कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्तिहरुः
नेपालमा स्थापनाकालको केही समय पश्चात कम्युनिस्ट आन्दोलनमा मूलतः तीनवटा धारहरु देखापरे। त्यसमा, पहिलो धारको रुपमा संकुचित राष्ट्रवादी धार थियो जसले राजालाई राष्ट्रवादको प्रतीकको रुपमा देखाएर पञ्चायतको समर्थन गर्यो। त्यसको नेतृत्व केशरजंग रायमाझीले गरेका थिए। दोस्रो, मध्यममार्गी समन्वयवादी धार थियो, जसले पछि संसदवादलाई स्वीकारेर अघि बढ्यो। यसको नेतृत्व मनमोहन अधिकारीहरुले गरेका थिए। तेस्रो क्रान्तिकारी धार थियो, जसको नेतृत्व त्यसबेला पुष्पलालले गरेका थिए। पुष्पलालको धारले चाहिँ कम्युनिस्ट र काँग्रेस मिलेर पञ्चायतको अन्त्य गर्नुपर्छ भन्ने लाइन लिएर संघर्षलाई अघि बढाए। नेपालको जतिपनि रहेका कम्युनिस्ट पार्टीहरु छन् तिनीहरु यिनै तीनवटा धारको वरिपरि रहेका छन्। र नेपालको कम्युनिस्ट आन्दोलन यी तीनवटा धारकै द्वन्द्वबाट अघि बढिरहेको छ।
पछिल्लो समय नेपालको कम्युनिस्ट आन्दोलनमा रहेको संकुचित राष्ट्रवादी र संसदवादी धारको नेतृत्व नेकपा एमालेले गरेको देखिन्छ भने क्रान्तिकारी धार कमजोर भएको छ।
नेपालमा कम्युनिस्ट आन्दोलनको देन:
नेपालको राजनीतिक व्यवस्था परिवर्तनको लागि जनसंघर्ष र जनपरिचालनको क्षेत्रमा कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ। आजसम्मको नेपालको परिवर्तनको आन्दोलनमा काँग्रेस एउटा पक्ष हो भने कम्युनिस्ट अर्को पक्ष हो। जसमा कहिले काँग्रेस निर्णायक रह्यो भने कहिले कम्युनिस्ट निर्णायक रहेको देखिन्छ। आजको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, शक्तिको विकेन्द्रीकरण जस्ता व्यवस्थाहरु कम्युनिस्ट आन्दोलनकै देन हो। काँग्रेस मात्रै भएर यी परिवर्तनहरु सम्भव हुन्थेन।
आर्थिक क्षेत्रमा योगदान भनेको चाहिँ एकदम छिटफुट रुपमा मात्रै देखिन्छ। जसरी विभिन्न समयको किसान आन्दोलन देखि अहिलेसम्म श्रमको निर्यात गर्ने अवस्थामा पुगेका छौं, यसले भूमि र श्रमको सदुपयोग सही ढंगले हुनसकेको देखिदैन। यसरी कम्युनिस्ट आन्दोलनले मार्क्सवादी पद्धतिमा प्रयोग हुने उपरिसंरचना परिवर्तनमा त ठूलो योगदान गरेको देखिन्छ तर आधारसंरचना परिवर्तनमा भने योगदान अपुग देखिएको छ।
आजको कम्युनिस्ट आन्दोलनको मूल समस्या:
सांगठनिक समस्या
