलसिलाबाट निज युवराज शमशेरलाई पनि सम्मानित अदालतबाट खोजी भएका बखत उपस्थित गराउने गरी हाल जमानीमा छाडिएको विजय चापागाईं र मीनप्रसादको बयानबाट मन्त्रिपरिषदका निर्णयहरु भारतीय दूतावासको प्रथम सचिव राजपुत भन्नेलाई दुवै जनाको सल्लाहबाट म. पं. नं. ९, २५ र २६ समेतका अति गोप्य निर्णयहरु दिएपछि दूतावासका सचिव राजपुतले सो निर्णयहरुको फोटो समेत लिएको भन्ने कुरा निजहरु बोलेको आवाजको टेप रेकर्डले समेत प्रमाणित गरेको छ।

दुवै जनाले रु ५ सय मूल्य स्वरुप लिएको भन्ने कुरामा पनि दुवै जना सावित र पिए विजय चापागाईंको डेरा खानतलासी हुँदा श्री ५ को सरकारबाट प्रकाशित नभएका प्रहरी सुधार योजना तथा विभिन्न कूटनीतिक तथा सैनिक गतिविधि जस्ता आन्तरिक गोपनीयता निर्णयका कागजातहरु निस्केका । त्यस्ता गोपनीय निर्णय कागजात प्रलोभनमा परी विदेशी मानिसलाई बिक्री गरेको गर्न उद्योग गरेको समेत देखिनाले विपक्ष विजय चापागाईं, मीनप्रसाद खतिवडा समेत २ जनाले जासुसी ऐन २०१८ दफा ३ (१) (२) अन्तर्गत कसुर अपराध गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा ६ अनुसार सजाय हुन सम्मानित अदालतसँग अनुरोध गरिन्छ।

यसबारे मिति २०३२–४–२४ मा विजय चापागाईंको डेरा तलासी हुँदा निस्केको मुचुल्कामा लेखिए बमोजिमका गोपनीय निर्णय प्रस्ताव समेतका कागजातहरु अदालतबाट आदेश भएका बखत पेश गर्ने देखाउने गरी हाल प्रस्तुत गरिएको छैन। नेपाल लाइभडटकमबाट साभार

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

3 years ago
युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

12 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.