Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सदेखि पिकेटीसम्म: पुँजीवादको भविष्य

डा. प्रकाशचन्द्र लोहनी डा. प्रकाशचन्द्र लोहनी
भदौ २८, २०७४
- अर्थतन्त्र, रिडर्स डिस्कोर्स, विचार, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुँजीवादका समर्थक र आलोचकहरु दुबैका लागि यसको भविष्य ठूलो कौतुहलको विषय बनेको छ। पुँजीवादी उत्पादन प्रणालीको सम्भवत सबैभन्दा महत्वपूर्ण आलोचक १९ औं शताब्दीका महान विचारक तथा क्रान्तिकारी कार्ल मार्क्स थिए। कार्ल मार्क्सका अनुसार पुँजीवादी उत्पादन प्रणाली दुइधारे हतियार थियो र यसले सामन्तवादमाथि विजयको प्रतिधित्व गर्दथ्यो, किनभने यसले आर्थिक प्रणालीको उत्पादक क्षमतामा ठूलो बृद्धि ल्याउन सफल भएको थियो। तर, पुँजीवादी  विकासका तौरतरिकाहरुले त्यसका प्रणालीभित्र यसको आफ्नै ध्वंशको बीऊ साँचेको छ भन्ने उनको विचार थियो। पुँजीवादमा बचत र लगानीको वृद्धि हुन्छ र नाफाको खोजीले उत्पादनमा नयाँ प्रविधिको विकास र प्रयोगलाई प्रोत्साहित गर्दछ। तर, नाफाको खोजीले सम्पदा र आय थोरै व्यक्तिका हातमा एकीकृत गराउने दिशा तिर लाने नै भयो र आयको अन्तिम वितरणका सन्दर्भमा पुँजी र श्रमलाई विरोधी कित्तामा उभ्यायो। अन्ततोगत्वा, पुँजीको निरन्तर संकेन्द्रका कारणले सिर्जना हुने नाफाको घट्दो क्रमले अन्तिम उत्पादनमा श्रमको घट्दो हिस्साको शृंखला तिर डोर्‌याउँछ र त्यसले ल्याउने बेरोजगारीको वृद्धि तथा श्रमिक वर्गको असन्तुष्टीले क्रान्ति र प्रणालीको विध्वंश तिर डोर्‍याउँछ। यो इतिहासको अकाट्य–परिणामवादी चित्रण (deterministic potrayal) हो, जहाँ मानवीय हस्तक्षेपको खासै गुंजायस छैन। यस व्यापारमा मार्क्सले समाजमा विद्यमान तलब वृद्धिका निम्ति संघर्षरत ट्रेड युनियनहरु, मताधिकारको विस्तार, सम्पत्ति भएका मध्यमवर्गको उदय र यी परिवर्तनका सरकारको राजनीति शक्तिको बाँडफाँड तथा नीति निर्माणमा पर्ने प्रभाव जस्ता ‘सन्तुलनकारी शक्तिहरु’ को उदयलाई देख्न सकेका छैनन्। पछिल्ला दिनहरुमा ‘पाका’ मार्क्स हिंसाको मात्रा कम रहेका तौरतरिकाका माध्यमबाट पनि समाजवादमा पुग्न सकिने संकेत गर्दै विशुद्ध गणितिय (reductionism) धरातलमा पुनर्विचार गर्न थालेको देखिन्छ। यो विभ्रमलाई एकै क्षण विर्सने हो भने पनि मार्क्सले हामीलाई हार्दिकता, न्याय र स्वतन्त्रताले परिपूर्ण हुने भनिएका पुँजीवादपछिको भविष्यको चित्ताकर्षक कल्पनालोकको भव्य तथा शक्तिशाली विचारधारा प्रदान गरेका छन्।

    पुँजीवादलाई ‘इतिहासको कुडादानी’मा फ्याँकेपछि यसलाई कस्तो आर्थिक, राजनीतिक र सामाजिक प्रणालीले प्रतिस्थापन गर्ने हो? समाजवाद एउटा नयाँ सामाजिक प्रणाली हुनेछ, जसमा गरिब र धनीबीचको बढ्दो असमानताले न्यायपूर्ण र मानवीय सामाजिक आर्थिक प्रणालीको मार्ग प्रशस्त गर्छ भने त्यसमा अन्तर्निहित तत्वहरु के–के हुनेछन् त? यस विषयमा मार्क्स सिद्धान्तवेत्ता भन्दाबढी रहस्यवादी देखिन्छन्। उनको नयाँ आर्थिक एवं राजनीतिक प्रणालीको रुपरेखा प्रष्ट रुपमै अवोध्य थियो र यसलाई व्यवहारमा लागु गर्न उनले आफ्ना अनुगामीहरुलाई छाडिदिए।

    समाजवादका प्रकार

    व्यवहारमा, मार्क्सको समाजवाद र नयाँ राजनीतिक–आर्थिक ढाँचा तीन महत्वपूर्ण तत्वहरुमा आधारित थिए।