कम्युनिस्ट पार्टीमा आन्दोलनको नेतृत्व संगठन मार्फत हुने गर्दछ। तर संगठन भनेको त सबै जनाको सामूहिक अभिव्यक्ति हो। आज नेपालका कम्युनिस्ट पार्टीहरुको संगठनमा मूलतः आत्मकेन्द्रित र व्यक्तिवादी चिन्तन रहेको नेतृत्व हावी हुनु सबैभन्दा ठूलो समस्या हो। जहाँ सांगठनिक रुपमा सामुदायिकता र सामूहिकताको अभ्यास, चिन्तन र भावना नै अभिव्यक्त हुन सकेन। जसले नेतृत्व र आम जनताबीचको व्यवहारिक र वैचारिक तहमा फाटो बनिरह्यो र यसले संगठन मार्फत समाधान दिन सकेन। त्यसकारण कम्युनिस्ट पार्टीको सांगठनिक अभिव्यक्ति व्यक्तिमा मात्रै सिमित भयो।
अर्को कुरा भनेको, कम्युनिस्ट पार्टीको संगठनभित्र फरक विचार र मतलाई निषेध गर्ने परम्परा रह्यो। पार्टीभित्रको जनवादको अभ्यास हुन नसक्दा फरक विचारहरुलाई प्रस्फुटन हुन नदिने र गुटको नाममा त्यसलाई निस्तेज बनाउने नेतृत्व तप्काको रवैयाले आन्दोलनमा फरक मतलाई सिध्याउँदा सिंगो आन्दोलनमा ठूलो क्षति पुग्यो।
कम्युनिस्ट पार्टीहरुमा लेनिनको ‘जनवादी केन्द्रियता’को सांगठनिक सिद्धान्त अपनाइएको भनिन्छ, तर नेपालको कम्युनिस्ट पार्टीहरुले ठ्याक्कै लेनिनले भने अनुसारको सांगठनिक अभ्यास अपनाइएको भने पाइदैन। यदि त्यस्तो मात्रै पनि हुन्थ्यो भने केही फरक देखिन्थ्यो होला, तर आज नेपालको कम्युनिस्ट पार्टीहरुको अवस्था हेर्दा जसरी नेकपा एमालेमा केपी ओलीको हुकुमी चलेको देखिन्छ, माओवादी पार्टी जनयुद्ध देखि अहिलेसम्म जसरी प्रचण्डकै कब्जामा जकडिएको छ, अरु स–साना कम्युनिस्ट पार्टीहरुको समेत मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान विजुक्छेहरुको नेतृत्व अभ्यास देख्दा उनीहरुमा लेनिनले भनेको जनवाद वा लोकतान्त्रिक अभ्यासको भने चरम अभाव देखिन्छ।
आजका कम्युनिस्ट पार्टीहरुभित्र जस्तो खालको सांगठनिक अभ्यास देखिन्छ, त्यसले के प्रमाणित गर्दैन भने, के कारणले ती कम्युनिस्ट पार्टीहरु अरु पार्टीहरु भन्दा फरक हुन्। जस्तो कि, अरु पार्टी वा कुनै क्लबमा जसरी कमिटी बनेको हुन्छ, तिनीहरुबीच जस्तो अभ्यास देखिन्छ कम्युनिस्ट पार्टीहरुमा पनि उस्तै खालको कमिटी र अभ्यास देखिएको छ । त्यसकारण यहाँको कम्युनिस्ट पार्टीको संगठन र कुनै क्लबको संगठनमा कुनै भिन्नता देखिदैन।
वैचारिक समस्या
मार्क्सवादले मूलतः समाजलाई नै विचारको स्रोत मान्दछ। तर नेपालको कम्युनिस्ट पार्टीहरुमा समाज अध्ययनको अभ्यास नै कमजोर देखिन्छ। आजको नेपाली समाजको अन्तरविरोधको स्रोत के हो ? भन्ने कुरालाई नेपाली समाजको विशेषताकै आधारमा बुझ्नुपर्दछ। नेपाली समाजको विशिष्टतालाई पश्चिमी वा अरु कुनै देशको सामाजिक अन्तरविरोधको फ्रेमले बुझ्न पर्याप्त हुदैन। जस्तो कि, नेपालको वर्गलाई नै हेर्ने हो भने नेपालका वर्ग निर्माणमा कति प्रतिशत जात