यही भाद्र १३ देखि १८ भदौसम्म कार्ल मार्क्स द्विशतवार्षिकी मूल समारोह समितिले नेपालका रहेका विभिन्न वामदलहरुका युवाहरुलाई मार्क्सवादबारे ५ दिवशीय कक्षा संचालन गर्न लागेको छ। धुलिखेलमा हुने यस कक्षामा एमाले, माओवादी केन्द्र, नेकपा संयुक्त र नेकपा मसालका करीव ३५० युवाहरु सहभागी हुनेछन्।
यसमा मुख्यतया मार्क्सवादका आधारभूत विषयवस्तु द्वन्दात्मक भौतिकवाद तथा नेपाली समाजको ऐतिहासिक भौतिकवादी व्याख्या, राजनीतिक अर्थशास्त्र, समाजवादका विभिन्न प्रयोग र सफलता तथा असफलताको समीक्षा, वर्तमान विश्वशक्ति र यसका लागि कनेक्टिभिटीको कोल्डवार आदि रहनेछन्। यी विषयहरु अन्तरक्रियात्मक हुनेछन् भने केही विषयमा भने प्रवचन हुनेछ। अन्तर्क्रियाका सहजकर्ता विभिन्न दलका बौद्धिक नेताहरु घनश्याम भूसाल, राम कार्की, सुनिल मानन्धर,वेदुराम भूसाल, समिरसिह हुनेछन् । प्रवचनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा मसालका महासचिव मोहन विक्रम सिह हुनेछन्। साथै केही विषयमा डा पिताम्वर शर्मा, चैतन्य मिश्र लगायतलाई अनुरोध गरिएको छ।
स्मरण रहोस्, कार्लमार्क्स द्विशतवार्षिकी मूल समारोह समिति नेपालका विभिन्न वामदलहरुका बौद्धिक नेताहरुको साझा मञ्च हो। यसका संयोजक घनश्याम भूसाल र सहसयोजक राम कार्की हुनुहुन्छ। यसले विगत दुई वर्ष यता विभिन्न विषयमा छलफल चलाइरहेको छ, ती मुख्यत मार्क्सवादको पुनर्विचरणबारे केन्द्रीत हुनेगरेका छन्।