    • पुँजीवादी प्रणालीको विघटनपछि अर्थ व्यवस्थाको सञ्चालन राज्यले गर्ने।
    • व्यक्तिगत सम्पत्तिको अधिकार समाप्त गरिने र राज्य नै एकमात्र रोजगारदाता तथा लगानीकर्ता हुने।
    • माथि उल्लेखित दुई चरणका काम गर्न, सर्वहाराको पार्टी, मतलब कम्युनिष्ट पार्टीले जनताका नाममा ‘जनवादी केन्द्रीयता’ को प्रणालीका आधारमा राज्यशक्ति सञ्चालन गर्ने।

    प्रारम्भदेखि नै मार्क्सका प्रस्थापनाहरु लागू गर्ने विषय विवादास्पद रह्यो। कट्टरपन्थी समाजवादीहरुको के विश्वास रह्यो भने कम्युनिष्ट पार्टीको नेतृत्वमा व्यवहारिक समाजवादका पहिला दुई चरणहरु– उत्पादनका साधनहरुमा राज्यको स्वामित्व र नीजि सम्पत्तिमाथि निषेध– नयाँ समाजका जग हुन्। नरमपन्थी समाजवादीहरुले कहालिलाग्दो असमान आय र पूँजीवादका अत्याचारलाई विस्थापित गर्ने उत्पादनको नयाँ प्रणालीका रुपमा समाजवादको विचारलाई समर्थन गरे तर उनीहरुको तर्क के रह्यो भने यो राजनीतिक प्रतिस्पर्धाको ढाँचाभित्र रहेर प्राप्त गर्न सकिन्छ, जहाँ राज्यको पथ–प्रदर्शन तथा साझेदारीमा सामान्य जनतालाई उत्पादनका साधनहरुमा स्वामित्व प्राप्त गर्ने ठाउँ समेत रहन्छ। वास्तवमा उनीहरु प्रतिस्पर्धी पार्टी प्रणालीभित्र सामाजिक शक्तिहरुको पुनर्विन्यासको आग्रह गरिरहेका थिए। मार्क्सको दृष्टिकोणलाई प्रयोग गर्ने सिलसिलामा बिसौं शताब्दीमा यी दुवैखाले प्रयोगहरु भिन्न भिन्न देशमा गरिए।

    पुँजीवादलाई ‘इतिहासको कुडादानी’मा फ्याँकेपछि यसलाई कस्तो आर्थिक, राजनीतिक र सामाजिक प्रणालीले प्रतिस्थापन गर्ने हो? समाजवाद एउटा नयाँ सामाजिक प्रणाली हुनेछ, जसमा गरिब र धनीबीचको बढ्दो असमानताले न्यायपूर्ण र मानवीय सामाजिक आर्थिक प्रणालीको मार्ग प्रशस्त गर्छ भने त्यसमा अन्तर्निहित तत्वहरु के–के हुनेछन् त? यस विषयमा मार्क्स सिद्धान्तवेत्ता भन्दाबढी रहस्यवादी देखिन्छन्।

    बिसौं शताब्दीको अधिकांश अवधिमा सोभियत संघले समाजवादको कट्टरपन्थी धारा र ‘जनवादी केन्द्रीयता’ मा आधारित एक पार्टी प्रणाली प्रयोगमा ल्यायो। ७० वर्षपछि त्यो प्रयोग विफल भयो– बाहिरी आक्रमणको कारणले होइन, बरु जबर्जस्ती सञ्चय र औद्योगिकीकरणका लागि ग्रामीण श्रम शक्तिलाई शहरतिर सार्दा सार्दा, त्यसको स्रोत समाप्त भएपछि त्यसको प्रतिफलबाट प्राप्त प्रारम्भिक आर्थिक वृद्धिको गतिले विश्राम लिएपछि राजनीतिक र आर्थिक प्रणालीले अर्थव्यवस्थाको उत्पादकत्वमा सुधार ल्याउन नसक्दा र जनताको समर्थन पाउन नसक्दा त्यो प्रयोग असफल बनेको थियो। अन्ततोगत्वा, यो अभिजातीय शाषक वर्ग र झनै शहरीकृत र शिक्षित मध्यमवर्गबीचको आन्तरिक अन्तरसंघर्षका कारणले त्यो व्यवस्था ढलेको थियो।