व्यवस्थाको कारण छ? कति भौगोलिक उत्पीडन कारक छ ? यस्तो कुरा प्रष्ट नबनाई एकमुष्ट पश्चिमी समाजको जस्तो पुँजिपति र मजदुरको जस्तो वर्ग विभाजनको आधारमा नेपालको वर्गीय अन्तरविरोधलाई बुझ्न सकिँदैन। त्यसकारण नेपालको सन्दर्भमा मार्क्सवाद भनेको के हो ? भन्ने कुरा नै वैचारिक रुपमा प्रष्ट पारिनुपर्छ। नेपालमा मार्क्सवाद अनुरुपको संघर्षको स्वरुप के हुने ? चिन्तन प्रणाली के हुने ? वैचारिकी के हुने ? भन्ने कुरा प्रष्ट नपारेसम्म विभिन्न देशमा भएका गल्तीहरुको पुनरावृत्तिले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सक्दैन।
त्यसकारण नेपालको कम्युनिस्ट पार्टीहरुले जसरी संगठन बिस्तार र आन्दोलनको नेतृत्व गर्दै यहाँसम्म आए, अबको बाटोको विचार के हो ? भन्नेबारेमा व्यापक अध्ययन, अनुसन्धान, बहस र छलफल गरेर मात्रै अघि बढ्ने बाटो तय गर्नुपर्दछ।
बदलिँदो विश्व, नेपाली समाज र कम्युनिस्ट आन्दोलन
आजको विश्व व्यवस्थामा व्यापक फेरबदल आइसकेको छ। यसको उत्पादन प्रणालीमा, सम्पत्तिको स्वामित्वमा, श्रमसम्बन्धमा जस्तो बदलाव आइरहेको छ, यसले नेपाली समाजमा ल्याइरहेको तीव्रतम परिवर्तनलाई मार्क्सवादले र कम्युनिस्ट आन्दोलनले बुझ्नसक्नुपर्छ। यसलाई कम्तीमा ३ वटा क्षेत्रमा हेर्नुपर्दछ।
गएको सय वर्षमा नेपाल र विश्वभरिका कम्युनिस्ट आन्दोलनबाट शिक्षा लिदैं, समीक्षा गर्दै नयाँ वैचारिकी निर्माण गर्ने, विश्व व्यवस्थामा आएको बदलावलाई बुझ्ने, आजको विज्ञान–प्रविधिले ल्याएको सामाजिक–आर्थिक परिवर्तनले ल्याएको राजनीतिक परिवर्तनलाई बुझेर, त्यसलाई संश्लेषण गर्दै संगठनलाई नयाँ ढंगले अघि बढाउनु नै आजको कम्युनिस्ट आन्दोलनको मुख्य पाटो हो ।
पहिलो भनेको, आजको विज्ञान र प्रविधि। जस्तो कि, गएको २५ वर्ष वरिपरि देखि संसारमा प्रविधिको जसरी व्यापक विकास भएर गएको छ, यसले अब हामी कुनै सरकारको रैतीको रुपमा शासित भन्दापनि प्रविधिबाट शासित भएर गएका छौं । यसले हामीलाई सरकारको बिषयवस्तु (Subject of Government) भन्दा पनि प्रविधिको बिषयवस्तु (Subject of Technology) बनाएको छ। यसरी, हामी प्रविधिको शासनमा रहेको बेला कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने ? भन्नेबारेमा प्रष्ट हुन जरुरी छ।
दोस्रो भनेको, पुँजीको कारोबारको चरित्रमा आएको व्यापक परिवर्तन। आजको डिजिटल कारोबारले फाइनान्सियल पुँजी र स्वामित्वमा जुन परिवर्तन आएको छ, यसले उत्पादन, वितरण र स्वामित्वमा जस्तो फेरबदल ल्याइरहेको छ यसको अध्ययन र समाधानको बाटो प्रष्ट पार्नुपर्दछ।