    नरमपन्थी समाजवादका पनि दुई फरक मोडलहरु अपनाइएका छन्।

    • एक पार्टी पद्धतिको चीनियाँ मोडल। ‘नयाँ मान्छे’ बनाउने माओवादी दृष्टिकोणको असफलता पछि चीनले बाटो फेर्‍यो। देङ्को नेतृत्वमा उत्पादनका साधनहरुमा राज्यको स्वामित्वको क्रमिक खुकुलोपना र पुँजीवादी मूल्य एवं मान्यतामा आधारित रहेको निजी क्षेत्रलाई स्थान दिंदै जाने नीतिको कार्यान्वयनले गति पाइनै रह्यो, जसको फलस्वरुप अर्थतन्त्रमा अचम्मलाग्दो परिवर्तन भयो। एकल पार्टी नेतृत्वमा पुँजीवाद र बजार अर्थतन्त्र मार्क्सबाट अनुप्रेरित भनी दावा गरिएको नरमपन्थी समाजवादको एउटा नयाँ मोडल हो। अब यो एउटा नयाँ आर्थिक प्रणालीको मोडलको आधार बनेको छ, जसलाई ‘बेइजिङ् सहमति’ का नामले समेत चिनिन्छ ।
    • नरमपन्थी समाजवादको मोडलले एकल पार्टी नेतृत्वको राजनीतिक प्रणालीलाई अस्विकार गर्छ। यसको धारणा के छ भने पुँजीवादी शोषणलाई अन्त्य गर्ने लक्ष्य प्रतिस्पर्धात्मक राजनीति र  आय तथा उपलव्धीको उत्पादन एवं वितरण (Production and distribution of income and output)मा राज्य एवं निजीक्षेत्रको सन्तुलनमा आधारित रहेर प्राप्त गर्न सकिन्छ। यो आर्थिक वृद्धि, आयको वितरण र सामाजिक कल्याणका सम्बन्धमा राजनीतिक पार्टीहरुको आंकलन तथा निर्णयहरुमा प्रतिविम्बित हुन्छ। प्रतिष्पर्धात्मक दलिय राजनीति र बजार अर्थतन्त्रलाई बैधता प्रदान गर्न सर्वहारावर्गको हितका विषयमा मार्क्सवादी जोडलाई दर्शन शास्त्रीय आधार दिन प्रयोग गरिएको छ, भलै त्यो अलिक अप्रत्यक्ष किन नहोस्। उनीहरुको जोड राज्यको स्वामित्वमा छैन, बरु त्यो नयाँ मूल्य थप्ने तथा नाफाको नयाँ स्रोत सिर्जना गर्ने सम्भावना भएको व्यक्तिगत पहलकदमी र उद्यमशीलतामा जोड दिने खालको छ, ता कि पूँजी र श्रम बीचको संघष हुने मार्क्सवादी परिकल्पनामा जस्तो पुँजीको फाइदाको दर नघटोस्।

    नरमपन्थी समाजवादका दुई मोडलहरु आय तथा उपलव्धीको उत्पादन एवं वितरण (Production and distribution of income and output) संस्थाहरुको निर्माणमा एकरुपता बढाउन तिर लागिरहेका छन्। तर तिनीहरुलाई फरक देखाउने कुरा भनेको तिनीहरुले आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्ने राजनीतिक मार्ग नै हो।

    • पहिलो मोडल निश्चित रुपले राजनीतिक शक्तिको सञ्चय, विस्तार तथा वितरणमा एकल पार्टीअन्तर्गत पुँजीवादको गतिशीलताका फाइदाको बाली भित्र्याउने लक्ष्य लिन्छ ।
    • त्यही चिज हासिल गर्न बहुदलीय राजनीतिमा निर्भर रहन्छ। राजनीतिक शक्तिको उपयोग गर्न संस्थागत ढाँचाहरुका बारेमा उनीहरुको भिन्नताले राज्य र समाजका बीचको सम्बन्धका बारेमा उनीहरुको फरक दृष्टिकोण तिर डोर्‍याउछ।

    तथापी, नयाँ आर्थिक संस्थाहरुलाई व्याख्या गर्ने मूल्य र मान्यताहरुको उनीहरुमा एक हदसम्मको समानता रहेको तथा भविष्यमा एकरुपता आउन सक्ने देखाउँछ।

    दुबै नरम र कट्टरपन्थी समाजवादमा अटुट सरोकारका चारवटा तत्वहरु छन्। ती हुन्– पूँजी सञ्चय, पुँजीको प्रतिफल दर, आय तथा सम्पत्तिको वितरण र श्रमिकको उत्पादकत्वमा वृद्धिका निम्ति प्रविधिको परिस्करणको संस्थागतता।

    निश्चित समयावधिमा पुँजीको फिर्ति दर मार्क्सले भने जस्तो पुँजीको मात्रामा मात्रै निर्भर हुँदैन, बरु त्यो उत्पादनको एउटा अवयवका रुपमा प्राविधिक परिष्करणमा समेत निर्भर रहन्छ। यो तर्कको गुणवत्ता पहिल्याउने तथा बजारमा टिकिरहनका निम्ति प्राविधिक परिष्करण (Technical innovation) जरुरी रहने आर्थिक ढाँचाको निर्माण गर्न नसक्नु समेत २० औं शताब्दीमा सोभियत संघमा कट्टरपन्थी समाजवाद ढल्ने एउटा मुख्य कारण बन्यो। आयको वितरण र आफ्ना नागरिकहरुलाई आधारभूत आवश्यकता उपलब्ध गराउने मामलामा सोभियत संघको कट्टरपन्थी समाजवाद, सुरुवाती चरणका भयंकर असफलताका बावजुद, आर्थिक न्यायका निम्ति आवश्यक कार्यभारप्रति एकहदसम्म सफलै भएको हो। तथापी, उदयीमान मध्यम वर्गको आर्थिक आकांक्षाहरुप्रति लापर्वाह बनेर केही चुनिएका व्यक्तिहरुका निम्ति अर्थतन्त्रका विशेषाधिकारहरु केन्द्रीकृत गर्ने राजनीतिक हस्तिहरु– नयाँ राजनीतिक वर्ग– का क्रियाकलाप राजनीतिक रुपले विस्फोटक बन्यो।

    सोभियत संघको आर्थिक तथा राजनीतिक प्रणालीको असफलताले मार्क्सवादको व्यवहारिक असफलतालाई प्रतिबिम्वित गर्छ। तथापी, वैकल्पिक मोडलको खोजले अझै पनि वर्ग संघर्ष र एकल दलीय शासन पद्धतिप्रति आशक्ति आजपर्यन्त देखाइरहेको छ। यस परिप्रेक्ष्यमा तीन दशकदेखि उच्च आर्थिक वृद्धि हासिल गरिरहेको चीनको अर्थतन्त्र सम्भावित वैकल्पिक मोडलका रुपमा अगाडि आएको छ। कथित ‘वेइजिङ सहमति’ अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुद्वारा अंगीकार गरिएको प्रसिद्ध ‘वासिंगटन सहमति’ को विकल्प हुन सक्ने तिर विज्ञहरुको चाख बढेको छ। यति हुँदा हुँदै पनि, दुवै मोडलहरु समाजमा बढ्दो आय र असमानतालाई नियन्त्रण गर्न सफल भएका छैनन्। आजसम्मका अनुभवले के देखाउँछन् भने आर्थिक वृद्धि र सम्पत्ति सञ्चयमा पूँजीवाद एउटा शक्तिशाली इन्जिन हो, तर पूँजी र श्रमलाई एक अर्काका विरुद्धमा उभ्याउने यसको प्रवृत्ति एउटा ठूलो समस्या हो, जसले भविष्यमा नयाँ विचारको आवश्यकता महसुस गराउँछ।

    केनेसियन समाधान

    मार्क्स बाहेक, बिसौँ शताब्दीका एक मुर्धन्य अर्थशास्त्री केन्स थिए। उनले आर्थिक सम्पन्नताका निम्ति पूँजीवादको सवलपनाको उचित उपयोग गर्दै तथा जनताको सुख सुविधाप्रति उचित सम्बोधन गरेर पुँजीवादी प्रणालीको कमीहरुलाई व्यवस्थापन गर्न चाहेका थिए। केन्सले प्राथमिक तवरमा मागको व्यवस्थापनको माध्यमबाट पुँजीवादी प्रणालीलाई व्यवस्थापन गर्ने सैद्धान्तिक मोडल विकसित गरे, ता कि प्रतिस्पर्धा, प्राविधिक आविस्कार र बजार अर्थतन्त्रको सञ्चालनका फाइदाहरुलाई कायमै राखी आय, उत्पादन तथा रोजगारीमा हुन सक्ने टड्कारो न्यूनता देखिने आर्थिक अवन्नतिबाट बच्न सकियोस्। उनले मार्क्सले परिकल्पना गरेको स्थितिबाट बच्न आर्थिक चक्रलाई नियन्त्रण गर्न केन्द्रीय बैंक र केन्द्रीय सरकारका निम्ति मौद्रिक तथा वित्तिय साधनहरु प्रस्तावित गरे। मार्क्सिय अकाट्य–परिणामवाद (Determinism) मा चित्रण गरिएको पुँजी र श्रम बीचको शत्रुतापूर्ण संघर्ष किन्सीयन ढाँचा भित्र अनिवार्य परिणामका रुपमा नभएर प्रणालीको सुधारका निम्ति चेतावनीका रुपमा छ, ता कि यसका केन्द्रीय सञ्चालक प्रवृत्तिहरु (centrifugal tendencies)लाई नियन्त्रण गर्दै जोगाउने उपयुक्त कदमहरु उठाउँदै यसबाट फाइदा लिइरहन सकियोस्। मार्क्सिय विश्लेषण पुँजीवादलाई पुँजीपतिहरुबाट जोगाउन अन्ततः सम्भव हुने छैन भन्ने निष्कर्षका साथ अन्त्य हुन्छ र यसै परिदृष्यलाई बुझाउन पुँजीवादीहरु नै पुँजीवादका ‘चिहान खन्नेहरु’ हुनेछन् भन्ने प्रसिद्ध चित्रण पढ्न सक्छौं।

    निश्चित समयावधिमा पुँजीको फिर्ति दर मार्क्सले भने जस्तो पुँजीको मात्रामा मात्रै निर्भर हुँदैन, बरु त्यो उत्पादनको एउटा अवयवका रुपमा प्राविधिक परिष्करणमा समेत निर्भर रहन्छ। यो तर्कको गुणवक्ता पहिल्याउने तथा बजारमा टिकिरहनका निम्ति प्राविधिक परिष्करण (Technical innovation) जरुरी रहने आर्थिक ढाँचाको निर्माण गर्न नसक्नु समेत २० औं शताब्दीमा सोभियत संघमा कट्टरपन्थी समाजवाद ढल्ने एउटा मुख्य कारण बन्यो।