तेस्रो कुरा, कम्युनिस्ट आन्दोलन र संघर्षले व्यहोर्नुपरेको समस्या र क्षतिबाट सिक्ने। यी बदलावहरुसँगै गएको सयवर्षमा नेपाल र विश्वभरि नै भएका कम्युनिस्ट आन्दोलन र संघर्षले व्यहोर्नुपरेको समस्या र क्षतिबाट सिक्ने के ? र नयाँ सन्दर्भमा त्यसलाई ढाल्ने कसरी ? भन्नेबारेमा ध्यानदिनुपर्छ।
गएको सय वर्षमा नेपाल र विश्वभरिका कम्युनिस्ट आन्दोलनबाट शिक्षा लिदैं, समीक्षा गर्दै नयाँ वैचारिकी निर्माण गर्ने, विश्व व्यवस्थामा आएको बदलावलाई बुझ्ने, आजको विज्ञान–प्रविधिले ल्याएको सामाजिक–आर्थिक परिवर्तनले ल्याएको राजनीतिक परिवर्तनलाई बुझेर, त्यसलाई संश्लेषण गर्दै संगठनलाई नयाँ ढंगले अघि बढाउनु नै आजको कम्युनिस्ट आन्दोलनको मुख्य पाटो हो ।
सिद्धान्त र व्यवहारको द्वन्द्वात्मकता
विश्वभरि अहिलेसम्म नसुल्झेको एउटा कुरा के हो भने– सिद्धान्तले आन्दोलन जन्माउँछ कि, आन्दोलनले सिद्धान्त जन्माउँछ ? हुन त, नेपालको कम्युनिस्ट आन्दोलनमा ज्ञान उत्पादनको काम एकदमै कमजोर देखिन्छ। एउटा सैद्धान्तिक जगमा सुरु भएको कम्युनिस्ट आन्दोलनले निकै लामो समय पार गरिसक्दा पनि ती पार्टीहरुमा यति लामो अभ्यासमा के गरियो ? के सिकियो ? के शिक्षा लिने ? भन्ने कुराहरुलाई संश्लेषण गरेको देखिदैन। आफ्नो आन्दोलनको शिक्षाबाट ज्ञान उत्पादन गर्ने पाटो मात्रै नभएर बाहिर वा अरु देशका आन्दोलन वा अभ्यासहरुबारे अध्ययन गर्ने, त्यहाँका सामग्रीहरु अनुवाद गरेर ज्ञान बिस्तार गर्ने र त्यसको आधारमा आफ्नै वैचारिकी निर्माण गर्ने कुरामा पनि यहाँको कम्युनिस्ट पार्टीहरुमा कुनै रुचि देखिदैन।
माओवादी जनयुद्धको दौरान वा शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि माओवादी पार्टीले केही ठाउँमा ‘कम्युन’ स्थापना गरेको देखियो। तर, त्यो कम्युनलाई उनीहरुले किन जोगाउन सकेनन्, किन त्यसलाई बिस्तार गर्न सकेनन्, किन त्यो नेपालको विकासको समाजवादी मोडेल बन्न सकेन ? भन्ने कुराको अध्ययनबाट निकै ठूलो शिक्षा लिन सकिन्छ। कम्युनमा बस्नेहरुको कस्तो चेतना, व्यवहार र व्यवस्थापनको कमजोरीका कारण त्यो कम्युन समाप्त भयो ? त्यसैमा पनि सिद्धान्त र संगठनको बारे अध्ययन गरेर माओवादीले आफ्नो आन्दोलनको समीक्षा गर्ने पर्याप्त ठाउँ छ।
बदलिएको नेपाल र बदलिनुपर्ने कम्युनिस्ट आन्दोलन