    मार्क्स जस्तै, केन्स पनि पूँजीवादको गतिशीलताका बारेमा जानकार थिए। मार्क्सको विपरित उनले चिहान खन्न होइन बरु जनताका निम्ति सम्पन्नता र सुख सुविधाको एउटा नयाँ युग निर्माण गर्न पूँजीवादलाई नयाँ शक्तिका रुपमा गतिवान बनाउन सैद्धान्तिक ढाँचा प्रस्तुत गरे। यो प्रक्रिया सरल–सहज हुनेवाला थिएन। जनताको आर्थिक व्यवहार अनिश्चय, परिकल्पित गतिविधि र ‘पशुवत् व्यवहार’ बाट समेत निर्देशित हुन्छ, जसले गर्दा पूर्ण रोजगारीको सन्तुलन लुकामारी खेल जस्तो बन्न पुग्छ, जसका बारेमा नीति निर्माताहरु सतर्क रहनु पर्छ। रोजगारीमा कमीको अवस्था पुँजीवादको एउटा अभिन्न अंग बन्न सक्छ र त्यसको वैकल्पिक उपायका रुपमा राज्यले समग्र मागमा वृद्धि ल्याउँदै स्थितिलाई सही दिशा दिनै पर्दछ ता कि रोजगारीका अवसरहरुको  वृद्धिका साथै नाफा र आयमा वृद्धि होस्।

    सुम्पेटर र सिर्जनात्मक ध्वंश

    केन्सबाट अब हामी बिसौं शताब्दीका एक महान विचारक जोसेफ सुम्पेटरतिर ध्यान दिन्छौं। पुँजीवादको भविष्यका बारेमा सुम्पेटरले साहसिलो अनुमान गरेका छन्। उनका अनुसार पुँजीवादको गतिशीलता यसको बनावटमै जरा गाडेर बसेको ‘सिर्जनात्मक ध्वंश’ मा निहित छ। पुँजीवादी बजारमा नाफा र बजारको अझ ठूलो हिस्सा प्राप्त गर्न प्रतिस्पर्धी व्यावसायिक फर्महरुको उपस्थिति आवश्यक हुन्छ, ता कि उत्पादनको उपयोगितामा वृद्धि गर्दै खर्चमा कटौती गर्न सकियोस् र त्यसका लागि नयाँ ज्ञान तथा प्रविधिको सिर्जना गर्न स्रोत–साधन र व्यवसायिक बुद्धिमतामा ध्यान दिन सकियोस्। कार्यकुशलता तथा उत्पादकत्वमा जोड दिने कामले विद्यमान उत्पादनको ‘ध्वंश’ गर्ने वस्तुगत अवस्था ल्याउने नयाँ उत्पादन र डिजाइनहरुको अनवरत भेलतिर डोर्‍यायो। यो प्रक्रियामा सुम्पेटरले उद्योगीको भूमिका महत्वपूर्ण हुने देखे। उद्यमशीलता नै परिष्करण र उत्पादनबीचको सेतु निर्माण गर्ने तथा यस प्रक्रियामा अन्तर्निहित जोखिम उठाउन आँट गर्ने तत्व थियो। केही वर्षका अवधि भित्रै प्रसस्त सम्पत्ति कमाउने भर्खरै खुलेका व्यवसाय तथा तीनको क्षमताको सफलताको के देखाउँछ भने परिष्करण र उद्यमशीलताका बारेमा सुम्पेटरको जोड सही दिशामा थियो। आजकल विकसित र विकासशील दुबै प्रकारका देशहरु उद्यमशीलतामा बढी जोड दिन्छन्। सरकारद्वारा उदयीमान उद्यमीहरुको कल्पनाशिलता र परिष्करणलाई बजारसँग जोड्ने वातावरण बनाउनु पर्छ भन्ने धारणालाई एउटा आस्थाको रुपमा लिइएको छ, ता कि नयाँ व्यापारहरु फरक गर्ने पर्याप्त अवसरहरु प्राप्त होउन्। तथापी, सुम्पेटरका अनुसार उद्यमशील जोस टिकाउ बनाउन सकिदैन किनभने उद्यमहरु अझ ठूला हुन थाल्छन् र ती ठूला कर्पोरेसनका रुपमा परिवर्ततित हुन्छन् जसलाई व्यवसायिकहरुको नयाँ वर्गले सञ्चालन गरेको हुन्छ। सिर्जनात्मक ध्वंशका लागि आवश्यक उद्यमशील जोसलाई अन्ततोगत्वा ध्वंश गर्ने यिनै नोकरशाही व्यवस्थापकहरु हुनेछन्। मार्क्स जस्तै सुम्पेटर पनि पुँजीवादको भविष्यका बारेमा आशावादी थिएनन् र उनी यसको असफलताको कारण पनि अन्ततोगत्वा यसैको सफलतामा देख्दथे। तथापी, यो निष्कर्षमा पुग्ने सुम्पेटर र मार्क्सको बाटो फरक छ। सुम्पेटरले पुँजीवाद विकासको पछिल्लो अवधिमा उद्यमशीलताको जोस हराउँदै जाने अवस्थालाई प्रमुख कमीका रुपमा देखे भने मार्क्सले पुँजीवादी विकासबाट क्रमिक रुपमा नाफामा कमी आउने र अर्थतन्त्रमा वेरोजगारी बढ्दा हुने वर्ग संघर्षको तीव्रता तर्फ बढाउने निष्कर्ष निकाले।

    मार्क्सको क्रान्तिद्वारा पुँजीवादको अवसानको दृष्टिकोण र सुम्पेटरको पूँजीवादको आफ्नै विकासका क्रममा यसको गतिशिलता प्रतिको निराशावादीता दुवैको अर्थव्यवस्थामा नाफाको दरसँग सम्बन्धित छन्। एकातिर मार्क्स पुँजीवादको अन्त्यको दोषी बढ्दो आय असमानता तथा घट्दो नाफालाई देखाउँछन् भने सुम्पेटर कर्मचारीतन्त्रद्वारा व्यवस्थापन गरिएका कर्पोरेशनहरुमा उद्यमशीलताको जाँगरको कमीलाई आधारभूत कमजोरीका रुपमा लिन्छन् ।

    थोमस पिकेटी र पुँजी

    एक्काइसौं शताब्दीमा थोमस पिकेटीले पुँजीवादी विकास र आय वितरणमा यसको प्रभावका केही अवधारणाहरुको विवेचना गरेका छन्। पिकेटीको सिद्धान्त कुन तर्कमा आधारित छ भने पुँजीको प्रतिफल दर (rate of return on capital बा r) अर्थ व्यवस्थाको वृद्धि दर ( growth rate of the economy बा g)  भन्दा बढी छ भने, आयको बढ्दो असमानताले पुँजीवादी प्रणालीलाई रुग्ण बनाउन सक्छ, जसले अन्ततोगत्वा सामाजिक ध्रुवीकरण तिर डोर्‍याउँछ। यो अवस्थामा आर्थिक प्रणालीमा व्यक्तिका सम्भावनाहरुका निम्ति पुस्तैनी सम्पत्ति महत्वपूर्ण बन्छ। जसको पुँजीगत आधार बलियो हुन्छ, आर्थिक प्रणालीमा उसलाई बनिबनाउ तुलनात्मक अनुकुलता प्राप्त हुन्छ, खासगरी जब r भन्दा g ठूलो हुन्छ । वृद्धि दर उच्च छ भने उदयीमान अर्थतन्त्रका लागि यो त्यति गम्भीर समस्या नहुन सक्छ, किनभने यसले अर्थव्यवस्थाका विविध क्षेत्रहरुमा रोजगारी र नाफाका निम्ति नयाँ अवसरहरु सिर्जना भएको इंगित गर्छ। आयको तुलनामा पुँजी लगानीको अनुपातमा वृद्धि गरिनु पर्ने अवस्थाका पूर्ण विकसित पुँजीवादी  अर्थतन्त्रमा झन् झन् साना वृत्तमा पूँजीको केन्द्रीकरणको बृद्धि, आय असमानतामा क्रमिक वृद्धि र प्रणालीमा लोसेपनका आधारहरु बन्दछन्। वास्तवमा आयको असमानता र प्रतिव्यक्ति आय झल्काउन बनाइएको घन्टी–रेखारुपी (bell curve) प्रख्यात कुन्तेजीयन अवधारणा व्यवहारिक रुपमै गलत छ, बरु त्यसको ठीक विपरित सही देखिन्छ, किनभने अर्थव्यवस्थाहरु विकसित हुँदा आय र सम्पत्तिको स्वामित्वमा असमानता समस्या बन्छ। त्यसकारण लामो समयसम्मको वृद्धिले आय असमानतालाई स्वचालित ढंगले सम्बोधन गर्छ भन्ने विचार अव मान्य रहेन।