हाम्रो जस्तो खालको सामाजिक, भौगोलिक, जातीय र साँस्कृतिक विविधता छ, त्यसलाई आन्दोलनको एजेण्डा नबनाई नेपालको कम्युनिस्ट आन्दोलन अब हिजोको जसरी ‘जसको जोत उसको पोत’ भन्ने सपाट नाराको आधारमा अघि बढ्न सक्दैन। हो, समाजलाई मूलतः आर्थिक पक्षले नै निर्धारण गरिरहेको हुन्छ, त्यसलाई स्रोत र पहुँचको आधारमा आर्थिक वर्गहरु बनेका हुन्छन्। तर, नेपाली समाजको आर्थिक वर्ग वा स्रोत र पहुँच निर्माण नै के को आधारमा भएको छ ? भन्ने कुराको बारेमा कम्युनिस्ट आन्दोलन प्रष्ट हुन जरुरी देखिन्छ। कम्युनिस्ट आन्दोलनको आधार वर्ग त हो तर वर्ग नै के को आधारमा निर्माण भएको छ ? भन्ने कुरालाई बुझ्न जरुरी छ। जस्तो कि, नेपालमा दलितहरुलाई लामो समय जसरी सम्पत्ति राख्ने वा छुट्टै पेशा व्यवसाय गर्न नपाउने, उनीहरुलाई सामाजिक रुपमा समेत निषेध गरिसकेपछि अरु समुदाय र दलितको वर्ग नै फरक हिसाबले निर्माण हुने भयो। त्यसरी नै राज्यको कार्यकारी भूमिका, प्रशासनमा महिला, जनजाति, दलित, मधेशी समुदायहरुको उपस्थिति किन कमजोर भयो ? त्यो बाहेक अन्य पेशा व्यवसायमा ती समुदायहरुको पहुँच नहुँदा त्यसमा सहजता र पुहँच भएको समुदायको वर्ग निर्माण नै फरक ढंगले भयो। त्यसलाई कम्युनिस्ट आन्दोलनले आफ्नो वर्ग निर्माणको आधार खुट्याएर मात्रै वर्गको राजनीतिलाई अघि बढाउन सक्दछ ।
आज, विश्वमा जसरी उत्पादक शक्तिको विकास र त्यसले उत्पादन सम्बन्धमा ल्याएको फेरबदल छ यसले नेपाली समाजमा कस्तो खालको असर, प्रभाव र संकटहरु निम्त्याएको छ? भन्ने नबुझीकन अब अगाडि बढ्न सकिदैन। साथै, नेपालका कम्युनिस्ट पार्टीहरुले आफू सरकारमा गएपछि के गर्ने भन्ने कुरा जनतासामू प्रष्ट पारेर अघि बढ्नुपर्छ।
आज, विश्व समाज शीतयुद्धकालीन धङधङीबाट माथि उठ्नुपर्छ। त्यो बेलाको सैद्धान्तिक आधार, पार्टी निर्माण र सञ्चालनको जुन पद्धति कम्युनिस्ट पार्टीहरुले अपनाए, अहिले बदलिएको अवस्थामा कम्युनिस्ट पार्टी त्यसबाट माथि उठ्नुपर्छ।
नेपालको श्रम, शिक्षा र स्वास्थ्य
नेपालले आज जसरी विश्वबजारमा श्रम आपूर्ति गरिरहेको छ, त्यो सिपहीन वा अदक्ष श्रम शक्तिको ठूलो संख्या छ। त्यसको साथै, नेपाल स्वयम्ले आफ्नो उत्पादकत्व बढाउन प्राविधिक र प्रविधिहरु विकास र परिचालन गर्न सकेको छैन। त्यसैले नेपालले आजको शिक्षा प्रणालीमा व्यापक फेरबदल ल्याउन जरुरी छ। नेपालले आफूलाई कस्तो श्रमशक्ति चाहिन्छ? र विश्व बजारमा कस्तो श्रमशक्तिको आवश्यकता छ ? भन्ने बुझेर त्यस अनुरुपको शिक्षा प्रणाली अपनाउनु पर्दछ। विकास, उत्पादन, उद्यमका लागि कस्तो खालको शिक्षा चाहिन्छ ? प्राविधिक कति चाहिन्छ ? त्यो शिक्षा नागरिकले सहज ढंगले कसरी प्राप्त गर्दछ ? के नागरिकले शिक्षा किनेर श्रमको व्यापार गर्न सम्भव छ ? त्यस्तो शिक्षा प्रणालीले राज्य र समाज कस्तो बनाउँछ ? जबकि, कम्युनिस्ट पार्टीका नेताहरु नै स्कूल कलेज खोलेर शिक्षाको व्यापार गरिरहेका छन्।