    आफ्नो भनाईलाई प्रभावित गर्न पिकेटीले प्रभावशाली व्यवहारिक तथ्याङ्क प्रस्तुत गरेका छन्। उनले १९औं शताब्दी तथा २०औं शताब्दीका सुरुवातमा आय असमानता उच्च रहेको देखाएका छन्। तर आर्थिक मन्दी र दुईवटा विश्वयुद्धहरुले पूँजी र आयको अनुपातमा कमी ल्याउने भूमिका खेले। तथापी बिसौं शताब्दीको पछिल्लो आधा अवधिमा यो प्रवृत्तिलाई पूरै उल्ट्याइयो, खासगरी सबै विकसित देशहरुमा, जब नियममा खुकुलोपना र उदारीकरणले गति लिन थाल्यो। कथित ‘वासिङ्टन सहमति’ ले बढ्दो आर्थिक असमानताप्रति नयाँ सहिष्णुताका निम्ति बौद्धिक आधार प्रदान गर्‍यो। अब ट्रेड युनियनवादमा कम ध्यान दिन थालियो, नियममा खुकुलोपनामा बढी चाख दिन थालियो र जोखिमका सम्भावनाहरु राम्ररी नबुझिएका नयाँ वित्तिय उत्पादनहरुको परिक्षण गर्ने जोस एवं इच्छा बढ्न थाल्यो । वास्तविक र वित्तिय पुँजी (real and financial capital) बीचको सम्बन्धलाई नजरअन्दाज गरियो र बिसौं शताब्दीको सुरुवातकै जस्तो स्तरमा सम्पत्तिको केन्द्रीकरणमा भएको वृद्धिलाई ‘नयाँ सामान्य’ (New normal) का रुपमा हेरियो। यो प्रक्रिया संयुक्त राज्य अमेरिकामा तुलनात्मक रुपले अझ घनीभुत तरिकाले लागु भएको छ। संयुक्त राज्य अमेरिकाका माथिल्लो वर्गका १० प्रतिशतमा सम्पत्तिको केन्द्रीकरण उल्लेखनीय छ। यो भन्दा अझ विचारणीय पक्ष के छ भने माथिल्लो वर्गका १ प्रतिशतको सम्पत्तिको स्थितिमा नाटकीय वृद्धि भएको छ, जो त्यस आर्थिक प्रणालीमा अति धेरै सम्पत्तिवाल भएका छन्। यो तथ्यलाई पुँजीको प्रतिफल भन्दा कम रहेको आर्थिक वृद्धिदर सँगै राखेर हेर्ने हो भने यसले समाजमा वृद्धि भइरहेको आर्थिक असमानता दर्शाउँछ।

    पिकेटीको सिद्धान्त कुन तर्कमा आधारित छ भने पुँजीको प्रतिफल दर (rate of return on capital बा r) अर्थ व्यवस्थाको वृद्धि दर ( growth rate of the economy बा g)  भन्दा बढी छ भने, आयको बढ्दो असमानताले पुँजीवादी प्रणालीलाई रुग्ण बनाउन सक्छ, जसले अन्ततोगत्वा सामाजिक ध्रुवीकरण तिर डोर्‍याउँछ।

    कुनै पनि समाजले गम्भीर सामाजिक उथलपुथल विनाको लामो समयसम्म आर्थिक असमानतामा लगातार वृद्धि सहन गर्न सक्तैन, तर सहिष्णुताको स्तर मुलुक अनुसार फरक पर्छ, जुन कुरा सामाजिक मूल्य–मान्यताका साथै सार्वजनिक नीतिहरुमा परिवर्तनका निम्ति चर्को असन्तुष्टीलाई सम्बोधन गर्ने संस्थागत क्षमतामा भर पर्छ। उदयीमान देशहरुमा पनि अति धनी १० प्रतिशत र बाँकी अन्यका बीचमा रहेको असमानता बढ्दै गइरहेको छ। आर्थिक वृद्धि दर र पूँजीको प्रतिफलको दर तुलनात्मक रुपमा उच्च रहिरहेकाले असमानतामा वृद्धिको स्थिति प्रक्रिया धुमिल भएको छ, किनभने अर्थव्यवस्थाका विभिन्न पक्षहरुले पैसा कमाउन सकिने नयाँ रोजगार तथा नयाँ अवसरहरु सिर्जना गरिरहेको छ, जसले गर्दा कसैले पनि सरकारका विरुद्ध आन्दोलनको गम्भीर प्रयत्न गर्दैन। उच्च आर्थिक वृद्धि दर सँगसँगै सम्पत्ति तथा आय असमानता उच्च रहेका चीन र भारत दुवैमा यो स्थिति देख्न सकिन्छ। उच्च आर्थिक वृद्धि दर र रोजगारका नयाँ सम्भावनाहरुसँग केही परोक्षरुपले नै भए पनि सरकारको आधिकारिकता जोडिएको चीनमा भविष्यमा पुँजी र आयको बाँडफाँडमा रहेको असमानता गम्भीर समस्याका रुपमा देखा पर्न सक्छ। भारतमा राजनीतिको प्रक्रिया फरक छ तर उसले अंगिकार गरेको प्रणालीलाई अझ मजबुत बनाउने सवालमा, यदि उच्च आर्थिक वृद्धि दरका साथै सम्पत्ति र आय वितरणमा सामाजिक एवं संस्थागत रुपले स्वीकार्य स्तरको समानताको सवाल खडा हुन्छ भएमा, यी दुईमा फरक भेटिन्न।

    छायाँ

    पूँजीवादको भविष्यको पडाव कहाँ छ ? मार्क्सिय चिहान खनुवा अवधारणादेखि १९औं र २०औं शताब्दीको सुरुवातमा जस्तो अल्पसंख्यकहरुको कब्जामा पूँजीको बढ्दो सञ्चय हुने स्थिति र भन्दा पूँजीको प्रतिफल भन्दा आर्थिक विकासको दर कम हुने समाजको बारेमा पिकेटीको चिन्तासम्मलाई नियाल्दा, पूँजीवादको भविष्य आंकलन गर्नै नसकिने जस्तो देखिन्छ। पूँजीवादले राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यमान्यताको सामाजिक संगठनका रुपमा, अहिलेसम्म, ‘सिर्जनशील विध्वंश’ को आवरण भित्र रहेर करोडौं मानिसलाई गरिबीबाट बाहिर निकालेको छ, प्राविधिक परिष्करणलाई नयाँ उचाइमा पुर्‌याएको छ र श्रमिकको उत्पादकत्वमा वृद्धि ल्याएको छ, जुन पहिले कल्पनासम्म गरिएको थिएन। तथापी, यसको संरचनामै आर्थिक अस्थिरताका बीऊ विद्यमान छन्, जुन १९२० को दशकको महान आर्थिक मन्दीका साथै २००७ को महान आर्थिक संकुचन (great recession) मा प्रष्टसँग देखियो। यसैबीचमा पुँजीवादको अराजकताको प्रवृत्तिलाई व्यवस्थापन गर्ने प्रयत्नले राज्यको भूमिकामा जोड दिने वृहत् अर्थशास्त्रको केन्येसियन सिद्धान्त अनुरुपको आर्थिक व्यवस्थापनसम्बन्धी नयाँ विचार तिर डोर्‌यायो। तर, १९७० देखि यता आएर यसलाई पनि चुनौति दिइएको छ र अर्थशास्त्रीहरु बीचमा नयाँ उत्तम सहमति के बन्दै थियो भने विगतमा जस्तो व्यवसायिक उतार–चढावको अवस्था अब गम्भीर समस्या रहेनन्। यो विचार शृंखलाले नयाँ शास्त्रीय अर्थशास्त्रको पुनरावृत्तितिर र आय तथा सम्पत्तिको वितरणको प्रश्नलाई नजरअन्दाज गर्ने तिर डोर्‌यायो। तथापी २००७ को महान संकुचनले यो तर्कमाथि पुनर्विचार गर्न धेरैलाई एकपटक फेरि बाध्य बनायो र प्रिन्सटन विश्वविद्यालयका प्रो.पाल क्रुगम्यान त के भन्छन् भने ‘मन्दी अर्थव्यवस्थाको पुनरागमन’ क्षितिजमा प्रष्टै देख्न सकिन्छ। यस सन्दर्भमा, पिकेटीको पुँजी–आयको बढ्दो अनुपात र अर्थव्यवस्था भन्दा उच्च पुँजीको प्रतिफल दरमाथिको नयाँ जोडले भविष्यमा पुँजीवादमा पर्न सक्ने सम्भावित संकटको रुपरेखा प्रस्तुत गर्दछ। पुँजीवादको धनी तथा शक्तिशालीहरुका पक्षमा सामाजिक–आर्थिक संस्थाहरु एवं राजनीतिक निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने प्रवृत्तिलाई अंकुश लगाउँदै पूँजीवादको गतिशीलतालाई कायमै राख्ने गरी यसको व्यवस्थापन राज्यले गर्नसक्ने राज्यको नयाँ भूमिकाको आवश्यकता भविष्यमा एउटा गम्भीर समस्या बन्नेछ। पिकेटीको सिफारिस पूँजीमा मात्रा अनुरुप प्रगतिशील कर असुलीको छ, जसले सम्पत्तिको केन्द्रीकरणमा अवरोध पैदा गर्छ। यो सिफारिसलाई अहिले नै स्वीकारिने सम्भावना छैन तर भविष्यमा यसले छलफलको विषय उठान गरेको छ। जे भएपनि पुँजीवादीहरुलाई पुँजीवादकै ‘चिहान खनुवा’ बाट परिवर्तित गर्दै जनताका विविध क्षेत्रका बीचमा आर्थिक एवं राजनीतिक शक्तिको स्वीकार्य सन्तुलन भएको सिर्जनशील, कार्यकुशल तथा समुन्नत समाजको गतिशील निर्माता बनाउनु भविष्यकै कांधमा छ। वास्तवमा पिकेटीको विचारअनुसार भविष्यको आर्थिक प्रणालीको गुदी धनी परिवारका वंशजहरुको नियन्त्रणमा रहेको ‘पितृसत्तात्मक पुँजीवाद’ को सम्भावना छ। अन्त्यमा, पुँजीवादका सम्बन्धमा धेरै मार्क्सवादी अवधारणा तथा निष्कर्षहरु अब प्रासंगिक अथवा मान्य रहेनन्, तथापी मार्क्सको लामो छाया आफुमाथि परिनै रहेको विचार गर्दै पुँजीवादले होसियारीका साथ कदम बढाउनु पर्छ।

    याे पनि…
    English Version
    From Marx to Picketty: The Future of Capitalism

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. प्रकाशचन्द्र लोहनी

      डा. प्रकाशचन्द्र लोहनी

      नेपालका एक परिचित राजनीतिज्ञ, अर्थशास्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधी गरेका लोहनीले नेपालको विधायक र अर्थ तथा विभिन्न मन्त्रालयको मन्त्रीका रुपमा नीति निर्माण तथा कार्यान्वयनका विभिन्न क्षेत्रमा योगदान गरेका छन् ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.