हाम्रो शिक्षालाई अदक्षबाट अर्धदक्ष, अर्धदक्षबाट पूर्णदक्ष श्रमशक्ति उत्पादन गर्न सक्छौं। यसले हाम्रो आन्तरिक उत्पादनमा वृद्धि हुनेछ भने विश्वश्रमबजारमा पनि हाम्रो श्रमशक्ति निर्यातको लागि अझ मजबुत अवस्था निर्माण गर्नेछ। तर शिक्षा भनेका श्रमशक्ति उत्पादन मात्रै हैन ज्ञान उत्पादनको समेत बृहत इकाईमा हेरिनुपर्दछ।
यसकारण, अब नेपालका कम्युनिस्ट पार्टीहरुले कस्तो खालको शिक्षानीति अपनाउने? आफ्नो पार्टी सरकारमा जाँदा कुन शिक्षा नीति लागू गर्ने? भन्नेबारेमा व्यापक पूर्नविचार र पूर्नगठन गर्नुपर्दछ।
त्यसरी नै, नागरिकको एकदमै आधारभूत आवश्यकता भनेको स्वास्थ्य हो। आज स्वास्थ्य क्षेत्र भनेको एउटा अर्को फस्टाउँदो व्यापार बनिरहेका छ। आज सरकारी अस्पतालहरु निकम्मा बनाएर नीजि अस्पतालहरुमा चरम व्यापार फस्टाउने अवस्था स्वयम् राज्यको भूमिका देखिन्छ। यस्तो अवस्थामा जनस्वास्थ्यको मुद्धालाई सम्बोधन गर्न सकिन्न। हामीले ठुलाठुला अस्पताल खोल्ने वा स्वास्थ्य सेवा उपलब्ध गराउने मात्रै हैन, नागरिकलाई अस्पताल नै जान नपर्ने खालको स्वास्थ्य नीति अपनाउनुपर्नेछ। मानिस किन बिरामी भएर अस्पताल धाउनुपर्छ? रोग नै निम्तिन नदिन कस्तो खालको कम्युनिटी हेल्थ सम्बन्धी जागरणको कार्यक्रम उपलब्ध गराउने ? तर स्वास्थ्य आजको कम्युनिस्ट पार्टीहरुका केन्द्रीय तहका नेताहरु नै हस्पिटल खोलेर स्वास्थ्यको व्यापारमा लागेका छन्। त्यसकारण कम्युनिस्ट आन्दोलनले स्वास्थ्यको बारेमा समेत आजको भन्दा बिलकूल फरक ढंगले विमर्श गरेर नयाँ स्वास्थ्य नीति अपनाउनुपर्दछ।
अन्त्यमा,
आज नेपालमा दुई अंकको आर्थिक वृद्धि गर्ने नीतिको व्यापक बहस भैरहेको छ। तर, आज आर्थिक वृद्धि मात्रै हैन दिगो विकासको नीति आवश्यक देखिन्छ। यहाँको जस्तो खालको सामाजिक, भौगोलिक, साँस्कृतिक विविधता छ यसलाई सँगसँगै विकास गर्ने समावेशी विकासको मोडेल आवश्यक हुन्छ। नेपालमा पर्यावरणीय जटिलतालाई समेत जोगाउने खालको विकास नीति आवश्यक छ। त्यसैले आजसम्म भएका आन्दोलन र विकासका बारेमा बृहत समीक्षा गरेर अबको विकासबारे कम्युनिस्ट आन्दोलनमा नयाँ ढंगको बहस, विमर्शबाट नयाँ खालको निश्कर्षसहित अघि बढे मात्रै कम्यनिस्ट आन्दोलनको भविष्य ठिकै होला, नत्र कम्युनिस्ट आन्दोलन आजकै हिसाबकिताबको राजनीतिमा अल्झिरहे यसलाई जोगाउन गाह्रो देखिन्छ।
भिडियो: